प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ९/१५ pp. २१-२३
  • के तपाईंलाई परमेश्‍वर वास्तविक लाग्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई परमेश्‍वर वास्तविक लाग्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धर्मशास्त्र अध्ययन गर्नुहोस्‌
  • नियमित तथा खुरन्धार प्रार्थना गर्नुहोस्‌
  • सृष्टिलाई नियाल्नुहोस्‌
  • यहोवासँग हिंड्‌नुहोस्‌
  • हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • के परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुहुनेछ?
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ९/१५ pp. २१-२३

के तपाईंलाई परमेश्‍वर वास्तविक लाग्छ?

परिस्थितिवश आकुलव्याकुलमा पर्नुहुँदा के तपाईं अनायास परमेश्‍वरलाई पुकार्नुहुन्छ? पुकार्नुहुन्छ भने, त्यतिखेर के तपाईंलाई वास्तविक व्यक्‍तिसित कुरा गरिरहेको जस्तो लाग्छ?

स्वर्गमा हुनुहुने आफ्नो पितालाई सम्बोधन गर्दै येशू ख्रीष्टले भन्‍नुभयो: “मलाई पठाउने सच्चा हुनुहुन्छ।” (यूहन्‍ना ७:२८) हो, यहोवा परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ र उहाँलाई पुकार्नु, आपत्‌विपत्‌ पर्दा एकदमै मिल्ने मानव साथीलाई गुहार्नु वा सल्लाह माग्नुसरह हो। तथापि, परमेश्‍वरले हाम्रो बिन्ती सुनून्‌ भन्‍ने चाहन्छौं भने हाम्रो प्रार्थनाले धर्मशास्त्रीय मागहरू पूरा गरेको हुनैपर्छ। उदाहरणका लागि, हामीले विनम्र भई “प्रार्थना सुन्‍नुहुने[लाई]” उहाँको पुत्रको नाउँमा पुकार्नुपर्छ।—भजन ६५:२; १३८:६; यूहन्‍ना १४:६.

परमेश्‍वर अदृश्‍य हुनुभएकोले कसै कसैलाई उहाँ व्यक्‍तित्वविहीन लाग्नसक्छ। परमेश्‍वर अमूर्त हुनुहुन्छ जस्तो तिनीहरू ठान्‍नसक्छन्‌। परमेश्‍वरका अद्‌भुत्‌ गुनहरू थाह पाइसकेका कुनै कुनै मसीहीहरूलाई समेत कहिलेकाहीं उहाँ वास्तविक हुनुहुन्छ भनेर महसुस गर्न गाह्रो पर्नसक्छ। के तपाईंलाई पनि यस्तै लागेको छ? छ भने, यहोवा परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर महसुस गर्न तपाईंलाई केले मदत गर्नसक्छ?

धर्मशास्त्र अध्ययन गर्नुहोस्‌

के तपाईं नियमित तवरमा पवित्र धर्मशास्त्र अध्ययन गर्नुहुन्छ? तपाईं जति धेरै बारम्बार र एकाग्र भई बाइबल पढ्‌नुहुन्छ, यहोवा परमेश्‍वर त्यति नै वास्तविक लाग्नेछ। यसरी तपाईंको विश्‍वास दृढ हुनेछ र फलतः तपाईं ‘अदृश्‍यलाई देख्न’ सक्नुहुन्छ। (हिब्रू ११:६, २७) अर्कोतिर, बाइबल कहिलेकाहीं आक्कलझुक्कल मात्र पढ्‌नुहुन्छ र त्यो पनि अनियमित छ भने तपाईंको विश्‍वासमा यसले गहिरो छाप पार्नसक्दैन।

उदाहरणका लागि: कल्पना गर्नुहोस्‌, निकै समयदेखि सताइरहेको डाबर हटाउन डाक्टरले तपाईंलाई एउटा खास मलम दिनको दुई पटक लगाउनू भन्यो। उक्‍त मलम महिनाको एक/दुई पटक मात्र लगाउनुभयो भने के तपाईंको डाबर हट्‌ला त? पक्कै पनि हट्‌दैन। त्यसैगरि भजनरचयिताले हाम्रो आध्यात्मिक सुस्वास्थ्यका लागि “नुस्खा” लेखिदिएका छन्‌। त्यो हो, परमेश्‍वरको वचन “दिनरात ध्यान” दिएर पढ्‌नु। (भजन १:१, २) उत्तरोत्तर प्रगतिको आनन्द उठाउन चाहन्छौं भने हामीले यो “नुस्खा”-अनुसार गर्नैपर्छ अर्थात्‌ मसीही प्रकाशनको मदत लिएर दिनहुँ परमेश्‍वरको वचनको गहन ध्यान गर्नैपर्छ।—यहोशू १:८.

के तपाईं विश्‍वास दृढ पार्ने अध्ययन गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, एउटा सुझाउ यस्तो छ: पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद (अंग्रेजी) अथवा अन्य कुनै सन्दर्भिका भएको बाइबलबाट एक अध्याय पढिसकेपछि चाखलाग्दो शास्त्रपद छान्‍नुहोस्‌ र उल्लिखित प्रतिसंकेत हेर्नुहोस्‌। यसले तपाईंको अध्ययनलाई उन्‍नतशील बनाउनेछ र बाइबलमा भएको मिलान देखेर तपाईं पक्कै पनि प्रभावित हुनुहुनेछ। फलतः उक्‍त पुस्तकका ग्रन्थकार यहोवा परमेश्‍वर तपाईंलाई अझ वास्तविक लाग्नेछ।

प्रतिसंकेतहरू प्रयोग गर्दा बाइबलका भविष्यवाणीहरू र तिनको पूर्तिसित पनि परिचित हुन सकिन्छ। तपाईंलाई बेबिलोनीहरूद्वारा यरूशलेमको विनाशजस्ता बाइबलका महत्त्वपूर्ण भविष्यवाणीहरू राम्ररी थाह होला। यद्यपि, एकआपसमा सम्बन्धित अन्य भविष्यवाणी तथा तिनको पूर्तिहरू पनि बाइबलमा छन्‌। यीमध्ये कतिपय त मानिसहरूलाई त्यति थाह छैनन्‌।

उदाहरणका लागि, यरीहो शहरको पुनर्निर्माण गरेमा भोग्नुपर्ने दण्डबारे गरिएको भविष्यवाणी पढ्‌नुहोस्‌ अनि त्यसपछि यसको पूर्ति विचार गर्नुहोस्‌। यहोशू ६:२६ भन्छ: “त्यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर आज्ञा दिए, ‘जसले यो यरीहो शहर बनाउन तत्पर हुन्छ त्यो परमप्रभुको अगि श्रापित होस्‌। यसको जग बसाल्दा त्यसको जेठो छोरो मर्नेछ, र यसको मूल-ढोका बसाल्दा कान्छो छोरो मर्नेछ।’ ” लगभग ५०० वर्षपछि यो भविष्यवाणी पूरा भयो। किनकि १ राजा १६:३४ मा यस्तो लेखिएको पाउँछौं: “[राजा आहाबको] समयमा बेतेलका हीएलले यरीहोलाई फेरि निर्माण गरे। त्यसको जग बसाल्दा तिनको जेठो छोरो अबीरामको मृत्यु भयो, औ त्यसको मूल-ढोकाहरू बनाउँदा तिनको कान्छो छोरो सगूबको मृत्यु भयो। यसरी परमप्रभुले नूनको छोरा यहोशूद्वारा भन्‍नुभएको वचन पूरा भयो।”a वास्तविक परमेश्‍वरले मात्र यस्तो भविष्यवाणी गराउन प्रेरित गर्न सक्नुहुन्छ र ती पूरा गराउन सक्नुहुन्छ।

बाइबल पढ्‌दा कुनै खास बुँदानेर तपाईंको कुतूहल जाग्नसक्छ। उदाहरणका लागि, कुनै एउटा भविष्यवाणी कति समयपछि पूरा भयो होला भन्‍ने तपाईंलाई लाग्नसक्छ। कसैलाई सोध्नुको साटो, अलिकता कोसिस गरेर आफैले त्यसको जवाफ खोजे कसो होला? लुकेको धन खोज्ने नक्साको अर्थ बुझ्न जति परिश्रम गर्नुहुन्छ, जवाफ नभेटुञ्जेल त्यसरी नै चार्ट तथा बाइबल अध्ययन सहायक प्रकाशनहरू प्रयोग गरेर धुँइपत्तासँग जवाफ खोज्नुहोस्‌। (हितोपदेश २:४, ५) यसरी जवाफ खोज्दा तपाईंको विश्‍वासमा गहिरो प्रभाव पर्नेछ र तपाईंलाई यहोवा परमेश्‍वर अझ धेरै वास्तविक लाग्नेछ।

नियमित तथा खुरन्धार प्रार्थना गर्नुहोस्‌

प्रार्थना र विश्‍वासको महत्त्वलाई हल्का नसम्झनुहोस्‌। येशूका चेलाहरूले सोझै यस्तो बिन्ती गरे: “हामीहरूको विश्‍वास बढ़ाइदिनुहोस्‌।” (लूका १७:५) तपाईंलाई यहोवा त्यति वास्तविक लाग्दैन भने अझ धेरै विश्‍वास चाहियो भनेर प्रार्थना गरे कसो होला? उहाँ वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर विश्‍वास गर्न सकूँ भन्दै पितासित ढुक्क भएर मदत माग्नुहोस्‌।

तपाईंलाई समस्याले पिरोलिरहेको छ भने, स्वर्गमा हुनुहुने मित्रसमक्ष मनको बह पोख्नुहोस्‌। आफ्नो मृत्यु नजिक आउँदा येशूले खुरन्धार प्रार्थना गर्नुभयो। मानिसहरूलाई देखाउन गरिएका लामो प्रार्थनाहरूको उहाँले भर्त्सना गर्नुभए तापनि १२ प्रेरितहरू छान्‍नु अघिल्लो रात उहाँले रातभर प्रार्थना गर्नुभयो। (मर्कूस १२:३८-४०; लूका ६:१२-१६) हामी अगमवक्‍ता शमूएलकी आमा हन्‍नाबाट पनि पाठ सिक्नसक्छौं। छोरो पाउने धोकोले गर्दा “तिनले धेरै बेरसम्म परमप्रभुको सामु प्रार्थना गरि[न्‌]।”—१ शमूएल १:१२.

यी सबैबाट सिक्न सकिने मूल पाठ के हो? आफूले गरेको प्रार्थनाको जवाफ पाउन चाहनुहुन्छ भने एकाग्र, व्यग्र तथा खुरन्धार प्रार्थना गर्नैपर्छ र अवश्‍य त्यो प्रार्थना परमेश्‍वरको इच्छाबमोजिम हुनुपर्छ। (लूका २२:४४; रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७; १ यूहन्‍ना ५:१३-१५) यसो गर्नुभयो भने परमेश्‍वर तपाईंलाई वास्तविक लाग्नेछ।

सृष्टिलाई नियाल्नुहोस्‌

एक चित्रकारको व्यक्‍तित्व उसको रचनामा झल्किन्छ। त्यसैगरि, यस ब्रह्‍माण्डका रचनाकार तथा सृष्टिकर्ता यहोवाको “अदृश्‍य गुण” सृष्टिमा छर्लंगै देखिन्छ। (रोमी १:२०) यहोवाका हस्तकला होसियारीपूर्वक नियाल्यौं भने उहाँको व्यक्‍तित्व अझ राम्ररी बुझ्नसक्नेछौं र यसरी उहाँ हाम्रोनिम्ति झन्‌ वास्तविक हुनुहुन्छ।

परमेश्‍वरले सृजनुभएका कुराहरू झुलुक्क मात्र होइन, गहिरिएर हेर्नुभयो भने उहाँका गुनहरू छर्लंग देख्न सक्नुहुन्छ। उदाहरणका लागि चराहरूको स्थानान्तरण गर्ने क्षमताबारे जानकारी पाउँदा मात्र पनि यहोवाको बुद्धिको तपाईं कोटी कोटी प्रशंसा गर्न सक्नुहुनेछ। त्यसैगरि, ब्रह्‍माण्डको अध्ययन गर्दा लगभग १,००,००० प्रकाश वर्ष पर रहेको आकाशगंगा अन्तरिक्षभरिको अनुमानित अरबौं तारापुञ्जहरूमध्ये एक मात्र हो भनेर थाह पाउन सक्नुहुन्छ। सृष्टिकर्ताको बुद्धि देखेर के तपाईं प्रभावित हुनुभएन र?

हो, यहोवाको बुद्धि पक्कै पनि वास्तविक छ! त्यसोभए तपाईंले के गर्नुपऱ्‍यो त? प्रार्थना मार्फत हामीले उहाँसमक्ष राखेका समस्याहरूको कारण उहाँ रनभुल्लमा कदापि पर्नुहुन्‍न। हो, सृष्टिको एक छेउ मात्र थाह पाउँदा पनि यहोवा तपाईंलाई झन्‌ वास्तविक लाग्नसक्छ।

यहोवासँग हिंड्‌नुहोस्‌

यहोवा कत्तिको वास्तविक हुनुहुन्छ, के तपाईंले व्यक्‍तिगत तवरमा अनुभव गर्नसक्नुहुन्छ? यदि तपाईं विश्‍वासी कुलपिता नूहजस्तै हुनुहुन्छ भने अवश्‍य सक्नुहुन्छ। तिनी सधैं यहोवाको आज्ञा यहाँसम्म पालन गर्थे, तिनीबारे यसो भन्‍न सकिन्थ्यो: “तिनी परमेश्‍वरको साथै हिड़नेगर्थे।” (उत्पत्ति ६:९) यहोवा मानौं आफूसँगै हिंडिरहनुभएजस्तै गरी नूहले आफ्नो जीवन बिताए। तपाईंको लागि पनि परमेश्‍वर त्यत्तिकै वास्तविक हुन सक्नुहुन्छ।

तपाईं पनि परमेश्‍वरसँगै हिंड्‌नु भइरहेको छ भने धर्मशास्त्रमा गरिएका प्रतिज्ञाहरूमाथि तपाईं भरोसा गर्नुहुन्छ र त्यसैअनुरूप जीवन बिताउनुहुन्छ। उदाहरणका लागि, तपाईं येशूका यी शब्दहरू पत्याउनुहुन्छ: “पहिले उहाँको राज्य र [परमेश्‍वरको] धार्मिकता खोजी गर, र यी सबै थोक [भौतिक आवश्‍यकताहरू] तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:२५-३३) यो सत्य हो, यहोवाले सधैं तपाईंलाई आवश्‍यक परेको कुरा तपाईंकै आशाअनुरूप प्रबन्ध नगर्नुहोला। यद्यपि, प्रार्थना गर्नुभएपछि, परमेश्‍वरको मदत पाएको महसुस भएपछि तपाईंसँगै बसिरहेको व्यक्‍ति जत्तिकै उहाँ तपाईंको लागि वास्तविक हुनुहुनेछ।

यहोवा परमेश्‍वरसँगै हिंडिरहेको खण्डमा मात्र उहाँसित यस्तो घनिष्ठ सम्बन्ध कायम हुनसक्छ। यहोवाका स्पेनीभाषी साक्षी म्यानुएलालाई लिनुहोस्‌। तिनले थुप्रै परीक्षाहरू भोग्नुपऱ्‍यो र तिनी भन्छिन्‌: “समस्यामा पर्दा वा खाँचोमा पर्दा म हितोपदेश १८:१० प्रयोगमा ल्याउँछु। मदतको लागि यहोवालाई गुहार्छु। मेरोनिम्ति उहाँ सधैं नै ‘एक बलियो धरहरा’ हुनुभएको छ।” यहोवामा भर परेको र उहाँको आड महसुस गरेको ३६ वर्षपछि म्यानुएलाले यसो भन्‍न सकेकी हुन्‌।

के तपाईंले भर्खरै मात्र यहोवामाथि भरोसा गर्न थाल्नुभएको हो? उहाँसितको तपाईंको सम्बन्ध तपाईंले चाहेजस्तो भएको छैन भने निरुत्साहित नहुनुहोस्‌। प्रत्येक दिन यहोवासँगै हिंड्‌ने व्यक्‍तिले जस्तैगरि बिताउनुहोस्‌। विश्‍वासले भिजेको जीवनशैली बिताउँदै जाँदा तपाईं यहोवासित घनिष्ठ सम्बन्ध कायम गर्न पाउनुभएकोले रमाउनुहुनेछ।—भजन २५:१४; हितोपदेश ३:२६, ३२.

परमेश्‍वरसित हिंड्‌ने अर्को तरिका उहाँको सेवामा मग्न हुनु हो। परमेश्‍वरको राज्य प्रचार गर्ने काममा व्यस्त हुनुहुँदा तपाईं यहोवाको सहकर्मी हुनुहुन्छ। (१ कोरिन्थी ३:९) यो सहयोगबारे थाह पाउनुभयो भने तपाईंलाई परमेश्‍वर असाध्यै वास्तविक लाग्नेछ।

भजनरचयिता हामीलाई यस्तो आग्रह गर्छन्‌: “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्‌, अनि उहाँले सो पुऱ्‍याइदिनुहुनेछ।” (भजन ३७:५) तपाईंले भोग्नुपरेको जस्तोसुकै भारी वा जिम्मेवारी परमेश्‍वरलाई सुम्पन नछोड्‌नुहोस्‌। उहाँसित सधैं मदत र निर्देशन माग्नुहोस्‌। प्रार्थनापूर्वक यहोवा परमेश्‍वरमाथि भर पर्नुभयो र उहाँलाई निसंकोच विश्‍वास गर्नुभयो भने, उहाँले तपाईंको पक्षमा काम गर्नुहुनेछ भनी तपाईं ढुक्क हुनुहुनेछ। के तपाईं ढुक्क भएर आफ्ना व्यक्‍तिगत फिक्रीहरू यहोवालाई पोखाउन सक्नुहुन्छ? यदि तपाईंलाई परमेश्‍वर वास्तविक लाग्छ भने अवश्‍य सक्नुहुनेछ।

[फुटनोट]

a अर्को उदाहरणका लागि यारोबामको वेदी बिटुलो पारिनेबारे १ राजा १३:१-३ मा गरिएको भविष्यवाणी पढ्‌नुहोस्‌। अनि त्यसपछि २ राजा २३:१६-१८ मा त्यो कसरी पूरा भयो ध्यान दिनुहोस्‌।

[पृष्ठ २१-मा भएका चित्र]

अध्ययन गर्ने समयलाई विश्‍वास बलियो पार्ने क्षण बनाउनुहोस्‌

[पृष्ठ २२-मा भएका चित्र]

नियमित, खुरन्धार प्रार्थना गर्न समय निकाल्नुहोस्‌

[पृष्ठ २३-मा भएका चित्र]

सृष्टिमा परमेश्‍वरका गुनहरू कसरी झल्किएका छन्‌, ध्यान दिएर हेर्नुहोस्‌

[स्रोतहरू]

हमिङबर्ड: U.S. Fish and Wildlife Service, Washington, D.C./Dean Biggins; ताराहरू: Photo: Copyright IAC/RGO 1991, Dr. D. Malin et al, Isaac Newton Telescope, Roque de los Muchachos Observatory, La Palma, Canary Islands

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने