प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 नोभेम्बर pp. ८-१३
  • यहोवा हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हाम्रो प्रार्थना सुन्‍नुहुन्छ
  • यहोवा हामीलाई डोऱ्‍याइ दिनुहुन्छ
  • यहोवा हामीलाई आशिष्‌ दिनुहुन्छ
  • आनन्दित हुँदै परीक्षाहरू सहिरहनुहोस्‌
  • आनन्दित अहिले अनि सधैंभरि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • आध्यात्मिक प्रमोदवन कहिल्यै नछोड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • प्रमोदवन—तपाईंको लागि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 नोभेम्बर pp. ८-१३

अध्ययन लेख ४६

यहोवा हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्नुहुन्छ

“यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ। उहाँ तिमीहरूलाई कृपा गर्न उठ्‌नुहुनेछ।”—यसै. ३०:१८.

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

परिचयa

१-२. (क) यस लेखमा हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ? (ख) यहोवा हामीलाई मदत गर्न तत्पर हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

यहोवा हामीलाई जीवनमा आइपर्ने परीक्षाहरूको सामना गर्न र पवित्र सेवामा आनन्दित हुन मदत गर्न सक्नुहुन्छ। उहाँ हामीलाई कस्ता तरिकाहरूमा मदत गर्नुहुन्छ? अनि उहाँले दिनुहुने मदतबाट हामी कसरी पूरापूर लाभ उठाउन सक्छौँ? यस लेखमा यी प्रश्‍नहरूबारे छलफल गर्नेछौँ। तर त्यसअघि यस प्रश्‍नबारे छलफल गरौँ: के यहोवा हामीलाई मदत गर्न साँच्चै इच्छुक हुनुहुन्छ?

२ प्रेषित पावलले हिब्रूहरूलाई लेखेको पत्रमा चलाएको एउटा शब्दबाट हामी यस प्रश्‍नको जवाफ पाउन सक्छौँ। पावलले यस्तो लेखे: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?” (हिब्रू १३:६) बाइबलसम्बन्धी एउटा किताबअनुसार यस पदमा चलाइएको “मदतगार” शब्दले कसैले सहायताको लागि गुहार्दा तिनलाई मदत गर्न हतारिँदै जाने व्यक्‍तिलाई बुझाउँछ। दुःखमा परेको व्यक्‍तिलाई मदत गर्न यहोवा पनि त्यसरी नै हतारिनुभएको कल्पना गर्नुहोस्‌। यसबाट उहाँ हामीलाई मदत गर्न इच्छुक मात्र होइन, तत्पर पनि हुनुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छौँ। यहोवा हाम्रो साथमा हुनुभएकोले हामी आनन्दित हुँदै परीक्षा सहन सक्छौँ।

३. आनन्दित हुँदै परीक्षा सहन यहोवा हामीलाई कुन तीन तरिकामा मदत गर्नुहुन्छ?

३ आनन्दित हुँदै परीक्षा सहन यहोवाले हामीलाई मदत गर्नुहुने केही तरिका के-के हुन्‌? यसको जवाफ पाउन हामी यसैयाको किताब केलाऔँ। किन? किनभने यसैयाले गरेका थुप्रै भविष्यवाणी आज हामीलाई लागू हुन्छ। यसबाहेक यसैयाले यहोवाबारे कुरा गर्दा हामीले सजिलै बुझ्न सकिने शब्दहरू प्रयोग गरेका छन्‌। उदाहरणको लागि, यसैया अध्याय ३० हेरौँ। यसैयाले यस अध्यायमा यहोवाले आफ्ना मानिसहरूलाई कसरी मदत गर्नुहुन्छ भनेर बुझाउन सुन्दर उदाहरणहरू चलाएका छन्‌। यहोवाले हामीलाई यी तीन तरिकामा मदत गर्नुहुन्छ भनेर यसैयाले बताए: (१) हाम्रो प्रार्थना ध्यान दिएर सुन्‍नुभएर र त्यसको जवाफ दिनुभएर, (२) हामीलाई डोऱ्‍याइ दिनुभएर अनि (३) अहिले र भविष्यमा पनि आशिष्‌ दिनुभएर। आउनुहोस्‌, यी तरिकाहरूबारे एक-एक गरी छलफल गरौँ।

यहोवा हाम्रो प्रार्थना सुन्‍नुहुन्छ

४. (क) यहोवाले यसैयाको दिनका यहुदीहरूबारे के भन्‍नुभयो र उहाँले तिनीहरूमाथि के हुन दिनुभयो? (ख) वफादार यहुदीहरूलाई यहोवाले कस्तो आशाको सन्देश सुनाउनुभयो? (यसैया ३०:१८, १९)

४ यसैया अध्याय ३० को सुरुमै यहोवाले यहुदीहरूलाई “हठी छोराहरू” भन्‍नुभएको छ, जसले “पापमाथि पाप थप्दै जान्छन्‌।” उहाँले अझै यसो भन्‍नुभयो: “तिनीहरू विद्रोही मानिस, . . . हुन्‌। तिनीहरू यहोवाको व्यवस्था सुन्‍न नचाहने छोराहरू हुन्‌।” (यसै. ३०:१, ९) ती यहुदीहरूले यहोवाको कुरा सुन्‍न इन्कार गरेकोले उहाँले तिनीहरूमाथि विपत्ति आइपर्न दिनुहुनेछ भनेर यसैयाले भविष्यवाणी गरे। (यसै. ३०:५, १७; यर्मि. २५:८-११) हुन पनि तिनीहरूलाई बेबिलोनमा कैदी बनाएर लगियो। तर ती यहुदीहरूमध्ये केही वफादार थिए र यसैयाले तिनीहरूलाई आशाको सन्देश सुनाए। यहोवाले तिनीहरूलाई कुनै दिन दया देखाएर यरुसलेम फर्काउनुहुनेछ भनेर तिनले बताए। (यसैया ३०:१८, १९ पढ्‌नुहोस्‌।) यहोवाले तिनीहरूको निर्वासनको अन्त गरिदिनुहुँदा त्यस्तै भयो। तर तिनीहरू तुरुन्तै यरुसलेम फर्कन पाएनन्‌। “यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ” भन्‍ने अभिव्यक्‍तिले वफादार यहुदीहरूले छुटकारा पाउन केही समय पर्खनुपर्ने थियो भनेर सङ्‌केत गर्छ। हुन पनि इस्राएलीहरूले बेबिलोनमा ७० वर्ष निर्वासित जीवन बिताउनुपऱ्‍यो र त्यसपछि मात्र केही यहुदी यरुसलेम फर्के। (यसै. १०:२१; यर्मि. २९:१०) आफ्नो मातृभूमि फर्केपछि तिनीहरूले कैदमा छँदा बगाएको दुःखको आँसु हर्षको आँसुमा परिणत भयो।

५. यसैया ३०:१९ मा हामी कस्तो आश्‍वासन पाउँछौँ?

५ आज हामी यी शब्दहरूबाट सान्त्वना पाउन सक्छौँ: “तिमीले मदतको लागि उहाँलाई पुकार्दा उहाँले तिमीलाई पक्कै दया देखाउनुहुनेछ।” (यसै. ३०:१९) हामीले यहोवालाई पुकार्दा उहाँले ध्यान दिएर सुन्‍नुहुनेछ र “[हाम्रो] बिन्ती सुन्‍नेबित्तिकै उहाँले त्यसको जवाफ दिनुहुनेछ” भनेर यसैया हामीलाई आश्‍वासन दिन्छन्‌। यहोवालाई पुकार्नेहरूलाई मदत गर्न उहाँ इच्छुक मात्र होइन, तत्पर पनि हुनुहुन्छ भनेर यी शब्दहरूबाट आश्‍वासन पाउँछौँ। यो कुरा थाह पाउँदा हामीले आनन्दित हुँदै परीक्षा सहन सक्छौँ।

६. यहोवा आफ्नो प्रत्येक सेवकको प्रार्थना ध्यान दिएर सुन्‍नुहुन्छ भनेर यसैयाका शब्दहरूले कसरी देखाउँछ?

६ यस पदबाट हामी प्रार्थनासम्बन्धी थप कस्तो आश्‍वासन पाउन सक्छौँ? यहोवा हामी प्रत्येकको प्रार्थना ध्यान दिएर सुन्‍नुहुन्छ। हामी किन यसो भन्‍न सक्छौँ? यसैया अध्याय ३० को सुरुका भागहरूमा “तिमीहरू” (बहुवचन) भनिएको छ किनभने यहोवाले इस्राएलीहरूलाई समूहको रूपमा सम्बोधन गर्दै हुनुहुन्थ्यो। तर पद १९ मा “तिमी” (एकवचन) भनिएको छ किनकि यसपछिका पदहरूमा उहाँ व्यक्‍तिविशेषलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। यसैया यस्तो लेख्छन्‌: “तिमी कदापि रुनेछैनौ”; “उहाँले तिमीलाई पक्कै दया देखाउनुहुनेछ”; “तिम्रो बिन्ती सुन्‍नेबित्तिकै उहाँले त्यसको जवाफ दिनुहुनेछ।” यहोवा मायालु बुबा हुनुभएकोले उहाँ निराश भएका आफ्ना छोराछोरीलाई ‘तिमी आफ्नो दाइ वा दिदीजस्तै बलियो हुनै पर्छ’ भन्‍नुहुन्‍न। बरु उहाँ हामी प्रत्येकलाई व्यक्‍तिविशेषको रूपमा हेर्नुहुन्छ र हाम्रो प्रार्थना ध्यान दिएर सुन्‍नुहुन्छ।—भज. ११६:१; यसै. ५७:१५.

तस्बिरहरूको सँगालो: एक बहिनी दिनको विभिन्‍न समयमा प्रार्थना गर्दै: १. छोरीलाई स्कुल पठाउनुअघि। २. बिहान घरको सफाइ गर्दै गर्दा। ३. दिउँसोतिर। ४. छोरी सुत्न गएपछि।

यसैयाले यसो भने: “तिमीहरू [यहोवालाई] पुकारिरहो” (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. यसैया र येसुले प्रार्थना गरिरहनुको महत्त्वलाई कसरी जोड दिनुभयो?

७ यहोवालाई प्रार्थनामा आफ्नो मनको बह पोख्दा सायद उहाँ हामीलाई सबैभन्दा पहिला सहने बल दिनुहुन्छ। अनि हामीले आशा गरेजस्तै तुरुन्तै परीक्षाको अन्त भएन भने त्यो सहन बारम्बार यहोवासित बल माग्नुपर्छ। उहाँ हामीलाई त्यसो गर्न आग्रह गर्नुहुन्छ। यसैयाले यसो भने: “तिमीहरू [यहोवालाई] पुकारिरहो।” (यसै. ६२:७) हो, हामीले यहोवालाई प्रार्थना गरिरहनुपर्छ। यसैयाका यी शब्दहरूले लुका ११:८-१०, १३ मा येसुले प्रार्थनाबारे बताउनुभएका उदाहरणहरू सम्झाउँछ। ती पदहरूमा येसुले हामीलाई “खुरन्धार बिन्ती” गर्न र पवित्र शक्‍ति ‘मागिरहन’ प्रोत्साहन दिनुभएको छ। साथै सही निर्णय गर्न डोऱ्‍याइ दिनुहोस्‌ भनेर पनि हामी यहोवालाई बिन्ती गर्न सक्छौँ।

यहोवा हामीलाई डोऱ्‍याइ दिनुहुन्छ

८. पुरातन समयमा यसैया ३०:२०, २१ का शब्दहरू कसरी पूरा भए?

८ यसैया ३०:२०, २१ पढ्‌नुहोस्‌। बेबिलोनी सेनाले डेढ वर्षसम्म यरुसलेमलाई घेराबन्दी गर्दा त्यहाँका बासिन्दालाई आफूले भोगिरहेको दुःख रोटी र पानीजस्तै सामान्य लाग्न थालेको थियो। तर पद २० र २१ अनुसार ती यहुदीहरूले पश्‍चात्ताप गरेर आफ्नो आचरण सुधारे भने यहोवाले तिनीहरूलाई जोगाउनुहुने थियो। यसैयाले यहोवालाई “महान्‌ शिक्षक” भने र उहाँले ती यहुदीहरूलाई सही तरिकामा उपासना गर्न सिकाउनुहुनेछ भनेर आश्‍वासन दिए। यहुदीहरू निर्वासनबाट मुक्‍त हुँदा यसैयाका यी शब्दहरू पूरा भए। यहोवा तिनीहरूको लागि साँच्चै महान्‌ शिक्षक साबित हुनुभयो र उहाँको डोऱ्‍याइ पाएर तिनीहरूले साँचो उपासना पुनर्स्थापना गर्न सके। आज पनि महान्‌ शिक्षक यहोवाबाट सिक्न पाएकोमा हामी असाध्यै खुसी छौँ।

९. आज हामीले यहोवाबाट डोऱ्‍याइ पाउने एउटा तरिका कुन हो?

९ यी पदहरूमा यसैयाले हामीलाई विद्यार्थीसित तुलना गरेका छन्‌ र हाम्रा शिक्षक यहोवा हामीलाई दुई तरिकामा सिकाउँदै हुनुहुन्छ। पहिलो तरिकाबारे यसैया यसो भन्छन्‌: “तिमीले आफ्नै आँखाले आफ्ना महान्‌ शिक्षकलाई देख्नेछौ।” यहाँ यसैयाले यहोवालाई विद्यार्थीहरूको अगाडि उभिएर सिकाइरहेका शिक्षकको रूपमा वर्णन गरेका छन्‌। हामीले यहोवाबाट यसरी सिक्न पाउनु ठूलो सम्मानको कुरा हो! उहाँले आज हामीलाई आफ्नो सङ्‌गठनमार्फत सिकाउँदै हुनुहुन्छ। उहाँको सङ्‌गठनबाट स्पष्ट डोऱ्‍याइ पाएकोमा हामी धेरै कृतज्ञ छौँ! मण्डलीका सभाहरू, अधिवेशनहरू, हाम्रा प्रकाशनहरू, ब्रोडकास्टिङ र अन्य माध्यमबाट पाउने निर्देशनहरूले हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्छ।

१०. आज हामी कसरी परमेश्‍वरको आवाज “पछिल्तिरबाट” सुन्छौँ?

१० यहोवाले हामीलाई सिकाउनुहुने दोस्रो तरिकाबारे यसैया यसो भन्छन्‌: ‘तिमीले पछिल्तिरबाट आवाज आएको सुन्‍नेछौ।’ यहाँ यसैयाले यहोवालाई विद्यार्थीहरूको पछिपछि हिँड्‌दै तिनीहरूलाई बाटो देखाइरहेका शिक्षकको रूपमा वर्णन गरेका छन्‌। आज हामी परमेश्‍वरको आवाज पछिल्तिरबाट सुन्छौँ। कसरी? परमेश्‍वरको वचन हाम्रो समयभन्दा धेरै अघि नै लेखिएको थियो। त्यसैले बाइबल पढ्‌दा हामीले परमेश्‍वरको आवाज पछिल्तिरबाट सुनिरहेका हुन्छौँ।—यसै. ५१:४.

११. आनन्दित हुँदै यहोवाको सेवामा लागिरहन हामीले कुन दुइटा कदम चाल्नुपर्छ र किन?

११ यहोवाले आफ्नो सङ्‌गठन र वचनमार्फत दिनुहुने डोऱ्‍याइबाट हामी कसरी पूरापूर लाभ उठाउन सक्छौँ? यसैया ३०:२१ मा तिनले दुइटा कुरा बताएको याद गर्नुहोस्‌। पहिलो, “बाटो यही हो।” दोस्रो, “यसैमा हिँड।” हामीले “बाटो” थाह पाएर मात्र पुग्दैन, त्यसमा ‘हिँड्‌नु’ पनि पर्छ। यहोवाको वचन र उहाँको सङ्‌गठनले सिकाउने कुराहरूबाट उहाँ हामीबाट के चाहनुहुन्छ भनेर थाह पाउन सक्छौँ। साथै सिकेको कुरा जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर पनि बुझ्न सक्छौँ। जस्तोसुकै अवस्थामा पनि आनन्दित भई यहोवाको सेवामा लागिरहन हामीले यी दुवै कदम चाल्नुपर्छ। यसो गऱ्‍यौँ भने मात्र हामीले यहोवाको आशिष्‌ पाउनेछौँ।

यहोवा हामीलाई आशिष्‌ दिनुहुन्छ

१२. यसैया ३०:२३-२६ अनुसार यहोवाले आफ्ना मानिसहरूलाई कसरी आशिष्‌ दिनुहुने थियो?

१२ यसैया ३०:२३-२६ पढ्‌नुहोस्‌। यो भविष्यवाणी बेबिलोनको निर्वासनबाट फर्केका यहुदीहरूमा कसरी पूरा भयो? तिनीहरूले भौतिक र आध्यात्मिक रूपमा प्रशस्त आशिष्‌ पाए। यहोवाले तिनीहरूलाई प्रशस्त खानेकुरा दिनुभयो। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, शुद्ध उपासना बिस्तारै पुनर्स्थापित हुँदै जाँदा उहाँले तिनीहरूलाई प्रशस्त आध्यात्मिक भोजन दिनुभयो। यस्तो आशिष्‌ तिनीहरूले पहिला कहिल्यै पाएका थिएनन्‌। पद २६ मा सङ्‌केत गरिएअनुसार यहोवाले आध्यात्मिक ज्योति झन्‌झनै चहकिलो पार्नुभयो र तिनीहरूले उहाँको वचन अझ राम्ररी बुझ्न सके। (यसै. ६०:२) यहोवाको आशिष्‌ पाएकोले तिनीहरूको “मन खुसी” भयो अनि तिनीहरूले आनन्दित हुँदै र जोसका साथ उहाँको सेवा गरिरहन सके।—यसै. ६५:१४.

१३. पुनर्स्थापनाबारे गरिएको भविष्यवाणी आज कसरी पूरा भएको छ?

१३ शुद्ध उपासनाको पुनर्स्थापनाबारे गरिएको भविष्यवाणी के आज पनि पूरा भएको छ? पक्कै पूरा भएको छ! कसरी? सन्‌ १९१९ देखि लाखौँ मानिस झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनको कैदबाट मुक्‍त भएका छन्‌। यहोवाले तिनीहरूलाई प्रतिज्ञा गरिएको देशभन्दा अझ राम्रो ठाउँ अर्थात्‌ आध्यात्मिक प्रमोदवनमा डोऱ्‍याउनुभएको छ। (यसै. ५१:३; ६६:८) आध्यात्मिक प्रमोदवन भनेको के हो?

१४. आध्यात्मिक प्रमोदवन भनेको के हो र त्यहाँ को-को बसोबास गरिरहेका छन्‌? (थप व्याख्या हेर्नुहोस्‌।)

१४ सन्‌ १९१९ देखि अभिषिक्‍त जनहरू आध्यात्मिक प्रमोदवनमा बसोबास गरिरहेका छन्‌।b समयको अन्तरालमा पृथ्वीमा सधैँभरि जीवन बिताउने आशा भएका “अरू भेडा” पनि आध्यात्मिक देशमा बसोबास गर्न थाले र तिनीहरूले यहोवाबाट प्रशस्त आशिष्‌ पाइरहेका छन्‌।—युह. १०:१६; यसै. २५:६; ६५:१३.

१५. आध्यात्मिक प्रमोदवन कहाँ छ?

१५ आज आध्यात्मिक देश अर्थात्‌ आध्यात्मिक प्रमोदवन कहाँ छ? यहोवाका उपासकहरू संसारभरि छन्‌। त्यसैले आध्यात्मिक प्रमोदवन संसारभरि फैलिएको छ भन्‍न सकिन्छ। चाहे हामी पृथ्वीको जुनसुकै कुनामा बसौँ, शुद्ध उपासनालाई सक्रियताका साथ समर्थन गरुन्जेल हामी आध्यात्मिक प्रमोदवनमा रहिरहन सक्छौँ।

तस्बिरहरूको सँगालो: १. सभाभवनमा एक भाइले माफी मागिरहेका अर्का भाइलाई खुसीसाथ माफी दिँदै छन्‌। २. पूरै डाँडाकाँडा ढाकेको थरीथरीका सुन्दर रूखहरू।

हामी प्रत्येकले कसरी आध्यात्मिक प्रमोदवनको सुन्दरतामा योगदान पुऱ्‍याउन सक्छौँ? (अनुच्छेद १६-१७ हेर्नुहोस्‌)

१६. हामी कसरी आध्यात्मिक प्रमोदवनको सुन्दरतामा ध्यान दिइरहन सक्छौँ?

१६ आध्यात्मिक प्रमोदवनमा रहिरहन हामीले गर्नुपर्ने एउटा कुरा भनेको विश्‍वव्यापी ख्रिष्टियन मण्डलीप्रति कृतज्ञ भइरहनु हो। हामी कसरी यसो गर्न सक्छौँ? यसका बासिन्दाहरूको कमीकमजोरीमा नभई यसको सुन्दरतामा ध्यान दिएर। (युह. १७:२०, २१) यसो गर्नु किन महत्त्वपूर्ण छ? एउटा उदाहरण विचार गरौँ। कुनै रमणीय ठाउँमा घुम्न जाँदा हामी थरीथरीका रूखहरू देख्न सक्छौँ। तर हामीले आफ्नो अगाडि भएको रूखका खोटहरूमा मात्र ध्यान दियौँ भने सिङ्‌गो वनको सुन्दरतादेखि हाम्रो ध्यान विकर्षण हुन सक्छ। आध्यात्मिक प्रमोदवनमा बसोबास गरिरहेका भाइबहिनीलाई पनि थरीथरीका रूखसित तुलना गर्न सकिन्छ। (यसै. ४४:४; ६१:३) यदि हामीले आफ्नो वा मण्डलीका भाइबहिनीको कमीकमजोरीमा मात्र ध्यान दियौँ भने विश्‍वव्यापी ख्रिष्टियन मण्डलीको सुन्दरतादेखि हाम्रो ध्यान विकर्षण हुन सक्छ।

१७. हामी प्रत्येकले कसरी मण्डलीको एकतामा योगदान पुऱ्‍याउन सक्छौँ?

१७ हामी प्रत्येकले कसरी यस्तो एकतामा योगदान पुऱ्‍याउन सक्छौँ? आपसमा शान्ति कायम गरेर। (मत्ति ५:९; रोमी १२:१८) मण्डलीका भाइबहिनीसित शान्ति कायम गर्न आफै अग्रसर हुँदा हामीले आध्यात्मिक प्रमोदवनको सुन्दरतामा योगदान पुऱ्‍याइरहेका हुन्छौँ। साथै आध्यात्मिक प्रमोदवनका प्रत्येक बासिन्दालाई यहोवाले नै शुद्ध उपासनातर्फ खिच्नुभएको हो भनेर पनि हामीले बिर्सनु हुँदैन। (युह. ६:४४) यहोवाले अनमोल ठान्‍नुहुने मानिसहरूमाझ शान्ति र एकता बढाउन हामीले आफ्नो तर्फबाट सक्दो गरेको देख्दा उहाँ कत्ति खुसी हुनुहुन्छ होला, कल्पना गर्नुहोस्‌!—यसै. २६:३; हाग्गै २:७.

१८. हामीले कुन कुरामा मनन गर्नुपर्छ र किन?

१८ यहोवाले आफ्ना सेवकहरूलाई थुप्रै असल कुरा दिनुभएको छ। हामी यसबाट कसरी पूरापूर लाभ उठाउन सक्छौँ? बाइबल र बाइबलआधारित प्रकाशनहरू पढ्‌दा गहिरिएर मनन गर्न सक्छौँ। यसरी अध्ययन र मनन गर्दा हामीले ख्रिष्टियन गुणहरू विकास गर्न सक्छौँ। यसो गर्दा हामी मण्डलीमा “एकअर्काप्रति भ्रातृप्रेम राख्दै कोमल स्नेह” देखाउन उत्प्रेरित हुन्छौँ। (रोमी १२:१०) अहिले पाइरहेका आशिष्‌हरूमा मनन गर्दा यहोवासितको सम्बन्धलाई अझ बलियो बनाउन सक्छौँ। अनि उहाँले भविष्यमा दिनुहुने आशिष्‌हरूबारे मनन गर्दा नयाँ संसारमा सधैँभरि बाँच्ने आशा हामीलाई अझै वास्तविक लाग्नेछ। यी सबै कुराले हामीलाई आनन्दित हुँदै यहोवाको सेवा गर्न मदत गर्नेछ।

आनन्दित हुँदै परीक्षाहरू सहिरहनुहोस्‌

१९. (क) यसैया ३०:१८ अनुसार हामी कुन कुरामा ढुक्क हुन सक्छौँ? (ख) आनन्दित हुँदै यहोवाको सेवामा लागिरहन हामीलाई कुन कुराले मदत गर्नेछ?

१९ यहोवाले यस दुष्ट संसारको अन्त गर्नुहुँदा उहाँ हाम्रो पक्षमा “उठ्‌नुहुनेछ।” (यसै. ३०:१८) यहोवा “न्यायी परमेश्‍वर” हुनुहुन्छ, त्यसैले उहाँले सैतानको संसारलाई आफूले तोकेको भन्दा एक दिन पनि बढी टिक्न दिनुहुनेछैन। (यसै. २५:९) हामी यहोवासँगै धैर्य गर्दै उद्धारको दिनको प्रतीक्षा गर्छौँ। त्यतिन्जेल यहोवालाई निरन्तर प्रार्थना गरिरहौँ, उहाँको वचन अध्ययन गरिरहौँ, सिकेको कुरा जीवनमा लागू गरिरहौँ र आफूले पाएका आशिष्‌हरूमा मनन गरिरहौँ। यसो गर्दा यहोवाले हामीलाई आनन्दित भई उहाँको उपासनामा लागिरहन मदत गर्नुहुनेछ।

यसैया अध्याय ३० ले यहोवा निम्न कुरा गर्न इच्छुक हुनुहुन्छ भनेर कसरी देखाउँछ?

  • हाम्रो कुरा सुन्‍न

  • हामीलाई डोऱ्‍याइ दिन

  • हामीलाई आशिष्‌ दिन

गीत १४२ आशालाई पक्रिराखौँ!

a यस लेखमा यहोवा आफ्ना उपासकहरूलाई आनन्दित हुँदै परीक्षा सहन कुन तीन तरिकामा मदत गर्नुहुन्छ भन्‍नेबारे छलफल गर्नेछौँ। यी तरिकाहरूबारे बुझ्न हामी यसैया अध्याय ३० केलाउनेछौँ। यो अध्याय छलफल गर्दा यहोवालाई प्रार्थना गर्नु, उहाँको वचन अध्ययन गर्नु अनि अहिले पाइरहेको र भविष्यमा पाइने आशिष्‌हरूबारे मनन गर्नुको महत्त्वबारे फेरि एकचोटि सम्झिने मौका पाउनेछौँ।

b थप व्याख्या: “आध्यात्मिक प्रमोदवन”-ले सुरक्षित आध्यात्मिक वातावरणलाई बुझाउँछ, जहाँ हामी एकताबद्ध भई यहोवाको उपासना गर्छौँ। यहाँ हामीले धार्मिक झूटबाट नबिटुलिएको प्रशस्त आध्यात्मिक भोजन पाएका छौँ। साथै परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने सन्तोषजनक काम पनि पाएका छौँ। हामीले यहोवासित नजिकको सम्बन्ध विकास गर्न सकेका छौँ। अनि प्यारा भाइबहिनीसँग शान्तिमा रहन सकेका छौँ, जसले हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्छन्‌। यहोवालाई स्वीकार्य हुने तरिकामा उपासना गर्न थाल्दा र उहाँको अनुकरण गर्न सक्दो गर्दा हामी आध्यात्मिक प्रमोदवनमा प्रवेश गर्छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने