अहंकारी मनोवृत्ति त्याग्नुहोस्!
बाइबलमा बुद्धिले भरिएको एउटा हितोपदेशले यसो भन्छ: “आफ्नो घरको ढोका अग्लो बनाउने व्यक्तिले विनाश निम्त्याउँछ।” (हितोपदेश १७:१९ न्यु व०) एउटा अग्लो ढोका बनाउनुमा के गल्ती छ? यस हितोपदेशले भन्न खोजेको मुख्य कुरा के हो?
पुरातन समयमा लुटपात गर्न चोर र डाँकाहरू घोडामा चढेर आउनु कुनै असामान्य कुरा थिएन। खुला मैदानहरूमा भएको असुरक्षित घरहरूमा चोरहरू सजिलै पस्न सक्थे। आफ्नो धनसम्पत्ति चोरी हुनबाट बचाउन केही घरमालिकहरूले एउटा विशेष प्रकारको ढोका भएको पर्खाल बनाउँथे। पर्खाल अग्लो तर ढोका भने होचो हुन्थ्यो। वास्तवमा भन्ने हो भने, कुनै कुनै ढोकाहरू त लगभग एक मीटर मात्र अग्लो—अर्थात् घोडा र घोडचढी छिर्न नसकिने गरी होचो हुन्थ्यो। आफ्नो आँगनमा पस्ने ढोका होचो नबनाउनेहरूको घरभित्र घोडा चढेर डाँकाहरू आएर लुटपात गर्ने खतरा थियो।
शहरहरूमा आँगनमा छिर्ने ढोकाहरू साधारणतया होचो र भद्दा हुन्थ्यो। त्यसले गर्दा पर्खालको घेराभित्र कत्तिको धनसम्पत्ति छ भन्ने कुनै सङ्केत नै पाईंदैनथ्यो। तथापि, पर्सियामा भने अग्लो ढोका राजखानदानको चिह्न थियो। यसलाई केही प्रजाहरूले ठूलो खतरा मोलेर नक्कल गर्न खोजे। आफ्नो घरको ढोका अग्लो बनाएर आफ्नो समृद्धिको प्रदर्शन गर्ने व्यक्तिले लुटेराहरूलाई निमन्त्रणा दिइरहेको हुन्थ्यो।
आफ्नो ढोका अग्लो बनाउनेहरुले वास्तवमा आफूलाई आफ्नो हैसियतभन्दा बढी ठानेर विपत्तिसित खेलवाड गरिरहेका हुन्छन् भनेर हितोपदेश १७:१९-ले देखाउँछ। यस हितोपदेशले घमण्डी र अहंकारी बोलीलाई पनि अग्लो प्रवेशद्वारसित मिलान गर्दछ। त्यस्तो कुराकानीले कलह उत्पन्न गर्छ र घमण्डी मानिसलाई अन्ततोगत्वा विनाशतर्फ डोऱ्याउँछ। यसकारण अहंकारी मनोवृत्ति त्याग्नु कस्तो बुद्धिमानी कुरा हो! (w93 5/15)