-
यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छप्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | जून
-
-
यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ
“हे यहोवा, तपाईँ असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ; तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।”—भज. ८६:५.
-
-
यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छप्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | जून
-
-
यहोवा क्षमा गर्न तयार हुनुहुन्छ
४. यहोवा क्षमा गर्न तयार हुनुहुन्छ भनेर हामी किन पक्का हुन सक्छौँ?
४ परमेश्वरको वचनले उहाँ क्षमा गर्न तयार हुनुहुन्छ भनेर आश्वासन दिन्छ। यहोवा सिनै डाँडामा मोसासामु प्रकट हुनुहुँदा उहाँले एक जना स्वर्गदूतमार्फत तिनलाई यसो भन्नुभयो: “म यहोवा कृपालु र दयालु छु, म हतपती रिसाउँदिनँ अनि म अटल प्रेम र सत्यले भरिपूर्ण छु। मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ। म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु।” (प्रस्थ. ३४:६, ७) यहोवा दयालु र कृपालु हुनुभएकोले पश्चात्ताप गर्ने व्यक्तिलाई क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।—नहे. ९:१७; भज. ८६:१५.
हाम्रो व्यक्तित्वलाई के-कस्ता कुराहरूले आकार दियो भनेर यहोवाले बुझ्नुभएको छ (अनुच्छेद ५ हेर्नुहोस्)
५. भजन १०३:१३, १४ अनुसार यहोवा के गर्न उत्प्रेरित हुनुभएको छ?
५ यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ हामीलाई राम्ररी चिन्नुहुन्छ। उहाँलाई यस पृथ्वीमा भएका हरेक व्यक्तिबारे एक-एक कुरा थाह छ। (भज. १३९:१५-१७) वंशानुगत पापले गर्दा हामीमा भएका कमीकमजोरी पनि उहाँबाट लुकेको छैन। साथै हाम्रो जीवनमा घटेका कस्ता घटनाहरूले हाम्रो व्यक्तित्वलाई आकार दियो भनेर पनि उहाँले बुझ्नुभएको छ। मानिसजातिलाई यत्ति नजिकबाट चिन्नुभएकोले यहोवा हामीसित कृपालु व्यवहार गर्न उत्प्रेरित हुनुभएको छ।—भज. ७८:३९; भजन १०३:१३, १४ पढ्नुहोस्।
६. यहोवा क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर किन भन्न सक्छौँ?
६ यहोवाले उहाँ क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर प्रमाणित गर्नुभएको छ। पहिलो मानिस आदमको पापले गर्दा हामी सबै जना पापी भएका छौँ र अन्ततः मर्छौँ। (रोमी ५:१२) हामी आफैलाई वा अरू कसैलाई पाप र मृत्युको दासत्वबाट छुटकारा दिन केही गर्न सक्दैनौँ। (भज. ४९:७-९) तर मायालु परमेश्वरले हामीलाई कृपा देखाउनुभयो र छुटकारा दिन एउटा प्रबन्ध मिलाउनुभयो। कस्तो प्रबन्ध? युहन्ना ३:१६ अनुसार उहाँले आफ्नो एक मात्र छोरा हाम्रो निम्ति मर्न पठाउनुभयो। (मत्ति २०:२८; रोमी ५:१९) येसुले आफूमाथि विश्वास गर्ने हरेक मानिसलाई पाप र मृत्युको दासत्वबाट मुक्त गर्न आफ्नो जीवन बलिदान दिनुभयो। (हिब्रू २:९) आफ्नो छोराले अपमान भोगेको र तड्पी-तड्पी मरेको हेर्नुपर्दा यहोवालाई कत्ति असह्य पीडा भयो होला! यहोवाले क्षमा दिन नचाहनुभएको भए उहाँले आफ्नो छोरा हाम्रो लागि मर्न पठाउनुहुने थिएन।
७. यहोवाबाट क्षमा पाएका केही मानिसबारे बताउनुहोस्।
७ बाइबलमा यहोवाबाट क्षमा पाएका थुप्रै मानिसबारे बताइएको छ। (एफि. ४:३२) तपाईँ कसलाई सम्झनुहुन्छ? तपाईँ दुष्ट राजा मनस्सेलाई सम्झनुहुन्छ होला। तिनले परमेश्वरको नजरमा थुप्रै खराब काम गरे। तिनले झूटा देवताहरूको उपासना गरे र अरूलाई पनि त्यसै गर्न लगाए। तिनले झूटा देवताहरूको लागि आफ्ना छोराहरू बलि चढाए। तिनले यहोवाको मन्दिरमा झूटा देवताहरूको मूर्तिहरूसमेत राखे। तिनीबारे बाइबलमा यसो भनिएको छ: “तिनले यहोवा परमेश्वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए।” (२ इति. ३३:२-७) तर मनस्सेले मनैदेखि पश्चात्ताप गर्दा यहोवाले तिनलाई खुला मनले क्षमा दिनुभयो र तिनको राज्य फिर्ता गरिदिनुभयो। (२ इति. ३३:१२, १३) तपाईँ राजा दाउदलाई पनि सम्झनुहुन्छ होला। तिनले व्यभिचार र हत्याजस्ता गम्भीर पापहरू गरे तर गल्ती स्विकारेर मनैदेखि पश्चात्ताप गर्दा यहोवाले तिनलाई क्षमा दिनुभयो। (२ समु. १२:९, १०, १३, १४) यी उदाहरणहरूबाट यहोवा क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर बुझ्न सक्छौँ। यहोवाले दिनुहुने क्षमा मानिसले दिने क्षमाभन्दा कुन तरिकामा उल्लेखनीय छ, अब त्यसबारे बुझौँ।
-