यहोवाको शरण लिनुहोस्
“हे यहोवा, मैले तपाईंको शरण लिएको छु।”—भजनसंग्रह ३१:१ न्यु व०
एउटा मानिस सुमधुर स्वरमा गीत गाउँछ। मन र तनमा थकित त्यो मानिस आफूलाई यहोवामाथि छाडिदिन्छ। विश्वास विजयी हुन्छ, त्यस पवित्र गीतको बोलले भन्छ। सर्वशक्तिमानको खुला हातमा यो मानिसले आफूलाई खेदो गर्नेहरूबाट आश्रय पाउँछ। भजनले भन्छ, “हे यहोवा मेलै तपाईंको शरण लिएको छु, मैले कहिल्यै शर्माउन नपरोस्। तपाईंकै धार्मिकतामा मलाई छुटकारा दिनुहोस्।”—भजनसंग्रह ३१:१ न्यु व०
२ भजनरचयिताको एउटा सबैभन्दा असल शरण छ! अन्य कुराहरूमा शङ्कै भए तापनि यो कुरा भने निश्चित छ: यहोवा तिनको गढ र किल्ला हुनुहुन्छ। दुईवटा बलिया खामामा तिनको भरोसा अडेको छ। एउटा हो, तिनको विश्वास, जसलाई यहोवाले शर्ममा पार्नु हुनेछैन, र दोस्रो हो, यहोवाको धार्मिकता, जसको अर्थ उहाँले आफ्नो सेवकलाई कहिल्यै सदाका लागि त्याग्नु हुनेछैन। यहोवा आफ्नो विश्वासी सेवकहरूलाई शर्ममा पार्ने परमेश्वर हुनुहुन्न; उहाँले प्रतिज्ञाहरू तोड्नु हुन्न। बरु उहाँ सत्य र आफूमाथि पूर्ण भरोसा राख्नेहरूलाई इनाम दिने परमेश्वर हुनुहुन्छ। अन्तमा विश्वास पुरस्कृत हुनेछ! छुटकारा आउने नै छ!—भजनसंग्रह ३१:५, ६.
३ शोक र विपत्तिको गहराइबाट भरोसाको चरमबिन्दुसम्म बग्दै जाने सङ्गीतको रचना गरेर भजनरचयिताले आन्तरिक बल पाउँछन्। यहोवाको निष्ठावान प्रेमका लागि तिनी उहाँको प्रशंसा गर्छन्। तिनी यसो भन्दै गाउँछन्, “परमप्रभु [यहोवा न्यु व०] धन्यको हुनुहुन्छ। किनकि उहाँले आफ्नो गजबको करूणा शक्तिशाली शहरमा मलाई देखाउनुभएको छ।”—भजनसंग्रह ३१:२१.
राज्य प्रचारकहरूको शक्तिशाली गायन टोली
४ आज, त्यस भजनका शब्दहरू फेरि ज्वलन्त भएका छन्। कुनै दुष्ट विरोधी, प्राकृतिक प्रकोप वा आर्थिक विपत्तिले यहोवाको प्रशंसा गानलाई रोक्न सक्दैन; उहाँका मानिसहरूका निम्ति यहोवाको करूणा साँच्चै नै अद्भुत भएको छ। गत सेवा साल, २३१ मुलुकहरूमा ४७,०९,८८९-जनाको गायन टोलीले परमेश्वरको राज्यको समाचार गाए। ख्रीष्ट येशूद्वारा आउने यहोवाको स्वर्गीय राज्य त्यस्तो शरण हो जसले तिनीहरूलाई निराश पार्नेछैन। गत वर्ष ७३,०७० मण्डलीबाट आएका यी राज्य प्रचारकहरूले प्रचार कार्यमा कुल १,०५,७३,४१,९७२ घण्टा बिताए। यसको फलस्वरूप २,९६,००४ मानिसहरूले परमेश्वरप्रति आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतिकात्मक रूप दिए। अनि गत अगस्त महिनामा किभ, युक्रेनमा सम्पन्न ईश्वरीय शिक्षा, अन्तर्राष्ट्रिय सम्मेलनमा भेला हुने सबैले कस्तो आशै नगरेको कुराको आनन्द उठाए। यहोवाका साक्षीहरूको इतिहासमा अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै साँचो मसीहीहरूको बप्तिस्मा तिनीहरूले देख्न पाए! यशैया ५४:२, ३-मा अगमवाणी गरिएझैं परमेश्वरका मानिसहरू अपूर्व संख्यामा वृद्धि भइरहेका छन्।
५ तथापि, परमेश्वरको राज्यका अरू इच्छुक प्रजाहरू पनि यस गायन टोलीमा सामेल हुने प्रतीक्षामा छन्। गत वर्ष आश्चर्यचकित पार्नेगरि कुल १,१८,६५,७६५ मानिसहरू येशूको मृत्युको स्मरणार्थ सभामा सरिक भए। आशा छ, यस सेवा सालमा यीमध्ये धेरै जना घर-घर गएर राज्य गीत गाउन योग्य हुनेछन्। यस्तो सम्भावना देखेर सत्यको शत्रु शैतान अनि दियाबललाई कस्तो रीस उठ्दो हो!—प्रकाश १२:१२, १७.
६ अवश्य शैतानले यस शक्तिशाली गायन टोलीमा अरूहरूलाई आफ्नो स्वर थप्नदेखि रोक्नेछ। उदाहरणको लागि, थाइलैण्डका प्रकाशकहरूले निकै मानिसहरू प्रेतात्माबाट पीडित भएका भेट्टाउँछन्। तथापि, कतिपय सोझा व्यक्तिहरूले भने यहोवाको मदतद्वारा मुक्ति पाएका छन्। त्यस्तै एक जना मान्छे कौतूहलवश झाँक्रीलाई भेट्न जाँदा दश वर्षसम्म प्रेतात्माको काबूमा परेछ। प्रेतात्माबाट मुक्ति पाउन तिनले पादरीको मदत पनि लिए तर कुनै फाइदा भएन। पछि यस व्यक्तिसँग यहोवाका पूर्ण समय सेवक साक्षीले बाइबल अध्ययन सुरु गरेछ। अनि तिनले प्रेतात्माबाट छुटकारा पाउने एकमात्र उपाय, सत्यको सही ज्ञान लिनु, यहोवा परमेश्वरमाथि भरोसा राख्नु र उहाँलाई प्रार्थनाद्वारा बिन्ति गर्नु हो भनी बाइबलबाट सिकाएछ।—१ कोरिन्थी २:५; एफिसी ४:६, ७; १ तिमोथी २:३, ४.
७ यस छलफलपछि यो व्यक्तिले राती सपनामा आफ्नो मृत पिताले झाँक्री बन्न छाडेमा हानि गर्ने धम्की दिएको देखेछ। तिनको परिवारले दुःख भोग्न थाल्यो। तर आफ्नो अडानमा अडिग भएर तिनले बाइबल अध्ययनलाई जारी राखे र सभाहरू पनि धाउन थाले। यस्तै अध्ययनको दौडान, त्यस अग्रगामी भाइले यो कुरा बताएछ कि प्रेतात्मा रीतिथितिमा प्रयोग गरिने चीजबीजले कहिलेकाहीं ती प्रेतात्माहरूबाट उम्किन चाहने व्यक्तिहरूलाई सताउन प्रेतात्माहरूका निम्ति बाटो खोलिदिनसक्छ। यस मानिसले आफूसँग मन्त्रको रूपमा चलाएको केही तेल बाँकि भएको सम्झे। तब तिनले आफूसँग त्यो तेल राख्नु हुँदैन भनेर बुझे। त्यसलाई फालेदेखि दुष्टात्माहरूले फेरि तिनलाई सताएका छैनन्। (एफिसी ६:१३; याकूब ४:७, ८ तुलना गर्नुहोस्।) अहिले तिनी र तिनकी पत्नी आफ्नो अध्ययनमा राम्रो प्रगति गर्दैछन् र बाइबलको शिक्षाका लागि नियमित रूपमा सभाहरू धाउँदैछन्।
८ अन्य बाधाहरूले पनि सुसमाचारको आवाजलाई निस्सासिदिन सक्छ। घानाको कठोर आर्थिक परिस्थितिको कारण कामदारहरूलाई बर्खास्त गरिएको छ। दैनिक उपभोग्य सामानहरूको भाउ झन् झन् आकाशिंदै गएको हुँदा जीवनका न्यूनतम आवश्यकताहरूलाई टार्न समेत धौ-धौ परेको छ। यहोवाका जनहरूले कसरी यसको सामना गर्दैछन् त? आफैमा नभइ यहोवामाथि भरोसा गरेर। उदाहरणका लागि एक जना मानिसले घानाको शाखा कार्यालयको रिसेप्सन डेस्कमा एउटा बन्द खाम छाडेछ। उक्त खामभित्र २०० अमेरिकी डलर अर्थात् तीन महिना बराबरको तलब राखिएको थियो। खाम बाहिर कसैको नाउँ थिएन तर खामभित्र पैसा बेरेर राखेको कागजमा भने यस्तो लेखिएको थियो: “मैले आफ्नो जागिर गुमाएको थिएँ तर यहोवाले मेरो लागि अर्को जागिरको प्रबन्ध गर्नुभयो। म उहाँ र उहाँको पुत्र ख्रीष्ट येशूप्रति कृतज्ञ छु। अन्त आउनअघि राज्यको सुसमाचारलाई फैलाउन मदत गर्न म यो सानो चन्दा दिंदैछु।”—२ कोरिन्थी ९:११ तुलना गर्नुहोस्।
९ यहोवाको प्रशंसा गाउन यस शक्तिशाली गायन टोलीमा सामेल हुनेहरूले सभामा उपस्थिति भएर मदत पाउँछन्। (भजनसंग्रह २२:२२ तुलना गर्नुहोस्।) होण्डुरसको दक्षिणी भू-भागमा एल हरडोन भन्ने यस्तै एउटा मण्डली छ। यस सानो समूहमा त्यस्तो विशेष कुरा के छ? तिनीहरूले विश्वासीपूर्वक धाएको सभा। हर हप्ता सभामा उपस्थित हुन १९ जना प्रकाशकहरूमध्ये १२ जनाले ठूलो नदी तर्नुपर्छ। सुख्खा मौसममा यो त्यतिको समस्या हुँदैन किनभने ढुङ्गाहरूमा टेक्दै तिनीहरूले नदी तर्न सक्छन्। तर वर्षा याममा परिस्थिति नै अर्कै हुन्छ। पहिलेको त्यो सानो खोलो बढेर अहिले बाटोमा भएजति सबैलाई बगाउने प्रचण्ड वेग बन्दछ। यो बाधालाई पार गर्न ती भाइ-बहिनीहरू कुशल पौडीबाज हुनुपर्छ। सभामा लगाउने लुगाफाटालाई नदी तर्नुअघि तिनीहरूले टिना (फलामको बाटा) मा राखेर त्यसलाई प्लास्टिकले छोप्छन्। त्यसपछि तिनीहरूमध्ये बलियो पौडीबाजले पानीमा उत्रन त्यस टिना-लाई समातेर बाकिं समूहलाई डोऱ्याउँदै नदी तर्छन्। सुरक्षितपूर्वक अर्को किनारामा पुगेपछि पुछपाछ गरेर तिनीहरू लुगा लगाउँछन् र प्रसन्न अनुहार अनि सुकिलो भएर राज्य भवनमा आइपुग्छन्।—भजनसंग्रह ४०:९.
हामीले शरण लिनसक्ने एउटा किल्ला
१० चाहे प्रेतात्माले एकदम सताएको होस् वा अरू कारणहरूले गर्दा दिक्क भएको होस्, तपाईंले यहोवालाई बलियो गढ बनाउन सक्नुहुन्छ। उहाँलाई प्रार्थनामा पुकार्नुहोस्। आफ्नो मानिसको विरहको मधुरो आवाजलाई समेत उहाँले ध्यान दिएर सुन्नुहुन्छ। यो कुरा भजनरचयिताले एकदम सत्य पाए र यसरी लेखे: “तपाईंको कान मतिर लगाउनुहोस्। मलाई झट्टै छुटाउनुहोस्। मेरो निम्ति तपाईं बलियो चटान, र मलाई बचाउन रक्षाको घर हुनुहोस्। किनकि मेरो चटान र किल्ला तपाईंनै हुनुहुन्छ। यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्याउनु र अगुवाइ गर्नुहोस्। तिनीहरूले मेरो निम्ति गुप्तमा थापेको पासोबाट मलाई फुस्काउनुहोस्। किनकि तपाईंनै मरो दृढ़ गढ़ हुनुहुन्छ।”—भजनसंग्रह ३१:२-४.
११ यहोवा अल्पकालीन शरण नभइ एउटा अविजित गढ़ हुनुहुन्छ जहाँ हामी निर्धक्क रहन सक्छौं। उहाँले मानिसहरूलाई दिनुभएको नेतृत्व र निर्देशन विफल भएका छैनन्। शैतान र त्यसको झुण्डका सबै धूर्त कामहरूलाई ईश्वरीय शक्तिले बेकामको बनाइदिनेछ। (एफिसी ६:१०, ११) हामीले हृदयदेखि नै यहोवामाथि पूर्ण भरोसा राख्यौं भने उहाँले हामीलाई शैतानको पासोबाट बचाउनुहुनेछ। (२ पत्रुस २:९) गत चार वर्षभित्र ३५ वटा देशहरूमा यहोवाका साक्षीहरूको प्रचारकार्य सुरु भएको छ। यसका साथै सामाजिक, आर्थिक वा राजनैतिक परिस्थितिले सुसमाचार प्रचारकार्यमा अड्चन पैदा गरेका ठाउँहरूबाट भेडाखालका मानिसहरू अन्यत्र बसाइँ सरेका छन् जहाँ तिनीहरूलाई सजिलै भेट्न सकिन्छ। जापान त्यस्तै एउटा ठाउँ हो।
१२ समुद्रपार मुलुकहरूबाट निकै विदेशी कामदारहरू जापानमा ओइरिरहेका छन्। यसले गर्दा थुप्रै वैदेशिक-भाषा मण्डलीहरू पनि स्थापित भएका छन्। यी वैदेशिक-भाषा क्षेत्र कतिको फलदायी छ भनेर जापानी मण्डलीको एक जना भाइको अनुभवले बताउँछ। यो भाइ आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न चाहन्थे। हुनत आफ्नै इलाकामा पनि तिनले १० वटा बाइबल अध्ययनहरू सञ्चालन गर्दै थिए। यो देखेर तिनको मित्रले ठट्टा गर्दै यसो भने: “आवश्यकता बढी भएको ठाउँमा गयौ भने तिमीले १० वटा होइन २० वटा बाइबल अध्ययन सञ्चालन गर्नुपर्नेछ!” नियुक्ति पत्र पाएपछि तिनी हिरोसिमा गए। तर चार महिना बितिसक्दा पनि तिनको एउटा मात्रै बाइबल अध्ययन थियो। एक दिन प्रचार कार्यमा तिनले ब्राजिलबाट आएका पोर्तगाली भाषा बोल्ने एक जना मानिसलाई भेट्टाए। यो भाइले उक्त व्यक्तिसँग कुराकानी गर्न नसकेको हुँदा तिनले पोर्तगाली भाषा सिक्न एउटा किताब किनेछ। साधारण वार्तालापका केही शब्दहरू टिपेपछि तिनले फेरि उक्त व्यक्तिलाई भेट्न गए। यस भाइले पोर्तगाली भाषामा अभिवादन गरेको देखेर त्यो मानिस तीन छक पऱ्यो र मुस्कुराउँदै तिनले भित्र आउने आग्रह गरे। लगत्तै बाइबल अध्ययन पनि सुरु भयो। केही समयपश्चात् यो भाइ १४ वटा पोर्तगाली, छ वटा स्पेनी र दुई वटा जापानी भाषामा गरी जम्मा २२ वटा अध्ययन सञ्चालन गर्दै थिए!
निर्धक्कतासाथ प्रचार गर्ने
१३ यहोवा आफ्नो शरण हुनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ यहोवाका जनहरू निर्धक्क भएर राज्य गीत गाउँछन्। (भजनसंग्रह ३१:१४) तिनीहरू लज्जित हुनेछैनन्—यहोवाले तिनीहरूलाई शर्ममा पार्नुहुनेछैन किनभने उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ। (भजनसंग्रह ३१:१७) दियाबल र त्यसका सहगणहरू लज्जित हुनेछन्। यहोवाका मानिसहरूलाई कुनै लज्जास्पद तत्त्व नभएको समाचार प्रचार गर्ने काम दिइएको हुँदा अरू मानिसहरूको लाजको कारण तिनीहरू प्रचार गर्न बाध्य महसुस गर्दैनन्। यहोवा वा उहाँको पुत्रले यसरी उपासना गर्न मानिसहरूलाई उत्प्रेरित गर्नुहुन्न। मानिसहरूको हृदय विश्वास अनि यहोवाको भलाइ र करूणाको मूल्याङ्कनले भरिएपछि उनीहरूको असल हृदयले नै तिनीहरूलाई आफ्नो मुख खोल्न उत्प्रेरित गर्छ। (लूका ६:४५) तसर्थ, हर महिना हामीले सेवकाईमा बिताएको समय हाम्रो यथासक्य योगदान हो भने त्यो लज्जास्पद नभइ असल हो। के येशू र उहाँको पिताले विधवाले चढाएको दुई पैसाको ठूलो मूल्याङ्कन गर्नुभएन र?—लूका २१:१-४.
१४ निकै प्रकाशकहरूका लागि आफ्नो उपासनामा पूर्ण मनको हुनुको अर्थ अग्रगामी हुनु भएको छ—त्यसैकारण गत वर्ष ८,९०,२३१ जना अग्रगामीहरूको शिखर संख्या थियो। अगिल्लो वर्षको वृद्धिलाई कायमै राख्ने हो भने पनि यो संख्या पहिलेको भन्दा १०,००,०००-ले बढी हुन्छ। तल दिइएको यस अनुभवले नाइजेरियाकी एउटी बहिनी कसरी अग्रगामी सेवामा प्रवेश गरिन् भनेर देखाउँछ। तिनी लेख्छिन्: “माध्यामिक विद्यालयमा मेरो पढाइ सकिनै लागेको थियो। त्यसैबेला यहोवाका साक्षीहरूको अग्रगामी पाठशालामा उपस्थित हुनेहरूका लागि खाना पकाउन मदत गर्न भनी गएको थिएँ। मैले त्यहाँ मेरो बज्यैभन्दा वृद्ध दुई बहिनीहरूलाई भेटें। जब मैले तिनीहरू त्यस पाठशालामा आएका अग्रगामीहरू रहेछन् भनेर थाहा पाएँ, मैले आफैलाई सोधें, ‘यदि यी दुई जनाले अग्रगामीको काम गर्न सक्छन् भने मैले किन नसक्ने?’ त्यसकारण स्कूलको पढाइ सक्ने बित्तिकै म पनि नियमित अग्रगामी भएँ।”
१५ सबैले अग्रगामीको काम गर्न नसके तापनि साक्षी भने दिन सक्छन्। बेल्जियमकी ८२ वर्षीया बहिनी बगरेको पसलमा गइछ। तिनले त्यहाँ हालै भएको राजनैतिक गोलमोलको कारण बगरेकी पत्नी निकै चिन्तित भएकी याद गरिछ। अतः बिल तिर्दा तिनले पैसासँगै यहोवाका साक्षीहरूले के विश्वास गर्छन्? भन्ने पर्चा राखेर दिई। पछि त्यो बहिनी फेरि त्यो पसलमा जाँदा बगरेकी पत्नीले तेस्रो विश्व युद्धको सम्भाव्यताबारे बाइबलले के भन्छ भनेर प्वाक्क सोधिन्। त्यसपछि यो वृद्ध बहिनीले ट्रु पिस एण्ड सिक्योरिटी—हाउ क्यान यु फाइन्ड इट? भन्ने पुस्तक दिईन्। केही दिनपश्चात् यो बहिनी फेरि त्यस पसलमा जाँदा बगरेकी पत्नीको अझै थुप्रै जिज्ञासा थियो। यो महिलालाई देखेर तिनको मनमा दया जागेछ; तिनले बाइबल अध्ययनको प्रस्ताव नराखी धरै पाईनन् र त्यस महिलाले स्वीकारिन् पनि। अहिले बगरेकी पत्नी बप्तिस्मा लिन चाहन्छिन्। अनि बगरे नि? तिनले पनि त्यो पर्चा पढेछ र अहिले तिनी पनि बाइबल अध्ययन गर्दैछन्।
‘भलाइको धन’
१६ यी तनावपूर्ण अन्तिम दिनहरूमा के यहोवाले आफ्नो शरण लिनेहरूलाई “गजबको करुणा” देखाउनु भएको छैन र? एक जना मायालु रक्षक पितालेझैं यहोवाले आफ्ना पार्थिव सन्तानका निम्ति भलाइको धन साँचेर राख्नुभएको छ। सबैका सामू उहाँले तिनीहरूमाथि खुशी वर्षाइरहनुभएको छ। भजनरचयिताले यही कुरालाई यसरी भन्छन्: “तपाईंसँग डराउनेहरूका निम्ति राख्नुभएको तपाईंको भलाइ कति ठूलो छ, जो तपाईंले आफ्ना शरण पर्नेहरूका निम्ति मानिसका सन्तानको सामने प्रकट गर्नुभएको छ!”—भजनसंग्रह ३१:१९, २१.
१७ त्यसकारण सांसारिक मानिसहरू यहोवाको उपासना गर्ने व्यक्तिहरूले देखाएका इमान्दारीको प्रत्यक्षदर्शी हुन्छन् र तिनीहरू आश्चर्य मान्छन्। उदाहरणको लागि घानाको ९६ वर्षीय व्यक्तिले विवाह दर्ता गराउने कार्यालयमा गएर ७० वर्षअघिको आफ्नो अवैधानिक विवाहलाई दर्ता गराउन आग्रह गरेछ। यो सुनेर विवाह दर्ता गराउने अधिकारी ताजुब हुँदै सोधेछन्: “के भन्नु भएको, यो उमेरमा आएर विवाह दर्ता गर्ने?”
१८ त्यस वृद्धले यसरी जवाफ दिए: “म यहोवाको साक्षी हुन चाहन्छु र यस संसारको अन्त आउनअघि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने सबैभन्दा महत्त्वपूर्ण काममा भाग लिन चाहन्छु। यही कामले अनन्त जीवनसम्म पुऱ्याउँछ। यहोवाका साक्षीहरू विवाह दर्ता गर्ने कानुन लगायत सबै विधान पालन गर्छन्। त्यसकारण कृपया मेरो विवाह दर्ता गरिदिनुहोस्।” यो सुनेर अधिकारी स्तब्ध भए। तिनले दर्ता गरिदिए र यो वृद्ध व्यक्ति आफ्नो विवाहले कानुनी मान्यता पाएकोमा रमाउँदै घरतर्फ लागे।—रोमी १२:२ तुलना गर्नुहोस्।
१९ त्यसपछि विवाह दर्ता गर्ने अधिकारी आफूले सुनेका कुरामाथि विचार गर्न थालेछ। “यहोवाका साक्षीहरू . . . महत्त्वपूर्ण काम . . . संसारको अन्त . . . परमेश्वरको राज्य . . . अनि अनन्त जीवन।” त्यस ९६ वर्षीय वृद्धको जीवनमा यसको के अर्थ होला भन्ने उलझनमा परेर तिनले साक्षीहरूलाई भेटेर त्यसबारे राम्रो जानकारी लिने निधो गरेछ। तिनले गृह बाइबल अध्ययनलाई स्वीकारे अनि चाँडै नै प्रगति पनि गरे। आज, त्यो विवाह दर्ता गर्ने अधिकारी बप्तिस्माप्राप्त साक्षी भएका छन्। यसर्थ, सानोभन्दा सानो कुरामा पनि हामीले यहोवाको आज्ञा पालन गऱ्यौं भने हामी आफैलाई र हाम्रा आचरणका प्रत्यक्षदर्शीहरूलाई असीमित भलाइ हुनसक्छ।—१ पत्रुस २:१२ तुलना गर्नुहोस्।
२० आफूलाई इमान्दार व्यक्तित्वमा ढाल्न सच्चाइलाई मौका दिने बुज्रुगहरूले यस्तो बेइमान संसारमा जवानहरूका निम्ति राम्रो उदाहरण बसाल्छन्। म्यानमारमा त्यस्तै एउटी जवान बहिनी छिन्। तिनी एउटा गरीब र नम्र परिवारको दश जना छोराछोरीमध्ये एक हुन्। तिनका पिता पेन्शनप्राप्त व्यक्ति र नियमित अग्रगामी हुन्। एक दिन विद्यालयमा यस बहिनीले हीराको औंठी भेट्टाइछे र तुरुन्तै लगेर आफ्नो शिक्षिकालाई दिइछे। अर्को दिन सबै जना आफ्नो कक्षामा भेला हुँदा यस शिक्षिकाले औंठी पाएको घटनालाई सुनाए र त्यस औंठीलाई फर्काइदिन तिनलाई दिए। अरू बच्चाहरूले भए त्यो औंठी आफै राख्ने थिए भन्ने कुरा थाहा भएको हुनाले तिनले त्यस बहिनीलाई कक्षासमक्ष खडा भएर आफूले त्यसो गर्नुको कारण बताउन आग्रह गरिन्। यस बहिनीले आफू यहोवाको साक्षी भएको र आफ्नो परमेश्वरले चोरी वा कुनै प्रकारको बेइमानीलाई मन पराउनुहुन्न भनेर बताइन्। विद्यालयका सबैले यो कुरा थाहा पाए र त्यस बहिनीले शिक्षकहरू र विद्यार्थीहरूलाई साक्षी दिने राम्रो मौका पाइन्।
२१ बेल्जियमका एक जना शिक्षकले यहोवाका साक्षीहरूबारे कक्षामा चाखलाग्दो टिप्पणी गरे। तिनले आफ्नो एक जना विद्यार्थी अर्थात् हाम्रो एक जना जवान बहिनीको आचरणलाई अवलोकन गरेपछि यसो भने: “यहोवाका साक्षीहरूबारे मेरो अब बेग्लै धारणा छ। पूर्वाग्रहको कारण म तिनीहरूलाई असहिष्णु व्यक्ति ठान्थे। तर तिनीहरू सबैभन्दा बढी सहिष्णुता देखाउने र आफ्नो सिद्धान्तको सम्झौता नगर्ने व्यक्तिहरू निस्के।” वर्षेनी आफ्ना उत्तम विद्यार्थीहरूलाई त्यस स्कूलका शिक्षकहरूले पुरस्कार प्रदान गर्थे। अन्य पुरस्कारको अतिरिक्त त्यहाँ नैतिक आचरणका लागि पनि पुरस्कार दिने प्रबन्ध थियो। लगातार तीन वर्षसम्म यी शिक्षकहरूले तीन वटा उच्च श्रेणीका लागि यहोवाका साक्षीहरूका छोराछोरीलाई पुरस्कृत गरे। यहोवामाथि विश्वासीपूर्वक भरोसा गर्नेहरूमाथि बारम्बार यस्तो भइरहन्छ।—भजनसंग्रह ३१:२३.
२२ भजनसंग्रह ३१ यस विजयी समापनसाथ गुञ्जन्छ: “हे परमप्रभुमा [यहोवामा न्यु व०] आशा राख्ने हो, बलियो होऊ, र तिमीहरूको हृदयमा साहस आओस्।” (भजनसंग्रह ३१:२४) तसर्थ, शैतानको दुष्ट रीतिरिवाजको अन्त नजिक आउँदा, हामीलाई त्याग्नुको सट्टा यहोवा हाम्रो नजिक आउनु हुनेछ र हामीमाथि आफ्नो शक्ति खन्याउनुहुनेछ। यहोवा विश्वासी हुनहुन्छ र उहाँले हामीलाई कहिल्यै तिरस्कार गर्नुहुन्न। उहाँ हाम्रो शरण; हाम्रो धरहरा हुनुहुन्छ।—हितोपदेश १८:१०. (w94 1/1)
के तपाईंलाई सम्झना छ?
▫ हामी किन निर्धक्कतासाथ यहोवालाई आफ्नो शरण बनाउन सक्छौं?
▫ एउटा शक्तिशाली गायन टोलीले साहसीपूर्वक राज्य प्रशंसा गाउँदैछ भन्ने के प्रमाण छ?
▫ शैतानको जालमा यहोवाका मानिसहरू फस्ने छैनन् भनी हामी किन निर्धक्क हुनसक्छौं?
▫ आफ्नो शरण लिनेहरूका लागि यहोवाले कस्तो धन साँचेर राख्नुभएको छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. यहोवाको शरण दिनसक्ने क्षमतामाथि भजनसंग्रह ३१-ले कसरी निर्धक्कता प्रकट गर्छ?
२. (क) कुन दुई खामाको आधारमा हाम्रो बलियो गढको रूपमा यहोवामाथि भरोसा गर्नसक्छौं? (ख) यहोवा कस्तो किसिमको परमेश्वर हुनुहुन्छ?
३. भजनरचयिताले यहोवाको प्रशंसा कसरी गर्छन्?
४, ५. (क) कुन शक्तिशाली गायन टोलीले आज यहोवाको प्रशंसा गाउँदैछ र गत सेवा सालमा तिनीहरूले त्यो प्रशंसा कसरी गाए? (ख) राज्य प्रचारकको गायन टोलीमा अझै धेरै जना सामेल हुन इच्छुक छन् भनेर स्मरणार्थ उपस्थितिले कसरी संकेत गर्छ? (ग) तपाईंको मण्डलीका कुन समूह यस गायन टोलीमा सामेल हुनसक्ने योग्यका छन्?
६, ७. सच्चाइप्रति चासो लिने व्यक्तिले कसरी यहोवाको मदतद्वारा प्रेतात्माबाट मुक्ति पाए? वर्णन गर्नुहोस्।
८, ९. केही राज्य प्रचारकहरूले अरू कस्ता बाधाहरूलाई पनि पार गरेका छन्?
१०. तनावपूर्ण समयमा हामी किन यहोवातर्फ फर्कन सक्छौं?
११. यहोवाको गढ अल्पकालीन ठाउँ किन होइन? व्याख्या गर्नुहोस्।
१२. जापानको एक जना अग्रगामीले कसरी यहोवालाई आफ्नो बलियो गढ बनाए?
१३. यहोवाको सेवा गर्न किन हामीलाई कसैले लज्जित पार्नु हुँदैन?
१४. अग्रगामी कामको सम्बन्धमा तपाईं कस्तो टिप्पणी गर्न सक्नुहुन्छ?
१५. अनौपचारिक साक्षीले कसरी अरूहरूलाई पनि यहोवाको शरणमा पर्ने बाटो खोलिदिनसक्छ?
१६. आफ्ना जनहरूको निम्ति यहोवाले कसरी भलाइको धन साँच्नुभएको छ?
१७-१९. घानाको वृद्ध व्यक्तिले आफ्नो विवाह दर्ता गर्दा कस्तो असल परिणाम भयो?
२०. म्यानमारकी एउटी बहिनीको इमान्दारीले गर्दा कस्तो राम्रो साक्षी दिने काम सम्पन्न भयो?
२१. जवानहरूले यहोवामाथि भरोसा राख्दा तिनीहरूको आचरणमा कस्तो असर पर्छ?
२२. भजनसंग्रह ३१-को विजयी समापन के हो र यस रीतिरिवाजको अन्तिम समयमा कसरी त्यसले हामीलाई मदत गर्छ?
[पृष्ठ १२, १३-मा भएको चित्र]
यहोवाको शरण लिने राज्य प्रचारकहरूले—४७,०९,८८९ बहुसंख्यकको शक्तिशाली गायन टोली बनाउँछन्!
१. सेनेगल
२. ब्राजिल
३. चिली
४. बोलिभिया