तपाईंले आफ्नो लागि कस्तो नाउँ कमाइरहनुभएको छ?
के तपाईंले कहिल्यै स्थानीय अखबारमा समवेदना वा कोही मृत व्यक्तिको जीवनी र उपलब्धिहरूबारे लामो लेख छापिएको पढ्नुभएको छ? के तपाईंले आफूलाई यस्तो प्रश्न गर्नुभयो, ‘मानिसहरूले मबारे के भन्छन् होला?’ आफू मरेपछि अरूले कसरी सम्झलान् भनेर कतिले सोच्ने गर्छन्? अतः यी खुला प्रश्नहरू विचार गर्नुहोस्: तपाईं हिजो मर्नुभएको भए आज मानिसहरूले तपाईंबारे कस्तो कुरा गरिरहेका हुन्छन् होला? तपाईंले आफ्नो लागि कस्तो नाउँ कमाइरहनुभएको छ? तपाईंलाई चिन्ने व्यक्तिहरू र परमेश्वरले, तपाईंलाई कसरी सम्झेको चाहनुहुन्छ?
बाइबलको उपदेशक पुस्तकका बुद्धिमान् लेखकले यसो भने: “असल नाउँको बासना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ, औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो।” (उपदेशक ७:१) किन मृत्यको दिन जन्मेको दिनभन्दा उत्तम हुनेछ? किनभने जन्मेको दिनमा कुनै पनि व्यक्तिले आफ्नो नाउँ कमाइसकेको हुँदैन। तिनको व्यक्तिगत पाटी रित्तै हुन्छ। तिनको जीवन पद्धतिले सकारात्मक वा नकारात्मक नाउँ कमाउनेछ। वर्षौंको दौडान असल नाउँ कमाइसकेकाहरूको लागि निश्चय पनि जन्मेको दिनभन्दा मृत्युको दिन उत्तम हो।
त्यसैले हामी छनौट गर्न सक्छौं। साँच्चै भन्ने हो भने, हामीले दिनहुँ थुप्रै छनौटहरू गर्नुपर्छ र त्यसले हाम्रो मृत्युको दिनमा हाम्रो कस्तो नाउँ रहनेछ र विशेष गरी परमेश्वरले हामीलाई कसरी सम्झनुहुनेछ भनी निर्धारण गर्नेछ। त्यसैले सोही बुद्धिमान् हिब्रू लेखकले यस्तो लेखे: “धर्मीहरूको सम्झना आशिष हो, दुष्टको नाउँ चाहिं सडेर जान्छ।” (हितोपदेश १०:७) आशिष्को लागि परमेश्वरले सम्झनु—कस्तो सुअवसरको कुरा हो!
यदि हामी बुद्धिमान् छौं भने हाम्रो लक्ष्य परमेश्वरका स्तरहरूअनुरूप जीवन बिताएर उहाँलाई आनन्दित तुल्याउने हुनेछ। यसको अर्थ ख्रीष्टले व्यक्त गर्नुभएको आधारभूत सिद्धान्त पालन गर्नु हो: “ ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। प्रमुख र प्रथम आज्ञा यही हो। दोस्रो चाहिं त्यही जस्तो हो, तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।’ सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षा यिनै दुइ आज्ञामा निर्भर छन्।’ ”—मत्ती २२:३७-४०.
कसै-कसैको मानवप्रेमी, मानवतावादी, नागरिक-अधिकारका प्रवक्ताको रूपमा सम्झना गरिन्छ वा व्यापार, विज्ञान, चिकित्सा वा अन्य क्षेत्रमा प्राप्त गरेका उपलब्धिहरूको लागि चिनिन्छन्। तर तपाईं आफ्नो सम्झना कसरी गरिएको चाहनुहुन्छ?
स्कटल्याण्डका कवि रबर्ट बर्न्सले (१७५९-९६) अरूले आफूलाई हेरेजस्तो आफूलाई हेर्न सक्ने शक्तिको वरदान पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गरे। के तपाईंले आफूलाई निष्पक्ष रूपमा हेरेर, तपाईंको अरू मानिसहरूमाझ र परमेश्वरसामु राम्रो नाउँ छ भनेर भन्न सक्नुहुन्छ? अन्ततः खेलकूद वा व्यापारजगत्मा हामीले हासिल गर्ने क्षणिक उपलब्धिहरूभन्दा अरूसँगको हाम्रो सम्बन्ध निश्चय पनि धेरै महत्त्वपूर्ण हुन्छ। त्यसकारण प्रश्न उठ्छ: अरूसँगको व्यवहारमा—हाम्रो कुराकानी, हाम्रो आचरण, हाम्रो शरीरको हावभावले—तिनीहरूलाई कस्तो असर गर्छ? के तिनीहरूले हामीलाई कुरा गर्न सजिलो व्यक्तिको रूपमा हेर्छन् वा एकलकाँटेको रूपमा? दयालु व्यक्तिको रूपमा वा छुच्चो व्यक्तिको रूपमा? लचकदार वा कचकचे व्यक्तिको रूपमा? न्यानो र कृपालु व्यक्तिको रूपमा वा भावशून्य र वास्ता नगर्ने व्यक्तिको रूपमा? अरूको चित्त दुखाउने आलोचकको रूपमा वा राम्रो सल्लाहकारको रूपमा? आउनुहोस्, विगत र वर्तमानका केही उदाहरण हेरेर हामीले के सिक्न सक्छौं, हेरौं।
[पृष्ठ ३-मा भएको चित्र]
रबर्ट बर्न्सले अरूले आफूलाई हेरेजस्तो आफूलाई हेर्न सक्ने शक्तिको वरदान पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गरे
[स्रोत]
From the book A History of England