स्वच्छ हातले यहोवाको उपासना गर्नुहोस्
भजनरचयिता दाऊदले प्रेरित भएर यस्तो भजन गाए: “म आफ्नो हात निर्दोषतामा धुनेछु। यसरी, हे परमप्रभु तपाईंको वेदीको रिङ्गै म घुम्नेछु।”—भजन २६:६.
यी शब्दहरू रचना गर्दा दाऊदले इस्राएलका लेवी पूजाहारीहरूको एउटा चलनलाई संकेत गरिरहेको हुनसक्छ। तिनीहरू वेदीमा उक्लेर आ-आफ्ना बलिदानहरू आगोमाथि राख्थे। तर यसरी उपासना गर्नुअघि पूजाहारीहरूले हातगोडा धुनुपर्थ्यो। यो कुनै चानचुने कुरा थिएन। यस प्रारम्भिक कार्य नगर्दा पूजाहारीको ज्यानसमेत जानसक्थ्यो।—प्रस्थान ३०:१८-२१.
प्रतीकात्मक ढंगमा यसरी धोएपछि आध्यात्मिक तथा नैतिक तवरमा स्वच्छ हुन्छ। (यशैया १:१६; एफिसी ५:२६) आज हामीले यहोवाको सेवा गरेर ‘वेदी रिङ्गै घुमेको’ उहाँ चाहनुहुन्छ। तर त्यसो गर्न हाम्रा हातहरू दाऊदले भनेझैं “निर्दोषतामा” धोएर स्वच्छ बनाएको हुनुपर्छ। यो एउटा मामुली आवश्यकता होइन किनभने अशुद्ध काम गर्नेहरू परमेश्वरको राज्यमा प्रवेश गर्न पाउनेछैनन्। (गलाती ५:१९-२१) ईश्वरीय कार्यहरू गर्दैमा हामीलाई अनैतिक काम गर्ने छुट दिंदैन। तसर्थ पावलले यसप्रकार लेखे: “म आफ्नो शरीरलाई कुट्तछु, र वशमा ल्याउँछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिं इन्कार गरिनेछु।”—१ कोरिन्थी ९:२७.
ईश्वरीय अनुमोदन तथा साँचो आनन्द चाहनेहरूले स्वच्छ हातले यहोवाको सेवा गर्नुपर्छ। दाऊदजस्तै तिनीहरू “इमान्दारी र सोझोपनामा” हिंड्छन्।—१ राजा ९:४.