प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ८/१५ pp. १५-२०
  • “मेरो पछि लागोस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मेरो पछि लागोस्‌”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीले सिकेका सत्य कुराहरूको लागि प्रेम विकास गर्ने
  • हामीले सिकाउने सत्यप्रति प्रेम देखाउने
  • हामीले सिकाउने मानिसहरूप्रति प्रेम
  • प्रेम देखाउन नम्रता अत्यावश्‍यक
  • येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • परमेश्‍वरको प्रेम पाउन लायक बन्‍नुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ८/१५ pp. १५-२०

“मेरो पछि लागोस्‌”

“यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।”—१ पत्रुस २:२१.

१, २. शिक्षकको रूपमा येशूको उदाहरण किन हामीले अनुकरण गर्नै नसक्ने उच्च छैन?

येशू ख्रीष्ट निश्‍चय पनि यस पृथ्वीमा अहिलेसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ शिक्षक हुनुहुन्थ्यो। यसबाहेक, उहाँ सिद्ध हुनुहुन्थ्यो र आफ्नो पार्थिव जीवनको दौडान कहिल्यै पाप गर्नुभएन। (१ पत्रुस २:२२) के यसको अर्थ हामी असिद्ध मानिसहरूको लागि शिक्षकको रूपमा येशूको उदाहरण अनुकरण गर्नै नसकिने उच्च छ? अहँ, त्यसो होइन।

२ हामीले अघिल्लो लेखमा देखेझैं येशूको शिक्षाको आधार प्रेम थियो। अनि प्रेम भनेको हामी सबैले खेती गर्न सक्ने गुण हो। परमेश्‍वरको वचनले हामीलाई अक्सर अरूप्रतिको प्रेममा बढ्‌न र उन्‍नति गर्न आग्रह गर्छ। (फिलिप्पी १:९; कलस्सी ३:१४) यहोवाले आफ्नो सृष्टिबाट तिनीहरूले गर्न नसक्ने कुरा कहिल्यै माग गर्नु हुन्‍न। वास्तवमा, “परमेश्‍वर प्रेम” हुनुभएकोले र हामीलाई उहाँकै स्वरूपमा सृष्टि गर्नुभएकोले हामीलाई अरूलाई प्रेम देखाउन सक्ने क्षमतासहित सृष्टि गर्नुभयो भनी भन्‍न सक्छौं। (१ यूहन्‍ना ४:८; उत्पत्ति १:२७) त्यसैले मुख्य पदमा उल्लिखित प्रेरित पत्रुसका शब्दहरू पढ्‌दा हामी निर्धक्क भएर जवाफ दिन सक्छौं। हामी ख्रीष्टको पाइलामा टेकेर हिंड्‌न सक्छौं। वास्वतमा, हामी येशू आफैले दिनुभएको आज्ञा पालन गर्न सक्छौं: “मेरो पछि लागोस्‌।” (लूका ९:२३) त्यसकारण, आउनुहोस्‌, ख्रीष्टले सिकाउनुभएको सत्य कुराहरूप्रति र उहाँले सिकाउनुभएका मानिसहरूप्रति देखाउनुभएको प्रेमको कसरी अनुकरण गर्न सक्छौं, हामी छलफल गरौं।

हामीले सिकेका सत्य कुराहरूको लागि प्रेम विकास गर्ने

३. कोही-कोहीलाई अध्ययन गर्न गाह्रो लाग्नुको कारण के हो तर हितोपदेश २:१-५ मा कस्तो सल्लाह दिइएको छ?

३ हामीले अरूलाई सिकाउने सत्य कुराहरूलाई प्रेम गर्न हामी स्वय्‌मले सत्यलाई प्रेम गर्न सिक्नुपर्छ। आजको संसारमा त्यस्तो प्रकारको प्रेम सधैं सजिलै आउँदैन। यसका कारणहरूमा अपर्याप्त स्कूलको पढाइ र युवावस्थामा पढ्‌ने राम्रो बानी नबसालेका हुन सक्छन्‌। तथापि, हामीले यहोवाबाट सिक्नु अत्यावश्‍यक छ। हितोपदेश २:१-५ यसो भन्छ: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस्‌ र मेरा आज्ञा तेरो मनमा राखिस्‌ भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्‍तिमा लगाइस्‌ भने, तैंले विवेक माग्छस्‌ भने समझशक्‍तिलाई पुकार्‌। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस्‌ र गाड़-धनझैं त्यो खनिस्‌ भने, तैंले परमप्रभुको भय बुझ्नेछस्‌, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌।”

४. मन ‘लगाउनुको’ अर्थ के हो र त्यसो गर्न कुन दृष्टिकोणले मदत गर्छ?

४ पद १ देखि ४ सम्म याद गर्नुहोस्‌, हामीलाई बारम्बार ‘लिन’ र ‘राख्न’ मात्र होइन तर ‘खोजिरहन’ र ‘खनिरहन’ भनिएको छ। तर हामीलाई यी सबै गर्न उत्प्रेरित गर्ने तत्त्व के हो? “तेरो मन समझ-शक्‍तिमा लगाइस्‌” भन्‍ने अभिव्यक्‍तिलाई याद गर्नुहोस्‌। एउटा पुस्तकले यो आग्रह गर्छ “ध्यान दिनको लागि मात्र अपिल गरेको नभई खास मानसिकताको माग हो: शिक्षाहरू उत्सुकता साथ स्वीकार्नु।” अनि यहोवाले हामीलाई सिकाउनुहुने कुरा उत्सुकतासाथ ग्रहण गर्न कुन कुराले मदत गर्न सक्छ? हाम्रो दृष्टिकोण। हामीले “परमेश्‍वरको ज्ञान” “चाँदी” र “गाड़-धन” झैं ठान्‍नुपर्छ।

५, ६. (क) समयको अन्तरालमा के हुन सक्छ र त्यसो हुनबाट कसरी रोक्न सक्छौं? (ख) हामीले बाइबलमा पाउने ज्ञानको धन कसरी थप्दै लैजान सक्छौं?

५ त्यस्तो दृष्टिकोण विकास गर्न गाह्रो छैन। उदाहरणका लागि, तपाईंले लिनुभएको “परमेश्‍वरको ज्ञान[मा]” विश्‍वासी मानिसजाति पृथ्वीमा सधैंभरि बाँचून्‌ भन्‍ने यहोवाको उद्देश्‍यसम्बन्धी सत्य पनि समावेश छ। (भजन ३७:२८, २९) त्यो सत्य तपाईंले पहिलो चोटि थाह पाउनुहुँदा तपाईंलाई निश्‍चय यो साँच्चै विशेष धन लागेको हुनुपर्छ जसले तपाईंको मन अनि हृदय आशा र आनन्दले भरेको थियो। अहिले नि? समयको अन्तरालमा यस धनप्रति तपाईंको मूल्यांकन हल्का वा कमजोर हुँदै गएको छ कि? त्यसो भए दुइटा कुरा गर्ने कोसिस गर्नुहोस्‌। पहिला, तपाईंको मूल्यांकनलाई नवीकरण गर्नुहोस्‌ अर्थात्‌ चाहे तपाईंले सत्य सिकेको वर्षौं नै भएको किन नहोस्‌, यहोवाले सिकाउनुभएका कुराहरूको किन कदर गर्नुहुन्छ भनी आफूलाई बारम्बार सम्झाउने गर्नुहोस्‌।

६ दोस्रो, धन थप्दै लानुहोस्‌। आखिरमा तपाईंले खन्दा कुनै बहुमूल्य रत्न भेट्टाउनुभयो भने त्यो रत्न मात्र लिएर सरासर आफ्नो बाटो लाग्नु हुन्छ? वा तपाईं अझ बढी भेट्टाइन्छ कि भनेर खनेर हेर्नुहुन्छ? परमेश्‍वरको वचनमा सत्यका रत्नहरू प्रचुर मात्रामा छन्‌। तपाईंले थुप्रै भेट्टाइसक्नु भएको भए तापनि अझ बढी भेट्टाउन सक्नुहुन्छ। (रोमी ११:३३) अनमोल सत्यहरू भेट्टाउनुभएपछि आफैलाई प्रश्‍न गर्नुहोस्‌: ‘यो खजाना हुनुको कारण के हो? के यसले यहोवाको व्यक्‍तित्व वा उहाँका उद्देश्‍यहरूमा गहिरो अन्तरदृष्टि प्रदान गर्छ? के यसले मलाई येशूको पाइलामा टेकेर हिंड्‌ने मदत दिन थप व्यावहारिक सुझाउहरू दिन्छ?’ त्यस्ता प्रश्‍नहरूमा मनन गर्दा यहोवाले तपाईंलाई सिकाउनुभएको सत्य कुराहरूप्रति प्रेम विकास गर्न मदत गर्छ।

हामीले सिकाउने सत्यप्रति प्रेम देखाउने

७, ८. हामीले बाइबलबाट सिकेको सत्यलाई प्रेम गर्छौं भनी देखाउने केही तरिकाहरू के हुन्‌? उदाहरण दिनुहोस्‌।

७ हामीले अरूलाई सिकाउँदा परमेश्‍वरको वचनबाट सिकेको सत्यप्रति आफ्नो प्रेम कसरी देखाउन सक्छौं? येशूको उदाहरण पछ्याउँदै हामी आफ्नो प्रचार र शिक्षणकार्यमा बाइबलमा अत्यन्तै धेरै भर पर्छौं। हालका वर्षहरूमा संसारभरि परमेश्‍वरका जनहरूलाई जनसेवकाईमा बाइबलको प्रयोग अझ बढी गर्न प्रोत्साहन दिइएको छ। उक्‍त सल्लाह लागू गर्दै घरधनीलाई तपाईं आफैले पनि बाइबलका कुराहरूको कदर गर्नुहुन्छ भनी देखाउने तरिकाहरू खोज्नुहोस्‌।—मत्ती १३:५२.

८ उदाहरणका लागि, गत वर्ष न्यु योर्क शहरमा भएको आतंककारी आक्रमणपछि एक जना मसीही बहिनी आफ्नो सेवकाईमा भेटेका मानिसहरूलाई भजन ४६:१, ११ पढेर सुनाउँदै थिइन्‌। तिनले पहिला मानिसहरूलाई त्यस अकल्पनीय विपत्तिको कसरी सामना गरिरहेका छन्‌ भनी सोधिन्‌। तिनीहरूको जवाफ ध्यान दिएर सुनिन्‌ र पछि यसो भनिन्‌: “मलाई यस कठिन घडीमा सान्त्वना दिएको शास्त्रपद म तपाईंलाई पढेर सुनाउँ?” थोरैले मात्र इन्कार गरे र थुप्रै राम्रा छलफलहरू भए। जवान व्यक्‍तिहरूसित कुरा गर्दा सोही बहिनी अक्सर यसो भन्छिन्‌: “मैले बाइबलका कुराहरू सिकाएको ५० वर्ष भइसक्यो अनि तपाईंहरूलाई एउटा कुरा थाह छ? यो पुस्तकले समाधान गर्न नसक्ने एउटा पनि त्यस्तो समस्या मैले अहिलेसम्म पाएको छैन।” निष्कपट र उत्सुकतासाथ प्रस्तुत गर्दा हामीले मानिसहरूलाई आफूले परमेश्‍वरको वचनबाट सिकिरहेको कुराको मोल गर्नुका साथै प्रेम गर्छौं भनी देखाइरहेका हुन्छौं।—भजन ११९:९७, १०५.

९, १०. आफ्नो विश्‍वाससम्बन्धी प्रश्‍नहरूको जवाफ दिंदा बाइबल प्रयोग गर्नु किन महत्त्वपूर्ण छ?

९ मानिसहरूले हामीलाई हाम्रो विश्‍वासबारे प्रश्‍न गर्दा हामीले परमेश्‍वरको वचनलाई प्रेम गर्छौं भनी देखाउने अत्युत्तम मौका पाउँछौं। येशूको उदाहरण अनुसरण गर्दै हामी आफ्नै विचारहरूको आधारमा मात्र जवाफ दिदैनौं। (हितोपदेश ३:५, ६) बरु, जवाफ दिंदा हामी बाइबलको प्रयोग गर्छौं। के तपाईं अरूले सोधेका प्रश्‍नको जवाफ दिन नसकिएला भनेर डराउनुहुन्छ? तपाईंले चाल्न सक्नुहुने दुइटा सकारात्मक कदमलाई विचार गर्नुहोस्‌।

१० तयार हुन आफूले सकेजति गर्नुहोस्‌। प्रेरित पत्रुसले यस्तो लेखे: “ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान। तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार भइरहो।” (१ पत्रुस ३:१५) के तपाईं आफ्नो विश्‍वासको पक्षमा बोल्न तयार हुनुहुन्छ? उदाहरणका लागि, कसैले तपाईं किन कुनै गैरशास्त्रीय चलन वा परम्परामा भाग लिनुहुन्‍न भनी प्रश्‍न गर्दा, “यो मेरो धर्मको विपरीत हो” भनेर मात्र कुरा नटुंग्याउनुहोस्‌। त्यस्तो जवाफ दिंदा तपाईंको लागि अरूले निर्णय गरिदिएको र तपाईं कुनै गुटको सदस्य हुनुहुन्छ भन्‍ने भान पर्न सक्छ। त्यसकारण यसो भन्‍नु बेस हुन सक्छ, “परमेश्‍वरको वचन, बाइबलले निषेधित गर्छ” वा “यसले मेरो परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछ।” त्यसपछि उपयुक्‍त कारण पनि दिनुहोस्‌।—रोमी १२:१.

११. परमेश्‍वरको वचनका सत्य कुराहरूबारे जवाफ दिन कुन अनुसन्धान साधन लाभदायी हुन सक्छ?

११ तपाईंलाई आफू तयार छैन जस्तो लाग्छ भने रीजनिङ फ्रम द स्क्रिप्चर्स तपाईंको भाषामा उपलब्ध छ भने अध्ययन गर्न समय निकाले कसो होला?a मानिसहरूले अक्सर सोध्ने केही विषयहरू छान्‍नुहोस्‌ र केही धर्मशास्त्रीय बुँदाहरू सम्झनुहोस्‌। तपाईंको रीजनिङ पुस्तक र बाइबल सँगै राख्नुहोस्‌। त्यस प्रश्‍नको जवाफ खोज्न तपाईंसँग अनुसन्धान साधन छ भनेर बताउँदै ती दुवै पुस्तक चलाउन नहिचकिचाउनुहोस्‌।

१२. हामीलाई कुनै बाइबलसम्बन्धी प्रश्‍नको जवाफ आएन भने के भन्‍न सक्छौं?

१२ अनावश्‍यक रूपमा चिन्तित नहुनुहोस्‌। कोही पनि असिद्ध मानिससँग सबै प्रश्‍नको जवाफ हुँदैन। त्यसैले तपाईंलाई कुनै बाइबलसम्बन्धी प्रश्‍नको जवाफ थाह भएन भने सधैं यस्तो प्रकारको जवाफ दिन सक्नुहुन्छ: “यस्तो चाखलाग्दो प्रश्‍न सोध्नुभएकोमा धन्यवाद। माफ गर्नुस्‌, मलाई यस प्रश्‍नको जवाफ थाह भएन तर मलाई पक्का छ बाइबलमा यसको जवाफ छ। मलाई बाइबलमा थप अनुसन्धान गर्न रमाइलो लाग्छ र म तपाईंको यस प्रश्‍नको जवाफ दिनेछु।” नम्र भएर त्यस्तो स्पष्ट उत्तर दिंदा पछि छलफल गर्ने बाटो खुल्न सक्छ।—हितोपदेश ११:२.

हामीले सिकाउने मानिसहरूप्रति प्रेम

१३. हामीले प्रचार गर्ने मानिसहरूप्रति किन सकारात्मक मनोवृत्ति कायम राख्नुपर्छ?

१३ आफूले सिकाएका मानिसहरूप्रति येशूले प्रेम देखाउनुभयो। यस सन्दर्भमा हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं? आफू वरपरका मानिसहरूप्रति हामीले कहिल्यै भावशून्य मनोवृत्ति विकास गर्नु हुँदैन। हो, “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” झन्‌ झनै नजिकिंदै छ र करोडौं मानिसहरूको विनाश हुनेछ। (प्रकाश १६:१४; यर्मिया २५:३३) यद्यपि, हामीलाई को बाँच्नेछ र को मर्नेछ भनेर थाह छैन। यसको न्याय भविष्यमा हुनेछ र यो काम यहोवाले नियुक्‍त गर्नुभएको येशू ख्रीष्टले गर्नुहुनेछ। न्यायदण्ड नसुनाउन्जेल हामीले सबैलाई यहोवाको सम्भाव्य सेवक ठान्‍नुपर्छ।—मत्ती १९:२४-२६; २५:३१-३३; प्रेरित १७:३१.

१४. (क) हामी अरू मानिसहरूप्रति समानुभूतिशील छौं कि छैनौं भनेर कसरी जाँच्न सक्छौं? (ख) हामीले कसरी व्यावहारिक ढंगमा अरूप्रति समानुभूति र व्यक्‍तिगत चासो देखाउन सक्छौं?

१४ त्यसकारण, हामी येशूले जस्तै मानिसहरूप्रति समानुभूति देखाउने कोसिस गर्छौं। हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौं: ‘के म संसारको धर्म, राजनीति र व्यापारजगत्‌का धूर्त्याइँ र छलबाट ठगिएका मानिसहरू देखेर दयाले भरिन्छु? हामीले सुनाउने सन्देशप्रति तिनीहरू भावशून्य देखिन्छन्‌ भने, त्यस्तो प्रतिक्रिया देखाउनुको कारण के होला भनेर बुझ्ने कोसिस गरेको छु? अहिले विश्‍वासपूर्वक यहोवाको सेवा गरिरहेको म अनि अरू कतिपयले कुनै समय यस्तै महसुस गर्थे भनी के मैले सम्झेको छु? के मैले त्यसैअनुसार मेरो प्रस्तुतिमा छाँटकाँट गरेको छु? वा मैले यी मानिसहरू केही कामका छैनन्‌ भनी तिरस्कार गर्छु?’ (प्रकाश १२:९) मानिसहरूले हाम्रो साँचो समानुभूति महसुस गर्दा तिनीहरूले हाम्रो सन्देश सुन्‍ने सम्भावना बढी हुन्छ। (१ पत्रुस ३:८) समानुभूतिले हामीलाई सेवकाईमा भेट्‌ने मानिसहरूप्रति अझ बढी चासो लिन उत्प्रेरित गर्न सक्छ। हामीले तिनीहरूका प्रश्‍न तथा चिन्ताहरूको टिपोट लिन सक्छौं। तिनीहरूकहाँ फेरि जाँदा तिनीहरूले पहिलो भेटमा गरेका टिप्पणीहरूबारे बिर्सेका छैनौं भनेर देखाउन सक्छौं। अनि तिनीहरूलाई तुरुन्तै कुनै कुराको खाँचो परिरहेको छ भने हामी केही व्यावहारिक मदत दिन सक्छौं।

१५. हामीले किन मानिसहरूको असल पक्षमा ध्यान केन्द्रित गर्नुपर्छ र त्यसो कसरी गर्न सक्छौं?

१५ येशू जस्तै हामी पनि मानिसहरूको असल गुणमा ध्यान केन्द्रित गर्छौं। सायद एक्लो आमा वा बुबाले आफ्नो छोराछोरी हुर्काउन गरिरहेको प्रयास सराहनीय हुन सक्छ। एक जना मानिस आफ्नो परिवार पाल्न संघर्ष गरिरहेको होला। कुनै वृद्ध व्यक्‍तिले आध्यात्मिक कुराहरूमा चासो देखाउलान्‌। के हामीले भेट्‌ने मानिसहरूको त्यस्ता गुणहरूमा ध्यान केन्द्रित गरेर तिनीहरूको सराहना गर्छौं? त्यसो गर्दा, हामीले दुवैलाई चासो लाग्ने विषय भेट्टाउँछौं र राज्यबारे साक्षी दिने मौका खोल्न सक्छ।—प्रेरित २६:२, ३.

प्रेम देखाउन नम्रता अत्यावश्‍यक

१६. हामीले प्रचार गर्ने मानिसहरूतर्फ नम्र र शालीन हुनु किन महत्त्वपूर्ण छ?

१६ हामीले सिकाउने मानिसहरूप्रति प्रेमले हामीलाई बाइबलको बुद्धिमानी चेताउनी सुन्‍न उत्प्रेरित गर्छ: “ज्ञानले घमण्ड बढ़ाउँछ, तर प्रेमले उन्‍नति गराउँछ।” (१ कोरिन्थी ८:१) येशू अथाह ज्ञानको भण्डार हुनुहुन्थ्यो तैपनि उहाँले कहिल्यै घमण्ड गर्नुभएन। त्यसैले तपाईंले आफ्नो विश्‍वासबारे बताउँदा जोरी खोज्नेजस्तो स्वरमा नबोल्नुहोस्‌ वा आफू श्रेष्ठ भएजस्तो नगर्नुहोस्‌। हाम्रो उद्देश्‍य मानिसहरूको हृदयसम्म पुग्ने र सत्यप्रति तिनीहरूलाई आकर्षित गर्नु हो। (कलस्सी ४:६) स्मरण रहोस्‌, पत्रुसले मसीहीहरूलाई जवाफ दिन तयार रह भन्दा तिनले “नम्रता र डरसँग, सधैं तयार भइरहो” भनेर पनि सम्झाए। (१ पत्रुस ३:१५) हामी नम्र र शालीन छौं भने हामीले सेवा गर्ने परमेश्‍वरतर्फ मानिसहरू आकर्षित हुने सम्भावना धेरै हुन्छ।

१७, १८. (क) सेवकहरूको हैसियतमा हाम्रो योग्यताबारे अरूले आलोचना गर्दा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? (ख) बाइबल विद्यार्थीहरूले पुरातन बाइबलीय भाषाहरू किन जान्‍नैपर्छ भन्‍ने छैन?

१७ मानिसहरूलाई हाम्रो ज्ञान वा शिक्षाले प्रभाव जमाउनु आवश्‍यक छैन। यदि तपाईंको इलाकाका कोही-कोही मानिस विश्‍वविद्यालयबाट शिक्षा हासिल नगरेकाहरू कसैसँग पनि कुरा गर्न इन्कार गर्छन्‌ भने त्यस्तो मनोवृत्तिको कारण निरुत्साहित नहुनुहोस्‌। येशूले कुनै प्रतिष्ठित यहूदी पाठशालामा पढ्‌नुभएको छैन भनेर आपत्ति जनाइए तापनि त्यस्तो टिप्पणीको उहाँले वास्ता गर्नुभएन न त आफ्नो अथाह भण्डारले अरूमाथि प्रभुत्व जमाउने कोसिस नै गर्नुभयो।—यूहन्‍ना ७:१५.

१८ मसीही सेवकहरूको निम्ति सांसारिक शिक्षाभन्दा नम्रता र प्रेम धेरै महत्त्वपूर्ण छ। महान्‌ शिक्षक यहोवाले हामीलाई सेवकाईको लागि योग्य बनाउनुहुन्छ। (२ कोरिन्थी ३:५, ६) मसीहीजगत्‌का पादरीहरूले जेसुकै भने तापनि परमेश्‍वरको वचनको शिक्षक हुन हामीले पुरातन बाइबलीय भाषाहरू सिक्नु आवश्‍यक छैन। यहोवाले बाइबल स्पष्टसँग लेख्न प्रेरित गर्नुभयो जसले गर्दा यसका स्पष्ट अभिव्यक्‍तिहरूमा व्यक्‍त गरिएका अनमोल सत्य सबैले बुझ्न सक्छन्‌। सयौं भाषाहरूमा यसको अनुवाद भए तापनि यसका सत्य कुराहरू फेरबदल भएका छैनन्‌। त्यसैले पुरानो भाषाहरूको ज्ञान लाभदायक भए तापनि नभई नहुने कुरा चाहिं होइनन्‌। यसबाहेक, भाषिक योग्यतामा घमण्ड गर्दा साँचो मसीहीहरूमा नभई नहुने गुण अथवा सिक्न सक्ने योग्यता पनि गुमाउन सक्छौं।—१ तिमोथी ६:४.

१९. हाम्रो मसीही सेवकाई कुन अर्थमा सेवा हो?

१९ हाम्रो मसीही सेवकाईमा नम्र मनोवृत्ति हुनु जरुरी छ भन्‍नेबारे कुनै शंका छैन। हामी बारम्बार विरोध, भावशून्यता र सतावटको समेत सिकार हुन्छौं। (यूहन्‍ना १५:२०) यद्यपि, लगनशील भई आफ्नो सेवकाई पूरा गर्दा हामीले महत्त्वपूर्ण सेवा पुऱ्‍याइरहेका हुनेछौं। हामी नम्र भई यस कार्यमा अरूको सेवा गरिरहेका छौं भने हामीले मानिसहरूप्रति येशू ख्रीष्टले देखाउनुभएको प्रेमको अनुकरण गरिरहेका हुन्छौं। विचार गर्नुहोस्‌: हामीले एक जना भेडाखाले मानिसलाई भेट्टाउन हजारौं भावशून्य वा विरोधी मानिसहरूलाई प्रचार गर्नुपरे तापनि के त्यस्तो प्रयास निरर्थक साबित हुन्छ र? पक्कै हुँदैन! त्यसैले हरेस नखाई यस कार्यमा लागिरहँदा हामीले अहिलेसम्म भेट्टाउन नसकेको भेडाखाले व्यक्‍तिहरूको सेवा गरिरहेका हुनेछौं। अनि अन्त आउनुअघि अझ थुप्रै त्यस्ता अनमोल मानिसहरू भेट्टाएर मदत गर्न सकियोस्‌ भनेर यहोवा तथा येशूले सुनिश्‍चित गर्नुहुनेछ।—हाग्गै २:७.

२०. हामीले उदाहरणद्वारा सिकाउन सक्ने केही तरिकाहरू के हुन्‌?

२० अरूको सेवा गर्ने इच्छुकता देखाउने अर्को तरिका उदाहरणद्वारा सिकाएर हो। उदाहरणका लागि, हामी मानिसहरूलाई “आनन्दित परमेश्‍वर” यहोवाको सेवा गर्नु जीवनको सबैभन्दा उत्तम मार्ग हो भनी सिकाउन चाहन्छौं। (१ तिमोथी १:११, NW) हाम्रो आचरण र छिमेकी, सहपाठी, सहकर्मीसँगको हाम्रो व्यवहार देख्दा के हामी आनन्दित र सन्तुष्ट छौं भनी झल्कन्छ? त्यस्तै गरी हामीले बाइबल विद्यार्थीहरूलाई यस भावशून्य क्रूर संसारमा मसीही मण्डली भनेको प्रेमको थलो हो भनी सिकाउँछौं। के हाम्रा विद्यार्थीहरूले हामीले मण्डलीका सबैलाई प्रेम गर्नुका साथै आपसमा शान्ति कायम राख्न मेहनत गर्छौं भनी देख्न सक्छन्‌?—१ पत्रुस ४:८.

२१, २२. (क) हाम्रो सेवकाईको सन्दर्भमा आफैलाई जाँच्दा कस्ता मौकाहरूको फाइदा उठाउन सक्छौं? (ख) प्रहरीधरहरा-को आगामी अंकमा के छलफल गरिनेछ?

२१ हाम्रो सेवकाईप्रति इच्छुक मनोवृत्ति राख्दा कहिलेकाहीं आफैलाई जाँच्न उत्प्रेरित गर्न सक्छ। इमानदारपूर्वक त्यसो गर्दा थुप्रैले पूर्ण-समय सेवा वा आवश्‍यक बढी भएको ठाउँमा सरेर आफ्नो सेवा बढाउन सकेका छन्‌। अरूले चाहिं विदेशी भाषा सिकेर आफ्नै इलाकामा भएका आप्रवासी समुदायमा सेवा गर्ने निर्णय गरेका छन्‌। तपाईंसामु पनि त्यस्ता मौकाहरू छन्‌ भने प्रार्थनापूर्वक राम्ररी विचार गर्नुहोस्‌। सेवाको भावले जीवन बिताउँदा निकै आनन्द, सन्तुष्टि र मनोशान्ति पाउन सक्छौं।—उपदेशक ५:१२.

२२ हर तरिकामा हामीले सिकाउने सत्य र हामीले सिकाउने मानिसहरूप्रति प्रेम खेती गरेर येशू ख्रीष्टको अनुकरण गरिरहौं। यी दुई क्षेत्रमा प्रेम विकास गर्नुका साथै प्रेम प्रकट गर्दा ख्रीष्टजस्तै शिक्षकहरू बन्‍न राम्रो जग बसालिरहेका हुन्छौं। तर हामीले त्यो जग कसरी बलियो बनाउँदै लैजान सक्छौं? प्रहरीधरहरा-को आगामी अंकमा येशूले प्रयोग गर्नुभएका खास शिक्षण तरिकाहरूबारे छलफल गरिनेछ।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• शिक्षकको रूपमा येशूको उदाहरण हामीले अनुकरण गर्नै नसक्ने उच्च छैनन्‌ भनेर हामीले कस्तो आश्‍वासन पाउँछौं?

• हामीले बाइबलबाट सिकेको सत्य कुराहरूलाई प्रेम गर्छौं भनेर कसरी देखाउन सक्छौं?

• ज्ञानमा बढ्‌दै जाँदा नम्र रहिरहनु किन महत्त्वपूर्ण छ?

• हामीले सिकाउने प्रयास गरेका मानिसहरूलाई प्रेम देखाउन सक्ने केही तरिकाहरू के हुन्‌?

[पृष्ठ १६-मा भएका चित्रहरू]

तयार हुन आफूले सकेजति गर्नुहोस्‌

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

तपाईं “परमेश्‍वरको ज्ञान [लाई ]” अनमोल ठान्‍नुहुन्छ भने तपाईंले प्रभावकारी ढंगमा बाइबल चलाउन सक्नुहुन्छ

[पृष्ठ १८-मा भएको चित्र]

हामीले मानिसहरूप्रति प्रेम तिनीहरूलाई सुसमाचार बताएर देखाउछौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने