प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ९/१५ pp. ८-१२
  • हजार वर्ष र त्यसपछि पनि शान्ति!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हजार वर्ष र त्यसपछि पनि शान्ति!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘तिनीहरूले घर बनाउनेछन्‌ र दाखबारी लगाउनेछन्‌’
  • “ब्वाँसो र थुमा एउटै ठाउँमा खानेछ”
  • “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ”
  • ‘चिहानमा हुनेहरू सबै बाहिर निस्किआउनेछन्‌’
  • परमेश्‍वर “सबै थोकका सर्वेसर्वा” हुनुहुनेछ
  • ‘कहिल्यै नाश नहुने’ राज्य
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • परमेश्‍वरको राज्यले के गर्नेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
    “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
  • परमेश्‍वरले स्थापना गर्नुहुने आश्‍चर्यपूर्ण नयाँ संसार
    के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ९/१५ pp. ८-१२

हजार वर्ष र त्यसपछि पनि शान्ति!

“परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌।” —१ कोरि. १५:२८.

के तपाईं बुझाउन सक्नुहुन्छ?

यी पदको पूर्तिले तपाईंको लागि कस्तो अर्थ राख्छ?

  • मीका ४:४

  • यशैया ११:६-९

  • यूहन्‍ना ५:२८, २९

१. “ठूलो भीड”-सामु कस्तो आशा छ?

निष्पक्ष र दयालु शासकले चलाउने बलियो सरकारले आफ्ना प्रजाको लागि एक हजार वर्षभित्रमा गर्न सक्ने राम्रा कुराहरूबारे कल्पना गर्नुहोस्‌ त! भविष्यमा हुने “महासङ्‌कष्ट”-ले वर्तमान दुष्ट युगलाई पूर्णतया विनाश गर्नेछ। त्यो महासङ्‌कष्ट पार गर्ने “ठूलो भीड”-ले रोमाञ्चकारी घटनाहरू अनुभव गर्नेछ।—प्रका. ७:९, १४.

२. विगत ६,००० वर्षमा मानिसले कस्तो अनुभव गरेको छ?

२ मानिसले शासन गरेको ६,००० वर्ष भइसक्यो। यस दौडान मानिसले निकै दुःख र पीडा भोगेको छ। धेरै पहिला बाइबलले यसो भनेको थियो: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।” (उप. ८:९) आज हामी के देख्छौं? ठाउँ-ठाउँमा भइरहेको युद्ध र विद्रोहको अलावा गरिबी, रोग-बिमार, वातावरण विनाश र मौसम परिवर्तनजस्ता समस्याहरू थपिएका छन्‌। हामीले आफ्नो जीवनशैलीमा आमूल परिवर्तन गरेर पृथ्वीको विनाश रोकेनौं भने अवस्था भयावह हुनेछ भनेर सरकारी अधिकारीहरूले चेतावनी दिइरहेका छन्‌।

३. हजार वर्षीय शासनमा के हुनेछ?

३ मानिस र पृथ्वीले अहिलेसम्म अनेकन्‌ क्षति बेहोरेका छन्‌। तर क्षति हुनुअगाडिकै अवस्थामा पुऱ्‍याउन मसीही राजा येशू ख्रीष्ट र उहाँका १,४४,००० सहशासकले परमेश्‍वरको राज्यमार्फत बिस्तारै एकपछि अर्को कदम चाल्नेछन्‌। यहोवा परमेश्‍वरले गर्नुभएको यो हृदयस्पर्शी प्रतिज्ञा हजार वर्षीय शासनमा पूरा हुनेछ: “म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।” (यशै. ६५:१७) भविष्यमा कस्ता रोमाञ्चकारी घटनाहरू हुनेछन्‌? “नदेखिने” ती रोमाञ्चकारी कुराहरू के हुन्‌ भनेर बुझ्न हामीलाई बाइबल भविष्यवाणीले मदत गर्छ।—२ कोरि. ४:१८.

‘तिनीहरूले घर बनाउनेछन्‌ र दाखबारी लगाउनेछन्‌’

४. अहिले आवासको समस्याले कस्तो विकराल रूप लिएको छ?

४ आफ्नो एउटा घर होस्‌ अनि त्यसमा सपरिवार कुनै डर चिन्ताविना बस्न सकियोस्‌ भन्‍ने इच्छा कसको हुँदैन र? तर अहिलेको संसारमा आवासको समस्याले विकराल रूप लिएको छ। ठूलठूला सहरमा मानिसहरू खचाखच भरिएका छन्‌। कति भने झुपडीमा बस्छन्‌ वा सुकुम्वासीको रूपमा जीवन बिताउँछन्‌। आफ्नो एउटा घर होस्‌ भन्‍ने सपना ‘आकाशको फल आँखा तरी मर्‌’ भनेझैं भएको छ।

५, ६. (क) यशैया ६५:२१ र मीका ४:४ कसरी पूरा हुनेछ? (ख) हामी कसरी त्यो आशिष्‌ पाउन सक्छौं?

५ परमेश्‍वरको राज्यले यस पृथ्वीमा शासन गर्दा सबैको आ-आफ्नै घर हुनेछ। यसबारे यशैयाले यस्तो भविष्यवाणी गरे: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌।” (यशै. ६५:२१) तर तिनीहरूले अरू कुराको पनि आशा गर्न सक्छन्‌। आज कसै-कसैको आफ्नै घर छ। कोही-कोही ठूलठूला महल वा हबेलीमा बस्छन्‌। तर आर्थिक उथलपुथलले गर्दा पछि घर सँभाल्न गाह्रो हुने हो कि अथवा चोरहरूले घर फोड्‌ने हुन्‌ कि भन्‍ने चिन्ता गर्छन्‌। तर परमेश्‍वरको राज्यले शासन गर्दा त्यस्तो कुनै चिन्ता हुनेछैन। भविष्यवक्‍ता मीकाले यस्तो लेखे: “हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:४.

६ त्यो सुन्दर आशालाई मनमा राख्दै हामीले के गर्नुपर्छ? हुन त हामी सबैलाई बस्ने ठाउँ चाहिन्छ। तर ‘सपनाको महल’ अहिल्यै हासिल गर्नको लागि ऋणमा डुब्नु हुँदैन। बरु यहोवाको प्रतिज्ञामा पूरा भरोसा राखेको कुरा आफ्नो जीवनशैलीद्वारा देखाउनुपर्छ। येशूले आफ्नो विषयमा के भन्‍नुभयो, सम्झनुहोस्‌ त: “फ्याउरोहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्‌गीको गुँड, तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।” (लूका ९:५८) येशूले अरू कसैसित नभएको भव्य घर बनाउन वा हासिल गर्न सक्नुहुन्थ्यो। तर उहाँले त्यसो गर्नुभएन। किन? कुरा स्पष्ट छ, परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिनदेखि अलमल्याउने वा अल्झाउने कुनै पनि कुरामा उहाँ मुछिन चाहनुहुन्‍नथ्यो। के हामी पनि उहाँको उदाहरण अनुकरण गर्दै भौतिक कुराहरूलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा बनाउनदेखि र त्यसले निम्त्याउने चिन्तादेखि जोगिन सक्छौं?—मत्ती ६:३३, ३४.

“ब्वाँसो र थुमा एउटै ठाउँमा खानेछ”

७. यहोवाले मानिस र जीवजीवातबीचको सम्बन्धबारे कस्तो आज्ञा दिनुभयो?

७ सृष्टि गर्ने क्रममा यहोवाले सबैभन्दा अन्तमा मानिस बनाउनुभयो। यहोवाले आफ्नो मुख्य कालिगड अर्थात्‌ येशूलाई मानिस सृष्टि गर्नुको उद्देश्‍यबारे स्पष्टसित बताउनुभयो। उहाँले भन्‍नुभयो: “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु-पशुहरू र जमीनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्‌।” (उत्प. १:२६) परमेश्‍वरले आदम र हव्वालाई सबै जीवजीवातको हेरचाह गर्ने र तिनीहरूमाथि अधिकार गर्ने आज्ञा दिनुभयो। पछि गएर सबै मानिसले यस्तै गर्नुपर्ने थियो।

८. जनावरहरू अहिले कस्तो व्यवहार गर्छन्‌?

८ के मानिसले सबै जीवजीवातलाई आफ्नो अधीनमा राख्न र तिनीहरूसित मिलेर बस्न सक्छ? धेरैजसोले कुकुर, बिरालोजस्ता घरपालुवा जनावरलाई असाध्यै माया गर्छन्‌। तर जङ्‌गली जनावरहरूलाई नि? एउटा रिपोर्ट भन्छ: “जङ्‌गली जनावरसित नजिक भएर तिनीहरूको विषयमा अध्ययन गरेका वैज्ञानिकहरूअनुसार सबै स्तनधारी जीवको भावना हुन्छ।” कुनै खतरा आइपर्दा जनावरहरू तर्सिएको वा आक्रमण गर्न सुरिएको हामीले देखेका छौं। तर के तिनीहरूले कोमल भावना देखाउन सक्छन्‌? त्यही रिपोर्ट यसो भन्छ: “बच्चा हुर्काउने सन्दर्भमा जनावरहरूले एकदमै कोमल भावना देखाउँछन्‌।”

९. जनावरहरूको व्यवहारमा कस्तो परिवर्तन हुने आशा गर्न सक्छौं?

९ त्यसैले मानिस र जनावर एकसाथ मिलेर बस्नेछन्‌ भन्‍ने बाइबल विवरण पढ्‌दा छक्क पर्नु पर्दैन। (यशैया ११:६-९; ६५:२५ पढ्‌नुहोस्‌) किन? जलप्रलयपछि नूह आफ्नो परिवारसित जहाजबाट बाहिर निस्कँदा यहोवाले तिनीहरूलाई के भन्‍नुभयो, सम्झनुहोस्‌ त: ‘पृथ्वीका सबै जन्तुमा तिमीहरूको डर र आतङ्‌क हुनेछ।’ जनावरहरू आफ्नो ज्यान जोगाउन मानिस देखेर भाग्छन्‌। (उत्प. ९:२, ३) के यहोवाले आफ्नो सुरुको उद्देश्‍य पूरा गर्न जनावरहरूमा भएको त्यो डर र आतङ्‌क केही हदसम्म हटाउनुहुने छैन र? (होशे २:१८) त्यतिबेला पृथ्वीमा बाँच्ने सबैको लागि कस्तो रमाइलो समय हुनेछ!

“उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ”

१०. मानिसहरू किन आँसु झार्छन्‌?

१० संसारमा भइरहेका “अत्याचारका सबै कामहरू” देखेपछि सुलेमानले यस्तो दुखेसो पोखे: “अत्याचारमा परेकाहरूको आँसु मैले देखें, औ मैले के देखें भने तिनीहरूलाई सान्त्वना दिने कोही हुँदैन रहेछ।” (उप. ४:१) आज पनि अवस्था यस्तै छ, भनौं भने झन्‌ खतम छ। कुनै न कुनै कारणले हामीमध्ये कसको पो आँसु झरेको छैन र? हुन त कहिलेकाहीं हामी हर्षको आँसु झार्छौं। तर प्रायजसो भने दुःख लाग्दा नै आँसु झर्छ।

११. तपाईंको सबैभन्दा मन छुने बाइबल विवरण कुन हो?

११ आँसु झारेका थुप्रै व्यक्‍तिबारे बाइबलमा उल्लेख गरिएको मन छुने विवरण विचार गर्नुहोस्‌। साराको १२७ वर्षको उमेरमा मृत्यु हुँदा “अब्राहाम साराको निम्ति शोक र विलाप गर्न पालभित्र गए।” (उत्प. २३:१, २) नाओमीले आफ्ना दुइटी विधवा बुहारीलाई बिदाबारी गर्दा “तिनीहरू डाँको छोडी-छोडीकन रोए।” नाओमीले सम्झाउन खोज्दा तिनीहरू झनै “डाँको छोडी-छोडीकन रोए।” (रूथ १:९, १४) सिकिस्त बिरामी परेर मृत्युको मुखैमा पर्दा हिजकियाह राजाले परमेश्‍वरलाई प्रार्थना गरे र “तिनी धुरूधुरू रोए।” यसले यहोवाको मन छोयो। (२ राजा २०:१-५) प्रेषित पत्रुसले येशूलाई इन्कार गरेपछि भएको घटनाले के हाम्रो मन छुँदैन र? भाले बासेको सुन्‍नेबित्तिकै पत्रुस “बाहिर निस्केर धुरुधुरु रोए।”—मत्ती २६:७५.

१२. परमेश्‍वरको राज्यले मानिसहरूलाई कसरी साँचो छुटकारा दिनेछ?

१२ आफूमाथि आइपर्ने दुःखदायी घटनाहरूले गर्दा हामी सबैलाई सान्त्वना र छुटकारा चाहिन्छ। हजार वर्षीय शासनको दौडान परमेश्‍वरले आफ्ना प्रजाको “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।” (प्रका. २१:४) शोक, रुवाइ वा पीडा हुनेछैन भनेर थाह पाउँदा हामी निकै ढाडस पाउँछौं। तर त्यति मात्र होइन, परमेश्‍वरले मानिसको सबैभन्दा ठूलो शत्रु मृत्युसमेत नामेट पार्नुहुनेछ। त्यो कसरी हुनेछ?

‘चिहानमा हुनेहरू सबै बाहिर निस्किआउनेछन्‌’

१३. आदमले पाप गरेदेखि यता मृत्युले मानिसहरूमाथि कस्तो असर गरेको छ?

१३ आदमले पाप गरेदेखि यता मृत्युले मानिसहरूमाथि राजाले झैं राज गरेको छ। यस शत्रुमाथि कुनै पापी मानिस विजयी हुन सकेको छैन र यसले मानिसहरूमाथि अथाह दुःख र पीडा थोपरेको छ। (रोमी ५:१२, १४) वास्तवमा भन्‍ने हो भने, “मृत्युको डरले गर्दा” लाखौं मानिसहरू “जीवनभरि दासत्वमा परेका” छन्‌।—हिब्रू २:१५.

१४. मृत्यु नामेट पारिएपछि के हुनेछ?

१४ बाइबलले ‘मृत्यु नामेट पारिने’ समयबारे बताउँछ। (१ कोरि. १५:२६) यसबाट दुईवटा समूहले लाभ उठाउनेछ। अहिले बाँचिरहेको “ठूलो भीड” जिउँदै नयाँ संसारमा प्रवेश गरेर सधैंभरि जीवित रहन सक्नेछन्‌। अर्कोतर्फ, मरिसकेका अरबौं मानिसका लागि भने पुनर्जीवित हुने आशा छ। जिउँदै नयाँ संसारमा प्रवेश गर्ने मानिसहरूले पुनर्जीवित भएकाहरूलाई स्वागत गर्दा कस्तो हर्षोल्लास छाउनेछ, कल्पना गर्नुहोस्‌ त! पुनर्जीवित भएका मानिसहरूबारे बाइबलमा उल्लिखित विवरण पढ्‌दा भविष्यमा हुने घटनाको पूर्वझलक पाउन सक्छौं।—मर्कूस ५:३८-४२; लूका ७:११-१७ पढ्‌नुहोस्‌।

१५. आफ्नो प्रियजन फेरि जीवित भएको देख्दा तपाईंलाई कस्तो लाग्नेछ?

१५ यी अभिव्यक्‍तिहरूलाई विचार गर्नुहोस्‌: “तिनीहरूको खुसीको सीमा रहेन,” “तिनीहरूले परमेश्‍वरको महिमा गर्न थाले।” तपाईं पनि त्यहाँ भएको भए त्यस्तै महसुस गर्नुहुन्थ्यो होला। आफ्ना प्रियजन पुनर्जीवित भएको हेर्न पाउँदा खुसीको सीमा रहनेछैन। येशूले यसो भन्‍नुभयो: “बेला आउँदैछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।” (यूह. ५:२८, २९) यस्तो घटना हामीमध्ये कसैले पनि देखेका छैनौं; यो “नदेखिने कुराहरू”-मध्ये सबैभन्दा उत्कृष्ट कुरा हुनेछ!

परमेश्‍वर “सबै थोकका सर्वेसर्वा” हुनुहुनेछ

१६. (क) अहिले नदेखिएका आशिष्‌हरूबारे जोसका साथ किन कुरा गर्नुपर्छ? (ख) कोरिन्थका ख्रीष्टियनहरूलाई प्रोत्साहन दिन पावलले के भने?

१६ अहिलेको कठिन समयमा यहोवाप्रति वफादार रहनेहरूसामु उज्ज्वल भविष्य छ! ती सुन्दर आशिष्‌हरू अहिले नदेखिए तापनि त्यसबारे हामीले सोच्नुपर्छ। यसो गऱ्‍यौं भने साँच्चै महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न सक्नेछौं अनि यस संसारको तडकभडकमा नअलमलिएर यहोवाको सेवा गरिरहन सक्नेछौं। (लूका २१:३४; १ तिमो. ६:१७-१९) पारिवारिक उपासना गर्दा, सङ्‌गी उपासकहरूसित कुराकानी गर्दा अनि बाइबल विद्यार्थी तथा चासो देखाउने व्यक्‍तिहरूसित कुरा गर्दा हाम्रो अद्‌भुत आशाबारे जोसका साथ कुरा गरौं! यसो गऱ्‍यौं भने हाम्रो मन-मस्तिष्कमा त्यो आशा ताजा रहिरहनेछ। प्रेषित पावलले सङ्‌गी ख्रीष्टियनहरूलाई यस्तै कुरा बताएर प्रोत्साहन दिए। तिनका शब्दहरूले ती ख्रीष्टियनहरूलाई ख्रीष्टको हजार वर्षीय शासनको अन्तमा के हुनेछ भनेर सोच्न मदत गऱ्‍यो। पावलले १ कोरिन्थी १५:२४, २५, २८ मा व्यक्‍त गरेका शब्दहरूको अर्थ वास्तवमा के हो, कल्पना गर्नुहोस्‌।—पढ्‌नुहोस्‌।

१७, १८. (क) मानव इतिहासको सुरुमा यहोवा कुन अर्थमा “सबै थोकका सर्वेसर्वा” हुनुहुन्थ्यो? (ख) एकता र शान्ति पुनर्स्थापित गर्न येशूले के गर्नुहुनेछ?

१७ ख्रीष्टको हजार वर्षीय शासनको अन्तमा हुने घटनालाई वर्णन गर्न “परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌” भन्‍ने अभिव्यक्‍तिभन्दा उपयुक्‍त अभिव्यक्‍ति अर्को छैन। त्यसको अर्थ के हो? आदम र हव्वा अदनको बगैंचामा छँदा अवस्था कस्तो थियो, विचार गर्नुहोस्‌। तिनीहरू त्रुटिरहित थिए अनि यहोवाको शान्तिमय परिवारको भाग थिए। ब्रह्‍माण्डको सार्वभौमसत्ताधारी यहोवाले स्वर्ग र पृथ्वीमा भएका सबैमाथि शासन गर्नुहुन्थ्यो। तिनीहरूले यहोवासित कुराकानी गर्न, उहाँको उपासना गर्न अनि उहाँको आशिष्‌ पाउन सक्थे। उहाँ नै “सबै थोकका सर्वेसर्वा” हुनुहुन्थ्यो।

१८ सैतानको लहलहैमा लागेर मानिसहरूले यहोवाको विद्रोह गरेपछि उहाँको परिवारमा छाएको शान्तिमय वातावरण बिथोलियो। तर त्यो एकता अनि शान्ति पुनर्स्थापित गर्न सन्‌ १९१४ देखि मसीही राज्यले एकपछि अर्को कदम चालिरहेको छ। (एफि. १:९, १०) हजार वर्षीय शासनको दौडान अहिले “नदेखिने” अद्‌भुत कुराहरू वास्तविकतामा परिणत हुनेछन्‌। तब ख्रीष्टको हजार वर्षीय शासन टुङ्‌गिनेछ। त्यसपछि के हुनेछ? येशूले “स्वर्ग र पृथ्वीको सबै अधिकार” पाए तापनि उहाँ महत्त्वाकाङ्‌क्षी हुनुहुन्‍न। यहोवाको स्थान हडप्ने सोचाइ उहाँमा पटक्कै छैन। उहाँले नम्र भई “परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ, जो उहाँको बुबा हुनुहुन्छ।” उहाँले आफ्नो विशेष ओहदा र अख्तियार ‘परमेश्‍वरको महिमा’ गर्न चलाउनुहुनेछ।—मत्ती २८:१८; फिलि. २:९-११.

१९, २०. (क) यहोवाको सार्वभौमिकतालाई स्वीकारेको कुरा परमेश्‍वरको राज्यका सबै प्रजाले कसरी देखाउनेछन्‌? (ख) हामीसामु कस्तो उज्ज्वल आशा छ?

१९ यतिबेलासम्म परमेश्‍वरको राज्यका सबै प्रजा त्रुटिरहित अवस्थामा पुगिसकेको हुनेछ। तिनीहरूले येशूको उदाहरण पछ्याउनेछन्‌ अनि नम्र भई राजीखुसीसाथ यहोवाको सार्वभौमिकताको अधीनमा बस्नेछन्‌। अन्तिम जाँचमा सफल हुने हो भने तिनीहरूले यहोवाको शासनको अधीनमा बस्न चाहेको कुरा देखाउनुपर्नेछ। (प्रका. २०:७-१०) त्यसपछि सबै विद्रोही—चाहे तिनीहरू मानिस होऊन्‌ या अदृश्‍य स्वर्गदूत, सदाको लागि विनाश हुनेछन्‌। त्यो कस्तो आनन्दमय अनि रोमाञ्चकारी समय हुनेछ! यहोवाको परिवारका सबै सदस्यले खुसीसाथ उहाँको प्रशंसा गर्नेछन्‌ र उहाँ “सबै थोकका सर्वेसर्वा” हुनुहुनेछ।—भजन ९९:१-३ पढ्‌नुहोस्‌।

२० परमेश्‍वरको राज्यले चाँडै ल्याउने यी अद्‌भुत कुराहरूलाई विचार गर्दा के तपाईं यहोवाको इच्छा पूरा गर्न आफ्नो भएभरको ध्यान र प्रयास लगाउन उत्प्रेरित हुनुहुन्छ? के तपाईं सैतानको संसारले दिने झूटो आशा र सान्त्वनाबाट नबहकिन कटिबद्ध हुनुहुन्छ? के तपाईं यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुका साथै त्यसको पक्षमा दृढ भई खडा हुनुहुन्छ? सधैंभरि त्यसो गर्न चाहेको कुरा तपाईंको व्यवहारले देखाओस्‌। त्यसो गर्नुभयो भने हजार वर्षसम्मको लागि मात्र होइन, त्यसपछि पनि तपाईंले शान्ति र संवृद्धि पाउनुहुनेछ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने