प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १२/१५ pp. ८-१०
  • तिनीहरूले ‘सत्य किने’!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले ‘सत्य किने’!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • बाइबल शिक्षाहरूद्वारा आकर्षित
  • सत्यलाई आफ्नो बनाउनुहोस्‌
  • झूटो धर्मले गर्दा भ्रममा परेका
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १२/१५ pp. ८-१०

तिनीहरूले ‘सत्य किने’!

“सत्य किन्‌, औ त्यसलाई कहिल्यै नबेच्‌।” (हितोपदेश २३:२३) यो थियो बुद्धिमान्‌ सुलेमानको आग्रह। साधारणतया कुनै पनि सत्यबारे यसो भन्‍न सकिन्छ तर परमेश्‍वरको वचन बाइबलमा पाइने सत्यबारे यो कथन विशेषगरि उपयुक्‍त छ। यस्तो सत्यले अनन्त जीवनतर्फ डोऱ्‍याउनसक्छ! (यूहन्‍ना १७:३, १७) तर याद गर्नुहोस्‌, यस्तो सत्य हासिल गर्न मोल चुकाउनुपर्छ। सत्य ‘किन्‍न’ इच्छुक हुनुपर्छ अर्थात्‌ भनौं भने, त्यो हासिल गर्न केही गुमाउन वा त्याग्न इच्छुक हुनुपर्छ। (मत्ती १३:४५, ४६ तुलना गर्नुहोस्‌।) सामान्यतया मानिसहरू त्यसो गर्न चाहँदैनन्‌। तर धेरैजसो मुलुकहरूमा थुप्रै साहसी व्यक्‍तिहरूले प्रायजसो ठूलो मोल चुकाएर बाइबल सत्य किनिरहेका छन्‌।

उदाहरणका लागि, पश्‍चिम अफ्रिकी मुलुक घानाका यहोवा साक्षीहरूलाई विचार गर्नुहोस्‌। सन्‌ १९८९ जून महिनासम्म त्यहाँ बाइबल सत्य ग्रहण गरेर अरूलाई पनि बताउन सक्रिय रहने ३४,००० भन्दा बढी साक्षीहरू थिए। तर पछि जनप्रचारकार्यमाथि कानुनी प्रतिबन्ध लगाइयो। तैपनि इमानदार हृदय भएका मानिसहरूले कानुनी अवरोधको बावजूद ‘सत्य किन्‍न’ छोडेनन्‌। अक्टोबर ३१, १९९१ मा प्रतिबन्ध हटाइयो र प्रतिबन्ध हटाइएको साढे तीन वर्षपछि अर्थात्‌ १९९५ को बीचतिर घानामा यहोवाका सक्रिय साक्षीहरूको संख्या बढेर ४६,१०४ पुगिसकेको थियो! अनि यो साल त्यो संख्या बढेर ५२,८०० भन्दा बढी भएको छ।

कुन कुराले गर्दा मानिसहरू परमेश्‍वरको वचनमा आधारित सत्यप्रति आकर्षित भएका छन्‌? ‘सत्य किन्‍न’ कसै कसैले के कस्ता त्यागहरू गर्नुपरेका छन्‌? यसको जवाफको लागि घानाका तल उल्लिखित तीन जना मसीहीहरूको अनुभव हेरौं।

बाइबल शिक्षाहरूद्वारा आकर्षित

सर्वप्रथम, भर्खरै २०/२२ वर्ष पुगेकी एउटी युवतीको कुरा गरौं। उनका बुबा पास्टर थिए। यद्यपि, उनले आफ्ना बुबाको धर्म छोड्‌ने निर्णय गरिन्‌। कारण? उनी सत्यलाई प्रेम गर्थिन्‌।

उनले एक चोटि यसो भनिन्‌: “घर-घर प्रचारकार्यको सिलसिलामा साक्षीहरू हाम्रो घरमा पनि आउने गर्थे। तिनीहरूसित दुइ चार पटक छलफल गरिसकेपछि तिनीहरूले सिकाउने कुरा बाइबलमा पूर्णतया आधारित रहेछन्‌ भनेर थाह पाएँ। मैले त्रिएक, नरक, आत्माको अमरता र विशेषगरि विश्‍वासद्वारा निवारणजस्ता विषयहरूमाथि प्रश्‍न उठाएँ। यी सिद्धान्तहरू बाइबलमा आधारित हुन्‌ भनेर मलाई पूरा विश्‍वास लागेको थियो। तर त्यसो होइन रहेछ भनी बुझ्न साक्षीहरूले मदत गरे।”—यी विषयहरूमा बाइबलको दृष्टिकोण बुझ्न कृपया मर्कूस १३:३२; रोमी ६:२३; प्रेरित १०:४०; र १ कोरिन्थी १३:८-१० हेर्नुहोस्‌।

यस युवतीले अझ यसो भनिन्‌: “तर मेरो परिवारले, विशेषगरि बुबाले असाध्यै विरोध गर्नुभयो। उहाँको विचारमा साक्षीहरूले मलाई बहकाइरहेका थिए। तथापि, मैले यहोवाका साक्षीहरूबाट सिकिरहेको कुरा सत्य हो भनेर मलाई थाह थियो। मैले बुबालाई बाइबलका यी कुराहरू बताउन खोजें तर उहाँ सुन्‍नै चाहनुहुन्‍न थियो। उल्टो सतावट झन्‌ झन्‌ चर्किन थाल्यो।

“तर म पनि हार मान्‍नेवाला थिइनँ। केवल साँचो ज्ञानले प्रमोदवनमा अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भनेर मलाई थाह थियो र त्यसलाई नछोड्‌न म कटिबद्ध थिएँ। मैले भोगिरहेका समस्याहरूबारे स्थानीय साक्षीहरूले थाह पाएपछि मलाई प्रोत्साहन दिनुका साथै केही आधारभूत आवश्‍यकताहरूको प्रबन्ध गरेर मायालु सहयोग दिए। यसले गर्दा मैले यूहन्‍ना १३:३५ मा उल्लिखित यी शब्दहरूको तात्पर्य बुझ्न सकें: ‘यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।’ यहोवाका साक्षीहरूको धर्म नै साँचो हो भन्‍ने मेरो विश्‍वास अझ सुदृढ भयो। पछि, मेरो जीवनमा परिवर्तनहरू भएको देख्नुभएपछि आमाबुबाको मन फर्क्यो र मप्रति राम्रो दृष्टिकोण राख्न थाल्नुभयो। यहाँसम्म कि बुबाले साक्षीहरूलाई मेरो दाइसित पनि बाइबल अध्ययन गर्न आग्रह गर्नुभयो!”

सत्यलाई आफ्नो बनाउनुहोस्‌

साक्षी आमाबाबुले हुर्काएका कतिपय केटाकेटीहरूका लागि त ‘सत्य किन्‍नु’ पनि एउटा चुनौती नै हो। कोही कोही युवाहरू बाइबल सत्यलाई हल्कासित लिन खोज्छन्‌। तिनीहरूले व्यक्‍तिगत तवरमा सत्यलाई ग्रहण गरेका छैनन्‌ भने तिनीहरूको विश्‍वास कमजोर तथा सतही हुन बेर लाग्दैन। (मत्ती १३:२०, २१ तुलना गर्नुहोस्‌।) घानाका तीस वर्ष नाघिसकेका नथान्यलले सानै छँदा कसरी ‘सत्य किने’ भनी आफ्नो वृत्तान्त सुनाउँछन्‌।

आफ्नो बाल्यावस्थालाई सम्झँदै यसो भन्छन्‌, “म शिशु छँदादेखि नै आमाबाबुले मलाई बाइबलका कुराहरू सिकाउनुभयो। हुर्कंदै जाँदा उहाँहरूसित प्रचारमा पनि जान्थें तर मैले साक्षी बन्‍ने निर्णय भने गरेको थिइनँ। समय बित्दै जाँदा आफैले बाइबल सत्य केलाउनुपर्ने रहेछ भनेर बुझें।

“सर्वप्रथम, परमेश्‍वरको वचन बाइबलै हो र अरू धार्मिक ग्रन्थहरू होइनन्‌ भनेर विश्‍वस्त हुनुपरेको थियो। व्यक्‍तिगत अध्ययन गरेपछि मैले थाह पाएँ, भविष्यवाणी गरेअनुसारै पूरा भएका स्पष्ट भविष्यवाणीहरू बाइबलमै मात्र पाइन्छन्‌। बाइलबमा थुप्रै वैज्ञानिक सत्यहरू रहेछन्‌ भनेर पनि थाह पाएँ। जस्तै, ‘पृथ्वी अन्तरिक्षमा झुन्डिएको’ कुरा इत्यादि। (अय्यूब २६:७) वैज्ञानिकहरूले हाम्रो सौर्यमण्डलबारे पत्ता लगाउनुभन्दा हजारौं वर्षअघि उक्‍त कुरा लेखिएको थियो। परमेश्‍वरले मात्र त्यस्ता कुराहरू लेख्न मानिसहरूलाई प्रेरित गर्न सक्नुहुन्थ्यो!a

“त्यसपछि, म बाइबलमा पाइने सत्य सिकाउने र त्यसअनुसार चल्ने धार्मिक संगठन कुन कुन रहेछ भनेर पत्ता लगाउन चाहन्थें। प्रायजसो धर्महरूले नरक, त्रिएक र अमर आत्माबारे सिकाउँछन्‌। तर यी शिक्षाहरू मलाई अर्थ न बर्थको लाग्थ्यो। मैले तर्क गर्न थालें: सजाय दिन छोराको हात उम्लेको पानीमा डुबाइदिने बुबा दुष्ट होइन र? त्यसो हो भने मायालु परमेश्‍वरले आफ्ना सन्तानहरूलाई अग्निमय नरकमा दुःखकष्ट भोग्न लगाउनु मिल्छ र? तथापि, यहोवाका साक्षीहरू रोमी ६:२३ जस्ता बाइबल पदअनुरूप सिकाउँछन्‌ जहाँ यसो भनिएको छ: ‘पापको ज्याला मृत्यु हो’—अग्निकुन्ड होइन। यो तर्क मलाई चित्त बुझ्यो।

“अनि यहोवाका साक्षीहरू आफ्ना सबै सदस्यहरू बाइबलको स्तरअनुरूप जीवन बिताएको चाहन्छन्‌ र पाप गरेपछि पनि पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई बहिष्कार गर्छन्‌ भनेर बुझें। यी सबै कुरा विचार गरिसकेपछि यहोवाका साक्षीहरूसित सत्य छ भन्‍ने निष्कर्षमा पुगें र आफू पनि यहोवाको साक्षी बन्‍ने निर्णय गरें। बप्तिस्माप्राप्त साक्षी बन्‍न योग्य हुनका लागि कडा मेहनत गरें।”—१ कोरिन्थी ५:११-१३.

नथान्यलको अनुभवले के देखाउँछ भने मसीही आमाबाबुले हुर्काएका छोराछोरीहरूले पनि ‘सत्य किन्‍नुपर्छ।’ झारा टार्ने हिसाबले मात्र मण्डलीका सभाहरू धाउने गर्नु हुँदैन। पुरातन बिरियाका मानिसहरूले जस्तै ‘ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्नुपर्छ।’ (प्रेरित १७:११) यसो गर्न समय तथा प्रयासको खाँचो त पर्छ नै तर यसको फलस्वरूप दृढ विश्‍वास तथा आस्था प्राप्त हुनसक्छ।—एफिसी ३:१७-१९ तुलना गर्नुहोस्‌।

झूटो धर्मले गर्दा भ्रममा परेका

घानाकै गडविन नाउँका व्यक्‍ति लगभग ७० वर्षको उमेरमा प्रेस्बाइटेरियन चर्च र मेसोनिक लज परित्याग गरेका थिए। गडविन भन्छन्‌, “चर्चमा थुप्रै आपत्तिजनक कुराहरू भइरहेको मैले देखें। उदाहरणका लागि, सदस्यहरूबीच दुश्‍मनी थियो र अहिले पनि अवस्था त्यस्तै छ। कहिलेकाहीं त प्रहरी आएर मेलमिलाप गराउनुपर्थ्यो! ख्रीष्टका अनुयायीहरूले यस्तो व्यवहार गर्नु ठीकजस्तो लागेन। पछि गएर अर्को एक जना प्रेस्बाइटेरियनसित मेरो खटपट भयो। यो हाम्रो झगडाको जनअदालतमा सुनुवाइ भयो र त्यो व्यक्‍तिलाई दोषी ठहराइयो। तथापि, चर्चका पादरीले पक्षपात गरेर उल्टो उसको पक्ष लिए र सम्पूर्ण मण्डलीको अगाडि मलाई दोषी ठहराउन खोज्यो! मैले पनि कुरा नलुकाई स्पष्टसित बताइदिएँ र चर्चमा कहिल्यै नफर्कने निधो गरेर त्यहाँबाट निस्कें।

“केही समयपछि यहोवाका साक्षीहरू मेरो घरमा आए। परमेश्‍वरबारे कुरा गर्ने मानिसहरूलाई त्यत्तिकै नफर्काउने ध्येयले मात्र सुरुमा तिनीहरूको कुरा सुनेको थिएँ। म प्रेस्बाइटेरियन भएको दशकौं भइसके तापनि बाइबलबारे थुप्रै कुराहरू मलाई थाह रहेनछ। उदाहरणका लागि, बाइबलले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा प्रदान गर्छ भनेर मलाई थाहै थिएन।b अनि यहोवाका साक्षीहरूको सभा धाउन थालेपछि तिनीहरूको आनीबानी र विशेषगरि युवाहरूको पहिरन तथा कोरीबाटी देखेर म असाध्यै प्रभावित भएँ। बाइबल सिद्धान्तअनुसार जीवन बिताउने मानिसहरू त यिनीहरू पो रहेछन्‌!”

तैपनि, जीवनमा छाँटकाँट गर्न कडा परिश्रम गरेपछि मात्र तिनले ‘सत्य किन्‍न’ सके। गडविन यसो भन्छन्‌: “म मेसोनिक लजको सदस्य थिएँ। यो, आफ्ना सदस्यहरूलाई मदत गर्ने भ्रातृसमाज भनेर चिनिए तापनि खप्पर, हड्डीहरू चलाएर अनेकन्‌ रीतिथितिहरू र मसान जगाउने कार्यमा भाग लिन्थें। यसरी मसान जगाउँदा तिनीहरूसित हेलमेल गर्नेहरूको आध्यात्मिकता बढ्‌छ भन्‍ने धारणा थियो।

“अध्ययन गर्दै गएपछि मैले बुझें, यहोवा परमेश्‍वरले यसरी प्रेतवादसित हेलमेल गर्ने कार्यलाई घृणा गर्नुहुन्छ किनभने यसो गर्दा मानिस शैतान र त्यसका दुष्टात्माहरूको वशमा पर्छन्‌।c अब के गर्ने, मेसोनिक लजको सदस्य भइरहने वा त्यसलाई छोडेर यहोवालाई खुशी पार्ने? यहोवालाई खुशी पार्न नै रोजें। मैले फ्रिमेसोनसित सम्बन्धित सबै थोक हटाएँ, लजका सभाहरूका लागि लाउने गरेको पोसाकसमेत राखिनँ। मैले येशूले भन्‍नुभएको यस प्रतिज्ञाको सत्यता अनुभव गरें, ‘सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ’! (यूहन्‍ना ८:३२) आफूले सिकेका कुराहरू अहिले खुशीसाथ अरूलाई पनि बताउँदैछु। जे जति त्याग्नुपऱ्‍यो, त्यसमा कुनै पछुतो छैन।”

यसरी नै, इमानदार हृदय भएका हजारौं हजार मानिसहरूले ‘सत्य किन्‍न’ ठूलठूला त्याग गरेका छन्‌। यहाँ उल्लिखित तीन जना मसीहीहरूजस्तै जीवनमा छाँटकाँट गर्नुपरेकोमा तिनीहरूलाई कुनै पछुतो छैन। बाइबल सत्यले तिनीहरूलाई “पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग” प्रदान गरेको छ ताकि “तिनीहरूले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राखून्‌।” (१ तिमोथी ६:१९) ‘सत्य किन्‍नुभयो’ भने त्यो “साँच्चै जीवन” र त्यससँगसँगै आउने सबै आशिष्‌हरू तपाईंले सधैंको लागि पाउन सक्नुहुन्छ।

[फुटनोटहरू]

a थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित बाइबल—परमेश्‍वरको वचन वा मानिसको? (अंग्रेजी) नामक पुस्तक हेर्नुहोस्‌।

b उदाहरणका लागि, भजन ३७:९-११, २९ हेर्नुहोस्‌।

c व्यवस्था १८:१०-१२ र गलाती ५:१९-२१ हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको चित्र]

नथान्यल

[पृष्ठ ९-मा भएको चित्र]

गडविन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने