प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 २/१५ pp. १३-१८
  • आनन्दित अहिले अनि सधैंभरि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आनन्दित अहिले अनि सधैंभरि
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो समयमा भविष्यवाणीको पूर्ति
  • के तपाईं त्यस पूर्तिमा सरिक हुनुहुन्छ?
  • भावी पूर्ति!
  • हामी हर्षित भई रमाहट गर्ने कारण छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • प्रमोदवन—तपाईंको लागि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवा हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • परमेश्‍वरको राज्यले पृथ्वीमा उहाँको इच्छा पूरा गर्नेछ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 २/१५ pp. १३-१८

आनन्दित अहिले अनि सधैंभरि

“तर तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ। किनकि हेर, म यरूशलेमलाई हर्षित र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।”—यशैया ६५:१८.

१. शताब्दीयौंदेखि साँचो उपासनाले व्यक्‍तिविशेषलाई कसरी असर गरेको छ?

शताब्दीयौंदेखि अनगिन्ती मानिसहरूले साँचो परमेश्‍वर यहोवाको सेवा गरेर प्रशस्त आनन्द पाएका छन्‌। आनन्दपूर्वक साँचो उपासना गर्नेहरूमध्ये दाऊद पनि एक थिए। वाचाको सन्दूक यरूशलेममा ल्याउँदा “तिनी र सबै इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै परमप्रभुको सन्दूक ल्याए” भनेर बाइबलले उल्लेख गर्छ। (२ शमूएल ६:१५) यहोवाको सेवा गर्दा पाइने त्यस्तो आनन्द विगतको कुरा मात्र होइन। अहिले पनि तपाईंले त्यस्तो आनन्द पाउन सक्नुहुन्छ। अझ भनौं भने, चाँडै तपाईंले थप नयाँ आनन्दहरू पाउन सक्नुहुन्छ!

२. बाबेलबाट फर्केका यहूदीहरूमाथि पूरा हुनुको अलावा यशैया अध्याय ३५ आज कोमाथि पूरा भएको छ?

२ हामीले अघिल्लो लेखमा यशैया अध्याय ३५ मा उल्लिखित भविष्यवाणीको प्रथम पूर्तिलाई केलायौं। यो भविष्यवाणीलाई पुनर्स्थापनाको भविष्यवाणी भन्‍नु पूर्णतया उचित छ। किनभने त्यो पूरा हुँदा पुरातन यहूदीहरूको पुनर्स्थापना भएको थियो। यद्यपि, हाम्रो समयमा पनि यो भविष्यवाणी त्यही अर्थमा पूरा हुँदैछ। कसरी? कुरा के हो भने, येशूका प्रेरित चेलाहरू तथा पेन्तिकोस सा.यु. ३३ का अन्य मानिसहरूबाट प्रारम्भ भएको आत्मिक इस्राएलीहरूसित यहोवाले अहिले पनि व्यवहार गर्दै हुनुहुन्छ। यिनीहरू परमेश्‍वरको पवित्र आत्माद्वारा अभिषिक्‍त भएका मानिसहरू हुन्‌। अनि प्रेरित पावलका शब्दअनुसार तिनीहरू “परमेश्‍वरको इस्राएल[का]” सदस्यहरू हुन्‌। (गलाती ६:१६; रोमी ८:१५-१७) साथै पत्रुसले १ पत्रुस २:९ मा यी मसीहीहरूलाई “चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरको निजी प्रजा” भनेका पनि सम्झनुहोस्‌। पत्रुस अझ थप्दै आत्मिक इस्राएलको कार्यभार औंल्याउँछन्‌: “अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरू देखाओ।”

हाम्रो समयमा भविष्यवाणीको पूर्ति

३, ४. आधुनिक समयमा यशैया अध्याय ३४ पूरा हुँदा परिस्थिति कस्तो थियो?

३ तथापि, यस शताब्दीको प्रारम्भमा यस्तो समय पनि थियो, जुन बेला आत्मिक इस्राएलका शेष जनहरूले त्यस्तो समाचार सक्रियतासाथ घोषणा गरिरहेका थिएनन्‌। तिनीहरूले परमेश्‍वरको गजबको ज्योतिमा पूर्णतया आनन्द मनाइरहेका थिएनन्‌। वास्तवमा भन्‍ने हो भने, तिनीहरू अन्धकारमै थिए। त्यो कुन समय थियो? अनि यहोवा परमेश्‍वरले के गर्नुभयो?

४ त्यो थियो, प्रथम विश्‍वयुद्धतिरको समय अर्थात्‌ सन्‌ १९१४ मा परमेश्‍वरको राज्य स्वर्गमा स्थापित भएको तुरुन्तैपछि। विभिन्‍न मुलुकका चर्चहरूका पादरीहरूको समर्थन पाएर त्यति बेला राष्ट्रहरू एकआपसमा क्रोध पोखाइरहेका थिए। (प्रकाश ११:१७, १८) निस्सन्देह, अहंकारी राष्ट्र एदोमको विरोध गर्नुभएझैं परमेश्‍वरले धर्मत्यागी मसीहीजगत र त्यसका उच्च पादरीवर्गको पूर्णतया विरोध गर्नुभयो। तसर्थ, एदोम शहरको प्रतिरूप अर्थात्‌ मसीहीजगतमाथि यशैया अध्याय ३४ को आधुनिक पूर्ति हुनेछ। पुरातन एदोममाथि भविष्यवाणी पूरा हुँदा त्यसको स्थायी अन्त भएझैं यसको पनि स्थायी नाश हुने निश्‍चित छ।—प्रकाश १८:४-८, १९-२१.

५. हाम्रो समयमा यशैया अध्याय ३५ कुन ढंगमा पूरा भइरहेको छ?

५ यशैया अध्याय ३५ को भविष्यवाणी र हामी आनन्दित हुने कारणमाथि त्यसले दिने जोडबारे के भन्‍न सकिन्छ? भनौं भने, अहिले हाम्रो समयमा त्यो पनि पूरा भएको छ। कसरी? आत्मिक इस्राएल कैदबाट मुक्‍त भएर पुनर्स्थापित हुँदा त्यो पूरा भएको थियो। आउनुहोस्‌, हालैको ईश्‍वरतान्त्रिक इतिहासका केही तथ्यहरूलाई नियालेर हेरौं। आज बाँचिरहेका थुप्रै मानिसहरूको जीवनकालमा ती घटनाहरू भएका थिए।

६. शेष आत्मिक इस्राएल कैदरूपी अवस्थामा पुगे भनेर किन भन्‍न सकिन्छ?

६ प्रथम विश्‍वयुद्धतिर तुलनात्मक रूपमा छोटो समयसम्म शेष आत्मिक इस्राएलले आफूलाई पूर्णतया शुद्ध राखेनन्‌। तिनीहरू पूर्णतया परमेश्‍वरको इच्छाअनुरूप चलेनन्‌। तिनीहरू सैद्धान्तिक गल्तीहरूले कलंकित थिए र युद्धरत राष्ट्रहरूलाई समर्थन गर्ने दबाबमा पर्दा यहोवाको पक्षमा स्पष्ट अडान नलिएर एक किसिमले सम्झौता गरे। ती युद्धकालीन समयमा तिनीहरूले हर प्रकारका सतावट सहे। थुप्रै ठाउँहरूमा तिनीहरूको बाइबल साहित्यमाथि प्रतिबन्ध लगाइयो। अन्ततः केही गण्यमान्य भाइहरूलाई झूटो आरोपमा कैद गरियो। फलतः परमेश्‍वरका जनहरू स्वतन्त्र हुनुको साटो कैदको स्थिति भन्‍नु मिल्ने परिस्थितिमा पुगे। (तुलना गर्नुहोस्‌ यूहन्‍ना ८:३१, ३२) तिनीहरूसित आध्यात्मिक दृष्टिको गम्भीर अभाव थियो। (एफिसी १:१६-१८) परमेश्‍वरको प्रशंसा गर्ने सन्दर्भमा तिनीहरू तुलनात्मक रूपले गूंगा भए। फलतः तिनीहरूले आध्यात्मिक फल फलाउन सकेनन्‌। (यशैया ३२:३, ४; रोमी १४:११; फिलिप्पी २:११) तिनीहरूको यो स्थिति बाबेलको कैदमा परेका पुरातन यहूदीहरूको स्थितिसित कसरी मेल खान्छ, अब तपाईंले बुझ्नुभयो?

७, ८. आधुनिक समयका शेष जनहरूले कस्तो प्रकारको पुनर्स्थापना अनुभव गरे?

७ तर के परमेश्‍वरले आधुनिक समयका आफ्ना सेवकहरूलाई त्यही स्थितिमा छोड्‌नु हुनेथियो? अहँ, छोड्‌नु हुनेथिएन। उहाँले यशैयाको अगमवाणीअनुरूप तिनीहरूलाई पुनर्स्थापित गर्ने दृढ निर्णय गरिसक्नुभएको थियो। तसर्थ, हाम्रो समयमा शेष आत्मिक इस्राएलले पुनः आध्यात्मिक प्रमोदवनको संवृद्धि र सुस्वास्थ्य प्राप्त गर्दा यशैया अध्याय ३५ को भविष्यवाणी सुस्पष्ट ढंगमा पूरा हुन्छ। यशैयाको भविष्यवाणीको यो भागलाई हामीले यसप्रकार आध्यात्मिक रूपमा लागू गर्नु एकदम सही छ भन्‍ने कुरालाई हिब्रू १२:१२ ले समर्थन गर्छ। उपरोक्‍त पदमा पावलले यशैया ३५:३ लाई लाक्षणिक अर्थमा लागू गरेका थिए।

८ युद्धपश्‍चात्‌ आत्मिक इस्राएलका शेष अभिषिक्‍त जनहरू कैदीरूपी अवस्थाबाट मुक्‍त भए। यहोवाले महान्‌ कोरेस, येशू ख्रीष्टद्वारा तिनीहरूलाई मुक्‍त पार्नुभयो। तसर्थ, यरूशलेममा मन्दिर निर्माण गर्न फर्केका शेष पुरातन यहूदीहरूले जस्तै यी शेष जनहरूले पुनर्निर्माण कार्य गर्नसक्थे। त्यसबाहेक आधुनिक समयका यी आत्मिक इस्राएलीहरूले खनजोत गरेर हराभरा आध्यात्मिक प्रमोदवन अर्थात्‌ लाक्षणिक अदनको बगैंचा बनाउनसक्थे।

९. हाम्रो समयमा यशैया ३५:१, २, ५-७ मा उल्लेख गरिएको जस्तो परिस्थिति कसरी भए?

९ यी कुराहरूलाई ध्यानमा राख्दै आउनुहोस्‌ यशैया अध्याय ३५ लाई फेरि एकपल्ट विचार गरौं। प्रथमतः पद १ र २ लाई हेर्नुहोस्‌। तिनीहरूले मरुभूमि ठानेका जमीन पुरातन शारोनको तराईजस्तै साँच्चै हराभरा र फलदायी भएको होइन त! त्यसपछि पद ५ देखि ७ हेर्नुहोस्‌। यी शेष जन, जसमध्ये कतिपय आज हाम्रै माझ सक्रियसाथ यहोवाको सेवा गरिरहेका छन्‌, तिनीहरूको समझको आँखा उघारियो। तिनीहरूले सन्‌ १९१४ र तत्पश्‍चात्‌ भएको घटनाहरूको अर्थ अझ राम्ररी बुझ्न सके। बाइबलका शिक्षाहरू अझ स्पष्टसँग देख्नसके। अनि अहिले शेष अभिषिक्‍त जनहरूसँगै मिलेर सेवा गर्ने “ठूलो भीड़[का]” धेरैजसोलाई पनि त्यसले असर गरेको छ।—प्रकाश ७:९.

के तपाईं त्यस पूर्तिमा सरिक हुनुहुन्छ?

१०, ११. (क) यशैया ३५:५-७ को पूर्तिमा तपाईं कसरी मुछिनुभएको छ? (ख) यी परिवर्तनहरूबारे तपाईं कस्तो महसुस गर्नुहुन्छ?

१० उदाहरणका लागि, तपाईं आफैलाई विचार गर्नुहोस्‌। यहोवाका साक्षीहरूसित संगत गर्नुअघि के तपाईं नियमित रूपले बाइबल पढ्‌नुहुन्थ्यो? पढ्‌नुहुन्थ्यो भने, पढेका कुरा कति बुझ्नुहुन्थ्यो? तर अहिले विचार गर्नुहोस्‌। उदाहरणका लागि, मरेका मानिसहरूको अवस्थाबारे तपाईंले सिक्नुभएको सत्य कुरालाई लिनुहोस्‌। जिज्ञासु व्यक्‍तिहरूलाई तपाईंले उत्पत्ति अध्याय २, उपदेशक अध्याय ९ र इजकिएल अध्याय १८ र अन्य थुप्रै ठाउँहरूमा सान्दर्भिक शास्त्रपदहरू देखाउन सक्नुहुन्छ होला। विभिन्‍न विषय तथा विवादहरूबारे बाइबलले के सिकाउँछ, त्यो पनि तपाईंले बुझ्नुभएको होला। सरल भाषामा भन्‍ने हो भने, बाइबल तपाईंका निम्ति अर्थपूर्ण छ अनि अरूलाई त्यसबाट निकै कुरा बुझाउन सक्नुहुन्छ र निस्सन्देह, त्यसो गर्नुभएको पनि होला।

११ यद्यपि, हामीले आफैसित यो प्रश्‍न गर्नु बेस होला, ‘यी सबै बाइबल सच्चाइहरू मैले कसरी सिकें? यहोवाका जनहरूसित अध्ययन गर्नुअघि के मलाई ती सबै शास्त्रपदहरू थाह थियो? के मैले त्यसको अर्थ बुझेको थिएँ? त्यसको महत्त्व यही हो भनेर के म सही निष्कर्षमा पुग्नसक्थें?’ यसको स्पष्ट जवाफ हो, शायद सक्नुहुन्‍न थियो। यसमा रिसाउनुपर्ने कुनै कारण छैन। तर जे होस्‌, त्यति बेला ती पद तथा त्यसका अर्थलाई तपाईंले देख्न सक्नुभएको थिएन भन्‍नु चाहिं गलत हुँदैन। होइन त? ती पदहरू तपाईंकै बाइबलमा थिए। तर तपाईंले कहिल्यै त्यसलाई देख्न सक्नुभएन नता त्यसको महत्त्व नै बुझ्न सक्नुभयो। त्यसोभए अहिले कसरी तपाईंको आँखा आध्यात्मिक तवरमा खोलिए त? यहोवाले शेष अभिषिक्‍त जनहरूमाथि यशैया ३५:५ पूरा गर्न गर्नुभएका कामहरूले गर्दा। हो, तपाईंका आँखा खोलिए। तपाईं आध्यात्मिक अन्धकारमा हुनुहुन्‍न। तपाईं देख्न सक्नुहुन्छ।—तुलना गर्नुहोस्‌ प्रकाश ३:१७, १८.

१२. (क) यो चमत्कारपूर्ण शारीरिक निवारणको समय होइन भनेर हामी किन भन्‍नसक्छौं? (ख) हाम्रो समयमा यशैया ३५:५ पूरा हुने ढंगबारे भाइ एफ. डब्ल्यु. फ्रान्जको अनुभवले कसरी उदाहरण दिन्छ?

१२ बाइबल तथा परमेश्‍वरले शताब्दीयौंदेखि गर्नुभएका व्यवहारहरू होशियारीपूर्वक अध्ययन गर्ने विद्यार्थीहरूलाई यो युग चमत्कारपूर्ण शारीरिक निवारण हुने युग होइन भनेर थाह छ। (१ कोरिन्थी १३:८-१०) अतः येशूले आफूलाई मसीह अर्थात्‌ परमेश्‍वरको अगमवक्‍ता प्रमाणित गर्न अन्धाहरूको आँखा खोल्नुभएको हामी आशा गर्दैनौं। (यूहन्‍ना ९:१-७, ३०-३३) न ता उहाँले बहिराहरूको कान नै उघार्नुहुन्छ। भनौं भने, वाचटावर सोसाइटीका भूतपूर्व अध्यक्ष तथा अभिषिक्‍त जन, फ्रेडरिक डब्ल्यु. फ्रान्ज १०० वर्षको हुँदा साह्रै धमिलो देख्थे र राम्ररी सुन्‍न नसक्ने भएकोले हेयरिङ एड लगाउँथे। मृत्यु हुनुअघि केही वर्षसम्म तिनले बाइबलसमेत पढ्‌न सक्दैनन्‌ थिए। तर यहाँ यशैया ३५:५ को अर्थलाई ध्यानमा राखेर भन्‍ने हो भने, कसले पो तिनलाई अन्धा वा बहिरा सम्झन्थ्यो होला र? तिनको तीक्ष्ण आध्यात्मिक दृष्टि सारा संसारभरि परमेश्‍वरका जनहरूका लागि आशिष्‌ थियो।

१३. परमेश्‍वरका आधुनिक जनहरूले कुन परिवर्तन वा पुनर्स्थापनाको अनुभव गरे?

१३ अनि तपाईंको जिब्रोबारे के भन्‍न सकिन्छ? आध्यात्मिक कैदमा परेको बेला यहोवाका अभिषिक्‍त जनहरू गूंगा भए होलान्‌। तर परमेश्‍वरले परिस्थिति परिवर्तन गर्नुभएपछि तिनीहरूको जिब्रोले रमाहट गर्न थाल्यो। स्वर्गमा स्थापित भइसकेको परमेश्‍वरको राज्य तथा उहाँका भावी प्रतिज्ञाहरू तिनीहरूले चर्को स्वरले घोषणा गर्न थाले। तिनीहरूले तपाईंलाई पनि आफ्नो जिब्रो चलाउने मदत दिएका हुनसक्छन्‌। बितेका दिनहरूमा तपाईंले अरूसित बाइबलका सच्चाइबारे कति कुरा गर्नुभयो? शायद, एकताका तपाईंले यसरी सोच्नुभएको हुनसक्छ, ‘अध्ययन गर्न त रमाइलो लाग्छ तर म कहिल्यै अपरिचित मानिसहरूलाई प्रचार गर्न जान्‍नँ।’ तथापि, के अहिले “गूंगाको जिब्रोले स्तुति” गरिरहेको होइन त?—यशैया ३५:६.

१४, १५. हाम्रो समयमा कसरी धेरै जना “पवित्र बाटो[मा]” हिंडेका छन्‌?

१४ बाबेलबाट छुटकारा पाएका पुरातन यहूदीहरूले स्वदेश फर्कन लामो यात्रा गर्नुपऱ्‍यो। त्यसोभए हाम्रो समयमा कस्तो यात्रा गर्नुपर्छ त? कृपया, यशैया ३५:८ ले के भन्छ, हेर्नुहोस्‌: “त्यहाँ एउटा मूल बाटो हुनेछ, औ त्यो चाहिं पवित्र बाटो भनिनेछ। कोही अशुद्ध जन त्यसबाट भएर जान पाउनेछैन।”

१५ आध्यात्मिक कैदबाट मुक्‍त भएदेखि शेष अभिषिक्‍त जनहरू महान्‌ बेबिलोनबाट निस्केर लाक्षणिक मार्ग अर्थात्‌ आध्यात्मिक प्रमोदवनतर्फ लैजाने पवित्र बाटोमा यात्रा गरिरहेका छन्‌ र अहिले अरू भेडाका लाखौं मानिसहरू पनि तिनीहरू सँगसँगै हिंडिरहेका छन्‌। यो पवित्र बाटोमा हिंड्‌न योग्य हुन र त्यही मार्गमा लागिरहन हामी यथाशक्य प्रयत्न गर्दैर्छौं। आफैलाई विचार गर्नुहोस्‌। तपाईंले अहिले पालन गर्नुहुने नैतिक स्तर तथा सिद्धान्तहरू पहिले संसारमा हुनुहुँदा पालन गर्नुभएका नैतिक स्तर तथा सिद्धान्तहरूभन्दा उच्च छैनन्‌ र? के तपाईं आफ्नो सोचाइ र आचरणलाई यहोवाको स्तरअनुरूप बनाउन धेरै प्रयत्न गर्नुहुन्‍न?—रोमी ८:१२, १३; एफिसी ४:२२-२४.

१६. पवित्र बाटोमा हिंडिरह्‍यौं भने हामीले कस्तो अवस्थाको आनन्द उठाउन सक्नेछौं?

१६ यो पवित्र बाटोमा चलुञ्जेल तपाईं पाशविक मानिसहरूको चिन्ताबाट मुक्‍त हुनुहुन्छ भने पनि हुन्छ। हो, यो संसारमा हरबखत सतर्क हुनुपर्छ। नत्रता, स्वार्थी अनि अरूलाई घृणा गर्ने मानिसहरूले प्रतीकात्मक रूपमा सिंगै निलिहाल्छन्‌। थुप्रै मानिसहरू एकअर्कोसँग हिंस्रक व्यवहार गर्छन्‌। तर परमेश्‍वरका जनहरू कति भिन्‍न छन्‌! तपाईं त्यहाँ सुरक्षित हुनुहुन्छ। निस्सन्देह, तपाईंका सँगी मसीहीहरू सिद्ध छैनन्‌। कहिलेकाहीं तिनीहरूले गल्ती गर्नसक्छन्‌, चित्त दुखाउनसक्छन्‌। तर तपाईंका भाइबहिनीहरूले जानाजानी तपाईंको चित्त दुखाउन वा तपाईंलाई निल्न खोजेका होइनन्‌ भनेर तपाईंलाई थाह छ। (भजन ५७:४; इजकिएल २२:२५; लूका २०:४५-४७; प्रेरित २०:२९; २ कोरिन्थी ११:१९, २०; गलाती ५:१५) बरु, तिनीहरूले तपाईंमा चासो लिन्छन्‌, तपाईंलाई मदत गरेका छन्‌ र तपाईंसँगै यहोवाको सेवा गर्न चाहन्छन्‌।

१७, १८. अहिले कुन अर्थमा प्रमोदवन छ भन्‍नु मिल्छ र त्यसले हामीमाथि कस्तो असर पारेको छ?

१७ अतः पद १ देखि ८ को वर्तमान पूर्तिलाई ध्यानमा राख्दै यशैया अध्याय ३५ लाई फेरि एकपल्ट हेरौं। अहिले हामी आध्यात्मिक प्रमोदवन भन्‍नु मिल्ने अवस्थामा छौं भन्‍ने कुरा के स्पष्ट छैन त? तर अहँ, यो आध्यात्मिक प्रमोदवन सिद्ध चाहिं भइसकेको छैन। तर जे होस्‌, त्यो साँच्चै प्रमोदवन हो। किनभने पद २ अनुसार यस प्रमोदवनमा हामीले “परमप्रभुको महिमा, हाम्रा परमेश्‍वरको प्रताप” देखिसकेका छौं। अनि यसको असर? पद १० ले यसो भन्छ: “अनि परमप्रभुले उद्धार गर्नुभएकाहरू फर्केर आउनेछन्‌। तिनी- हरू सियोनमा गाउँदै आउनेछन्‌। तिनीहरूका अनुहारमा सदा आनन्द देखिनेछ। तिनीहरूले आनन्द र रमाहट प्राप्त गर्नेछन्‌, र शोक र सुस्केरा दूर हुनेछ।” झूटा धर्मबाट निस्केर शुद्ध उपासना गर्नु र परमेश्‍वरको अनुमोदन पाउनु निस्सन्देह, आनन्ददायी कुरा हो।

१८ साँचो उपासनासित सम्बन्धित आनन्द दिनानुदिन बढ्‌दै जान्छ, होइन त? नयाँ जिज्ञासु व्यक्‍तिहरूले प्रगति गरेर बाइबल सच्चाइमा बलियो भएको तपाईं देख्नुहुन्छ। जवान केटाकेटीहरू हुर्केर मण्डलीमा आध्यात्मिक प्रगति गरेको तपाईं देख्नुहुन्छ। अनि बप्तिस्मालाई विचार गर्नुहोस्‌। जहाँ तपाईं परिचित व्यक्‍तिहरूले बप्तिस्मा लिएको देख्नुहुन्छ। के यी सबै आज हामी असाध्यै आनन्दित हुने कारणहरू होइनन्‌ र? अवश्‍य हुन्‌। हाम्रो आध्यात्मिक स्वतन्त्रता तथा प्रमोदवनरूपी अवस्थामा अरू मानिसहरू सामेल भएको हेर्न पाउनु साँच्चै आनन्दको कुरा हो!

भावी पूर्ति!

१९. यशैया अध्याय ३५ ले हामीलाई कस्तो प्रत्याशा दिन्छ?

१९ अहिलेसम्म हामीले यशैया अध्याय ३५ को प्रथम पूर्ति र आज भइरहेको आध्यात्मिक पूर्तिबारे छलफल गऱ्‍यौं। तर कुरा यतिमै टुंगिदैन। अझ धेरै कुरा पूर्ति हुनु बाँकी नै छन्‌। र त्यो पृथ्वीमा चाँडै वास्तविक प्रमोदवन पुनर्स्थापना गर्ने बाइबलको आश्‍वासनसित सम्बन्धित छ।—भजन ३७:१०, ११; प्रकाश २१:४, ५.

२०, २१. यशैया अध्याय ३५ को अझै अर्को पूर्ति हुनेछ भनेर विश्‍वास गर्नु किन तार्किक अनि धर्मशास्त्रीय कुरा हो?

२० प्रमोदवनको ज्वलन्त विवरण दिनुभएर त्यसलाई आध्यात्मिक तवरमा मात्र पूरा गर्नु यहोवालाई सुहाउँदैन। तर त्यसो भन्दैमा आध्यात्मिक पूर्ति महत्त्वपूर्ण छैन भन्‍न खोजिएको होइन। वास्तविक प्रमोदवन पुनर्स्थापित भई हाले पनि सुन्दर दृश्‍य र शान्तिप्रिय जनावरहरूबीच आध्यात्मिक तवरमा भ्रष्ट, जंगली पशुजस्तो मानिसहरू भेटाउँदा हामीलाई त्यो प्रमोदवन पटक्कै रमाइलो लाग्नेछैन। (तुलना गर्नुहोस्‌ तितस १:१२) हो, पहिला आध्यात्मिक पूर्ति हुनैपर्छ। किनभने त्यो सर्वमहत्त्वपूर्ण छ।

२१ तर जे होस्‌, आउँदै गरेको प्रमोदवन अहिले हामीले आनन्द उठाइरहेका र भविष्यमा अझ धेरै आनन्द उठाउने आध्यात्मिक पक्षहरूमा मात्र सीमित हुनेछैन। हामीसित यशैया अध्याय ३५ जस्ता भविष्यवाणीहरूको वास्तविक पूर्तिको आशा गर्ने ठोस कारण छ। किन? किनभने यशैयाले अध्याय ६५ मा “नयाँ आकाश र नयाँ पृथ्वीबारे” भविष्यवाणी गरेको हामी पाउँछौं। यहोवाको दिनमा हुने घटनाहरूबारे वर्णन गर्दा प्रेरित पत्रुसले पनि त्यही कुरामाथि ध्यानाकर्षण गरेका थिए। (यशैया ६५:१७, १८; २ पत्रुस ३:१०-१३) “नयाँ पृथ्वी” वास्तविकतामा परिणत हुँदा यशैयाले व्याख्या गरेका कुराहरू साँच्चै पूरा हुनेछन्‌ भनेर पत्रुसले संकेत गरिरहेका थिए। तीमध्ये कतिपय कुराहरूसित तपाईं परिचित हुनुहुन्छ। जस्तै, मानिसहरूले घर बनाएर आफै बस्ने, दाखबारी लगाएर त्यसको फल खाने, सबैले आफ्नो कामबाट सधैंभरि आनन्द पाउने, भेडा र ब्वाँसो सँगै बसेको अनि संसारभरि कसैले कसैलाई कुनै हानि नगरेको देख्न पाउने। अर्को शब्दमा भन्‍ने हो भने, सबैले दीर्घ जीवन, सुरक्षित घर, प्रशस्त स्वस्थकर भोजन, सन्तोषप्रद काम अनि पशुहरूका साथै मानिस तथा पशुहरूबीच शान्ति पाउने।

२२, २३. यशैया अध्याय ३५ को भावी पूर्ति हुँदा आनन्दित हुने के आधार हुनेछ?

२२ के त्यस्तो प्रत्याशाले तपाईंलाई आनन्दित तुल्याउँदैन र? तुल्याउनुपर्ने हो। किनभने परमेश्‍वरले हामीलाई त्यस्तै जीवन बिताओस्‌ भनेर सृष्टि गर्नुभएको थियो। (उत्पत्ति २:७-९) त्यसोभए, हामीले अहिले छलफल गरेको यशैया अध्याय ३५ को भविष्यवाणीको अर्थ के हो त? त्यसको अर्थ यही हो, हामी आनन्दित भई रमाहट गर्ने थप कारण छ। मरुभूमि र सुखा जमीन साँच्चै हराभरा हुँदा हामी कति आनन्दित हुनेछौं। तब नीलो, खैरो वा अन्य रंगका सुन्दर आँखा हुने अन्धाहरूले देख्न सक्नेछन्‌। बहिरा वा राम्ररी सुन्‍न नसक्ने हाम्रा सँगी मसीहीहरूले स्पष्टसित सुन्‍न सक्नेछन्‌। रूखका पातहरूबीच सररर बहने हावाको सुसेली, सानो बालकको मीठो हाँसो, चराको चिर्बिरे गीत साथै परमेश्‍वरको वचन र त्यसको व्याख्या सुन्‍न पाउँदा कति आनन्द लाग्नेछ!

२३ साथै त्यति बेला लुला लंगडा र बाथका रोगीहरू फेरि एकपल्ट कुनै पीडाबिना हिंड्‌न सक्नेछन्‌। कति आराम! मरुभूमिमा पानीका फोहराहरू बग्नेछन्‌। जमीनबाट पानीको मूल फुटेर कलकल बगेको हामी आफ्नै आँखाले देख्ने अनि सुन्‍नेछौं। मरुभूमिमा हामी आफ्नै हातले हरिया घाँस र हरिया बोटबिरुवाहरूलाई स्पर्श गर्न सक्नेछौं। त्यो साँच्चै पुनर्स्थापित प्रमोदवन हुनेछ। कुनै डर त्रासबिना सिंह र अरू जंगली जनावरहरूसँगै बस्न पाउनु कति रमाइलो हुनेछ! शायद यहाँ लामो व्याख्या गरिरहनु नपर्ला। किनभने हामी सबैले अहिल्यै त्यसको मीठो कल्पनामा डुबेर आनन्द लिन थालिसकेका छौं।

२४. यशैया ३५:१० को अभिव्यक्‍तिसित तपाईं किन सहमत हुन सक्नुहुन्छ?

२४ यशैया हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “परमप्रभुले उद्धार गर्नुभएकाहरू फर्केर आउनेछन्‌। तिनीहरू सियोनमा गाउँदै आउनेछन्‌। तिनीहरूका अनुहारमा सदा आनन्द देखिनेछन्‌।” अतः हामी आनन्दित भई रमाहट गर्नुपर्ने कारण छ भनेर हामी सबै जना सहमत हुनसक्छौं। हो, यहोवाले आफ्ना जनहरूका लागि आध्यात्मिक प्रमोदवनमा गरिसक्नुभएका कामहरूका लागि र चाँडै आउने वास्तविक प्रमोदवनमा हामीले आशा गर्नसक्ने कुराहरूका लागि हामी आनन्दित हुनसक्छौं। अनि हामीजस्ता आनन्दित जनहरूबारे यशैया यसो भन्छन्‌: “तिनीहरूले आनन्द र रमाहट प्राप्त गर्नेछन्‌, र शोक र सुस्केरा दूर हुनेछ।”—यशैया ३५:१०.

के तपाईंले सम्झनुभयो?

◻ यशैया अध्याय ३५को कुन दोस्रो पूर्ति भएको छ?

◻ यशैयाले अगमवाणी गरेका चमत्कारपूर्ण परिवर्तनहरूसित कुन कुराले आध्यात्मिक तवरमा मेल खान्छ?

◻ यस भविष्यवाणीको पूर्तिमा तपाईं कसरी सरिक हुनुभएको छ?

◻ यशैया अध्याय ३५ ले हामीलाई भविष्यको आशा दिन्छ भनेर किन भन्‍नसक्छौं?

[पृष्ठ १५-मा भएको चित्र]

ब्रूकलिनस्थित रेमण्ड स्ट्रिट जेल, जहाँ सात जना गण्यमान्य भाइहरू सन्‌ १९१८ जून महिनामा थुनिएका थिए

[पृष्ठ १६-मा भएको चित्र]

आफ्ना अन्तिम वर्षहरूमा भाइ फ्रान्ज साह्रै धमिलो देख्नुहुन्थ्यो। तैपनि उहाँको आध्यात्मिक ज्योति तीक्ष्ण थियो

[पृष्ठ १७-मा भएको चित्र]

आध्यात्मिक वृद्धि तथा प्रगति आनन्दका कारणहरू हुन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने