हिंसाको अन्त कसले गर्नेछ?
सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानले ५४ औं वार्षिक साधारण सभामा भाग लिन आएका प्रतिनिधिहरूको स्वागत गरे। द टोरन्टो स्टार-को रिपोर्टअनुसार तिनले विश्वका नेताहरू सामु यस्तो चुनौतीको विषय उठाए: “यहाँ असंख्य मानिसहरू छन्, जसलाई अन्तरराष्ट्रिय समुदायले दिने मौखिक सहानुभूति मात्र पर्याप्त छैन। तिनीहरूलाई हिंसाको अन्त गर्न र सम्पन्नतातर्फ लैजाने बाटोमा पुग्न मदत गर्न वास्तविक अनि भरपर्दो आधार आवश्यक परेको छ।”
के संयुक्त राष्ट्र तथा यसका सदस्य राष्ट्रहरूले हिंसाको अन्त गर्न आवश्यक “वास्तविक अनि भरपर्दो आधार तयार” पार्न सक्लान् त? स्टार-को सोही रिपोर्टमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बिल क्लिन्टनले यसो भने: “यस शताब्दीको सबै रक्तपात देखेपछि ‘अब फेरि यस्तो हुनेछैन,’ त सजिलै भन्नसक्छौं तर त्यस्तो हुन नदिनु भने एकदमै गाह्रो छ।” तिनी अझ भन्छन्: “ज्यादै ठूलठूला प्रतिज्ञाहरू गर्नु, बिलकुलै बेवास्ता गर्नु जत्तिकै क्रूर हुनसक्छ।”
झन्डै २,५०० वर्षअघि यर्मिया अगमवक्ताले मानिसहरूको प्रयासबारे यसो भने: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।” (यर्मिया १०:२३) उसोभए, हिंसाको अन्त हुनेछ भन्ने के आशा छ?
यशैया ६०:१८ पढ्दा परमेश्वरले यस्तो ढाडस दिनुभएको पाउँछौं: “तेरो देशमा उपद्रव सुनिनेछैन। तेरा सीमानामा उजाड़ र नष्टकारी कुरा सुनिनेछैन।” परमेश्वरले आफ्ना निर्वासित जनहरूलाई तिनीहरूको आफ्नो भूमिमा फर्काएर ल्याउनुहुँदा त्यस भविष्यवाणीको प्रथम पूर्ति भयो। यसको महान् पूर्ति पनि हुनेछ र त्यसको अनुभव हामीले पनि गर्नसक्छौं। यहोवा परमेश्वरले “ठूलठूला प्रतिज्ञाहरू” गर्नुभएको होइन। सर्वोच्च अनि मानिसजातिको सृष्टिकर्ता हुनुभएकोले उहाँले मात्र “हिंसाको चक्र” हटाउन सक्नुहुन्छ। परमेश्वरको राज्यमा शान्ति छाउनेछ। हिंसा सदा-सदाको लागि नामेट हुनेछ!—दानियल २:४४.