प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ३/१५ pp. २६-३०
  • ‘सत्य बोल्ने ओठ सधैं स्थिर रहन्छ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘सत्य बोल्ने ओठ सधैं स्थिर रहन्छ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘पासोमा पार्ने झूटो कुरा’
  • ‘परिपूर्ण पार्ने फल’
  • ‘निको पार्ने बोली’
  • ‘सधैं स्थिर रहने ओठ’
  • ‘आफ्नो बुद्धि प्रकट नगर्ने बोली’
  • ‘आनन्दित तुल्याउने वचन’
  • इनामदायी बाटो
  • ‘धार्मिकताको बाटोमा’ हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “सोझो मानिसको घरको फलिफाप हुनेछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “बुद्धिमान मानिसको अर्ती” जीवनको मूल हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ३/१५ pp. २६-३०

‘सत्य बोल्ने ओठ सधैं स्थिर रहन्छ’

जसरी आगोको सानो झिल्काले पूरै जंगललाई स्वाहा पार्न सक्छ, त्यस्तै गरी ओठले पनि मानिसको सम्पूर्ण जीवनै खत्तम पार्न सक्छ। यो भयंकर विषले भरिएको वा “जीवनको सहारा” हुन सक्छ। (हितोपदेश १५:४) यसमा जीवन र मृत्युको शक्‍ति हुन्छ। (हितोपदेश १८:२१) यस्तो शक्‍ति भएको यो सानो अंग, हाम्रो जिब्रोले सारा शरीरभरि कलंक लगाउन सक्छ। (याकूब ३:५-९) त्यसैकारण जथाभावी जिब्रो नचलाउनु नै बुद्धिमानी हो।

बाइबल पुस्तक, हितोपदेशको १२ औं अध्यायको दोस्रो भागमा पुरातन इस्राएलका राजा सुलेमान हाम्रो जिब्रोलाई सही ढंगमा चलाउन मदत गर्ने मूल्यवान्‌ सल्लाह दिन्छन्‌। बुद्धिमान्‌ राजाले भनेका छोटा तर अर्थपूर्ण उखानहरूले के देखाउँछ भने, मानिसको वचनले अरूलाई असर गर्नुका साथै बोल्ने व्यक्‍तिका गुणहरू पनि प्रकट गर्छ। आफ्नो ‘ओठको ढोकालाई रक्षा गर्न’ चाहने सबैको लागि सुलेमानको प्रेरित सल्लाह अपरिहार्य छ।—भजन १४१:३.

‘पासोमा पार्ने झूटो कुरा’

सुलेमान यसो भन्छन्‌: “दुष्ट मानिस आफ्नै झूटा कुराले पक्राउ पर्छ, तर धर्मी चाहिँ दुःखबाट पनि कुशलसित निस्कनसक्छ।” (हितोपदेश १२:१३) झूटो बोल्नु भनेको ओठको दुरुपयोग गर्नु हो र झूटो बोल्ने बानी बसालेका व्यक्‍तिको लागि त्यो प्राणघातक पासो साबित हुन्छ। (प्रकाश २१:८) दण्डबाट उम्कने वा अप्रिय परिस्थितिबाट बच्ने सजिलो तरिका बेइमानी गर्नु हो जस्तो लाग्न सक्छ। तर के एउटा झूटो कुरा लुकाउन सयौं झूट बोल्नु पर्दैन र? जसरी सानो रकम बाजी थापेर जूवा खेल्ने एक जना व्यक्‍ति धेरै जित्ने लोभमा तानिन्छ र हारेको पैसा पुनः प्राप्त गर्ने धुनमा धेरै रकम बाजी थाप्दै जान्छ, त्यस्तै गरी झूटो बोल्ने व्यक्‍तिले पनि चाँडै आफूलाई दुष्परिणामको चक्रभित्र जकडिएको पाउँछ।

झूटो कुराले अरू तरिकामा पनि पासोमा पार्छ अर्थात्‌ अरूसित झूटो कुरा गर्ने व्यक्‍तिले वास्तवमा आफैसित झूटो बोलिरहेको हुन सक्छ। उदाहरणका लागि, झूटो बोल्ने व्यक्‍तिलाई आफू निकै चतुर र बुद्धिमान्‌ छु जस्तो लाग्न सक्छ तर वास्तवमा तिनलाई खासै केही कुराको ज्ञान हुँदैन। फलतः त्यसले एकपछि अर्को झूट बोल्दै जान्छ। साँच्चै, “त्यसको अधर्म फेला नपरोस्‌ र घृणित नठहरियोस्‌ भनेर त्यसले आफ्नो मनमा खुशामदका कुरा विचार गर्छ।” (भजन ३६:२) यसकारण, झूटो बोल्नु कत्ति खतरनाक रहेछ! अर्कोतर्फ, धर्मी मानिस यस्तो अप्ठ्यारो अवस्थामा पर्दैन। आफू कष्टमा पर्दासमेत उसले झूट बोल्दैन।

‘परिपूर्ण पार्ने फल’

प्रेरित पावल यस्तो चेतावनी दिन्छन्‌: “धोकामा नपर, परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) यो सिद्धान्त निश्‍चय हाम्रो बोली तथा काममा लागू हुन्छ। सुलेमान यसो भन्छन्‌: “मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्छ, आफ्नो हातका कामको इनाम त्यसले निश्‍चय नै पाउनेछ।”—हितोपदेश १२:१४, नयाँ संशोधित संस्करण।

“ज्ञानको कुरा” गर्ने ओठले परिपूर्ण पार्ने फल फलाउँछ। (भजन ३७:३०) बुद्धिको लागि ज्ञान हुनु जरुरी छ र कुनै पनि मानिससित सबै ज्ञानको भण्डार छैन। सबैले उत्तम सल्लाहलाई सुनेर त्यसमा ध्यान दिनु आवश्‍यक छ। “मूर्ख मानिसले आफू सधैं ठीक छु भनी सम्झन्छ, तर बुद्धिमान मानिसले अरूको सल्लाहलाई सुन्छ” भनी इस्राएलका राजा बताउँछन्‌।—हितोपदेश १२:१५.

यहोवा हामीलाई आफ्नो वचन तथा संगठनमार्फत अनि “विश्‍वासी र बुद्धिमान दास[ले]” प्रबन्ध गरेका प्रकाशनहरू चलाएर उत्तम सल्लाह दिनुहुन्छ। (मत्ती २४:४५; २ तिमोथी ३:१६) असल सल्लाहलाई तिरस्कार गरेर आफूलाई जे मन लाग्यो त्यै गर्नु कत्ति मूर्ख कुरा हो! ‘ज्ञान सिकाउनुहुने’ यहोवाले हामीलाई आफ्नो सञ्चार माध्यमद्वारा सल्लाह दिनुहुँदा हामी “सुन्‍नालाई छिट्टो” हुनुपर्छ।—याकूब १:१९; भजन ९४:१०.

बुद्धिमान्‌ र मूर्खले बेइज्जती अथवा अनुचित आलोचनाप्रति कस्तो प्रतिक्रिया देखाउँछन्‌? सुलेमान यस्तो जवाफ दिन्छन्‌: “मूर्खले आफ्नो रीस झट्टै पोखाउँछ, तर अपमान गरिएको चतुर मानिसले आफ्नो मनोभाव प्रकट गर्दैन।”—हितोपदेश १२:१६.

आफू अपमानित हुँदा मूर्ख मानिसले “झट्टै” अर्थात्‌ त्यही दिन रिस पोखाउँछ। तर चतुर मानिसले आत्मसंयमी हुन परमेश्‍वरको आत्माको लागि प्रार्थना गर्छ। तिनले परमेश्‍वरको वचनमा दिइएका सल्लाह मनन गर्न समय निकाल्छ र कृतज्ञ भई येशूका शब्दहरूलाई ध्यान दिन्छ: “जसले तिम्रो दाहिने गाला चट्‌काउला त्यसलाई अर्कोतिरको पनि फर्काइदेओ।” (मत्ती ५:३९) “कसैलाई खराबीको बद्‌ला खराब” नगरेर चतुर मानिसले आफ्नो ओठलाई वशमा राखेर विचारै नपुऱ्‍याई प्याच्च बोल्दैन। (रोमी १२:१७) त्यस्तै गरी, कसैले हाम्रो अपमान गर्दा त्यसलाई वास्ता गरेनौं भने हामी विवादलाई अझ चर्किनदेखि रोकिरहेका हुन्छौं।

‘निको पार्ने बोली’

ओठले गर्ने पापले न्यायिक सभामा ठूलो धक्का पुऱ्‍याउन सक्छ। इस्राएलका राजा यसो भन्छन्‌: “इमान्दारी वक्‍ताले साँचो कुरा बोल्छ, तर झूटो गवाही छलले भरिएको हुन्छ।” (हितोपदेश १२:१७) साँचो गवाहीले सत्य कुरा बोल्छ किनभने तिनको साक्षी भरपर्दो र विश्‍वासयोग्य हुन्छ। तिनले भनेका कुराले उचित न्याय गर्न योगदान पुऱ्‍याउँछ। अर्कोतर्फ, झूटो गवाही छलले भरिएको हुन्छ र त्यसले गर्दा गलत न्याय हुन सक्छ।

सुलेमान अझ यसो भन्छन्‌, “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” (हितोपदेश १२:१८) शब्दहरूले तरवारले झैं छेड्‌न, मित्रता भताभुंग पार्न र खिचलो उत्पन्‍न गर्न सक्छन्‌। अथवा ती आनन्ददायी, रमाइलो र मित्रता जोगाउने पनि हुन सक्छन्‌। अनि कसैलाई अपमानजनक नाम दिंदा, चिच्च्याउँदा, निरन्तर खिसी गर्दा र अपमानले गहिरो भावनात्मक चोट पुऱ्‍याउनु सिवाय अरू के नै गर्छ र? यस सन्दर्भमा, हामीबाट सानोतिनो भूल भइहालेको खण्डमा निष्कपट भावले क्षमा माग्नु कत्ति बेस हो!

हामी बाँचिरहेको कठिन समयमा धेरैजसो मानिसहरू “चूर्ण हृदय” र “निराश” हुनु कुनै छक्कलाग्दो कुरा होइन। (भजन ३४:१८, नयाँ संशोधित संस्करण) जब हामी “हरेस खानेलाई दिलाशा” र “कमजोरीहरूलाई मदत” गर्छौं, के हामी बोलीको निको पार्ने शक्‍तिलाई प्रयोग गरिरहेका हुँदैनौं र? (१ थिस्सलोनिकी ५:१४) हो, साथीहरूको हानिकारक दबाबको सामना गरिरहेका किशोरकिशोरीहरूलाई सहानुभूतिपूर्ण शब्दहरूले प्रोत्साहन दिन सक्छ। विचार पुऱ्‍याएर बोल्दा पाको उमेरकाहरूले आफू मूल्यवान्‌ हुनुका साथै अरूबाट माया पाएको महसुस गर्छन्‌। दयालु शब्दहरूले बिरामीहरूको दिन नै रमाइलो बनाइदिन्छ। “नम्रताको आत्माले” दिइएको ताडनासमेत स्वीकार्न सजिलो हुन्छ। (गलाती ६:१) अनि परमेश्‍वरको राज्यको सुसमाचार सुन्‍न चाहने जति सबैलाई सुसमाचार सुनाउन आफ्नो जिब्रो प्रयोग गर्ने व्यक्‍तिको जिब्रो झनै कत्ति निको पार्ने बोली साबित हुन्छ।

‘सधैं स्थिर रहने ओठ’

“जिब्रो[को]” पर्यायवाचीको रूपमा “ओठ” शब्द पनि प्रयोग गर्दै सुलेमान यसो भन्छन्‌: “सत्य बोल्ने ओठ सधैं स्थिर रहन्छन्‌, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ।” (हितोपदेश १२:१९, नयाँ संशोधित संस्करण) “सत्य बोल्ने ओठ” भन्‍ने अभिव्यक्‍ति हिब्रूमा एकवचन रूप हो र यसको मतलब, सत्य कुरा बोल्नु मात्र होइन। “यसले स्थायित्व, स्थिरता र विश्‍वसनीयताजस्ता गुणहरूलाई संकेत गर्छ” भनी एउटा पुस्तक बताउँछ। “यो गुण समाविष्ट भएको बोली सधैं स्थिर . . . रहन्छ किनभने केही क्षणको लागि झुक्क्याए तापनि परीक्षाको बेला टिक्न नसक्ने झूटो कुराको . . . तुलनामा सत्य कुरा भरपर्दो ठहरिन्छ।”

बुद्धिमान्‌ राजा यसो भन्छन्‌: “खराब योजना बनाउनेहरू आफै धोकामा पर्छन्‌, तर सबैको भलाइ गर्नेहरूका निम्ति रमाहट हुन्छ।” तिनी अझै यसो भन्छन्‌: “धर्मीहरूमाथि कुनै किसिमको खराबी आइलाग्दैन, तर दुष्ट मानिसहरू ता दुःखै दुःखले भरिन्छ।”—हितोपदेश १२:२०, २१.

हानि गर्न षड्यन्त्र रच्नेहरूले अरूलाई पीडा र दुःख मात्र दिन्छन्‌। अर्कोतर्फ, शान्तिका सल्लाहकारहरूले जे सही छ त्यो गरेर सन्तुष्टि प्राप्त गर्छन्‌। आफ्नो कामको राम्रो परिणाम देखेर तिनीहरू रमाउँछन्‌ पनि। सबैभन्दा महत्त्वपूर्ण कुरा त, तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउँछन्‌ किनभने “परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्‍न हुनुहुन्छ।”—हितोपदेश १२:२२.

‘आफ्नो बुद्धि प्रकट नगर्ने बोली’

विचार पुऱ्‍याएर बोल्ने र जथाभावी बोल्ने व्यक्‍तिबीचको फरकबारे बताउँदै इस्राएलका राजा यसो भन्छन्‌: “चतुर मानिसले आफ्नो बुद्धि प्रकट गर्दैन, तर मूर्ख मानिसले आफ्नो मूर्खताको प्रचार गर्छ।”—हितोपदेश १२:२३.

एक जना चतुर वा बुद्धिमान्‌ मानिसलाई कहिले बोल्ने र कहिले नबोल्ने भन्‍ने कुरा राम्ररी थाह हुन्छ। आफूले जानेको कुराको सेखी नगरेर उसले आफ्नो बुद्धि प्रकट गर्दैन। तर यसको मतलब उसले कहिल्यै आफ्नो ज्ञान प्रकट गर्दैन भनेको चाहिं पटक्कै होइन। बरु, उसले बुद्धि पुऱ्‍याएर प्रकट गर्छ। अर्कोतर्फ, मूर्ख मानिस बोल्न हतारिन्छ र आफ्नो मूर्खता प्रकट गर्छ। त्यसैकारण, हामी कम बोलौं र हाम्रो जिब्रोलाई घमण्डी कुरा गर्नदेखि जोगाऔं।

भिन्‍नताको कुरालाई अघि बढाउँदै सुलेमान लगनशील र अल्छेको सन्दर्भमा महत्त्वपूर्ण कुरा बताउँछन्‌। तिनी यसो भन्छन्‌: “लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्यचाहिं कमारोपन हो।” (हितोपदेश १२:२४ नयाँ संशोधित संस्करण) कडा मेहनतले उन्‍नति र आर्थिक तवरमा आत्म-निर्भर बनाउँछ भने, आलस्यले कमारो र दासको जस्तो अवस्थामा पुऱ्‍याउँछ। एक जना विद्वान्‌ यसो भन्छन्‌, “अन्ततः अल्छे मानिस मेहनत गर्ने व्यक्‍तिको दास बन्‍न पुग्छ।”

‘आनन्दित तुल्याउने वचन’

मानव स्वभावबारे आफूले गरेको गहिरो अवलोकनसहित राजा सुलेमान फेरि बोल्ने विषयमै फर्किन्छन्‌। तिनी यसो भन्छन्‌, “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।”—हितोपदेश १२:२५.

हृदयलाई विचलित तुल्याउन सक्ने थुप्रै चिन्ता तथा फिक्रीहरू छन्‌। त्यसैले, बोझ हल्का गर्न र हृदयलाई हर्षित तुल्याउन सहानुभूतिशील व्यक्‍तिको प्रोत्साहनदायी मीठो वचन चाहिन्छ। तर हामीले आफ्नो मनको कुरा भनेनौं र यसबारे कुरा गरेनौं भने हाम्रो मनमा कत्ति चिन्ता छ भन्‍ने कुरा अरूले कसरी थाह पाउनेछन्‌ र? हो, दुःख तथा नैराश्‍यको सामना गर्नुपर्दा हामीले मदत गर्न सक्ने समानुभूतिशील व्यक्‍तिलाई आफ्नो मनको कुरा पोख्नुपर्छ। यसको साथसाथै, गुम्सिएका भावनालाई शब्दहरूमा व्यक्‍त गर्दा पनि त्यसले मनको वेदनालाई केही हदसम्म कम गर्छ। त्यसैकारण वैवाहिक जोडी, आमाबाबु वा सहानुभूतिशील तथा आध्यात्मिक तवरमा बलियो साथीलाई आफ्नो मनको कुरा बताउनु राम्रो कुरा हो।

तथापि, बाइबलमा जस्तो प्रोत्साहनदायी वचन अरू कहाँ पाइएला र? त्यसैले हामी परमेश्‍वरको प्रेरित वचनमा कृतज्ञतासाथ मनन गरेर उहाँको नजिक हुनै पर्छ। यसो गर्दा विचलित हृदय निश्‍चय प्रफुल्लित र उदास आँखा उज्ज्वल हुन्छ। यस कुराको पुष्टि दिंदै भजनहार यसो भन्छन्‌: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। परमप्रभुका आदेश ठीक छन्‌, हृदयलाई आनन्द गराउने। परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने।”—भजन १९:७, ८.

इनामदायी बाटो

धर्मी र दुष्टको बाटो कति फरक हुन्छ भन्‍ने कुरा देखाउँदै इस्राएलका राजा यसो भन्छन्‌: “धर्मी मानिस खराब कामबाट पछि हट्‌छ, तर दुष्टहरूले बरालिने बाटो लिन्छन्‌।” (हितोपदेश १२:२६) धर्मी मानिस आफ्नो चरन अर्थात्‌ संगति तथा साथीहरू छनौट गर्ने सन्दर्भमा बडो होसियार हुन्छ। खतरनाक मानिसहरूदेखि बच्नको लागि उसले बुद्धिमानीपूर्वक साथीहरू छान्छ। तर दुष्टहरू यसको ठीक विपरीत हुन्छन्‌ किनभने तिनीहरू सल्लाहलाई इन्कार गर्छन्‌ र आफूलाई जे मन लाग्छ, त्यै गर्न ढिपी कस्छन्‌। यसरी तिनीहरू बहकिएर भौंतारिन्छन्‌।

अब राजा सुलेमान अल्छे र उद्योगी मानिसबीचको भिन्‍नतालाई अर्को दृष्टिकोणबाट प्रस्तुत गर्छन्‌। “अल्छे शिकारीले कुनै शिकार फेला पार्दैन, तर उद्योगी मानिसले धेरै धन कमाउँछ।” (हितोपदेश १२:२७) लोसे मानिस अर्थात्‌ “अल्छे मानिसले” “सिकार फेला पार्दैन” वा त्यसले “सिकारको मासु पोल्दैन।” (न्यु इन्टरनेसनल भर्सन) साँच्चै भन्‍ने हो भने, आफूले सुरु गरेको काम त्यसले पूरा गर्न सक्दैन। अर्कोतर्फ, उद्योगी हुनु भनेको धनसम्पत्तिको पर्यायवाची शब्द हो।

अल्छी गर्नु अत्यन्तै हानिकारक भएको कारण प्रेरित पावलले थिस्सलोनिकाका सँगी मसीहीहरूलाई केही काम नगरी त्यसै डुली हिंड्‌ने अनि अर्काको काममा हात हाल्ने अर्थात्‌ “बेकायदासँग चल्ने” कोही-कोही व्यक्‍तिविशेषलाई सच्च्याउन पत्र लेख्नु जरुरी सम्झे। यस्ता व्यक्‍तिहरूले अरूलाई गह्रौं आर्थिक बोझ बोकाइरहेका थिए। त्यसैकारण पावलले तिनीहरूलाई ‘खुरूखुरू काम गरेर आफ्ना आफ्नै रोटी खानु’ भन्‍ने स्पष्ट सल्लाह दिए। अनि तिनीहरूले यो सल्लाह नसुनेको खण्डमा मण्डलीका अरू त्यस्ता व्यक्‍तिहरूबाट “अलग” रहन अथवा सामाजिक कार्यजस्ता कुरामा तिनीहरूसित सरसंगत नगर्नू भनी पावलले सुझाव दिए।—२ थिस्सलोनिकी ३:६-१२.

सुलेमानले परिश्रमी हुने सन्दर्भमा मात्र होइन तर हाम्रो जिब्रोलाई सही ढंगमा चलाउन दिएको सल्लाहलाई पनि हामीले हृदयंगम गर्नै पर्छ। आउनुहोस्‌, अरूलाई निको पार्ने र हर्षित तुल्याउने काममा यस सानो अंगलाई प्रयोग गर्ने कोसिस गरौं किनभने यसो गरेको खण्डमा ओठले गर्ने पापबाट हामी जोगिनुका साथै धार्मिक मार्ग पछ्याइरहनेछौं। सुलेमान हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “धार्मिकतानै जीवनको बाटो हो, तर मूर्खता मृत्युको बाटो हो।”—हितोपदेश १२:२८, नयाँ संशोधित संस्करण।

[पृष्ठ २७-मा भएका चित्रहरू]

“बुद्धिमान मानिसले अरूको सल्लाहलाई सुन्छ”

[पृष्ठ २८-मा भएका चित्रहरू]

“बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ”

[पृष्ठ २९-मा भएको चित्र]

भरोसायोग्य साथीलाई आफ्नो मनको कुरा पोख्दा सान्त्वना मिल्छ

[पृष्ठ ३०-मा भएको चित्र]

कृतज्ञतासाथ परमेश्‍वरको वचनमा मनन गर्दा हृदय आनन्दले भरिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने