अध्याय बाह्र
परिवारलाई हानि गर्ने समस्याहरूसित तपाईं विजयी हुन सक्नुहुन्छ
१. केही परिवारभित्र के कस्ता समस्याहरू लुकेका हुन्छन्?
पुरानो मोटरलाई भर्खर मात्र धोएर टिलिक्क टल्काएको छ। बाहिरबाट हेर्दा त्यो नयाँजस्तै चमचम चम्कन्छ। तर भित्रपट्टि भने खिया लागेको छ। यस्तै छन् केही परिवारहरू। बाहिरबाट हेर्दा सबै ठीक देखिन्छ। तर हँसिला अनुहारपछाडि डर तथा पीडा लुकेको हुन्छ। घरको चार भित्ताभित्र विनाशक तत्त्वहरूले पारिवारिक शान्तिलाई खियाइरहेको हुन्छ। यसका दुइटा खास कारणहरू अक्सर मद्यव्यसन तथा हिंसा हुन्।
मद्यव्यसनले गर्दा हुने हानि
२. (क) मद्यको प्रयोगबारे बाइबलको के दृष्टिकोण छ? (ख) मद्यव्यसन के हो?
२ सीमित मात्रामा मद्यपान गर्नु बाइबलमा निषेधित छैन। तर मद्यव्यसन भने निषेधित छ। (हितोपदेश २३:२०, २१; १ कोरिन्थी ६:९, १०; १ तिमोथी ५:२३; तितस २:२, ३) तर मद्यव्यसन मतवालापन मात्र होइन; मद्यव्यसनको अर्थ मद्यमा लग्गू हुनु हो। चाहिंदोभन्दा बढी पिएर मात्तिनु हो। मद्यव्यसनी वयस्कहरू हुनसक्छन्। तर दुःखको कुरा, युवायुवतीहरू पनि यसका शिकार भएका छन्।
३, ४. मद्यव्यसनीकी पत्नी तथा छोराछोरीमाथि मद्यव्यसनको कस्तो असर पर्छ, व्याख्या गर्नुहोस्।
३ मद्यको दुरुपयोगले पारिवारिक शान्ति भंग हुनसक्छ भनी बाइबलमा धेरैअघि भनिएको थियो। (व्यवस्था २१:१८-२१) मद्यव्यसनको विकृत असर परिवारमा सबैमाथि पर्छ। मद्यव्यसनीकी पत्नीको ध्यान दिनरात पतिलाई रोक्न अथवा उसको अनियमित व्यवहारसित डट्न मै जान्छ।a उसले रक्सी लुकाउन, फालिदिन तथा पतिको पैसा लुकाउन खोज्छे। उसले पतिमा परिवारका लागि, आफ्नो लागि तथा परमेश्वरका लागि प्रेम जगाउन खोज्छे। तर सबै व्यर्थ। ऊ पिउन छाड्दैन। अनि पत्नी पनि आफ्नो सबै प्रयास बारम्बार असफल भएको देखेर विचलित हुन्छे। ऊ आफ्नै असमर्थतालाई दोष दिन्छे। ऊ डर, क्रोध, दोषी भावना, चिन्ता र आत्मसम्मानको अभावको बोझमा पिसिन थाल्छे।
४ आमाबाबु मद्यव्यसनी हुँदा यसको असर छोराछोरीमाथि पनि पर्छ। तिनीहरूले पनि कुटपिट तथा यौन दुर्व्यवहार भोग्नसक्छन्। कतिले चाहिं आमा वा बुबा मद्यव्यसनी भएकोमा आफैलाई दोषी ठान्नसक्छन्। मद्यव्यसनीको अनियमित व्यवहारले गर्दा अक्सर छोराछोरी अरूमाथि भरोसा गर्न असमर्थ हुन्छन्। घरमा भइरहेको कुरा अरूलाई भन्न नसकेर तिनीहरूले आफ्ना भावनाहरू मनैमन दबाउन थाल्छन्। तर यसो गर्नु शरीरका लागि हानिकारक हुन्छ। (हितोपदेश १७:२२) यस्तो आत्मविश्वास अथवा आत्मसम्मानको अभावले गर्दा छोराछोरी वयस्क होऊञ्जेल पीडित हुनसक्छन्।
परिवारले के गर्नसक्छ?
५. मद्यव्यसनलाई कसरी वशमा ल्याउन सकिन्छ तर यसो गर्न किन गाह्रो हुन्छ?
५ धेरै विशेषज्ञहरूअनुसार मद्यव्यसन निको हुने कुरा होइन। तापनि मद्यदेखि पूर्णतः अलग बस्न सकेमा चाहिं केही हदसम्म निको हुने सम्भावना छ भन्छन्। (तुलना गर्नुहोस् मत्ती ५:२९) तथापि, भन्ने बित्तिकै मद्यव्यसनी हाम्रो कुरा मान्न तयार हुँदैन। ऊ प्रथमतः आफ्नो समस्या नै स्वीकार्न तयार हुँदैन। तर परिवारका सदस्यहरूले उसको मद्यव्यसनको प्रभावसित डट्ने कदम चाल्दा चाहिं उसलाई आफ्नो कुलतको चेतना हुनसक्छ। मद्यव्यसनी तथा उसको परिवारलाई मदत दिनमा अनुभवप्राप्त एक चिकित्सकले यसो भने: “मेरो विचारमा परिवारका सबै सदस्यहरू आ-आफ्नो दैनिक काममा यथाशक्य लाभदायक रीतिले लागिरहनु बेस हो। यसो गर्दा आफू र अरूबीचको ठूलो भिन्नता देखेर मद्यव्यसनी झस्किनसक्छ।”
६. मद्यव्यसनी सदस्य भएको परिवारले सबैभन्दा उत्तम सल्लाह कहाँबाट पाउनसक्छ?
६ तपाईंको परिवारमा पनि कोही मद्यव्यसनी छ भने तपाईंले बाइबलको प्रेरित सल्लाहलाई प्रयोगमा ल्याउनुहोस्। यसबाट तपाईंले सकेसम्म स्वास्थ्यकर जीवन बिताउने मदत पाउनुहुनेछ। (यशैया ४८:१७; २ तिमोथी ३:१६, १७) निम्नलिखित केही सिद्धान्तहरू विचार गर्नुहोस् जसबाट परिवारहरूले मद्यव्यसनजस्तो समस्याको सफलतापूर्वक सामना गर्ने मदत पाएका छन्।
७. परिवारको एक जना सदस्य मद्यव्यसनी भएको छ भने, यसका लागि जिम्मेवार को हो?
७ जम्मै दोष आफूमाथि नथोपर्नुहोस्। बाइबलअनुसार “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ” तथा “हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।” (गलाती ६:५; रोमी १४:१२) तर मद्यव्यसनीले परिवारका सदस्यहरूमाथि दोष थोपर्न खोज्ला। उदाहरणका लागि, उसले भन्ला: “तिमीहरूले मसित अलिक राम्रो व्यवहार गरेको भए म पिउने नै थिइनँ।” यसमा अरूले सहमति जनाउनु उसलाई अझ पिउने प्रोत्साहन दिनु हो। आफू जस्तोसुकै परिस्थिति वा मद्यव्यसनीलगायत जोसुकै व्यक्तिको शिकार भए तापनि हामी सबै आफूले गरेको कामका लागि आफै जिम्मेवार हुन्छौं।—तुलना गर्नुहोस् फिलिप्पी २:१२.
८. मद्यव्यसनीलाई आफ्नो कुलतको परिणामसित डट्न मदत दिने केही तरिका के के हुन्?
८ मद्यव्यसनीलाई उसको मद्यव्यसनको परिणाम अक्सर भोग्न दिनुहोस्। क्रोध गर्ने मानिसबारे बाइबलको यो उखान मद्यव्यसनीमा पनि लागू हुनसक्छ: “त्यसलाई जोगाउने चेष्टा गरे झन् खराबी हुन्छ।” (हितोपदेश १९:१९) मद्यव्यसनीलाई आफ्नो पिउने बानीको खराब परिणाम भोग्न लगाउनुहोस्। उसले गरेको फोहर ऊ आफैलाई सफा गर्न दिनुहोस्। अथवा भोलिपल्ट अफिसमा हाकिमलाई फोन गरेर उसको स्पष्टीकरण उसैलाई दिन लाउनुहोस्।
मसीही प्राचीनहरूले पारिवारिक समस्याहरू समाधान गर्न धेरै मदत दिनसक्छन्
९, १०. मद्यव्यसनीहरूका परिवारहरूले बाह्य मदत किन स्वीकार्नुपर्छ र तिनीहरूले विशेषतः कसको सहायता लिनुपर्छ?
९ अरूबाट मदत लिनुहोस्। हितोपदेश १७:१७ भन्छ: “मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाज्यू-भाइ चाहिं दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।” परिवारमा मद्यव्यसनी हुनु दुःखको कुरा हो। तपाईंलाई सहायताको खाँचो छ। यस्तो बेलामा साँचो ‘मित्रहरूबाट’ मदत लिन नहिचकिचाउनुहोस्। (हितोपदेश १८:२४) तपाईंको समस्या बुझ्ने वा तपाईंको जस्तै परिस्थितिको सामना गरिसकेका व्यक्तिहरूसित कुरा गर्नुहोस्। यस्तो हुँदा के गर्नुपर्छ वा के गर्नु हुँदैन, त्यसबारे तिनीहरूले तपाईंलाई व्यवहारिक सुझाउ दिनसक्छन्। तर सन्तुलन नगुमाउनुहोस्। आफूले भरोसा गर्नसक्ने अथवा तपाईंको “गुप्त कुरा[लाई]” गुप्त राख्नेहरूसित मात्र कुरा गर्नुहोस्।—हितोपदेश ११:१३.
१० मसीही प्राचीनहरूमाथि भरोसा गर्न सिक्नुहोस्। मसीही मण्डलीका प्राचीनहरू ठूलो मदतका स्रोत हुनसक्छन्। यी परिपक्व पुरुषहरूले परमेश्वरको वचन जानेका हुन्छन् र त्यसका सिद्धान्तहरू प्रयोग गर्ने क्षेत्रमा तिनीहरू पोख्त हुन्छन्। त्यसका सिद्धान्तहरूको प्रयोग गर्ने प्रशिक्षण तिनीहरूले पाएका हुन्छन्। तिनीहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी बेह्रीबाट आड लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” हुनसक्छन्। (यशैया ३२:२) मसीही प्राचीनहरूले मण्डलीलाई हानिकारक प्रभावहरूबाट बचाउने मात्र गर्दैनन् तर समस्याग्रस्त मानिसहरूमा व्यक्तिगत चासो पनि लिन्छन्, सान्त्वना तथा स्फूर्ति प्रदान गर्छन्। अतः तिनीहरूले दिने सहायताको भरपूर फायदा उठाउनुहोस्।
११, १२. मद्यव्यसनीहरूका परिवारहरूका लागि सबैभन्दा ठूलो मदत कसले दिनसक्छ र यो मदत कसरी उपलब्ध हुन्छ?
११ तर सबैभन्दा बढी, यहोवाबाट बल लिनुहोस्। बाइबलमा हामी यो न्यानो आश्वासन पाउँछौं: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) परिवारमा एक जना सदस्य मद्यव्यसनी छ भने तपाईंले अनेक दबाब तथा तनाउ अनुभव गर्नुपर्छ। यसले गर्दा तपाईंको मन रोएको छ भने, नबिर्सनुहोस् “यहोवा नजीक हुनुहुन्छ।” तपाईंको परिवारको कठिनाइ उहाँ बुझ्नुहुन्छ।—१ पत्रुस ५:६, ७.
१२ यहोवाले उहाँको वचनमा भन्नुभएका कुराहरूमाथि विश्वास गर्दा तपाईंलाई चिन्ताको सामना गर्न सजिलो हुनेछ। (भजन १३०:३, ४; मत्ती ६:२५-३४; १ यूहन्ना ३:१९, २०) परमेश्वरको वचन अध्ययन गर्दा तथा त्यसमा भएका सिद्धान्तअनुरूप जीवन बिताउँदा तपाईंले आफ्नो जीवनमा परमेश्वरको पवित्र आत्मालाई प्रवेश गर्न दिनुहुन्छ। अनि यसबाट तपाईंले दिन प्रतिदिन डट्ने “[असामान्य, NW] शक्ति” पाउनुहुनेछ।—२ कोरिन्थी ४:७.b
१३. थुप्रै परिवारहरूलाई हानि पुऱ्याउने एउटा अर्को समस्या के हो?
१३ मद्यव्यसनबाट परिवारलाई हानि पुऱ्याउने एउटा अर्को समस्या उठ्नसक्छ र त्यो हो घरेलु हिंसा।
घरेलु हिंसाबाट हुने हानि
१४. घरेलु हिंसाको आरम्भ कसरी भयो र आज स्थिति कस्तो छ?
१४ मानव इतिहासको सबैभन्दा प्रथम हिंस्रक कार्य दाजुभाइ, कयिन र हाबिलबीच भएको घरेलु हिंसा थियो। (उत्पत्ति ४:८) त्यस बेलादेखि मानिसजाति हरप्रकारको घरेलु हिंसाबाट पीडित भएको छ। पत्नीलाई कुट्ने पतिहरू छन्, पतिमाथि हात उठाउने पत्नीहरू छन्, छोराछोरीलाई क्रूरतासाथ पिट्ने आमाबाबु छन् र वृद्ध आमाबाबुसित घोर दुर्व्यवहार गर्ने वयस्क छोराछोरी छन्।
१५. घरेलु हिंसाले गर्दा परिवारका सदस्यहरूमाथि कस्तो भावनात्मक चोट पर्छ?
१५ घरेलु हिंसाबाट पर्ने चोट शारीरिक चोटभन्दा धेरै गहिरो हुन्छ। पिटाइ खाइरहने एउटी पत्नीले यसो भनिन्: “दोषी भावना तथा लाजको भार बोक्नुपर्छ। हिजोको त्यो कुटपिटलाई डरलाग्दो सपना सम्झेर अक्सर बिहान ओछ्यानमै बसिरहन मन पर्छ।” घरेलु हिंसा देख्ने अथवा अनुभव गर्ने केटाकेटीहरू ठूलो भएर सम्भवतः आफ्नै परिवारसित हिंस्रक हुनसक्छन्।
१६, १७. भावनात्मक दुर्व्यवहार के हो र परिवारका सदस्यहरूमाथि यसको के असर पर्छ?
१६ घरेलु हिंसाको अर्थ शारीरिक दुर्व्यवहार मात्र होइन। यसमा अक्सर मौखिक प्रहार पनि सम्मिलित हुन्छ। हितोपदेश १२:१८ भन्छ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” घरेलु हिंसामा प्रयोग हुने “तीखो” बोलीमा अक्सर गाली, चर्को स्वर, आलोचनाको बमवर्षा, अपमानजनक टिप्पणी र शारीरिक हिंसाको धम्की समावेश छन्। भावनात्मक हिंसाको चोट अदृश्य हुन्छ र त्यो अक्सर अरूले देख्दैन।
१७ धेरै दुःखलाग्दो चाहिं बच्चाको बारम्बार आलोचना गर्नु, उसको योग्यता, क्षमता तथा महत्त्वलाई होच्याउनु अर्थात् उसका भावनाहरूलाई प्रहार गर्नु हो। यस्तो मौखिक दुर्व्यवहारले बच्चाको आत्मविश्वासलाई खतम पार्नसक्छ। हो, सबै केटाकेटीहरूलाई अनुशासन चाहिन्छ। तर बाइबलमा बुबाहरूलाई यो निर्देशन दिइएको छ: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ।”—कलस्सी ३:२१.
घरेलु हिंसा कसरी रोक्ने
आपसमा प्रेम र आदर गर्ने मसीही दम्पतीले कठिनाइहरू उत्पन्न हुने बित्तिकै समाधान गर्नेछन्
१८. घरेलु हिंसा कहाँबाट सुरु हुन्छ र बाइबलअनुसार यसलाई रोक्ने सबैभन्दा उत्तम उपाय के हो?
१८ घरेलु हिंसाको सुरु हृदय तथा मनबाट हुन्छ; हामी जस्तो सोच्छौं, त्यस्तै काम पनि गर्छौं। (याकूब १:१४, १५) हिंस्रक व्यवहार रोक्न प्रथमतः आफ्नो सोचाइमा परिवर्तन ल्याउनुपर्छ। (रोमी १२:२) तर के यसो गर्नु सम्भव छ? छ। परमेश्वरको वचनमा मानिसहरूलाई बद्लने शक्ति छ। जरा गाडेर बसेका “शक्तिमान” तथा विनाशक दृष्टिकोणहरूलाई समेत परमेश्वरको वचनले उल्टाउनसक्छ। (२ कोरिन्थी १०:४; हिब्रू ४:१२) बाइबलको सही ज्ञानद्वारा कुनै पनि व्यक्तिको सोचाइ पूर्णतः परिवर्तित हुनसक्ने भएकोले त्यसलाई नयाँ व्यक्तित्व धारण गरेको पनि भनिन्छ।—एफिसी ४:२२-२४; कलस्सी ३:८-१०.
१९. एक जना मसीहीले आफ्नो पति वा पत्नीलाई कुन दृष्टिले हेर्नु तथा व्यवहार गर्नुपर्छ?
१९ पति-पत्नीप्रतिको दृष्टिकोण। परमेश्वरको वचन भन्छ: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।” (एफिसी ५:२८) बाइबलमा पतिले पत्नीलाई “निर्बल पात्रलाई जस्तो . . . आदर” दिनू पनि भनिएको छ। (१ पत्रुस ३:७) पत्नीहरूलाई चाहिं “आफ्ना आफ्ना पतिलाई स्नेह गर्न” र तिनीहरूको “डर” मान्न आग्रह गरिएको छ। (तितस २:४; एफिसी ५:३३) अतः कुनै पनि ईश्वरभीरु पतिले आफ्नी पत्नीसित शारीरिक तथा मौखिक दुर्व्यवहार गर्दै पत्नीलाई माया गर्ने दाबी गर्नसक्दैन। साथै, पतिसित चर्को स्वरमा बोल्ने, व्यंग्यात्मक भाषा प्रयोग गर्ने वा बारम्बार गाली गर्ने पत्नीले पनि आफ्नो पतिलाई प्रेम तथा आदर गरेको दाबी गर्नसक्दैन।
२०. छोराछोरीका लागि आमाबाबु कसको सामु जिम्मेवार छन् र उनीहरूले छोराछोरीबाट चाहिंदोभन्दा बढी आशा किन गर्नु हुँदैन?
२० छोराछोरीप्रतिको दृष्टिकोण। छोराछोरीले आमाबाबुको प्रेम तथा रेखदेख पाउनुपर्छ। तिनीहरूलाई यसको खाँचो छ। परमेश्वरको वचनअनुसार छोराछोरी यहोवाले दिनुभएको “हक” तथा “इनाम” हुन्। (भजन १२७:३) त्यो हकको रेखदेख गर्ने जिम्मेवारी आमाबाबुले यहोवाको सामु वहन गर्नैपर्छ। बाइबलमा “केटा-केटीको कुरो” तथा “बालकको . . . मूर्खता” बारे चर्चा गरिएको छ। (१ कोरिन्थी १३:११; हितोपदेश २२:१५) अतः छोराछोरीको मूर्खता देखेर आमाबाबु छक्क पर्नु हुँदैन। केटाकेटीहरू वयस्क होइनन्। तिनीहरूको उमेर, पारिवारिक पृष्ठभूमि तथा क्षमतालाई ध्यानमा राखेर आमाबाबुले छोराछोरीबाट आवश्यकताभन्दा बढी आशा गर्नु हुँदैन।—हेर्नुहोस् उत्पत्ति ३३:१२-१४.
२१. वृद्ध आमाबाबुप्रति अपनाउनु अनि गर्नुपर्ने व्यवहारको ईश्वरीय दृष्टिकोण के हो?
२१ वृद्ध आमाबाबुप्रतिको दृष्टिकोण। लेवी १९:३२ भन्छ: “बूढा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर।” यसप्रकार परमेश्वरको व्यवस्थामा वृद्धहरूको आदर तथा मान गर्न प्रोत्साहित गरिन्थ्यो। तर यसो गर्नु कहिलेकाहीं सजिलो हुँदैन। किनकि केही वृद्ध आमा वा बुबाले अचाक्ली माग गर्नसक्छन् अथवा रोगको कारण उनीहरू चाँडचाँडो चलहल गर्न अथवा सोच्न सक्दैनन्। तापनि छोराछोरीलाई “आफ्ना माता-पितालाई प्रत्युपकारको साटो तिर्न” आग्रह गरिएको छ। (१ तिमोथी ५:४) यो आग्रह पालन गर्नुको अर्थ आमाबाबुसित मानमर्यादासहित आदरपूर्ण व्यवहार गर्नु हो। उनीहरूलाई चाहिंदो आर्थिक सहयोगसमेत दिनु हो। वृद्ध आमाबाबुसित शारीरिक अथवा मौखिक दुर्व्यवहार गर्दा बाइबलमा उल्लिखित निर्देशनको सरासर उल्लंघन हुन्छ।
२२. घरेलु हिंसालाई दबाउने मुख्य गुन के हो र त्यसको प्रयोग कसरी गर्न सकिन्छ?
२२ आत्मसंयम विकास गर्नुहोस्। हितोपदेश २९:११ भन्छ: “मूर्ख मानिसले रीस पोखाउँछ, तर बुद्धिमान मानिसले पर्खेर त्यो शान्त हुनदिन्छ।” तपाईं आफ्नो रीस कसरी थाम्न सक्नुहुन्छ? भित्रभित्रै असन्तोष बढ्न दिनुभन्दा समस्यालाई तुरुन्तै समाधान गर्ने कोसिस गर्नुहोस्। (एफिसी ४:२६, २७) रीसलाई वशमा राख्न असमर्थ हुनुहुँदैछ भने झगडास्थलबाट गइहाल्नुहोस्। आत्मसंयमको खेती गर्न परमेश्वरसित पवित्र आत्मा माग्नुहोस्। (गलाती ५:२२, २३) टहल्दा अथवा कुनै प्रकारको शारीरिक व्यायाम गर्दा पनि भावनाहरू वशमा राख्न सकिन्छ। (हितोपदेश १७:१४, २७) “झ्वाट्टै रीस” नगर्ने प्रयास गर्नुहोस्।—हितोपदेश १४:२९.
छुट्टिने वा सँगै रहने?
२३. मसीही मण्डलीको कुनै सदस्यले बारम्बार र पश्चात्तापको भावबिना चर्को तथा हिंस्रक रीतिले रीस पोखाउँछ अथवा परिवारका सदस्यहरूलाई कुटपिट गर्छ भने, उसलाई के हुनसक्छ?
२३ बाइबलमा परमेश्वरले निन्दा गर्नुहुने कार्यहरूमध्ये “दुश्मनी, झैंझगडा, . . . क्रोध” हुन् र “जस जसले यसता कामहरू गर्दछन् परमेश्वरको राज्यका हकवाला हुनेछैनन्।” (गलाती ५:१९-२१) अतः, मसीही हुने दाबी गर्दै बारम्बार अचाक्ली क्रोधित तथा हिंस्रक हुने, आफ्नो पति, पत्नी वा छोराछोरीलाई कुटपिट गर्ने र पश्चात्ताप पनि नगर्ने व्यक्तिलाई मसीही मण्डलीबाट बहिष्कृत गर्न सकिन्छ। (तुलना गर्नुहोस् २ यूहन्ना ९, १०) यसप्रकार दुर्व्यवहार गर्ने व्यक्तिहरूको कुप्रभावबाट बचेर मण्डली स्वच्छ रहन्छ।—१ कोरिन्थी ५:६, ७; गलाती ५:९.
२४. (क) दुर्व्यवहार भोग्ने पति वा पत्नीहरूले के कस्तो कदम चाल्ने फैसला गर्नसक्छन्? (ख) शुभेच्छुक मित्र तथा प्राचीनहरूले दुर्व्यवहार भोगिरहेको पति वा पत्नीलाई कसरी मदत दिनसक्छन् तर तिनीहरूले के चाहिं गर्नु हुँदैन?
२४ तर परिवर्तन हुन नखोज्ने दुर्व्यवहारी पति वा पत्नीको हातबाट हालै कडा दुर्व्यवहार भोग्ने मसीहीहरूबारे के भन्ने? यस्ता केही मसीहीहरूले कुनै न कुनै कारणवश आफ्नो दुर्व्यवहारी पति वा पत्नीसितै बस्ने फैसला गरेका छन्। केहीलाई चाहिं आफ्नो शारीरिक तथा मानसिक भलाइ, आध्यात्मिकता अथवा ज्यान नै खतरामा परेको लागेर दुर्व्यवहारी पति वा पत्नीबाट अलग हुने निर्णय लिएका छन्। घरेलु हिंसाको शिकार हुनेले यस्तो परिस्थितिमा यहोवाको सामु जे गर्ने फैसला गर्छ, त्यो उसको व्यक्तिगत निर्णय हो। (१ कोरिन्थी ७:१०, ११) शुभेच्छुक मित्र, नातेदार अथवा मसीही प्राचीनहरूले मदत र सल्लाह दिनसक्छन्। तर तिनीहरूले कुनै कदम चाल्ने दबाब चाहिं दिनु हुँदैन। त्यो फैसला ऊ आफैले गर्नुपर्छ।—रोमी १४:४; गलाती ६:५.
हानिकारक समस्याहरूको अन्त
२५. परिवारका लागि यहोवाको उद्देश्य के हो?
२५ यहोवाले आदम र हव्वाको विवाह गरिदिनुहुँदा परिवारहरू मद्यव्यसन अथवा हिंसाजस्ता हानिकारक समस्याहरूको शिकार होस् भन्ने उहाँको इच्छा थिएन। (एफिसी ३:१४, १५) बरु परिवारमा प्रेम र शान्ति फस्टाउनुपर्ने थियो। त्यहाँ हरेक सदस्यको मानसिक, भावनात्मक र आध्यात्मिक आवश्यकताहरू पूरा हुनुपर्ने थियो। तर पापको प्रवेशपछि चाँडै पारिवारिक जीवनको विकृत रूप देखिन थाल्यो।—तुलना गर्नुहोस् उपदेशक ८:९.
२६. यहोवाको आवश्यकताहरूअनुरूप जीवन बिताउन खोज्नेहरूले कस्तो भविष्यको प्रतीक्षा गर्नसक्छन्?
२६ तर खुशीको कुरा, यहोवाले परिवारका लागि आफ्नो उद्देश्य त्याग्नुभएको छैन। उहाँले एउटा नयाँ शान्तिमय संसार स्थापित गर्ने प्रतिज्ञा गर्नुभएको छ जहाँ मानिसहरू “भयहीन भएर बस्ने छन् [र] तिनीहरूलाई झस्काउने कोही हुनेछैन।” (इजकिएल ३४:२८) त्यतिखेर मद्यव्यसन, घरेलु हिंसा तथा आज परिवारहरूलाई हानि गर्ने समस्याहरू सबै बितिसकेका हुनेछन्। मानिसहरूले आफ्नो मुस्कानपछाडि डर र वेदना लुकाउनेछैनन्। तिनीहरूले “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:११.
a हामीले मद्यव्यसनीलाई पुरुष भनेर सम्बोधन गरेका छौं। तर स्त्री मद्यव्यसनी हुँदा पनि यहाँ उल्लिखित सिद्धान्तहरू नै लागू हुन्छन्।
b कुनै कुनै देशमा मद्यव्यसनी तथा तिनका परिवारहरूलाई विशेष मदत दिने उपचार केन्द्र, अस्पताल तथा कार्यक्रम हुन्छन्। यस्ता ठाउँहरूबाट मदत लिनु नलिनु व्यक्तिगत फैसलामा भर गर्छ। वाचटावर सोसाइटीले कुनै पनि उपचारको सिफारिश गर्दैन। तथापि, यस्तो मदत लिंदा धर्मशास्त्रीय सिद्धान्तहरू उल्लंघन हुने गतिविधिहरूदेखि सतर्क बस्नुपर्छ।