प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 जनवरी pp. २-७
  • “फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “म तिमीसित छु”
  • “म तिम्रा परमेश्‍वर हुँ”
  • “म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु”
  • यहोवामाथिको भरोसालाई कसरी अझ बलियो बनाउन सक्छौँ?
  • शान्त हुनुहोस्‌ र यहोवामाथि भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • सान्त्वनाको लागि यहोवामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवामाथिको तपाईंको भरोसालाई बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 जनवरी pp. २-७

अध्ययन लेख १

“फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ”

“नडराऊ किनकि म तिमीसित छु; फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ। म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।”—यसै. ४१:१०.

गीत ७ यहोवा हाम्रा बल

परिचयa

१-२. (क) यसैया ४१:१० मा पाइने शब्दहरूले योसिको नाम गरेकी बहिनीमा कस्तो प्रभाव पाऱ्‍यो? (ख) यहोवाले कसको फाइदाको लागि त्यो सन्देश अहिलेसम्म जोगाएर राख्नुभएको छ?

योसिको नाम गरेकी एउटी वफादार ख्रिष्टियन बहिनीलाई डाक्टरले दु:खलाग्दो खबर सुनाइन्‌। डाक्टरले उनी अब केही महिना मात्र बाँच्नेछिन्‌ भनेर बताइन्‌। यो सुनेर योसिकोले कस्तो प्रतिक्रिया देखाइन्‌? उनले आफूलाई असाध्यै मन पर्ने एउटा बाइबल पद यसैया ४१:१० सम्झिन्‌। (पढ्‌नुहोस्‌) अनि त्यो खबर सुनेर आफूलाई डर नलागेको कुरा उनले नआत्तिईकन डाक्टरलाई बताइन्‌ किनभने यहोवाले आफ्नो हात पक्रिराख्नुभएको छ भन्‍ने कुरामा उनी ढुक्क थिइन्‌।b यस पदमा पाइने सान्त्वनादायी शब्दहरूले हाम्री प्यारी बहिनीलाई यहोवामाथि पूर्ण भरोसा राख्न मदत गऱ्‍यो। यही पदले हामीलाई पनि कठिन परीक्षाहरूको सामना गर्नुपर्दा नआत्तिन मदत गर्न सक्छ। यस पदले हामीलाई कसरी मदत गर्न सक्छ भनेर बुझ्नुअघि आउनुहोस्‌, परमेश्‍वरले यसैयालाई त्यो सन्देश किन दिनुभयो, विचार गरौँ।

२ यहोवाले यसैयालाई ती शब्दहरू लेख्न लगाउनुको उद्देश्‍य पछि बेबिलोनको निर्वासनमा लगिने यहुदीहरूलाई सान्त्वना दिनको लागि थियो। तर यहोवाले निर्वासनमा लगिने ती यहुदीहरूको लागि मात्र होइन, त्यस समयदेखि यता उहाँका सबै जनको फाइदाको लागि त्यो सन्देश जोगाएर राख्नुभयो। (यसै. ४०:८; रोमी १५:४) आज हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ अनि यसैयाको किताबमा पाइने त्यो सान्त्वना अहिलेजति जरुरी पहिला कहिल्यै भएको थिएन।—२ तिमो. ३:१.

३. (क) सन्‌ २०१९ को लागि छानिएको वार्षिक पद यसैया ४१:१० मा हामी कस्ता प्रतिज्ञाहरू पाउँछौँ? (ख) यी प्रतिज्ञाहरूले दिने आश्‍वासन हामीलाई किन चाहिन्छ?

३ यस लेखमा यसैया ४१:१० मा पाइने यहोवाका तीन वटा प्रतिज्ञाबारे छलफल गर्नेछौँ, जसले हाम्रो विश्‍वास बलियो बनाउनेछ। ती हुन्‌: (१) यहोवा हामीसित हुनुहुन्छ, (२) उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ र (३) उहाँले हामीलाई मदत गर्नुहुनेछ। हामीलाई यी आश्‍वासनहरू c चाहिन्छ किनभने योसिकोजस्तै हामी पनि जीवनमा परीक्षाहरू सामना गर्छौँ। संसारमा हुने नराम्रा कुराहरूको असर हामीले पनि भोग्नुपर्छ। हामीमध्ये कसै-कसैले दमनकारी सरकारहरूको खेदोसमेत सहिरहेका छौँ। आउनुहोस्‌, यी तीन वटा आश्‍वासन एक-एक गर्दै विचार गरौँ।

“म तिमीसित छु”

४. (क) यहोवाले दिनुभएको पहिलो आश्‍वासन कुन हो? (फुटनोट पनि हेर्नुहोस्‌) (ख) यहोवा हामीप्रतिको भावना कसरी व्यक्‍त गर्नुहुन्छ? (ग) परमेश्‍वरले व्यक्‍त गर्नुभएका शब्दहरूले तपाईँमा कस्तो प्रभाव पार्छ?

४ यहोवा सर्वप्रथम हामीलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “नडराऊ किनकि म तिमीसित छु।”d यहोवा हामीलाई पूरा ध्यान दिएर अनि न्यानो माया व्यक्‍त गरेर उहाँ हामीसित हुनुहुन्छ भन्‍ने कुरा देखाउनुहुन्छ। हामीप्रतिको कोमल र गहिरो भावना उहाँ कसरी व्यक्‍त गर्नुहुन्छ, याद गर्नुहोस्‌। यहोवा यसो भन्‍नुहुन्छ, “मेरो नजरमा तिमी अनमोल छौ, तिमी आदर गर्न लायकको छौ, म तिमीलाई माया गर्छु।” (यसै. ४३:४) आफ्ना सेवकहरूलाई माया गर्नदेखि यहोवालाई ब्रह्‍माण्डमा भएको कुनै पनि शक्‍तिले रोक्न सक्दैन; हामीप्रति उहाँको वफादारी सधैँ अटल रहन्छ। (यसै. ५४:१०) उहाँको माया र उहाँसितको मित्रताले हामीलाई साहसी बनाउँछ। उहाँले आफ्नो मित्र अब्रामलाई (अब्राहाम) जस्तै आज हामीलाई पनि जोगाउनुहुनेछ। यहोवाले तिनलाई यसो भन्‍नुभयो: “अब्राम, नडराऊ। म तिम्रो ढाल हुनेछु।”—उत्प. १५:१.

एउटा परिवार विभिन्‍न परीक्षाको सफलतापूर्वक सामना गर्छ: स्वास्थ्य समस्या, काम गर्ने ठाउँमा, प्रचारकार्य अनि स्कुलमा विरोध

यहोवाको मदत पाएर हामी बाढी र आगोरूपी समस्याहरू पार गर्न सक्छौँ (अनुच्छेद ५-६ हेर्नुहोस्‌)e

५-६. (क) हामीले परीक्षाहरू भोग्नुपर्दा यहोवा मदत गर्न चाहनुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ? (ख) योसिकोको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

५ हामीले आफ्नो जीवनमा भोग्ने परीक्षाहरूको सामना गर्न यहोवा हामीलाई मदत दिन चाहनुहुन्छ भनेर हामीलाई थाह छ किनभने उहाँ आफ्ना जनहरूलाई यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “तिमी पानीबाट जाँदा म तिमीसित हुनेछु, तिमी नदीबाट जाँदा त्यसले तिमीलाई डुबाउनेछैन। तिमी आगोबाट जाँदा त्यसले तिमीलाई डढाउनेछैन, त्यसको ज्वालाले तिमीलाई पोल्नेछैन।” (यसै. ४३:२) यी शब्दहरूको अर्थ के हो?

६ हाम्रो जीवनलाई कठिन बनाउने समस्याहरू हटाउनेछु भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको छैन। तर समस्याहरूको “नदी”-ले हामीलाई डुबाउन वा परीक्षाहरूको “आगो”-ले हामीलाई सदाको लागि डढाउन दिनुहुनेछैन। परीक्षाहरू आइपर्दा उहाँ हामीसित हुनुहुनेछ र परीक्षाहरू छिचोल्दै अघि ‘जान’ मदत गर्नुहुनेछ भन्‍ने ग्यारेन्टी उहाँले दिनुभएको छ। यहोवाले के गर्नुहुनेछ? हामी मृत्युको मुखमा पर्दा समेत उहाँप्रति निष्ठा कायम गरिरहन सकौँ भनेर उहाँले हामीलाई डर हटाएर शान्त रहन मदत गर्नुहुनेछ। (यसै. ४१:१३) सुरुमा उल्लेख गरिएकी योसिकोले यस्तै महसुस गरिन्‌। उनकी छोरी यसो भन्छिन्‌: “आमा पटक्कै नआत्तिनुभएको देखेर हाम्रो मनै छोयो। यहोवाले उहाँलाई मनोशान्ति दिनुभएको कुरा हामीले छर्लङ्‌गै देख्यौँ। आमाको मृत्यु भएको दिनसम्मै उहाँले नर्स र अरू बिरामीहरूलाई यहोवा र उहाँका प्रतिज्ञाहरूबारे बताउनुभयो।” योसिकोको उदाहरणबाट हामी के सिक्न सक्छौँ? “म तिमीसित छु” भन्‍ने परमेश्‍वरको प्रतिज्ञामा भरोसा राख्यौँ भने हामी पनि परीक्षाहरू आइपर्दा साहसी र बलिया हुनेछौँ।

“म तिम्रा परमेश्‍वर हुँ”

७-८. (क) यहोवाले दिनुभएको दोस्रो आश्‍वासन कुन हो र यसको अर्थ के हो? (ख) निर्वासनमा परेका यहुदीहरूलाई यहोवाले किन “फिक्री नगर” भन्‍नुभयो? (ग) यसैया ४६:३, ४ मा पाइने कस्ता शब्दहरूले यहोवाका जनहरूलाई डर हटाउन मदत गरेको हुनुपर्छ?

७ यसैयाका शब्दहरूमा पाइने दोस्रो आश्‍वासन याद गर्नुहोस्‌: “फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ।” यस वाक्यमा फिक्रीबारे के बताउन खोजिएको छ? ‘फिक्री गर्नु’ भनी अनुवाद गरिएको मूल भाषाको शब्दले “कतैबाट वा कसैबाट खतरा आउँदै छ कि भनेर पछाडि फर्केर हेर्नु” वा “अत्तालिएर यताउता हेर्नु” भन्‍ने अर्थ दिन्छ।

८ पछि बेबिलोनमा निर्वासनमा लगिने यहुदीहरूलाई यहोवाले किन “फिक्री नगर” भन्‍नुभयो? किनभने तिनीहरू डराउनेछन्‌ भनेर उहाँलाई थाह थियो। तिनीहरू किन डराउने थिए? यहुदीहरूले निर्वासनमा बिताएको ७० वर्षको अन्ततिर बेबिलोनमाथि मादी-फारसीको शक्‍तिशाली सेनाले आक्रमण गर्ने थियो। यहोवाले यही सेनालाई चलाएर आफ्ना जनहरूलाई बेबिलोनको दासत्वबाट मुक्‍त गर्नुहुने थियो। (यसै. ४१:२-४) शत्रुहरू आक्रमण गर्न आउँदै छन्‌ भनेर थाह पाएपछि त्यतिबेलाका बेबिलोनी र अरू राष्ट्रका मानिसहरूले एकअर्काको हौसला बढाउन यसो भने: “हिम्मत नहार!” साथै तिनीहरूले आफ्नो सुरक्षा होला भन्‍ने आसमा अझ धेरै मूर्तिहरू बनाए। (यसै. ४१:५-७) यहोवाले भने निर्वासनमा परेका यहुदीहरूको डर हटाउन यसो भन्‍नुभयो: “ए इस्राएल, [तिम्रा छिमेकीहरूजस्तो नभई] तिमी त मेरो सेवक हौ। . . . फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ।” (यसै. ४१:८-१०) यहोवाले तिनीहरूलाई के भन्‍नुभयो, याद गर्नुहोस्‌: “म तिम्रा परमेश्‍वर हुँ।” यहोवाले आफ्ना वफादार उपासकहरूलाई बिर्सनुभएको छैन भनेर यी शब्दहरूद्वारा आश्‍वासन दिनुभयो। उहाँ अझै पनि तिनीहरूको परमेश्‍वर हुनुहुन्छ र तिनीहरू अझै पनि उहाँका जन हुन्‌ भनेर आश्‍वासन दिनुभयो। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई बोक्नेछु . . . र बचाउनेछु।” यी आश्‍वासनदायी शब्दहरूले निर्वासनमा परेका यहुदीहरूलाई पक्कै बलियो बनायो।—यसैया ४६:३, ४ पढ्‌नुहोस्‌।

९-१०. हामी किन डराउनुपर्दैन? उदाहरणसहित बताउनुहोस्‌।

९ संसारको खस्कँदो अवस्थाले गर्दा अहिले मानिसहरू झन्‌ धेरै फिक्री गर्छन्‌। ती समस्याहरूले हामीलाई पनि असर गर्छ। तर हामी डराउनुपर्दैन। किनकि यहोवा हामीलाई यसो भन्‍नुहुन्छ: “म तिम्रा परमेश्‍वर हुँ।” यो वाक्यले हामीलाई नआत्तिई शान्त रहन कस्तो सशक्‍त कारण दिन्छ?

१० यो उदाहरण विचार गर्नुहोस्‌: जिम र बेन नाम गरेका दुई जना यात्रु हवाईजहाजमा यात्रा गर्दै छन्‌। यात्राको दौडान बेसरी हावा चल्छ र जहाज हल्लिन थाल्छ। तेज बतासले जहाजलाई तल-माथि हुत्याउँदा पाइलटले यस्तो घोषणा गर्छन्‌: “आफ्नो सीटको पेटी नफुकाल्नुहोस्‌। केही बेर अधिक हलचल हुनेछ।” यो सुनेपछि जिम असाध्यै चिन्तित हुन्छन्‌। तर त्यसपछि पाइलट यसो भन्छन्‌: “म तपाईँहरूको क्याप्टेन बोल्दै छु। सबै कुरा नियन्त्रणमै छ, त्यसैले नआत्तिनुहोस्‌।” यो कुरा चित्त नबुझेकोले जिम टाउको हल्लाउँदै यसो भन्छन्‌: “यस्तो पनि आश्‍वासन हुन्छ र?” तर बेन भने पटक्कै नआत्तिएको तिनले याद गर्छन्‌। त्यसैले तिनी बेनलाई सोध्छन्‌: “तिमीलाई अलिकति पनि डर लागेको छैन?” बेन मुसुक्क हाँस्दै यसो भन्छन्‌: “अहँ, छैन किनभने म यो पाइलटलाई राम्ररी चिन्छु। उहाँ मेरो बुबा हुनुहुन्छ!” त्यसपछि बेन अझै यसो भन्छन्‌: “मेरो बुबाको विषयमा म तिमीलाई केही कुरा बताउँछु। तिमीले उहाँलाई चिन्यौ र उहाँ कति निपुण पाइलट हुनुहुन्छ भनेर थाह पायौ भने तिमी पनि डराउनेछैनौ।”

११. दुई जना यात्रुको उदाहरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

११ यस उदाहरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? बेनजस्तै हामी पनि आत्तिदैनौँ किनभने स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवालाई हामी राम्ररी चिन्छौँ। यस संसारको अन्तको समयमा आँधीबेहरीरूपी समस्याहरू आइपर्दा उहाँले हामीलाई सकुशल त्यो पार गर्न मदत गर्नुहुनेछ भनेर हामीलाई थाह छ। (यसै. ३५:४) हामी यहोवामा भरोसा राख्छौँ, त्यसैले यस संसारका मानिसहरू डरको भुमरीमा परे पनि हामी भने नआत्तिई शान्त रहन सक्छौँ। (यसै. ३०:१५) परमेश्‍वरमाथि भरोसा राख्न सक्नुको कारणबारे छिमेकीहरूलाई बताउँदा हामीले पनि बेनले जस्तै गरिरहेका हुन्छौँ। हाम्रो कुरा सुनेपछि तिनीहरू पनि विश्‍वस्त हुन सक्छन्‌ र जस्तोसुकै समस्या आइपरे तापनि यहोवाले सँभाल्नुहुनेछ भनेर भरोसा गर्न सक्छन्‌।

“म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु”

१२. (क) यहोवाले दिनुभएको तेस्रो आश्‍वासन कुन हो? (ख) यहोवाको “बाहुली” भन्‍ने शब्दले हामीलाई कुन कुराको सम्झना गराउँछ?

१२ यसैयाका शब्दहरूमा पाइने तेस्रो आश्‍वासन विचार गर्नुहोस्‌: “म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।” यो कुरा भन्‍नुअघि यहोवाले आफ्ना जनहरूलाई कसरी बलियो अर्थात्‌ सुदृढ पार्नुहुन्छ भनेर यसैयाले बताइसकेका थिए। तिनले यसो भने: “यहोवा आफ्नो पराक्रमका साथ आउनुहुनेछ। उहाँको बाहुलीले उहाँको तर्फबाट शासन गर्नेछ।” (यसै. ४०:१०) बाइबलले “बाहुली” शब्द अक्सर प्रतीकात्मक अर्थमा शक्‍तिलाई बुझाउन प्रयोग गरेको पाउँछौँ। त्यसैले यहोवाको ‘बाहुलीले शासन गर्नेछ’ भन्‍ने वाक्यांशले यहोवा शक्‍तिशाली राजा हुनुहुन्छ भन्‍ने कुराको सम्झना गराउँछ। उहाँले विगतमा आफ्ना जनहरूलाई समर्थन गर्न र तिनीहरूको पक्षमा लड्‌न आफ्नो अतुलनीय शक्‍ति प्रयोग गर्नुभयो। उहाँमाथि भरोसा राख्नेहरूलाई उहाँ अहिले पनि बल दिनुहुन्छ र सुरक्षित राख्नुहुन्छ।—व्यव. १:३०, ३१; यसै. ४३:१०, फुटनोट।

निजी घरमा भइरहेको यहोवाका साक्षीहरूको सभामा हतियार भिरेका प्रहरीहरू आउँछन्‌

यहोवाको बलवान्‌ बाहुलीले दिने सुरक्षाको अगाडि कुनै पनि हतियार सफल हुनेछैन (अनुच्छेद १२-१६ हेर्नुहोस्‌)f

१३. (क) यहोवाले खासगरि कस्तो अवस्थामा हामीलाई बलियो पार्ने प्रतिज्ञा पूरा गर्नुहुन्छ? (ख) यहोवाको कस्तो ग्यारेन्टीले हामीलाई बल र ढाडस दिन्छ?

१३ खासगरि शत्रुहरूले हाम्रो खेदो गर्दा यहोवा यो प्रतिज्ञा पूरा गर्नुहुन्छ: “म तिमीलाई बलियो पार्नेछु।” आज, कुनै-कुनै देशमा हाम्रो प्रचारकार्यलाई रोक्न वा हाम्रो सङ्‌गठनमाथि प्रतिबन्ध लगाउन हाम्रा शत्रुहरू लागिपरेका छन्‌। तैपनि त्यस्ता आक्रमणहरूबारे हामी अचाक्ली चिन्ता गर्दैनौँ। यहोवाले दिनुभएको एउटा ग्यारेन्टीले गर्दा हामी बल र ढाडस पाउँछौँ। उहाँले हामीलाई यस्तो प्रतिज्ञा गर्नुभएको छ: “तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।” (यसै. ५४:१७) यस प्रतिज्ञाले हामीलाई तीन वटा महत्त्वपूर्ण कुरा सम्झाउँछ।

१४. परमेश्‍वरका शत्रुहरूले आक्रमण गरेकोमा हामी किन छक्क पर्दैनौँ?

१४ पहिलो, हामी ख्रिष्टका चेलाहरू भएकोले मानिसहरूले हामीलाई घृणा गर्नेछन्‌ भनेर थाह छ। (मत्ति १०:२२) अन्तको दिनमा आफ्ना चेलाहरूको असाध्यै खेदो गरिनेछ भनेर येसुले भविष्यवाणी गर्नुभयो। (मत्ति २४:९; युह. १५:२०) दोस्रो, यसैयाको भविष्यवाणीमा हाम्रा शत्रुहरूले हामीलाई घृणा गर्ने मात्र होइन, हामीविरुद्ध विभिन्‍न प्रकारका हतियारहरू प्रयोग गर्नेछन्‌ भनेर चेतावनी दिइएको छ। ती हतियारहरूमा सत्यजस्तै देखिने झूट, सरासर झूट र घोर सतावट पर्छन्‌। (मत्ति ५:११) यहोवाले हाम्रा शत्रुहरूलाई यस्ता हतियारहरू प्रयोग गरेर हामीलाई आक्रमण गर्नदेखि रोक्नुहुनेछैन। (एफि. ६:१२; प्रका. १२:१७) तर हामी डराउनुपर्दैन। किन?

१५-१६. (क) हामीले सम्झनुपर्ने तेस्रो बुँदा के हो? अनि यसैया २५:४, ५ ले यसलाई कसरी समर्थन गर्छ? (ख) हामीविरुद्ध लड्‌नेहरूले भोग्ने नतिजाबारे यसैया ४१:११, १२ मा के बताइएको छ?

१५ हामीले सम्झनुपर्ने तेस्रो बुँदा विचार गरौँ। यहोवाले हामीविरुद्ध चलाइने “जुनसुकै हतियार बेकामको हुनेछ” भन्‍नुभयो। जसरी भित्ताले हामीलाई विनाशकारी आँधीबेहरीबाट जोगाउँछ, त्यसरी नै यहोवाले हामीलाई “अत्याचारीहरूको क्रोध”-बाट जोगाउनुहुनेछ। (यसैया २५:४, ५ पढ्‌नुहोस्‌) हामीलाई सदाको लागि हानि पुऱ्‍याउन हाम्रा शत्रुहरू कहिल्यै सफल हुनेछैनन्‌।—यसै. ६५:१७.

१६ हामीसित “क्रोधित हुनेहरू”-ले भोग्ने नतिजाबारे विस्तृत तवरमा बताएर पनि यहोवामाथिको हाम्रो भरोसालाई उहाँ अझ बलियो पार्नुहुन्छ। (यसैया ४१:११, १२ पढ्‌नुहोस्‌) हाम्रा शत्रुहरूले हामीविरुद्ध जतिसुकै आक्रमण गरे तापनि वा जतिसुकै भयानक युद्ध लडे तापनि तिनीहरूले एउटै नतिजा भोग्नेछन्‌: परमेश्‍वरका जनहरूका सबै शत्रुको “नामोनिसान मेटिनेछ।”

यहोवामाथिको भरोसालाई कसरी अझ बलियो बनाउन सक्छौँ?

एउटा परिवारका सदस्यहरू सँगै मिलेर बाइबलको अध्ययन गर्छन्‌

यहोवाबारे बाइबलमा बताइएका कुराहरू नियमित रूपमा पढेर हामी उहाँमाथिको भरोसा अझ बलियो बनाउन सक्छौँ (अनुच्छेद १७-१८ हेर्नुहोस्‌)g

१७-१८. (क) बाइबल पढ्‌दा परमेश्‍वरमाथिको हाम्रो भरोसा कसरी अझ बलियो हुन्छ? एउटा उदाहरण दिनुहोस्‌। (ख) सन्‌ २०१९ को लागि रोजिएको वार्षिक पदमा मनन गर्दा हामी कस्तो मदत पाउँछौँ?

१७ यहोवालाई राम्ररी चिनेर हामी उहाँमाथिको भरोसालाई अझ बलियो बनाउन सक्छौँ। उहाँलाई राम्ररी चिन्‍ने एक मात्र तरिका भनेको ध्यान दिएर बाइबल पढ्‌नु र पढेको कुरामा मनन गर्नु हो। यहोवाले विगतमा आफ्ना जनहरूलाई कसरी जोगाउनुभयो भन्‍नेबारे बाइबलमा भरपर्दो विवरण पाउँछौँ। त्यस्तो विवरण पढ्‌दा उहाँले अहिले पनि हाम्रो हेरचाह गर्नुहुनेछ भनेर विश्‍वस्त हुन सक्छौँ।

१८ यहोवाले हामीलाई कसरी सुरक्षा दिनुहुन्छ भनेर बुझाउन यसैयाले प्रयोग गरेको सुन्दर उदाहरणलाई विचार गर्नुहोस्‌। तिनले यहोवालाई गोठालोसित र उहाँका सेवकहरूलाई पाठाहरूसित तुलना गरेका छन्‌। यहोवाबारे यसैया यसो भन्छन्‌: “आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछ र तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।” (यसै. ४०:११) यहोवाका बलवान्‌ पाखुराले हामीलाई उहाँको न्यानो अङ्‌गालोमा बेरेको महसुस गर्दा हामी सुरक्षित र ढुक्क हुन्छौँ। समस्याहरू भोग्दा हामी नआत्तिईकन शान्त रहन सकौँ भनेर विश्‍वासी र बुद्धिमान्‌ दासले सन्‌ २०१९ को वार्षिक पदको रूपमा यसैया ४१:१० का यी शब्दहरू रोजेको छ, “फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ।” यी आश्‍वासनदायी शब्दहरूमा मनन गर्नुहोस्‌। भविष्यमा समस्याहरू सामना गर्नुपर्दा यी शब्दहरूले तपाईँलाई बलियो पार्नेछ।

यहोवाका यी आश्‍वासनले तपाईँलाई कसरी बलियो बनाउँछ?

  • “म तिमीसित छु।”

  • “म तिम्रा परमेश्‍वर हुँ।”

  • “म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।”

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

a सन्‌ २०१९ को लागि छानिएको वार्षिक पदले संसारमा नराम्रा घटनाहरू हुँदा वा हाम्रो व्यक्‍तिगत जीवनमा दु:खद अवस्थाहरू आइपर्दा समेत हामी किन नआत्तिईकन शान्त रहन सक्छौँ, त्यसको तीन वटा कारण बताउँछ। यस लेखले ती कारणहरू केलाउनेछ। साथै हामीलाई धेरै फिक्री नगर्न र यहोवामाथि भरोसा राख्न मदत गर्नेछ। वार्षिक पदमा मनन गर्नुहोस्‌। सक्नुहुन्छ भने त्यसलाई कण्ठ गर्नुहोस्‌। यसले तपाईँलाई भविष्यमा आइपर्ने समस्याहरू सामना गर्न बल दिनेछ।

b प्रहरीधरहरा, जुलाई २०१६, पृ. १८ हेर्नुहोस्‌।

c थप व्याख्या: आश्‍वासन भनेको कुनै कुरा पक्कै हुनेछ भन्‍ने साँचो भनाइ वा प्रतिज्ञा हो। यहोवाले दिनुहुने आश्‍वासनले गर्दा हामी आफ्नो जीवनमा आइपर्न सक्ने समस्याहरूबारे धेरै चिन्तित नहुन मदत पाउँछौँ।

d फुटनोट: “नडराऊ” भन्‍ने शब्द यसैया ४१:१०, १३ र १४ मा तीन चोटि उल्लेख गरिएको छ। ती पदहरूमा धेरै चोटि “म” (यहोवालाई बुझाउन) शब्द प्रयोग गरिएको छ। यहोवाले यसैयालाई धेरै चोटि “म” शब्द लेख्न किन उत्प्रेरित गर्नुभयो? एउटा महत्त्वपूर्ण यथार्थलाई जोड दिन—यहोवामाथि भरोसा राखेको खण्डमा मात्र हामी डर हटाएर शान्त रहन सक्छौँ।

e चित्रको व्याख्या: परिवारका सदस्यहरूलाई काम गर्ने ठाउँमा, स्वास्थ्यको मामिलामा, प्रचारकार्यमा र स्कुलमा परीक्षाहरू आइपर्छ।

f चित्रको व्याख्या: निजी घरमा गरिएको साक्षीहरूको सभामा प्रहरीले छापा मार्छन्‌ तर भाइबहिनी आत्तिँदैनन्‌।

g चित्रको व्याख्या: नियमित रूपमा पारिवारिक उपासना गर्दा हामी सहन बल पाउँछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने