प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 नोभेम्बर pp. २४-२९
  • “सीधा अगाडि” भविष्यतर्फ हेर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सीधा अगाडि” भविष्यतर्फ हेर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मीठा यादहरूमा घोरिनु
  • मनमा द्वेष पालेर राख्नु
  • अचाक्ली दोषी महसुस गर्नु
  • भविष्यमा ध्यान केन्द्रित गर्नुहोस्‌!
  • दोषी भावनाहरू—के ती सधैं गलत हुन्‌?
    ब्यूँझनुहोस्‌!—२००२
  • चित्त दुख्दा—“कसैको विरुद्धमा केही गुनासो छ भने”
    यहोवाकहाँ फर्कनुहोस्‌
  • हरेस नखाओ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • रिस पाल्नु ठीक हो?
    ब्यूँझनुहोस्‌!—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 नोभेम्बर pp. २४-२९

अध्ययन लेख ४८

“सीधा अगाडि” भविष्यतर्फ हेर्नुहोस्‌

“तिम्रो आँखाले सीधा अगाडि हेरोस्‌; तिम्रो आँखाले एकटक लगाएर अगाडि हेरोस्‌।”—हितो. ४:२५.

गीत ७७ अन्धकार संसारमा आशाको किरण

परिचयa

१-२. हितोपदेश ४:२५ को सल्लाह हामी कसरी पालन गर्न सक्छौँ? एउटा उदाहरण दिनुहोस्‌।

यी तीन दृश्‍य कल्पना गर्नुहोस्‌। एउटी वृद्ध ख्रिष्टियन बहिनी आफूले विगतमा बिताएका रमाइला क्षणहरू सम्झन्छिन्‌। अहिले उनको जीवन कष्टकर भए पनि उनी यहोवाको सेवामा सक्दो गरिरहेकी छिन्‌। (१ कोरि. १५:५८) उनी हरेक दिन आफूले माया गर्ने व्यक्‍तिहरूसँगै प्रतिज्ञा गरिएको नयाँ संसारमा जीवन बिताइरहेको कल्पना गर्छिन्‌। अर्की बहिनी भने सङ्‌गी ख्रिष्टियनले गर्दा आफ्नो चित्त दुखेको कुरा सम्झन्छिन्‌। तर तिनी मनमा द्वेष पालेर नराख्ने निर्णय गर्छिन्‌। (कल. ३:१३) एक भाइले विगतमा गरेका गल्तीहरू बिर्सेका छैनन्‌। तर तिनी अबउसो कसरी वफादार भइरहने भन्‍ने कुरामा ध्यान दिन्छन्‌।—भज. ५१:१०.

२ यी तीन ख्रिष्टियनबीच कस्तो समानता छ? तीनै जनाले विगतका कुराहरू सम्झन्छन्‌ तर तिनीहरू विगतमा जिउँदैनन्‌। बरु तिनीहरू “सीधा अगाडि” भविष्यतर्फ हेर्छन्‌।—हितोपदेश ४:२५ पढ्‌नुहोस्‌।

३. हामीले किन “सीधा अगाडि” भविष्यतर्फ हेर्नुपर्छ?

३ “सीधा अगाडि” भविष्यतर्फ हेर्नु किन महत्त्वपूर्ण छ? कुनै व्यक्‍तिले घरीघरी पछाडि फर्केर हेर्छ भने ऊ सीधा अगाडि हिँड्‌न सक्दैन। त्यसरी नै हामी पनि घरीघरी विगतका कुराहरूलाई फर्केर हेर्छौँ भने यहोवाको सेवामा अगाडि बढ्‌न सक्दैनौँ।—लुका ९:६२.

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

४ यस लेखमा हामीलाई विगतमा जिउनेb हदसम्म पुऱ्‍याउन सक्ने तीन वटा पासोबारे छलफल गर्नेछौँ। ती हुन्‌: (१) मीठा यादहरूमा घोरिनु, (२) मनमा द्वेष पालेर राख्नु र (३) अचाक्ली दोषी महसुस गर्नु। यी प्रत्येक अवस्थामा “पछाडिका कुराहरू”-मा घोरिएर बस्नुको सट्टा “अगाडिका कुराहरूतिर” लम्कन बाइबलका सिद्धान्तहरूले कसरी मदत गर्छ भनेर बुझ्नेछौँ।—फिलि. ३:१३.

मीठा यादहरूमा घोरिनु

एक वृद्ध भाइ, एक बहिनी र एक जवान भाइले फरक-फरक डोरी तान्दै छन्‌। ती डोरीहरूलाई ‘मीठा यादहरू,’ ‘द्वेष’ र ‘अचाक्ली दोषी भावना’ भन्‍ने नाम दिइएको छ।

हामीलाई सीधा अगाडि भविष्यतर्फ हेर्न केले बाधा पुऱ्‍याउन सक्छ? (अनुच्छेद ५, ९, १३ हेर्नुहोस्‌)f

५. उपदेशक ७:१० ले कस्तो पासोबारे चेतावनी दिन्छ?

५ उपदेशक ७:१० पढ्‌नुहोस्‌। याद गर्नुहोस्‌, यस पदले यस्तो सोध्नु गलत हो भन्दैन: “उहिले-उहिलेका दिन किन राम्रा थिए?” मीठा यादहरू यहोवाले दिनुभएको उपहार हो। बरु यस पदले यसो भन्छ: “उहिले-उहिलेका दिन किन अहिलेका भन्दा राम्रा थिए भनेर नसोध।” अर्को शब्दमा भन्‍नुपर्दा, अहिलेको आफ्नो अवस्थालाई पहिलेको अवस्थासित तुलना गर्नु र अहिले आफ्नो जीवनमा केही पनि राम्रो छैन भन्‍ने निष्कर्षमा पुग्नु पासो हो। अर्को एउटा बाइबलमा यस पदलाई यसरी अनुवाद गरिएको छ: “‘उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन उत्तम थिए,’ भनी नभन, किनकि यस्तो प्रश्‍न सोध्नु बुद्धिको कुरो होइन।”

चित्रहरूको सँगालो: एक इस्राएली पुरुष मन्‍न खेलाउँदै मिश्रमा बिताएको जीवन सम्झिरहेका छन्‌। १. तिनी खरबुजा खाँदै छन्‌। २. मिश्रीहरूले इस्राएली दासहरूलाई कुट्‌दै छन्‌ र दुर्व्यवहार गर्दै छन्‌।

मिश्र छोडेपछि इस्राएलीहरूले कस्तो गल्ती गरे? (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. विगतका दिनहरू अहिलेको भन्दा राम्रा थिए भनेर सोचिरहनु किन बुद्धिमानी होइन? एउटा उदाहरण दिनुहोस्‌।

६ विगतका दिनहरू अहिलेको भन्दा राम्रा थिए भनेर सोचिरहनु किन बुद्धिमानी होइन? विगतका कुराहरू सम्झँदा हामीमा राम्रा कुराहरू मात्र सम्झने झुकाव हुन सक्छ। अथवा मीठा यादहरूमा मात्र घोरिँदा हामीले विगतमा भोगेको दुःखकष्ट बिर्सन सक्छौँ। उदाहरणको लागि, पुरातन इस्राएलीहरूलाई विचार गरौँ। मिश्र छोडेपछि इस्राएलीहरूले त्यहाँ आफ्नो जीवन कत्ति कष्टकर थियो भन्‍ने कुरा तुरुन्तै बिर्से र त्यहाँ खाएको मीठा-मीठा खानेकुराबारे सोच्न थाले। तिनीहरूले भने: “मिश्रमा छँदा सित्तैमा खान पाइरहेको माछा हामी झलझली सम्झन्छौँ। त्यहाँ काँक्रो, खरबुजा, प्याज र लसुनको कुनै अभाव थिएन!” (गन्ती ११:५) तर के तिनीहरूले साँच्चै “सित्तैमा” खान पाएका थिए? थिएन। इस्राएलीहरूले मिश्रमा दासको रूपमा अत्याचार भोगेका थिए। तिनीहरूलाई काममा दलाउनसम्म दलाइएको थियो। (प्रस्थ. १:१३, १४; ३:६-९) तैपनि तिनीहरूले पहिला भोगेको दुःख बिर्से र त्यहीँ फर्कन पाए हुन्थ्यो भनेर सोच्न थाले। यहोवाले तिनीहरूको लागि गरिदिनुभएको असल कुराहरूमा ध्यान दिनुको साटो तिनीहरू मीठा यादहरूमा मात्र घोरिए। यहोवा तिनीहरूको यस्तो मनोवृत्ति देखेर खुसी हुनुभएन।—गन्ती ११:१०.

७. मीठा यादहरूमा मात्र घोरिएर बस्ने पासोबाट जोगिन एक बहिनीलाई केले मदत गऱ्‍यो?

७ मीठा यादहरूमा मात्र घोरिएर बस्ने पासोबाट हामी कसरी जोगिन सक्छौँ? सन्‌ १९४५ देखि ब्रुक्लिन बेथेलमा सेवा गर्नुभएको एउटी बहिनीको उदाहरण विचार गर्नुहोस्‌। केही वर्षपछि उहाँले बेथेलमै सेवा गर्ने एक भाइसँग विवाह गर्नुभयो। उहाँहरूले वर्षौँसम्म सँगै मिलेर सेवा गर्नुभयो। तर सन्‌ १९७६ मा उहाँको पति बिरामी हुनुभयो। उहाँको पतिले अब आफू बाच्दिनँ भनेर थाह पाएपछि उहाँलाई एक्लो जीवन कसरी सम्हाल्ने भनेर राम्रो सल्लाह दिनुभएको कुरा उक्‍त बहिनीले बताउनुभयो। उहाँको पतिले उहाँलाई यसो भन्‍नुभयो: “हाम्रो दाम्पत्य जीवन सुखी रह्‍यो। थुप्रै मानिसहरूले यस्तो अनुभव गर्न पाएका छैनन्‌।” उहाँको पतिले यस्तो सल्लाह पनि दिनुभयो: “आफूसँग सम्झनाहरू भए तापनि अतीतका कुराहरूमा घोरिएर नबस्नू। समय बित्दै गएपछि तिम्रो पीडा कम हुँदै जानेछ। नमीठो महसुस नगर र आफूलाई बढ्‌ता दया नदेखाऊ। यी आनन्द तथा आशिष्‌हरू पाएकोमा खुसी होऊ। . . . सम्झनाहरू परमेश्‍वरका वरदान हुन्‌।” यो राम्रो सल्लाह थियो भन्‍ने कुरामा के तपाईँ सहमत हुनुहुन्‍न र?

८. हाम्री बहिनीलाई आफ्नो पतिको सल्लाहले विगतमा नजिउन कसरी मदत गऱ्‍यो?

८ हाम्री बहिनीले ती सल्लाहहरू मनमा साँचेर राख्नुभयो। उहाँले ९२ वर्षको उमेरमा आफ्नो मृत्यु नहोउन्जेल वफादार भई यहोवाको सेवा गर्नुभयो। मृत्यु हुनुभन्दा केही वर्षअघि उहाँले यसो भन्‍नुभयो: “पूर्ण-समय सेवामा बिताएको ६३ वर्षलाई फर्केर हेर्दा मेरो जीवन साँच्चै सन्तोषजनक छ भनेर म भन्‍न सक्छु।” किन? उहाँले यसो भन्‍नुभयो: “जिन्दगी साँच्चै सन्तोषजनक हुनुको कारण त हाम्रो अद्‌भुत भ्रातृत्व र एक मात्र साँचो परमेश्‍वर, महान्‌ सृष्टिकर्ताको सदाको लागि सेवा गर्दै आफ्ना भाइबहिनीहरूसँगै पार्थिव प्रमोदवनमा बाँच्ने आशा हो।”c सीधा अगाडि भविष्यतर्फ हेरेको कस्तो राम्रो उदाहरण!

मनमा द्वेष पालेर राख्नु

९. लेवी १९:१८ मा बताइएअनुसार विशेषगरि कस्तो अवस्थामा मनबाट द्वेषको भावना हटाउन गाह्रो हुन सक्छ?

९ लेवी १९:१८ पढ्‌नुहोस्‌। हाम्रो चित्त दुखाउने व्यक्‍ति सङ्‌गी विश्‍वासी, घनिष्ठ साथी वा आफन्त हो भने मनबाट द्वेषको भावना हटाउन हामीलाई गाह्रो हुन सक्छ। उदाहरणको लागि, एक बहिनीलाई सङ्‌गी ख्रिष्टियनले पैसा चोरेको दोष लगाइन्‌। पछि, दोष लगाउने बहिनीले माफी मागे तापनि तिनले आफ्नो चित्त दुखेको कुरा बिर्सन सकिनन्‌। तपाईँले पनि यस्तै अनुभव गर्नुभएको छ कि? हामीले यस्तै अवस्था सामना नगरेको भए तापनि हामीमध्ये धेरैलाई कसैको व्यवहारले गर्दा रिस उठेको हुन सक्छ र तिनलाई कहिल्यै क्षमा दिन सक्दिनँ जस्तो लागेको हुन सक्छ।

१०. मनमा द्वेषको भावना आउँदा हामीलाई केले मदत दिन सक्छ?

१० मनमा द्वेषको भावना आउँदा हामीलाई केले मदत दिन सक्छ? एउटा कुरा त, यहोवा सबै कुरा देख्नुहुन्छ भनेर नबिर्सनुहोस्‌। हामीले सामना गर्ने कुनै पनि कुरा उहाँको नजरबाट लुकेको छैन, हामीले भोग्ने अन्यायसमेत। (हिब्रू ४:१३) हामीले दुःख भोग्नुपर्दा उहाँ पनि दुःखी हुनुहुन्छ। (यसै. ६३:९) साथै अन्यायले गर्दा हामीले भोग्नुपरेको जुनसुकै हानिलाई सच्याउने प्रतिज्ञा उहाँले गर्नुभएको छ।—प्रका. २१:३, ४.

११. मनमा द्वेष पालेर राखेनौँ भने हामीलाई कस्तो फाइदा हुन्छ?

११ मनमा द्वेष पालेर राखेनौँ भने हामीलाई नै फाइदा हुन्छ भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। यो कुरा झूटो आरोप लागेको बहिनीले पनि बुझिन्‌। समयको अन्तरालमा तिनले मनबाट द्वेषको भावना हटाउन सकिन्‌। हामीले अरूलाई क्षमा दिँदा यहोवाले पनि हामीलाई क्षमा दिनुहुन्छ भनेर तिनले बुझिन्‌। (मत्ति ६:१४) अर्की बहिनीले आफूसित गरेको व्यवहार गलत थियो भनेर तिनलाई थाह थियो। तैपनि तिनले मनमा द्वेष पालेर नराख्ने निर्णय गरिन्‌। परिणामस्वरूप तिनी पहिलेभन्दा खुसी हुन सकिन्‌ अनि यहोवाको सेवामा ध्यान दिन सकिन्‌।

अचाक्ली दोषी महसुस गर्नु

१२. पहिलो युहन्‍ना ३:१९, २० बाट के सिक्न सक्छौँ?

१२ पहिलो युहन्‍ना ३:१९, २० पढ्‌नुहोस्‌। हामी सबैले कहिलेकाहीँ दोषी महसुस गर्छौँ। उदाहरणको लागि, कतिपयले बाइबल सत्य सिक्नुअघि गरेको गल्ती सम्झेर दोषी महसुस गर्छन्‌। अरू भने बप्तिस्मापछि गरेको गल्तीको कारण दोषी महसुस गर्छन्‌। यस्तो महसुस गर्नु स्वाभाविक हो। (रोमी ३:२३) हुनत हामी जे सही हो, त्यो गर्न चाहन्छौँ। तर “हामी सबै जना धेरै चोटि चुक्छौँ।” (याकु. ३:२; रोमी ७:२१-२३) हामीलाई दोषी भावनाले सताएको मन पर्दैन तर यसले हामीलाई फाइदा पुऱ्‍याउन सक्छ। किन? किनभने दोषी भावनाले हामीलाई जीवनमा परिवर्तन गर्न र फेरि गल्ती नदोहोऱ्‍याउने सङ्‌कल्प गर्न मदत गर्न सक्छ।—हिब्रू १२:१२, १३.

१३. अचाक्ली दोषी महसुस गर्नदेखि जोगिनु किन महत्त्वपूर्ण छ?

१३ अर्कोतर्फ कहिलेकाहीँ हामीले अचाक्ली दोषी महसुस गर्न सक्छौँ। यसको मतलब हामीले पश्‍चात्ताप गरिसकेका छौँ र यहोवाले क्षमा दिइसक्नुभएको छ भने पनि हामीले दोषी महसुस गरिरहन सक्छौँ। यस्तो किसिमको दोषी भावना हानिकारक हुन सक्छ। (भज. ३१:१०; ३८:३, ४) किन? विगतमा गरेका पापहरूको कारण अचाक्ली दोषी महसुस गरेकी एक बहिनीलाई विचार गर्नुहोस्‌। तिनले यसो भनिन्‌: “मलाई अझ प्रयत्न गरेर यहोवाको सेवा गर्न मनै लागेन। किनभने मैले आशा मारिसकेकी थिएँ।” हामीमध्ये धेरैले यस्तै महसुस गरेका हुन सक्छौँ। त्यसैले अचाक्ली दोषी महसुस गर्ने पासोदेखि जोगिनु एकदमै महत्त्वपूर्ण छ। यहोवाले हामीदेखि हार मान्‍नुभएको छैन तर हामी आफैदेखि हार खान्छौँ भने सैतान कत्ति खुसी हुन्छ होला, सोच्नुहोस्‌ त!—२ कोरिन्थी २:५-७, ११ तुलना गर्नुहोस्‌।

१४. यहोवाले हामीदेखि हार मान्‍नुभएको छैन भनेर कसरी पक्का हुन सक्छौँ?

१४ तर हामीलाई अझै पनि यस्तो लाग्न सक्छ, ‘यहोवाले मदेखि हार मान्‍नुभएको छैन भनेर कसरी पक्का हुन सक्छु?’ आफैलाई यो प्रश्‍न सोध्नुको अर्थ यहोवा हामीलाई क्षमा दिन सक्नुहुन्छ भन्‍ने हो। दशकौँ पुरानो एउटा प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) यसो भनिएको थियो: “हाम्रो पुरानो खराब बानीले हामीले सोचेभन्दा गहिरो जरा गाडेर बसेको हुन सक्छ। सायद त्यस्ता बानीले गर्दा हामी निकै चोटि ठोकर खाएर लडौँला। . . . तर निराश नहुनुहोस्‌। अक्षम्य पाप गरेँ भनी नसम्झनुहोस्‌। किनभने तपाईँले त्यस्तै सोचोस्‌ भन्‍ने सैतान चाहन्छ। वास्तवमा तपाईँ पश्‍चात्तापको ज्वालामा जल्नुको अर्थ नै तपाईँले अक्षम्य पाप गर्नुभएको छैन भन्‍ने प्रमाण हो। नम्र हुनुहोस्‌ र क्षमा पाउन परमेश्‍वरलाई प्रार्थना गरिरहनुहोस्‌ अनि फेरि सफा अन्तस्करण पाउन र गल्ती नदोहोऱ्‍याउन उहाँसित मदत माग्नुहोस्‌। तपाईँले एउटै गल्ती जति चोटि दोहोऱ्‍याएको किन नहोस्‌, समस्यामा पर्दा सानो बालक आफ्नो बुबाकहाँ गएझैँ परमेश्‍वरसमक्ष जानुहोस्‌। त्यसो गर्नुभयो भने असीम अनुग्रह देखाउनुहुने परमेश्‍वर यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ।”d

१५-१६. कोही-कोहीले यहोवाले तिनीहरूदेखि हार मान्‍नुभएको छैन भनेर थाह पाउँदा कस्तो महसुस गरेका छन्‌?

१५ थुप्रै दाजुभाइ दिदीबहिनीले यहोवाले तिनीहरूदेखि हार मान्‍नुभएको छैन भनेर थाह पाउँदा सान्त्वना पाएका छन्‌। उदाहरणको लागि, केही वर्षअघि एक भाइले “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्‍ने शृङ्‌खलामा प्रकाशित एउटा अनुभवले आफूलाई धेरै मदत दिएको कुरा बताए। त्यस लेखमा एक बहिनीले आफ्नो विगतको अनुभवले गर्दा यहोवा उनलाई माया गर्नुहुन्छ भनेर विश्‍वास गर्न असाध्यै गाह्रो भएको कुरा स्विकारेकी थिइन्‌। उनले बप्तिस्मा गरेको धेरै वर्षपछि पनि यस्तो भावनासित सङ्‌घर्ष गर्नुपरेको थियो। तर उनले फिरौतीको बलिदानबारे गहिरिएर मनन गरेपछि आफ्नो सोचाइ परिवर्तन गर्न सकिन्‌।e

१६ ती बहिनीको अनुभवले ती भाइलाई कसरी मदत गऱ्‍यो? तिनले यस्तो लेखे: “म जवान छँदा मैले अश्‍लील सामग्री हेर्ने बानी छुटाउन धेरै सङ्‌घर्ष गर्नुपरेको थियो। हालै मैले फेरि अश्‍लील सामग्री हेर्न थालेँ। मैले एल्डरहरूसित मदत मागेँ र यो समस्या हटाउन म सक्दो प्रयास गर्दै छु। परमेश्‍वर मलाई माया गर्नुहुन्छ र कृपा देखाउनुहुन्छ भनेर एल्डरहरूले मलाई आश्‍वस्त पार्नुभएको छ। तैपनि कहिलेकाहीँ मलाई आफू बेकम्मा छु र म यहोवाको माया पाउन लायकको छैनँ जस्तो लाग्छ। [ती बहिनीको] अनुभवले मलाई धेरै मदत गऱ्‍यो। म परमेश्‍वरको क्षमा पाउन लायकको छैनँ भनेर सोच्नुको अर्थ मेरो पाप ढाक्न उहाँको छोराको बलिदान पनि पर्याप्त छैन भन्‍नु हो भनेर अब मैले बुझेको छु। मैले यो लेख काटेर राखेको छु। आफू बेकम्मा छु भन्‍ने भावनाले सताउँदा म यो लेख पढ्‌छु र मनन गर्छु।”

१७. प्रेषित पावल अचाक्ली दोषी महसुस गर्ने पासोदेखि कसरी जोगिए?

१७ यस्ता अनुभवहरूले हामीलाई प्रेषित पावलको याद दिलाउँछ। ख्रिष्टियन बन्‍नुअघि तिनले केही गम्भीर गल्ती गरेका थिए। पावलले विगतमा गरेका गल्तीहरू बिर्सेका थिएनन्‌ तर तिनी त्यसमै घोरिएर बसेनन्‌। (१ तिमो. १:१२-१५) पावलले फिरौतीको बलिदानलाई परमेश्‍वरले तिनलाई दिनुभएको उपहार ठाने। (गला. २:२०) यसरी पावल अचाक्ली दोषी महसुस गर्ने पासोदेखि जोगिए र अबउसो यहोवालाई कसरी आफ्नो तर्फबाट उत्तम सेवा चढाउन सक्छु भन्‍ने कुरामा ध्यान केन्द्रित गरे।

भविष्यमा ध्यान केन्द्रित गर्नुहोस्‌!

अगाडि देखाइएका एक वृद्ध भाइ, एक बहिनी र एक जवान भाइ डोरीलाई पछाडि छोडेर मुस्कुराउँदै ढुक्क भएर अगाडि बढ्‌दै छन्‌।

भविष्यमा ध्यान केन्द्रित गर्ने सङ्‌कल्प गरौँ (अनुच्छेद १८-१९ हेर्नुहोस्‌)g

१८. यस लेखमा हामीले के सिक्यौँ?

१८ यस लेखमा तीन वटा पासोबारे विचार गर्दा हामीले के सिक्यौँ? (१) मीठा यादहरू यहोवाले दिनुभएको उपहार हो। तर विगतमा हाम्रो जीवन जति नै राम्रो भए तापनि नयाँ संसारमा हाम्रो जीवन अझै राम्रो हुनेछ। (२) अरूले हाम्रो चित्त दुखाउन सक्छ तर हामीले क्षमा दिने छनौट गर्दा हामी यहोवाको सेवामा अघि बढ्‌न सक्छौँ। (३) अचाक्ली दोषी महसुस गर्दा आनन्दित भई यहोवाको सेवा गरिरहन सक्नेछैनौँ। त्यसैले पावलले जस्तै हामीले पनि यहोवाले हामीलाई क्षमा दिइसक्नुभयो भनेर विश्‍वास गर्नुपर्छ।

१९. नयाँ संसारमा हामीलाई पुराना यादहरूले सताउनेछैन भनेर किन भन्‍न सक्छौँ?

१९ हामीसँग सधैँभरि बाँच्ने आशा छ। अनि परमेश्‍वरको नयाँ संसारमा हामीलाई पुराना यादहरूले सताउनेछैन। त्यस समयबारे बाइबल यसो भन्छ: “पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्‌।” (यसै. ६५:१७) सोच्नुहोस्‌ त: लामो समयदेखि यहोवाको सेवा गरिरहेका हामीमध्ये कतिपयलाई त बुढेसकालले छोइसक्यो तर नयाँ संसारमा हामी फेरि जवान हुनेछौँ। (अय्यु. ३३:२५) त्यसैले विगतमा जिउने नगरौँ। बरु भविष्यमा ध्यान केन्द्रित गर्दै नयाँ संसारमा जीवन पाउन आफ्नो तर्फबाट सक्दो गरौँ।

निम्न पासोहरूबाट जोगिन हामीलाई केले मदत गर्छ?

  • मीठा यादहरू

  • द्वेष

  • अचाक्ली दोषी भावना

गीत १४२ आशालाई पक्रिराखौँ!

a विगतका दिनहरू सम्झनु रमाइलो हुन सक्छ। तर हामीले विगतका दिनहरूबारे धेरै सोच्ने गऱ्‍यौँ भने अहिलेको समयलाई पूरापूर सदुपयोग गर्न सक्दैनौँ वा भविष्यको आशालाई बिर्सन सक्छौँ। यस लेखमा हामीलाई विगतमा जिउने हदसम्म पुऱ्‍याउन सक्ने तीन वटा पासोबारे हामी छलफल गर्नेछौँ। यस्ता पासोहरूबाट जोगिन बाइबल सिद्धान्तहरू र आधुनिक समयका उदाहरणहरूले हामीलाई कसरी मदत गर्छ, त्यो पनि बुझ्नेछौँ।

b थप व्याख्या: यस लेखमा “विगतमा जिउने” भन्‍ने अभिव्यक्‍तिको अर्थ विगतका कुराहरूमा मात्र घोरिनु, त्यसबारे घरीघरी कुरा गर्नु वा त्यतिबेलाको जीवन अहिलेको भन्दा राम्रो थियो भनेर सोच्नु हो।

c प्रहरीधरहरा, जुलाई १, २००४, पृष्ठ २३-२९ हेर्नुहोस्‌।

d प्रहरीधरहरा, (अङ्‌ग्रेजी) फेब्रुअरी १५, १९५४, पृष्ठ १२३ हेर्नुहोस्‌।

e प्रहरीधरहरा, (अङ्‌ग्रेजी) अगस्त १, २०११, पृष्ठ २०-२१ हेर्नुहोस्‌।

f चित्रको व्याख्या: मीठा यादहरूमा घोरिनु, मनमा द्वेष पालेर राख्नु र अचाक्ली दोषी महसुस गर्नु भनेको गह्रौँ वस्तुलाई घिसार्दै हिँड्‌नुजस्तै हो। यसले हामीलाई जीवनको बाटोमा अघि बढ्‌न बाधा पुऱ्‍याउँछ।

g चित्रको व्याख्या: यस्ता बोझिला भावनाहरू मनबाट हटाउँदा हामीले हल्का महसुस गर्छौँ, खुसी हुन्छौँ अनि स्फूर्ति पाउँछौँ। परिणामस्वरूप हामीले सीधा अगाडि हेर्न सक्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने