अध्याय २
परमेश्वरको प्रबन्धमा ख्रिष्टको भूमिका
“सुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” उहाँले बनाउनुभएको सबै कुरा “असाध्यै राम्रा” थिए। (उत्प. १:१, ३१) यहोवा परमेश्वरले मानिसलाई भविष्यको सुन्दर प्रत्याशासहित सृष्टि गर्नुभएको थियो। तर अदनको बगैँचामा भएको विद्रोहले गर्दा मानिसजातिले केही समय दुःख भोग्नुपर्ने भयो। तैपनि यहोवाले पृथ्वी र मानिसलाई जुन उद्देश्यले सृष्टि गर्नुभएको थियो, त्यो परिवर्तन भएको छैन। परमेश्वरले भविष्यवाणीमार्फत आदमका आज्ञाकारी सन्तानले उद्धार पाउनेछन् भनी सङ्केत गर्नुभयो। साँचो उपासना फेरि स्थापित हुने थियो र परमेश्वरले सैतानसँगै त्यसका सबै दुष्ट काम नष्ट गर्नुहुने थियो। (उत्प. ३:१५) त्यसपछि फेरि सबै कुरा “असाध्यै राम्रा” हुने थिए। यहोवाले यो काम आफ्नो छोरा येसु ख्रिष्टमार्फत पूरा गर्नुहुने थियो। (१ युह. ३:८) त्यसैले परमेश्वरको प्रबन्धमा ख्रिष्टको भूमिका के हो भनेर बुझ्नु महत्त्वपूर्ण छ।—प्रेषि. ४:१२; फिलि. २:९, ११.
ख्रिष्टको भूमिका
२ परमेश्वरको प्रबन्धमा ख्रिष्टको विभिन्न भूमिका छ भनेर हामीले बुझ्नुपर्छ। येसु मुक्तिदाता, प्रधानपुजारी र मण्डलीको शिर हुनुहुन्छ। अनि अहिले उहाँ परमेश्वरको राज्यको राजाको रूपमा पनि सेवा गर्दै हुनुहुन्छ। यी भूमिकाबारे मनन गऱ्यौँ भने हामी परमेश्वरको प्रबन्धप्रति अझै धन्यवादी हुनेछौँ र येसु ख्रिष्टप्रतिको हाम्रो प्रेम पनि बढ्नेछ। बाइबलमा उहाँको विभिन्न भूमिकाबारे वर्णन गरिएको छ।
येसु मानिसजातिको लागि यहोवाको उद्देश्य पूरा गर्ने मुख्य व्यक्ति हुनुहुन्छ
३ येसु ख्रिष्टमार्फत मात्र आज्ञाकारी मानिसहरूले परमेश्वरसित मिलाप गर्न सम्भव हुनेछ भनेर उहाँले पृथ्वीमा गर्नुभएको सेवाको कामको दौडान प्रस्ट भयो। (युह. १४:६) धेरैको उद्धारको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिएर उहाँ मानिसजातिको मुक्तिदाता हुनुभयो। (मत्ति २०:२८) त्यसैले उहाँ परमेश्वरको स्तरबमोजिम चल्ने सन्दर्भमा राम्रो नमुना मात्र हुनुहुन्न तर मानिसजातिको लागि यहोवाको उद्देश्य पूरा गर्ने मुख्य व्यक्ति हुनुहुन्छ। हामीले उहाँमार्फत मात्र फेरि परमेश्वरको अनुमोदन पाउन सक्छौँ। (प्रेषि. ५:३१; २ कोरि. ५:१८, १९) येसुले बलिदानस्वरूप आफ्नो जीवन दिनुभएकोले र उहाँ फेरि जीवित हुनुभएकोले गर्दा आज्ञाकारी मानिसहरूले परमेश्वरको स्वर्गीय राज्यअन्तर्गत चिरस्थायी आशिष् पाउने मौका पाएका छन्।
४ येसु ख्रिष्ट हाम्रो प्रधानपुजारी हुनुहुन्छ। त्यसैले उहाँ “हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन” अनि पृथ्वीमा भएका आफ्ना समर्पित सेवकहरूको पापको लागि प्रायश्चित गरिदिन सक्षम हुनुहुन्छ। प्रेषित पावलले यसो भने: “हाम्रा प्रधानपुजारी हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, बरु हामीजस्तै हर तवरमा परीक्षित तर पापरहित हुनुहुन्छ।” त्यसपछि पावलले येसु ख्रिष्टमा विश्वास गर्नेहरूलाई परमेश्वरसित मिलाप गर्ने यस प्रबन्धबाट पूरापूर लाभ उठाउन यस्तो प्रोत्साहन दिए: “त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ।”—हिब्रू ४:१४-१६; १ युह. २:२.
५ येसु ख्रिष्टियन मण्डलीको शिर पनि हुनुहुन्छ। प्रथम शताब्दीका उहाँका अनुयायीहरूलाई जस्तै अहिले हामीलाई पनि मानव नेताको कुनै खाँचो छैन। येसुले आफ्ना अनुयायीहरूलाई पवित्र शक्ति र योग्य उपगोठालाहरूमार्फत निर्देशन दिनुहुन्छ। यी उपगोठालाहरू आफू यहोवा र येसुप्रति जबाफदेही भएको कुरा मनमा राख्दै परमेश्वरको बगालको हेरचाह गर्छन्। (हिब्रू १३:१७; १ पत्रु. ५:२, ३) यहोवाले येसुबारे यस्तो भविष्यवाणी गर्नुभएको थियो: “हेर! जातिजातिका मानिसहरूलाई साक्षी दिन मैले उसलाई नियुक्त गरेको छु, जातिजातिका मानिसहरूको लागि मैले उसलाई अगुवा र शासक बनाएको छु।” (यसै. ५५:४) यो भविष्यवाणी पूरा भयो भनी उहाँले चेलाहरूलाई भन्नुभएको यस कुराबाट प्रमाणित हुन्छ: “न त कसैले तिमीहरूलाई नेता भनोस्, किनकि तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रिष्ट हुनुहुन्छ।”—मत्ति २३:१०.
६ येसु हामीलाई यस्तो निम्तो दिनुहुन्छ: “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” (मत्ति ११:२८-३०) यस निम्तोबाट हामी येसुको मनोभाव र हामीलाई मदत गर्ने उहाँको इच्छाबारे बुझ्न सक्छौँ। उहाँ ख्रिष्टियन मण्डलीलाई कोमलतासाथ र स्फूर्ति पाउने तरिकामा डोऱ्याउनुहुन्छ। यसरी येसुले आफ्नो बुबा यहोवाजस्तै आफू पनि “असल गोठालो” भएको प्रमाण दिनुभएको छ।—युह. १०:११; यसै. ४०:११.
७ पावलले कोरिन्थीहरूलाई लेखेको पहिलो पत्रमा येसु ख्रिष्टको अर्को भूमिकाबारे यस्तो लेखे: “परमेश्वरले सबै शत्रुलाई उहाँको पाउमुनि नराखुन्जेल उहाँले राजाको रूपमा शासन गर्नै पर्छ। तर जब सबै कुरा उहाँको अधीनमा भइसकेको हुनेछ, तब परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन् भनेर छोरा पनि सबै कुरा उहाँको अधीनमा राखिदिनुहुनेकै अधीनमा बस्नुहुनेछ।” (१ कोरि. १५:२५, २८) येसु यहोवाको पहिलो सृष्टि हुनुहुन्छ। पृथ्वीमा आउनुअघि उहाँले स्वर्गमा परमेश्वरको “मुख्य कारिगरको रूपमा” काम गर्नुभयो। (हितो. ८:२२-३१) परमेश्वरले येसुलाई पृथ्वीमा पठाउनुभएपछि उहाँ सधैँ परमेश्वरको इच्छाअनुसार चल्नुभयो। उहाँले सबैभन्दा कठिन परीक्षा सहनुभयो र मृत्युसम्मै बुबाप्रति वफादार रहनुभयो। (युह. ४:३४; १५:१०) यसरी मृत्युसम्मै वफादार रहेकोले येसुले इनाम पाउनुभयो। परमेश्वरले उहाँलाई फेरि जीवित पार्नुभयो र स्वर्गीय राज्यको राजा नियुक्त गर्नुभयो। (प्रेषि. २:३२-३६) परमेश्वरको राज्यको राजा भएकोले येसु ख्रिष्टले परमेश्वरबाट एउटा विशेष जिम्मेवारी पाउनुभएको छ। त्यो हो, पृथ्वीबाट मानव शासन र दुष्टता हटाउने काममा लाखौँ स्वर्गदूतको नेतृत्व लिने। (हितो. २:२१, २२; २ थिस्स. १:६-९; प्रका. १९:११-२१; २०:१-३) त्यसपछि पूरै पृथ्वीमा ख्रिष्टको नेतृत्वमा रहेको परमेश्वरको राज्यले मात्र शासन गर्नेछ।—प्रका. ११:१५.
ख्रिष्टको भूमिका बुझ्नुमा के समावेश छ?
८ हामीले अनुकरण गर्नुपर्ने व्यक्ति येसु ख्रिष्ट त्रुटिरहित हुनुहुन्छ। उहाँलाई हाम्रो हेरचाह गर्ने जिम्मेवारी दिइएको छ। येसुको मायालु हेरचाह पाउन यहोवाप्रति वफादार रहनु र अघि बढिरहेको यहोवाको सङ्गठन सँगसँगै चल्नु आवश्यक छ।
९ प्रथम शताब्दीका ख्रिष्टियनहरूले परमेश्वरको प्रबन्धमा येसुको कस्तो भूमिका छ भनेर राम्ररी बुझेका थिए। तिनीहरूले यो कुरा बुझेको कसरी देखाए? तिनीहरूले ख्रिष्टको शिरत्वको अधीनमा बस्दै मिलिजुली काम गरे अनि येसुले दिनुभएका निर्देशनहरू पवित्र शक्तिमार्फत दिइएको हो भन्ने कुरा स्विकार्दै ती पालन गरे। (प्रेषि. १५:१२-२१) प्रेषित पावलले अभिषिक्त ख्रिष्टियनहरूको मण्डलीको एकताबारे सङ्केत गर्दै यस्तो लेखे: “सत्य बोल्दै शिर अर्थात् ख्रिष्टको अधीनमा बसेर हामी प्रेमद्वारा सबै कुरामा बढ्दै जाऔँ। उहाँद्वारा नै शरीरको हरेक अङ्ग आपसमा राम्ररी गाँसिएको छ र हरेक जोर्नीले आपसी तालमेल मिलाएर आ-आफ्नो महत्त्वपूर्ण भूमिका पूरा गर्छ। जब शरीरको हरेक अङ्गले राम्ररी काम गर्छ, तब सम्पूर्ण शरीर प्रेममा एकसाथ बढ्दै जान्छ।”—एफि. ४:१५, १६.
१० जब मण्डलीका सबैले एकअर्कालाई मदत गर्छन् र ख्रिष्टको नेतृत्वमा रहँदै मिलेर काम गर्छन्, तब मण्डलीको वृद्धि हुन्छ र प्रेम पनि बढ्दै जान्छ, जुन “एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।”—युह. १०:१६; कल. ३:१४; १ कोरि. १२:१४-२६.
११ सन् १९१४ देखि येसु ख्रिष्टले शासन गर्दै हुनुहुन्छ भन्ने कुरा बाइबलको भविष्यवाणीअनुरूप पूरा भइरहेका विश्व घटनाहरूले प्रस्टै देखाउँछ। उहाँ अहिले शत्रुहरूको बीचमा शासन गर्दै हुनुहुन्छ। (भज. २:१-१२; ११०:१, २) यसले अहिले पृथ्वीमा बाँचिरहेका मानिसहरूका लागि कस्तो अर्थ राख्छ? चाँडै येसुले राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभुको रूपमा आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ र शत्रुहरूविरुद्ध यहोवाको न्यायदण्ड कार्यान्वयन गर्नुहुनेछ। (प्रका. ११:१५; १२:१०; १९:१६) त्यसपछि मानिसले अदनको बगैँचामा विद्रोह गर्दा यहोवाले छुटकारा दिने जुन प्रतिज्ञा गर्नुभएको थियो, त्यो पूरा हुनेछ। मतलब, ख्रिष्टको दाहिने हाततिर हुनेहरूले अर्थात् उहाँको अनुमोदन पाएका मानिसहरूले उद्धार पाउनेछन्। (मत्ति २५:३४) परमेश्वरको प्रबन्धमा ख्रिष्टको कस्तो भूमिका छ भनेर बुझ्न पाएकोमा हामी असाध्यै खुसी छौँ। यस अन्तको दिनमा संसारभरिका दाजुभाइ दिदीबहिनीसित मिलेर ख्रिष्टको नेतृत्वमा सेवाको काम गरिरहौँ।