प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 २/१५ pp. २१-२५
  • यहोवा—हाम्रो सबैभन्दा असल मित्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा—हाम्रो सबैभन्दा असल मित्र
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “मेरो मित्र अब्राहाम”
  • ‘यहोवा शान्ति हुनुहुन्छ’
  • “तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ?”
  • अरूलाई पनि यहोवाको मित्र बन्‍न मदत गर्नुहोस्‌
  • सबैभन्दा असल मित्रसित काम गर्नुहोस्‌
  • मित्रहरू कुराकानी गर्छन्‌
  • “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • एल्डरहरू हो, गिदोनको उदाहरणबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • गिदोन र उसका ३०० मान्छे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 २/१५ pp. २१-२५
गिदोनले तयार गरेको भोजन चमत्कारपूर्ण तरिकामा जलेर भस्म हुँदै

यहोवा हाम्रो सबैभन्दा असल मित्र

“[अब्राहाम] ‘यहोवाको मित्र’ कहलाइए।”—याकू. २:२३.

तपाईं के भन्‍नुहुन्छ?

  • कुन आधारमा यहोवा हाम्रो मित्र बन्‍न सक्नुहुन्छ?

  • भजन १५:३, ५ अनुसार यहोवाको मित्र बन्‍न हामीले कस्ता आवश्‍यकताहरू पूरा गर्नै पर्छ?

  • हाम्रो सबैभन्दा असल मित्रसित मनको कुरा पोख्न केले मदत गर्छ?

१. परमेश्‍वरकै स्वरूपमा सृजिएकोले हामीसित कस्तो क्षमता छ?

मानिसहरू अक्सर यसो भन्‍ने गर्छन्‌, “जस्तो बाउ, उस्तै छोरा।” हुन पनि थुप्रै छोराछोरी आमाबुबाजस्तै हुन्छन्‌। आमाबुबाका कतिपय गुणहरू उनीहरूमा पनि सर्छ। स्वर्गमा बस्नुहुने बुबा यहोवा हाम्रो जीवनदाता हुनुहुन्छ। (भज. ३६:९) हामी उहाँका छोराछोरी भएकोले थुप्रै तरिकामा उहाँजस्तै छौं। उहाँकै स्वरूपमा सृजिएकोले हामीसित तर्क गर्ने, निर्णय गर्ने र अरूसित मित्रता गाँस्ने क्षमता छ।—उत्प. १:२६.

२. कुन आधारमा यहोवा हाम्रो मित्र बन्‍न सक्नुहुन्छ?

२ यहोवा हाम्रो सबैभन्दा असल मित्र बन्‍न सक्नुहुन्छ। कुन आधारमा? उहाँ हामीलाई प्रेम गर्नुहुन्छ अनि हामी पनि उहाँ र उहाँको छोरामाथि विश्‍वास गर्छौं। येशूले यसो भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (यूह. ३:१६) यहोवासित घनिष्ठ सम्बन्ध गाँसेका थुप्रै मानिसबारे बाइबलमा चर्चा गरिएको छ। आउनुहोस्‌, तीमध्ये दुई जनाबारे छलफल गरौं।

“मेरो मित्र अब्राहाम”

३, ४. के कारणले गर्दा यहोवासितको अब्राहामको मित्रता इस्राएलीहरूको भन्दा फरक थियो?

३ यहोवाले इस्राएलीहरूका पुर्खा अब्राहामलाई “मेरो मित्र” भन्‍नुभयो। (यशै. ४१:८) दोस्रो इतिहास २०:७ मा पनि अब्राहामलाई परमेश्‍वरका मित्र भनिएको छ। के कारणले गर्दा तिनले सृष्टिकर्तासित घनिष्ठ मित्रता गाँस्न सके? बलियो विश्‍वासले गर्दा।—उत्प. १५:६; याकूब २:२१-२३ पढ्‌नुहोस्‌।

४ इस्राएल राष्ट्रको पनि यहोवा बुबा र मित्र हुनुहुन्थ्यो। तर दुःखको कुरा तिनीहरू सधैंभरि यहोवाको मित्र भइरहन सकेनन्‌। किन? किनकि तिनीहरूले यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्न छाडे।

५, ६. (क) यहोवा कसरी तपाईंको मित्र हुनुभयो? (ख) हामीले आफैलाई कस्ता प्रश्‍नहरू गर्नुपर्छ?

५ यहोवाबारे जति धेरै सिक्दै जानुहुन्छ, उहाँमाथिको विश्‍वास पनि त्यति नै बलियो हुँदै जान्छ। साथै उहाँप्रतिको तपाईंको प्रेम पनि गहिरो हुँदै जान्छ। परमेश्‍वर वास्तविक हुनुहुन्छ र तपाईं पनि उहाँको घनिष्ठ मित्र बन्‍न सक्नुहुन्छ भनेर पहिलो चोटि कहिले सुन्‍नुभयो? आदमको कारण हामी जन्मजातै पापी भयौं भनेर तपाईंले सिक्नुभयो। मानिसजाति यहोवाबाट टाढिएका छन्‌ भनेर पनि बुझ्नुभयो। (कल. १:२१) त्यसपछि मायालु बुबा यहोवा हाम्रो चासो राख्नुहुन्छ र उहाँ हामी कसैबाट पनि टाढा हुनुहुन्‍न भनेर थाह पाउनुभयो। येशूको फिरौतीको बलिदानबारे थाह पाउँदा र त्यस प्रबन्धमा विश्‍वास गर्दै जाँदा हामीले यहोवासित मित्रता गाँस्न थाल्यौं।

६ त्यस समयलाई फर्केर हेर्दा हामीले आफैलाई यस्तो प्रश्‍न गर्नुपर्छ: ‘के यहोवासितको मेरो मित्रता बलियो हुँदै गइरहेको छ? के यहोवामाथिको मेरो भरोसा बलियो छ अनि के उहाँप्रतिको मेरो प्रेम दिनप्रतिदिन बढ्‌दै गइरहेको छ?’ परमेश्‍वरको अर्को घनिष्ठ मित्र गिदोन थिए। आउनुहोस्‌, गिदोनबारे बुझौं र उनको असल उदाहरण सधैं मनमा राखौं।

‘यहोवा शान्ति हुनुहुन्छ’

७-९. (क) गिदोनले कस्तो अचम्मको अनुभव गरे र नतिजा कस्तो भयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) हामी कसरी यहोवाको मित्र बन्‍न सक्छौं?

७ प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि इस्राएलीहरूले कठिन परिस्थितिको सामना गरे। त्यस्तो परिस्थितिमा समेत न्यायकर्ता गिदोनले यहोवाको सेवा गरे। न्यायकर्ता अध्याय ६ मा बताइएझैं परमेश्‍वरका स्वर्गदूतले गिदोनलाई ओप्रामा भेटे। त्यतिबेला इस्राएलीहरूलाई मिद्यानीहरूदेखि डर थियो। त्यसकारण मिद्यानीहरू आएमा अन्‍न तुरुन्तै लुकाउन सकियोस्‌ भनेर गिदोन खेतमा नभई दाखको कोलमा गहुँ चुट्‌दै थिए। स्वर्गदूत गिदोनकहाँ देखा परेर उनलाई “वीर मानिस” भन्दा उनी छक्क परे। इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुहुने परमेश्‍वरले यतिबेला भने मदत गर्नुहोला कि नहोला भनेर गिदोनलाई शङ्‌का लागिरहेको थियो। ती स्वर्गदूतले यहोवाको तर्फबाट बोले र यहोवाले मदत गर्नुहुन्छ भन्‍ने कुरामा गिदोनलाई विश्‍वस्त तुल्याए।

८ “इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउन” कसरी सम्भव होला भनेर गिदोनले सोचिरहेका थिए। यहोवाले उनलाई यस्तो स्पष्ट जवाफ दिनुभयो: “म तँसँग हुनेछु, औ तैंले सारा मिद्यानलाई एउटै मानिसलाई झैं मार्नेछस्‌।” (न्याय. ६:११-१६) तर गिदोनलाई अझै पनि यो कसरी सम्भव होला भन्‍ने लागिरहेको थियो। त्यसैले उनले परमेश्‍वरसँग एउटा चिन्ह मागे। तर याद गर्नुहोस्‌, यहोवासितको यस कुराकानीमा गिदोनले उहाँ वास्तविक व्यक्‍ति हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरामा शङ्‌का गरेको कुनै छनक पाइँदैन।

९ त्यसपछि भएको घटनाले गिदोनको विश्‍वास बलियो भयो र उनलाई परमेश्‍वरसित अझ घनिष्ठ बनायो। गिदोनले भोजन तयार गरे र स्वर्गदूतलाई टक्राए। ती स्वर्गदूतले आफ्नो लहुरो पसारेर छुनेबित्तिकै खानेकुरा जलेर भस्म भयो। ती स्वर्गदूतलाई यहोवाले नै पठाउनुभएको रहेछ भनेर थाह पाएपछि गिदोन असाध्यै डराए। उनले यसो भने: “हाय परमप्रभु परमेश्‍वर! यो ता साँच्चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें।” (न्याय. ६:१७-२२) तर के यस घटनाले यहोवासितको गिदोनको सम्बन्ध बिगाऱ्‍यो? बिगारेन। बरु उनले परमेश्‍वरको शान्ति महसुस गरे। हामी किन यसो भन्‍न सक्छौं? उक्‍त घटना घटेको ठाउँमा गिदोनले बनाएको वेदीको नाम “यह्वे-शलोम” राखियो, जसको अर्थ हो ‘यहोवा शान्ति हुनुहुन्छ।’ (न्यायकर्ता ६:२३, २४ पढ्‌नुहोस्‌; फुटनोट) यहोवाले हरेक दिन हाम्रो लागि गर्नुहुने कुराहरूमा मनन गऱ्‍यौं भने उहाँ हाम्रो साँचो मित्र हुनुहुन्छ भनेर महसुस गर्छौं। नियमित रूपमा प्रार्थना गर्दा हामीले शान्ति अनुभव गर्नेछौं अनि यहोवासितको मित्रता पनि बलियो हुनेछ।

“तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ?”

१०. भजन १५:३, ५ अनुसार यहोवाको मित्र बन्‍न हामीले कस्ता आवश्‍यकताहरू पूरा गर्नै पर्छ?

१० यहोवाको मित्र बन्‍न हामीले केही आवश्‍यकता पूरा गर्नै पर्छ। ‘यहोवाको बासस्थानमा बास गर्न’ अर्थात्‌ उहाँको मित्र बन्‍न हामीले पूरा गर्नुपर्ने आवश्‍यकताबारे बताउँदै दाऊदले भजन अध्याय १५ मा उल्लेख गरिएको गीत गाए। (भज. १५:१) आउनुहोस्‌, तीमध्ये दुईवटा आवश्‍यकतामा ध्यान देऔं: निन्दा गर्नबाट अलग बस्ने र सबै कुरामा इमानदार हुने। यहोवाले आफ्नो मित्रको रूपमा स्वीकार्ने व्यक्‍तिहरूबारे दाऊदले यसो भने: “जसले आफ्नो जिब्रोले निन्दा गर्दैन, . . . नता निर्दोषको विरुद्धमा घूस लिन्छ।”—भज. १५:३, ५.

११. हामीले किन अरूको निन्दा गर्नु हुँदैन?

११ अर्को भजनमा दाऊदले यस्तो चेतावनी दिए: “तेरो जिब्रोलाई खराबीबाट . . . जोगा।” (भज. ३४:१३) यस सल्लाहलाई बेवास्ता गऱ्‍यौं भने स्वर्गमा बस्नुहुने बुबासितको हाम्रो सम्बन्ध नै खतरामा पर्न सक्छ। वास्तवमा निन्दा भनेको यहोवाको प्रमुख शत्रु सैतानको स्वभाव हो। “दियाबल” शब्द “निन्दक” अर्थ लाग्ने ग्रीक शब्दबाट आएको हो। हामी अरूबारे कस्तो कुराकानी गर्छौं, त्यस सन्दर्भमा जिब्रोमा लगाम कस्यौं भने यहोवासित घनिष्ठ भइरहन सक्नेछौं। विशेषगरि मण्डलीका नियुक्‍त पुरुषहरूप्रति राख्ने मनोवृत्तिको विषयमा हामी सजग हुनुपर्छ।—हिब्रू १३:१७; यहूदा ८ पढ्‌नुहोस्‌।

१२, १३. (क) हामी किन सबै कुरामा इमानदार हुनुपर्छ? (ख) इमानदार हुँदा नतिजा कस्तो हुन्छ?

१२ यहोवाका सेवकहरू इमानदार व्यक्‍तिको रूपमा चिनिन्छन्‌। प्रेषित पावलले लेखे: “हामीसित सफा अन्तस्करण छ भनेर हामी विश्‍वस्त छौं, किनकि हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं। त्यसैले हाम्रो निम्ति प्रार्थना गरिरहो।” (हिब्रू १३:१८) “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं,” त्यसैले ख्रीष्टियन भाइबहिनीलाई ठग्दैनौं। उदाहरणको लागि, उनीहरू हामीकहाँ काम गर्छन्‌ भने उनीहरूलाई राम्रो व्यवहार गर्छौं र कबुल गरेअनुसारकै पैसा दिन्छौं। ख्रीष्टियन भएकोले हामी आफूकहाँ काम गर्नेहरूलगायत अरू सबैसित इमानदार हुन्छौं। अनि ख्रीष्टियन भाइबहिनीकहाँ काम गर्छौं भने अरूले भन्दा आफूले धेरै सुविधा पाउनुपर्छ भन्‍ने आशा पनि गर्दैनौं।

१३ संसारका मानिसहरू यहोवाका साक्षीहरूको इमानदारीको अक्सर प्रशंसा गर्छन्‌। उदाहरणको लागि, एउटा ठूलो कम्पनीको निर्देशकले यहोवाका साक्षीहरू आफ्नो वचनमा पक्का भएको याद गरे। तिनले भने: “तपाईंहरू सधैं आफ्नो वचन पूरा गर्नुहुन्छ।” (भज. १५:४) इमानदार हुँदा यहोवासित मित्रता गाँसिरहन सक्छौं। त्योभन्दा पनि ठूलो कुरा, स्वर्गमा बस्नुहुने मायालु बुबाको प्रशंसा हुन्छ।

अरूलाई पनि यहोवाको मित्र बन्‍न मदत गर्नुहोस्‌

यहोवाका साक्षीहरू वृद्ध महिलालाई परमेश्‍वरबारे सुनाउँदै

हामी अरूलाई यहोवाको मित्र बन्‍न मदत गर्छौं (अनुच्छेद १४, १५ हेर्नुहोस्‌)

१४, १५. प्रचारमा भेट्‌ने मानिसहरूलाई हामी कसरी यहोवाको मित्र बन्‍न मदत गर्न सक्छौं?

१४ प्रचारमा भेट्‌ने थुप्रै मानिसले परमेश्‍वर हुनुहुन्छ भनेर त विश्‍वास गर्लान्‌ तर परमेश्‍वरलाई सबैभन्दा असल मित्रको रूपमा भने हेर्दैनन्‌। हामी उनीहरूलाई कसरी मदत गर्न सक्छौं? प्रचारमा पठाउँदा येशूले ७० जना चेलाहरूलाई दिनुभएको यो निर्देशन विचार गर्नुहोस्‌: “जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब पहिले यसो भन: ‘यो घरमा शान्ति छाओस्‌।’ यदि शान्ति चाहने व्यक्‍ति त्यहाँ रहेछ भने तिमीहरूले कामना गरेको शान्ति ऊमाथि रहनेछ। यदि रहेनछ भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।” (लूका १०:५, ६) मानिसहरूसित मित्रैलो व्यवहार गरेर हामी उनीहरूलाई बाइबल सत्यतर्फ आकर्षित गर्न सक्छौं। विरोधीहरूप्रति दयालु भयौं भने उनीहरू शान्त हुन सक्छन्‌ र अर्को पटक बाइबल सत्य सुन्‍न इच्छुक हुन सक्छन्‌।

१५ झूटो धर्ममा बलियो जरा गाडेर बसेका वा झूटा परम्परालाई पछ्याइरहेका मानिसहरू भेट्‌दा समेत हामी शान्त र मित्रैलो भई कुराकानी गर्छौं। केही मानिस संसारको अवस्था देखेर निराश छन्‌ र उनीहरू हामीले उपासना गर्ने परमेश्‍वरबारे अझ धेरै सिक्न चाहन्छन्‌। त्यस्ता मानिसहरूलाई हामी सभामा न्यानो स्वागत गर्छौं। “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्‍ने शृङ्‌खलामा यस्ता व्यक्‍तिहरूबारे पढ्‌न पाउँछौं।

सबैभन्दा असल मित्रसित काम गर्नुहोस्‌

१६. कुन अर्थमा हामी यहोवाको मित्र मात्र नभई “सहकर्मीहरू” पनि हुन सक्छौं?

१६ सँगै काम गर्ने मानिसहरू अक्सर घनिष्ठ मित्र बन्छन्‌। यहोवामा आफ्नो जीवन समर्पण गरेका सबै जना उहाँको मित्र मात्र होइनन्‌, उहाँका “सहकर्मीहरू” पनि हुन्‌। (१ कोरिन्थी ३:९ पढ्‌नुहोस्‌) प्रचार गर्ने र चेला बनाउने काममा भाग लिंदा स्वर्गमा बस्नुहुने बुबाका असल गुणहरूबारे अझ धेरै सिक्छौं। पवित्र शक्‍तिले हामीलाई प्रचार गर्न कसरी मदत गर्छ भनेर थाह पाउँछौं।

१७. यहोवा हाम्रो मित्र हुनुहुन्छ भनेर हाम्रो सम्मेलन तथा अधिवेशनले कसरी देखाउँछ?

१७ प्रचारकार्यमा जति धेरै समय बिताउँछौं, यहोवासित त्यति नै धेरै घनिष्ठ भएको महसुस गर्छौं। उदाहरणको लागि, प्रचारकार्य रोक्न विरोधीहरूले गरेको प्रयासलाई यहोवाले विफल पार्नुभएको देख्न सक्छौं। बितेका केही वर्षबारे विचार गर्नुहोस्‌। यहोवाले हामीलाई डोऱ्‍याइरहनुभएको छ। उहाँले सभा तथा प्रकाशनहरूमार्फत प्रशस्त आध्यात्मिक भोजन दिइरहनुभएको छ। यस्तो प्रबन्धबारे विचार गर्दा हामीलाई अचम्म लाग्छ। यहोवा हाम्रा समस्या तथा आवश्‍यकता बुझ्नुहुन्छ भन्‍ने प्रमाण सम्मेलन अनि अधिवेशनहरूमा देख्न सक्छौं। अधिवेशनको लागि कृतज्ञ हुँदै एउटा परिवारले यस्तो लेख्यो: “कार्यक्रमले हाम्रो मनै छोयो। यहोवा हामी प्रत्येकलाई असाध्यै माया गर्नुहुँदो रहेछ र हामी सफल भएको चाहनुहुँदो रहेछ भनेर बुझ्यौं।” आयरल्याण्डको विशेष अधिवेशनमा उपस्थित भएपछि जर्मनीका एक दम्पतीले न्यानो स्वागत पाएकोमा र हेरचाह पाएकोमा कृतज्ञता व्यक्‍त गर्दै शाखा कार्यालयमा पत्र पठाए। तिनीहरूले यसो पनि भने: “हामी यहोवा र राजा येशू ख्रीष्टलाई अझ धेरै धन्यवाद दिन्छौं। उहाँहरूले हामीलाई यस एकताबद्ध सङ्‌गठनको भाग हुन निम्तो दिनुभयो। हामी एकताबारे कुरा मात्र गर्दैनौं, हरेक दिन एकतामा बस्छौं। डब्लिनको विशेष अधिवेशनमा बटुलेको अनुभवले तपाईंहरूसँगै मिलेर महान्‌ परमेश्‍वरको सेवा गर्न पाएको सुअवसरको सम्झना गराइरहनेछ।”

मित्रहरू कुराकानी गर्छन्‌

१८. यहोवासितको कुराकानीबारे आफैलाई कस्तो प्रश्‍न सोध्न सक्छौं?

१८ राम्रो कुराकानीले मित्रहरूलाई अझ घनिष्ठ बनाउँछ। अहिले मानिसहरू एकअर्कासित कुराकानी गर्न इन्टरनेट चलाउँछन्‌ वा मेसेज पठाउँछन्‌। तर हाम्रो सबैभन्दा असल साथी यहोवासितको कुराकानी नि? उहाँ “प्रार्थना सुन्‍नुहुने” हुनुहुन्छ। (भज. ६५:२) के हामी उहाँसित कुरा गर्न प्रशस्त समय निकाल्छौं?

१९. स्वर्गमा बस्नुहुने बुबासित मनको कुरा पोख्न गाह्रो लाग्छ भने पनि हामीसित कस्तो मदत उपलब्ध छ?

१९ परमेश्‍वरका केही सेवकलाई आफ्नो मनको कुरा पोख्न गाह्रो लाग्छ। तर हामीले मन खोलेर प्रार्थना गरेको परमेश्‍वर चाहनुहुन्छ। (भज. ११९:१४५; विला. ३:४१) मनको कुरा व्यक्‍त गर्न गाह्रो लाग्छ भने पनि चिन्ता गर्नुपर्दैन। हामीसित एउटा मदत उपलब्ध छ। रोमका ख्रीष्टियनहरूलाई पावलले यस्तो लेखे: “समस्या के छ भने, हामीले प्रार्थना नगरी नहुने बेला, के कुराको लागि प्रार्थना गर्ने, त्यो हामीलाई थाह नहुन सक्छ। त्यतिखेर हाम्रो मनमा दबेका सुस्केराहरूको निम्ति पवित्र शक्‍तिले हाम्रो तर्फबाट बिन्ती गरिदिन्छ। पवित्र शक्‍तिले के भन्‍न खोजेको हो, मन जाँच्नुहुनेले त्यो जान्‍नुहुन्छ, किनकि त्यसले परमेश्‍वरको इच्छाबमोजिम पवित्र जनहरूको खातिर बिन्ती गरिरहेको हुन्छ।” (रोमी ८:२६, २७) अय्यूब, भजन र हितोपदेशजस्ता किताबहरूमा उल्लेख गरिएका शब्दहरू मनन गर्दा हामी यहोवालाई आफ्नो भित्री भावना पोख्न सक्छौं।

२०, २१. फिलिप्पी ४:६, ७ मा लेखिएका पावलका शब्दहरूले हामीलाई कस्तो सान्त्वना दिन्छ?

२० कठिन परिस्थितिको सामना गर्दा हामी फिलिप्पीका भाइबहिनीलाई पावलले दिएको यो सल्लाह सम्झौं: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।” हाम्रो सबैभन्दा असल मित्रसित यसरी खुलस्त कुराकानी गर्दा ठूलो सान्त्वना पाउँछौं। पावलले अझै यस्तो लेखे: “परमेश्‍वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले ख्रीष्ट येशूद्वारा तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।” (फिलि. ४:६, ७) हाम्रो मन र सोच्ने क्षमताको रक्षा गर्ने “परमेश्‍वरको शान्ति” पाएकोमा हामी सधैं कृतज्ञ हुनुपर्छ।

साक्षी परिवार यहोवालाई प्रार्थना गर्दै

प्रार्थना गर्दा यहोवासितको मित्रता कसरी बलियो हुन्छ? (अनुच्छेद २१ हेर्नुहोस्‌)

२१ प्रार्थनाले हामीलाई यहोवासित मित्रता गाँस्न मदत गर्छ। त्यसकारण “निरन्तर प्रार्थना” गरौं। (१ थिस्स. ५:१७) यहोवासितको मित्रता बलियो बनाउँदै जाऔं र उहाँको स्तरबमोजिम चलौं। यहोवा साँच्चै नै हाम्रा बुबा, परमेश्‍वर र मित्र हुनुहुन्छ। त्यसैले आफूले पाएका आशिष्‌हरूबारे मनन गर्न समय निकालौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने