युवावस्थामै जुवा बोक्ने
‘यो आखिरी दिनको डरलाग्दो समयमा’ जवानहरू गह्रौं दबाबहरू सहन्छन्। (२ तिमोथी ३:१) तिनीहरूले दिनहुँ अनैतिकता, धूम्रपान र त्यस्तै अन्य खाडलमा हाल्ने विचार तथा व्यवहारहरू विरुद्ध मुकाबिला गरिरहनुपर्छ। बाइबलका सिद्धान्तहरू पछ्याउने र साथीहरूको लहैलहैमा नलाग्ने युवाहरूलाई शायद दौंतरहरूले धज्जी उडाउने गर्लान्। यस्तो परिस्थितिमा केही मसीहीहरू हार मान्नु नै सजिलो सम्झनसक्छन्।
सा.यु.पू. सातौं शताब्दीको अन्ततिर यर्मियाले लेखे: “आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ।” (विलाप ३:२७) उनको भनाइको तात्पर्य के थियो? कुरा के हो भने, युवावस्थामै समस्याहरूसँग जुझ्न सिक्ने व्यक्तिले वयस्क हुँदाका समस्याहरू पनि समाधान गर्नसक्छन्। हुन त मसीहीहरू चाहे युवा हुन् या वयस्क, सबैले संकष्ट भोग्छन् नै। (२ तिमोथी ३:१२) तर विश्वासी हुन सक्यो भने परिस्थितिसँग सम्झौता गरेर प्राप्त हुने छुटकाराभन्दा कैयौं गुणा बढी फाइदा हुनसक्छ।
तपाईं पनि युवा हुनुहुन्छ भने, रत्तिभर नडराई विश्वासको जाँच हुन दिनुहोस्। खराब काम गर्ने दबाब आयो भने डटेर इन्कार गर्नुहोस्। तपाईंको जीवनकालभरि यसो गर्न सजिलो नहुन पनि सक्छ तर अप्ठ्याराहरू सामना गर्दै गएपछि तपाईं त्यति चिन्तित हुनुहुनेछैन। येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “मेरो जुवा तिमी आफैले बोक . . . अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२९, ३०.
बाइबलको सिद्धान्तअनुसार जीवन बिताउने चुनौती स्वीकार्नुहोस्। त्यसो गर्दा अहिले तपाईंले जीवन बिताउने सबैभन्दा उत्तम तरिका पहिल्याउनु हुनेछ र भविष्यको लागि भरपर्दो आशा। बाइबलले बताएझैं, “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७.