अध्ययन लेख ४३
साँचो बुद्धिले ठूलो स्वरले बोलाइरहेको छ
“बाटोमा बसेर बुद्धिले ठूलो स्वरले बोलाउँछ। चोकहरूमा उसले आफ्नो आवाज अझै उचाल्छ।”—हितो. १:२०.
गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्
परिचयa
१. बाइबलमा पाइने बुद्धिका कुराहरूप्रति थुप्रै मानिस कस्तो प्रतिक्रिया देखाउँछन्? (हितोपदेश १:२०, २१)
थुप्रै देशमा हाम्रा भाइबहिनी खुसी हुँदै व्यस्त सडकमा ट्रली साक्षी दिइरहेको दृश्य देख्न सकिन्छ। के तपाईँले पनि यस्तो साक्षीकार्यमा भाग लिनुभएको छ? छ भने तपाईँले हितोपदेशको किताबमा बुद्धिले बाटोमा बसेर मानिसहरूलाई ठूलो स्वरले आफ्नो सल्लाह सुन्न बोलाइरहेको उदाहरण सम्झनुभयो होला। (हितोपदेश १:२०, २१ पढ्नुहोस्।) बाइबल र हाम्रा प्रकाशनहरूमा “साँचो बुद्धि” अर्थात् यहोवाले दिनुहुने बुद्धि पाइन्छ। अनन्त जीवनको बाटोमा हिँड्न चाल्नुपर्ने पहिलो कदम यही बुद्धि हासिल गर्नु हो। मानिसहरूले हाम्रा प्रकाशनहरू स्विकार्दा हामीलाई धेरै खुसी लाग्छ तर सबैले स्विकार्छन् भन्ने छैन। कसै-कसैलाई बाइबलको कुरा सिक्ने चासो नै छैन। कसै-कसैले भने हामीलाई हाँसोमा उडाउँछन्। तिनीहरूलाई बाइबल पुरानो जमानाको किताब हो जस्तो लाग्छ। अरू कतिपयले भने बाइबलको नैतिक शिक्षाको आलोचना गर्छन् र ती पालन गर्नेहरू एकदमै कठोर अनि आत्मधर्मी हुन्छन् भन्ने गर्छन्। तैपनि यहोवाले मानिसहरूप्रतिको प्रेमले गर्दा साँचो बुद्धि उपलब्ध गराउनुभएको छ। कुन-कुन तरिकामा?
२. आज साँचो बुद्धि कसरी उपलब्ध गराइएको छ तर थुप्रै मानिस कस्तो छनौट गर्छन्?
२ यहोवाले साँचो बुद्धि उपलब्ध गराउनुभएको एउटा माध्यम उहाँको वचन बाइबल हो। यो प्रायजसो सबै भाषामा उपलब्ध छ। हाम्रा बाइबलआधारित प्रकाशनहरूबारे चाहिँ के भन्न सकिन्छ? यहोवाको आशिष्ले गर्दा यो १ हजारभन्दा धेरै भाषामा उपलब्ध छ। साँचो बुद्धिको कुरा सुन्नेहरू अर्थात् बाइबल पढेर ती लागू गर्नेहरूले लाभ उठाउनेछन्। तर धेरैजसो मानिस साँचो बुद्धिको कुरा सुन्न रुचाउँदैनन्। निर्णयहरू गर्नुपर्दा तिनीहरू आफ्नै बुद्धिमा भर पर्छन् वा अरू मानिसको कुरा सुन्छन्। हामीले बाइबलको सल्लाह पालन गर्ने निर्णय गरेकोले हामीलाई हेलासमेत गर्छन्। यस लेखमा मानिसहरूले किन त्यस्तो प्रतिक्रिया देखाउँछन् भन्नेबारे छलफल गरिनेछ। तर त्यसअघि यहोवाले दिनुहुने बुद्धि कसरी हासिल गर्न सक्छौँ भन्नेबारे छलफल गरौँ।
यहोवाको ज्ञानले बुद्धितर्फ डोऱ्याउँछ
३. साँचो बुद्धि देखाउनुमा के समावेश छ?
३ बुद्धि भनेको आफूलाई थाह भएको कुराको आधारमा सही निर्णय गर्नु हो। तर साँचो बुद्धि देखाउनुमा अर्को कुरा पनि समावेश छ। बाइबल यसो भन्छ: “यहोवाको डर मान्नु बुद्धिको सुरुवात हो; महापवित्र परमेश्वरबारे सिक्नु समझ बढाउनु हो।” (हितो. ९:१०) त्यसैले महत्त्वपूर्ण निर्णय गर्नुपर्दा हामीले यहोवाको सोचाइलाई अर्थात् ‘महापवित्र परमेश्वरबारे सिकेका’ कुराहरूलाई आधार बनाउनुपर्छ। बाइबल र बाइबलआधारित प्रकाशनहरू अध्ययन गरेर हामी यसो गर्न सक्छौँ। यसरी निर्णय गर्दा हामीले साँचो बुद्धि देखाइरहेका हुन्छौँ।—हितो. २:५-७.
४. यहोवा बुद्धिको स्रोत हुनुहुन्छ भनेर किन भन्न सक्छौँ?
४ यहोवाले मात्र हामीलाई साँचो बुद्धि दिन सक्नुहुन्छ। (रोमी १६:२७) उहाँ बुद्धिको स्रोत हुनुहुन्छ भनेर हामी किन भन्न सक्छौँ? पहिलो, उहाँ सृष्टिकर्ता हुनुभएकोले उहाँसित आफ्नो सृष्टिबारे असीमित ज्ञान र समझ छ। (भज. १०४:२४) दोस्रो, उहाँको हरेक कामकुरामा बुद्धि झल्किन्छ। (रोमी ११:३३) तेस्रो, उहाँको बुद्धिमानी सल्लाहअनुसार चल्नेहरूले सधैँ लाभ उठाउँछन्। (हितो. २:१०-१२) साँचो बुद्धि हासिल गर्न चाहन्छौँ भने हामीले यी तीन आधारभूत सत्य स्विकार्नुपर्छ अनि निर्णयहरू गर्नुपर्दा र कुनै कदम चाल्नुपर्दा त्यसलाई नै आधार बनाउनुपर्छ।
५. मानिसहरूले साँचो बुद्धिका स्रोत यहोवा हुनुहुन्छ भनेर नस्विकार्दा नतिजा कस्तो भएको छ?
५ हामीले साक्षीकार्यमा भेट्ने मानिसहरूले सृष्टिमा भएका कुराहरूमा अचम्मलाग्दा डिजाइनहरू देखिन्छ भनेर स्विकार्छन्। तर सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुराचाहिँ स्विकार्दैनन्। बरु सृष्टिमा देखिने सबै कुरा क्रमविकासको उपज हो भन्छन्। अरू कतिपयले चाहिँ परमेश्वरमा विश्वास गरेको दाबी त गर्छन् तर तिनीहरू बाइबलका स्तरहरू पुरानो भइसक्यो भन्छन् र आफूलाई जे मन लाग्यो, त्यही गर्छन्। यसको नतिजा कस्तो भएको छ? परमेश्वरको बुद्धिमा नभई आफ्नै बुद्धिमा भर पर्दा के संसारको अवस्था सुध्रिएको छ? के मानिसहरूले साँचो आनन्द वा भविष्यको लागि भरपर्दो आशा पाएका छन्? संसारको अवस्था विचार गर्दा हामी यो सत्य स्विकार्न बाध्य हुन्छौँ: “यहोवाको सामने कसैको बुद्धि, समझ र अर्तीको केही लाग्दैन।” (हितो. २१:३०) त्यसैले परमेश्वरले दिनुहुने साँचो बुद्धि हासिल गर्नु एकदमै जरुरी छ। तर दुःखको कुरा, थुप्रै मानिस त्यसो गर्दैनन्। किन?
मानिसहरू किन साँचो बुद्धिलाई तिरस्कार गर्छन्?
६. हितोपदेश १:२२-२५ अनुसार बुद्धिले बोलाउँदा कसले सुनेको नसुन्यै गर्छन्?
६ साँचो बुद्धिले ‘बाटोमा बसेर ठूलो स्वरले बोलाउँदा’ थुप्रै मानिसले सुनेको नसुन्यै गर्छन्। बाइबलअनुसार साँचो बुद्धिलाई तिरस्कार गर्ने मानिसहरूको तीन वटा समूह छ। ती हुन्: ‘अनुभवहीनहरू,’ ‘गिल्ला गर्नेहरू’ र ‘मूर्खहरू।’ (हितोपदेश १:२२-२५ पढ्नुहोस्।) तिनीहरूले किन साँचो बुद्धिलाई तिरस्कार गर्छन् र तिनीहरूजस्तो नहुन हामीले के गर्नुपर्छ, विचार गरौँ।
७. कोही-कोहीले किन “अनुभवहीन” रहने छनौट गर्छन्?
७ ‘अनुभवहीनहरू’ सजिलै अरूको कुरा पत्याउँछन् वा बहकिन्छन्। (हितो. १४:१५, फुटनोट) हामी अक्सर यस्ता मानिसहरू साक्षीकार्यमा भेट्छौँ। उदाहरणको लागि, धर्मगुरुहरू वा राजनैतिक नेताहरूको कुरा सुनेर बहकिएका लाखौँ मानिसबारे सोच्नुहोस्। त्यस्ता नेताहरूले झूट बोलेर मानिसहरूलाई भ्रममा पारेका रहेछन् भनेर थाह पाउँदा धेरैजसो मानिस स्तब्ध हुन्छन्। तर हितोपदेश १:२२ मा बताइएका मानिसहरू भने अनुभवहीन नै रहने छनौट गर्छन्। किनभने तिनीहरूलाई त्यस्तै रहिरहन मन पर्छ। (यर्मि. ५:३१) तिनीहरू बाइबलका कुराहरू सिक्न वा त्यसअनुसार चल्न चाहँदैनन् बरु आफूखुसी गर्छन्। थुप्रैको सोचाइ धर्ममा आस्था राख्ने क्यानाडाका एक स्त्रीको जस्तै छ। उनले एक साक्षीलाई यसो भनिन्: “यदि पादरीले हामीलाई बहकाएकै हुन् भने पनि त्यो त तिनकै गल्ती हो, त्यसमा हाम्रो के दोष!” हामी पक्कै पनि जानाजानी अनुभवहीन रहन चाहने यस्ता मानिसहरूजस्तो हुन चाहँदैनौँ।—हितो. १:३२; २७:१२.
८. साँचो बुद्धि हासिल गर्न हामीलाई केले मदत गर्छ?
८ बाइबलले हामीलाई अनुभवहीन रहिरहन होइन बरु “समझशक्ति चलाउने मामिलामा पूरा बढेका मानिसहरू” हुन प्रोत्साहन दिन्छ। (१ कोरि. १४:२०) जीवनमा बाइबल सिद्धान्तहरू लागू गर्दा हामीले साँचो बुद्धि हासिल गरिरहेका हुन्छौँ। अनि त्यस्ता सिद्धान्तहरूले समस्याहरूदेखि जोगिन र बुद्धिमानी निर्णय गर्न मदत गरेको आफैले अनुभव गर्नेछौँ। बाइबल सिद्धान्त लागू गर्ने सन्दर्भमा आफूले कस्तो प्रगति गरिरहेको छु भनेर जाँच्नु बेस हुन्छ। तपाईँ बाइबल अध्ययन गर्दै हुनुहुन्छ र सभाहरूमा जाँदै हुनुहुन्छ भने आफूलाई यस्तो प्रश्न सोध्नुहोस्: ‘यहोवालाई जीवन समर्पण गरेर बप्तिस्मा गर्न मलाई कुन कुराले रोकिरहेको छ?’ बप्तिस्मा गरिसक्नुभएको छ भने आफूलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘के मैले सुसमाचारको उद्घोषक र शिक्षकको रूपमा प्रगति गरिरहेको छु? के म बाइबल सिद्धान्तअनुसार निर्णय गर्छु? अरूसित व्यवहार गर्दा के मैले ख्रिष्टियन गुणहरू झल्काइरहेको छु?’ कुनै क्षेत्रमा सुधार गर्नुपर्ने याद गर्नुभयो भने यहोवाका सम्झौटाहरूमा ध्यान दिनुहोस्, जसले “अज्ञानीलाई ज्ञानी बनाउँछ।”—भज. १९:७.
९. ‘गिल्ला गर्नेहरूले’ परमेश्वरले दिनुहुने बुद्धिलाई कसरी तिरस्कार गर्छन्?
९ परमेश्वरले दिनुहुने बुद्धिलाई बेवास्ता गर्ने दोस्रो समूह ‘गिल्ला गर्नेहरू’ हुन्। साक्षीकार्यमा कहिलेकाहीँ हामी यस्ता मानिसहरू पनि भेट्छौँ। तिनीहरू अरूलाई हाँसोमा उडाउन मन पराउँछन्। (भज. १२३:४) अन्तको दिनमा यस्ता मानिसहरू धेरै हुनेछन् भनेर बाइबलमा चेतावनी दिइएको छ। (२ पत्रु. ३:३, ४) धर्मी लुतका ज्वाइँहरूजस्तै आज पनि केही मानिस परमेश्वरका चेतावनीहरू सुन्न चाहँदैनन्। (उत्प. १९:१४) तिनीहरू बाइबल सिद्धान्तअनुसार जीवन बिताउनेहरूको खिल्ली उडाउँछन्। तिनीहरू “आफ्ना कुइच्छाहरू पूरा गर्न” यसो गर्छन्। (यहु. ७, १७, १८) गिल्ला गर्नेहरूबारे बताइएको यो कुरा धर्मत्यागीहरू र यहोवालाई तिरस्कार गर्नेहरूको मनोवृत्तिसित मेल खान्छ।
१०. भजन १:१ अनुसार गिल्ला गर्नेहरूजस्तो नहुन हामी के गर्न सक्छौँ?
१० गिल्ला गर्नेहरूजस्तो नहुन हामी के गर्न सक्छौँ? एउटा तरिका भनेको अरूको आलोचना गर्ने मनोवृत्ति भएकाहरूसित सङ्गत नगर्नु हो। (भजन १:१ पढ्नुहोस्।) यसको मतलब हामी धर्मत्यागीहरूको कुरा सुन्ने वा पढ्ने गर्दैनौँ। हामी होसियार भएनौँ भने अरूको आलोचना गर्ने मनोवृत्ति वा यहोवा र उहाँको सङ्गठनबाट आएका निर्देशनहरूमा शङ्का गर्ने बानी विकास हुन सक्छ। यस्तो मनोवृत्ति विकास गर्नदेखि जोगिन आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘सङ्गठनबाट कुनै नयाँ निर्देशन आउँदा अथवा हाम्रो बुझाइमा छाँटकाँट गरिँदा के म अक्सर खोट मात्र निकाल्ने गर्छु? के म नेतृत्व लिने भाइहरूको कमीकमजोरी मात्र खोज्ने गर्छु?’ यस्तो मनोवृत्ति हटाउन तुरुन्तै कदम चाल्यौँ भने यहोवा खुसी हुनुहुनेछ।—हितो. ३:३४, ३५.
११. ‘मूर्खहरूले’ यहोवाको नैतिक स्तरलाई कसरी हेर्छन्?
११ परमेश्वरले दिनुहुने बुद्धि तिरस्कार गर्ने तेस्रो समूह ‘मूर्खहरू’ हुन्। तिनीहरू परमेश्वरको नैतिक स्तरअनुसार चल्दैनन् बरु आफूलाई जे ठीक लाग्छ, त्यही गर्छन्। (हितो. १२:१५) त्यस्ता मानिसहरू बुद्धिका स्रोत यहोवालाई तिरस्कार गर्छन्। (भज. ५३:१) साक्षीकार्यमा त्यस्ता मानिसहरूलाई भेट्दा तिनीहरू हामी बाइबलको स्तरअनुसार चलेकोमा हाम्रो कडा आलोचना गर्छन्। तर तिनीहरूसित हामीलाई दिन सक्ने बुद्धिका कुराहरू केही हुँदैन। बाइबल यसो भन्छ: “मूर्खले साँचो बुद्धि प्राप्त गर्न सक्दैन; ऊसित सहरको मूलढोकामा बताउने कुरा केही हुँदैन।” (हितो. २४:७) त्यसैले ‘मूर्ख मानिसबाट टाढै बस्न’ यहोवाले हामीलाई सल्लाह दिनुभएको छ।—हितो. १४:७.
१२. मूर्खहरूजस्तो नहुन हामी के गर्न सक्छौँ?
१२ आज मानिसहरू परमेश्वरको सल्लाहलाई घृणा गर्छन् तर हामी भने उहाँको नैतिक स्तर र तौरतरिकालाई प्रेम गर्छौँ। आज्ञाकारी हुँदा र नहुँदाका नतिजाहरू तुलना गरेर हेर्दा परमेश्वरको तौरतरिकालाई अझ धेरै प्रेम गर्न सक्नेछौँ। यहोवाको बुद्धिमानी सल्लाहलाई तिरस्कार गर्ने मूर्खहरूले जीवनमा कस्ता समस्याहरू झेलिरहेका छन् भनेर विचार गर्नुहोस्। अर्कोतर्फ परमेश्वरको आज्ञा पालन गर्दा तपाईँको जीवन कत्ति राम्रो भएको छ, त्यसबारे पनि विचार गर्नुहोस्।—भज. ३२:८, १०.
१३. के यहोवाले हामीलाई उहाँको बुद्धिमानी सल्लाह पालन गर्न जबरजस्ती गर्नुहुन्छ?
१३ यहोवाले साँचो बुद्धि सबैको लागि उपलब्ध गराउनुभए तापनि त्यो स्विकार्न कसैलाई पनि जबरजस्ती भने गर्नुहुन्न। तर बुद्धिका कुराहरू नस्विकार्नेहरूले कस्ता नतिजाहरू भोग्नुपर्नेछ भनेर उहाँले बाइबलमा प्रस्टै बताउनुभएको छ। (हितो. १:२९-३२) यहोवाको आज्ञा पालन नगर्नेहरूले “आफ्नो कामको फल पाउनेछन्।” तिनीहरूले रोजेको जीवनशैलीले निराशा र तनावबाहेक केही दिँदैन अनि अन्ततः तिनीहरूले विनाश भोग्नेछन्। अर्कोतर्फ यहोवाको बुद्धिमानी सल्लाह पालन गर्नेहरूलाई यस्तो प्रतिज्ञा गरिएको छ: “मेरो कुरा ध्यान दिएर सुन्ने सुरक्षित रहनेछ अनि विपत्तिको डरले उसलाई पिरोल्नेछैन।”—हितो. १:३३.
साँचो बुद्धिले हामीलाई लाभ पुऱ्याउँछ
सभाहरूमा भाग लिँदा हामी आध्यात्मिक रूपमा बलियो हुन्छौँ (अनुच्छेद १५ हेर्नुहोस्)
१४-१५. हितोपदेश ४:२३ बाट हामी के सिक्न सक्छौँ?
१४ परमेश्वरले दिनुहुने बुद्धिअनुसार चल्यौँ भने हामीलाई सधैँ लाभ हुन्छ। अगाडि पनि छलफल गरिएझैँ यहोवाले बुद्धिमानी सल्लाह सबैको लागि उपलब्ध गराउनुभएको छ। उदाहरणको लागि, हितोपदेशको किताबमा सधैँभरि उपयोगी हुने थुप्रै सल्लाह पाइन्छ। ती सल्लाहअनुसार चल्दा हाम्रो जीवन अझ राम्रो हुन्छ। अब हामी तीमध्ये चार वटा बुद्धिमानी सल्लाहबारे विचार गरौँ।
१५ प्रतीकात्मक हृदयलाई सुरक्षित राख्नुहोस्। बाइबल यसो भन्छ: “अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख, किनकि त्यो सारा जीवनको मूल हो।” (हितो. ४:२३) हाम्रो मुटुलाई जोगाउन हामीले स्वस्थकर खानेकुरा खानुपर्छ, पर्याप्त व्यायाम गर्नुपर्छ र खराब आनीबानी त्याग्नुपर्छ। प्रतीकात्मक हृदयलाई जोगाउने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। हामीले परमेश्वरको वचनबाट आध्यात्मिक खानेकुरा खानुपर्छ, सभाको लागि तयारी गर्नुपर्छ अनि सभामा उपस्थित भएर भाग लिनुपर्छ। साथै साक्षीकार्यमा नियमित भाग लिएर सक्रिय रहनुपर्छ। अनि हाम्रो सोचाइलाई भ्रष्ट बनाउने मनोरञ्जन र खराब सङ्गतजस्ता कुराहरूबाट टाढा रहेर खराब आनीबानी विकास गर्नदेखि जोगिनुपर्छ।
पैसाप्रति सन्तुलित दृष्टिकोण राख्दा हामी आफूसित भएको कुरामा सन्तुष्ट हुन सक्छौँ (अनुच्छेद १६ हेर्नुहोस्)
१६. हितोपदेश २३:४, ५ मा पाइने सल्लाह आज हाम्रो लागि किन व्यावहारिक छ?
१६ आफूसँग भएका कुराहरूमा सन्तुष्ट हुनुहोस्। बाइबलले यस्तो सल्लाह दिन्छ: “धन कमाउन बेसरी घोटिने नगर, . . . तिमीले नजर लगाउन नपाउँदै त्यो धनसम्पत्ति हराइहाल्छ। किनकि त्यसमा पखेटा लाग्छ र चील आकाशतिर उडेझैँ त्यो उडेर गइहाल्छ।” (हितो. २३:४, ५) भौतिक धन सधैँभरि रहँदैन। तैपनि आज मानिसहरू धनी होऊन् वा गरिब, पैसा कमाउनकै ध्याउन्नमा छन्। यसले गर्दा तिनीहरूको असल नाम, पारिवारिक सम्बन्ध र स्वास्थ्यमा समेत हानि पुगेको छ। (हितो. २८:२०; १ तिमो. ६:९, १०) अर्कोतर्फ साँचो बुद्धिले हामीलाई पैसाप्रति सन्तुलित दृष्टिकोण राख्न मदत गर्छ। यस्तो दृष्टिकोणले हामीलाई लोभी हुनदेखि जोगाउँछ अनि हामी सन्तुष्ट र आनन्दित हुन सक्छौँ।—उप. ७:१२.
बोल्नुअघि सोच्दा अरूलाई चोट पुऱ्याउनदेखि जोगिनेछौँ (अनुच्छेद १७ हेर्नुहोस्)
१७. हितोपदेश १२:१८ अनुसार हामी कसरी आफ्नो बोलीलाई “बुद्धिमान् मानिसको बोली”-जस्तै बनाउन सक्छौँ?
१७ बोल्नुअघि सोच्नुहोस्। होसियार भएनौँ भने हाम्रो बोलीले अरूलाई धेरै चोट पुऱ्याउन सक्छ। बाइबल भन्छ: “सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ तर बुद्धिमान् मानिसको बोलीले निको पार्छ।” (हितो. १२:१८) भाइबहिनीको कमीकमजोरीबारे कुरा काट्ने गर्दैनौँ भने हामीले मण्डलीको शान्ति कायम राख्न मदत गरिरहेका हुन्छौँ। (हितो. २०:१९) हाम्रो बोलीले अरूलाई चोट पुऱ्याएको होइन, निको पारेको चाहन्छौँ भने परमेश्वरको वचनमा पाइने ज्ञानले आफ्नो हृदय भर्नुपर्छ। (लुका ६:४५) बाइबलका कुराहरूमा मनन गर्दा हाम्रो बोली अरूलाई स्फूर्ति दिने “बुद्धिको मुहान”-जस्तै हुनेछ।—हितो. १८:४.
सङ्गठनको निर्देशनअनुसार चल्दा हामी साक्षीकार्यमा उन्नति गर्न सक्छौँ (अनुच्छेद १८ हेर्नुहोस्)
१८. हितोपदेश २४:६ लागू गर्दा साक्षी दिने र सिकाउने काममा हामी कसरी सफलता प्राप्त गर्न सक्छौँ?
१८ निर्देशन पछ्याउनुहोस्। बाइबलले यस्तो व्यावहारिक सुझाव दिन्छ: “बुद्धिमानी डोऱ्याइ लिएर युद्ध लड, धेरै जनासँग सल्लाह लिँदा सफलता प्राप्त हुन्छ।” (हितो. २४:६, फुटनोट) यो सिद्धान्त लागू गर्दा हामी साक्षी दिने र सिकाउने काममा कसरी सफलता प्राप्त गर्न सक्छौँ, विचार गरौँ। साक्षी दिने र सिकाउने काम आफ्नै तरिकामा गर्नुको सट्टा हामी सङ्गठनले दिने सुझावहरू लागू गर्ने प्रयास गर्छौँ। हामी मण्डलीका सभाहरूबाट बुद्धिमानी डोऱ्याइ पाउँछौँ। अनुभवी भाइहरूले दिने बाइबलआधारित भाषण र प्रस्तुतिहरूबाट तालिम पाउँछौँ। साथै परमेश्वरको सङ्गठनले मानिसहरूलाई बाइबलको कुरा बुझ्न मदत दिने प्रकाशनहरू र भिडियोहरू उपलब्ध गराएको छ। के तपाईँ यी साधनहरू प्रभावकारी तरिकामा चलाउन सिक्दै हुनुहुन्छ?
१९. परमेश्वरको वचनबाट बुद्धिका कुराहरू सिक्न पाएकोमा तपाईँ कस्तो महसुस गर्नुहुन्छ? (हितोपदेश ३:१३-१८)
१९ हितोपदेश ३:१३-१८ पढ्नुहोस्। परमेश्वरले आफ्नो वचनमार्फत हामीलाई बुद्धिमानी सल्लाहहरू दिनुभएकोमा हामी उहाँप्रति कृतज्ञ छौँ। यस्तो सल्लाह नपाएको भए हाम्रो जीवन कस्तो हुन्थ्यो होला? यस लेखमा हामीले हितोपदेशको किताबमा पाइने केही बुद्धिमानी सल्लाहबारे छलफल गऱ्यौँ। तर यहोवाले बाइबलभरि नै हामीलाई यस्ता सल्लाहहरू दिनुभएको छ। यस्ता बुद्धिमानी सल्लाहअनुसार चल्ने सङ्कल्प गरौँ। यस्तो बुद्धिका कुराहरूलाई संसारले कसरी हेर्छ भन्ने कुरामा हामी ध्यान दिँदैनौँ। किनकि हामी यस कुरामा ढुक्क छौँ: “[बुद्धिलाई] बलियोसँग पक्रनेहरू खुसी हुनेछन्।”
गीत ३६ हृदय सुरक्षित राखौँ!
a परमेश्वरले दिनुहुने बुद्धि संसारले दिने अरू कुनै पनि कुराभन्दा श्रेष्ठ छ। हितोपदेशको किताबमा बुद्धिले मानिसले जस्तै चोकहरूमा ठूलो स्वरले बोलाउँछ भनेर बताइएको छ। यसबारे हामी यस लेखमा छलफल गर्नेछौँ। साथै हामी कसरी साँचो बुद्धि प्राप्त गर्न सक्छौँ, कसै-कसैले किन बुद्धिका कुराहरू सुन्न इन्कार गर्छन् र ती कुराहरू सुन्दा हामीलाई कस्तो लाभ हुन्छ भनेर छलफल गर्नेछौँ।