प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अहंकारले अपमान ल्याउँछ
    प्रहरीधरहरा—२००० | अगस्त १
    • अहंकारले अपमान ल्याउँछ

      “जब अहंकार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ।”–हितोपदेश ११:२, नयाँ संशोधित संस्करण।

      १, २. अहंकार के हो र यसले कुन कुन तरिकामा विनाशतर्फ डोऱ्‍याएको छ?

      एक ईर्ष्यालु लेवी यहोवाले अभिषेक गर्नुभएको अख्तियारको विरोध गर्न मानिसहरूलाई उचाल्छन्‌। एक महत्त्वाकांक्षी राजकुमार आफ्नो पिताको सिंहासन हडप्न कुटिल चाल चल्छन्‌। एक अधीर राजा परमेश्‍वरको अगमवक्‍ताले दिएका सुस्पष्ट निर्देशनहरू बेवास्ता गर्छन्‌। यी तीनै जना इस्राएलीहरूको स्वभाव एउटै छ र त्यो हो: अहंकार।

      २ अहंकार हृदयको अवस्था हो र यसले सबैलाई खतरामा पार्छ। (भजन १९:१३) अहंकारी मानिस आफूसित अधिकार नभएको कुरामा पनि बडो साहसी हुँदै आफ्नो अधिकारबाहिरको काम गर्छ। फलतः, यसले अक्सर विनाशमा पुऱ्‍याउँछ। वास्तवमा, अहंकारकै कारण राजाहरू बर्बाद भएका र सत्ताच्युत भएका छन्‌। (यर्मिया ५०:२९, ३१, ३२; दानियल ५:२०) यसले यहोवाका केही दासहरूलाई समेत आफ्नो पासोमा पारेको छ र तिनीहरूलाई पनि बर्बादीतर्फ धकेलेको छ।

      ३. अहंकारी हुनुका खतराहरूबारे हामी कसरी थाह पाउनसक्छौं?

      ३ त्यसकारण, असलै कारणसहित बाइबल यसो भन्छ: “जब अहंकार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ [“विनयीसित बुद्धि हुन्छ,” NW]।” (हितोपदेश ११:२, नयाँ संशोधित संस्करण) यो हितोपदेशको सच्चाइलाई पुष्टि गर्न बाइबलले हाम्रोनिम्ति उदाहरणहरू पेस गरेको छ। यीमध्ये केही उदाहरणलाई जाँच्दा मात्र पनि उचित सीमाहरूलाई नाघ्दा कस्तो खतरा आइपर्छ, त्यो बुझ्न मदत पाउनेछौं। तसर्थ, आउनुहोस्‌, ईर्ष्या, महत्त्वाकांक्षा अनि अधीर स्वभावले सुरुमा उल्लिखित तीन पुरुषहरूलाई कसरी अपमान भोग्नुपर्ने अहंकारी बनायो छलफल गरौं।

      कोरह—ईर्ष्यालु विद्रोही

      ४. (क) कोरह को थिए र तिनी कुनचाहिं ऐतिहासिक घटनाका सहभागी थिए? (ख) उमेर ढल्केपछि कोरहले मानिसहरूलाई कस्तो अपमानजनक कार्य गर्न उक्साए?

      ४ कोरह कहाती खलकका लेवी थिए र मोशा र हारूनका काकाका छोरा थिए। तिनले दशकौंसम्म वफादार भई यहोवाको सेवा गरेको हुनुपर्छ। लाल समुद्रमा चमत्कारी ढंगले छुट्‌कारा पाउनेहरूमध्ये कोरह पनि थिए र सीनै पर्वतमा बाछोको उपासना गर्नेहरूलाई यहोवाले भन्‍नुभएबमोजिम दण्ड दिनेहरूमध्ये तिनी पनि हुनुपर्छ। (प्रस्थान ३२:२६) तथापि, अन्तत: कोरह, मोशा र हारूनको विरोध गर्नेहरूको नाइके भए र तिनको विद्रोही समूहमा रूबेन खलकका दातान, अबीराम र ओनका अतिरिक्‍त इस्राएलका २५० जना मुखियाहरू थिए।a तिनीहरूले मोशा र हारूनलाई यसो भने: “तपाईंहरूले अति गर्नुभयो! समुदायका सबै जना पवित्र छन्‌, र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ। तपाईंहरू किन आफूलाई सबैभन्दा उच्च तुल्याउनुहुन्छ?”—गन्ती १६:१-३, नयाँ संशोधित संस्करण।

      ५, ६. (क) कोरहले मोशा र हारूनको विरोध किन गरे? (ख) कोरहले परमेश्‍वरको संगठनमा आफ्नो स्थानलाई तुच्छ ठानेका हुनसक्छन्‌ भनेर किन भन्‍न सकिन्छ?

      ५ वर्षौंसम्म विश्‍वासी रहेर पनि कोरहले किन विद्रोह गरे? इस्राएलीहरूको नेतृत्व गर्दा मोशाले कदापि तिनीहरूको शोषण गरेको हुन सक्दैन किनकि तिनी “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए।” (गन्ती १२:३) हो, यसो हेर्दा कोरहले मोशा र हारूनको ईर्ष्या गरेको र तिनीहरूको उच्च ओहदाप्रति रोष प्रकट गरेको देखिन्छ। फलतः, मोशा र हारूनले मनमानी गर्दै र आफ्नै स्वार्थपूर्ति गर्न सम्पूर्ण मण्डलीमाथि आफूलाई उचालेको हो भन्‍ने गलत कुरा कोरहले गरे।—भजन १०६:१६.

      ६ परमेश्‍वरले दिनुभएको विशेषाधिकारको कदर नगर्नु पनि कोरहको समस्याको कारण हुनसक्ने बलियो सम्भावना छ। हो, कहाती खलकका लेवीहरू पूजाहारी हुन पाउँदैनन्‌ थिए तर तिनीहरू परमेश्‍वरको व्यवस्थाका शिक्षकहरू थिए। पालका सरसामान तथा भाँडाकुँडाहरू यताउता ओसार्नु पर्दा तिनीहरूले पनि जिम्मेवारी पाउँथे। यो कुनै साधारण जिम्मेवारी थिएन। किनभने धार्मिक तथा नैतिक तवरमा शुद्ध व्यक्‍तिहरूले मात्र पवित्र सरसामानहरू उठाउने सुअवसर पाउँथे। (यशैया ५२:११) यसकारण, मोशाले कोरहसित कुरा गर्दा यस्तै केही सोधेको हुनुपर्छ, के अहिले तिमी पूजाहारी पद नै चाहिने गरी यसरी आफ्नो कार्यभारलाई तुच्छ ठान्छौ? (गन्ती १६:९, १०) कुनै विशेष ओहदा वा पद प्राप्त गर्नु होइन बरु, यहोवाको प्रबन्धअनुरूप विश्‍वासी भई सेवा गर्न पाउनु नै ठूलो सम्मानको कुरा हो भनेर कोरहले बुझ्न सकेनन्‌।—भजन ८४:१०.

      ७. (क) मोशाले कोरह र तिनका मानिसहरूको सामना कसरी गरे? (ख) आफ्नो विद्रोही कार्यले कोरहलाई कसरी विनाशतर्फ डोऱ्‍यायो?

      ७ मोशाले कोरह र तिनका मित्रहरूलाई बोलाएर तिनीहरूलाई आगोको धुपौरो र धूप बोकेर भेट हुने पालमा भोलि बिहान एकसाथ भेला हुन निम्त्याए। कोरह र तिनका मानिसहरू पूजाहारी नभएकाले तिनीहरूले धूप चढाउने अधिकार पाएका थिएनन्‌। त्यसकारण, रातभर यस विषयमा विचारविमर्श गरिसकेर पनि तिनीहरू आगोको धुपौरो र धूप लिएर आए भने तिनीहरू अझै पनि आफूसित पूजाहारी हुने हक छ भन्ठान्दा रहेछन्‌ भनेर स्पष्ट हुनेथियो। भोलिपल्ट बिहान तिनीहरू उपस्थित हुँदा यहोवाको क्रोध तिनीहरूमाथि दन्कियो। अनि रूबेन खलककाहरूलाई “धरतीले आफ्नो मुख बाएर . . . निलि[दियो]।” कोरहलगायत बाँकी अरूचाहिं परमेश्‍वरको आगोले भस्म भए। (व्यवस्था ११:६; गन्ती १६:१६-३५; २६:१०) यसरी कोरहको अहंकारले घोर अपमान ल्यायो अर्थात्‌ तिनले परमेश्‍वरको अनुमोदन गुमाए!

      “डाह गर्ने इच्छा[सँग]” लडन्त गर्नुहोस्‌

      ८. मसीहीहरूबीच “डाह गर्ने इच्छा” कसरी देखा पर्नसक्छ?

      ८ कोरहको घटना हाम्रोनिम्ति चेताउनी हो। असिद्ध मानवमा “डाह गर्ने इच्छा” हुनेभएकोले यो मसीही मण्डलीमा समेत देखिनसक्छ। (याकूब ४:५) उदाहरणका लागि, हामी ओहदाको चिन्ता गर्नेहरू हुनसक्छौं। आफूले चाहेको विशेषाधिकार अरू कसैले पाउँदा हामी पनि कोरहले जस्तै तिनको ईर्ष्या गर्नसक्छौं। अथवा, हामी प्रथम शताब्दीका डियोत्रिफस नाउँ गरेका मसीहीजस्तै हुनसक्छौं। तिनले प्रेरितहरूको अख्तियारको एकदमै आलोचना गरे। किनकि, तिनी सम्पूर्ण अख्तियार आफ्नो हातमा लिन चाहन्थे। वास्तवमा, यूहन्‍नाले डियोत्रिफस “ठूलो हुनखोज्ने” खालका छन्‌ भनेर लेखे।—३ यूहन्‍ना ९.

      ९. (क) मण्डलीका जिम्मेवारीहरूप्रति हामीले कस्तो मनोवृत्ति नराख्न होसियार हुनुपर्छ? (ख) परमेश्‍वरको संगठनमा आफ्नो स्थानबारे हामीले कस्तो दृष्टिकोण राख्नु उचित छ?

      ९ हो, मसीही पुरुषले मण्डलीमा जिम्मेवारी प्राप्त गर्न अघि बढ्‌नु पक्कै पनि गलत होइन। पावलले यस्तै गर्नु भनेर प्रोत्साहनसमेत दिएका थिए। (१ तिमोथी ३:१) तथापि, सेवा गर्ने सुअवसरहरू प्राप्त गर्नु भनेको सफलताको खुँड्‌किलो धमाधम चढ्‌नु हो भन्ठान्दै यसलाई विशिष्टताको चिह्नको रूपमा लिनु हुँदैन। येशूले भन्‍नुभएको यो कुरा सम्झनुहोस्‌ त: “जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ। जो तिमीहरूमा पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको चाकर हुनेछ।” (मत्ती २०:२६, २७) कुरा स्पष्ट छ, परमेश्‍वरले हाम्रो मोल उहाँको संगठनमा हामीले पाएको “पदवी[मा]” आधारित गर्नुहुन्छ भन्ठान्दै ठूलठूला जिम्मेवारी पाएकाहरूको ईर्ष्या गर्नु गलत हो। येशूले भन्‍नुभयो: “तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ।” (मत्ती २३:८) हो, प्रकाशक होस्‌ वा अग्रगामी, भर्खरै बप्तिस्मा लिएको होस्‌ वा धेरै अघि, सम्पूर्ण हृदयले यहोवाको सेवा गर्ने सबैले उहाँको संगठनमा बहुमूल्य स्थान पाएका छन्‌। (लूका १०:२७; १२:६, ७; गलाती ३:२८; हिब्रू ६:१०) “एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर” भन्‍ने बाइबलको सल्लाह पालन गर्न प्रयत्न गर्ने लाखौंसित काँधमा काँध मिलाएर काम गर्न पाउनु वास्तवमा आशिष्‌ नै हो।—१ पत्रुस ५:५.

      अब्शालोम—महत्त्वाकांक्षी र मौकावादी

      १०. अब्शालोम को थिए र तिनले कसरी राजाकहाँ न्याय खोज्न आउनेहरूलाई फकाइफुस्लाइ तिनीहरूको मन जित्ने प्रयास गरे?

      १० राजा दाऊदका साहिंला छोरा अब्शालोमको जीवनीले व्यावहारिक शिक्षा दिन्छ। यस मौकावादी षड्यन्त्रकारीले राजाकहाँ न्याय खोज्न आउनेहरूलाई फकाइफुस्लाइ तिनीहरूको मन जित्ने प्रयास गऱ्‍यो। सुरु सुरुमा त उनले दाऊदलाई तिनीहरूको आवश्‍यकताको कुनै पर्वाह छैन भन्‍ने भान तिनीहरूमाथि पाऱ्‍यो। पछि उनले यो कुटिल चाल चल्न छोडेर आफ्नो वास्तविक आशय प्रकट गऱ्‍यो। अब्शालोम यसरी फलाक्न थाल्थ्यो, “यदि म यस देशमा न्यायाधीश नियुक्‍त भएको भए यस्तो दाबी ल्याउने हरेक मानिसको फैसला गरिदिने मेरो कर्त्तव्य हुनेथियो।” अब्शालोमको षड्यन्त्रको सीमै थिएन। बाइबल यसो भन्छ, “जब कुनै मानिस तिनलाई साष्टांग दण्डवत्‌ गर्नलाई आउँथे, तब अब्शालोमले आफ्नो हात पसारेर त्यसलाई समाती अंगालो हालेर म्वाइँ गर्थे। राजाकहाँ न्याय माग्ने हरेकसँग यस्तै व्यवहार ग[र्थे]।” अनि यसको परिणाम? “अब्शालोमले इस्राएलीहरूका प्यार आफूतिर खिंचे।”—२ शमूएल १५:१-६.

      ११. अब्शालोमले कसरी दाऊदको सिंहासन हडप्ने प्रयास गरे?

      ११ अब्शालोमले आफ्नो बुबाको राज्य हडप्ने निर्णय गरिसकेको थियो। पाँच वर्षअघि, तिनले आफ्नी बहिनी तामारको बलात्कारको बदला लिन दाऊदका जेठा छोरा अम्मोनको हत्या गरेका थिए। (२ शमूएल १३:२८, २९) तथापि, त्यतिखेरै अब्शालोमले सिंहासनमा आँखा गाडेको हुनसक्थ्यो किनकि अम्मोनको हत्या तिनलाई आफ्नो बाटोबाट हटाउने सजिलो उपाय थियो।b जे होस्‌, अनुकूल समय आउँदा अब्शालोमले आफ्नो योजना कार्यान्वयन गऱ्‍यो। उसले देशभर आफू राजा भएको ढ्‌वाङ फुकायो।—२ शमूएल १५:१०.

      १२. अब्शालोमको अहंकारले कसरी अपमान ल्यायो, वर्णन गर्नुहोस्‌।

      १२ केही समयका लागि अब्शालोमले सफलता त हासिल गऱ्‍यो किनकि “यो षड़यन्त्र खूब प्रबल हुँदै गयो, र अब्शालोमतर्फ लागेका मानिसहरूको संख्या पनि बढ़दैगयो।” समयमा, राजा दाऊदले आफ्नो ज्यान जोगाउन भाग्नुपऱ्‍यो। (२ शमूएल १५:१२-१७) तैपनि, चाँडै, योआबले अब्शालोमको बीभत्स हत्या गरेर खाडलमा ढुंगाले छोपिदिंदा उसको आयु सिद्धियो। कल्पना गर्नुहोस्‌, राजा हुन चाहने यस महत्त्वाकांक्षी पुरुषको अन्त्येष्टिसमेत विधिपूर्वक भएन!c साँच्चै, अहंकारले अब्शालोममाथि अपमान ल्यायो।—२ शमूएल १८:९-१७.

      स्वार्थी महत्त्वाकांक्षालाई त्याग्नुहोस्‌

      १३. मसीहीको हृदयमा महत्त्वाकांक्षी भावले कसरी जरा गाड्‌नसक्छ?

      १३ अब्शालोम सत्तामा आउनु र तुरुन्तै पतन हुनु हाम्रोनिम्ति एउटा पाठ हो। आजको खुट्टा तान्‍ने जमानामा आफूभन्दा ठूलोलाई चिप्लो घस्ने, तिनीहरूको अनुमोदन प्राप्त गर्न खोज्ने वा कुनै मौका वा बढुवा हात पार्ने प्रयास गर्ने कुरा साधारण भइसकेको छ। अनि यसबाहेक तिनीहरू आफूमुनिका कामदारहरूमाथि धाक जमाउने, तिनीहरूलाई फकाइफुस्लाइ तिनीहरूको मन जित्न र समर्थन पाउन खोज्ने आशा पनि गर्दा हुन्‌। हामी होसियार भएनौं भने, यस्तो महत्त्वाकांक्षी भावले हाम्रो हृदयमा जरा गाड्‌नसक्छ। प्रथम शताब्दीका केही मसीहीहरूबीच यस्तै भएको देखिन्छ किनकि यस्ताहरूबाट जोगिनु भनेर प्रेरितहरूले निकै सशक्‍त चेताउनीहरू दिनुपरेको थियो।—गलाती ४:१७; ३ यूहन्‍ना ९, १०.

      १४. हामीले किन महत्त्वाकांक्ष र आत्मप्रशंसा त्याग्नैपर्छ?

      १४ “आफ्नै मान खो[ज्ने]” आत्मप्रशंसक षड्यन्त्रकारीहरूका लागि यहोवाको संगठनमा कुनै ठाउँ छैन। (हितोपदेश २५:२७) त्यसैकारण, बाइबल यस्तो चेताउनी दिन्छ: “सबै खुशामदी गर्ने ओठलाई र ठूलाठूला कुरा गर्ने जिब्रोलाई परमप्रभुले काटिदिनुहुनेछ।” (भजन १२:३) अब्शालोमको ओंठ खुसामद गर्ने खालको थियो। सत्ता हत्याउन उसले आफूलाई चाहिने सबै समर्थन जुटाउन मानिसहरूलाई चिप्लो घस्न थालेको थियो। यसको विपरीत, पावलको यो सल्लाह स्वीकार्ने भ्रातृत्वबीच रहन पाउनु हाम्रोनिम्ति साह्रै ठूलो आशिष्‌ हो: “विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठा[न]।”—फिलिप्पी २:३.

      शाऊल—एक अधीर राजा

      १५. शाऊलले कुनै समय आफू विनयी थिए भनी कसरी देखाए?

      १५ इस्राएलका राजा हुनुअघि कुनै समय शाऊल विनयी थिए। उदाहरणका लागि, तिनी जवान छँदा के भएको थियो, विचार गर्नुहोस्‌। परमेश्‍वरका अगमवक्‍ताले तिनीबारे राम्रो कुरा गर्दा शाऊलले नम्र हुँदै यस्तो जवाफ दिए: “तर म ता इस्राएलका कुलहरूको सबैभन्दा सानो एक बिन्यामिनी हुँ। औ बिन्यामीनका कुलका परिवारहरूमध्ये मेरो घराना सबैभन्दा सानो छ। तपाईं किन यो कुरो मलाई भन्‍नुहुन्छ?”—१ शमूएल ९:२१.

      १६. कसरी शाऊलले अधीर मनोवृत्ति देखाए?

      १६ तथापि, पछि शाऊलको विनयी स्वभाव हरायो। पलिश्‍तीहरूसित युद्ध गर्दा पछि हटेर गिलगाल झर्ने क्रममा शमूएलले बलिदान चढाएर परमेश्‍वरलाई बिन्ती गर्नेछन्‌, त्यसैकारण तिनलाई पर्खन भनिएको थियो। तोकिएको समयसम्म शमूएल नआइपुग्दा, शाऊलले अहंकारी भई आफैले होमबलि चढाए। तिनले बलि चढाउन सिध्याएका मात्र के थिए, शमूएल आइपुगे। शमूएलले सोधे, “यो तपाईंले के गर्नुभयो?” शाऊलले जवाफ दिए, “मानिसहरू मबाट हटिरहेका मैले देखें, औ तपाईंले प्रतिज्ञा गर्नुभएको समयमा तपाईं पनि आउनुभएन, . . . यसैले म आफैले यो होमबलि चढ़ाउन मलाई करै लाग्यो।”—१ शमूएल १३:८-१२.

      १७. (क) यसो हेर्दा शाऊलले गरेको काम किन उचितै थियो जस्तो देखिनसक्छ? (ख) शाऊलको अधीर कदमको यहोवाले किन निन्दा गर्नुभयो?

      १७ झट्टै हेर्दा, शाऊलले जे गरे ठीकै गरेजस्तो देखिनसक्छ। किनभने, परमेश्‍वरका जनहरू “घोर संकष्टमा” र “साह्रै पेलिएका” थिए। (१ शमूएल १३:६, ७) परिस्थितिको मागअनुसार कदम चाल्नुमा पक्कै पनि कुनै खराबी छैन।d तर नबिर्सनुहोस्‌, यहोवा हाम्रो हृदय पढ्‌न सक्नुहुन्छ र हाम्रा भित्री भावनाहरू बुझ्न सक्नुहुन्छ। (१ शमूएल १६:७) यसकारण, उहाँले शाऊलमा यस्ता कुराहरू देख्नुभयो जुन बाइबलमा प्रत्यक्षतः उल्लेख गरिएको छैन। उदाहरणका लागि, शाऊल, घमण्डका कारण अधीर भएको यहोवाले देख्नुभएको हुनसक्छ। सायद, सम्पूर्ण इस्राएलको राजा भईकन पनि एक वृद्ध, आलेटाले गर्ने अगमवक्‍तालाई पर्खनु तिनलाई असाध्यै असह्‍य भएको हुनसक्छ! जे होस्‌, शमूएलले ढिलासुस्ती गरेको हुँदा आफूले पाएको सुस्पष्ट निर्देशनलाई बेवास्ता गर्दै आफैले बलि चढाउनु तिनलाई उचित लागेको हुनुपर्छ। अनि यसको परिणाम? शमूएलले शाऊलको कामको प्रशंसा गरेनन्‌। यसको विपरीत, तिनले शाऊललाई यसो भन्दै हप्काए: “अब तपाईंको राज्य निरन्तर रहनेछैन। . . . किनभने तपाईंले परमप्रभुको आज्ञापालन गर्नुभएन।” (१ शमूएल १३:१३, १४, नयाँ संशोधित संस्करण) यसरी यहाँ पनि हामी अहंकारले अपमान ल्याएको देख्छौं।

      अधीर हुनदेखि होसियार हुनुहोस्‌

      १८, १९. (क) धीरजी हुन नसक्दा परमेश्‍वरका आधुनिक सेवक कसरी अहंकारी हुनसक्छन्‌, व्याख्या गर्नुहोस्‌। (ख) मसीही मण्डलीको परिचालन गर्ने सम्बन्धमा हामीले के कुरा बिर्सनु हुँदैन?

      १८ शाऊलको अहंकारी कार्यको विवरण हाम्रै भलाइको निम्ति परमेश्‍वरको वचनमा रेकर्ड गरिएको छ। (१ कोरिन्थी १०:११) भाइबहिनीहरूको असिद्धता देखेर हामी सजिलै चिढिनसक्छौं। कुनै काम ठीकसित गर्नु छ भने आफैले नै गर्नुपर्छ भन्ठान्दै हामी पनि शाऊलजस्तै अधीर हुनसक्छौं। उदाहरणका लागि, मानौं, एक जना भाइ कामकुरा व्यवस्थित ढंगमा गर्न एकदमै निपुण छन्‌। तिनी समयनिष्ठ छन्‌, मण्डलीका कामकुरा कसरी सम्हाल्नुपर्छ तिनलाई एक एक राम्ररी थाह छ अनि तिनी दक्ष वक्‍ता र शिक्षक पनि हुन्‌। तर अरूले आफूले जस्तै एक एक कुरा गर्न नसकेको र तिनीहरू आफूले चाहेजत्तिकै सिपालु नभएको तिनलाई लाग्नसक्छ। तर के त्यसो भन्दैमा तिनी अधीर हुन मिल्छ? आफूले प्रयास नगरेका भए केही पनि हुने थिएन र मण्डली भताभुङ हुने थियो भन्‍ने भान पार्दै के तिनले आफ्ना भाइहरूको आलोचना गर्नुहुन्छ? त्यसो गर्नु अहंकार हुनेछ!

      १९ वास्तवमा, केले मण्डलीका मसीहीहरूलाई एक बनाएको छ? व्यवस्थापन दक्षताले? कार्यकुशलताले? कि ज्ञानको अपार भण्डारले? हो, मण्डलीलाई सुचारुरूपले चलाउन यी चीजहरू फाइदाजनक छन्‌। (१ कोरिन्थी १४:४०; फिलिप्पी ३:१६; २ पत्रुस ३:१८) तथापि, आफ्ना अनुयायीहरू मुख्यतः तिनीहरूबीचको प्रेमले गर्दा चिनिने थिए भनी येशूले भन्‍नुभयो। (यूहन्‍ना १३:३५) त्यसैकारण, अरूको ख्याल गर्ने प्राचीनहरू व्यवस्थित त हुन्छन्‌ तर मण्डली अरट्ठो व्यवस्थापन आवश्‍यक पर्ने व्यापारिक स्थल होइन तर कोमल व्यवहारको भोको बगाल मिलेर बनेको छ भन्‍ने कुरा पनि तिनीहरू स्वीकार्छन्‌। (यशैया ३२:१, २; ४०:११) यस्ता सिद्धान्तहरूलाई अहंकारी व्यक्‍तिले अक्सर बेवास्ता गर्ने हुँदा फूट उत्पन्‍न हुन्छ। यसको विपरीत, ईश्‍वरीय व्यवस्थापनले शान्ति ल्याउँछ।—१ कोरिन्थी १४:३३; गलाती ६:१६.

      २०. यसपछिको लेखमा के छलफल गरिनेछ?

      २० कोरह, अब्शालोम र शाऊलसम्बन्धी बाइबल विवरणले हितोपदेश ११:२ मा बताएझैं अहंकारले अपमान ल्याउँछ भन्‍ने तथ्य प्रमाणित हुन्छ। तथापि, त्यही बाइबल पद अझै यसो पनि भन्छ: “विनयीसित बुद्धि हुन्छ।” (NW) विनयी हुनु भनेको के हो? बाइबलका कुन कुन उदाहरणले यस गुणमाथि प्रकाश पार्छ र आज हामी कसरी विनयी हुनसक्छौं? यी प्रश्‍नहरू यसपछिको लेखमा छलफल गरिनेछन्‌।

      [फुटनोटहरू]

      a रूबेन याकूबका जेठा छोरा थिए। तर तिनीहरूमाथि लेवी कुलका मोशाले अख्तियार चलाइरहेको हुनाले यी रूबेन खलककाहरू रुष्ट भएर कोरहसँग लागेका हुनसक्छन्‌।

      b दाऊदको माहिलो छोरा किलाबको जन्मपछि तिनीबारे केही उल्लेख गरिएको छैन। अब्शालोमले विद्रोह गर्नुअघि नै तिनको मृत्यु भइसकेको हुनुपर्छ।

      c बाइबलकालीन समयमा, मृतकको लास गाड्‌दा निकै महत्त्व दिइन्थ्यो। यसकारण, लासलाई राम्ररी नगाड्‌नु अपमानजनक हुनुका साथै अक्सर परमेश्‍वरको अनुमोदन गुमाएको ठानिन्थ्यो।—यर्मिया २५:३२, ३३.

      d उदाहरणका लागि, दसौं हजार इस्राएलीहरूलाई नाश गर्ने ईश्‍वरीय कोपलाई रोक्न पीनहासले तुरुन्तै कदम चालेका थिए र दाऊदले भोकले रन्थनिएका आफ्ना मानिसहरूलाई “परमेश्‍वरको घर[को]” भेटीका रोटी खान प्रोत्साहन दिएका थिए। यी कार्यहरू अहंकारी भएर गरिएका थिए भनेर परमेश्‍वरले भर्त्सना गर्नुभएन।—मत्ती १२:२-४; गन्ती २५:७-९; १ शमूएल २१:१-६.

  • “विनयीसित बुद्धि हुन्छ”
    प्रहरीधरहरा—२००० | अगस्त १
    • “विनयीसित बुद्धि हुन्छ”

      “परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि . . . तेरा परमेश्‍वरसित नम्र [ “विनयी,” Nw] भएर हिंड़नू।”–मीका ६:८.

      १, २. विनयी हुनु भनेको के हो र यो अहंकारभन्दा कसरी भिन्‍न छ?

      एक जना प्रतिष्ठित प्रेरित आफूतर्फ मानिसहरूको ध्यान खिंच्न इन्कार गर्छन्‌। एक साहसी इस्राएली न्यायकर्ता आफूलाई आफ्नो पिताको घरानाका सबैभन्दा सानो सदस्य हुँ भनी बताउँछन्‌। आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष आफूसित असीमित अख्तियार छैन भनेर स्वीकार्छन्‌। यी प्रत्येक पुरुषहरू विनयी भाव प्रकट गर्छन्‌।

      २ विनय अहंकारको विपरीत गुण हो। विनयी व्यक्‍ति आफ्नो क्षमता तथा योग्यताको ढ्‌वाङ फुक्दैन र धाक लाउने वा फूर्ति गर्ने गर्दैन। घमण्डी, फूर्ति देखाउनु वा महत्त्वाकांक्षी हुनुको साटो विनयी व्यक्‍ति आफ्ना सीमितताहरूप्रति सधैं सजग रहन्छ। यसकारण, अरूको भावना तथा दृष्टिकोणको ऊ आदर गर्छ अनि अरूलाई उचित सम्मान दिन्छ।

      ३. कुन अर्थमा “विनयीसित” बुद्धि हुन्छ?

      ३ अतः बाइबलले यसो भन्‍नु असलै हो: “विनयीसित बुद्धि हुन्छ।” (हितोपदेश ११:२, NW) विनयी व्यक्‍ति बुद्धिमान्‌ हुन्छ किनकि ऊ परमेश्‍वरले अनुमोदन गर्नुहुने मार्गमा चल्न चाहन्छ र अपमान ल्याउने अहंकार तिरस्कार गर्न चाहन्छ। (हितोपदेश ८:१३; १ पत्रुस ५:५) विनयी हुनुमा बुद्धिमानी छ भनेर परमेश्‍वरका थुप्रै सेवकहरूको जीवनशैलीबाट प्रस्टिएको छ। आउनुहोस्‌, यस्ता थुप्रै उदाहरणमध्ये सुरुको अनुच्छेदमा उल्लेख गरिएका तीन उदाहरण विचार गरौं।

      पावल—‘सेवक’ तथा ‘कारिन्दा’

      ४. पावलले कुन विशिष्ट सुअवसरको आनन्द उठाए?

      ४ प्रारम्भिक मसीहीहरूमध्ये पावल प्रमुख हुनुको कारण बुझ्न सकिन्छ। आफ्नो सेवकाईको दौडान तिनले हजारौं किलोमिटर लामो जल तथा थल यात्रा गरे अनि थुप्रै मण्डली स्थापित गरे। यसको अतिरिक्‍त, यहोवाले पावललाई दर्शनहरू दिनुभयो। ती विदेशी भाषाहरूमा बोल्ने वरदान पनि दिनुभयो। (१ कोरिन्थी १४:१८; २ कोरिन्थी १२:१-५) उहाँले पावललाई १४ वटा पत्रहरू लेख्ने प्रेरणा पनि दिनुभयो जुन अहिले मसीही युनानी धर्मशास्त्रका भाग हुन्‌। स्पष्ट छ, अन्य प्रेरितहरूले भन्दा पावलले बढी परिश्रम गर्नुपरेको थियो।—१ कोरिन्थी १५:१०.

      ५. आफूबारे तिनको दृष्टिकोण विनयी थियो भनेर पावलले कसरी देखाए?

      ५ पावल, मसीही क्रियाकलापको अग्रपंक्‍तिमा भएका कारण कसै कसैले तिनले आफूलाई आकर्षणको केन्द्र बनाएर त्यसको फाइदा उठाएको साथै आफ्नो अख्तियार प्रदर्शन गरे होलान्‌ भनेर सोच्नसक्छन्‌। तथापि, त्यसो भएन। किनकि पावल विनयी थिए। तिनले आफैलाई “प्रेरितहरूमध्ये म सबैभन्दा सानो हुँ” भन्‍नुको अतिरिक्‍त “म ता प्रेरित भनिनँ पनि सुहाउँदिनँ। किनभने मैले परमेश्‍वरको मण्डलीलाई खेदो गरें” समेत भने। (१ कोरिन्थी १५:९) पहिले पहिले मसीहीहरूलाई सताउने गरेको हुनाले परमेश्‍वरको कृपादृष्टि नभएको भए सेवाको यो विशेष सुअवसर पाउनु त परै जाओस्‌, परमेश्‍वर नजिक आउन लायकको समेत आफू थिएन भन्‍ने कुरा पावलले कहिल्यै बिर्सेनन्‌। (यूहन्‍ना ६:४४; एफिसी २:८) तसर्थ, पावलले सेवकाईमा पाएको अपूर्व सफलताले आफूलाई अरूभन्दा उच्च तुल्याएको महसुस कहिल्यै गरेनन्‌।—१ कोरिन्थी ९:१६.

      ६. कोरिन्थीहरूसित व्यवहार गर्दा पावलले कसरी विनयी भाव देखाए?

      ६ विशेष गरी कोरिन्थीहरूसितको व्यवहारले पावल विनयी थिए भन्‍ने कुरा झल्कन्छ। तिनीहरूमध्ये कोही कोही अपोलोस, केफास र पावलजस्ता आफूले ठूला निरीक्षक ठानेका केही व्यक्‍तिद्वारा प्रभावित भएको जस्तो देखिन्छ। (१ कोरिन्थी १:११-१५) तर पावलले न कोरिन्थीकाहरूबाट प्रशंसा खोजे न त तिनीहरूले देखाएको सम्मानको फाइदा नै उठाए। तिनीहरूलाई भेट्‌न जाँदा, तिनी “बात र ज्ञानको सर्वश्रेष्ठतामा” गएका थिएनन्‌। बरु, पावलले आफू र आफ्ना साथीहरूबारे यसो भने: “यसरी मानिसले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्‍वरका रहस्यका कारिन्दाहरू सम्झोस्‌।”a—१ कोरिन्थी २:१-५; ४:१.

      ७. सल्लाह दिनुपर्दासमेत पावलले कसरी विनयी भाव देखाए?

      ७ कठोर सल्लाह तथा निर्देशन दिनुपर्दासमेत पावलले विनयी भाव देखाए। तिनले प्रेरितको अख्तियार प्रयोग गर्नुको साटो “परमेश्‍वरको कृपाद्वारा” र “प्रेमको खातिर” सँगी मसीहीहरूलाई निवेदन गरे। (रोमी १२:१, २; फिलेमोन ८, ९) पावलले किन त्यसो गरे? किनकि तिनी आफूलाई भाइहरूका ‘सहयोगी’ सम्झन्थे ‘विश्‍वासमा प्रभुत्व जमाउने’ व्यक्‍ति होइन। (२ कोरिन्थी १:२४) निस्सन्देह, विनयी भएका कारण पावल प्रथम शताब्दीका मसीही मण्डलीकाहरूका लागि विशेष प्रिय पात्र भएका थिए।—प्रेरित २०:३६-३८.

      हाम्रो विशेषाधिकारप्रति विनयी दृष्टिकोण

      ८, ९. (क) किन हामीले आफूप्रति विनयी झुकाउ राख्नुपर्छ? (ख) जिम्मेवारी पाउनेहरूले कसरी विनयी भाव देखाउनसक्छन्‌?

      ८ पावलले आजका मसीहीहरूका लागि एउटा राम्रो उदाहरण छोडे। हामीलाई जुनसुकै जिम्मेवारी सुम्पिएको होस्‌, हामीमध्ये कसैले पनि आफूलाई अरूभन्दा उच्च ठान्‍नु हुँदैन। पावलले लेखे, “केही न केहीका मानिसले म केही हुँ भन्‍ने सम्झन्छ भनेता त्यसले आफैलाई धोका दिन्छ।” (गलाती ६:३) किन? किनकि, “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।” (रोमी ३:२३; ५:१२) हो, हामी सबैले आदमबाट पाप र मृत्यु पाएका छौं भनेर कहिल्यै बिर्सनु हुँदैन। विशेष सुअवसरले हामीलाई हाम्रो पापपूर्ण न्यून अवस्थाबाट माथि उकास्न सक्दैन। (उपदेशक ९:२) पावलको सम्बन्धमाझैं परमेश्‍वरको कृपा नहुँदो हो त, सुअवसरहरू प्राप्त गर्नु त परै जाओस्‌ परमेश्‍वर नजिकसमेत हामी आउनसक्ने थिएनौं।—रोमी ३:१२, २४.

      ९ यस कुरालाई ध्यानमा राख्दै विनयी व्यक्‍ति आफ्ना सुअवसरहरूदेखि न दंग परेर गर्व महसुस गर्छ न त आफ्ना उपलब्धिहरूको फूर्ति नै लगाउँछ। (१ कोरिन्थी ४:७) सल्लाह वा निर्देशन दिंदा उसले सँगी कामदारले जस्तै दिन्छ, मालिकले जस्तो होइन। पक्कै पनि, सँगी विश्‍वासीहरूबाट कुनै किसिमको प्रशंसा बटुल्न वा उनीहरूको अनुचित फाइदा उठाउनबाट परै बस्नुपर्छ। (हितोपदेश २५:२७; मत्ती ६:२-४) अरू व्यक्‍तिहरूले स्वेच्छाले गरेको प्रशंसा पो प्रशंसा हो, मागेर वा करकापमा परेर लिएको प्रशंसा, पनि के प्रशंसा। कसैले प्रशंसा गरिहालेमा पनि हामीले आफूलाई आवश्‍यक भन्दा बढ्‌ता ठान्‍नु हुँदैन।—हितोपदेश २७:२; रोमी १२:३.

      १०. विनयी देखिएका कसै कसैसित वास्तवमा कसरी “विश्‍वासको खानी” हुनसक्छ, वर्णन गर्नुहोस्‌।

      १० हामीलाई जिम्मेवारी सुम्पिएको छ भने, विनयी भावले आफूलाई ठूलो नसोच्ने वा हाम्रै प्रयासले मण्डलीमा फलिफाप भइरहेछ भन्‍ने सोचाइ राख्नदेखि परै बस्न मदत गर्नेछ। उदाहरणका लागि, हामी शिक्षण कलामा निपुण हौंला। (एफिसी ४:११, १२) तथापि, सभाहरूबाट हामीले सिक्ने केही महत्त्वपूर्ण पाठहरू मञ्चबाट मात्रै सिकिरहेका हुँदैनौं भनेर हामीले विनयी भई स्वीकार्नैपर्छ। के तपाईं छोराछोरी लिएर राज्य भवन आउने एक्ली आमा अथवा एक्लो बुबालाई देख्दा प्रोत्साहित हुनुहुन्‍न? अथवा निरन्तर आत्मसम्मान नभएको महसुस गर्ने निराश भाइबहिनीहरू विश्‍वासी भई सभाहरूमा आएको देख्दा के तपाईं प्रोत्साहित हुनुहुन्‍न? अथवा स्कूलमा र अन्त कतै, निरन्तर कुप्रभावहरूको सामना गर्नु परिरहेका युवायुवतीले आध्यात्मिक प्रगति गरिरहेको देख्दा के तपाईं प्रोत्साहित हुनुहुन्‍न? (भजन ८४:१०) यी व्यक्‍तिविशेष सायद अरूले त्यत्ति याद नगरेका साधारण व्यक्‍तिहरू होलान्‌। तिनीहरूले सामना गरिरहेको निष्ठाको जाँच, अरूले याद नगरेका हुनसक्छन्‌। यद्यपि, यिनीहरूसित प्राधान्यता पाएकाहरूसित जत्तिकै “विश्‍वासको खानी” हुनसक्छ। (याकूब २:५) नबिर्सनुहोस्‌, यहोवाको अनुमोदन पाउन विश्‍वासी हुनुपर्छ।—मत्ती १०:२२; १ कोरिन्थी ४:२.

      गिदोन—आफ्नो पिताको घरानाका “सबैभन्दा सानो”

      ११. परमेश्‍वका स्वर्गदूतसित कुरा गर्ने सन्दर्भमा गिदोन कसरी विनयी भए?

      ११ मनश्‍शे कुलका हट्टाकट्टा जवान गिदोन इस्राएलमा गोलमाल मच्चिरहेको समयतिरका मानिस थिए। परमेश्‍वरका जनहरू मिद्यानीहरूको थिचोमिचोमा परेको सात वर्ष भइसकेको थियो। तथापि, आफ्ना जनहरूलाई जोगाउने यहोवाको समय आइसकेको थियो। यसकारण, एक जना स्वर्गदूत गिदोनकहाँ देखा परे र यसो भने: “तँ वीर मानिस होस्‌ औ परमप्रभु तँसँग हुनुहुन्छ।” गिदोन विनयी थिए। त्यसकारण, तिनी यो मनमै नचिताएको प्रशंसा पाउँदा मख्ख परेर बसेनन्‌। बरु, तिनले आदरपूर्वक उक्‍त स्वर्गदूतलाई यसो भने: “हजूर, सुन्‍नुहोस्‌, परमप्रभु साँच्चिनै हामीसँग हुनुहुन्छ भनेता यी सबै किन हामीलाई भएको?” स्वर्गदूतले कुरा प्रस्ट्याएर गिदोनलाई भने: “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटा।” गिदोनले के जवाफ दिए? आफैलाई राष्ट्रिय विभूति सम्झदैं हत्त न पत्त अघि बढ्‌नुको साटो गिदोनले यस्तो जवाफ दिए: “हजूर, सुन्‍नुहोस्‌ म कसरी इस्राएललाई बचाउनसक्छु? मेरो गोत्रलाई हेर्नुहोस्‌ त्यो ता मनश्‍शेमा सबैभन्दा कमजोर छ, औ मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।” कस्तो विनयी भाव!—न्यायकर्त्ता ६:११-१५.

      १२. आफ्नो काम पूरा गर्ने सम्बन्धमा गिदोनले कसरी सावधानी अपनाए?

      १२ युद्धमा पठाउनुअघि यहोवाले गिदोनलाई जाँच्नुभयो। कसरी? गिदोनलाई उसको बुबाले बालको निम्ति बनाएको वेदी भत्काउन लगाउनुका साथै नजिकैको पवित्र खाँबो ढाल्न लगाए। यो काम गर्न साहस चाहिन्थ्यो तर गिदोनले यो कार्य पूरा गर्दा विनयी भाव झल्काए र सावधानी अपनाए। दिनदहाडै यो काम पूरा गर्नुको साटो गिदोनले रातमा अक्सर सबैले त्यति याद नगर्ने बेला उक्‍त काम गरे। यसको अलावा, गिदोनले बडो होसियारीसाथ आफ्नो कार्यभार सम्हाले। सायद, तिनलाई उक्‍त वेदी अनि पवित्र खाँबो भत्काउन सहयोग गर्न र पहरा दिनका लागि तिनले आफूसित दस जना सेवकहरू लगे।b जे होस्‌, यहोवाको आशिष्‌ पाएर गिदोनले आफ्नो काम पूरा गरे। फलस्वरूप, परमेश्‍वरले इस्राएलीहरूलाई मिद्यानीहरूको हातबाट छुटाउन तिनलाई चलाउनुभयो।—न्यायकर्त्ता ६:२५-२७.

      विनयी हुनु र सावधानी अपनाउनु

      १३, १४. (क) हामीलाई सेवा गर्ने सुअवसर दिइँदा कसरी विनयी भाव झल्काउनसक्छौं? (ख) विनयी भाव झल्काउने सम्बन्धमा भाइ ए. एच. म्याकमिलनले कसरी राम्रो उदाहरण बसाले?

      १३ गिदोनको विनयी भावबाट हामीले सिक्नसक्ने थुप्रै कुराहरू छन्‌। उदाहरणका लागि, हामीलाई सेवा गर्ने सुअवसर दिइँदा हामी कस्तो प्रतिक्रिया देखाउँछौं? के हामी त्यस सुअवसरका कारण प्राप्त हुने प्रतिष्ठा वा सम्मानबारे नै सबैभन्दा पहिले सोच्ने गर्छौं? अथवा उक्‍त कार्यभार पूरा गर्नसक्छौं कि सक्दैनौं भनेर विनयी भई प्रार्थनापूर्वक सोचविचार गर्छौं? सन्‌ १९६६ मा आफ्नो पार्थिव कार्य सिध्याउने भाइ ए. एच. म्याकमिलनले यस सम्बन्धमा राम्रो उदाहरण कायम राखे। वाच टावर सोसाइटीका प्रथम अध्यक्ष सि. टि. रसलले एक पटक भाइ म्याकमिलनलाई आफ्नो अनुपस्थितिमा कसलाई कार्यकारी अध्यक्षको रूपमा नियुक्‍त गर्न सकिएला भनेर सोधे। हुन त भाइ म्याकमिलनलाई आफ्नो सिफारिस गर्नु निकै सजिलो थियो तर छलफल गर्दा तिनले एक पटक पनि आफ्नो सिफारिस गरेनन्‌। अन्तमा, भाइ रसलले भाइ म्याकमिलनलाई बोलाएर उक्‍त कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पे। निकै वर्षपछि भाइ म्याकमिलनले लेखे, “म त अक्क न बक्क भएँ। . . . मैले यसबारे निकै पटक गम्भीरतासाथ सोचें र सकेजति गरेर उहाँलाई सघाउन म खुसी छु भन्‍नुअघि यस विषयमा प्रार्थना पनि गरें।”

      १४ यसको केही समयपछि भाइ रसलको देहान्त भयो र वाच टावर सोसाइटीका अध्यक्षको पद रिक्‍त भयो। भाइ रसलको अन्तिम प्रचार यात्राको दौडान भाइ म्याकमिलन नै कार्यकारी अध्यक्ष भएकाले एक जना भाइले तिनलाई यसो भने: “म्याक, तपाईं अध्यक्ष हुने बलियो सम्भावना छ। भाइ रसल बाहिर जानुहुँदा तपाईं नै उहाँको विशेष प्रतिनिधि हुनुहुन्थ्यो र उहाँले हामीलाई तपाईंले भनेजस्तै गर्नू भन्‍नुभएको थियो। अहिले उहाँ हुनुहुन्‍न र अब कहिल्यै आउनुहुने पनि छैन। यसो हेर्दा तपाईंले नै सबथोक सम्हाल्नु पर्लाजस्तो छ।” भाइ म्याकमिलनले यस्तो जवाफ दिए: “भाइ, यसबारे मैले त्यसरी सोचेकै छैन। यो प्रभुको काम हो र प्रभुलाई त्यो पद सम्हाल्न जुन व्यक्‍ति उचित लाग्छ, त्यसैले नै त्यो पद सम्हाल्नेछ र मेरो विचारमा म पक्कै पनि यसको लागि योग्य छैन।” त्यसपछि, भाइ म्याकमिलनले यस पदका लागि अर्कै व्यक्‍तिको नाउँ सिफारिस गरे। गिदोनले जस्तै तिनले पनि आफूबारे विनयी दृष्टिकोण राखे।—हामीले पनि यस्तै दृष्टिकोण राख्यौं भने बेस हुनेछ।

      १५. अरूलाई प्रचार गर्दा हामीले सावधानी अपनाउन सक्ने केही व्यावहारिक तरिकाहरू के हुन्‌?

      १५ हामीले पनि आफ्नो काम पूरा गर्दा विनयी भाव झल्काउनुपर्छ। गिदोन सावधान थिए र तिनले आफ्नो विरोधीहरूलाई बित्थैमा रिस उठाउने काम नगर्ने प्रयास गरे। त्यसै गरी, हामी प्रचारमा गएर अरूसित कुरा गर्दा विनयी हुनुका साथै सावधान हुनु आवश्‍यक छ। हो, हामी “बहसहरू” र “हरेक अहंकारपूर्ण बाधालाई” खण्डन गर्ने आध्यात्मिक युद्धमा समावेश छौं। (२ कोरिन्थी १०:४, ५, नयाँ संशोधित संस्करण) तर अरूलाई होच्याउने वा हाम्रो सन्देशसित चिढिने जायज कारण हामीले दिनु हुँदैन। बरु, दुवै पक्ष सहमत हुने कुरामा जोड दिएर तथा हाम्रो सन्देशको सकारात्मक पक्षमा ध्यान खिंचेर हामीले तिनीहरूको विचारको कदर गर्नुपर्छ।—प्रेरित २२:१-३; १ कोरिन्थी ९:२२; प्रकाश २१:४.

      येशू—विनयको सर्वश्रेष्ठ उदाहरण

      १६. येशूले आफ्नो विषयमा विनयी हुनुहुन्छ भनेर कसरी देखाउनुभयो?

      १६ विनयको उत्तम उदारण हुनुहुन्छ, येशू ख्रीष्ट।c आफ्नो पिता यहोवासित उहाँको घनिष्ठ सम्बन्ध भए तापनि, केही कुराहरू आफ्नो अधिकार बाहिर छ भनेर स्वीकार्न उहाँ कहिल्यै हिचकिचाउनु भएन। (यूहन्‍ना १:१४) उदाहरणका लागि, याकूब र यूहन्‍नाकी आमाले आफ्ना दुई छोराहरूलाई येशूले आफ्नो राज्यमा आफू छेउ राखून्‌ भनेर आग्रह गर्दा येशूले भन्‍नुभयो: “मेरो दाहिने र देब्रेपट्टि बस्नदिने मेरो हकमा छैन।” (मत्ती २०:२०-२३) अर्को अवसरमा येशूले खुलेआम यो पनि स्वीकार्नुभयो: “म आफै केही गर्नसक्‍तिनँ, . . . म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।”—यूहन्‍ना ५:३०; १४:२८; फिलिप्पी २:५, ६.

      १७. अरूसित व्यवहार गर्दा येशूले कसरी विनयी भाव प्रकट गर्नुभयो?

      १७ असिद्ध मानवको तुलनामा येशू हर तवरमा उच्च हुनुहुन्थ्यो र उहाँले आफ्नो पिता यहोवाबाट अतुलनीय अख्तियार पाउनुभएको थियो। तापनि, येशूले चेलाहरूसित विनयी व्यवहार गर्नुहुन्थ्यो। आफूसित भएको ज्ञानको अपार भण्डार प्रकट गर्नुभएर उहाँले तिनीहरूलाई अवाक्‌ पार्नुभएन। उहाँ मानिसहरूको आवश्‍यकता बुझ्नुहुन्थ्यो, संवेदनशील अनि विचारशील हुनुहुन्थ्यो। (मत्ती १५:३२; २६:४०, ४१; मर्कूस ६:३१) येशू सिद्ध हुनु भए तापनि उहाँ सब थोक सिद्ध हुनैपर्छ भन्‍ने खालको हुनुहुन्‍नथ्यो। उहाँले चेलाहरूसित तिनीहरूको क्षमताभन्दा बढ्‌ता माग गर्नुभएन न त समझबाहिरका कुरा थोपर्नु भयो। (यूहन्‍ना १६:१२) त्यसैकारण त, थुप्रैले उहाँसँगको संगति एकदमै स्फूर्तिदायी पाए!—मत्ती ११:२९.

      विनयी येशूको अनुकरण गर्नुहोस्‌

      १८, १९. (क) आफूप्रतिको हाम्रो दृष्टिकोणमा र (ख) अरूसित व्यवहार गर्दा, हामी कसरी येशूको विनयी भाव अनुकरण गर्नसक्छौं?

      १८ आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष त विनयी हुनुहुन्थ्यो भने हामी झन्‌ कत्ति विनयी हुनुपर्छ। असिद्ध मानिसहरू अक्सर आफूसित सम्पूर्ण अख्तियार छैन भनेर स्वीकार्न चाहँदैनन्‌ तर येशूको अनुकरण गर्दै मसीहीहरूले विनयी हुने प्रयास गर्नैपर्छ। तिनीहरू घमण्डले फुलेर योग्य व्यक्‍तिहरूलाई जिम्मेवारी दिन इन्कार गर्दैनन्‌ न त अख्तियारप्राप्त व्यक्‍तिहरूले जिम्मेवारी सुम्पँदा घमण्डी भएर अस्वीकार गर्छन्‌। सहयोगी स्वभाव देखाउँदै तिनीहरू मण्डलीमा सबै काम “शिष्ट रुपले र नियमपूर्वक” हुनदिन्छन्‌।—१ कोरिन्थी १४:४०.

      १९ अरूबाट हामीले आशा गर्ने कुराहरूमा व्यावहारिक हुन र उनीहरूको आवश्‍यकताप्रति विचारशील हुन पनि विनयी भावले हामीलाई मदत गर्छ। (फिलिप्पी ४:५) हामीसँग अरूसित नभएको विशेष क्षमता र शक्‍ति होला। यद्यपि, हामी विनयी छौं भने, अरूले सधैं हामीले चाहेजस्तै गरोस्‌ भन्‍ने आशा हामी गर्नेछैनौं। प्रत्येक व्यक्‍तिको आफ्नै सीमितता छ भन्‍ने जानेर हामी विनयी हुँदै अरूको कमी कमजोरीलाई स्थान दिनेछौं। पत्रुसले लेखे: “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख। किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्‍तछ।”—१ पत्रुस ४:८.

      २०. विनयी भावको कमीलाई हटाउन हामी के गर्नसक्छौं?

      २० विनयीसित साँच्चै नै बुद्धि हुँदो रहेछ भनेर हामीले सिक्यौं। तर तपाईंले आफूमा विनयी स्वभावको कमी वा अहंकारी झुकाउ पाउनुभयो भने के गर्ने? निरुत्साहित नहुनुहोस्‌। बरु, दाऊदको अनुकरण गर्नुहोस्‌। तिनले यसरी प्रार्थना गरे: “अहंकारका पापबाट आफ्नो दासलाई हटाउनुहोस्‌। तिनीहरूको प्रभुत्व ममाथि हुन नपाओस्‌।” (भजन १९:१३) पावल अनि गिदोनजस्ता मानिसहरू र अझ येशू ख्रीष्टको विश्‍वास अनुकरण गरेर हामी व्यक्‍तिगत तवरमा यी शब्दहरू सही रहेछन्‌ भनी महसुस गर्नेछौं: “विनयीसित बुद्धि हुन्छ।”—हितोपदेश ११:२, NW.

      [Footnotes]

      a “सेवकहरू” भनेर अनुवाद गरिएको युनानी शब्दले विशाल जहाजमा पछाडितिर बसेर ख्याउने दासलाई संकेत गर्छ। यसको विपरीत, “कारिन्दाहरू[लाई]” धेरै जिम्मेवारी, सरसम्पत्तिको हेरचाह गर्न सुम्पिएको हुनसक्छ। तर जे होस्‌, मालिकको नजरमा कारिन्दा र जहाजको पुछारमा बसेर ख्याउने सेवकबीच कुनै भिन्‍नता हुँदैन।

      b गिदोनको सावधानी र होसियारीलाई कातरपन सम्झनु हुँदैन। यसको विपरीत हिब्रू ११:३२-३८ मा गिदोन ती व्यक्‍तिहरूमध्ये पर्नु तिनको साहसको पुष्टि थियो। तिनी “बलिया बनिए, लड़ाइँमा वीर भए।”

      c विनयी हुनुमा आफ्नो सीमितता बुझ्नु पनि समावेश भएकोले यहोवालाई विनयी हुनुहुन्छ भन्‍नु पटक्कै मिल्दैन। तथापि, उहाँ विनम्र हुनुहुन्छ।—भजन १८:३५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने