प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ९/१ pp. २८-३१
  • यहोवाको ‘वचनले’ तपाईंको रक्षा गरोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको ‘वचनले’ तपाईंको रक्षा गरोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरीय बुद्धिद्वारा रक्षा गरिएका मानिसहरू
  • बाइबल सिद्धान्तहरूद्वारा रक्षा गरिएका मानिसहरू
  • यहोवाको ‘वचनले’ तपाईंको हृदयलाई रक्षा गरोस्‌
  • परमेश्‍वरको वचनले मण्डलीलाई रक्षा गर्छ
  • “मीठो बास्ना[द्वारा]” रक्षा गरिएका
  • यहोवाको बाटो हेर्नेहरूलाई उहाँले रक्षा गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • तपाईँ कसरी आफ्नो हृदयलाई सुरक्षित राख्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ?
    यहोवासित नजिक हुनुहोस्‌
  • ‘दुष्ट आत्मिक शक्‍ति विरुद्ध संघर्ष गर्ने’
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ९/१ pp. २८-३१

यहोवाको ‘वचनले’ तपाईंको रक्षा गरोस्‌

ईसापूर्व ४९० मा भएको ऐतिहासिक म्याराथन युद्धमा अत्यन्त शक्‍तिशाली फारसी सेनासित १० देखि २० हजार एथेन्सवासीको टक्कर भयो। युनानीहरूले अपनाउने युद्ध रणनीतिको एउटा महत्त्वपूर्ण पक्ष एक ढिक्का भएर अघि बढ्‌ने सेनाहरूको डफ्फा थियो। पर्खालजत्तिकै बलियो तिनीहरूको ढालले निकै सुरक्षा दिन्थ्यो र पर्खालजस्तै ती ढालहरूको बीचबाट काँडाजस्तै गरी भालाहरू बाहिर निस्केका हुन्थे। सेनाहरू एक ढिक्का भएर अघि बढेकै कारण एथेन्सवासीले ठूलो संख्यामा आएको शक्‍तिशाली फारसी सेनालाई परास्त गर्न सके।

साँचो मसीहीहरू आध्यात्मिक युद्धमा संलग्न छन्‌। उनीहरू वर्तमान दुष्ट रीतिरिवाजका अदृश्‍य शासकहरूको विरुद्धमा युद्ध लड्‌छन्‌, जसलाई बाइबलमा “यस अन्धकारका सांसारिक शासकहरू . . . स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरू” भनी वर्णन गरिएको छ। (एफिसी ६:१२; १ यूहन्‍ना ५:१९) परमेश्‍वरका जनहरूले विजय प्राप्त गरिरहन्छन्‌ तर आफ्नै बलबुताको भरमा त होइन। विजयको सम्पूर्ण श्रेय यहोवालाई जान्छ किनभने उहाँले नै उनीहरूलाई रक्षा गर्नुका साथै निर्देशन दिनुहुन्छ। यसबारे भजन १८:३० मा यसो भनिएको छ: “परमप्रभुको वचन प्रमाणित भएको छ। उहाँमा भरोसा गर्नेहरू जत्ति सबैका उहाँ ढाल हुनुहुन्छ।”

हो, पवित्र धर्मशास्त्रमा लिपिबद्ध आफ्नो निखुर “वचन[द्वारा]” यहोवाले आफ्ना वफादार सेवकहरूलाई आध्यात्मिक हानिबाट जोगाउनुहुन्छ। (भजन १९:७-११; ११९:९३) परमेश्‍वरको वचनमा प्रकट गरिएको बुद्धिको विषयमा सुलेमानले यस्तो लेखे: “त्यसलाई नत्याग्‌ र त्यसले तँलाई सुरक्षित राख्नेछ, त्यसलाई प्रेम गर्‌ र त्यसले तेरो रक्षा गर्नेछ।” (हितोपदेश ४:६; उपदेशक ७:१२) ईश्‍वरीय बुद्धिले हामीलाई हानिबाट कसरी रक्षा गर्छ? पुरातन इस्राएलको उदाहरण विचार गर्नुहोस्‌।

ईश्‍वरीय बुद्धिद्वारा रक्षा गरिएका मानिसहरू

यहोवाको व्यवस्थाले इस्राएलीहरूलाई जीवनको सबै पक्षमा रक्षा गर्नुका साथै डोऱ्‍याइ प्रदान गऱ्‍यो। उदाहरणका लागि, भोजन, सरसफाइ र रोगीहरूलाई अलग्गै राख्ने सम्बन्धमा दिइएका नियमहरूले उनीहरूलाई थुप्रै रोगहरूबाट जोगायो जुन रोगले अरू राष्ट्रहरूलाई कायल पारेको थियो। उन्‍नाइसौं शताब्दीमा रोगको जिवाणु पत्ता लागेपछि मात्र विज्ञान परमेश्‍वरको व्यवस्थाको स्तरसम्म आइपुग्यो। जग्गाको स्वामित्व, जमिन किन्‍ने विषयमा, ऋण मिनाहा गर्ने र ब्याज लिनेसम्बन्धी व्यवस्थाले समाजलाई अझ दिगो र आर्थिक प्रणालीलाई पारदर्शी बनाउन टेवा पुऱ्‍याएको हुनाले इस्राएलमा थुप्रै सामाजिक सुधारहरू भए। (व्यवस्था ७:१२, १५; १५:४, ५) यहोवाको व्यवस्थाले इस्राएली माटोलाई अझ उत्पादनशील बनाउनसमेत मदत गऱ्‍यो! (प्रस्थान २३:१०, ११) झूटो उपासना विरुद्ध दिइएका आज्ञाहरूले निर्जीव मूर्तिहरूको सामने निहुरिने व्यर्थको प्रचलनलगायत भूतप्रेतको दमन, बच्चाहरूलाई बलि चढाउने र अरू थुप्रै खराब कुराहरूबाट जोगाएर मानिसहरूलाई आध्यात्मिक तवरमा रक्षा गऱ्‍यो।—प्रस्थान २०:३-५; भजन ११५:४-८.

कुरा स्पष्ट छ, यहोवाको “वचन” इस्राएलीहरूको लागि “साधारण कुरो” थिएन। बरु, त्यसलाई ध्यान दिनेहरूका लागि त्यो उनीहरूको जीवन र दीर्घायु थियो। (व्यवस्था ३२:४७) मसीहीहरू व्यवस्थाको करारअन्तर्गत नभए तापनि यहोवाका बुद्धिमानी वचनहरूमा ध्यान दिनेहरूका लागि आज पनि यही कुरा लागू हुन्छ। (गलाती ३:२४, २५; हिब्रू ८:८) वास्तवमा, व्यवस्थाको संग्रहको सट्टा मसीहीहरूसित उनीहरूलाई डोऱ्‍याउने तथा रक्षा गर्ने थुप्रै प्रकारका बाइबल सिद्धान्तहरू छन्‌।

बाइबल सिद्धान्तहरूद्वारा रक्षा गरिएका मानिसहरू

व्यवस्था लागू हुने क्षेत्र सीमित हुन सक्छ र यो सधैंभरि नरहन पनि सक्छ। तथापि, बाइबल सिद्धान्तहरू आधारभूत सत्य भएकाले ती विस्तृत क्षेत्रमा लागू हुनुका साथै सधैंभरि रहिरहन्छन्‌। उदाहरणका लागि, याकूब ३:१७ मा उल्लिखित सिद्धान्त विचार गर्नुहोस्‌, जुन पदको केही अंश यसो भन्छ: “जुन ज्ञान माथिबाट आउँछ, पहिलो ता त्यो पवित्र, त्यसपछि मिलापी हुन्छ।” यस आधारभूत सत्यले आज परमेश्‍वरका जनहरूका लागि कसरी ढालको रूपमा काम गर्छ?

पवित्र हुनुको अर्थ नैतिक तवरमा स्वच्छ हुनु हो। त्यसैले, पवित्रतालाई अनमोल ठान्‍ने व्यक्‍तिहरू अनैतिकतालाई मात्र होइन तर यौनसम्बन्धी कुरा मनमा खेलाउने तथा अश्‍लील सामग्री पढ्‌ने वा हेर्नेलगायत अनैतिकतातर्फ डोऱ्‍याउन सक्ने सम्पूर्ण कुराबाट पनि अलग रहने प्रयास गर्छन्‌। (मत्ती ५:२८) त्यस्तै गरी, याकूब ३:१७ मा दिइएको सिद्धान्तलाई हृदयङ्‌गम गर्ने विवाहपूर्व भेटघाट गरिरहेका युगल जोडीहरू आत्मसंयमको बाँधै टुट्‌ने हदसम्म नजिकिनदेखि जोगिन्छन्‌। यस सिद्धान्तभित्र रहेर चलेको कारण परमेश्‍वरको व्यवस्था नतोडेसम्म जे गरे पनि यहोवाको अनुमोदन प्राप्त भइरहन्छ भन्ठानेर तिनीहरू आफूलाई अपवित्र पार्ने कुराहरूप्रति लालायित हुँदैनन्‌। यहोवाले “हृदय हेरीकन विचार” गर्नुहुन्छ भन्‍ने कुरा उनीहरूलाई राम्रोसँग थाह छ र आफूलाई थाह भएको कुराअनुसारै उनीहरू आफ्नो जीवन बिताउँछन्‌ पनि। (१ शमूएल १६:७; २ इतिहास १६:९) यहोवाले दिनुभएका सिद्धान्तहरू अनुरूप चल्ने यस्ता बुद्धिमान्‌ मानिसहरूले आफूलाई आज व्याप्त यौनजन्य रोगहरूबाट जोगाउनुका साथै मानसिक तथा भावनात्मक तवरमा पनि सुरक्षित राख्छन्‌।

ईश्‍वरीय बुद्धि “मिलापी” पनि हुन्छ भनेर याकूब ३:१७ बताउँछ। हाम्रो हृदयमा हिंस्रक झुकाव हालिदिएर शैतानले हामीलाई यहोवाबाट विमुख पार्ने कोसिस गर्छ भनी हामीलाई थाह छ। शैतानले यसो गर्ने एउटा तरिका शंकास्पद साहित्य, चलचित्र, संगीत तथा कम्प्युटर गेमहरूमार्फत हो। कतिपय कम्प्युटर गेमहरूले त खेलाडीहरूलाई कल्पनै गर्न नसकिने हदसम्मको क्रूर हुन र काटमार गर्न सुऱ्‍याउँछ! (भजन ११:५) शैतान आफ्नो उद्देश्‍यमा सफल हुँदैछ भन्‍ने कुरा मौलाउँदो आपराधिक घटनाहरूबाट पुष्टि हुन्छ। यस्तो अपराधको विषयमा केही वर्षअघि अस्ट्रेलियन खबरपत्रिका द सिड्‌नी मर्निङ हेरल्ड-मा रबर्ट रसलरको भनाइ उद्धरण गरिएको थियो। रसलरको भनाइअनुसार सन्‌ १९७० को दशकमा आफूले अन्तरवार्ता लिएका हत्याराहरू अश्‍लील कुराले भरिएका सामग्रीहरू हेरेर हत्या गर्न सुरिएका थिए जुन सामग्री “अहिलेजस्तो स्पष्ट अश्‍लील कुराले भरिएको” थिएन। यसर्थ, रसलरले “भविष्य त्यति उज्ज्वल नहुने विचार व्यक्‍त गरे अर्थात्‌ अब आउने समयमा हत्याराहरूको बिगबिगी बढ्‌नेछन्‌” भनी बताए।

नभन्दै त्यस्तै भयो। त्यो समाचार सार्वजनिक भएको केही महिनापछि नै स्कटल्याण्डको डनब्लेनस्थित एउटा शिशु पाठशालामा एक जना बन्दुकधारीले आत्महत्या गर्नुअघि १६ जना बालबालिका तथा उनीहरूका शिक्षिकाहरूको गोली हानी हत्या गऱ्‍यो। त्यो घटना घटेको एक महिनापछि अस्ट्रेलियाको पोर्ट आर्थरस्थित शान्त ताजमानिया सहरमा अर्को सन्काह बन्दुकधारीले ३२ जना मानिसको ज्यान लियो। स्कूलमा हुने थुप्रै हत्याकाण्डले हालसालै संयुक्‍त राज्य अमेरिकामा निकै हलचल मच्चाएकोले अमेरिकीहरू यस्तो प्रश्‍न सोध्न बाध्य छन्‌: यस्तो किन भएको होला? सन्‌ २००१ जून महिनामा दिमाग ठेगानमा नभएको एक जना व्यक्‍ति स्कूलभित्र छिरेर कक्षा एक र दुईमा पढ्‌ने आठ जना विद्यार्थीलाई चुपीले रोपेर माऱ्‍यो र अरू १५ जनालाई घाइते बनाएको जापानको त्यो घटना सारा संसारभरि मुख्य समाचार बनेको थियो। हो, थुप्रै जटिल कारणहरूले गर्दा यस्ता खराब कुराहरू हुने गर्दछन्‌ तर सञ्चारमाध्यमहरूमा देखाइने हिंसा यसको सबैभन्दा प्रमुख कारकतत्त्वको रूपमा देखिएको छ। अस्ट्रेलियाका एक स्तम्भकार फिलिप आडम्सले यस्तो लेखे: “६० सेकेन्डको विज्ञापनले त व्यापार-व्यवसाय ह्वात्तै बढाउँछ भने, दसौं लाख खर्च गरेर निर्माण गरिने दुई घण्टा लामो चलचित्रले मानिसको सोचाइलाई असर नपार्ने त कुरै भएन।” चाखलाग्दो कुरा के छ भने, पोर्ट आर्थरका बन्दुकधारीको घरबाट प्रहरीले २,००० थान हिंस्रक तथा अश्‍लील भिडिओहरू बरामद गऱ्‍यो।

बाइबल सिद्धान्तअनुसार चल्ने व्यक्‍तिहरूले हिंसातर्फ उन्मुख गराउने सबै किसिमका मनोरञ्जनबाट आफ्नो मन अनि हृदयलाई सुरक्षित राख्छन्‌। यस प्रकार, “संसारको आत्मा[ले]” उनीहरूको सोचाइ तथा इच्छा-आकङ्‌क्षामा असर गर्न पाउँदैन। बरु, उनीहरू ‘परमेश्‍वरको आत्माले सिकाइएका’ हुन्छन्‌ र यस आत्माको फल अझ बढी विकास गर्ने प्रयास गर्छन्‌, जुन फलमा शान्ति पनि समावेश छ। (१ कोरिन्थी २:१२, १३; गलाती ५:२२, २३) नियमित बाइबल अध्ययन, प्रार्थना र उत्थानदायी मननद्वारा उनीहरू यसो गर्छन्‌। उनीहरू हिंस्रक झुकाव भएका व्यक्‍तिहरूसित होइन तर यहोवाको शान्तिमय नयाँ संसारको तृष्णा गर्ने आफूजस्तै व्यक्‍तिहरूसित सरसंगत गर्छन्‌। (भजन १:१-३; हितोपदेश १६:२९) हो, ईश्‍वरीय बुद्धिले साँच्चै ठूलो सुरक्षा प्रदान गर्छ!

यहोवाको ‘वचनले’ तपाईंको हृदयलाई रक्षा गरोस्‌

उजाडस्थानमा प्रलोभन आउँदा येशूले परमेश्‍वरको वचन ठीकसँग उद्धृत गरेर शैतानको खण्डन गर्नुभयो। (लूका ४:१-१३) तथापि, येशू र दियाबलबीचको कुराकानी केवल सवाल जवाफमै मात्र सीमित थिएन। आफ्नो पक्षमा बोल्दा येशूले धर्मशास्त्रलाई आधार बनाएर हृदयबाटै बोल्नुभयो। त्यसैकारण त अदनको बगैंचामा अत्यन्तै सफल प्रमाणित भएको दियाबलको रणनीति येशूको सन्दर्भमा विफल भयो। यहोवाको वचनले आफ्नो हृदय भऱ्‍यौं भने, हाम्रो विरुद्धमा शैतानले रच्ने युक्‍तिहरू पनि विफल हुनेछन्‌। यहोवाको वचनले आफ्नो हृदय भर्नु जत्तिको महत्त्वपूर्ण कुरा अरू केही छैन किनभने “[हृदय] सारा जीवनको मूल हो।”—हितोपदेश ४:२३.

यसबाहेक, हामीले हरेस नखाईकन आफ्नो हृदयलाई निरन्तर रक्षा गरिरहनै पर्छ। उजाडस्थानमा असफल भएपछि पनि शैतानले येशूको परीक्षा गर्न छोडेन। (लूका ४:१३) हाम्रो निष्ठा तोड्‌न विभिन्‍न तौरतरिकाहरू अपनाएर त्यसले हाम्रो पनि पिछा गर्न छोड्‌नेछैन। (प्रकाश १२:१७) त्यसैले आउनुहोस्‌, पवित्र आत्मा र बुद्धिको लागि निरन्तर प्रार्थना गर्दै परमेश्‍वरको वचनप्रति गहिरो प्रेम विकास गरेर येशूको अनुकरण गरौं। (१ थिस्सलोनिकी ५:१७; हिब्रू ५:७) यहोवामा शरण लिने जतिलाई उहाँ आध्यात्मिक हानिबाट बचाउने प्रतिज्ञा गर्नुहुन्छ।—भजन ९१:१-१०; हितोपदेश १:३३.

परमेश्‍वरको वचनले मण्डलीलाई रक्षा गर्छ

भविष्यवाणी गरिएको ‘ठूलो भीडलाई’ महासङ्‌कष्ट पार गर्नदेखि शैतानले रोक्न सक्दैन। (प्रकाश ७:९, १४) तर, केहीले भए पनि यहोवाको अनुमोदन गुमाओस्‌ भनेर त्यसले मसीहीहरूलाई भ्रष्ट पार्ने भरमग्दुर प्रयास गरिरहन्छ। शैतानको यस्तो चालले पुरातन इस्राएलमा काम गऱ्‍यो र प्रतिज्ञा गरिएको देशमा छिर्नै लाग्दा २४,००० जनाले आफ्नो ज्यान गुमाए। (गन्ती २५:१-९) हुन त हो, गल्ती गर्ने मसीहीहरू जसले साँचो पश्‍चात्ताप गर्छन्‌ उनीहरूलाई आध्यात्मिक तवरमा पुनस्थार्पित हुन मायालु मदत दिइन्छ। तर पुरातन समयका जिम्रीजस्तो अपश्‍चात्तापी पापीहरूले भने अरूको नैतिक तथा आध्यात्मिक हितलाई नै खतरामा पार्छन्‌। (गन्ती २५:१४) एक ढिक्का भएर अघि बढ्‌ने डफ्फाका ढाल फ्याँक्ने सिपाहीहरूजस्तै उनीहरूले आफूलाई मात्र होइन तर आफ्ना सँगी व्यक्‍तिहरूलाई समेत खतरामा पार्छन्‌।

त्यसैकारण त बाइबलमा यस्तो आज्ञा दिइएको छ: “त्यसको सङ्‌गत नगर्नू भनेर लेख्तछु, जो भाइ कहलिएर व्यभिचारी, अथवा लोभी, वा मूर्तिपूजक, वा गाली गर्ने, कि मतवाला, अथवा लुटाहा हुन्छ, त्यस्तो मानिससित ता खाँदै पनि नखाओ। . . . तिमीहरूले तिमीहरूको बीचबाट दुष्ट मानिसलाई हटाओ।” (१ कोरिन्थी ५:११, १३) यस बुद्धिमानी ‘वचनले’ मसीही मण्डलीको नैतिक तथा आध्यात्मिक शुद्धतालाई रक्षा गर्न मदत गर्छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र?

यसको ठीक विपरीत, मसीहीजगत्‌का थुप्रै चर्च र धर्मत्यागीहरूले नैतिकताको सन्दर्भमा आधुनिक खुला विचारधारासित मेल नखाने बाइबलका यी अंशहरूलाई अव्यावहारिक ठान्छन्‌। त्यसैकारण, पादरीहरूले गर्ने सबै किसिमका घोर पापप्रति तिनीहरू आँखा चिम्लिन्छन्‌। (२ तिमोथी ४:३, ४) तर यहोवाको ढालरूपी ‘वचनलाई’ सङ्‌केत गर्ने हितोपदेश ३०:५ पछिको पद ६ (NRV) मा दिइएको आज्ञा विचार गर्नुहोस्‌: “[परमेश्‍वरका] वचनहरूमा नथप्‌, नत्रता उहाँले तँलाई हप्काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ।” हो, बाइबलसित खेलवाड गर्ने व्यक्‍तिहरू आध्यात्मिक अर्थमा साँच्चै झूटा व्यक्‍तिहरू हुन्‌—सबैभन्दा निन्दनीय फटाहा व्यक्‍तिहरू! (मत्ती १५:६-९) त्यसकारण आउनुहोस्‌, परमेश्‍वरको वचनलाई गहिरो आदर गर्ने संगठनको भाग हुन पाएकोमा हामी हार्दिक कृतज्ञताले ओतप्रोत होऔं।

“मीठो बास्ना[द्वारा]” रक्षा गरिएका

परमेश्‍वरका जनहरू बाइबलको निर्देशनअनुसार चल्नुका साथै यसमा दिइएको सान्त्वनादायी सन्देश अरूलाई सुनाउने भएकाले उनीहरू यहोवालाई प्रसन्‍न तुल्याउने जीवनको धूपरूपी “मीठो बास्ना” छर्छन्‌। तर जे. बी. फिलिप्स्‌को अनुवादअनुसार त्यो सन्देश सुनाउने व्यक्‍तिहरूले अधर्मीहरूको लागि भने “विनाशको घातक गन्ध” छर्छन्‌। हो, दुष्टहरूले छर्ने लाक्षणिक गन्धलाई शैतानको रीतिरिवाजले यत्ति दुर्गन्धित बनाइदिएको छ कि तिनीहरू “ख्रीष्टको मीठो बास्ना” छर्ने मानिसहरूमाझ असजिलो अथवा अमित्रैलो महसुस गर्छन्‌। अर्कोतर्फ, जोसिलो भई सुसमाचार प्रचार गरिरहेका व्यक्‍तिहरू “उद्धार पाएकाहरूमा . . . ख्रीष्टको मीठो बास्ना” बन्छन्‌। (२ कोरिन्थी २:१४-१६) इमानदार हृदय भएका यस्ता व्यक्‍तिहरू अक्सर झूटो धर्मको चिनारी कपट अनि धार्मिक झूटहरूबाट वाक्क भएका हुन्छन्‌। त्यसैकारण त परमेश्‍वरको वचन खोलेर राज्यसन्देश सुनाउँदा उनीहरूले आफू ख्रीष्टतर्फ खिचिएको महसुस गर्छन्‌ र बाइबलको कुरा अझ बढी सिक्न अग्रसर हुन्छन्‌।—यूहन्‍ना ६:४४.

त्यसकारण, कसैले राज्यसन्देश सुनेन भन्दैमा निराश नहुनुहोस्‌। बरु, “ख्रीष्टको मीठो बास्ना[लाई]” आध्यात्मिक सुरक्षाको रूपमा हेर्नुहोस्‌ किनभने यसले परमेश्‍वरका जनहरू जुन आध्यात्मिक अवस्थामा छन्‌ त्यस अवस्थाबाट हानि पुऱ्‍याउन सक्ने थुप्रै व्यक्‍तिहरूलाई टाढा भगाउँछ र असल हृदय भएका व्यक्‍तिहरूलाई चाहिं आकर्षित गर्छ।—यशैया ३५:८, ९.

म्याराथनको युद्धमा युनानी सेना एक ढिक्का भएर अघि बढ्‌नुका साथै आफ्नो सारा बलले ढाल पक्रिरहेको हुँदा निकै कठिन परिस्थितिमा पनि तिनीहरूले युद्ध जिते। त्यस्तै गरी, आध्यात्मिक युद्धमा पनि पक्का विजयी हुनेछौं भनेर यहोवाका वफादार साक्षीहरू विश्‍वस्त हुन सक्छन्‌ किनभने त्यो तिनीहरूको “अधिकार” हो। (यशैया ५४:१७) यसकारण आउनुहोस्‌, “जीवनको वचन” बलियोसँग पक्रिराखेर यहोवामा शरण लिन नछोडौं।—फिलिप्पी २:१६.

[पृष्ठ ३१-मा भएका चित्रहरू]

‘जुन ज्ञान माथिबाट आउँछ, त्यो पवित्र, त्यसपछि मिलापी हुन्छ’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने