‘आफ्नो धन-सम्पत्तिले यहोवाको आदर गर्नुहोस्’—तर कसरी?
“आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर् र तेरा सबै आम्दानीको सबैभन्दा पहिलो अंशले परमप्रभुको इज्जत गर्।” लगभग २,६०० वर्षअघि लेखिएका यी बुद्धिले भरिएका प्रेरित शब्दहरूमा यहोवाको आशिष् प्रशस्त मात्रामा प्राप्त गर्ने तरिका छिपेको छ। किनकि लेखक अझै यसो लेख्छन्: “तब तेरा ढुकुटीहरू अन्नले भरिपूर्ण हुनेछन्, र तेरा मसक नयाँ दाखमद्यले भरिभराउ हुनेछन्।”—हितोपदेश ३:९, १०.
तर परमेश्वरलाई आदर गर्नुको अर्थ के हो? हामीले यहोवाको आदर गर्न प्रयोग गर्नसक्ने ती धन-सम्पत्तिहरू के हुन्? अनि यस तरिकामा हामी कसरी यहोवाको आदर गर्नसक्छौं?
‘यहोवाको आदर गर्नुहोस्’
धर्मशास्त्रमा आदरको निम्ति प्रयोग गरिएको मूल हिब्रू शब्द काभोध-को अक्षरशः अर्थ “भारी” हो। त्यसकारण, कुनै व्यक्तिको आदर गर्नु भनेको तिनको आदर गर्नु, तिनलाई भारी वा महत्त्वपूर्ण ठान्नु हो। आदर भनेर अनुवाद गरिएको अर्को हिब्रू शब्द येकार-ले पनि “बहुमूल्य” र “बहुमूल्य कुरा” भन्ने अर्थ बुझाउँछ। त्यसैगरि, बाइबलमा “आदर” भनेर अनुवाद गरिएको युनानी शब्द टीमे-ले कदर, महत्त्व, बहुमूल्य अर्थ बुझाउँछ। यसरी कुनै पनि व्यक्तिले अर्को व्यक्तिलाई आदर गर्नु भनेको उनको गहिरो सम्मान गर्नु तथा उनलाई ठूलो मोलको सम्झनु हो।
आदर गर्नुको अर्को पक्ष पनि छ। विश्वासी यहूदी मोर्दकैलाई विचार गर्नुहोस्। एक पटक तिनले फारसका राजा अहासूरसलाई मार्ने षड्यन्त्र पर्दाफास गरिदिएका थिए। यस कार्यको लागि मोर्दकैलाई कुनै सम्मान नदिएको राजाले थाह पाएपछि तिनले आफ्ना प्रधानमन्त्री हामानलाई राजा प्रसन्न भएको कुनै व्यक्तिलाई आदर गर्ने सर्वोत्तम तरिका के हो भनी सोधे। हामानले यस्तो आदरको हकदार त आफू मात्र छु भन्ठान्यो, तर ऊ कत्ति गलत थियो! जे होस्, हामानले त्यस्तो व्यक्तिलाई “राजा आफैले लाउने पोशाक” पहिराउनुपर्छ र “राजाले सवार गर्ने घोड़ा” चढाउनुपर्छ भन्यो। अन्तमा उसले यसो भन्यो: “त्यही घोड़ामा सवार गराएर शहरका चोकहरूमा तिनी जाँदा यसो भन्दै कराऊन्, ‘राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसको निम्ति के गरिएको छ, सो हेर।’ ” (एस्तर ६:१-९) यो घटनाको सन्दर्भमा भन्ने हो भने, कुनै व्यक्तिको आदर गर्नु भनेको मानिसहरू समक्ष खुल्लमखुल्ला तिनको प्रतिष्ठा बढाउनु हो ताकि सबै जनाले त्यस व्यक्तिलाई सम्माननीय ठानोस्।
त्यसैगरि, यहोवाको आदर गर्नुका पनि दुइ पक्षहरू छन्: व्यक्तिगत तवरमा उहाँको आदर गर्ने अनि खुल्लमखुल्ला उहाँको नाउँ जनसमक्ष घोषणा गर्ने काममा भाग लिनुका साथै त्यस कार्यलाई समर्थन गर्ने।
“आफ्नो धन-सम्पत्ति” —ती के हुन्?
हाम्रो धन-सम्पत्तिमा पक्कै पनि हाम्रो जीवन, समय, दक्षता र हाम्रो बल समावेश छन्। अनि हाम्रो भौतिक सर-सम्पत्तिबारे के भन्न सकिन्छ? खाँचोमा परेकी एउटी विधवाले मन्दिरको ढुकुटीमा दुइ पैसा चढाएकी येशूले देख्नुहुँदा के भन्नुभयो, विचार गर्नुहोस्। उहाँले भन्नुभयो: “यस गरीब विधवाले अरू सबैले [अरू चन्दादाताहरू] भन्दा बढ़ता चढ़ाएकी छ। किनकि यी सबैले तिनका प्रशस्ताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिं आफ्नो अपुगबाट आफ्ना सारा जीविकानै चढ़ाएकी छ।” (लूका २१:१-४) यस विधवाले यहोवाको उपासनालाई समर्थन गर्न आफ्नो भौतिक सम्पत्ति प्रयोग गरेकी हुँदा येशूले तिनको प्रशंसा गर्नुभयो।
अतः कुरा स्पष्ट छ, सुलेमानले भनेको धन-सम्पत्तिमा साँच्चैको भौतिक सरसम्पत्ति पनि पर्छ। अनि “तेरा सबै आम्दानीको सबैभन्दा पहिलो अंश” भन्ने वाक्यले यहोवालाई हाम्रो धन-सम्पत्तिको सर्वोत्तम भाग चढाउनुपर्छ भन्ने भाव बुझिन्छ।
तर, भौतिक सरसम्पत्ति चढाउँदा यहोवाको आदर कसरी हुन्छ? के सबथोक उहाँकै होइनन् र? (भजन ५०:१०; ९५:३-५) “सबै कुरा तपाईंबाटै आउँछन्,” यहोवालाई हार्दिक प्रार्थना गर्दै राजा दाऊदले स्वीकारे। अनि मन्दिर निर्माणको लागि तिनी र तिनका प्रजाले चढाएको ठूलो चन्दाबारे दाऊदले यसो भने: “तपाईंकै दानबाट हामी तपाईंलाई दिंदैछौं।” (१ इतिहास २९:१४) त्यसैकारण, यहोवालाई उपहार चढाउँदा उहाँले हामीलाई उदारतासाथ दिनुभएको कुरा उहाँलाई नै फिर्ता गरिरहेका मात्र हुन्छौं। (१ कोरिन्थी ४:७) तर माथि उल्लेख गरिएझैं यहोवाको आदर गर्नु भनेको अरूसमक्ष उहाँको प्रतिष्ठा बढाउनु हो। अनि साँचो उपासनालाई बढावा दिन प्रयोग गरिने भौतिक उपहारहरूले परमेश्वरको आदर गर्छन्। यस तरिकामा यहोवाको आदर गर्ने सर्वोत्तम उदाहरणहरू बाइबलमा छन्।
विगतका उदाहरणहरू
लगभग ३,५०० वर्षअघि, यहोवाले उजाडस्थानमा इस्राएलीहरूका लागि उपासना थलोको रूपमा बासस्थानको प्रबन्ध गर्नुहुँदा ईश्वरीय योजनालाई मूर्तरूप दिन विभिन्न खालका बहुमूल्य सामग्रीहरूको खाँचो पऱ्यो। त्यसैकारण यहोवाले मोशालाई ‘राजी-खुशीसँग दिन चाहने प्रत्येकले यहोवाको निम्ति भेटी ल्याओस्,’ भनेर आदेश दिनुभयो। (प्रस्थान ३५:५) त्यसपछि के भयो, विवरण यसो भन्छ: “जस जसका हृदय प्रेरणाले भऱ्यो, र हरेक जसको मन इच्छुक भयो, तिनीहरूले भेट हुने पालको काम त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए।” (प्रस्थान ३५:२१) वास्तवमा, तिनीहरूले स्वेच्छासाथ चढाएको भेटी चाहिएको भन्दा असाध्यै धेरै भएकोले मानिसहरूलाई “अझै सामान ल्याउन मनाई गरियो”!—प्रस्थान ३६:५, ६.
अर्को उदाहरण विचार गर्नुहोस्। बासस्थानको उद्देश्य पूरा भइसकेपछि र मन्दिर निर्माण गर्ने तयारी भइरहँदा आफ्नो छोरो सुलेमानले निर्माण गर्ने मन्दिरको लागि दाऊदले व्यक्तिगत तवरमा निकै ठूलो चन्दा दिएका थिए। तिनले अरूलाई पनि चन्दा दिन आग्रह गरे र मानिसहरूले यहोवाको निम्ति धन-सम्पत्ति उपहार ल्याए। सुनचाँदीको मोल मात्र अहिलेको दरमा करिबन् ५० अरब अमेरिकी डलर बराबर थियो। र “मानिसहरूले यसरी राजी-खुशीसित दिएकोमा आनन्द मनाए।”—१ इतिहास २९:३-९; २ इतिहास ५:१.
आज हाम्रो समयमा “राजी-खुशीसित दिएको”
आज हामी कसरी राजी खुशीले दिंदा प्राप्त हुने आनन्दको हकदार हुनसक्छौं? अहिले विश्वभरि सञ्चालन भइरहेको सबैभन्दा महत्त्वपूर्ण कार्य परमेश्वरको राज्यको प्रचार गर्ने र चेला बनाउने काम हो। (मत्ती २४:१४; २८:१९, २०; प्रेरित १:८) अनि यहोवाले आफ्ना साक्षीहरूलाई पृथ्वीमा रहेको आफ्नो सम्पत्ति हेरचाह गर्ने जिम्मा सुम्पनु उचित ठान्नुभएको छ।—यशैया ४३:१०.
स्पष्ट छ, आज यहोवाका साक्षीहरूले गरिरहेको कामको लागि रुपियाँ-पैसा चाहिन्छ। राज्यभवन, सम्मेलन भवन, शाखा कार्यालय, कारखाना र बेथेल भवन बनाउन र मर्मतसम्भार गर्न रुपियाँ-पैसा चाहिन्छ। बाइबल तथा बाइबल आधारित प्रकाशनहरू विभिन्न भाषाहरूमा छाप्न तथा वितरण गर्न पनि खर्च लाग्छ। संगठन चलाउन लाग्ने यी खर्च कसरी बेहोरिन्छ? पूर्णतया राजी खुशीले दिएको चन्दाले!
धेरैजसो चन्दादाताहरू येशूले याद गर्नुभएको विधवाले जस्तै जसोतसो गुजारा चलाइरहेका छन्। यहोवाको आदर गर्ने यो मौका नगुमाउन यिनीहरू “औकातअनुसार” धेरथोर जत्ति छ दिन्छन् भने कहिलेकाहीं त “औकातभन्दा बढ़ता” पनि दिन्छन्।—२ कोरिन्थी ८:३, ४.
कोरिन्थीका मसीहीहरूलाई प्रेरित पावलले यसो भने: “हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरुरत भएकोले किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) खुशीसाथ दिन राम्रो योजना बनाउनुपर्ने हुन्छ। पावलले कोरिन्थीहरूलाई भने: “प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आफ्नो आफ्नो उन्नत्तिअनुसार जोगाएर साँचिराखोस्, र म आउँदाखेरि कुनै चन्दा उठाउने काम हुनेछैन।” (१ कोरिन्थी १६:२) त्यसैगरि, अहिले परमेश्वरको राज्यसम्बन्धी कामकुरालाई अघि बढाउन चन्दा दिन चाहनेहरूले यसको लागि व्यक्तिगत अनि राजीखुशीका साथ आफ्नो आयस्रोतको केही भाग छुट्याएर राख्नसक्छन्।
आफ्नो आदर गर्नेहरूलाई यहोवा आशिष् दिनुहुन्छ
भौतिक तवरमा सम्पन्न हुँदैमा आध्यात्मिक तवरमा पनि सम्पन्न होइन्छ भन्ने छैन। तापनि हाम्रो धनसम्पत्ति अर्थात् समय, बल तथा भौतिक सरसम्पत्तिलाई यहोवाको आदर गर्न प्रयोग गर्दा भने प्रशस्त आशिष् पाउँछौं। किनभने सबैथोकका मालिक, परमेश्वर हामीलाई यसरी आश्वस्त बनाउनुहुन्छ: “उदार मानिसको उन्नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ।”—हितोपदेश ११:२५.
राजा दाऊदले मन्दिर निर्माण गर्न चन्दा जम्मा गरेका थिए। तिनको मृत्युपछि तिनका छोरा सुलेमानले यहोवाको निर्देशनबमोजिम एउटा भव्य मन्दिर निर्माण गर्न ती प्रयोग गरे। अनि सुलेमानले वफादार भई परमेश्वरको उपासना गरुञ्जेलसम्म “तिनको राजत्वकालभरिनै यहूदा र इस्राएलमा शान्ति थियो, औ दानदेखि बेर्शेबासम्मै हरेक मानिसले . . . सुखपूर्वक दिन बिताउँथे।” (१ राजा ४:२५) इस्राएलले ‘आफ्नो धन-सम्पत्तिले यहोवाको आदर गरुञ्जेल’ भण्डार कोठाहरू भरिभराउ थिए, मद्यको घ्याम्पो भरिएर छचल्किरहेको थियो।
पछि अगमवक्ता मलाकी मार्फत यहोवाले यसो भन्नुभयो: “मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ।” (मलाकी ३:१०) आज यहोवाका सेवकहरूले आध्यात्मिक समृद्धिको आनन्द उठाउनु यहोवाले आफ्नो उक्त प्रतिज्ञा पूरा गर्नुभएको छ भन्ने प्रमाण हो।
परमेश्वरको राज्यसम्बन्धी कामकुरालाई बढाउन हामीले जे जति गर्नुपर्ने हो, त्यो पूरा गर्दा यहोवा पक्कै पनि प्रसन्न हुनुहुन्छ। (हिब्रू १३:१५, १६) अनि हामीले ‘उहाँको राज्य र उहाँको धार्मिकता खोजिरह्यौं’ भने हाम्रो हेरविचार गर्ने प्रतिज्ञा उहाँले गर्नुभएको छ। (मत्ती ६:३३) त्यसैकारण आउनुहोस्, आनन्दित हृदयले ‘आफ्नो धन-सम्पत्तिद्वारा यहोवाको आदर गर्नसकौं।’
[पृष्ठ २८-मा भएको पेटी]
केही व्यक्तिहरूले स्वेच्छासाथ विश्वव्यापी कामका लागि चन्दा दिने तरिकाहरू
“सोसाइटीको विश्वव्यापी कामका लागि चन्दा—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा राख्न धेरैजसोले केही पैसा छुट्याउँछन् वा बजेट बनाउँछन्। त्यसपछि हरेक महिना मण्डलीहरूले ब्रूक्लिन, न्यु योर्कस्थित मुख्यालयमा अथवा स्थानीय शाखा कार्यालयमा यी धनराशी पठाउँछन्।
स्वेच्छापूर्वक चन्दा दिइएको रुपियाँ-पैसा कोषाध्यक्षको कार्यालय, Watch Tower Bible and Tract Society of India, H-58 Old Khandala Road, Lonavla, 410 401, Pune Dist, Mah. मा अथवा तपाईंको देशमा सेवारत सोसाइटीको कार्यालयलाई सोझै पठाउन सकिन्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यी चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा वस्तु पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।
शर्तनामा चन्दाको प्रबन्ध कोश खडा गर्दा कथंकदाचित चन्दादातालाई उक्त चन्दा चाहिएमा कोशको रकम पुनः चन्दादातालाई फर्काउन मिल्ने विशेष प्रबन्ध पनि गरिएको छ। थप जानकारीका लागि कृपया सोसाइटीको माथि उल्लिखित ठेगानामा सम्पर्क राख्नुहोस्।
नियोजित दान
पूर्णतया दान र शर्तनामा चन्दाबाहेक विश्वव्यापी राज्य सेवाको लागि लाभप्रद साबित हुनसक्ने अन्य केही तरिकाहरू पनि छन्। ती हुन्:
बिमा: वाच टावर सोसाइटीलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ। यस्तो प्रबन्ध गरिएमा सोसाइटीलाई खबर गर्नुपर्छ।
बैंक खाता: बैंक खाता, निक्षेप खाता वा व्यक्तिगत अवकाश खातालाई स्थानीय बैंकको आवश्यकताअनुरूप वाच टावर सोसाइटीलाई सुम्पिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ। यस्तो प्रबन्ध गरिएमा सोसाइटीलाई खबर गर्नुपर्छ।
ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू पनि सोसाइटीलाई पूर्णतया दान वा चन्दादाताले आम्दानी पाउने प्रबन्ध मिलाएर चन्दा दिन सकिन्छ।
घडेरी: बिक्री गर्न मिल्ने घडेरी पनि वाचटावर सोसाइटीलाई चन्दास्वरूप दिन सकिन्छ। घडेरीलाई पूर्णतया दान वा चन्दादाता बाचुञ्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। सोसाइटीलाई कुनै घडेरी दिनुअघि सोसाइटीसित सम्पर्क राख्नुपर्छ।
वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीलाई हस्तान्तरण गर्न सकिन्छ। अथवा सोसाइटीलाई कोशको हकदार बनाउन सकिन्छ। धार्मिक संगठनलाई कोशको हकदार बनाउँदा केही कर सुविधाहरू पाउन सकिन्छ। सोसाइटीलाई वसियतनामा वा कोश करारनामाको प्रतिलिपि पठाउनुपर्छ।
यीमध्ये कुनै एक नियोजित दान दिन इच्छुक व्यक्तिहरूले सोसाइटीको माथि उल्लिखित ठेगाना वा तपाईंको देशमा सेवारत सोसाइटीको कार्यालयमा सम्पर्क गर्नुहोस्। यी प्रबन्धहरूसित सम्बन्धित कुनै पनि कागजपत्रको प्रतिलिपि सोसाइटीलाई पठाउनुपर्छ।