धार्मिकताले राष्ट्रलाई उच्च पार्छ
अविरल वर्षापछि स्वच्छ आकाशमा पारिलो घाम लागेको हेर्न पाउनु कति रमाइलो हुन्छ! पृथ्वी स्वच्छ देखिन्छ र वनस्पति पनि लहलहाउन सक्छन्। धार्मिक शासनका आशिष्हरूलाई चित्रण गर्न यहोवा परमेश्वरले एक चोटि त्यस्तै उदाहरण प्रयोग गर्नुभयो। उहाँले राजा दाऊदलाई यसो भन्नुभयो: “जसले न्यायसित मानिसहरूमाथि शासन गर्छ, जसले परमेश्वरको भय राखीकन शासन गर्छ, त्यो सूर्योदय हुँदा बिहानको ज्योतिजस्तै छ, त्यसको बिहान, जो पानी परेपछि बादलरहित हुन्छ, जसले जमीनबाट घाँस उमार्छ।”—२ शमूएल २३:३, ४.
दाऊदको छोरा, राजा सुलेमानको धार्मिक शासनकालमा परमेश्वरको वचन सत्य साबित भयो। बाइबलले यसरी बताउँछ: “तिनको राजत्वकालभरिनै यहूदा र इस्राएलमा शान्ति थियो, औ दानदेखि बेर्शेबासम्मै हरेक मानिसले आफ्नो आफ्नै दाखबारी र नेभाराका बोटमनि सुखपूर्वक दिन बिताउँथे।”—१ राजा ४:२५.
पुरातन इस्राएल, परमेश्वरको चुनिएको राष्ट्र थियो। उहाँले तिनीहरूलाई नियमहरू दिनुभयो र ती पालन गरेमा तिनीहरू “पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ” तुल्याउनेछु भन्नुभयो। (व्यवस्था २८:१) इस्राएलको आफ्नै धार्मिकताले होइन तर यहोवाको धार्मिकताले तिनीहरूलाई उच्च पाऱ्यो। परमेश्वरले तिनीहरूलाई दिनुभएका आज्ञाहरू वरपरका राष्ट्रहरूको नियमभन्दा निकै श्रेष्ठ थिए। मानिसहरूको हैसियतमा तिनीहरू वरपरका राष्ट्रहरू जत्तिकै असिद्ध थिए। यसर्थ, तिनीहरू अरू राष्ट्रहरूभन्दा उच्च पारिनुको श्रेय यहोवाको श्रेष्ठ व्यवस्था तथा त्यसको अक्षरसः पालनालाई दिनुपर्छ। तिनीहरूले यहोवाका नियमहरू पालन गर्दा उहाँको अनुग्रह र आशिष्को आनन्द उठाए। राजा सुलेमानले आफ्नो शासनकालमा यो अनुभव गरे। त्यसैकारण तिनले यसो भन्न सके: “धार्मिकताले जातिको मान बढ़ाउँछ, तर” तिनले चेताउनी दिए, “अधर्म गर्नु जातिको बेइज्जती हो।”—हितोपदेश १४:३४.
दुःखको कुरा, इस्राएल राष्ट्र बारम्बार अनाज्ञाकारी भएकोले खस्कियो। तिनीहरूले राष्ट्रिय अपमान सहनुपऱ्यो। अन्ततः यसले गर्दा नयाँ आत्मिक राष्ट्र हुनसक्ने अवसरलाई सदाको लागि गुमाउनु पऱ्यो।—मत्ती २१:४३.
आत्मिक इस्राएल
यरूशलेममा मसीही परिचालक निकायको सभामा जन्मजात यहूदी, याकूबले यसो भने, परमेश्वरले “उहाँको नाउँको निम्ति अन्यजातिहरूबाट एक जाति लिनालाई कृपादृष्टि गर्नुभयो।” (प्रेरित १५:१४) प्रेरित पावलले यस नयाँ मसीही राष्ट्रलाई “परमेश्वरका इस्राएल” भने। (गलाती ६:१६) तिनीहरूको बोलावटको उद्देश्यलाई आदर गर्दै पत्रुसले यसप्रकार लेखे: “तिमीहरू ता चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ, र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरू देखाओ।” (१ पत्रुस २:९) परमेश्वरका चुनिएका जनको हैसियतमा तिनीहरू यस संसारमा ज्योतिहरूजस्तै चम्कनुपर्ने थियो। यहोवाको धार्मिकताले तिनीहरूलाई उच्च पार्नेथियो।—फिलिप्पी २:१५.
यी आत्मिक इस्राएलीहरूको छनौटलाई खानीबाट हीरा निकाल्ने प्रक्रियासित तुलना गर्न सकिन्छ। जब हीराको धाउलाई जमीनमा ल्याइन्छ, ३ टन धाउबाट १ क्यारट (२०० मिलिग्राम) जति मात्र हीरा निस्कन्छ। पहिले पहिले हीरा निकाल्दा धाउलाई पानीसित मिसाएर चिल्लो पदार्थको सम्मिश्रणमाथि बगाइन्थ्यो। पानीमा हीरा नघुल्ने भएकोले चिल्लो पदार्थमा टाँसिन्थ्यो अनि अनावश्यक धातु चाहिं पानी सँगसँगै बग्थ्यो। यो अवस्थाको हीरा खस्रो हुन्थ्यो। तथापि, त्यसलाई काटेर पालिश लगाएपछि त्यसको चमक चारैतिर प्रतिबिम्बित हुन्थ्यो।
पानीमा नघुल्ने हीराजस्तै यहोवाका जनहरू यस संसारबाट अलग पारिएका छन्। (यूहन्ना १७:१६) सर्वप्रथम ज्योतितर्फ आकर्षित हुँदा तिनीहरूसित कुनै चमक थिएन होला। तर यहोवाको वचन तथा आत्माले तिनीहरूभित्र नयाँ व्यक्तित्व सृजना गर्छ र तिनीहरू यस संसारमा ज्योतिहरूजस्तै चम्कन्छन्। आफ्नै धार्मिकताले त होइन तर यहोवाको धार्मिकताले तिनीहरू उच्च पारिएका छन् र राज्य सच्चाइको महिमित ज्योति चारैतिर प्रतिबिम्बित गर्छन्।
यद्यपि, प्रथम शताब्दी सा.यु. को अन्ततिरदेखि मण्डलीभित्र धर्मत्याग घुस्न थाल्यो र यसले धेरैलाई असर गऱ्यो। मसीही भनौंदाहरू संसारका राष्ट्रहरूसित छ्यासमिस हुन थाले र वरपरका राष्ट्रहरूबाट तिनीहरूलाई छुट्याउन सकिएन।
आज आत्मिक इस्राएलीहरूको शेष विश्वासी जनले यहोवाको अनुग्रह पुनः प्राप्त गरेको छ। तिनीहरूले आफूलाई संसारबाट अलग पारेका छन् र आफूलाई “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट” शुद्ध पारेका छन्। (२ कोरिन्थी ७:१) यहोवासमक्ष सफा र धर्मी भएर तिनीहरूले उहाँको धार्मिकतालाई उच्च पार्छन्। यसले तिनीहरूलाई संसारका अन्य राष्ट्रहरूभन्दा उच्च स्थानमा राखेको छ। तिनीहरूले राज्यको सुसमाचार जोशका साथ प्रचार गरेकोले एउटा ठूलो अन्तरराष्ट्रिय समूह यहोवाको नजीक भएर उहाँका जनहरूको भाग भएको छ।—प्रकाश ७:९, १०.
संसारले भिन्नता देख्नसक्छ
सांसारिक अख्तियारवालाहरूले कहिलेकाहीं परमेश्वरका जनहरूको आचरणको प्रशंसा गर्छन्। केही समयअघि दक्षिण अफ्रिकाको प्रिटोरीया खेल मैदानका प्रमुख सुरक्षा अधिकृतले वार्षिक अधिवेशनको लागि एकत्रित यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय समूहको आचरणबारे टिप्पणी गरे। अन्य कुराहरूको साथै तिनले यसप्रकार लेखे: “सबै जना शिष्ट थिए र छन् पनि। सबैले एकअर्कासित राम्ररी कुरा गरिरहेका थिए। गत केही दिनहरूमा देखाइएको मनोवृत्तिले तपाईंको संगठनका सदस्यहरूको मानसिक दक्षता र सबै आनन्दित परिवारको रूपमा एकसाथ बस्छन् भन्ने कुराको पुष्टि दिन्छ।”
यहोवाका जनहरूले त्यस्ता ठूला जमघटहरूमा मात्र होइन तर निजी जीवनमा समेत उहाँको राष्ट्रको धार्मिकताप्रति योगदान पुऱ्याउनसक्छन्। उदाहरणको लागि, वाच टावर सोसाइटीको दक्षिण अफ्रिकास्थित शाखा कार्यालयमा जोहानेसवर्गकी महिलाबाट यस्तो पत्र प्राप्त भयो: “गत हप्ता गाडीको छतमै पैसाको झोला छोडेर गाडी हाँकेछु। त्यो झोला ज्यान स्मट्स एभेन्युमा खसेछ र तपाईंको मण्डलीको सदस्य, श्री. आर—ले फेला पार्नुभएछ। उहाँले मलाई फोन गरेर झोला फिर्ता गर्नुभयो। . . . म यो इमानदारीको निकै मूल्यांकन गर्छु, जुन कुरा वर्तमान संसारमा विरलै पाइन्छ। आफ्ना सदस्यहरूले पालन गर्ने त्यस्ता सिद्धान्तहरू बसाल्नुभएकोमा म तपाईंको मण्डलीको सराहना गर्छु।”
हो, यहोवाका धार्मिक सिद्धान्तहरूलाई पालन गरेकोले उहाँका जनहरू संसारका अरू मानिसहरूभन्दा भिन्नै देखिन्छन्। तिनीहरूले यहोवाको धार्मिकता प्रदर्शित गरेकोले इमानदार हृदय भएका मानिसहरू मसीही मण्डलीतर्फ आकर्षित हुन्छन्। स्वच्छ तथा शुद्ध कुरातर्फ आकर्षित हुनु स्वाभाविक हो। उदाहरणको लागि, जुरिच, स्वीट्जरल्याण्डका यहोवाका साक्षीहरूको सभामा एक चोटि एक अपरिचित व्यक्ति आए र मण्डलीको सदस्य हुने इच्छा व्यक्त गरे। तिनको विवरणअनुसार अनैतिक आचरणको लागि तिनकी बहिनी बहिष्कृत भएकी थिइन् र तिनी “खराब आचरणलाई नसहने” संगठनको भाग हुन चाहन्थे। यहोवाका साक्षीहरू “संसारका असल आचरण हुने समूहमध्ये एक” हो भनेर न्यु क्याथोलिक इन्साइक्लोपीडिया-ले (नयाँ क्याथोलिक विश्वकोश) समेत स्वीकार्छ।
धार्मिकताले उच्च पार्छ भने पापले कुनै व्यक्तिको असल नाउँलाई बदनाम गर्नसक्छ र विशेषगरि जब त्यो गम्भीर गलती जनसमक्ष प्रत्यक्ष हुन्छ। मण्डलीको सदस्यको गम्भीर पापले गर्दा कहिलेकाहीं मसीही मण्डली लज्जित हुनु परेको छ। हो, गलती गर्नेलाई दयालु ढंगमा अर्थात् शास्त्रीय सिद्धान्तअनुरूप अनुशासन दिइसक्यो भनी देखाएर मण्डलीका विश्वासी सदस्यहरूले मण्डलीको असल नाउँलाई जोगाउनसक्छन्। कसैले पाप गर्छन् र पश्चात्ताप गर्दैनन् भने तिनी मण्डलीबाट निष्कासित अर्थात् बहिष्कृत हुनेछन्।—१ कोरिन्थी ५:९-१३.
केहीलाई किन बहिष्कार गरिन्छ
मसीही मण्डलीबाट हरेक वर्ष हजारौंलाई बहिष्कार गरिन्छ। तर त्यो संसारभरिका लगभग ५० लाख साक्षीहरूको तुलनामा सानो संख्या मात्रै हो। मसीही मण्डलीको कुनै सदस्यप्रति त्यस्तो कठोर कदम किन उठाइन्छ? गलती गर्नुको प्रकृति नै बहिष्कार गर्ने प्रमुख निर्धारक तत्त्वहरूमध्ये हो। तर योभन्दा महत्त्वपूर्ण तत्त्व हो, गम्भीर गलती गर्ने व्यक्तिले साँचो पश्चात्ताप गर्छ कि गर्दैन। ऊ साँच्चै पश्चात्तापी छ, यहोवालाई हृदयस्पर्शी प्रार्थना गरेर पापको क्षमा मागेको छ र मण्डलीका जिम्मेवार पुरुषहरूको मदत खोजेको छ भने तिनले परमेश्वरको अनुग्रह पुनः प्राप्त गर्न अनि मण्डलीमा रहिरहन मदत पाउनसक्छन्।—हितोपदेश २८:१३; याकूब ५:१४, १५.
एक जना बच्चाको आफ्नो बुबासित राम्रो, स्वस्थकर सम्बन्ध छ तर बुबाको चित्त दुख्ने कुनै कार्य ऊबाट हुनगयो भने त्यो अनमोल सम्बन्धलाई पुनः स्थापित गरिहाल्न दुवै तत्पर हुनुपर्छ। त्यसरी नै, हामीले यहोवालाई आफ्नो जीवन समर्पण गर्दा हामी उहाँसित सबैभन्दा अनमोल सम्बन्धमा गाँसिन्छौं। यसर्थ, उहाँको चित्त दुख्ने कुनै कार्य भयो भने स्वर्गमा हुनुहुने हाम्रो पितासित त्यो सम्बन्ध पुनः कायम गरिहाल्नुपर्छ।
तर खुशीको कुरा, बहिष्कृत भएका केही व्यक्तिहरूले उडन्ता पुत्रको उदाहरणलाई हृदयंगम गरेका छन्। त्यो उदाहरणमा यहोवालाई मायालु पितासित तुलना गरिएको छ। माफी माग्ने पश्चात्तापी पापीलाई स्वीकार्न उहाँ तयार हुनुहुन्छ। (लूका १५:११-२४) निष्कपट, हृदयस्पर्शी पश्चात्ताप तथा खराब कुरालाई त्याग्नु नै यहोवाको अनुग्रह र मसीही संगठनमा पुनः फर्कने बाटो भएको छ। गलती गरेर पछि पश्चात्ताप गर्ने केही व्यक्तिहरू दोषी भावनाको बोझले चकनाचूर भएको महसुस गर्छन्। अतः तिनीहरू पश्चात्ताप गर्न र मसीही मण्डलीको मायालु वातावरणमा फर्कन प्रेरित भएका छन्। यसप्रकार तिनीहरूले यशैया ५७:१५ मा यहोवाका शब्दहरूलाई मूल्यांकन गरेका छन्।
यहोवाको मायालु हेरचाह पुनः प्राप्त गर्न नदिन शैतानले ती पापहरू अक्षम्य जस्तो ढोंग रच्नसक्छ। तर पश्चात्तापीहरूको पाप क्षमा गर्न ख्रीष्ट येशूको छुडौतीको बलिदान पर्याप्त छ। हो, त्यसले “सबै संसारका” जन्मजात पापलाई समेत क्षमा गर्नसक्छ। (१ यूहन्ना २:१, २) छुडौतीको बलिदानले क्षमा गर्न नसक्ने एउटा पाप, परमेश्वरको पवित्र आत्मा विरुद्ध गरिने पाप हो। त्यो परमेश्वरको पवित्र आत्माको कार्यलाई जानाजानी विरोध गरेझैं हो। त्यस्तो गम्भीर पाप यहूदा इस्करयोती र अन्य शास्त्री तथा फरिसीहरूले गरेका थिए।—मत्ती १२:२४, ३१, ३२; २३:१३, ३३; यूहन्ना १७:१२.
यहोवाको धार्मिकतालाई कायम राख्ने
आत्मिक इस्राएलीहरूका शेष जनले सन् १९१९ मा यहोवाको अनुग्रह पुनः प्राप्त गरेदेखि तिनीहरू वरपरको संसारभन्दा झनै उच्च पारिएका छन्। तिनीहरूको आफ्नै भलाइले होइन तर यहोवाको नियम तथा स्तरहरूप्रति स्वैच्छिक आज्ञाकारिताले त्यसो भएको हो। फलस्वरूप, आत्मिक इस्राएलसित ख्रीष्टका लाखौं “अरू भेड़ा” निष्ठावान् सहचरहरूको हैसियतमा एक भएका छन्। (यूहन्ना १०:१६) परमेश्वरको धार्मिक स्तरहरूबाट पथभ्रष्ट संसारमा यी मानिसहरूले यहोवाको महिमा तथा आदर गर्छन्। एउटा दक्षिण अफ्रिकी पत्रिका पर्सनालिटी-मा एक चोटि यस्तो लेखिएको थियो: “यहोवाका साक्षीहरू त असल गुनहरूले भरिभराउ र खराबीबाट पूर्णतया मुक्तजस्तो देखिन्छन्।”
अभक्त संसारमा यस उच्च स्थानलाई कायम राख्न मसीही मण्डलीको हरेक सदस्यले यहोवासमक्ष स्वच्छ, इमानदार जीवन बिताउनु खाँचो छ। बाइबलमा यहोवाको स्वर्गीय संगठनलाई स्वच्छ कुराहरूले चित्रण गरिन्छ। उनी सूर्य पहिरेकी र चन्द्र खुट्टामनि भएकी सुन्दरीजस्तो देखिन्छिन्। (प्रकाश १२:१) यस नयाँ यरूशलेमलाई सुन्दर पवित्र शहर भनी वर्णन गरिएको छ। (प्रकाश २१:२) ख्रीष्टको दुलहीका विश्वासी सदस्यहरूलाई “मसिनो सुती लुगा, चहकिलो र चोखो कपड़ा” दिइन्छ। (प्रकाश १९:८) ठूलो भीडकाहरू “सेता लुगा लगाएका” देखिन्छन्। (प्रकाश ७:९) धार्मिक झुकाउ भएका मानिसहरू स्वच्छ संगठनतर्फ आकर्षित हुन्छन्। यसको विपरीत शैतानको संगठन स्वच्छ छैन। त्यसको धार्मिक संगठनलाई वेश्याले चित्रण गर्छ र पवित्र शहरबाहिरकाहरूलाई फोहर तथा अशुद्ध भनी वर्णन गरिएको छ।—प्रकाश १७:१; २२:१५.
धर्मीहरूलाई अनन्त जीवन प्रतिज्ञा गरिएको छ। यहोवाको धार्मिकतालाई उच्च पार्न एकत्रित मानिसहरूले यस दुष्ट रीतिरिवाजबाट बच्ने प्रत्याशा राखेका छन्। परमेश्वरले हितोपदेश १:३३ मा यस्तो प्रतिज्ञा गर्नुभएको छ, “जसले मेरा वचन सुन्छन् . . . दुर्दिनमा डरैविना तिनीहरू ढुक्क रहनेछन्।”
महान् सुलेमान, ख्रीष्ट येशूले यहोवाको भय राख्दै नयाँ संसारमा शासन गर्नुहुँदा कति मनमोहक हुनेछ! (२ पत्रुस ३:१३) यो स्वच्छ आकाशमा बिहानीको सूर्यको ज्योतिजस्तै हुनेछ। पृथ्वीका सारा बासिन्दाहरू सुरक्षित हुनेछन्। भनौं भने, तिनीहरू आफ्नै दाखबारी र नेभाराको बोटमुनि बस्नेछन्। धार्मिक मानव समाजले पृथ्वीलाई सुन्दर बनाउनेछ र हाम्रो परमेश्वर, यहोवालाई अनन्तसम्म प्रशंसा गर्न ब्रह्माण्डमा आ-आफ्नो आधिकारिक स्थान ग्रहण गर्नेछन्।—मीका ४:३, ४; यशैया ६५:१७-१९, २५ पनि हेर्नुहोस्।
[पृष्ठ २६-मा भएको चित्रको स्रोत]
Garo Nalbandian