प्रार्थना सुन्नुहुने यहोवासँग डराऊ
“हे प्रार्थना सुन्नुहुने तपाईंकहाँ नै सबै प्राणी आउनेछन्।”—भजन ६५:२.
१. यहोवासँग प्रार्थना द्वारा सम्पर्क राख्न चाहनेहरूले पालन गर्नु पर्ने नियमहरू उहाँले तोक्नु हुनेछ भनी हामी किन आशा गर्न सक्छौं?
यहोवा परमेश्वर “अनन्तका राजा” हुनुहुन्छ। साथै उहाँ “प्रार्थना सुन्ने” पनि हुनुहुन्छ जसकहाँ “सबै प्राणीहरू आउनेछन्।” (प्रकाश १५:३; भजन ६५:२) तर उहाँकहाँ तिनीहरू कसरी आउनु पर्दछ? पृथ्वीका राजाहरूले आफ्नो उपस्थितिमा आउने व्यक्तिहरूको पहिरन र तौर-तरीकाका लागि विशेष नियमहरू बनाउँछन् भने, निश्चय नै, अनन्तका राजाले पनि उहाँका अघि अन्तरबिन्ती र धन्यवादका साथ आउन चाहनेहरूले मान्नु पर्ने नियमहरू बनाउनु भएको हुनु पर्दछ भनी हामी आशा गर्न सक्छौं।—फिलिप्पी ४:६, ७.
२. प्रार्थनाको विषयमा के के प्रश्नहरू उठ्दछन्?
२ अनन्तका राजाले उहाँका अगाड़ि प्रार्थनामा आउनेहरू बाट के चाहनु हुन्छ? आफ्नो प्रार्थना परमेश्वरले सुन्नु हुने गरी कसले प्रार्थना गर्न सक्छ? र कुन कुन कुराहरूका लागि प्रार्थना गर्न सकिन्छ?
अनन्तका राजासँग सम्पर्क राख्न
३. परमेश्वरका प्राचीन दासहरूले चढाएका प्रार्थनाहरूको के उदाहरण दिन सक्नु हुन्छ, र के तिनीहरूले कुनै मध्यस्थद्वारा प्रार्थना गर्थे?
३ पापी हुनु अघि, आदम, “परमेश्वरको पुत्रले” अवश्य पनि अनन्तका राजासँग कुराकानी गर्थे। (लूका ३:३८; उत्पत्ति १: २६-२८) जब आदमको छोरा हाबिलले “पहिले जन्मेका पाठाहरू” चढाए, निःसन्देह यो भेटी, अन्तरविन्ती र प्रशंसाका साथ चढाइएको थियो। (उत्पत्ति ४:२-४) नूह, अब्राहाम, इसहाक र याकूबले वेदीहरू बनाए र प्रार्थनापूर्वक आफ्ना भेटीहरू लिएर यहोवाका अगाड़ि जान्थे। (उत्पत्ति ८:१८-२२; १२:७, ८; १३:३, ४, १८; २२:९-१४; २६:२३-२५; ३३:१८-२०; ३५:१, ३, ७) र सुलेमान, एज्रा र ईश्वरीय प्रेरणा पाएका भजन लेखकहरूले गरेका प्रार्थनाहरूले देखाउँदछ कि इस्राएलीहरूले कुनै मध्यस्थ विना नै परमेश्वरसँग सम्पर्क राख्द थिए।—१ राजा ८:२२-२४; एज्रा ९:५, ६; भजन ६:१, २; ४३:१; ५५:१; ६१:१; ७२:१; ८०:१; १४३:१.
४. (क) प्रार्थनामा परमेश्वरसँग सम्पर्क राख्ने कुन नयाँ तरीका प्रथम शताब्दीमा स्थापना गरियो? (ख) येशूको नाउँमा प्रार्थना चढाउनु किन विशेषगरि उपयुक्त छ?
४ हाम्रा सामान्य युगको प्रथम शताब्दीमा, परमेश्वरसँग प्रार्थना द्वारा सम्पर्क राख्ने एउटा नयाँ माध्यम स्थापित भयो। यो माध्यम उहाँका पुत्र येशू मसीहद्वारा सम्भव भयो जसले मानवजातिलाई विशेष रूपमा प्रेम गर्नु हुन्थियो। मानिस हुनु भन्दा अघि, येशूले आनन्दपूर्वक “एउटा सिपालु कारीगरको” हैसियतमा सेवा गर्नु भयो र मानवजातिसँग सम्बन्धितहुने कुराहरूमा विशेष चासो लिनु हुन्थ्यो। (हितोपदेश ८:३०, ३१) पृथ्वीमा एकजना मानिस भएर आउनु हुँदा, येशूले प्रेमपूर्वक असिद्ध मानिसहरूलाई आत्मिक रूपमा मदद गर्नुभयो, बिरामीलाई निको पार्नुभयो, र मरेकालाई पनि बिउँताउनुभयो। (मत्ती ९:३५-३८; लूका ८:१-३, ४९-५६) तर यी सबै कुरा बाहेक, उहाँले “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनुभयो।” (मत्ती २०:२८) यसैकारण, मुक्ति दिलाउने यो बलिदानबाट लाभ उठाउन चाहनेहरूले, मानवजातिलाई यतिका प्रेम गर्नु हुने यी व्यक्ति द्वारानै परमेश्वरसँग सम्पर्क राख्नु कति उचित कुरा हो! अनन्तका राजासँग सम्पर्क राख्ने अब यो एउटै बाटो हो किनकि येशूले स्वयं भन्नुभयो: “म बाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्तैन” र “तिमीहरू पितासँग जे मागौला, उहाँले मेरो नाउँमा तिमीहरूलाई दिनु हुनेछ।” (यूहन्ना १४:६; १६:२३) सबै थोक येशूको नाउँमा माग्नुको अर्थ प्रार्थना सुन्नु हुनेसँग सम्पर्क राख्ने उहाँ एक मात्र बाटो हुनु हुन्छ भनी स्वीकार्नु हो।
५. मानवजातिको संसारप्रति परमेश्वरको दृष्टिकोण कस्तो छ, र यसको प्रार्थनासित के सम्बन्ध छ?
५ मुक्ति दिलाउने यो बलिदानको प्रबन्ध द्वारा, यहोवाले प्रकट गर्नु भएको प्रेमको हामीले विशेष मूल्याङ्कन गर्नु पर्दछ। येशूले भन्नुभयो: “परमेश्वरले संसारलाई [मानवजातिलाई, न्यु. व.] यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने हरेक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) परमेश्वरको प्रेमको गहिराइलाई भजनसंग्रहका लेखकका शब्दमा राम्रोसित प्रकट गरिएको छ: “किनकि पृथ्वीबाट स्वर्ग जति अग्लो छ, उहाँसँग डराउनेहरूमाथि उहाँको कृपा त्यत्तिकै ठूलो हुन्छ। पश्चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्ति नै टाढा हटाइदिनुभएको छ। जसरी बाबुले आफ्ना छोराछोरीहरूलाई टिठाउँछन्, त्यसरी नै उहाँसँग डराउनेहरूलाई परमेश्वरले टिठाउनुहुन्छ। किनभने उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटो नै हुन् भनी उहाँ सम्झनु हुन्छ।” (भजन १०३:११-१४) यहोवाका समर्पित साक्षीहरूका प्रार्थनाहरू यस प्रकारका मायालु पिताकहाँ उहाँका पुत्र द्वारा पुग्दछ भनी थाह पाउनु कति उत्साहवर्धक कुरा हो!
एउटा सीमित विशेषाधिकार
६. के मनोवृत्ति राखेर यहोवासँग प्रार्थना गर्नुपर्छ?
६ मानव राजाहरूले जोसुकैलाई पनि कुनै सूचनाविना राजदरवारमा पस्न दिंदैनन्। राजासँग दर्शनभेट पाउनु एउटा सीमित विशेषाधिकार हुन्छ। अनन्तका राजालाई प्रार्थना गर्न पनि त्यस्तै हो। यो पक्कै पनि हो कि परमेश्वरका महिमावान सार्वभौमसत्ताको उचित मूल्याङ्कन गर्दै, येशूद्वारा प्रार्थना गर्नेहरूले तिनीहरूको प्रार्थनाको सुनाइ हुन्छ भनेर आशा गर्न सक्छन्। अनन्तका राजासँग प्रार्थनामा सम्पर्क राख्दा, श्रद्धा र उपासनाको मनोवृत्ति राख्नु आवश्यक छ। र आफ्नो प्रार्थनाको सुनाइ होस् भन्ने इच्छा गर्नेहरूले “यहोवाको डर” प्रकट गर्नुपर्छ।—हितोपदेश १:७.
७. “यहोवाको डर” भनेको के हो?
७ “परमेश्वरको डर” भनेको के हो? यो परमेश्वरका निम्ति प्रगाढ़ भक्तिका साथसाथै, उहाँ अप्रसन्न हुनु होला भन्ने स्वस्थकर भय हो। उहाँले देखाउनुभएको कृपा र भलाइ प्रतिको गहन कृतज्ञताबाट यस प्रकारको भय उत्पन्न हुन्छ। (भजन १०६:१) साथै, परमेश्वरको भय मान्नेहरूले, अनाज्ञाकारी हुनेहरूलाई मृत्यु-दण्ड समेत दिने अधिकार र शक्तिले सम्पन्न उहाँ अनन्तका राजा हुनुहुन्छ भनी स्वीकार्नु पर्दछ। यहोवाको डर राख्ने व्यक्तिहरूले आफ्नो प्रार्थना सुनिनेछ भन्ने आशा राखेर प्रार्थना गर्न सक्छन्।
८. परमेश्वरले किन उहाँसँग डराउनेहरूको प्रार्थना सुन्नुहुन्छ?
८ स्वभाविकतः, परमेश्वरले दुष्ट, अविश्वासी र आत्म-धर्मी व्यक्तिहरूको प्रार्थना सुन्नुहुन्न। (हितोपदेश १५:२९; यशैया १:१५; लूका १८:९-१४) तर यहोवाको डर राख्नेहरूका प्रार्थनाहरूको सुनाइ हुन्छ किनभने तिनीहरूले आफ्नो जीवनमा उहाँका धार्मिक स्तरहरूको पालना गर्दछन्। तर तिनीहरूले यो भन्दा बढ़ी गरेका छन्। यहोवाका डर मान्नेहरूले प्रार्थना द्वारा परमेश्वरलाई आफ्नो जीवन समर्पण गरेका छन् र पानीद्वारा बप्तिस्मा लिएर त्यसको प्रमाण दिएका छन्। त्यसैले, तिनीहरूले प्रार्थनाको एउटा असीमित विशेषाधिकार पाउँछन्।
९, १०. के बप्तिस्मा नलिएका व्यक्तिहरूले पनि आफ्ना प्रार्थनाको सुनाइ हुने आशा राखेर प्रार्थना गर्न सक्छन्?
९ परमेश्वरले प्रार्थना सुन्नु हुने हो भने, ईश्वरीय इच्छासँग मिल्दो भावनाहरू प्रार्थनामा व्यक्त गर्नु आवश्यक छ। प्रार्थना गर्ने मानिस निश्चय इमान्दार हुनुपर्छ तर त्यतिले मात्र पुग्दैन। “विना विश्वास परमेश्वरलाई रिझाउन असम्भव छ,” भनी प्रेरित पावलले लेखे, “किनभने जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्छ।” (हिब्रू ११:६) उसो भए, के हामीले बप्तिस्मा नलिएका व्यक्तिहरूलाई पनि तिनीहरूको प्रार्थनाको सुनाइ हुन्छ भन्ने आशा दिलाउँदै, तिनीहरूलाई प्रार्थना गर्ने प्रोत्साहन दिन मिल्छ र?
१० प्रार्थना एउटा सीमित विशेषाधिकार हो भन्ने कुरा थाहा पाएर, परमेश्वरको मन्दिर, यरूशलेम तर्फ फर्केर प्रार्थना गर्ने परदेशीहरूको मात्र प्रार्थना सुनी दिनु होस् भनी सुलेमान राजाले यहोवासँग बिन्ती गरे। (१ राजा ८:४१-४३) कैयौं शताब्दी पछि, गैर यहूदी परदेशी कर्नीलियस एक जना भक्त मानिस थिए र तिनले “परमेश्वरमा सँधै प्रार्थना गर्नेगर्थे।” सही ज्ञान पाउना साथै, कर्नीलियसले परमेश्वरमा आफूलाई समर्पण गरे र परमेश्वरले पनि तिनलाई पवित्र आत्मा दिनु भयो। यस पश्चात्, कर्नीलियस र अन्य गैर यहूदी व्यक्तिहरूले पनि बप्तिस्मा लिए। (प्रेरित १०:१-४४) कर्नीलियस जस्तै, समर्पण तर्फ अघि बढिरहेकाहरूलाई प्रार्थना गर्न प्रोत्साहन दिन सकिन्छ। तर जसले साँचो मनसित शास्त्र अध्ययन गर्दैन, उसलाई प्रार्थना सम्बन्धी ईश्वरीय आवश्यकताहरूको ज्ञान हुँदैन र परमेश्वरलाई प्रसन्न पार्ने प्रवृत्ति उसले अझ सम्म व्यक्त न गरेको हुनाकारण, उसले यहोवाको डर मान्दछ, उहाँमाथि विश्वास गर्दछ र एकाग्रचित्त साथ उहाँको खोजी गर्दैछ भन्न मिल्दैन। यस्तो व्यक्ति परमेश्वरको सामुन्ने ग्रहणयोग्य प्रार्थना चढ़ाउने अवस्थामा छैन।
११. समर्पणतिर अघि बढिरहेका कुनै कुनै व्यक्तिहरूलाई के भएको छ, र तिनीहरूले आफैलाई के प्रश्न गर्नुपर्छ?
११ कुनै समयमा समर्पण तर्फ प्रगति गरिरहेका व्यक्तिहरू फेरि पछि हट्न थालेका होलान्। तर तिनीहरूको हृदयमा परमेश्वरलाई आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने सम्मको प्रेम छैन भने, के तिनीहरूले प्रार्थनाको अद्भुत विशेषाधिकारबाट लाभ उठाउन सक्छन् होला र? उठाउन सकिंदैन जस्तो छ किनभने परमेश्वरसँग सम्पर्क कायम राख्ने उद्देश्यले अघि बढ़नेहरूले उत्कटतासाथ उहाँको, साथै धार्मिकताको र नम्रताको खोजी गरिरहेको हुनु पर्दछ। (सपन्याह २:३) यहोवाको डर मान्ने प्रत्येक व्यक्तिले विश्वास गर्दछ र परमेश्वरलाई आफ्नो जीवन समर्पण गरे पछि, बप्तिस्मा द्वारा यसको प्रमाण प्रस्तुत् गर्दछ। (प्रेरित ८:१३; १८:८) अनन्तका राजालाई प्रार्थनामा पुकार्ने असीमित विशेषाधिकार, बप्तिस्मा लिएका विश्वासीहरूले मात्र पाउँछन्।
“पवित्र आत्मासंग प्रार्थना गर्न”
१२. एकजना व्यक्ति “पवित्र आत्मासँग प्रार्थना गरिरहेको छ” भनेर कहिले भन्न सकिन्छ?
१२ पानीमा बप्तिस्मा लिएर परमेश्वरलाई आफ्नो जीवन समर्पण गरेको कुरा जाहेर गरी सकेको व्यक्तिले ‘पवित्र आत्मासंग प्रार्थना’ गर्न सक्दछ। यस विषयमा, यहूदाले लेखे: “तर हे प्रिय मित्र हो, तिमीहरूचाहिं तिमीहरूको अति पवित्र विश्वासमा आफ्नो उन्नति गर्दै, पवित्र आत्मामा प्रार्थना गरी, अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखी, तिमीहरू आफैलाई परमेश्वरको प्रेममा राखी छोड़।” (यहूदा २०, २१) परमेश्वरको पवित्र आत्मा अर्थात् उहाँको सक्रिय शक्तिको प्रभावमा परेर, उहाँका वचनमा भनिएका कुराहरू बमोजिम प्रार्थना गर्नु, पवित्र आत्मासँग प्रार्थना गर्नु हो। यहोवाका आत्माको प्रेरणा द्वारा लेखिएका शास्त्रहरूले हामीलाई प्रार्थना कसरी गर्न र प्रार्थना गर्दा कुन कुन कुराको माँग गर्नु पर्ने हो, सिकाउँदछ। उदाहरणका लागि, हामी विश्वस्त भएर, प्रार्थना द्वारा, परमेश्वरसँग उहाँको पवित्र आत्मा माँग्न सक्छौं। (लूका ११:१३) हामी पवित्र आत्मासँग प्रार्थना गर्दा, यहोवाले मन पराउनु हुने प्रकारको मनोवृत्ति हामी जाहेर गर्दछौं।
१३. पवित्र आत्मासित प्रार्थना गऱ्यौं भने, हामी के गर्न देखिन् जोगिने छौं, र येशूको कुन सल्लाहलाई प्रयोगमा ल्याउने छौं?
१३ पवित्र आत्मासँग प्रार्थना गर्दा, हाम्रा प्रार्थनाहरू शब्दाडम्बरले भरिएका हुँदैनन्। तिनीहरू कण्ठस्थ गरेर घोकिएका वाक्यहरूले बनेका हुँदैनन्। अहँ, तिनीहरू अर्थहीन पूजाका पाठहरू, जस्तै चेपारे प्रशंसाका वाक्यहरूले भरिएका हुँदैनन्। यस प्रकारका प्रार्थनाहरू मसीही जगतमा र झूटो धर्मका विश्व साम्राज्य, महान बेबिलोनका बाँकी भागहरूमा प्रशस्तगरी पाइन्छन्। तर साँचो मसीहीहरूले येशूले दिनु भएका सल्लाह मान्छन्: “जब तिमी प्रार्थना गर्दछौ तब कपटीहरू जस्तो नहोऊ किनकि तिनीहरू सभाघरहरूमा र गल्लीहरूका कुनामा मानिसहरूले देखून् भनी खडा भएर प्रार्थना गर्न मन गर्छन् . . . र प्रार्थना गर्दा मूर्तिपूजकहरू झैं, सुगाले बोले जस्तै नबर्बराऊ; किनकि तिनीहरूले धेरै शब्द प्रयोग गरेको हुनाकारण, तिनीहरूको सुनाइ हुनेछ भनी तिनीहरू (गलत) सोच्दछन्। यसकारण, तिनीहरू जस्तो नहोओ।”—मत्ती ६:५-८, बाइङ्गटन.
१४. कसै कसैले प्रार्थना सम्बन्धी कस्ता विवेकपूर्ण टिप्पणीहरू दिएका छन्?
१४ येशू र बाइबलका अन्य लेखकहरू बाहेक, अरूहरूले पनि प्रार्थना सम्बन्धी विवेकपूर्ण वक्तव्यहरू दिएका छन्। उदाहरणका लागि, अँग्रेजी लेखक जोन बन्यानले (१६२८-८८) भने: “प्रार्थना भनेको, आत्माको बल र मदद द्वारा, परमेश्वरले प्रतिज्ञा गर्नु भएका कुराहरूका लागि, इमान्दारी, बुद्धिमानी र स्नेह साथ, ख्रीष्ट द्वारा, परमेश्वरमा आफ्नो सारा हृदय पोखाउनु हो।” प्युरिटन पादरी थोमस ब्रुक्सले (१६०८-८०) यस प्रकार उद्गार गरे: “तपाईंको प्रार्थनाको वाक्शक्ति जति सुकै सुन्दर भएता पनि, परमेश्वरले त्यो हेर्नुहुन्न; नता उहाँले तपाईंको प्रार्थनाको ज्यामिति, जति नै लामो भए पनि हेर्नु हुन्छ; न तपाईंको प्रार्थनाको अङ्कगणित नै हेर्नुहुन्छ, संख्या जति नै भए पनि नता तपाईंको प्रार्थनाको तर्क नै हेर्नु हुन्छ; जति नै व्यवस्थित भएता पनि, किनभने उहाँले तपाईंका प्रार्थनाहरूको निष्कापट्यलाई हेर्नु हुन्छ।” यी टिप्पणीहरूमा बन्यानको यस टिप्पणीलाई थप्न सकिन्छ: “प्रार्थना गर्दा, हृदय न भएका शब्दहरू भन्दा, शब्दहरू विनाको हृदय नै वेश हो।” तर हामी इमान्दार छौं र ईश्वरीय आवश्यकताहरूलाई पूरा गरेका छौं भने, अनन्तका राजाले हाम्रा प्रार्थनाहरू सुनी दिनु हुन्छ भनी हामी कसरी निश्चित हुन सक्छौं?
कहिल्यै रित्तै फर्काउनु हुनेछैन
१५. येशूले लूका ११:५-८ मा भन्नुभएका कुराहरूको निचोड़ के हो?
१५ यहोवा परमेश्वरले आफ्ना समर्पित सेवकहरूका प्रार्थनाको बेवास्ता गर्नु हुन्न। यो कुरा, येशूका अनुयायीहरूले प्रार्थना सम्बन्धी उपदेश माँग्दा, येशूले भन्नु भएका हृदयस्पर्शी शब्दहरू द्वारा स्पष्ट देखिन्छ। उहाँले भन्नु भएका कुराहरूका केही अंश यस प्रकार छ: “तिमीहरू मध्ये कसको एउटा मित्र होला, जसकहाँ उनी आधारातमा गएर भन्ला, ‘ए मित्र, मलाई तीनवटा रोटी पैंचो दिनुहोस्, किनकि मेरो एकजना मित्र सफरबाट मकहाँ आएका छन्, र तिनलाई टक्राउनलाई मसँग केही छैन।’ औ तिनले भित्रबाट जवाफ दिएर भन्ला, ‘मलाई तकलीफ नदिनुहोस्। ढोका बन्द भइसकेको छ, औ मेरा केटा केटीहरू मैसित ओछ्यानमा छन्। म उठेर तपाईंलाई दिन सक्तिनँ।’ म तिमीहरूलाई भन्दछु, ‘उनी तिनका मित्र हुनाले तिनलाई नदिए पनि तिनी खुरन्धार लागेकाले, उठेर तिनलाई दरकार परे जति दिनेछन्।” (लूका ११:१, ५-८) यस दृष्टान्तको तात्पर्य के थियो?
१६. प्रार्थनाको सम्बन्धमा, हामीले के गरेको येशू चाहनु हुन्थ्यो?
१६ येशूले निश्चय पनि, यहोवा हामीलाई मदद गर्न अनिच्छुक हुनुहुन्छ भन्न खोज्नु भएको होइन। बरू, निरन्तर प्रार्थना गरी रहन सक्ने सम्मको परमेश्वर प्रति प्रेम र पूर्ण भरोस हामीमा भएको येशू चाहनु हुन्छ। त्यसैले येशू फेरि भन्नुहुन्छ: “म तिमीहरूलाई भन्दछु, ‘माग, त तिमीहरूलाई दिइनेछ, खोज, त तिमीहरूले भेट्टाउनेछौ, घच्घच्याओ, त तिमीहरूको निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, औ घच्घच्याउनेको निम्ति खोलिनेछ।” (लूका ११:९, १०) यसैकारण, हामीमाथि सतावट आइ पर्दा, जरा लागेर बसेका व्यक्तिगत कमजोरीहरूले गर्दा हामी विचलित हुँदा या अरू कुनै प्रकारका कठिनाइहरूमा पर्दा, निरन्तर प्रार्थना गरिरहनुपर्दछ। आफ्ना विश्वासी सेवकहरूलाई मदद गर्न यहोवा जहिलेपनि तत्पर हुनुहुन्छ। उहाँले कहिल्यै पनि “मलाई दिक्क न लगाउ” भन्नु हुनेछैन।
१७, १८. (क) येशूले हामीलाई पवित्र आत्मा माग्नका लागि कसरी प्रोत्साहन दिनुभयो, र उहाँका शब्दहरू कुन कुराले गर्दा अझ महत्त्वपूर्ण हुँदछन्? (ख) येशूले पार्थिव आमाबाबुको व्यवहारलाई परमेश्वरको व्यवहारसँग कसरी तुलना गर्नु भयो?
१७ परमेश्वरसँग नजिकको सम्बन्ध अनुभव गर्नका लागि, उहाँको पवित्र आत्मा अथवा सक्रिय शक्ति आवश्यक पर्दछ। त्यसैकारण येशूले फेरि भन्नुभयो: “औ तिमीहरूमध्ये कुनचाहिं बाबु होला जसको छोराले रोटी माग्यो भने त्यसलाई ढुङ्गा देला कि माछा मागेमा माछाको सट्टा साँप देला? अथवा अण्डा मागेमा त्यसलाई बिच्छी देला? तिमीहरू दुष्ट भइकन, आफ्ना छोराछोरीहरूलाई असल कुरा दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:११-१३.) मत्ती ७:९-११ ले रोटीको सट्टा ढुङ्गा दिने कुरा गर्दछ। बाइबलमा उल्लेखित प्राचीन देशहरूमा, रोटीको परिमाण र आकार एउटा चेप्टो, बाटुलो ढुङ्गा जस्तो हुन्थ्यो भन्ने कुरा हामीले बुझि लियौं भने, येशूका शब्दहरू अझ अर्थपूर्ण हुनेछ। कुनै कुनै सर्पहरू हेर्नमा एक प्रकारका माछाहरू जस्ता हुन्छन् र एक प्रकारको सानो सेतो बिच्छी चाहिं सेतो अण्डा जस्तो देखिन्छ। तर रोटी, माछा वा अण्डा माँग्दा, कुन चाहिं बाबुले आफ्ना बच्चालाई ढुङ्गा, सर्प, या बिच्छी दिनेछ?
१८ यस पछि, येशूले पार्थिव आमाबाबुको व्यवहार र परमेश्वरले आफ्ना परिवारका उपासकहरूसँग गर्नु हुने व्यवहारको तुलना गर्नुभयो। वंशानुगत पाएका असिद्धताको कारण हामी थोड़ बहुत दुष्ट भएरपनि आफ्ना बच्चाहरूलाई असल कुराहरू दिन्छौं भने, आफ्ना भक्त सेवकहरूले नम्रता पूर्वक मागेको खण्डमा, हाम्रा स्वर्गीय पिताले पवित्र आत्माको महान वरदान निश्चय नै दिनु हुनेछ भनी हामी अझ बढ़ी आशा गर्न सक्छौं!
१९. (क) लूका ११:११-१३ र मत्ती ७:९-११ मा उल्लेखित येशूका शब्दहरूले के सङ्केत गर्दछ? (ख) हामी पवित्र आत्माबाट निर्देशित छौं भने, हामीले परीक्षाहरूलाई कुन दृष्टिकोणले हेर्नेर्छौं?
१९ हामीले बढ़ी मात्रामा परमेश्वरसँग पवित्र आत्मा माँग्ने गर्नुपर्छ भनी येशूका शब्दहरूबाट बोध हुन्छ। हामी परमेश्वरको पवित्र आत्मा द्वारा निर्देशित छौं भने, “आफ्नो भाग्यलाई दोष” लाउने छैनौं र अन्य परीक्षाहरू र नैराश्यहरू हाम्रा लागि सम्पूर्णतया हानिकारक हुन् भनी ठान्ने छैनौं। (यहूदा १६) यो साँचो हो, कि “स्त्रीबाट जन्मेको मानिस अल्प आयुका र अशान्तिले भरिएको हुन्छ,” र धेरै जना आफ्ना समस्याहरू र कष्टहरूको अन्त देख्न नपाइकनै मरे। (अय्यूब १४:१) तर हामीले कहिल्यै पनि आफ्ना परीक्षाहरूलाई, प्रार्थना सुन्नु हुनेले हाम्रो हातमा थमाइ दिनु भएको ढुङ्गा, सर्प, र बिच्छी जस्तै नठानौं। उहाँ प्रेमको आदर्श हुनुहुन्छ र कसैलाई पनि खराब कामहरूद्वारा परीक्षामा पार्नुहुन्न। बरू, उहाँले हामीलाई ‘हरेक असल दान र हरेक उत्तम वरदान’ दिनुहुन्छ। अन्तत्वगत्वा उहाँको भय मान्ने र उहाँलाई प्रेम गर्ने हरेकका लागि सबै कुरा ठीक गरिदिनुहुनेछ। (याकूब १:१२-१७; १ यूहन्ना ४:८) धेरै वर्ष देखिन् सत्यमा हिंडेका व्यक्तिहरूको अनुभव अनुसार, सबैभन्दा कठिन परीक्षाहरू पनि, प्रार्थना र विश्वास द्वारा, फाइदा जनक साबित भएका छन् र यसले गर्दा, तिनीहरूको जीवनमा आत्माका फलहरूको पनि वृद्धि भएको छ। (३ यूहन्ना ४) वास्तवमा, हाम्रा स्वर्गीय पितामाथि भरोसा गर्न र प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता र संयम जस्ता आत्माका फलहरूको खेती गर्न सिक्ने यो भन्दा अझ उत्तम तरीका कुन होला?—गलाती ५:२२, २३.
२०. लूका ११:५-१३ मा उल्लेखित येशूका शब्दहरूले हामीमा कस्तो असर पार्नु पर्छ?
२० लूका ११:५-१३ मा उल्लेखित येशूका शब्दहरूले हामीलाई यहोवाको प्रेम र कोमल हेरविचार बारे आश्वस्त पार्दछ। यसबाट हाम्रो हृदय गहिरो कृतज्ञता र प्रेमले भरिभराउ हुनु पर्दछ। साथै, यसले हाम्रो विश्वासलाई अझ दह्रो पार्दै, हामीमा अनन्तको राजाको पाउदानमा बसेर, उहाँको मायालु उपस्थितिमा अबेरसम्म रही रहने इच्छा जागृत पार्नु पर्ने हो। र हामी कहिल्यै पनि रित्तै फर्कनु पर्ने छैन भनेर येशूका शब्दहरूले हामीलाई आश्वासन दिन्छन्। हाम्रा स्वर्गीय पितामाथि हामीले आफ्ना सारा भारी बिसाउँदा, उहाँ अति नै प्रसन्न हुनु हुन्छ। (भजन ५५:२२; १२१:१-३) र हामी, उहाँका विश्वासी, समर्पित सेवकहरूले उहाँका पवित्र आत्माको निम्ति माँग गर्दा, उहाँले त्यो उदार चित्तसाथ दिनु हुन्छ। उहाँ नै हाम्रा मायालु परमेश्वर हुनुहुन्छ, र हाम्रा प्रार्थनाहरू सुन्नु हुने पनि उहाँ नै हुनु हुन्छ भनी हामी विश्वस्त छौं। (w90 5/15)
के तपाईंलाई याद छ?
◻ हामीले परमेश्वरलाई प्रार्थना गर्दा को द्वारा गर्नुपर्छ, र किन?
◻ कुन कुराले गर्दा, प्रार्थना एउटा सीमित विशेषाधिकार हो?
◻ ‘पवित्र आत्मासँग प्रार्थना गर्नु’ भनेको अर्थ के हो?
◻ बप्तिस्मा लिएका यहोवाका विश्वासी साक्षीहरूको प्रार्थनाको सुनाइ हुन्छ भनेर के तपाईं शास्त्रबाट प्रमाण दिन सक्नु हुन्छ?
[पृष्ठ १५-मा भएको चित्र]
पार्थिव पिताहरूले आफ्ना बच्चाहरूलाई असल कुराहरू दिएजस्तै यहोवा परमेश्वरले पनि उहाँ सँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ