सुनको लुर्का
लगाएकी
मूल्य र सौन्दर्यले गर्दा पहिलेदेखि नै सुनको गरगहना मूल्यवान् ठानिन्थ्यो। मिश्रका प्रधानमन्त्री भएपछि फिरऊनले यूसुफलाई सुनको सिक्री दिए। (उत्पत्ति ४१:४२) रिबेकालाई एउटा सुनको नत्थी र दुइटा सुनको बाला दिइएको थियो, जसको मूल्य अहिलेको हिसाबमा झन्डै १,४०० डलर (अमेरिकी) पर्न आउँछ। (उत्पत्ति २४:२२) निस्सन्देह, यस्ता मूल्यवान् उपहारहरू कृतज्ञतापूर्वक स्वीकार्नुका साथै दंग परेर लगाउँथे।
बाइबलले यूसुफ र रिबेकाले लगाएका भन्दा निकै मूल्यवान् लाक्षणिक गहनाबारे बताउँछ। हितोपदेश २५:१२ यसो भन्छ: “बुद्धिमान मानिसको अर्ती सुन्नेहरूको निम्ति ती सुनको लुर्का अथवा निखुर सुनको हारजस्तै हो।” कुनै सल्लाहकारले आफ्नै विचारमा नभई परमेश्वरको वचनमा आधारित सल्लाह दिंदा त्यो साँच्चै एउटा मूल्यवान् उपहार दिएझैं हुन्छ। किन? किनभने यस्तो सल्लाहको स्रोत यहोवा स्वयं हुनुहुन्छ। बाइबल हामीलाई यसो भन्छ: “हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, अथवा उहाँको ताड़नादेखि चित्त नदुःखा। किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाईनै उहाँले हप्काउनुहुन्छ, र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ।” (हितोपदेश ३:११, १२) नम्र भई सल्लाह स्वीकार्नु अनि त्यसलाई व्यवहारमा उतार्नु भनेको सुनको लुर्का लगाएझैं हो। बाइबलको प्रेरित हितोपदेश पनि त्यसै भन्छ: “बुद्धि पाउने र समझ-शक्ति प्राप्त गर्ने मानिस सुखी रहन्छ। किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसबाट हुने फाइदा सुनभन्दा बढ़ी हुन्छ।”—हितोपदेश ३:१३, १४.