अन्तसम्मै आफ्नो विश्वसनीयतालाई थामी राख्नुहोस्
एउटा सानो विमान खराब मौसमको बेला उडिरहेको कल्पना गर्नुहोस्। विमानचालकले सीमा रेखा तथा संकेतहरू देख्नसक्दैन। चारैतिर घना बादलले ढाकिएको छ। ऐनाअगाडि केही नदेखे तापनि सुरक्षितसाथ यात्रा पूरा गर्नसक्छु भनेर ऊ निश्चित हुन्छ। ऊ त्यस्तो विश्वस्त हुनुको कारण के हो?
उसको उपकरण ठीक छ। त्यसैकारण ऊ बादलबीच उड्न तथा निष्पट्ट अँध्यारोमा पनि जमीनमा उत्रनसक्छ। उसको मार्गअघि विशेषतः विमानस्थल नजीकै राखिएको खतरासूचक बत्तीले उसलाई विद्युतीय निर्देशन दिन्छ। अनि विमानस्थलको हवाई-ट्राफिक संचालकसित उसको रेडियो सम्पर्क छ।
तुलना गरेर हेर्ने हो भने, संसारका अवस्थाहरू दिन प्रतिदिन खराब हुँदै गए तापनि भविष्यबारे हामी विश्वस्त हुनसक्छौं। केहीले प्रत्याशा गरेभन्दा लामो समयसम्म यस दुष्ट रीतिरिवाजमा यात्रा गर्नुपर्ला। तर हामी सही मार्गमा छौं र समयमै यात्रा पूरा गर्छौं भनेर विश्वस्त हुनसक्छौं। हामी किन त्यसरी पक्का हुनसक्छौं? किनभने मानव चक्षुले पत्ता लाउन नसक्ने कुरा देख्न सक्षम बनाउने निर्देशन हामीसित छ।
परमेश्वरको वचन ‘हाम्रो बाटोको निम्ति उज्यालो’ हो र “त्यो छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने।” (भजन १९:७; ११९:१०५) खतरासूचक बत्तीले विमानचालकलाई उडानमार्ग बताएझैं बाइबलले भविष्यकालीन घटनाहरूको सही विवरण प्रस्तुत गर्छ। अनि यसले हामीलाई गन्तव्यस्थानमा सुरक्षितसाथ पुग्न निश्चित गराउने सुस्पष्ट निर्देशनहरू प्रदान गर्छ। तथापि, ईश्वरीय निर्देशनबाट लाभ उठाउन हामीले यसमाथि भरोसा गर्नैपर्छ।
हिब्रूहरूलाई लेखेको आफ्नो पत्रमा पावलले यहूदी मसीहीहरूलाई ‘विश्वासलाई अन्तसम्मै थामिराख्न’ आग्रह गरे। (हिब्रू ३:१४) ‘थामिराखेनौं’ भने भरोसा ढलपल हुनसक्छ। तसर्थ प्रश्न उठ्छ, हामी कसरी अन्तसम्मै आफ्नो विश्वसनीयता यहोवामा थामी राख्नसक्छौं?
आफ्नो विश्वासलाई क्रियाशील बनाउनुहोस्
आफ्नो उपकरण र भूमिबाट नियन्त्रण गर्नेमाथि पूर्ण भर पर्दै उड्नअघि विमानचालकलाई पर्याप्त प्रशिक्षणको आवश्यकता पर्छ र उसले धेरै चोटि आकाशमा उडिसकेको हुनुपर्छ। त्यस्तैप्रकार विशेषतः कठिन परिस्थितिहरूमा यहोवाको निर्देशनप्रति विश्वसनीयता कायम गर्न एक जना मसीहीले निरन्तर विश्वास गर्न आवश्यक छ। प्रेरित पावलले लेखे: “मैले विश्वास गरें, यसकारण मैले बोलें भन्ने लेखिएअनुसार विश्वासको त्यही आत्मा भएका हुनाले हामी पनि विश्वास गर्दछौं, यसैकारण हामी बोल्छौं पनि।” (२ कोरिन्थी ४:१३) तसर्थ, परमेश्वरको सुसमाचारबारे बोलेर हामी विश्वास गरिरहेका तथा यसको खेती गरिरहेका हुन्छौं।
दोस्रो विश्वयुद्धको दौडान यातना शिविरमा चार वर्ष बिताउने माग्दालेना प्रचार क्रियाकलापको महत्त्वबारे यसरी बयान गर्छिन्: “आमाले मलाई विश्वासमा दृढ रहन सिकाउनुभयो। अरूको आध्यात्मिक हितबारे सोच्नु अत्यावश्यक छ। मलाई एउटा घटना झलझली याद आउँछ। त्यस बेला हामीले कस्तो अनुभव गऱ्यौं त्यो त्यसले देखाउँछ। म र मेरी आमा राभेन्सब्रुक यातना शिविरबाट रिहाइ भएर शुक्रबार घर पुग्यौं। दुइ दिनपछि आइतबारको दिन भाइहरूसित घर-घरको सेवकाईमा निक्ल्यौं। अरूलाई परमेश्वरका प्रतिज्ञाहरूमा भरोसा गर्न मदत दिनेतर्फ ध्यान केन्द्रित गऱ्यौं भने त्यही प्रतिज्ञाहरू हाम्रोलागि अझ वास्तविक हुन आउँछ भनेर म दृढ विश्वास गर्छु।”—तुलना गर्नुहोस् प्रेरित ५:४२.
अन्तसम्मै हाम्रो विश्वसनीयतालाई थामी राख्न अरू आध्यात्मिक क्रियाकलापहरूको आवश्यकता पर्छ। विश्वासलाई बलियो बनाउने अर्को कसरत व्यक्तिगत अध्ययन हो। बिरियाका मानिसहरूको अनुकरण गरेर मेहनतपूर्वक धर्मशास्त्र नियाल्यौं भने यसले हामीलाई “पूरा आशाको निम्ति अन्तसम्मै त्यही किसिमको प्रयत्न देखाउन” सहायता गर्नेछ। (हिब्रू ६:११; प्रेरित १७:११) हो, व्यक्तिगत अध्ययन गर्न समय र संकल्प चाहिन्छ। सम्भवतः त्यसैकारण पावलले हिब्रूहरूलाई यस्ता कुराहरूमा “अल्छी” वा लोसे हुनसक्ने खतराबारे चेताउनी दिए।—हिब्रू ६:१२.
लोसे मनोवृत्तिले जीवनको धेरै क्षेत्रमा डरलाग्दा परिणामहरू सृजना गर्नसक्छ। सुलेमानले भने, “बेपर्वाहीले घरको धूरी चुहुने हुन्छ।” (उपदेशक १०:१८, NW) त्यसलाई मर्मत गरेन भने, ढिलो होस् या चाँडो छानाबाट पानी चुहुन थाल्छ। आध्यात्मिक तवरमा बेपर्वाही भयौं र विश्वास थामी राख्न चुक्यौं भने हाम्रो हृदयमा शंकाहरूको वीजारोपण बिस्तारै सुरु हुन्छ। अर्कोतिर, परमेश्वरको वचन सधैं अध्ययन र मनन गर्नाले हाम्रो विश्वास भरपूर तथा सुरक्षित हुन्छ।—भजन १:२, ३.
अनुभवद्वारा भरोसा बढाउनुहोस्
निस्सन्देह, अध्ययनका साथै अनुभवद्वारा विमानचालकले उपकरण भरपर्दो छ भनेर थाह पाउँछ। त्यसरी नै यहोवाले हामीलाई गर्नुभएको मायालु देखरेखलाई हेरेर उहाँप्रति हामी अझ विश्वस्त हुँदै जान्छौं। यहोशूले त्यस्तै अनुभव गरे अनि तिनले सँगी इस्राएलीहरूलाई यसरी स्मरण गराए: “परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।”—यहोशू २३:१४.
फिलिपिन्समा बस्ने होसेफिना नाउँ गरेकी एक जना विवाहित बहिनीले पनि त्यस्तै पाठ सिकिन्। सच्चाइ पाउनअघिको जीवनबारे तिनी यसरी बयान गर्छिन्: “मेरो पति असाध्यै पियक्कड हुनुहुन्थ्यो। मातेपछि मलाई पिट्नुहुन्थ्यो। हाम्रो यस्तो आनन्दविहीन वैवाहिक जीवनको असर छोरामाथि पनि पर्न थाल्यो। हामी दुवैले प्रशस्त पैसा कमाउँथ्यौं तर धेरैजसो पैसा जुवामै सखाप पार्थ्यौं। मेरा पतिका थुप्रै मित्रहरू थिए। तर धेरैजसो उहाँलाई रक्सी किन्न लाउन मात्र मित्र भएका थिए। केहीले त मताएर उहाँको खिल्ली उडाउने चेष्टासमेत गरे।
“यहोवालाई चिनेर उहाँको सल्लाहलाई हृदयंगम गरेपछि परिस्थितिहरू सुध्रिए। मेरो पतिले रक्सी पिउन छाड्नुभयो। हामीले जुवा खेल्न छाड्यौं। आफूलाई माया तथा मदत गर्नेहरूको साँचो मित्रता पायौं। हाम्रो वैवाहिक जीवन आनन्दमय भयो। अनि हाम्रो छोरो एक असल जवान बन्दैछ। हामी कम समय काम गर्छौं, तैपनि धेरै पैसा कमाउँछौं। यहोवा मायालु पितासरह हुनुहुन्छ भनेर हामीले अनुभवद्वारा थाह पायौं। उहाँले हामीलाई हर घडी सही दिशातिर डोऱ्याउनुहुन्छ।”
रेडियो निर्देशन वा उपकरणको जाँचअनुसार विमानचालकहरूले कहिलेकाहीं आफ्नो उडानमार्ग परिवर्तन गर्नुपर्ने हुन्छ। त्यस्तैप्रकार हामीले पनि यहोवाको निर्देशनअनुसार दिशा बद्लनुपर्छ। “तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने शब्द सुन्नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’” (यशैया ३०:२१) हामीलाई आध्यात्मिक खतराहरूबाट सतर्क गराउने सल्लाह उहाँको वचन तथा संगठनद्वारा प्राप्त गर्छौं। ती खतराहरूमध्ये एउटा हो संगति।
संगतिले हामीलाई कुमार्गमा लानसक्छ
आवश्यक सुधार गरिएन भने एउटा सानो विमान सजिलैसित गलत मार्गमा मोडिनसक्छ। त्यसरी नै मसीहीहरूलाई आज बाहिरी प्रभावहरूले प्रहार गरिरहन्छन्। हामी शारीरिक सोचाइमा व्यस्त भएको संसारमा बाँचिरहेका छौं। धेरैले आध्यात्मिक मूल्यको उपहास गर्छन्। पैसा र भौतिक आनन्दलाई बढी महत्त्व दिन्छन्। पावलले तिमोथीलाई आखिरी दिन “डरलाग्दो” हुनेछ भनेर चेताउनी दिए। (२ तिमोथी ३:१-५) विशेषतः स्वीकारीय र लोकप्रिय हुन चाहने तेह्र वर्षदेखि उन्नाइस वर्षबीचका केटाकेटीहरू खराब संगतिको जोखिममा पर्छन्।—२ तिमोथी २:२२.
सत्र वर्षीया अमान्डा बयान गर्छिन्: “कक्षाका साथीहरूको कारण मेरो विश्वास केही हदसम्म कमजोर भएको थियो। मेरो धर्म रोक लगाउने र अव्यवहारिक छ भनेर तिनीहरू भनिरहन्थे। यो कुराले मलाई निरुत्साहित पार्थ्यो। तथापि, आमा र बुबाले मलाई यसबारे बुझ्न मदत दिनुभयो। मसीही निर्देशनहरू प्रतिबन्ध होइनन् तर सुरक्षा हो भनेर उहाँहरूले बताउनुभयो। पहिलेका मेरा स्कूलका साथीहरूको भन्दा सन्तोषप्रद जीवन बिताउन मलाई ती सिद्धान्तहरूले मदत गरिरहेको अहिले म महसुस गर्छु। मेरो साँच्चै चिन्ता गर्नुहुने आमाबाबु र यहोवामा भरोसा गर्न सिकेको छु। अहिले म अग्रगामी सेवाको आनन्द उठाउँदैछु।”
हामी जतिसुकै उमेरको भए तापनि हाम्रो विश्वासलाई तुच्छ ठान्ने मानिसहरूसित हाम्रो बारम्बार मुठभेट भइरहन्छ। त्यस्ता मानिसहरू सांसारिक तवरमा ज्ञानी देखिएलान्। तर परमेश्वरको दृष्टिमा तिनीहरू शारीरिक, आध्यात्मिकताविहीन छन्। (१ कोरिन्थी २:१४) पावलको समयमा कोरिन्थीको एक प्रभावशाली समूह सांसारिक तवरमा ज्ञानी संदेहवादीहरू थिए। सम्भवतः यी दार्शनिकहरूको शिक्षाले गर्दा केही मसीहीहरूले पुनरुत्थानको आशामा विश्वास गर्न छाडे। (१ कोरिन्थी १५:१२) “नठगियौ, खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ” भनेर प्रेरित पावलले चेताउनी दिए।—१ कोरिन्थी १५:३३.
अर्कोतिर, असल संगतले हाम्रो आध्यात्मिकतालाई बलियो बनाउँछ। मसीही मण्डलीभित्र आफ्नो विश्वासअनुरूप जीवन बिताउने मानिसहरूसित हामी हेलमेल गर्ने सुअवसर पाउँछौं। भाइ नोरमेनले सन् १९३९ मा सच्चाइलाई अंगालेका थिए। तिनी अझै सबैका लागि प्रोत्साहनको ठूलो स्रोत भएका छन्। कुन कुराले गर्दा तिनको आध्यात्मिक दृष्टिकोण यति प्रखर भयो? तिनी जवाफ दिन्छन्, “विश्वासी भाइहरूसित भेट्नु तथा घनिष्ठ मित्रता गाँस्नु अत्यावश्यक छ। यसप्रकारको संगतिले मलाई परमेश्वर र शैतानको संगठन स्पष्टसित छुट्याउन मदत दिएको छ।”
धनको छली शक्ति
ब्रायन नाउँ गरेको एक अनुभवी विमानचालक बताउँछन्, “कहिलेकाहीं विमानचालकलाई आफ्नो यन्त्रमाथि विश्वास गर्न गाह्रो पर्छ। किनभने यन्त्रको कुरा स्वीकार्न मन तयार हुँदैन। अनुभवी सैनिक विमानचालकहरूले जमीनका ज्योतिहरू ताराजस्तै देखेकोले विमान उत्तानो पारेर उडाएको कुरा थाह लागेको छ। यद्यपि, तिनीहरूको सोचाइ गलत थियो भनेर यन्त्रहरूले देखाएका थिए।”
त्यसरी नै हाम्रो स्वार्थी आन्तरिक आवाजले आध्यात्मिक अर्थमा हामीलाई कुमार्गतिर डोऱ्याउनसक्छ। येशूले धनमा “धोका” दिने शक्ति हुन्छ भन्नुभयो। अनि पावलले “रूपियाँ-पैसाको . . . पछि लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्” भनेर चेताउनी दिए।—मर्कूस ४:१९; १ तिमोथी ६:१०.
चमचम चम्किने भ्रमात्मक ज्योतिहरूले झैं आडम्बरी भौतिकवादी विचारले हामीलाई गलत मार्ग देखाउँछ। “आशा राखेका कुराको निश्चयता[मा]” रमाउनुको साटो बितेर जाने संसारको देखावटी कुराहरूप्रति हाम्रो ध्यान जानसक्छ। (हिब्रू ११:१; १ यूहन्ना २:१६, १७) समृद्ध जीवनशैली अपनाउन “कटिबद्ध” भयौं भने सम्भवतः आध्यात्मिक उन्नतिको लागि हामीसित समय नरहला।—१ तिमोथी ६:९; मत्ती ६:२४; हिब्रू १३:५.
प्याट्रिक नाउँ गरेको एक जवान मानिसले समृद्ध जीवनशैली बिताउन आफ्नो आध्यात्मिक लक्ष्यलाई आफू र पत्नीले लत्याएको कुरा स्वीकारे। तिनी बयान गर्छन्: “महँगो गाडी तथा विलासी घरहरू हुने मण्डलीका अरूद्वारा हामी प्रभावित भयौं। हामीले राज्य आशालाई नत्यागे तापनि आरामदायी जीवनशैलीको कल्पना गऱ्यौं। तथापि, साँचो आनन्द परमेश्वरको सेवा गर्दा र आध्यात्मिक उन्नतिद्वारा पाइन्छ भन्ने कुरा समय बित्दै जाँदा हामीले थाह पायौं। अहिले फेरि हाम्रो जीवन सामान्य भएको छ। काम गर्ने समय कम गरेर अहिले हामी नियमित अग्रगामी भएका छौं।”
विश्वास ग्रहणशील हृदयमा निर्भर छ
यहोवाप्रति विश्वस्त हुनुमा ग्रहणशील हृदयको पनि महत्त्वपूर्ण भूमिका छ। हो, “विश्वासचाहिं आशा राखेका कुराको निश्चयता, र नदेखेका कुराको प्रमाण हो।” (हिब्रू ११:१) तर हृदय ग्रहणशील नभइञ्जेल सम्भवतः हामी विश्वस्त हुनेछैनौं। (हितोपदेश १८:१५; मत्ती ५:६) त्यसैकारण प्रेरित पावलले “सबैमा विश्वास छैन” भने।—२ थिस्सलोनिकी ३:२.
त्यसोभए, विश्वस्त पार्ने उपलब्ध सबै प्रमाणप्रति हामी कसरी प्रतिक्रिया देखाउनसक्छौं? विश्वासलाई बलियो तथा उत्प्रेरित गर्ने ईश्वरीय गुनहरू खेती गरेर। पत्रुस हामीलाई ‘विश्वासमा सद्गुण, सद्गुणमा बुद्धि, बुद्धिमा संयम, संयममा धीरज, धीरजमा भक्ति, भक्तिमा भ्रातृस्नेह, भ्रातृस्नेहमा प्रेम थप’ भनी आग्रह गर्छन्। (२ पत्रुस १:५-७; गलाती ५:२२, २३) अर्कोतिर, आत्मकेन्द्रित जीवन बिताएर वा यहोवालाई देखावटी सेवा चढाएर हामी आफ्नो विश्वास बढ्ने आशा गर्नसक्दैनौं।
एज्राले यहोवाको वचन अध्ययन गर्न र पालन गर्न “मन दिएका थिए।” (एज्रा ७:१०) त्यसरी नै मीकाको पनि ग्रहणशील हृदय थियो। “तर म चाहिं ता परमप्रभुतिरै हेर्नेछु। मलाई बचाउनुहुने परमेश्वरको बाटो म हेर्नेछु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।”—मीका ७:७.
सुरुमा उल्लिखित माग्दालेना पनि धैर्यपूर्वक यहोवाको बाटो हेर्छिन्। (हबकूक २:३) तिनी भन्छिन्: “हामीले आध्यात्मिक प्रमोदवन पाइसकेका छौं। अब भौतिक प्रमोदवन पनि चाँडै आउनेछ। त्यतिञ्जेल लाखौं मानिसहरू ठूलो भीडमा सामेल हुँदैछन्। परमेश्वरको संगठनमा थुप्रै ओइरिरहेको देखेर म रोमाञ्चित हुन्छु।”
हाम्रो मुक्तिको लागि परमेश्वरको बाटो हेर्ने
अन्तसम्मै आफ्नो विश्वसनीयतालाई थामी राख्न यहोवा र उहाँको संगठनबाट प्राप्त हुने निर्देशनलाई विश्वास गर्न तथा राम्ररी ध्यान दिन आवश्यक छ। निश्चय, यो प्रयास गर्न योग्य छ। लामो, कठिन यात्रापछि घना बादल पार गर्दै जमीनतर्फ ओर्लंदा विमानचालकले गहिरो सन्तुष्टि महसुस गर्छ। अगाडिपट्टि पृथ्वीको हरियालीले उसलाई स्वागत गरिरहेको हुन्छ। तलतिर विमानस्थल उसकै प्रतीक्षामा कुरिरहेको हुन्छ।
हामीलाई पनि रोमाञ्चित पार्ने अनुभवले प्रतीक्षा गर्छ। यो अन्धकार दुष्ट संसार धार्मिकताले भरिएको नयाँ पृथ्वीमा परिवर्तन हुनेछ। ईश्वरीय आशिष्हरू हाम्रो प्रतीक्षामा छन्। भजनरचयिताका यी शब्दहरूलाई ध्यान दियौं भने हामी त्यहाँ पुग्नसक्छौं: “तपाईं मेरो आशा हुनुहुन्छ। मेरो बाल्यकालदेखिनै तपाईं मेरो भरोसा हुनुहुन्छ। . . . मेरो प्रशंसा निरन्तर तपाईंकै भइरहनेछ।”—भजन ७१:५, ६.