-
“यहोवाको उर्दी” विफल हुन सक्दैनप्रहरीधरहरा—२००४ | जुलाई १५
-
-
राष्ट्रहरू खैलाबैला मच्चाउँछन्
४. भजन २:१, २ का मुख्य बुँदाहरू तपाईं सारांशमा कसरी बताउनुहुन्छ?
४ राष्ट्रहरू र तिनका शासकहरूको कार्यलाई सङ्केत गर्दै भजनहार आफ्नो गीत यसरी सुरु गर्छन्: “अन्यजातिहरूले किन खैलाबैला मच्चाउछन्, र जाति जातिहरूले किन व्यर्थका कुरा सोच्तछन्? परमप्रभु र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा, पृथ्वीका राजाहरू आफै खडा हुन्छन्, र शासकहरू आपसमा . . . सल्लाह गर्छन्।”—भजन २:१, २.a
५, ६. जाति जातिहरूले कस्तो “व्यर्थका कुरा सोच्तछन्”?
५ वर्तमान समयका जाति जातिहरूले कस्तो “व्यर्थका कुरा सोच्तछन्”? परमेश्वरले अभिषेक गर्नुभएको जन—मसीह वा ख्रीष्टलाई—स्वीकार्नुको सट्टा राष्ट्रहरूले आफ्नै अख्तियारलाई जोगाउनेबारे मात्र “सोच्तछन्” वा मनन गर्छन्। परमेश्वरको नियुक्त राजा येशू ख्रीष्टलाई मार्न यहूदी तथा रोमी अधिकारीहरूले हातेमालो गर्दा सा.यु. प्रथम शताब्दीमा पनि भजन दोस्रो अध्यायका यी शब्दहरू पूरा भए। तथापि, येशूलाई स्वर्गमा राजाको रूपमा स्थापित गरेपछि सन् १९१४ मा यसको बृहत् पूर्ति सुरु भयो। त्यस समयदेखि यता पृथ्वीको एउटा पनि राजनैतिक सरकारले परमेश्वरको गद्दीनसीन राजालाई स्वीकारेको छैन।
६ “जाति जातिहरूले किन व्यर्थका कुरा सोच्तछन्” भनी भजनहारले प्रश्न गर्दा यसको अर्थ के थियो? तिनीहरूको उद्देश्य व्यर्थ छ; यो खोक्रो छ र पक्कै विफल हुनेछ। तिनीहरूले यस संसारमा शान्ति र एकता ल्याउन सक्दैनन्। यद्यपि, तिनीहरूले ईश्वरीय शासनको विरोध गर्ने कार्यहरूसमेत गर्छन्। वास्तवमा, तिनीहरूले एक मत भएर वैमनस्यतापूर्ण अडान लिएका छन् अनि सर्वोच्च र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा खडा भएका छन्। कस्तो घोर मूर्खता!
यहोवाको विजयी राजा
७. येशूका प्रारम्भिक अनुयायीहरूले प्रार्थना गर्दा भजन २:१, २ कसरी लागू गरे?
७ भजन २:१, २ येशूमा लागू हुन्छ भनी उहाँका अनुयायीहरूले देखाए। आफ्नो विश्वासको खातिर सताइँदा तिनीहरूले यसरी प्रार्थना गरे: “हे प्रभु [यहोवा], जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो, जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्नुभयो, ‘किन अन्यजातिहरू झोंक्किन्छन्, र किन मानिसहरूले व्यर्थका कुराहरू रच्तछन्? परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा, पृथ्वीका राजाहरू एक साथ खडा भए, र शासकहरू सँगसँगै भेला भए।’ किनभने साँच्चै यसै शहरमा तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक, येशूको विरुद्धमा हेरोद [एन्तिपस] र पन्तियस पिलातस दुवै, अन्यजाति र इस्राएली जनतासँग भेला भएका थिए।” (प्रेरित ४:२४-२७; लूका २३:१-१२)b हो, परमेश्वरका अभिषक्त जन येशूको विरुद्धमा प्रथम शताब्दीमा षड्यन्त्र गरिएको थियो। तथापि, शताब्दीयौंपछि यस भजनको अर्को पूर्ति हुने थियो।
८. वर्तमान समयका राष्ट्रहरूलाई भजन २:३ कसरी लागू हुन्छ?
८ पुरातन इस्राएलमा दाऊदजस्ता मानव राजा हुँदा मूर्तिपूजक राष्ट्र तथा शासकहरू परमेश्वर र उहाँको गद्दीनसीन अभिषिक्त जनको विरुद्धमा जम्मा भए। तर हाम्रो समयमा नि? वर्तमान समयका राष्ट्रहरू यहोवा र मसीहका आवश्यकताहरू अनुरूप चल्न चाहँदैनन्। त्यसकारण, तिनीहरूले यसो भनिरहेका छन् भनी चित्रण गरिएको छ: “लौ, हामी तिनीहरूका बन्धन टुक्रा टुक्रा पारेर छिनालौं, र तिनीहरूका डोरीहरू हामीबाट फुकालेर फालिदिऔं।” (भजन २:३) परमेश्वर र उहाँको अभिषिक्त जनले लगाएको कुनै पनि प्रतिबन्धको ती शासक तथा राष्ट्रहरूले विरोध गर्नेछन्। निस्सन्देह, यस्तो बन्धन टुक्रा-टुक्रा पारेर छिनाल्ने र यस्ता डोरीहरू फुकालेर फाल्ने कुनै पनि प्रयत्न बेकार हुनेछ।
-
-
“यहोवाको उर्दी” विफल हुन सक्दैनप्रहरीधरहरा—२००४ | जुलाई १५
-
-
a सुरुमा, राजा दाऊद परमेश्वरले “अभिषेक गर्नुभएको जन” थिए र तिनको विरुद्ध सेनाहरू भेला गर्ने पलिश्ती शासकहरू चाहिं “पृथ्वीका राजाहरू” थिए।
b मसीही युनानी धर्मशास्त्रका अरू पदहरूले पनि भजन दोस्रो अध्यायमा सङ्केत गरिएको परमेश्वरको अभिषिक्त जन येशू नै हुनुहुन्छ भनी देखाउँछन्। भजन २:७ लाई प्रेरित १३:३२, ३३ र हिब्रू १:५; ५:५ सित तुलना गर्दा यो कुरा प्रष्ट हुन्छ। भजन २:९ र प्रकाश २:२७ पनि हेर्नुहोस्।
-