प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ९/१५ pp. २१-२५
  • “बुद्धिमान मानिसको अर्ती” जीवनको मूल हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “बुद्धिमान मानिसको अर्ती” जीवनको मूल हो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सिकाउन सकिने किसिमको हुनुहोस्‌
  • आफ्नो जिब्रोको रखवाली गर्नुहोस्‌!
  • लगनशील हुनुहोस्‌
  • धार्मिकता—एउटा रक्षा
  • ढोंगी नहुनुहोस्‌
  • आफ्ना चाहनाहरू सरल बनाउनुहोस्‌
  • “बत्ती[मा]” रमाउनुहोस्‌
  • झूटा आशाहरूदेखि होसियार रहनुहोस्‌
  • परमेश्‍वरको व्यवस्था—जीवनको स्रोत
  • बुद्धि प्राप्त गर्नुहोस्‌ र अनुशासन स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ‘धार्मिकताको बाटोमा’ हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • ‘सत्य बोल्ने ओठ सधैं स्थिर रहन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • ‘धर्मीहरूका लागि आशिष्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ९/१५ pp. २१-२५

“बुद्धिमान मानिसको अर्ती” जीवनको मूल हो

प्रेरित पावलले यस्तो उद्‌गार व्यक्‍त गरे, “अहा! परमेश्‍वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहीरो छ! उहाँका इन्साफ कति अगम, र उहाँका मार्ग अभेद्य छ!” (रोमी ११:३३) अनि विश्‍वासी कुलपिता अय्यूबले यसो भने: “[यहोवा परमेश्‍वर] ज्ञानी हुनुहुन्छ।” (अय्यूब ९:४) हो, आकाश अनि पृथ्वीको सृष्टिकर्ता बुद्धिमा अतुलनीय हुनुहुन्छ। यस्तो सृष्टिकर्ताको व्यवस्था वा लिखित वचनबारे के भन्‍न सकिन्छ?

भजनहारले यस्तो भजन गाए: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। परमप्रभुका आदेश ठीक छन्‌, हृदयलाई आनन्द गराउने। परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने।” (भजन १९:७, ८) प्राचीन इस्राएलका राजा सुलेमानले ती शब्दहरूको सत्यतालाई कत्ति मूल्यांकन गरेको हुनुपर्छ! तिनले यसो भने: “बुद्धिमान मानिसको अर्ती मृत्युको पासोबाट उम्कनेलाई जीवनको मूल हो।” (हितोपदेश १३:१४) हितोपदेश अध्याय १३ को सुरुका १३ वटा पदमा, सुलेमानले परमेश्‍वरको वचनमा पाइने सल्लाहले कसरी हामीलाई आफ्नो जीवनको गुणस्तर उकास्न र यसलाई खतराहरूदेखि जोगाउन मदत गर्न सक्छ भनी देखाए।

सिकाउन सकिने किसिमको हुनुहोस्‌

“बुद्धिमान छोराले आफ्ना बाबुको अर्तीमा [अनुशासनमा] ध्यान दिन्छ, तर खिल्ली उडाउनेले हप्की सुन्दैन” भनी हितोपदेश १३:१ (नयाँ संशोधित संस्करण, छड्‌के अक्षर हाम्रो) बताउँछ। बुबाले दिने अनुशासन मायालु वा कडा हुन सक्छ। सुरु-सुरुमा यस्तो अनुशासन प्रशिक्षणको रूपमा दिइन सक्छ र त्यसलाई तिरस्कार गरेको खण्डमा अन्ततः सजायस्वरूप दिइन्छ। आफ्ना बुबाले दिने अनुशासन स्वीकार्ने छोरा बुद्धिमान्‌ हुन्छ।

बाइबल यसो भन्छ, “जसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ, त्यसैलाई अनुशासन गर्नुहुन्छ” र “आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई कोर्रा लाउनुहुन्छ।” (हिब्रू १२:६) स्वर्गमा बस्नुहुने हाम्रा पिताले हामीलाई अनुशासन दिनुहुने एउटा तरिका उहाँको लिखित वचन, बाइबलमार्फत हो। आदर भावसहित बाइबल पढ्‌नुका साथै त्यसबाट सिकेका कुरालाई व्यवहारमा उतार्दा, उहाँको वचनले हामीलाई साँच्चै अनुशासन दिन्छ। यसबाट हाम्रै लाभ हुन्छ किनभने यहोवा जे भन्‍नुहुन्छ, हाम्रै फाइदाको लागि भन्‍नुहुन्छ।—यशैया ४८:१७.

हाम्रो आध्यात्मिक हितमा चासो राख्ने सँगी विश्‍वासीले पनि हामीलाई सुधार्नको लागि अनुशासन दिन सक्छ। परमेश्‍वरको वचनसँग मेल खाने कुनै पनि मदतकारी सल्लाहलाई सल्लाह दिने व्यक्‍तिको आफ्नै सल्लाहजस्तो नठानी सत्यको महान्‌ स्रोतबाट आएको ठान्‍न सकिन्छ। हामीले यसलाई यहोवाले दिनुभएको सल्लाहको रूपमा स्वीकार्नु बुद्धिमानी हुनेछ। जब हामी त्यसो गर्नुका साथै यसद्वारा आफ्नो विचारधारालाई प्रभावित हुन दिन्छौं, धर्मशास्त्रको हाम्रो समझ विकास गर्छौं र हाम्रा मार्गहरू सुधार्न दिन्छौं, तब अनुशासनबाट हामीले लाभ उठाइरहेका हुन्छौं। मसीही सभाहरू र बाइबल आधारित प्रकाशनहरूबाट प्राप्त गर्ने सल्लाहको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। यस्ता लिखित वा मौखिक शब्दहरूमार्फत सिकिने कुरा लागू गर्नु भनेको आत्म-अनुशासनको एउटा उत्कृष्ट नमुना हो।

अर्कोतर्फ, खिल्ली उडाउने व्यक्‍तिले अनुशासन स्वीकार्दैन। एउटा सन्दर्भिका यसो भन्छ, “किनभने त्यसले के गर्दा बेस हुन्छ भन्‍ने कुरा आफूलाई थाह छ भन्ठान्छ” र त्यो “सिकाउन सकिने किसिमको हुँदैन।” त्यसले कडा किसिमको अनुशासन अर्थात्‌ हप्कीसमेत सुन्दैन। तर के त्यसले बुबाको अनुशासनलाई कहिल्यै गलत साबित गर्न सक्छ र? यहोवा कहिल्यै गलत ठहरिनुभएको छैन र कहिल्यै ठहरिनुहुने पनि छैन। अनुशासन नस्वीकार्दा खिल्ली उडाउने व्यक्‍तिले आफूलाई झनै खिल्लीको पात्र मात्र बनाउँछ। राम्ररी छनौट गरिएका दुई चार शब्दहरूद्वारा सुलेमान सिकाउन सकिने किसिमको हुनुको महत्त्व कत्ति सुन्दर ढंगमा वर्णन गर्छन्‌!

आफ्नो जिब्रोको रखवाली गर्नुहोस्‌!

परमेश्‍वरको वचनअनुसार बोल्नुको महत्त्व दर्साउन इस्राएलका राजाले ओठलाई फल-दिने रूखसित तुलना गर्छन्‌। तिनी यसो भन्छन्‌: “मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ। तर बेईमानले हिंसाको लालसा गर्दछ।” (हितोपदेश १३:२, नयाँ संशोधित संस्करण, छड्‌के अक्षर हाम्रो) ओठको फल भनेको बोलिएका शब्दहरू हुन्‌। एक जना व्यक्‍तिले आफ्नो बोलीद्वारा जे छर्छ त्यही कटनी पनि गर्छ। एक जना शास्त्रविद्‌ यसो भन्छन्‌, “यदि तिनको बोली असल मनसायले व्यक्‍त गरिएका दयालु शब्दहरू हुन्‌ र आफ्नो छिमेकीसित मित्रैलो सम्बन्ध स्थापित गराउने किसिमका छन्‌ भने, तिनले असल थोकहरूको भोग गर्नेछन्‌, खुसी र शान्तिमय सम्बन्धको आनन्द उठाउनेछन्‌।” तर बेइमानको सन्दर्भमा भने कुरा ठीक विपरीत हुन्छ। त्यसले हिंसा गर्न र अरूलाई हानि पुऱ्‍याउन रुचाउँछ। त्यसले हिंसा गर्ने षड्‌यन्त्र रच्छ र फलतः आफैले पनि हिंसाको प्रतिफल भोग्छ। मृत्युको पासोले त्यसलाई ढोकामा ढुकिरहेको हुन्छ।

सुलेमान अझ यसो भन्छन्‌: “आफ्नो ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्याउनेछ।” (हितोपदेश १३:३, नयाँ संशोधित संस्करण, छड्‌के अक्षर हाम्रो) कसैको राम्रो नाउँमा दाग लाग्नु, चित्त दुख्नु, सम्बन्ध बिग्रनु र शारीरिक चोटसमेत लाग्नु इत्यादि विचार नपुऱ्‍याई वा मूर्ख बोलीले गर्दा हुन सक्ने सम्भाव्य परिणामहरू हुन्‌। धेरै बोल्ने ओठले गर्दा ईश्‍वरीय अनुमोदन पनि गुमाउनुपर्ने हुन सक्छ किनभने मानिसहरू जे बोल्दछन्‌ त्यसको लेखा परमेश्‍वरले लिनुहुन्छ। (मत्ती १२:३६, ३७) निस्सन्देह, आफ्नो ओठलाई कडा नियन्त्रणमा राख्दा त्यसले हामीलाई सर्वनाशबाट जोगाउनेछ। यद्यपि, हामी कसरी आफ्नो ओठको रखवाली गर्न सिक्न सक्छौं?

एउटा सरल तरिका, बढ्‌ता नबोल्नु हो। “मानिसहरू जति धेरै बोल्छन्‌ उतिनै धेरै पाप गर्ने सम्भावना हुन्छ” भनी बाइबल बताउँछ। (हितोपदेश १०:१९) अर्को तरिका भनेको बोल्नुअघि सोच्नु हो। प्रेरित लेखक यसो भन्छन्‌: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ।” (हितोपदेश १२:१८) आफूले बोल्न लागेको कुरामा पूर्वविचार नगर्दा बोल्ने तथा सुन्‍ने दुवै व्यक्‍तिलाई चोट पुग्न सक्छ। त्यसकारण, बाइबलले हामीलाई यस्तो व्यावहारिक सल्लाह दिन्छ: “जवाफ दिनअघि धर्मीहरू सोच्दछन्‌।”—हितोपदेश १५:२८, छड्‌के अक्षर हाम्रो।

लगनशील हुनुहोस्‌

सुलेमान बताउँछन्‌, “अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ।” (हितोपदेश १३:४, नयाँ संशोधित संस्करण, छड्‌के अक्षर हाम्रो) एउटा सन्दर्भिका यसो भन्छ, “[यस हितोपदेशको] सार के हो भने, इच्छा मात्र गर्नुको कुनै औचित्य छैन” र “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परिश्रम हो। अल्छे मानिसहरू इच्छाहरूको सिकार हुन्छन्‌ . . . त्यसले तिनीहरूलाई खान्छ र तिनीहरूको अल्छे इच्छाले केही परिणाम ल्याउँदैन।” तर, लगनशील मानिसहरूको प्राण वा इच्छा तृप्त अथवा मोटो-घाटो हुन्छन्‌।

जिम्मेवारी वहन गर्न नचाहेको कारण यहोवामा समर्पण गर्नदेखि पछि हट्‌ने व्यक्‍तिहरूबारे के भन्‍न सकिन्छ? तिनीहरू परमेश्‍वरको नयाँ संसारमा बस्न चाहलान्‌ तर के तिनीहरू यस सन्दर्भमा केही गर्न इच्छुक छन्‌? “महा सङ्‌कष्टबाट आएका” व्यक्‍तिहरूले गर्नुपर्ने एउटा कुरा, तिनीहरूले येशूको छुडौतीको बलिदानमा विश्‍वास गरेको हुनुपर्छ, यहोवामा समर्पण गर्नुका साथै आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रकट गरेको हुनुपर्छ।—प्रकाश ७:१४, १५.

मण्डलीमा निरीक्षकको काम गर्न अघि बढ्‌नुमा के समावेश छ, त्यो पनि विचार गर्नुहोस्‌। यस्तो असल कार्य गर्न खोज्नु निश्‍चय पनि सराहनीय कुरा हो र धर्मशास्त्रमा यसै गर्न प्रोत्साहित गरिएको छ। (१ तिमोथी ३:१) तथापि, इच्छा देखाउनु मात्र पर्याप्त छैन। उक्‍त ओहोदाको लागि सक्षम हुन आवश्‍यक गुण तथा योग्यताहरू खेती गर्नु जरुरी छ। त्यसको लागि लगनशील भई व्यक्‍तिगत प्रयास गर्नु आवश्‍यक छ।

धार्मिकता—एउटा रक्षा

धर्मी व्यक्‍तिले ईश्‍वरीय गुणहरू खेती गर्नुका साथै सत्य बोल्छ। झूटो बोल्नु भनेको यहोवाको व्यवस्था विरुद्ध हो भनेर तिनले बुझ्छन्‌। (हितोपदेश ६:१६-१९; कलस्सी ३:९) यस सन्दर्भमा, सुलेमान यसो भन्छन्‌: “धर्मीले झूटलाई घृणा गर्छ, तर दुष्टको काम दूषित र छली हुन्छ।” (हितोपदेश १३:५, छड्‌के अक्षर हाम्रो) धर्मी व्यक्‍ति झूटो बोल्नदेखि अलग मात्र रहँदैन; तिनले साँच्चै त्यसलाई घृणा गर्छन्‌। ती झूटा कुराहरू जत्ति नै निर्दोष देखिए तापनि असल मानव सम्बन्धका लागि ती हानिकारक हुन्छन्‌ भनेर तिनलाई थाह हुन्छ। यसबाहेक, झूटको सहारा लिने व्यक्‍तिहरूको विश्‍वसनीयता चकनाचूर हुन्छ। झूटो बोलेर होस्‌ वा अन्य तरिकामा, दुष्ट व्यक्‍तिले निर्लज्ज ढंगमा व्यवहार गर्छ र आफैमाथि अपमान ल्याउँछ।

परमेश्‍वरको नजरमा जे सही छ त्यो गर्नुको फाइदा देखाउन बुद्धिमान्‌ राजा यसो भन्छन्‌: “धार्मिकताले इमान्दार मानिसको रक्षा गर्छ, तर दुष्टताले पापीमाथि दुःख ल्याउँछ।” (हितोपदेश १३:६, छड्‌के अक्षर हाम्रो) किल्लाले जस्तै धार्मिकताले मानिसको रक्षा गर्छ तर दुष्टताले भने तिनलाई सर्वनाश पार्छ।

ढोंगी नहुनुहोस्‌

मानव स्वभाव बुझेकोले गर्दा, इस्राएलका राजा यस्तो अवलोकन गर्छन्‌: “कोही मानिस आफूसित केही नभए पनि धनी छु भनी धाक दिन्छ। कोहीसँग धन-सम्पत्ति हुन्छ रपनि झुत्रोझाम्रो भएर हिंड़छ।” (हितोपदेश १३:७, छड्‌के अक्षर हाम्रो) मानिस जस्तो देखिन्छ, त्यस्तो नहुन सक्छ। सम्भवतः देखाउनको लागि, सफल व्यक्‍तिजस्तो भान पार्न वा प्रतिष्ठा जोगाउन कोही-कोही गरिब मानिसहरू धनी भइटोपल्न सक्छन्‌। एक जना धनी व्यक्‍तिचाहिं आफ्नो सम्पत्ति नदेखाउन गरिब भइटोपल्न सक्छ।

न त झूटो देखावटीपन न लुकाउनु नै उचित हो। यदि हाम्रा भौतिक स्रोतसाधनहरू कम छन्‌ भने, केवल सम्पन्‍न देखिनका लागि दामी-दामी सरसामानहरू किन्‍न पैसा खर्च गर्दा आफू र आफ्नो परिवार जीवनका आवश्‍यकताहरूबाट वञ्चित हुन सक्छ। अनि सरसम्पत्ति भएर पनि गरिब भएजस्तो ढोंग गर्दा त्यसले मानिसलाई कन्जुस बनाउन सक्छ, दयालु हुँदा प्राप्त हुने आत्म-सम्मान तथा आनन्द खोस्न सक्छ। (प्रेरित २०:३५) इमानदार भई जीवन बिताउनु भनेको उत्तम जीवन बिताउनु हो।

आफ्ना चाहनाहरू सरल बनाउनुहोस्‌

सुलेमान यसो भन्छन्‌: “धनी मानिसले धन दिएर आफ्नो प्राण बचाउनुपर्छ, तर गरीब मानिस धम्कीबाट सुरक्षित रहन्छ।” (हितोपदेश १३:८, छड्‌के अक्षर हाम्रो) यो बुद्धिमान्‌ भनाइमा कस्तो पाठ सिकाउन खोजिएको छ?

धनी हुनुमा फाइदाहरू छन्‌ तर धनसम्पत्ति हुँदैमा सधैं आशिष्‌ प्राप्त हुन्छ नै भन्‍ने छैन। हामी बाँचिरहेको संकटग्रस्त समयमा, धनी मानिसहरूले अक्सर आफूलगायत आफ्ना परिवार अपहरण हुने र मोल तिरेर छुटाउनुपर्ने खतरा भोगिरहनुपरेको हुन्छ। कहिलेकाहीं, धनी व्यक्‍तिले आफ्नो जीवन वा परिवारको सदस्यको जीवन पैसा तिरेर बचाउन सक्छन्‌। तर अक्सर अपहरण गरिएको व्यक्‍तिको हत्या गरिन्छ। यस्तो खतरा धनी व्यक्‍तिको टाउकोमा सधैं घुमिरहेको हुन्छ।

कम स्रोतसाधन भएको व्यक्‍तिसित यस्तो किसिमको चिन्ता हुँदैन। उसित धनी व्यक्‍तिसित भएका सुखसुविधा तथा भौतिक कुराहरू नहोला तर ऊ अपहरणकारीहरूको निसाना हुने सम्भावना त्यति हुँदैन। आफ्ना चाहनाहरूलाई सरल राख्नु र धन-दौलत कमाउनकै लागि आफ्नो समय तथा शक्‍ति खर्च नगर्नुको यो एउटा फाइदा हो।—२ तिमोथी २:४.

“बत्ती[मा]” रमाउनुहोस्‌

यहोवाको तौरतरिकाअनुरूप कामकुरा गर्दा हाम्रै भलाइ हुन्छ भन्‍ने कुरा सुलेमान अझै बताउँछन्‌। तिनी यसो भन्छन्‌, “धर्मी मानिसको बत्ती चहकिलो भएर बल्छ, तर दुष्टको बत्ती निभाइन्छ।”—हितोपदेश १३:९, नयाँ संशोधित संस्करण, छड्‌के अक्षर हाम्रो।

बत्तीले प्रतीकात्मक अर्थमा जीवनमा हाम्रो बाटोलाई ज्योति दिन हामी जुन कुरामा भर पर्छौं त्यसैलाई बुझाउँछ। ‘परमेश्‍वरको वचन धर्मी व्यक्‍तिको खुट्टाको निम्ति बत्ती र तिनको बाटोको निम्ति उज्यालो हो।’ (भजन ११९:१०५) यसमा सृष्टिकर्ताको असीम ज्ञान र बुद्धि पाइन्छ। हामी परमेश्‍वरको इच्छा र उद्देश्‍यको समझ जति धेरै विकास गर्छौं, हामीलाई डोऱ्‍याइ प्रदान गर्ने आध्यात्मिक ज्योति पनि त्यति नै चहकिलो हुन्छ। आनन्दको कत्ति ठूलो स्रोत! सांसारिक बुद्धि वा “ज्ञान कहलिएको झूटा” कुराबाट हामी आफूलाई किन बाधा पुग्न दिने?—१ तिमोथी ६:२०; १ कोरिन्थी १:२०; कलस्सी २:८.

दुष्टको सन्दर्भमा कुरा गर्ने हो भने, त्यसको बत्ती जत्ति नै चहकिलो र एकदमै फलिफाप भएजस्तो देखिए तापनि, त्यसको त्यो बत्ती निभ्नेछ। त्यसको जीवन अन्धकारमय हुनेछ, जहाँ त्यसको खुट्टाले अवश्‍य ठेस खान्छ। साथै, त्यसको “भविष्य असल हुँदैन।”—हितोपदेश २४:२०.

यद्यपि, कुनै खास परिस्थितिमा के गर्ने कसो गर्ने भनेर दोधारमा परेको बेला हामीले के गर्नुपर्छ? त्यस्तो परिस्थितिमा कुनै कदम चाल्ने हाम्रो अधिकार छ कि छैन भनेर पक्का छैनौं भने नि? हितोपदेश १३:१० (छड्‌के अक्षर हाम्रो) यस्तो चेतावनी दिन्छ: “अट्टेरीको घमण्डले झगडा उठाउँछ।” कुरा राम्ररी नबुझी वा आफ्नो अधिकारभन्दा बाहिरको काम गर्नु भनेको अहंकार हो र त्यसले पक्कै फाटो उत्पन्‍न गर्छ। के ज्ञान र समझशक्‍ति भएका अन्य व्यक्‍तिहरूको सर-सल्लाह लिनु बेस होइन र? “सर-सल्लाह लिनेहरूका बीचमा बुद्धि पाइन्छ” भनी बुद्धिमान्‌ राजा बताउँछन्‌।

झूटा आशाहरूदेखि होसियार रहनुहोस्‌

पैसा उपयोगी वस्तु हो। पर्याप्त पैसा हुनु, कष्टप्रद वा गरिब जीवन बिताउनुभन्दा बेस हो। (उपदेशक ७:११, १२) तथापि, बेइमान गरेर कमाएको धनका कथित लाभहरू भ्रामक हुन सक्छन्‌। सुलेमान यस्तो चेतावनी दिन्छन्‌: “एक्कासि आएको धन घट्‌दैजान्छ, तर अलि अलि गरी कमाएको धन बढ़दैजान्छ।”—हितोपदेश १३:११, छड्‌के अक्षर हाम्रो।

उदाहरणका लागि, जूवा खेल्ने प्रलोभनलाई विचार गर्नुहोस्‌। एक जना जुवाडेले पसिना बगाएर कमाएको पैसा धेरै जित्ने आशामा दाउमा लगाउन सक्छ। तर अक्सर आफ्नो परिवारको हितलाई नै खतरामा राखेर यसो गरिन्छ! अनि जुवाडेले जितिहालेको खण्डमा पनि के हुन्छ? यो पैसा सजिलै कमाएको हुनाले तिनलाई यसको खासै महत्त्व नहुन सक्छ। यसबाहेक, भर्खरै जितेको पैसा कसरी चलाउने भन्‍ने निपुणतासम्म तिनीसित नहुन सक्छ। तिनले यी धनसम्पत्ति जति छिटो कमाएका थिए के त्यति नै छिटो फुस्सा हुने सम्भावना हुँदैन र? अर्कोतर्फ, असल काम गरेर अलि-अलि गर्दै जम्मा गरेको धन बिस्तार बढ्‌दै जान्छ र यसलाई सदुपयोग गर्न सकिन्छ।

सुलेमान यसो भन्छन्‌: “आशा साकार नहुँदा मन मर्छ, तर इच्छा पूर्ण हुनुनै जीवनको सहारा हो।” (हितोपदेश १३:१२, छड्‌के अक्षर हाम्रो) साकार नभएका आशाहरूले निराश गराउँछ र मनै मर्छ। दैनिक जीवनमा यस्तो हुने गर्छ। तथापि, पूर्णतया परमेश्‍वरको वचनमा आधारित आशाहरूको सन्दर्भमा भने यस्तो हुँदैन। ती आशाहरू निश्‍चय पूरा हुनेछन्‌ भनेर हामी पूर्ण विश्‍वास गर्न सक्छौं। पूरा हुन अलि ढिलो भएजस्तो देखिए तापनि निराश हुने सम्भावना त्यति हुँदैन।

उदाहरणका लागि, परमेश्‍वरको नयाँ संसार नजिकै छ भन्‍ने कुरा हामीलाई थाह छ। (२ पत्रुस ३:१३) आनन्दित भई हामी परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुने समयको उत्कट इच्छासहित प्रतीक्षा गर्छौं। पर्खिने समयलाई हामीले “प्रभुको काममा” व्यस्त रहन, सँगी विश्‍वासीहरूलाई प्रोत्साहन दिन र यहोवासित अझ घनिष्ठ सम्बन्ध विकास गर्न चलायौं भने के हुन्छ? ‘मन मार्नुको’ साटो हामी आनन्दले भरिन्छौं। (१ कोरिन्थी १५:५८; हिब्रू १०:२४, २५; याकूब ४:८) चिरप्रतीक्षित इच्छा पूरा हुँदा, यो जीवनको रूख अर्थात्‌ साँच्चै उत्साहजनक र स्फूर्तिदायी हुन्छ।

परमेश्‍वरको व्यवस्था—जीवनको स्रोत

परमेश्‍वरको आज्ञा पालन गर्नुको खाँचोबारे बताउँदै हितोपदेश १३:१३ (छड्‌के अक्षर हाम्रो) यसो भन्छ: “सर-सल्लाह तुच्छ ठान्‍नेमाथि दुःख आइपर्छ, तर भनेको कुरा मान्‍नेले पुरस्कार पाउँछ।” ऋणीले आफ्नो भाकालाई बेवास्ता गरेर कर्जा नतिरेको खण्डमा, धितोस्वरूप राखेको कुरा तिनले गुमाउनेछन्‌। त्यस्तै गरी, यदि हामीले परमेश्‍वरका आज्ञाहरू पालन गरेनौं भने, हामीले पनि क्षति बेहोर्नुपर्नेछ। कस्तो क्षति?

“बुद्धिमान मानिसको अर्ती मृत्युको पासोबाट उम्कनेलाई जीवनको मूल हो।” (हितोपदेश १३:१४, छड्‌के अक्षर हाम्रो) सर्वज्ञानी परमेश्‍वर, यहोवाको व्यवस्थाविना जिउनु भनेको उत्तम र दीर्घ जीवन बिताउन हामीलाई मदत गर्ने डोऱ्‍याइदेखि वञ्चित हुनु हो। त्यो कत्ति ठूलो नोक्सानी हुनेछ! त्यसैले, हाम्रो लागि बुद्धिको मार्ग भनेको परमेश्‍वरको वचनमा उत्कट ध्यान दिनुका साथै यसले हाम्रो विचार, बोली र कामलाई असर गर्न दिनु हो।—२ कोरिन्थी १०:५; कलस्सी १:१०.

[पृष्ठ २३-मा भएका चित्रहरू]

धर्मशास्त्रीय सल्लाह सुन्‍नु भनेको आत्म-अनुशासनको एउटा उत्कृष्ट नमुना हो

[पृष्ठ २४, २५-मा भएका चित्रहरू]

“जवाफ दिनअघि धर्मीहरू सोच्दछन्‌”

[पृष्ठ २४, २५-मा भएका चित्रहरू]

“प्रभुको काममा” व्यस्त रहँदा हामी आनन्दले ओतप्रोत हुन्छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने