प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १/१ pp. ११-२०
  • “थोरै चाहिं हजार” भएको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “थोरै चाहिं हजार” भएको छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका जोसिला सेवकहरू
  • “हरेक सुकर्ममा”
  • तिनीहरू “बादलझैं उड़ने” गर्छन्‌
  • सतावटको बेला निडर
  • उच्च नैतिक स्तरहरू
  • यहोवाले वृद्धि गराउनुहुन्छ
  • यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाको महिमा उहाँका जनहरूमा चम्कन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ज्योति वाहकहरू—के उद्देश्‍यका लागि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • संसारको ज्योतिलाई पछ्याउनुहोस्‌
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १/१ pp. ११-२०

“थोरै चाहिं हजार” भएको छ

“थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ।”—यशैया ६०:२२.

१, २. (क) आज किन पृथ्वीमा अन्धकार छाएको छ? (ख) यहोवाका जनहरूमा क्रमिक रूपमा कसरी उहाँको ज्योति चम्केको छ?

“अँध्यारोले पृथ्वीलाई, र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ। तर तँमाथि परमप्रभु प्रकाश हुनुहुनेछ, र उहाँको महिमा तँमाथि प्रकट हुनेछ।” (यशैया ६०:२) यी शब्दहरूले १९१९ पछिको पृथ्वीको अवस्थाको सही वर्णन गर्छ। मसीहीजगत्‌ले “संसारको ज्योति,” येशू ख्रीष्टको राजकीय उपस्थितिका चिह्नहरू तिरस्कार गरेका छन्‌। (यूहन्‍ना ८:१२; मत्ती २४:३) “यस अन्धकारका सांसारिक शासकहरू[का]” प्रमुख शैतान “ठूलो क्रोध[ले]” गर्जिरहेको कारण २० औं शताब्दी, मावन इतिहासमा सबैभन्दा क्रूर र विनाशकारी युग साबित भएको छ। (प्रकाश १२:१२; एफिसी ६:१२) अधिकांश मानिसहरू आध्यात्मिक अन्धकारमा बाँचिरहेका छन्‌।

२ तर आज पनि ज्योति चम्किरहेको छ। यहोवा आफ्ना सेवक, शेष अभिषिक्‍त जनहरूमाथि “प्रकाशमान” हुनुहुन्छ र तिनीहरू उहाँको स्वर्गीय “स्त्री[को]” पार्थिव प्रतिनिधिहरू हुन्‌। (यशैया ६०:१) सन्‌ १९१९ मा बेबिलोनी कैदबाट मुक्‍त भएपछि विशेष गरी तिनीहरूले परमेश्‍वरको महिमा झल्काएका छन्‌ र ‘आफ्नो ज्योति मानिसहरूका सामु चम्कन’ दिएका छन्‌। (मत्ती ५:१६) सन्‌ १९१९ देखि १९३१ सम्म तिनीहरूले बेबिलोनी सोचाइ सबै हटाउँदै गएपछि राज्य ज्योति झन्‌ झनै चम्कँदै गयो। अनि यहोवाले आफ्नो निम्न प्रतिज्ञा पूरा गर्नुहुँदा तिनीहरूको संख्या हजारौं हजारले वृद्धि भयो: “निश्‍चयनै . . . इस्राएलका बचेकाहरूलाई म जम्मा गर्नेछु। म तिनीहरूलाई एकै ठाउँमा राख्नेछु—गोठमा भेड़ा–बाख्राहरू र खर्कको बीचमा बथानझैं, यी हल्ला गर्ने भीड़ मानिसहरूलाई!” (मीका २:१२) सन्‌ १९३१ मा तिनीहरूले यहोवाका साक्षीहरू भन्‍ने नाउँ स्वीकार्दा यहोवाको महिमा उहाँका जनहरूमा झनै स्पष्ट भयो।—यशैया ४३:१०, १२.

३. अभिषिक्‍त जनहरूबाहेक अरू मानिसहरूमा पनि यहोवाको ज्योति चम्किनेछ भनेर कसरी स्पष्ट भयो?

३ के यहोवाको ज्योति “सानो बगाल[को]” बाँकी रहेका जनहरूमा मात्र चम्किन्छ? (लूका १२:३२) होइन। सेप्टेम्बर १, १९३१ को प्रहरीधरहरा-ले अर्को एउटा समूहबारे पनि बतायो। इजकिएल ९:१-११ बारे विस्तृत वर्णन गर्दै सीङको मसीदानी भिरेको मानिसले शेष अभिषिक्‍त जनहरूको प्रतिनिधित्व गर्छ भनेर बतायो। त्यस “मानिस[ले]” कस कसलाई निधारमा चिह्न लगाइदिए? पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा भएका ‘अरू भेडालाई।’ (यूहन्‍ना १०:१६; भजन ३७:२९) “अरू भेड़ा[को]” यस समूह प्रेरित यूहन्‍नाले देखेको दर्शनको “हरेक जातिबाटको . . . एक ठूलो भीड़” हो भनी १९३५ मा प्रस्ट भयो। (प्रकाश ७:९-१४) सन्‌ १९३५ देखि अहिलेसम्म ठूलो भीड जम्मा गर्ने काममा निकै ध्यान दिइएको छ।

४. यशैया ६०:३ मा उल्लिखित “राजाहरू” र “जातिहरू” को हुन्‌?

४ यशैयाको भविष्यवाणीमा पनि यस जम्मा गर्ने कार्यबारे संकेत गरिएको छ। त्यहाँ यसो भनिएको छ: “जाति जातिहरू तेरो ज्योतिमा र राजाहरू तेरो उदयको प्रकाशमा आउनेछन्‌।” (यशैया ६०:३) यहाँ बताइएका “राजाहरू” को हुन्‌? तिनीहरू येशू ख्रीष्टसित स्वर्गीय राज्यमा साझे हकवाला हुने १,४४,००० मध्येका शेष जनहरू हुन्‌। तिनीहरूले साक्षी कार्यमा नेतृत्व लिइरहेका छन्‌। (रोमी ८:१७; प्रकाश १२:१७; १४:१) आज, शेष अभिषिक्‍त जनका केही हजार व्यक्‍तिहरूभन्दा पार्थिव आशा भएको “जाति[का]” मानिसहरू कता हो कता धेरै छन्‌, तिनीहरू यहोवाको डोऱ्‍याइ खोज्छन्‌ र अरूलाई पनि त्यसै गर्ने निमन्त्रणा दिन्छन्‌।—यशैया २:३.

यहोवाका जोसिला सेवकहरू

५. (क) यहोवाका जनहरूको जोस सेलाएको छैन भनेर कुन तथ्यले प्रकाश पार्छ? (ख) कुन कुन देशमा १९९९ मा उल्लेखनीय वृद्धि भयो? (पृष्ठ १७ देखि २० सम्मको चार्ट हेर्नुहोस्‌।)

५ यहोवाका आधुनिक साक्षीहरूले २० औं शताब्दीभरि निकै जोस देखाए! सन्‌ २००० नजिकिंदै जाँदा तीव्र दबाउ सामना गर्नुपरे तापनि तिनीहरूको जोस सेलाएन। येशूको यो आज्ञा तिनीहरू अझै गम्भीरतापूर्वक लिए: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” (मत्ती २८:१९, २०) बीसौं शताब्दीको अन्तिम सेवा वर्षमा सुसमाचारका सक्रिय प्रकाशकहरूको नयाँ शिखर संख्या ५९,१२,४९२ पुग्यो। तिनीहरूले परमेश्‍वर अनि उहाँका उद्देश्‍यहरूबारे अरूलाई बताउन १,१४,४५,६६,८४९ घण्टा बिताए। तिनीहरूले जिज्ञासु व्यक्‍तिहरूसित ४२,००,४७,७९६ पुनःभेटहरू गरे र ४४,३३,८८४ निश्‍शुल्क गृह बाइबल अध्ययनहरू सञ्चालन गरे। जोसिलो सेवाको कस्तो उत्तम रेकर्ड!

६. अग्रगामीहरूको निम्ति कस्तो नयाँ प्रबन्ध गरियो र परिणाम कस्तो भयो?

६ गत जनवरी महिनामा परिचालक निकायले अग्रगामीहरूले बिताउनुपर्ने घण्टामा छाँटकाँट गरेको घोषणा गऱ्‍यो। थुप्रैले मौका छोपेर नियमित वा सहायक अग्रगामी गरे। उदाहरणका लागि, नेदरल्याण्ड्‌स शाखा कार्यालयको रिपोर्टअनुसार १९९९ को सुरुका चार महिनामा गत वर्षको सोही समयावधिमा भन्दा चार गुणा बढीले नियमित अग्रगामीको निम्ति आवेदन दिए। घानाको रिपोर्ट यस्तो छ: “अग्रगामीहरूले पुऱ्‍याउनुपर्ने घण्टा घटाएदेखि हाम्रो नियमित अग्रगामीहरूको संख्या दिनदिनै बढिरहेको छ।” विश्‍वभरि १९९९ सेवा वर्षमा अग्रगामीहरूको संख्या ७,३८,३४३ पुग्यो। “सुकर्ममा जोशिलो” भएको कस्तो उत्तम उदाहरण।—तीतस २:१४.

७. यहोवाले आफ्ना सेवकहरूको जोसिलो कार्यमा कसरी आशिष्‌ दिनुभएको छ?

७ के यहोवाले यस जोसिलो कार्यमा आशिष्‌ दिनुभएको छ? अवश्‍य छ। यशैया मार्फत उहाँ यसो भन्‍नुहुन्छ: “तेरो आँखा उठाएर चारैतिर हेर, ति[नी]हरू सबै जम्मा भएर तँकहाँ आउँदैछन्‌। तेरा छोराहरू टाढ़ाबाट आउनेछन्‌, र तेरा छोरीहरू हात हातमा बोकेर ल्याइनेछन्‌।” (यशैया ६०:४) जम्मा गरिएका अभिषिक्‍त “छोरा” तथा “छोरीहरू[ले]” जोसका साथ अझै यहोवाको सेवा गर्दैछन्‌। अनि अहिले २३४ देश तथा टापूहरूमा यहोवाको शेष अभिषिक्‍त जनहरूका साथमा येशूको अरू भेडाहरू जम्मा गर्ने काम भइरहेको छ।

“हरेक सुकर्ममा”

८. कस्ता ‘सुकर्मका कार्य’ गर्न यहोवाका साक्षीहरू सक्रिय छन्‌?

८ मसीहीहरूले राज्यको सुसमाचार प्रचार गर्ने र जिज्ञासु व्यक्‍तिहरूलाई चेला बन्‍न मदत दिने जिम्मेवारी पाएका छन्‌। तर तिनीहरू “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित” छन्‌। (२ तिमोथी ३:१७) तसर्थ, तिनीहरू आफ्नो परिवारको मायालु हेरचाह गर्छन्‌, अतिथि सत्कार गर्छन्‌ र बिरामीहरूलाई भेट्‌न जान्छन्‌। (१ तिमोथी ५:८; हिब्रू १३:१६) अनि स्वयम्‌सेवकहरू राज्यभवन निर्माण कार्यमा भाग लिन्छन्‌ र यो कार्यले पनि साक्षी दिन्छ। टोगोमा एउटा राज्यभवनको निर्माणपछि स्थानीय प्रभावशाली चर्चका जिम्मेवार व्यक्‍तिहरूले यहोवाका साक्षीहरूले चाहिं आफ्ना भवनहरू किन बाहिरका मानिसहरूको मदत नलिई निर्माण गर्न सकेका र उनीहरूले चाहिं किन मानिसहरू भाडामा लिनुपरेको होला भनी जान्‍न चाहे! टोगोको रिपोर्टअनुसार राज्यभवनहरूको उच्चस्तरीय निर्माणले छरछिमेकमा यति प्रभाव पारेको छ कि कोही कोही मानिसहरू राज्यभवन निर्माण हुन लागेको ठाउँमा घर भाडामा लिन वा निर्माण गर्न चाहन्छन्‌।

९. प्राकृतिक प्रकोपहरू आइपर्दा यहोवाका साक्षीहरूले के गरेका छन्‌?

९ कहिलेकाहीं अर्कै प्रकारको सुकर्म गर्नुपर्ने हुन्छ। गत सेवा वर्षको दौडान कतिपय देशहरूमा प्राकृतिक प्रकोपहरू भए र अक्सर ती क्षेत्रहरूमा मदत गर्न पुग्ने पहिलो समूह यहोवाका साक्षीहरू नै हुन्थे। उदाहरणका लागि, होण्डुरसको प्रायजसो सबै भाग मीच तुफानबाट क्षतिग्रस्त भएको थियो। तुरुन्तै शाखा कार्यालयले उद्धार कार्य व्यवस्थित पार्न आपत्‌कालीन समितिहरू खडा गऱ्‍यो। होण्डुरस तथा अन्य थुप्रै देशका साक्षीहरूले लत्ताकपडा, खाना, औषधी र अन्य आधारभूत सामग्रीहरू दिए। क्षेत्रीय निर्माण समितिहरूले घरहरू पुनर्निर्माण गर्न आफ्नो सीप प्रयोग गरे। चाँडै, प्रकोपबाट पीडित हाम्रा भाइहरूलाई आफ्नो नियमित तालिकामा फर्कन मदत गरियो। इक्वेडरमा ठूलो बाढीले केही घरहरू बगाउँदा यहोवाका साक्षीहरू आफ्ना भाइहरूको मदत गर्न जुटिहाले। कुशलतापूर्वक साक्षीहरूले परिस्थितिको सामना गरेको देखेर एक सरकारी अधिकारीले यसो भने: “मेरो समूहमा पनि यस्तै मानिसहरू भएका भए मैले थुप्रै काम गर्ने थिएँ! तपाईंजस्ता मानिसहरू संसारको सबै भागमा हुनुपर्छ।” त्यस्तो सुकर्मले यहोवा परमेश्‍वरको प्रशंसा गर्छ र हाम्रो ईश्‍वरीय “भक्‍तिचाहिं . . . सबै कुराको निम्ति उपयोगी हुन्छ” भनेर प्रमाणित गर्छ।—१ तिमोथी ४:८.

तिनीहरू “बादलझैं उड़ने” गर्छन्‌

१०. अभिषिक्‍त जनहरूको संख्या घट्‌दै गए तापनि किन यहोवाको नाउँ पहिलाभन्दा व्यापक तवरमा घोषणा भइरहेको छ?

१० यहोवा अब यस्तो प्रश्‍न गर्नुहुन्छ: “बादलझैं उड़ने र ढुकुरझैं तिनीहरूका झ्यालमा उड़ने यी को हुन्‌? निश्‍चय, समुद्र किनारका देशहरूले मेरो बाटो हेर्नेछन्‌। तेरा परमप्रभु परमेश्‍वरको निम्ति, अर्थात्‌ इस्राएलका पवित्र परमप्रभुको निम्ति, तेरा छोराहरूलाई तिनका सुन र चाँदीहरूसमेत टाढ़ा टाढ़ाबाट ल्याउन तर्शीशका जहाजहरू पहिला हुनेछन्‌। . . . परदेशीहरूले तेरा पर्खाल बनाउनेछन्‌, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्‌।” (यशैया ६०:८-१०) यहोवाको “प्रकाशमा” आउने पहिलो व्यक्‍तिहरू उहाँका “छोराहरू” अर्थात्‌ अभिषिक्‍त मसीहीहरू थिए। त्यसपछि “परदेशीहरू” अर्थात्‌ ठूलो भीड आयो। तिनीहरूले सुसमाचार प्रचार गर्ने कार्यमा अगुवाइ लिने अभिषिक्‍त भाइहरूको वफादारिता साथ अनुसरण गर्दै सेवा गर्छन्‌। तसर्थ, अभिषिक्‍त जनहरूको संख्या घट्‌दै गए तापनि पहिलाभन्दा व्यापक तवरमा यहोवाको नाउँ पृथ्वीभरि घोषणा भइरहेको छ।

११. (क) अझै के भइरहेको छ र १९९९ मा परिणाम कस्तो भयो? (ख) कुन कुन देशमा १९९९ मा बप्तिस्माको संख्या उल्लेखनीय छ? (पृष्ठ १७ देखि २० सम्मको चार्ट हेर्नुहोस्‌।)

११ फलस्वरूप, “ढुकुरझैं तिनीहरूका झ्यालमा उड़ने” लाखौं व्यक्‍तिहरूले मसीही मण्डलीमा शरण पाइरहेका छन्‌। हरेक वर्ष हजारौं थपिन्छन्‌ र अझै थुप्रै मानिसहरूको निम्ति बाटो खुल्ला छ। यशैया यसो भन्छन्‌: “तेरा शहरका मूल-ढोकाहरू पनि निरन्तर खुला रहनेछन्‌। मानिसहरूले तँकहाँ जाति जातिका धन-सम्पत्ति र तिनका राजाहरूलाई साथमा ल्याउन ती ढोकाहरू न दिउँसो न राती बन्द हुनेछन्‌।” (यशैया ६०:११) गत वर्ष ३,२३,४३९ ले यहोवाप्रति आफ्नो समर्पण प्रकट गर्न बप्तिस्मा लिए र उहाँले मूलढोका अझै बन्द गर्नुभएको छैन। “सबै जातिका धन-सम्पत्तिहरू” अर्थात्‌ ठूलो भीडका सदस्यहरू अझै ओइरिरहेका छन्‌। (हाग्गै २:७) अन्धकारमा रहन नचाहने कसैलाई पनि तिरस्कार गरिने छैन। (यूहन्‍ना १२:४६) त्यस्ता सबै मानिसहरूले परमेश्‍वरको ज्योतिको मूल्यांकन कहिल्यै नगुमाओस्‌!

सतावटको बेला निडर

१२. अन्धकार मन पराउनेहरूले कसरी ज्योति निभाउने कोसिस गरेका छन्‌?

१२ अन्धकार रुचाउने व्यक्‍तिहरूले यहोवाको ज्योतिलाई घृणा गर्छन्‌। (यूहन्‍ना ३:१९) कसै कसैले त त्यो ज्योति निभाउने कोसिससमेत गर्छन्‌। यो कुनै नौलो कुरा होइन। “प्रत्येक मानिसलाई प्रकाश दिने” येशूलाई समेत निन्दा गर्नुका साथै सताइयो र अन्तमा आफ्नै देशबासीहरूले उहाँको हत्या गरे। (यूहन्‍ना १:९) यस २० औं शताब्दीको दौडान पनि यहोवाका साक्षीहरूले विश्‍वासी भएर यहोवाको ज्योति चम्काउँदा गिल्ला खप्नु परेको छ, कैदमा परेका छन्‌, प्रतिबन्धित हुनुका साथै मारिएका समेत छन्‌। हालैका वर्षहरूमा परमेश्‍वरको ज्योति चम्काउनेहरूका विरोधीहरूले सञ्चार माध्यममा झूटा हल्लाहरू फैलाइरहेका छन्‌। यहोवाका साक्षीहरू खतरनाक छन्‌ र तिनीहरूको काममा रोक वा प्रतिबन्ध लगाउनुपर्छ भन्‍ने धारणा मानिसहरूले राखेको कोही कोही चाहन्छन्‌। के त्यस्ता विरोधीहरू सफल भएका छन्‌?

१३. विवेकी भएर सञ्चार माध्यममा हाम्रा कार्यसम्बन्धी तथ्यहरू पेश गर्दा नतिजा कस्तो भएको छ?

१३ अहँ, सफल भएका छैनन्‌। उपयुक्‍त भएको खण्डमा यहोवाका साक्षीहरूले सञ्चार माध्यम मार्फतै तथ्य कुरा बताएका छन्‌। फलस्वरूप, यहोवाको नाउँ अखबार, पत्रपत्रिका, रेडियो र टेलिभिजनमा व्यापक तवरमा प्रचारप्रसार भएको छ। यसले गर्दा प्रचारकार्यमा राम्रो नतिजा प्राप्त भएको छ। उदाहरणका लागि, डेनमार्कको राष्ट्रिय टिभीको एउटा कार्यक्रम “डेनमार्कका मानिसहरूको विश्‍वासमा किन कमी आउँदैछ” भन्‍ने विषयमा थियो। अन्य धर्मका मानिसहरूलगायत यहोवाका साक्षीहरूको पनि अन्तर्वार्ता लिइएको थियो। त्यो कार्यक्रम हेरेपछि एउटी महिलाले यस्तो टिप्पणी गरिन्‌: “परमेश्‍वरको आत्मा कोसित छ भन्‍ने कुरा स्पष्ट भयो।” तिनीसित अध्ययन थालियो।

१४. विरोधीहरू चाँडै कुन कुरा स्वीकार्न बाध्य हुनेछन्‌?

१४ यस संसारका थुप्रै मानिसहरूले विरोध गर्नेछन्‌ भनी यहोवाका साक्षीहरूलाई थाह छ। (यूहन्‍ना १७:१४) तैपनि तिनीहरू यशैयाको यो भविष्यवाणीद्वारा बल प्राप्त गर्छन्‌: “तँलाई सताउनेहरूका छोराहरू तँकहाँ शिर झुकाउँदै आउनेछन्‌। तँलाई घृणा गर्नेहरू सबै तेरा खुट्टामा निउरनेछन्‌। तिनीहरूले तँलाई परमप्रभुको शहर, इस्राएलका पवित्र परमप्रभुको सियोन भन्‍नेछन्‌।” (यशैया ६०:१४) तर चाँडै यी विरोधीहरूले तिनीहरू परमेश्‍वर विरुद्ध लडिरहेका रहेछन्‌ भनी थाह पाउनेछन्‌। त्यो युद्धमा को विजयी हुनेछ?

१५. यहोवाका साक्षीहरूले कसरी “जातिहरूका दूध” चुस्छन्‌ र तिनीहरूको शिक्षण तथा प्रचारकार्यमा यो कसरी झल्किएको छ?

१५ यहोवाले अझ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म तँलाई सदाको महिमा र धेरै पुस्तासम्मको निम्ति रमाहटको कारण तुल्याउनेछु। तैंले जाति जातिहरूका दूध र राजाहरूको थुन चुस्नेछस्‌। तब तैंले यो जान्‍नेछस्‌, कि म परमप्रभु तेरा मुक्‍तिदाता र तेरो उद्धार गर्ने, . . . शक्‍तिशाली परमप्रभु हुँ।” (यशैया ६०:१५, १६) हो, यहोवा आफ्ना जनहरूको उद्धारक हुनुहुन्छ। उहाँमा भर परेको खण्डमा तिनीहरू “सदाको” लागि रहिरहनेछन्‌। अनि साँचो उपासना बढाउन उपलब्ध स्रोतसाधन प्रयोग गरेर “जातिहरूका दूध” चुस्नेछन्‌। उदाहरणका लागि, कम्प्युटर तथा सञ्चार प्रविधिहरूको सही प्रयोग गरेर प्रहरीधरहरा १२१ र ब्यूँझनुहोस्‌! ६२ भाषामा एकै चोटि मुद्रण गर्न सम्भव भएको छ। नयाँ भाषाहरूमा नयाँ विश्‍व अनुवाद, अनुवाद गर्न विशेष प्रकारको कम्प्युटर सफ्टवेयर प्रोग्राम डिजाइन गरिएको छ र त्यस्ता अनुवादहरूले आनन्दित बनाउँछ। मसीही युनानी धर्मशास्त्रको क्रोएसियाली संस्करण १९९९ मा विमोचन हुँदा थुप्रैले हर्षको आँसु बगाए। एक वृद्ध भाइले यसो भने: “मैले यो बाइबल पर्खेको वर्षौं भइसक्यो। अब म शान्तिसित मर्न सक्छु!” पूरा वा आंशिक नयाँ विश्‍व अनुवाद-को वितरण संख्या ३४ भाषाहरूमा १० करोडभन्दा बढी पुगेको छ।

उच्च नैतिक स्तरहरू

१६, १७. (क) गाह्रो भए तापनि यहोवाको उच्च स्तर कायम गर्नु किन अत्यावश्‍यक छ? (ख) जवानहरू संसारबाट भ्रष्ट हुनदेखि जोगिन सक्छन्‌ भनी कुन अनुभवले देखाउँछ?

१६ येशू ख्रीष्टले यसो भन्‍नुभयो: “जसले तुच्छ काम गर्छ, त्यसले ज्योतिलाई घृणा गर्छ।” (यूहन्‍ना ३:२०) अर्कोतर्फ, ज्योतिमा रहनेहरूले यहोवाको उच्च स्तर मन पराउँछन्‌। यहोवाले यशैया मार्फत यसो भन्‍नुहुन्छ: “तेरा सबै प्रजा धर्ममा चल्ने हुनेछन्‌।” (यशैया ६०:२१क) यौन अनैतिकता, झूट, लोभ र घमण्ड व्याप्त भएको संसारमा धार्मिक स्तरहरू कायम राख्नु चुनौतीको कुरा हुनसक्छ। उदाहरणका लागि, कतिपय देशहरूको आर्थिक अवस्था राम्रो हुँदैछ र धनै मात्र कमाउने धुनमा फस्ने सम्भावना छ। तथापि, पावलले यस्तो चेताउनी दिए: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌।” (१ तिमोथी ६:९) व्यापारमा चुर्लुम्मै डुबेर साँच्चै महत्त्वपूर्ण कुराहरू जस्तै, मसीही संगति, पवित्र सेवा, नैतिक सिद्धान्त र पारिवारिक जिम्मेवारीहरूलाई त्याग्नु कत्ति दुःखलाग्दो कुरा हो!

१७ धार्मिक स्तरहरू कायम गर्नु विशेष गरी जवानहरूको निम्ति गाह्रो हुनसक्छ किनभने तिनीहरूका थुप्रै साथीहरू लागू पदार्थको दुर्व्यसन र अनैतिकतामा फसेका छन्‌। सुरिनामको कुरा हो, एउटी १४ वर्षीया केटीलाई स्कूलको एक जना सुन्दर केटाले यौन सम्पर्क राख्न आग्रह गरे। वैवाहिक बन्धनबाहेक अन्यत्र त्यस्तो सम्बन्ध राख्न बाइबलले निषेध गर्छ भन्‍ने कुरा बताउँदै त्यस केटीले इन्कार गरिन्‌। स्कूलका अन्य केटीहरूले तिनलाई जिस्काए र सबै जना त्यस केटासित यौन सम्पर्क राख्न मरिमेट्‌छन्‌ भनी तिनको मन परिवर्तन गराउन दबाब दिए। तैपनि तिनी दृढ रहिन्‌। केही हप्तापछि त्यो केटालाई एच आइ भि भएको पत्ता लाग्यो र ऊ सिकिस्त बिरामी भयो। “व्यभिचारबाट अलग रहनु” भन्‍ने यहोवाको आज्ञा पालन गरेकोमा उक्‍त केटी खुसी भइन्‌। (प्रेरित १५:२८, २९) सही कुराको लागि दृढ रहने युवाहरूमा यहोवाका साक्षीहरू गौरव गर्छन्‌। ती युवाहरू र तिनीहरूका आमाबाबुको विश्‍वास ‘महिमित’ हुनेछ जसले यहोवा परमेश्‍वरको नाउँको आदर गर्छ।—यशैया ६०:२१ख.

यहोवाले वृद्धि गराउनुहुन्छ

१८. (क) यहोवाले आफ्ना जनहरूका निम्ति कस्तो महान्‌ कार्य गर्नुभएको छ? (ख) अझै वृद्धि हुनेछ भन्‍ने के प्रमाण छ र ज्योतिमा रहिरहनेहरूले कस्तो महिमामय आशा गर्नसक्छन्‌?

१८ हो, यहोवाले आफ्ना जनहरूलाई आशिष्‌, डोऱ्‍याइ र बल दिनुभएर ज्योति दिनुहुन्छ। तिनीहरूले २० औं शताब्दीको दौडान यशैयाका शब्दहरू पूरा भएको देखेका छन्‌: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।” (यशैया ६०:२२) सन्‌ १९१९ मा हातैमा गन्‍न मिल्ने “थोरै चाहिं हजार” भन्दा बढी भएको छ। अनि त्यस्तो वृद्धि अझै भइरहनेछ! गत वर्ष १,४०,८८,७५१ येशूको मृत्युको स्मरणार्थ उत्सवमा उपस्थित भए। तिनीहरूमध्ये थुप्रै सक्रिय साक्षीहरू थिएनन्‌। तिनीहरू यस महत्त्वपूर्ण उत्सवमा उपस्थित भएकोमा हामी खुसी छौं र हामी तिनीहरूलाई ज्योतितर्फ बढिरहन प्रोत्साहित गर्छौं। यहोवाले अझै आफ्ना जनहरूलाई चम्किलो ज्योति दिनुहुन्छ। उहाँको संगठनको ढोका अझै खुल्ला छ। त्यसोभए हामी सबै यहोवाको ज्योतिमै रहिरहन कटिबद्ध होऔं। त्यसले गर्दा हामीले अहिले कति धेरै आशिष्‌ पाउँछौं! अनि भविष्यमा सबै सृष्टिले यहोवाको प्रशंसा गर्दा र उहाँको महिमामा रमाउन पाउँदा कस्तो आनन्द होला!—प्रकाश ५:१३, १४.

के तपाईं बुझाउन सक्नुहुन्छ?

• यस आखिरी दिनमा कसले यहोवाको महिमा झल्काइरहेका छन्‌?

• यहोवाका जनहरूको जोस सेलाएको छैन भनेर कुन कुराले प्रमाणित गर्छ?

• यहोवाका साक्षीहरू व्यस्त रहेका केही सुकर्मका कार्यहरू के हुन्‌?

• भीषण सतावटको बावजूद हामी कुन कुरामा निर्धक्क छौं?

[पृष्ठ १७-२०-मा भएको तालिका]

विश्‍वव्यापी यहोवाका साक्षीहरूको १९९९ सेवा वर्ष रिपोर्ट

(छापिएको प्रकाशन हेर्नुहोस्‌)

[पृष्ठ १५-मा भएका चित्रहरू]

मानिसहरू अझै यहोवाको संगठनमा ओइरिरहेका छन्‌

[पृष्ठ १६-मा भएको चित्र]

उहाँको ज्योति रुचाउने व्यक्‍तिहरूलाई यहोवाले ढोका खुल्ला राखिदिनुभएकोमा हामी हर्षित छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने