-
“बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ”प्रहरीधरहरा—१९९९ | नोभेम्बर १५
-
-
प्राचीन इस्राएलका बुद्धिमान् राजा सुलेमानले मायालु बुबाले जस्तै यसो भने: “हे मेरो छोरो, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने, बुद्धिका कुराहरू सुन्ने गरिस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, अन्तर्दृष्टिको लागि पुकार गरिस् र समझशक्ति पाउनलाई चर्को सोर पुकारिस् भने, यदि तैंले चाँदीझैं त्यसलाई खोजिस् र गाड़धनझैं त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस् र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।”—हितोपदेश २:१-५, नयाँ संशोधित संस्करण।
-
-
“बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ”प्रहरीधरहरा—१९९९ | नोभेम्बर १५
-
-
बुद्धिका कुराहरू सुन्यौं भने समझशक्ति र अन्तरदृष्टि प्राप्त गर्छौं। वेब्सटर्स रिभाइज्ड अनअब्रिज्ड डिक्शनरी-अनुसार समझशक्ति भनेको “वस्तु तथा विचारहरूबीचको भिन्नता बुझ्नसक्ने मानसिक शक्ति” हो। ईश्वरीय समझशक्ति भनेको सही र गलत छुट्ट्याएर सही मार्गमा चल्ने योग्यता हो। समझशक्तितिर ‘हाम्रो हृदय लगाएनौं’ वा त्यसलाई प्राप्त गर्न उत्सुक भएनौं भने, हामी ‘जीवनमा पुऱ्याउने बाटोमा’ कसरी हिंड्नसक्छौं र? (मत्ती ७:१४; तुलना गर्नुहोस् व्यवस्था ३०:१९, २०) परमेश्वरको वचन अध्ययन गर्नुका साथै व्यवहारमा उतार्नाले समझशक्ति पाइन्छ।
हामी “अन्तर्दृष्टिको लागि” अर्थात् एउटा विषयका विभिन्न पक्षहरू एकअर्कोसित अनि समष्टिगत रूपमा कसरी सम्बन्धित छन् भनेर बुझ्ने योग्यताको लागि कसरी ‘पुकारा गर्नसक्छौं’? निस्सन्देह, अनुभव र उमेरले समझशक्ति बढाउन मदत गर्नसक्छ तर बढाउँछ नै भन्नेचाहिं छैन। (अय्यूब १२:१२; ३२:६-१२) भजनरचयिताले यसो भने: “बूढ़ापाकाहरूले भन्दा म ज्यादै बुझ्दछु, किनभने मैले तपाईंका [यहोवाका] आदेशहरू पालन गरेको छु।” तिनले गाउँदै यसो पनि भने: “तपाईंको वचनको अर्थले ज्योति चम्काउँछ, त्यसले निर्बोध मानिसहरूलाई समझ दिन्छ।” (भजनसंग्रह ११९:१००, १३०) यहोवा “अति प्राचीन” हुनुहुन्छ अनि मानिसहरूको भन्दा उहाँको समझशक्ति सर्वोत्कृष्ट छ। (दानियल ७:१३) परमेश्वरले समझशक्ति दिएर अनुभवहीन व्यक्तिलाई वृद्धहरूभन्दा समझदार बनाउन सक्नुहुन्छ। त्यसकारण, परमेश्वरको वचन बाइबल अध्ययन गर्न र व्यवहारमा उतार्न हामीले कडा परिश्रम गर्नुपर्छ।
हितोपदेश दोस्रो अध्यायको सुरुका पदहरूमा “यदि तैंले” भन्ने वाक्यांश दोहऱ्याएपछि “ग्रहण गरिस्,” “मनभित्र राखिस्,” “पुकार गरिस्,” “चर्को सोरले पुकारिस्,” “खोजिस्” जस्ता अभिव्यक्तिहरू प्रयोग गरिएका छन्। लेखकले यस्ता गहकिला अभिव्यक्तिहरू किन प्रयोग गरे? एउटा पुस्तक यसो भन्छ: “ज्ञानीले यस पदमा बुद्धि खोज्न उत्सुक हुनुपर्छ भनेर जोड दिंदैछ।” हो, हामीले उत्सुकतासाथ बुद्धि र यससित सम्बन्धित गुणहरू अर्थात् समझशक्ति र अन्तरदृष्टि खोज्नैपर्छ।
-