प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईंले पक्कै पाउन सक्ने एउटा पैतृक-सम्पत्ति
    प्रहरीधरहरा—२००४ | अक्टोबर १
    • तपाईंले पक्कै पाउन सक्ने एउटा पैतृक-सम्पत्ति

      “यदि ‘कसैबाट’ तपाईंले एउटा बेवारिस पैतृक-सम्पत्ति तपाईंको नाउँमा छ भनी लेखिएको पत्र प्राप्त गर्नुभयो भने, होसियार हुनुहोस्‌। चलाख ठगले तपाईंलाई सिकार बनाउन खोजिरहेको हुन सक्छ।”

      युनाइटेड स्टेट्‌स पोस्टल इन्स्पेक्सन सर्भिस अथवा हुलाक सेवाले आफ्नो वेब साइटमा राखेको त्यो एउटा चेतावनी हो। तर किन त्यस किसिमको चेतावनी दिनुपऱ्‍यो? किनभने हजारौं मानिसहरूले हुलाकमार्फत ‘तपाईंको नातेदार बित्नुभयो र उहाँले तपाईंको लागि पैतृक-सम्पत्ति छोडिराख्नुभएको छ’ भनी लेखिएको पत्र प्राप्त गरे। पत्रमा लेखिएको कुरा पत्याएर थुप्रैले उक्‍त पैतृक-सम्पत्ति कहाँ छ र कसरी त्यसमाथि आफ्नो हकदाबी गर्न सकिन्छ, त्यसबारे बताउने कथित ‘सम्पत्ति विवरण’-को लागि शुल्कस्वरूप ३० अथवा त्योभन्दा बढी अमेरिकी डलर हुलाकमार्फत पठाए। दुःखको कुरा, तिनीहरू हिस्स परे। सबै जनाले एकै खाले रिपोर्ट प्राप्त गरे अर्थात्‌ हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं पैतृक-सम्पत्ति पाउने तिनीहरूको सम्भावना शून्य थियो।

      यस्ता चालहरूले पैतृक-सम्पत्ति हासिल गर्ने मानिसहरूको स्वाभाविक इच्छाको नाजायज फाइदा उठाउँछ। यद्यपि, पैतृक-सम्पत्ति छोडिराख्ने व्यक्‍तिहरूको सराहना गर्दै बाइबल यस्तो सहमति जनाउँछ: “असल मानिसले आफ्ना सन्तानहरूका निम्ति पैतृक-सम्पत्ति छोड़िराख्छ।” (हितोपदेश १३:२२) वास्तवमा भन्‍ने हो भने, डाँडाको उपदेशबाट लिइएको प्रख्यात तथा मन पराइएको यो भनाइ स्वयम्‌ येशू ख्रीष्टकै हो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।”—मत्ती ५:५.

      येशूका शब्दहरूले हामीलाई शताब्दीयौंअघि पुरातन इस्राएलका राजा दाऊद जुन कुरा लेख्न प्रेरित भएका थिए, त्यसको सम्झना गराउँछ: “नम्रहरूले देश [पृथ्वी, NW] अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:११.

      “पृथ्वी अधिकार गर्नेछन्‌”—कस्तो रोमाञ्चकारी प्रत्याशा! तर मानिसहरूलाई केही कुराबाट वञ्चित गर्न रचिएको यो अर्को धूर्त चाल होइन भन्‍ने कुरामा के हामी पक्का हुन सक्छौं? अवश्‍य, हुन सक्छौं। पृथ्वी यहोवाको अद्‌भुत सृष्टिको एउटा भाग भएको हुनाले रचनाकार तथा मालिकको हैसियतमा आफूले चुनेको व्यक्‍तिलाई यो पैतृक-सम्पत्ति सुम्पने उहाँसित कानुनी अधिकार छ। राजा दाऊदमार्फत यहोवाले आफ्नो प्रिय पुत्र, येशू ख्रीष्टसित यस्तो भविष्यसूचक प्रतिज्ञा गर्नुभयो: “मसँग माग, र म अन्यजातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु, र पृथ्वीको पल्लो छेउसम्म तिम्रो अधिकारमा राखिदिनेछु।” (भजन २:८) त्यसैकारण त प्रेरित पावलले येशूलाई परमेश्‍वरले “सबै कुराका हकदार” नियुक्‍त गर्नुभएको छ भनी वर्णन गरे। (हिब्रू १:२) त्यसकारण, नम्रहरूले “पृथ्वीको अधिकार पाउनेछन्‌” भनी येशूले बताउनुहुँदा उहाँले निष्कपट मनसायले त्यसो भनिरहनुभएको थियो र उहाँसित आफ्नो प्रतिज्ञा पूरा गर्ने उचित अख्तियार छ।—मत्ती २८:१८.

      त्यसैले महत्त्वपूर्ण प्रश्‍न हो, त्यो प्रतिज्ञा कसरी पूरा हुनेछ? आज जता हेऱ्‍यो त्यतै हिंस्रक तथा घमन्डी मानिसहरू सबैभन्दा सफल भएजस्ता देखिन्छन्‌ र आफूले चाहेको सबै कुरा तिनीहरूले प्राप्त गरिरहेजस्तो लाग्छ। त्यसोभए नम्रहरूले अधिकार गर्न के नै बाँकी रहला र? त्यति मात्र होइन, पृथ्वी प्रदूषणको गम्भीर समस्याले ग्रसित छ अनि लोभी तथा अदूरदर्शी मानिसहरूद्वारा यसका सम्पदाहरूको दुरुपयोग हुँदैछ। के यो पृथ्वी अधिकार गर्न लायकको हुनेछ होला? यो तथा अन्य महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पत्ता लगाउनको लागि हामी तपाईंलाई अर्को लेख पढ्‌न आमन्त्रित गर्छौं।

  • “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌”—कसरी?
    प्रहरीधरहरा—२००४ | अक्टोबर १
    • “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌”—कसरी?

      “‘नम्रहरूले पृथ्वीको अधिकार पाउनेछन्‌’ भनी येशूले बताउनुभएका हृदयस्पर्शी शब्दहरू सायद तपाईंले सुन्‍नुभएकै होला। तर मानिसहरूले एक-आपसमा र पृथ्वीसित गरिरहेको व्यवहारलाई विचार गर्दा, नम्रहरूले अधिकार गर्ने कुरा के नै बाँकी रहन्छ जस्तो तपाईंलाई लाग्छ?”—मत्ती ५:५; भजन ३७:११.

      यहोवाको एक जना साक्षी मिरियमले बाइबल छलफल सुरु गर्न यही प्रश्‍न चलाइन्‌। यदि यो प्रतिज्ञा येशूले गर्नुभएको हो भने, पृथ्वी पक्कै पनि खत्तम अथवा मानिसहरू बस्नै अयोग्य हुने गरी भताभुङ्‌ग भएको नभई पैतृक-सम्पत्ति भन्‍न लायकको हुनेछ भनी उहाँले भन्‍न खोज्नुभएको हुनुपर्छ भनेर तिनले कुरा गरेको त्यस व्यक्‍तिले जवाफ दिए।

      त्यो निश्‍चय पनि आशालाग्दो जवाफ थियो। तर के हामीसित यस्तो सकारात्मक दृष्टिकोण राख्ने कारण छ? पक्कै छ किनभने बाइबलले हामीलाई यो प्रतिज्ञा पूरा हुनेछ भन्‍ने कुरामा विश्‍वास गर्ने ठोस कारणहरू दिन्छ। साँच्चै भन्‍ने हो भने, मानिसजाति र पृथ्वीको लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍यसित त्यस प्रतिज्ञाको पूर्तिको नजिकको सम्बन्ध छ। अनि परमेश्‍वर जे उद्देश्‍य रच्नुहुन्छ, उहाँ त्यो पूरा पनि गर्नुहुन्छ भनेर हामीलाई आश्‍वासन दिइएको छ। (यशैया ५५:११) त्यसोभए, मानिसजातिको लागि परमेश्‍वरले सुरुमा कस्तो उद्देश्‍य राख्नुभएको थियो र यो कसरी पूरा हुनेछ?

      पृथ्वीको लागि परमेश्‍वरको अनन्त उद्देश्‍य

      यहोवा परमेश्‍वरले एउटा विशेष उद्देश्‍यको लागि पृथ्वी सृष्टि गर्नुभएको थियो। “स्वर्ग सृजने परमप्रभु यसो भन्‍नुहुन्छ, (उहाँ परमेश्‍वर हुनुहुन्छ!) जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।) म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन।” (यशैया ४५:१८) यसकारण, पृथ्वी विशेष गरी मानिसहरू बसोबास गर्न सृष्टि गरिएको थियो। त्यति मात्र होइन, पृथ्वी मानिसजातिको अनन्त घर होस्‌ भन्‍ने पनि परमेश्‍वरको उद्देश्‍य हो। “त्यो कहिल्यै नडग्मगाओस्‌ भनेर, जसले पृथ्वीको जग बसाल्नुभयो।”—भजन १०४:५; ११९:९०.

      परमेश्‍वरले प्रथम मानव जोडीलाई दिनुभएको आदेशमा पनि पृथ्वीको सन्दर्भमा परमेश्‍वरको उद्देश्‍य प्रस्ट हुन्छ। यहोवाले आदम र हव्वालाई यसो भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पादै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) परमेश्‍वरले आदम र हव्वालाई सुम्पनुभएको पृथ्वी, उनीहरू तथा उनीहरूको सन्तानको लागि अनन्त घर हुनुपर्ने थियो। धेरै शताब्दीपछि भजनहारले यस्तो घोषणा गरे, “स्वर्ग ता परमप्रभुकै हो। तर पृथ्वीचाहिं उहाँले मानिस जातिलाई दिनुभएको छ।”—भजन ११५:१६.

      त्यो अद्‌भुत प्रत्याशा साकार भएको हेर्न आदम र हव्वाका साथसाथै उनीहरूको प्रत्येक सन्तानले सार्वभौमसत्ताधारीको रूपमा सृष्टिकर्ता तथा जीवनदाता यहोवा परमेश्‍वरलाई स्वीकार्नै पर्छ र उहाँको आज्ञा पालन गर्न इच्छुक हुनै पर्छ। उक्‍त कुरालाई स्पष्ट पार्दै यहोवाले मानिसलाई यस्तो आज्ञा दिनुभएको थियो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१६, १७) आदम र हव्वा अदनको बगैंचामा बसिरहनका लागि उनीहरूले उक्‍त सरल अनि स्पष्टसित बताइएको आज्ञा पालन गर्नै पर्ने थियो। त्यसो गर्नु भनेको स्वर्गमा हुनुहुने पिताले उनीहरूका लागि गर्नुभएको सम्पूर्ण कुराप्रति देखाइएको कृतज्ञताको एउटा अभिव्यक्‍ति हुने थियो।

      आदम र हव्वाले आफूलाई दिइएको आज्ञा तोडेर परमेश्‍वरको आज्ञा जानाजानी उल्लङ्‌घन गर्दा, वास्तवमा उनीहरूले आफूसित भएका सम्पूर्ण कुराको प्रबन्ध गरिदिनुहुने व्यक्‍तिप्रति पीठ फर्काए। (उत्पत्ति ३:६) यसो गरेको कारण उनीहरूले आफ्नो लागि मात्र होइन तर आफ्नो सन्तानको लागि समेत सुन्दर प्रमोदवनरूपी घर गुमाए। (रोमी ५:१२) के प्रथम जोडीको अनाज्ञाकारिताले पृथ्वी सृष्टि गर्नुको परमेश्‍वरको उद्देश्‍य विफल पाऱ्‍यो?

      परमेश्‍वर जो परिवर्तन हुनुभएको छैन

      आफ्नो अगमवक्‍ता मलाकीमार्फत परमेश्‍वरले यस्तो घोषणा गर्नुभयो: “म परमप्रभु [“यहोवा,” NW] कहिल्यै परिवर्त्तन हुँदिनँ।” (मलाकी ३:६) यस पदबारे टिप्पणी गर्दै फ्रान्सेली बाइबलविद्‌ एल. फियोनले ईश्‍वरीय प्रतिज्ञाहरूको पूर्तिसित यस उद्‌घोषणाको नजिकको सम्बन्ध छ भनी टिप्पणी गरे। फियोनले यस्तो लेखे, “यी विद्रोही मानिसहरूलाई यहोवाले नाश गर्न सक्नुहुन्थ्यो तर आफ्ना प्रतिज्ञाहरूको सन्दर्भमा अपरिवर्तनशील हुनुभएको कारण विगतमा आफूले गरेका प्रतिज्ञाहरू उहाँले अवश्‍य पूरा गर्नुहुनेछ।” व्यक्‍तिविशेष, राष्ट्र अथवा सम्पूर्ण मानिसजातिसित गरिएको परमेश्‍वरका प्रतिज्ञाहरू बिर्सिइनेछैन तर उहाँले तोक्नुभएको समयमा ती पूरा हुनेछन्‌। “उहाँले आफ्नो करारको सम्झना सधैं राख्नुभएको छ, यो त्यही वचन हो, जो उहाँले हजार पुस्तासम्मलाई हुकूम गर्नुभएको छ।”—भजन १०५:८.

      तथापि, यहोवाले पृथ्वीको सन्दर्भमा आफ्नो सुरुको उद्देश्‍य परिवर्तन गर्नुभएको छैन भन्‍ने विषयमा हामी कसरी पक्का हुन सक्छौं? परमेश्‍वरको प्रेरित वचन बाइबलभरि आज्ञाकारी मानिसजातिलाई पृथ्वी दिइने ईश्‍वरीय उद्देश्‍यबारे बताइएको हुँदा हामी यस कुरामा पक्का हुन सक्छौं। (भजन २५:१३; ३७:९, २२, २९, ३४) यसबाहेक, यहोवाद्वारा आशिषित्‌ व्यक्‍तिहरू “आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि” निश्‍चिन्त भई बस्नेछन्‌ र “कसैले तिनीहरूलाई डर देखाउनेछैन” भनी धर्मशास्त्रमा वर्णन गरिएको छ। (मीका ४:४; इजकिएल ३४:२८) यहोवाद्वारा चुनिएकाहरूले “घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌।” तिनीहरू जङ्‌गली जनावरहरूसित पनि शान्तिमा बस्नेछन्‌।—यशैया ११:६-९; ६५:२१, २५.

      बाइबलमा परमेश्‍वरको प्रतिज्ञाको पूर्वझलक अर्को तरिकामा पनि बताइएको छ। राजा सुलेमानको शासनकालमा इस्राएल राष्ट्रले शान्ति र संवृद्धिको आनन्द उठाएका थिए। तिनको शासनमा “यहूदा र इस्राएलमा शान्ति थियो, औ दानदेखि बेर्शेबासम्मै हरेक मानिसले आफ्नो आफ्नै दाखबारी र नेभाराका बोटमनि सुखपूर्वक दिन बिताउँथे।” (१ राजा ४:२५) बाइबलले येशू “सुलेमानभन्दा महान्‌” हुनुहुन्छ भनी बताउँछ र उहाँको शासनबारे बताउँदै भजनहारले भविष्यसूचक ढङ्‌गमा यस्तो घोषणा गरे: “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ।” त्यतिखेर, “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।”—लूका ११:३१; भजन ७२:७, १६.

      आफ्नो वचनअनुसारै यहोवा परमेश्‍वरले प्रतिज्ञाकृत पैतृक-सम्पत्ति उपलब्ध मात्र होइन तर यसका सम्पूर्ण वैभवसहित पुनर्स्थापित गर्ने कुरा सुनिश्‍चित गर्नुहुनेछ। प्रकाश २१:४ मा परमेश्‍वरको वचन हामीलाई प्रतिज्ञाकृत नयाँ संसारमा परमेश्‍वरले “[मानिसहरूको] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन” भनी बताउँछ। यहाँ प्रतिज्ञा गरिएको कुरा प्रमोदवनभन्दा कम हुनेछैन।—लूका २३:४३, NW.

      प्रतिज्ञाकृत पैतृक-सम्पत्ति कसरी प्राप्त गर्ने

      स्वर्गबाट आफ्नो प्रभुत्व परिचालन गर्ने एउटा सरकारअन्तर्गत पृथ्वी प्रमोदवनमा परिणत हुनेछ र त्यस राज्यको राजा येशू ख्रीष्ट हुनुहुनेछ। (मत्ती ६:९, १०) सर्वप्रथम, त्यस राज्यले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नेछ। (प्रकाश ११:१८; दानियल २:४४) त्यसपछि, “शान्तिका राजकुमार[को]” हैसियतमा येशू ख्रीष्टले यी भविष्यसूचक शब्दहरू पूरा गर्नुहुनेछ: “उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।” (यशैया ९:६, ७) त्यस राज्यअन्तर्गत, पुनरुत्थानद्वारा पुनर्जीवित पारिएका व्यक्‍तिहरू लगायत लाखौं मानिसहरूले पृथ्वीको अधिकार गर्न पाउनेछन्‌।—यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५.

      क-कसले त्यो अद्‌भुत पैतृक सम्पत्तिको उपभोग गर्न पाउनेछन्‌? येशूका शब्दहरूलाई विचार गर्नुहोस्‌: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” (मत्ती ५:५) नम्र अथवा विनम्र हुनुको अर्थ के हो? साधारणतया शब्दकोशहरूले “विनम्र” अथवा “नम्र[लाई]” विनीत, नरम, आज्ञाकारी, शान्त तथा भय मान्‍ने भनेर पनि व्याख्या गर्छ। तथापि, यहाँ प्रयोग भएको मूल युनानी शब्दको निकै गहिरो अर्थ छ। विलियम बार्क्लेको न्यु टेस्टामेन्ट वर्डबूक-मा यस्तो लेखिएको छ, त्यस शब्दमा “भलादमीपन छ तर भलादमी हुनुको पछाडि ठूलो शक्‍ति लुकेको हुन्छ।” यसले मानिसको मनोभावलाई सङ्‌केत गर्छ, जसले उसलाई कुनै द्वेष अथवा बदलाको भाव नराखी चोट सहन सक्ने बनाउँछ। परमेश्‍वरसित असल सम्बन्ध भएकोले गर्दा नै यसो हुन सकेको हो किनभने त्यही सम्बन्ध उसको लागि बलको स्रोत बन्छ।—यशैया १२:२; फिलिप्पी ४:१३.

      विनम्र व्यक्‍तिले आफ्नो व्यक्‍तिगत जीवनको हरेक पक्षमा परमेश्‍वरका स्तरहरूलाई स्वीकार्छ; उसले आफ्नै दृष्टिकोण अथवा अरू मानिसहरूको धारणाअनुसार चल्ने ढिपी कस्दैन। ऊ सिकाउन सकिने किसिमको र यहोवाद्वारा सिकाइन इच्छुक हुन्छ। भजनहार दाऊदले यस्तो लेखे: “नम्रहरूलाई [यहोवाले] न्यायमा अगुवाइ गर्नुहुनेछ। औ नम्रहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ।”—भजन २५:९; हितोपदेश ३:५, ६.

      के तपाईं पृथ्वीमाथि अधिकार गर्ने “नम्र” व्यक्‍तिहरूमध्ये पर्नुहुनेछ? उहाँको वचनको लगनशील अध्ययनद्वारा यहोवा अनि उहाँको इच्छाबारे थाह पाउनुका साथै सिकेका कुरालाई व्यवहारमा उतारेर तपाईं पनि पार्थिव प्रमोदवनमाथि अधिकार गर्ने र त्यसैमा सधैंभरि बस्ने आशा गर्न सक्नुहुन्छ।—यूहन्‍ना १७:३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने