प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 सेप्टेम्बर pp. १४-१९
  • “म सबै जातिलाई हल्लाउनेछु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म सबै जातिलाई हल्लाउनेछु”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाग्गैको समयमा प्रोत्साहनदायी सन्देश
  • पृथ्वीलाई हल्लाइरहेको एउटा काम
  • पृथ्वीलाई हल्लाउने कामप्रति मानिसहरूको सकारात्मक प्रतिक्रिया
  • निर्णय गर्ने समय
  • अन्तिम चोटि हल्लाइनेछ
  • “म तिमीहरूसँगै छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • सबैले यहोवाको महिमा गरून्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • तिमीहरूका हातहरू बलिया होऊन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • हाग्गै र जकरियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 सेप्टेम्बर pp. १४-१९

अध्ययन लेख ३७

“म सबै जातिलाई हल्लाउनेछु”

“म सबै जातिलाई हल्लाउनेछु अनि सबै जातिका अनमोल थोकहरू मेरो भवनमा ओइरिनेछन्‌।”—हाग्गै २:७.

गीत २४ आऊ न यहोवाको पर्वतमा

परिचयa

१-२. हाम्रो समयमा हुने कस्तो प्रतीकात्मक हल्लाउने कामबारे भविष्यवाणी गरिएको थियो?

“एकछिनमै पसलहरू अनि पुराना भवनहरू तासको घरजस्तै भत्किन थाले।” “सबै जना आत्तिएका थिए। . . . धेरै मानिसले दुई मिनेटजति हल्लायो भने तर मलाईचाहिँ धेरै बेर नै हल्लाएजस्तो लाग्यो।” सन्‌ २०१५ मा नेपालमा आएको भूकम्पबाट बचेका केही मानिसले यस्तो टिप्पणी गरे। यस्तो डरलाग्दो घटना सायद तपाईँ कहिल्यै बिर्सन सक्नुहुन्‍न।

२ तर अहिले फरक किसिमको हल्लाउने काम भइरहेको छ, जुन कुनै एउटा सहर वा देशमा सीमित छैन। बरु यो काम दशकौँदेखि सारा संसारमा चलिरहेको छ। यस कामबारे भविष्यवक्‍ता हाग्गैले यस्तो लेखे: “सेनाहरूका यहोवा भन्‍नुहुन्छ, ‘केही बेरपछि म आकाश र पृथ्वीलाई अनि समुद्र र सुक्खा जमिनलाई फेरि एक पटक हल्लाउनेछु।’”—हाग्गै २:६.

३. प्रतीकात्मक हल्लाउने काम भूकम्पभन्दा कसरी फरक छ?

३ हाग्गैले बताएको हल्लाउने काम भूकम्पजस्तो होइन, जसले विनाश मात्र निम्त्याउँछ। बरु यस कामले राम्रो नतिजा पनि ल्याउँछ। यहोवा आफैले हामीलाई यसो भन्‍नुभएको छ: “म सबै जातिलाई हल्लाउनेछु अनि सबै जातिका अनमोल थोकहरू मेरो भवनमा ओइरिनेछन्‌ अनि म मेरो भवनलाई महिमाले भर्नेछु।” (हाग्गै २:७) हाग्गैको समयमा बाँचेका मानिसहरूको लागि यस भविष्यवाणीले कस्तो अर्थ राख्थ्यो? अनि यसले हाम्रो लागि कस्तो अर्थ राख्छ? अब हामी यी प्रश्‍नहरूको जवाफ छलफल गर्नेछौँ अनि सबै जातिलाई हल्लाउने काममा हामी कसरी भाग लिन सक्छौँ भनेर पनि सिक्नेछौँ।

हाग्गैको समयमा प्रोत्साहनदायी सन्देश

४. यहोवाले भविष्यवक्‍ता हाग्गैलाई आफ्ना मानिसहरूकहाँ किन पठाउनुभयो?

४ यहोवा परमेश्‍वरले भविष्यवक्‍ता हाग्गैलाई एउटा महत्त्वपूर्ण काम दिनुभयो। त्यतिबेलाको अवस्था विचार गरौँ। ईसापूर्व ५३७ मा बेबिलोनको निर्वासनबाट यरुसलेम फर्केका यहुदीहरूमध्ये सायद हाग्गै पनि थिए। यी वफादार सेवकहरूले यरुसलेम पुगेको केही समयपछि नै यहोवाको भवन अर्थात्‌ मन्दिरको जग बसाले। (एज्रा ३:८, १०) तर एउटा निराशाजनक अवस्थाको सृजना भयो। विरोधको कारण तिनीहरू निरुत्साहित भए अनि निर्माणकार्य बन्द गरे। (एज्रा ४:४; हाग्गै १:१, २) त्यसैले ईसापूर्व ५२० मा यहोवाले हाग्गैलाई ती यहुदीहरूलाई फेरि जोसिलो हुन मदत गर्ने र मन्दिरको निर्माणकार्य सिद्ध्याउन उत्प्रेरित गर्ने काम दिनुभयो।b—एज्रा ६:१४, १५.

५. परमेश्‍वरका मानिसहरूको लागि हाग्गैको सन्देश किन आश्‍वासनदायी थियो?

५ हाग्गैको सन्देशको उद्देश्‍य यहुदीहरूको यहोवामाथिको विश्‍वास बलियो बनाउनु थियो। तिनले साहसी हुँदै निराश भएका यहुदीहरूलाई यसो भने: “‘देशका मानिसहरू हो, तिमीहरू सबै हिम्मत गर,’ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, ‘अनि काममा लाग। म तिमीहरूको साथमा छु,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।” (हाग्गै २:४) “सेनाहरूका यहोवा” भन्‍ने अभिव्यक्‍तिले पक्कै पनि तिनीहरूलाई आश्‍वासन दियो। यहोवासित स्वर्गदूतहरूको एउटा विशाल सेना भएकोले यहुदीहरूले सफल हुन उहाँमाथि भरोसा राख्नुपर्थ्यो।

६. हाग्गैले भविष्यवाणी गरेको हल्लाउने कामको नतिजा कस्तो हुने थियो?

६ सबै जातिलाई हल्लाउनेछु भन्‍ने सन्देश सुनाउन यहोवाले हाग्गैलाई प्रेरणा दिनुभयो। निराश भएर मन्दिर निर्माण गर्न छोडेका यहुदीहरूलाई यहोवाले थुप्रै राष्ट्र मिलेर बनेको विश्‍वशक्‍ति फारसलाई हल्लाउनुहुनेछ भनेर यस सन्देशले आश्‍वासन दियो। यसको नतिजा के हुने थियो? पहिलो, परमेश्‍वरका मानिसहरूले मन्दिरको निर्माणकार्य सिद्ध्याउने थिए। त्यसपछि गैर-यहुदीहरूले समेत पुनर्निर्माण गरिएको त्यस मन्दिरमा यहुदीहरूसँगै मिलेर यहोवाको उपासना गर्ने थिए। त्यस सन्देशबाट परमेश्‍वरका मानिसहरूले पक्कै प्रोत्साहन पाएको हुनुपर्छ।—जक. ८:९.

पृथ्वीलाई हल्लाइरहेको एउटा काम

चित्रहरूको सँगालो: १. हाग्गैले निराश भएर मन्दिर निर्माण गर्न छोडेका यहुदीहरूलाई यहोवाको सन्देश सुनाउँदै छन्‌। २. भाइबहिनीहरू ब्यानर र प्लेकार्ड बोकेर भाइ जोसेफ रदरफोर्डको भाषणको विज्ञापन गर्दै छन्‌। केही ब्यानरमा यस्तो लेखिएको छ: “परमेश्‍वर र राजा ख्रिष्टको सेवा गर।” ३. एक दम्पती पत्र लेखेर र टेलिफोनमार्फत साक्षी दिँदै छन्‌। उनीहरू साक्षीकार्यमा परमेश्‍वरको राज्यबारे बताइएको सङ्‌ख्या २, २०२० अङ्‌कको “प्रहरीधरहरा” चलाउँदै छन्‌। ४. येसु र उहाँको स्वर्गीय सेना परमेश्‍वरका शत्रुहरूलाई नाश गर्न स्वर्गबाट ओर्लँदै हुनुहुन्छ।

अहिले विश्‍वव्यापी रूपमा भइरहेको हल्लाउने काममा के तपाईँले पूरापूर भाग लिइरहनुभएको छ? (अनुच्छेद ७-८ हेर्नुहोस्‌)d

७. अहिले हामी पृथ्वीलाई हल्लाइरहेको कुन काममा सघाइरहेका छौँ? व्याख्या गर्नुहोस्‌।

७ हाग्गैको भविष्यवाणीले हाम्रो लागि कस्तो अर्थ राख्छ? यहोवाले फेरि एक चोटि सबै जातिलाई हल्लाउँदै हुनुहुन्छ अनि यस काममा हामीले सघाइरहेका छौँ। यो कुरा विचार गर्नुहोस्‌: यहोवाले १९१४ मा येसु ख्रिष्टलाई उहाँको स्वर्गीय राज्यको राजा अभिषेक गर्नुभयो। (भज. २:६) त्यस राज्यको स्थापना हुनु संसारका शासकहरूको लागि नराम्रो समाचार थियो। किनकि त्यस राज्यको स्थापना भएपछि “राष्ट्रहरूलाई दिइएको समय”-को अर्थात्‌ यहोवाको प्रतिनिधित्व गर्ने कुनै शासक नभएको समयावधिको अन्त भयो। (लुका २१:२४) यसै कारणले गर्दा यहोवाका मानिसहरूले विशेषगरि १९१९ देखि मानिसजातिको एक मात्र आशा परमेश्‍वरको राज्य हो भनेर सबैलाई बताइरहेका छन्‌। ‘राज्यको सुसमाचार’ सुनाउने यस कामले पूरै संसारलाई हल्लाएको छ।—मत्ति २४:१४.

८. भजन २:१-३ अनुसार यस सन्देशप्रति धेरैजसो राष्ट्रले कस्तो प्रतिक्रिया देखाएका छन्‌?

८ यस सन्देशप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌? धेरैजसोले नकारात्मक प्रतिक्रिया देखाएका छन्‌। (भजन २:१-३ पढ्‌नुहोस्‌।) हाम्रो सन्देश सुनेर राष्ट्रहरू चिढिएका छन्‌। तिनीहरू यहोवाले अभिषेक गर्नुभएको राजालाई स्विकार्दैनन्‌। हामीले सुनाउने राज्यको सन्देशलाई तिनीहरू “सुसमाचार” ठान्दैनन्‌। केही सरकारले त हाम्रो साक्षीकार्यमा प्रतिबन्धसमेत लगाएका छन्‌। यी राष्ट्रहरूका धेरैजसो शासकले परमेश्‍वरको सेवा गरेको दाबी गरे तापनि तिनीहरू आफ्नो शक्‍ति र अख्तियार गुमाउन चाहँदैनन्‌। येसुको समयका शासकहरूले जस्तै आज पनि यी शासकहरूले यहोवाका वफादार सेवकहरूलाई आक्रमण गरेर उहाँको अभिषिक्‍त जनको विरोध गर्छन्‌।—प्रेषि. ४:२५-२८.

९. राष्ट्रहरूले नकारात्मक प्रतिक्रिया देखाए पनि यहोवाले के गर्नुभएको छ?

९ राष्ट्रहरूले नकारात्मक प्रतिक्रिया देखाए पनि यहोवाले के गर्नुभएको छ? भजन २:१०-१२ ले यस्तो जवाफ दिन्छ: “त्यसैले हे राजाहरू हो, बुद्धिमान्‌ होओ; पृथ्वीका न्यायाधीशहरू हो, होसियार होओ। यहोवाको डर मान्दै उहाँको सेवा गर, खुसी मान्दै उहाँको श्रद्धा गर। छोराको आदर गर, नत्रता परमेश्‍वर रिसाउनुहुनेछ र तिमीहरू नाश हुनेछौ किनकि उहाँको रिस आगोझैँ दन्किनेछ। उहाँमा शरण लिनेजति सबै रमाउनेछन्‌।” यहोवाले दयालु हुँदै ती विरोधीहरूलाई सही निर्णय गर्न केही समय दिनुभएको छ। तिनीहरूले अझै पनि आफ्नो मन परिवर्तन गरेर यहोवाको राज्यलाई स्विकार्न सक्छन्‌। तर समय धेरै बाँकी छैन। हामी यस युगको “अन्तको दिनमा” बाँचिरहेका छौँ। (२ तिमो. ३:१; यसै. ६१:२) मानिसहरूले सत्य सिकेर यहोवाको सेवा गर्ने समय अहिल्यै हो।

पृथ्वीलाई हल्लाउने कामप्रति मानिसहरूको सकारात्मक प्रतिक्रिया

१०. हाग्गै २:७-९ मा हल्लाउने कामप्रति मानिसहरूले देखाउने सकारात्मक प्रतिक्रियाबारे के बताइएको छ?

१० हाग्गैले भविष्यवाणी गरेको प्रतीकात्मक हल्लाउने कामले केही मानिसमा सकारात्मक प्रभाव पारेको छ। यस कामको नतिजास्वरूप “सबै जातिका अनमोल थोकहरू [असल हृदय भएका मानिसहरू]” यहोवाको उपासना गर्न आउनेछन्‌ भनेर तिनले बताए।c (हाग्गै २:७-९ पढ्‌नुहोस्‌।) यसैया र मिकाले पनि “आखिरी समयमा” यस्तो हुनेछ भनेर भविष्यवाणी गरेका थिए।—यसै. २:२-४; मिका ४:१, २.

११. पहिलो चोटि राज्यको सन्देश सुन्दा एक जना भाइले कस्तो प्रतिक्रिया देखाए?

११ पृथ्वीलाई हल्लाइरहेको यस सन्देशले अहिले विश्‍व मुख्यालयमा सेवा गरिरहेका केन नाम गरेका भाइमा कस्तो प्रभाव पाऱ्‍यो, विचार गरौँ। लगभग ४० वर्षअघि पहिलो चोटि राज्यको सन्देश सुनेको त्यो दिन तिनलाई अझै पनि राम्रोसँग याद छ। केन भन्छन्‌: “पहिलो चोटि परमेश्‍वरको वचनको सत्य सुन्दा अनि हामी यस युगको आखिरी समयमा बाँचिरहेका छौँ भनेर थाह पाउँदा मलाई धेरै खुसी लागेको थियो। परमेश्‍वरको अनुमोदन अनि अनन्त जीवन पाउन यस अस्थिर संसारबाट अलग रहनुपर्छ अनि परमेश्‍वरको पक्षमा दृढ भई खडा हुनुपर्छ भनेर मैले बुझेँ। मैले यहोवालाई प्रार्थना गरेँ अनि तुरुन्तै कदम चालेँ। म यस संसारबाट अलग भएँ र कसैले हल्लाउन नसक्ने परमेश्‍वरको राज्यमा शरण लिएँ।”

१२. यस अन्तको दिनमा यहोवाको आध्यात्मिक मन्दिर कसरी महिमाले भरिएको छ?

१२ यहोवाले आफ्ना मानिसहरूलाई आशिष्‌ दिइरहनुभएको छ भन्‍ने कुरा स्पष्ट छ। यस अन्तको दिनमा उहाँका उपासकहरूको सङ्‌ख्यामा निकै वृद्धि भइरहेको छ। सन्‌ १९१४ मा यहोवाका उपासकहरूको सङ्‌ख्या केही हजार मात्र थियो तर अहिले त्यो सङ्‌ख्या बढेर ८० लाखभन्दा धेरै पुगेको छ। अनि अरू लाखौँ मानिस हरेक वर्ष स्मरणार्थ उत्सवमा हामीसँगै भेला हुन्छन्‌। यसरी यहोवाको आध्यात्मिक मन्दिरको पार्थिव चोक, जसले शुद्ध उपासनाको लागि परमेश्‍वरले मिलाउनुभएको प्रबन्धलाई बुझाउँछ, त्यो “सबै जातिका अनमोल थोकहरू”-ले भरिएको छ। तिनीहरूले नयाँ व्यक्‍तित्व धारण गर्न आफ्नो जीवनमा गरेका परिवर्तनहरूले पनि यहोवाको नामको महिमा गरेको छ।—एफि. ४:२२-२४.

१३. यहोवाका उपासकहरूको सङ्‌ख्यामा भएको वृद्धिले गर्दा अरू कस्ता भविष्यवाणी पूरा भएका छन्‌? (आवरण तस्बिर हेर्नुहोस्‌।)

१३ यस्तो वृद्धिले गर्दा अरू भविष्यवाणी पनि पूरा भएका छन्‌, जस्तै: यसैया अध्याय ६० मा गरिएको भविष्यवाणी। यस अध्यायको पद २२ यसो भन्छ: “थोरैचाहिँ हजार हुनेछ अनि सानोचाहिँ शक्‍तिशाली जाति हुनेछ। म यहोवाले नै ठीक समयमा त्यसको वृद्धि गर्नेछु।” अझ धेरै मानिसले यहोवाको उपासना गर्न थालेकोले राम्रा कुराहरू भएका छन्‌। यी “अनमोल थोकहरू”-ले ‘राज्यको सुसमाचार’ सुनाउने इच्छुक मनोभावका साथै आफूसँग विभिन्‍न सीप र क्षमता पनि ल्याएका छन्‌। यहोवाका मानिसहरूले यी सीप र क्षमता उहाँको सेवामा चलाउन सकेका छन्‌, जसलाई यसैयाले “जातिजातिको दूध” भनेका छन्‌। (यसै. ६०:५, १६) यी अनमोल पुरुष तथा स्त्रीहरूको मदतले गर्दा २४० देशमा साक्षी दिने काम भइरहेको छ र १,००० भन्दा धेरै भाषामा साहित्यहरू प्रकाशित भइरहेका छन्‌।

निर्णय गर्ने समय

तस्बिरहरूको सँगालो: विभिन्‍न देशका भाइबहिनी आनन्दित हुँदै साक्षीकार्यमा भाग लिँदै छन्‌। १. एक बहिनी पत्र लेख्दै। २. एक दम्पती टेलिफोन साक्षीकार्यमा भाग लिँदै। ३. एक भाइ ल्यापटपमा टाइप गर्दै। ४. एउटी आमा आफ्नी छोरीलाई पत्र लेख्न मदत गर्दै।

विश्‍वभरका परमेश्‍वरका जनहरू अरूलाई उहाँको राज्यबारे साक्षी दिने काममा आनन्दित भई भाग लिइरहेका छन्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१४. अहिले मानिसहरूले कस्तो निर्णय गर्नुपर्छ?

१४ यस अन्तको समयमा सबै जातिलाई हल्लाउने कामले मानिसहरूलाई निर्णय गर्न बाध्य बनाएको छ। परमेश्‍वरको राज्यलाई समर्थन गर्ने कि सरकारहरूमाथि भरोसा राख्ने, यो प्रत्येकले गर्नुपर्ने निर्णय हो। यहोवाका साक्षीहरूले आफू बस्ने देशको नियमकानुन पालन गरे तापनि तिनीहरू यस संसारको राजनीतिमा पूर्णरूपमा तटस्थ रहन्छन्‌। (रोमी १३:१-७) तिनीहरूलाई परमेश्‍वरको राज्यले मात्र मानिसजातिको समस्या समाधान गर्न सक्छ भनेर थाह छ। त्यो राज्य यस संसारको भाग होइन।—युह. १८:३६, ३७.

१५. प्रकाशको किताबले वफादारीको जाँचबारे के बताउँछ?

१५ अन्तको दिनमा परमेश्‍वरका मानिसहरूको वफादारीको जाँच हुनेछ भनेर प्रकाशको किताबमा बताइएको छ। त्यस जाँचको दौडान हामीमाथि एकपछि अर्को विरोध र खेदो आइपर्नेछ। यस संसारको राजनैतिक प्रणालीले हाम्रो उपासनाको माग गर्नेछ अनि त्यसलाई समर्थन गर्न इन्कार गर्नेहरूलाई खेदो गर्नेछ। (प्रका. १३:१२, १५) त्यसले “के साना, के ठूला, के धनी, के गरिब, के स्वतन्त्र, के दास, सबै मानिसलाई आफ्नो दाहिने हातमा वा निधारमा चिन्ह लगाउन बाध्य” पार्नेछ। (प्रका. १३:१६) पुरातन समयमा दासहरू कसका हुन्‌ भनेर चिनाउन उनीहरूलाई चिन्ह लगाइएको हुन्थ्यो। त्यसैगरि हाम्रो समयमा पनि सबैले आफ्नो हात वा निधारमा प्रतीकात्मक चिन्ह लगाएको आशा गरिन्छ। तिनीहरूको सोचाइ र व्यवहारले तिनीहरू राजनैतिक प्रणालीलाई समर्थन गर्छन्‌ भनेर देखाउनेछ।

१६. हामी अहिल्यै यहोवाप्रति किन पूर्णतया वफादार हुनुपर्छ?

१६ के हामी त्यो प्रतीकात्मक चिन्ह लगाउन राजी भएर राजनैतिक सरकारहरूलाई समर्थन गर्नेछौँ? त्यो चिन्ह लगाउन इन्कार गर्नेहरूमाथि कठिनाइ र खतरा आइपर्नेछ। प्रकाशको किताबमा अझै यस्तो लेखिएको छ: “त्यो चिन्ह . . . हुनेबाहेक अरू कसैले किनबेच गर्न नपाओस्‌।” (प्रका. १३:१७) तर प्रकाश १४:९, १० मा बताइएको चिन्ह लगाउनेहरूलाई परमेश्‍वरले के गर्नुहुनेछ भनेर उहाँका मानिसहरूलाई थाह छ। त्यो चिन्ह लगाउनुको साटो तिनीहरूले एक अर्थमा आफ्नो हातमा “म यहोवाको हुँ” भनेर लेख्नेछन्‌। (यसै. ४४:५) हामी यहोवाप्रति पूर्णतया वफादार छौँ कि छैनौँ भनेर पक्का गर्ने समय अहिल्यै हो। हामी उहाँप्रति वफादार छौँ भने उहाँले हामीलाई खुसीसाथ आफ्नो जनको रूपमा स्विकार्नुहुनेछ।

अन्तिम चोटि हल्लाइनेछ

१७. यहोवाको धीरजबारे हामीले कुन कुरा बिर्सनु हुँदैन?

१७ यस अन्तको दिनमा यहोवाले ठूलो धीरज देखाउनुभएको छ। उहाँ कोही पनि नाश नहोस्‌ भन्‍ने चाहनुहुन्छ। (२ पत्रु. ३:९) उहाँले सबैलाई पश्‍चात्ताप गर्ने र सही निर्णय गर्ने मौका दिनुभएको छ। तर उहाँको धीरजको सीमा छ। परमेश्‍वरको राज्यलाई समर्थन गर्न इन्कार गर्नेहरूले मोसाको समयमा फारोले भोग्नुपरेको जस्तै नतिजा भोग्नुपर्नेछ। यहोवाले फारोलाई यसो भन्‍नुभयो: “मैले चाहेको भए भयानक रोग ल्याएर तिमी र तिम्रा मानिसहरूलाई यस पृथ्वीबाट नामेट पार्न सक्थेँ। तर मेरो शक्‍ति प्रकट होस्‌ र मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।” (प्रस्थ. ९:१५, १६) अन्ततः सबै जातिले यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर जान्‍नेछन्‌। (इज. ३८:२३) यो कसरी हुनेछ?

१८. (क) हाग्गै २:६, २०-२२ मा अर्को कुन किसिमको हल्लाउने कामबारे चर्चा गरिएको छ? (ख) हाग्गैले लेखेका कुराहरू भविष्यमा पूरा हुनेछन्‌ भनेर हामी कसरी थाह पाउन सक्छौँ?

१८ हाग्गैको मृत्यु भएको सयौँ वर्षपछि यहोवाले प्रेषित पावललाई हाग्गै २:६, २०-२२ मा लेखिएका कुराहरू भविष्यमा पूरा हुनेछन्‌ भनेर लेख्न प्रेरणा दिनुभयो। (पढ्‌नुहोस्‌।) तिनले यस्तो लेखे: “उहाँले अहिले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ: ‘फेरि एकपटक म पृथ्वीलाई मात्र होइन तर आकाशलाई पनि हल्लाउनेछु।’ ‘फेरि एकपटक’ भन्‍ने अभिव्यक्‍तिले यो देखाउँछ कि हल्लाइएका कुराहरू अर्थात्‌ बनाइएका कुराहरू हटाइनेछन्‌ ताकि नहल्लाइएका कुराहरू सधैँका लागि रहिरहून्‌।” (हिब्रू १२:२६, २७) यो हल्लाउने काम हाग्गै २:७ मा बताइएको हल्लाउने कामभन्दा फरक छ। यो हल्लाउने कामले गर्दा यहोवाको शासन गर्ने अधिकारलाई नस्विकार्ने फारोजस्ता मानिसहरू सदाको लागि नाश हुनेछन्‌।

१९. केलाई हल्लाउन सकिनेछैन र हामी किन त्यसो भन्‍न सक्छौँ?

१९ केलाई हल्लाउन वा हटाउन सकिनेछैन? पावलले अझै यस्तो लेखे: “हामीले हल्लाउन नसकिने राज्य पाउने भएको हुँदा परमेश्‍वरको असीम अनुग्रह हासिल गरिरहौँ, जसद्वारा हामी परमेश्‍वरप्रतिको डर र श्रद्धासहित उहाँलाई ग्रहणयोग्य पवित्र सेवा चढाइरहन सक्नेछौँ।” (हिब्रू १२:२८) यो अन्तिम चोटि हल्लाउने काम सिद्धिएपछि परमेश्‍वरको राज्य मात्रै अस्तित्वमा रहनेछ र यो सदासर्वदा स्थिर रहनेछ।—भज. ११०:५, ६; दानि. २:४४.

२०. मानिसहरूले कस्तो छनौट गर्नुपर्छ र हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ?

२० अहिले समय खेर फाल्ने बेला होइन। यस संसारले बढावा दिने जीवनशैली रोजेर विनाश हुने कि यहोवा परमेश्‍वरको सेवा गर्न आवश्‍यक छाँटकाँट गरेर अनन्त जीवन पाउने, त्यो प्रत्येकले आफै छनौट गर्नुपर्छ। (हिब्रू १२:२५) हामी मानिसहरूलाई साक्षीकार्यद्वारा यो महत्त्वपूर्ण निर्णय गर्न मदत दिन सक्छौँ। हामीले परमेश्‍वरको नजरमा अनमोल अरू धेरै मानिसलाई उहाँको राज्यलाई समर्थन गर्न मदत दिन सकौँ। अनि हाम्रा प्रभु येसुको यी शब्दहरू सधैँ मनमा राखौँ: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४.

सबै जातिलाई हल्लाउने कामबारे यी पदहरूबाट तपाईँले के सिक्नुभयो?

  • भजन २:१-३

  • हाग्गै २:७-९

  • हाग्गै २:२०-२२

गीत ४० भन तिमी कसको?

a यस लेखले हाग्गै २:७ बारे हाम्रो बुझाइमा भएको छाँटकाँटबारे बताउँछ। यस लेखबाट सबै जातिलाई हल्लाउने रोमाञ्चकारी काममा हामी कसरी भाग लिन सक्छौँ भनेर थाह पाउनेछौँ। यस कामप्रति मानिसहरूले सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया देखाउनेछन्‌ भनेर पनि बुझ्नेछौँ।

b हाग्गैले आफूलाई दिइएको काम पूरा गरे भन्‍न सक्छौँ किनभने ईसापूर्व ५१५ सम्ममा मन्दिरको निर्माणकार्य सिद्धिसकेको थियो।

c यो हाम्रो बुझाइमा गरिएको छाँटकाँट हो। सबै जातिलाई हल्लाउने कामले गर्दा असल हृदय भएका मानिसहरूले यहोवाको सेवा गर्न थालेका होइनन्‌ भनेर हामी भन्‍ने गर्थ्यौँ। मे १५, २००६ को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) प्रकाशित “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

d चित्रको व्याख्या: हाग्गैले परमेश्‍वरका मानिसहरूलाई मन्दिर पुनर्निर्माण गर्ने काममा जोसिलो हुन प्रोत्साहन दिए; अहिले परमेश्‍वरका मानिसहरूले जोसिलो भई उहाँको सन्देश सुनाउँदै छन्‌। एक दम्पती अन्तिम चोटि हल्लाउने कामबारे विश्‍वव्यापी रूपमा भइरहेको साक्षीकार्यमा भाग लिइरहेका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने