पहाडी भीरका पल्ट्याङबाजहरू
मृत सागरको पश्चिमी किनारामा एउटा पुरातन शहर थियो र त्यो वरपरको उजाडस्थानलाई एनगदी भनिन्थ्यो। यस इलाकाको चुच्चे भीर घोरलहरूका लागि अति उपयुक्त ठाउँ हो। यस्तै घोरलहरू प्रतिज्ञा गरेको देशमा पनि पाइन्थे।
खुट्टा नधरमराई भुइँमा टेक्नसक्ने यी प्राणीहरू जीवजन्तु संसारकै आश्चर्य हुन्। आउनुहोस्, बाइबल पल्टाएर यी रोमाञ्चकारी जनावरलाई गहिरिएर हेरौं।
“अल्गा अल्गा डाँड़ाहरू घोरलहरूका निम्ति छन्”
भजनरचयिताले त्यसरी गाए। (भजन १०४:१८) घोरलहरू अल्गा अल्गा ठाउँहरूमा बस्नसक्ने किसिमले बनिएका हुन्छन्! तिनीहरू असाध्यै फूर्तिलो हुने हुँदा गल्ड्याङगुल्डुङ जमीनमा पनि नडराई तेज रफ्तारमा यताउता दौडनसक्छन्। तिनीहरूका खुरहरू त्यसरी नै बनिएका हुन्छन्। घोरलको शरीरको वजनअनुसार खुर खुम्चन वा फुक्नसक्छ र यसले गर्दा साँघुरो चट्टाने खोंचहरूमा पनि कसेर उभिन वा यताउता फर्कनसक्छ।
घोरलले असामान्य सन्तुलन पनि कायम गर्नसक्छ। ती टाढा टाढासम्म उफ्रन अनि चारवटै खुट्टा बिसाउन पुगनपुग हुने ठाउँमा पनि टेक्नसक्छ। जीवविज्ञानी डग्लस चाडविकले एक पटक अर्कै खाले घोरलको अवलोकन गरेका थिए। तिनले देखेको त्यस घोरलले पछाडि फर्कनै नमिल्ने साँघुरो डिलमा पनि नधरमराई उभिन सके। तिनी भन्छन्: “अर्को डिल १२० मिटर तल थियो। त्यस घोरलले अगाडिको खुट्टा टेक्यो अनि भीरतिर फर्केर पछाडिको खुट्टा बिस्तारै आफ्नो टाउकोसम्म ल्याएर फनक्क घुमाएझैं गऱ्यो। म दंग परेर हेरिरहेको थिएँ र यति नै बेला यसको पछाडिको खुट्टाले भुइँमा टेकेर आफू जताबाट आएको हो, त्यतैतिर फर्क्यो।” (नेशनल जियोग्राफिक) त्यसकारण घोरललाई “पहाडी भीरका पल्ट्याङबाज” भन्नु कुनै आश्चर्यको कुरा होइन!
“घोरल कहिले जन्मन्छ, के तैंले जान्दछस्?”
घोरल असाध्यै लजालु हुन्छ। त्यो मानिसको वरपर बस्न रुचाउँदैन। त्यसैकारण घोरल वास्तवमा जहाँ बस्छ, त्यहीं गएर अवलोकन गर्न मानिसहरूलाई गाह्रो परिरहेको छ। तसर्थ, “जंगलको हरेक जन्तु[का]” मालिकले अय्यूबलाई यस्तो प्रश्न सोध्नु उपयुक्त थियो: “घोरल कहिले जन्मन्छ, के तैंले जान्दछस्?”—भजन ५०:१०; अय्यूब ३९:१.
ईश्वरप्रदत्त सहज ज्ञानले गर्दा गर्भिणी घोरललाई प्रसव वेदना कहिले हुन्छ भनेर थाह हुन्छ। त्यसले एउटा सुरक्षित ठाउँ खोज्छे र प्रायजसो मे महिनाको अन्ततिर वा जून महिनामा एक वा दुइटा पाठा ब्याउँछे। केही दिनभित्रै यी पाठापाठीहरू नधरमराई टेक्नसक्ने भइसकेका हुन्छन्।
“मायालु मृग, राम्री [घोरलझैं]”
बुद्धिमान् राजा सुलेमानले पतिहरूलाई यस्तो आग्रह गरे: “तेरो युवावस्थाकी पत्नी[सित] . . . सुखी हो। मायालु मृग, राम्री [घोरलझैं]।” (हितोपदेश ५:१८, १९) यो स्त्रीजातिलाई हेपेर भनिएको होइन। स्पष्ट छ, सुलेमानले यस जनावरको सौन्दर्य, शोभा तथा अन्य उल्लेखनीय गुणहरूबारे बताउँदै थिए।
सृष्टिकर्ताको बुद्धिबारे प्रमाण दिने अनगिन्ती “जीवित प्राणीहरू[मध्ये]” यी घोरलहरू पनि हुन्। (उत्पत्ति १:२४, २५) परमेश्वरले हाम्रो वरपर यति धेरै रोमाञ्चकारी प्राणीहरू राखिदिनुभएकोमा के हामी खुशी छैनौं र?
[पृष्ठ २४-मा भएको चित्रको स्रोत]
Courtesy of Athens University