प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌

      प्रार्थनाले तपाईँलाई विभिन्‍न तरिकामा मदत गर्न सक्छ। उदाहरणको लागि, यसले तपाईँलाई सही मार्गमा हिँड्‌न भरपर्दो डोऱ्‍याइ दिन सक्छ। साथै यसले तपाईँको मनमा खेलिरहेका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिन सक्छ। प्रार्थना गरेर तपाईँले सान्त्वना वा आश्‍वासन पनि पाउन सक्नुहुन्छ। त्यति मात्र होइन, यसले तपाईँलाई यहोवासित नजिक हुन मदत गर्छ। तर तपाईँलाई लाग्ला, ‘प्रार्थना गर्ने सही तरिका के हो? के परमेश्‍वर सबैको प्रार्थना सुन्‍नुहुन्छ? परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुभएको चाहन्छु भने मैले के गर्नुपर्छ?’ आउनुहोस्‌, विचार गरौँ।

      १. हामीले कसलाई प्रार्थना गर्नुपर्छ र हामी कस्ता विषयहरूमा प्रार्थना गर्न सक्छौँ?

      हामीले स्वर्गमा बस्नुहुने हाम्रा बुबा यहोवालाई मात्र प्रार्थना गर्नुपर्छ भनेर येसुले सिकाउनुभयो। येसु आफैले पनि यहोवालाई प्रार्थना गर्नुभयो। येसुले भन्‍नुभयो: “तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा . . . ।’” (मत्ति ६:९) हामीले यहोवालाई प्रार्थना गर्दा उहाँसितको हाम्रो मित्रता बलियो हुन्छ।

      हामी आफ्नो मनमा लागेको जुनसुकै विषयमा प्रार्थना गर्न सक्छौँ। परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ दिनुभएको चाहन्छौँ भने हामीले उहाँको इच्छाबमोजिम प्रार्थना गर्नुपर्छ। “[परमेश्‍वरको] इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” (१ युहन्‍ना ५:१४) हामीले प्रार्थना गर्न सक्ने केही उपयुक्‍त विषयबारे येसुले बताउनुभयो। (मत्ति ६:९-१३ पढ्‌नुहोस्‌।) हामीले परमेश्‍वरलाई आफ्ना चिन्ताहरूबारे प्रार्थना गर्न सक्छौँ। तर उहाँले हाम्रो लागि गर्नुभएका कुराहरूको लागि धन्यवाद दिन र अरूलाई मदत गर्नुहोस्‌ भनेर बिन्ती गर्न पनि बिर्सनु हुँदैन।

      २. हामीले कसरी प्रार्थना गर्नुपर्छ?

      बाइबलले हामीलाई आफ्नो ‘मनको बह परमेश्‍वरलाई पोखाउन’ प्रोत्साहन दिन्छ। (भजन ६२:८) त्यसैले हामीले मनैदेखि प्रार्थना गर्नुपर्छ। हामी जुनसुकै ठाउँ अनि जुनसुकै समयमा आवाज निकालेर वा मनमनै प्रार्थना गर्न सक्छौँ। हामीले घुँडा टेकेर, बसेर वा उभिएर प्रार्थना गर्नुपर्छ भनेर परमेश्‍वरले नियम तोक्नुभएको छैन। हामी परमेश्‍वरप्रति आदर झल्किने जुनसुकै तरिकामा प्रार्थना गर्न सक्छौँ।

      ३. परमेश्‍वर हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?

      उहाँ हाम्रो प्रार्थनाको जवाफ विभिन्‍न तरिकामा दिनुहुन्छ। उहाँले आफ्नो वचन बाइबल दिनुभएको छ र यसमा हाम्रो मनमा उठेका थुप्रै प्रश्‍नको जवाफ पाउन सक्छौँ। भजन १९:७ अनुसार परमेश्‍वरको वचन पढ्‌दा “त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।” (याकुब १:५ पढ्‌नुहोस्‌।) उहाँ हामीलाई समस्याहरू आइपर्दा मनोशान्ति दिन सक्नुहुन्छ। साथै उहाँ हामीलाई आफ्ना उपासकहरू चलाएर चाहिएकै मदत पनि दिन सक्नुहुन्छ।

      अझ खोतल्नुहोस्‌

      तपाईँ कसरी परमेश्‍वरलाई मन पर्ने किसिमको प्रार्थना गर्न सक्नुहुन्छ, केलाउनुहोस्‌। साथै प्रार्थनाले तपाईँलाई कसरी मदत गर्न सक्छ, थाह पाउनुहोस्‌।

      ४. परमेश्‍वरले स्विकार्नुहुने प्रार्थना

      हामीले गर्ने कस्ता प्रार्थनाहरू परमेश्‍वरले स्विकार्नुहुन्छ? भिडियो हेर्नुहोस्‌।

      भिडियो: के परमेश्‍वर सबै प्रार्थना सुन्‍नुहुन्छ?—सानो अंश (२:४२)

      यहोवा हामीले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ। भजन ६५:२ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • के तपाईँको विचारमा “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” तपाईँले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

      परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौँ भने हामीले उहाँको स्तरअनुसार जीवन बिताउने कोसिस गर्नै पर्छ। मिका ३:४ र १ पत्रुस ३:१२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवाले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौँ भने हामीले के गर्नुपर्छ?

      युद्धमा भाग लिने दुवै पक्षले विजयी हुनको लागि प्रार्थना गर्लान्‌। परमेश्‍वरले तिनीहरूको प्रार्थनाको जवाफ दिनुहोला र?

      ५. हामीले मनैदेखि प्रार्थना गर्नुपर्छ

      कसै-कसैलाई हरेक पटक प्रार्थना गर्दा एउटै कुरा दोहोऱ्‍याउन सिकाइएको हुन्छ। तर के हामीले त्यसरी प्रार्थना गरेको परमेश्‍वर चाहनुहुन्छ? मत्ति ६:७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • प्रार्थनामा ‘एउटै कुरा नदोहोऱ्‍याउन’ तपाईँ के गर्न सक्नुहुन्छ?

      हरेक दिन आफूले पाएको कुनै एउटा खास आशिष्‌बारे सोच्नुहोस्‌ अनि त्यसको लागि यहोवालाई धन्यवाद दिनुहोस्‌। एक हप्तासम्म हरेक दिन यसरी प्रार्थना गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले एउटै कुरा दोहोऱ्‍याउनुको सट्टा सात वटा फरक-फरक विषयमा यहोवालाई धन्यवाद दिइरहनुभएको हुनेछ।

      एक जना केटो आमाबुबासित कुरा गर्दै छ।

      एक जना असल बुबा छोराछोरीले आफूसित मन खोलेर कुरा गरेको चाहन्छन्‌। त्यसैगरि यहोवा पनि हामीले उहाँलाई मन खोलेर प्रार्थना गरेको चाहनुहुन्छ

      ६. प्रार्थना गर्ने सुअवसर परमेश्‍वरले दिनुभएको उपहार हो

      प्रार्थनाले हामीलाई कसरी जीवनको गाह्रो र सजिलो दुवै अवस्थामा बल दिन सक्छ? भिडियो हेर्नुहोस्‌।

      भिडियो: प्रार्थनाले हामीलाई सहन मदत गर्छ (१:३२)

      प्रार्थनाले हामीलाई साँचो मनोशान्ति पाउन मदत गर्छ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • प्रार्थना गर्दैमा हाम्रा सबै समस्या समाधान नभए तापनि यसले हामीलाई कसरी मदत गर्न सक्छ?

      • तपाईँ के-कस्ता विषयमा प्रार्थना गर्न सक्नुहुन्छ?

      के तपाईँलाई थाह थियो?

      “आमिन” शब्दको अर्थ हो, “यस्तै होस्‌” वा “पक्कै पनि।” बाइबलकालीन समयदेखि नै प्रार्थनाको अन्तमा “आमिन” शब्द प्रयोग गरिँदै आएको छ।—१ इतिहास १६:३६.

      ७. प्रार्थना गर्न समय निकाल्नुहोस्‌

      कहिलेकाहीँ हामी साह्रै व्यस्त भएकोले प्रार्थना गर्न बिर्सिन सक्छौँ। येसुले प्रार्थनालाई कत्तिको महत्त्वपूर्ण ठान्‍नुहुन्थ्यो? मत्ति १४:२३ र मर्कुस १:३५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • येसुले प्रार्थना गर्ने समय निकाल्न के गर्नुभयो?

      • तपाईँ प्रार्थना गर्न कहिले समय निकाल्न सक्नुहुन्छ?

      चित्रहरूको सँगालो: एक जना स्त्री दिनभरि थुप्रै पटक प्रार्थना गर्छिन्‌। १. बिहान। २. आफ्नो छोराछोरीसित। ३. काममा हुँदा। ४. खाना खानुअघि।

      कोही-कोही भन्छन्‌: “प्रार्थना गर्नु भनेको मन बुझाउने बाटो मात्र हो।”

      • तपाईँ के भन्‍नुहुन्छ?

      सारांश

      मनैदेखि प्रार्थना गर्दा हामी यहोवासित नजिक हुन्छौँ, मनोशान्ति पाउँछौँ अनि उहाँलाई खुसी पार्न चाहिने बल पाउँछौँ।

      तपाईँले के सिक्नुभयो?

      • हामीले कसलाई प्रार्थना गर्नुपर्छ?

      • हामीले कसरी प्रार्थना गर्नुपर्छ?

      • प्रार्थना गर्दा हामी कस्तो मदत पाउन सक्छौँ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      प्रार्थनाबारे प्रायजसो सोधिने प्रश्‍नहरूको जवाफ भेट्टाउनुहोस्‌।

      “प्रार्थनाका सात महत्त्वपूर्ण पक्ष” (प्रहरीधरहरा, अक्टोबर १, २०१०)

      प्रार्थना गर्नुपर्ने महत्त्वपूर्ण कारणहरूबारे र प्रार्थनाको गुणस्तर बढाउने तरिकाबारे बुझ्नुहोस्‌।

      “मैले किन प्रार्थना गर्नुपर्छ?” (jw.org को लेख)

      हामीले कसलाई प्रार्थना गर्नुपर्छ भन्‍ने विषयमा बाइबलले के सिकाउँछ, विचार गर्नुहोस्‌।

      “के मैले सन्तहरूलाई प्रार्थना गर्नुपर्छ?” (jw.org को लेख)

      हामी जुनसुकै समय वा जुनसुकै ठाउँमा प्रार्थना गर्न सक्छौँ भन्‍ने कुरा यस म्युजिक भिडियोमा कसरी देखाइएको छ, याद गर्नुहोस्‌।

      जहिले नि प्रार्थना गर (१:२२)

  • प्रगति गरिरहनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ४. तपाईँको मिल्ने साथी यहोवासित कुराकानी गरिरहनुहोस्‌

      प्रार्थना र बाइबल अध्ययनले तपाईँलाई यहोवाको साथी बन्‍न मदत गरेको छ। यी कुराहरूले तपाईँलाई उहाँसित अझ नजिक हुन कसरी मदत गर्छ?

      भजन ६२:८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवासितको मित्रता बलियो बनाउन तपाईँ कसरी आफ्नो प्रार्थनाको गुणस्तर बढाउन सक्नुहुन्छ?

      भजन १:२ र फुटनोट पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवासितको मित्रता बलियो बनाउन तपाईँ आफ्नो बाइबल पढाइलाई कसरी अझ प्रभावकारी बनाउन सक्नुहुन्छ?

      तपाईँ कसरी अझ अर्थपूर्ण तरिकामा व्यक्‍तिगत अध्ययन गर्न सक्नुहुन्छ? केही तरिका थाह पाउन भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: व्यक्‍तिगत अध्ययनलाई अझ प्रभावकारी बनाउनुहोस्‌ (५:२२)

      • भिडियोमा बताइएका कुन-कुन सुझाव तपाईँ लागू गर्न सक्नुहुन्छ?

      • तपाईँ कस्ता विषय अध्ययन गर्न चाहनुहुन्छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने