-
यहोवा हाम्रो गोठाला हुनुहुन्छप्रहरीधरहरा—२००५ | नोभेम्बर १
-
-
“म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं मेरो साथमा हुनुहुन्छ”
१३. भजन २३:४ मा दाऊदले कसरी यहोवालाई नजिकबाट चिनेझैं गरी कुरा गरेका छन् र यसमा किन अचम्म मान्नु पर्दैन?
१३ यहोवामाथि भरोसा गर्नुको दोस्रो कारण दाऊद यसरी खुलाउँछन्: यहोवा आफ्नो भेडाको रक्षा गर्नुहुन्छ। हामी यस्तो लेखिएको पाउँछौं: “घोर अन्धकारमा मैले हिंड्नु परे तापनि, म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लौरो, तिनैले मलाई सान्त्वना दिन्छन्।” (भजन २३:४) यस पदमा दाऊदले यहोवालाई उहाँ भन्नुको सट्टा “तपाईं” भनेका छन् र मूल हिब्रूमा यस शब्दले एकदमै नजिकको सम्बन्धलाई बुझाउँछ। यसमा अचम्म मान्नु पर्दैन किनभने दाऊदले यहाँ परमेश्वरले तिनलाई आपत्विपद् सहन कसरी मदत गर्नुभयो भनी बताइरहेका छन्। जीवनमा दाऊदले धेरैपल्ट घोर अन्धकारको सामना गरे। त्यसबखत तिनको जीवन खतरामा परेको थियो। तर डरले गर्दा तिनी विचलित भएनन् किनकि आपत्को घडीमा तिनलाई बचाउन यहोवा आफ्नो “लट्ठी” र “लौरो” लिएर मदत गर्न तयार रहनुभएको दाऊदले महसुस गरे। यस्तो सुरक्षा पाएको अनुभव गरेपछि दाऊदले सान्त्वना पाए र यहोवासित अझ घनिष्ठ भए।b
१४. यहोवाको सुरक्षाबारे बाइबलमा कस्तो आश्वासन दिइएको छ तर यसको मतलब के चाहिं होइन?
१४ आज नि, यहोवाले आफ्नो भेडाको रक्षा कसरी गर्नुहुन्छ? चाहे शैतान र त्यसका आसेपासेहरू होस् वा मानिस, कुनै पनि विरोधीले उहाँको भेडालाई पृथ्वीबाट नामेट पार्न सक्नेछैन भनी बाइबल हामीलाई आश्वासन दिन्छ। यहोवाले कदापि यस्तो हुन दिनुहुनेछैन। (यशैया ५४:१७; २ पत्रुस २:९) तर यसको मतलब हाम्रो गोठाला यहोवाले हामीलाई हरेक विपत्तिबाट जोगाउनुहुन्छ भन्न खोजिएको चाहिं पटक्कै होइन। मानिसले झेल्ने सामान्य समस्याहरू हामी पनि झेल्छौं र सबै साँचो मसीहीहरूलाई आइपर्ने विरोध हामीलाई पनि आइपर्छ। (२ तिमोथी ३:१२; याकूब १:२) कहिलेकाहीं त हामी एक किसिमले ‘घोर अन्धकारमा हिंड्नुपर्ला।’ उदाहरणको लागि, सतावट वा स्वास्थ्य समस्याको कारण हामी मृत्युको मुखैमा पर्न सक्छौं। अथवा हाम्रो प्रियजन जीवन र मरणको दोसाँधमा पुग्न सक्छन् वा उनीहरूको मृत्युसमेत हुन सक्छ। यस्तो अवस्थामा घोर अन्धकारले छोपेजस्तो लाग्दा हाम्रो गोठाला हाम्रो साथमा हुनुहुनेछ र उहाँले हामीलाई रक्षा गर्नुहुनेछ। तर कसरी?
१५, १६. (क) बाधाअड्चनलाई चिरेर अघि बढ्न यहोवाले हामीलाई कुन-कुन तरिकामा मदत गर्नुहुन्छ? (ख) परीक्षाको घडीमा यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ, एउटा अनुभव बताउनुहोस्।
१५ यहोवा चमत्कारपूर्ण ढङ्गमा केही गरिहाल्ने प्रतिज्ञा गर्नुहुन्न।c तर हामी यस कुरामा भने पक्का हुन सक्छौं: हाम्रो सामने जस्तोसुकै बाधाअड्चन आइपरोस्, त्यसलाई चिरेर अघि बढ्न यहोवाले हामीलाई मदत गर्नुहुनेछ। “अनेक किसिमका परीक्षाहरू[को]” डटेर सामना गर्न उहाँ हामीलाई बुद्धि दिन सक्नुहुन्छ। (याकूब १:२-५) गोठालाले आफ्नो लट्ठी अथवा लौरो सिकारीहरूलाई खेद्न मात्र होइन तर भेडालाई ठीक बाटोमा हिंडाउन तिनीहरूलाई बिस्तारै ठेल्न पनि चलाउँछन्। हाम्रो अवस्था सुधार्न सक्ने बाइबल आधारित सल्लाह लागू गराउन यहोवाले कुनै भाइ वा बहिनीमार्फत हामीलाई “बिस्तारै ठेल्न” सक्नुहुन्छ। यसबाहेक, यहोवाले हामीलाई सहने बल दिन सक्नुहुन्छ। (फिलिप्पी ४:१३) आफ्नो पवित्र आत्माद्वारा “असामान्य शक्ति” दिएर उहाँले हामीलाई सुसज्जित पार्न सक्नुहुन्छ। (२ कोरिन्थी ४:७, NW) परमेश्वरको आत्माले हामीलाई शैतानले हामीमाथि ल्याउने जस्तोसुकै परीक्षा पनि सहने बल दिन सक्छ। (१ कोरिन्थी १०:१३) हामीलाई मदत गर्न यहोवा हरघडी तयार हुनुहुन्छ भन्ने कुरा थाह पाउनु के सान्त्वनादायी छैन र?
१६ हो, जीवनमा हामीलाई जस्तोसुकै घोर अन्धकारले छोपे तापनि यस्तो अन्धकारमा हामी एक्लै हिंड्नु पर्दैन। हाम्रो गोठाला हाम्रो साथमा हुनुहुन्छ र सुरुमा हामीलाई थाह नहुने विभिन्न तरिकामा उहाँ हामीलाई मदत गर्नुहुन्छ। घातक ब्रेन ट्युमर रोग लागेको एक जना मसीही प्राचीनको अनुभव विचार गर्नुहोस्। तिनी यसो भन्छन्, “सुरु-सुरुमा त मलाई यहोवा मसँग रिसाउनुभएको छ होला अथवा उहाँ मलाई माया नै गर्नुहुन्न जस्तो लागेको थियो। तर यहोवाबाट टाढा नहुन म कटिबद्ध थिएँ। मैले आफ्नो मनका सारा पीरव्यथा उहाँलाई पोखाएँ। मसीही भाइबहिनीमार्फत सान्त्वना दिनुभएर यहोवाले पनि मलाई मदत गर्नुभयो। धेरै भाइबहिनीले गम्भीर रोगले थला पर्दाखेरिको आफ्नो अनुभव सुनाए। उनीहरूको त्यस्तो अनुभव सुनेपछि मैले बुझें कि यस्तो रोगले मलाई मात्र होइन अरूलाई पनि सताएको रहेछ। चाहिएकै बेला भाइबहिनीहरूले मलाई मदत गरे। यी सबै कुराबाट म पक्का भएँ—यहोवा मसँग रिसाउनुभएको छैन। हुन त हो, यस रोगसँग मैले सङ्घर्ष गरिनै रहनुपर्नेछ र पछि के हुने हो मलाई केही थाह छैन। तर यहोवा मेरो साथमा हुनुहुन्छ र यस रोगसँग लड्न उहाँले मलाई मदत गरिरहनुहुनेछ भन्ने कुरामा म ढुक्क छु।”
-
-
यहोवा हाम्रो गोठाला हुनुहुन्छप्रहरीधरहरा—२००५ | नोभेम्बर १
-
-
b दाऊदले थुप्रै भजनहरू लेखे र यहोवाले खतराहरूबाट छुटकारा दिनुभएकोमा तिनले ती भजनहरूमा उहाँको प्रशंसा गरेका छन्।—उदाहरणको लागि, भजन अध्याय १८, ३४, ५६, ५७, ५९ र ६३ को सुरुमा लेखिएका शीर्षकहरू हेर्नुहोस्।
c सन् २००३ अक्टोबर १ अंकको प्रहरीधरहरा-मा छापिएको “ईश्वरीय हस्तक्षेप—हामी के आशा गर्न सक्छौं?” भन्ने लेख हेर्नुहोस्।
-