प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 नोभेम्बर pp. २-७
  • यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इजकिएललाई यहोवाले नै पठाउनुभएको थियो
  • हामीलाई यहोवाले नै पठाउनुभएको हो
  • इजकिएलले पवित्र शक्‍तिबाट बल पाए
  • हामी पवित्र शक्‍तिबाट बल पाउँछौँ
  • इजकिएलले परमेश्‍वरको वचनबाट पोषण पाए
  • हामी परमेश्‍वरको वचनबाट पोषण पाउँछौँ
  • साक्षीकार्यमा लागिरहने उत्प्रेरणा
  • “तँमाथि अन्त आउनै लागेको छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • परमेश्‍वरको सन्देश सुनाउन इजकिएल रमाए
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • इजकिएलको पुस्तकका विशेषताहरू—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “मन्दिरको वर्णन गरिदेऊ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 नोभेम्बर pp. २-७

अध्ययन लेख ४५

यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छ

“तिनीहरूमाझ एक जना भविष्यवक्‍ता रहेछन्‌ भनेर तिनीहरूले थाह पाउनेछन्‌।”—इज. २:५.

गीत ६७ “वचन प्रचार गर”

परिचयa

१. हामीलाई के थाह छ तर हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौँ?

साक्षीकार्यमा भाग लिँदा खेदो आइपर्नेछ भनेर हामीलाई थाह छ। यस्तो खेदो भविष्यमा अझै बढ्‌न सक्छ। (दानि. ११:४४; २ तिमो. ३:१२; प्रका. १६:२१) तर यहोवाले हामीलाई आवश्‍यक मदत दिनुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ। किन? किनकि यहोवाले सधैँ आफ्ना सेवकहरूलाई तिनीहरूको जिम्मेवारी पूरा गर्न मदत गर्नुभएको छ, चाहे त्यो जतिसुकै गाह्रो किन नहोस्‌। यो कुरा बुझ्न भविष्यवक्‍ता इजकिएलको जीवनमा घटेका केही घटना विचार गरौँ, जसले बेबिलोनको निर्वासनमा परेका यहुदीहरूलाई साक्षी दिने जिम्मेवारी पाएका थिए।

२. इजकिएलले साक्षी दिनुपर्ने इलाकाका मानिसहरू कस्ता थिए र यस लेखमा हामी के छलफल गर्नेछौँ? (इजकिएल २:३-६)

२ इजकिएलले साक्षी दिनुपर्ने इलाकाका मानिसहरू कस्ता थिए? यहोवाले तिनीहरूलाई “अटेरी,” “कठोर” र “विद्रोही” भन्‍नुभयो। तिनीहरू घोच्ने काँडा अनि खतरनाक बिच्छीजस्तै थिए। त्यसैले यहोवाले इजकिएललाई बारम्बार “नडराउनू” भन्‍नुभयो। (इजकिएल २:३-६ पढ्‌नुहोस्‌।) इजकिएलले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न सके किनकि तिनलाई (१) यहोवाले नै पठाउनुभएको थियो, (२) तिनले पवित्र शक्‍तिबाट बल पाए र (३) तिनले परमेश्‍वरको वचनबाट पोषण पाए। इजकिएलले यी तीन वटा कुराबाट कसरी मदत पाए? आज हामी पनि कसरी मदत पाउन सक्छौँ?

इजकिएललाई यहोवाले नै पठाउनुभएको थियो

३. यहोवाले भन्‍नुभएको कुन कुराबाट इजकिएलले बल पाए र तिनी यहोवाको साथ पाउने कुरामा किन विश्‍वस्त हुन सके?

३ यहोवाले इजकिएललाई यसो भन्‍नुभयो: “म तिमीलाई . . . पठाउँदै छु।” (इज. २:३, ४) यो कुरा सुन्दा तिनले पक्कै बल पाएको हुनुपर्छ। किन? यहोवाले मोसा र यसैयालाई आफ्नो भविष्यवक्‍ताको रूपमा पठाउनुहुँदा उहाँले त्यस्तै कुरा भन्‍नुभएको इजकिएलले सम्झेको हुनुपर्छ। (प्रस्थ. ३:१०; यसै. ६:८) यहोवाले ती दुई भविष्यवक्‍तालाई चुनौतीहरूको सामना गर्न कसरी मदत गर्नुभएको थियो भनेर पनि इजकिएललाई थाह थियो। त्यसैले यहोवाले तिनलाई दुई पटक “म तिमीलाई . . . पठाउँदै छु” भन्‍नुहुँदा उहाँको साथ पाउने कुरामा तिनी विश्‍वस्त हुन सके। साथै इजकिएलको किताबमा “यहोवाको यो वचन मकहाँ आयो” भन्‍ने अभिव्यक्‍ति थुप्रै चोटि प्रयोग गरिएको छ। (इज. ३:१६) यसबाहेक “यहोवाको वचन फेरि मकहाँ आयो” भन्‍ने अभिव्यक्‍ति पनि पटक-पटक प्रयोग गरिएको छ। (इज. ६:१) आफूलाई यहोवाले नै पठाउनुभएको हो भन्‍ने कुरामा इजकिएल विश्‍वस्त थिए। साथै तिनी पुजारीका छोरा भएकोले यहोवाले भविष्यवक्‍ताहरूलाई साथ दिनुभएको कुरा आफ्नो बुबाबाट सुनेको हुनुपर्छ। यहोवाले इसहाक, याकुब र यर्मियालाई पनि उहाँ तिनीहरूको साथमा भएको कुरा बताउनुभएको थियो।—उत्प. २६:२४; २८:१५; यर्मि. १:८.

४. इजकिएललाई कस्ता सान्त्वनादायी कुराहरूले बल दियो?

४ इजकिएलले साक्षी दिँदा धेरैजसो इस्राएलीले कस्तो प्रतिक्रिया देखाउने थिए? यहोवाले यसो भन्‍नुभयो: “इस्राएलको घरानाले तिम्रो कुरा पटक्कै सुन्‍नेछैन किनकि तिनीहरू मेरो कुरा सुन्‍नै चाहँदैनन्‌।” (इज. ३:७) इजकिएलको कुरा सुन्‍न इन्कार गरेर तिनीहरूले यहोवाकै कुरा सुन्‍न इन्कार गरिरहेका हुने थिए। मानिसहरूले तिनको कुरा सुन्‍न इन्कार गरे तापनि तिनी भविष्यवक्‍ताको रूपमा असफल हुनेछैनन्‌ भनेर यी शब्दहरूबाट तिनले आश्‍वासन पाए। इजकिएलले सुनाएको न्यायको सन्देश सत्य साबित हुँदा मानिसहरूले ‘तिनीहरूमाझ एक जना भविष्यवक्‍ता रहेछन्‌ भनेर थाह पाउने थिए।’ यहोवाले भन्‍नुभएको यस कुराबाट पनि तिनले आश्‍वासन पाएको हुनुपर्छ। (इज. २:५; ३३:३३) यहोवाले इजकिएललाई भन्‍नुभएका यी सान्त्वनादायी कुराहरूले तिनलाई आफ्नो साक्षीकार्यमा लागिरहन पक्कै बल दियो।

हामीलाई यहोवाले नै पठाउनुभएको हो

चित्रहरूको सँगालो: १. इजकिएल मानिसहरूलाई साक्षी दिँदै छन्‌। धेरैजसोले तिनको सन्देश सुन्‍न इन्कार गर्छन्‌ तर एक पुरुषले ध्यान दिएर सुनिरहेका छन्‌। २. बुबा, आमा र छोरी साक्षीकार्यमा भाग लिँदै छन्‌। धेरैजसोले तिनीहरूको सन्देश सुन्‍न इन्कार गर्छन्‌ तर एक स्त्रीले ध्यान दिएर सुनिरहेकी छिन्‌।

इजकिएलको समयमा जस्तै आज पनि मानिसहरू हाम्रो कुरा सुन्दैनन्‌ र विरोध गर्छन्‌ तर यहोवा हाम्रो साथमा हुनुहुन्छ (अनुच्छेद ५-६ हेर्नुहोस्‌)

५. यसैया ४४:८ अनुसार हामीले कुन कुराबाट बल पाउँछौँ?

५ हामीलाई यहोवाले नै पठाउनुभएको हो भन्‍ने कुरा थाह पाउँदा हामीले पनि बल पाउँछौँ। यहोवाले हामीलाई “तिमीहरू मेरा साक्षी हौ” भन्‍नुभएको छ। (यसै. ४३:१०) यो हाम्रो लागि ठूलो सम्मानको कुरा हो! यहोवाले इजकिएललाई “नडराउनू” भन्‍नुभएजस्तै हामीलाई पनि “त्रसित नहोओ” भन्‍नुभएको छ। हामी विरोधीहरूदेखि किन डराउनुपर्दैन? किनकि इजकिएललाई जस्तै हामीलाई पनि यहोवाले नै पठाउनुभएको हो र हामीले उहाँको साथ पाएका छौँ।—यसैया ४४:८ पढ्‌नुहोस्‌।

६. (क) यहोवाले हामीलाई कस्तो प्रतिज्ञा गर्नुभएको छ? (ख) हामी कुन कुराबाट सान्त्वना र बल पाउँछौँ?

६ यहोवाले हामीलाई साथ दिने प्रतिज्ञा गर्नुभएको छ। जस्तै, उहाँले “तिमीहरू मेरा साक्षी हौ” भन्‍नुअघि यसो भन्‍नुभयो: “तिमी पानीबाट जाँदा म तिमीसित हुनेछु, तिमी नदीबाट जाँदा त्यसले तिमीलाई डुबाउनेछैन। तिमी आगोबाट जाँदा त्यसले तिमीलाई डढाउनेछैन, त्यसको ज्वालाले तिमीलाई पोल्नेछैन।” (यसै. ४३:२) हामीले साक्षीकार्यमा भाग लिँदा कहिलेकाहीँ बाढीरूपी अवरोधहरू र आगोरूपी परीक्षाहरूको सामना गर्नुपर्ने हुन्छ। तर यहोवाको मदत पाएर हामी साक्षीकार्यमा लागिरहन सक्छौँ। (यसै. ४१:१३) इजकिएलको समयमा जस्तै आज पनि मानिसहरू हाम्रो सन्देश सुन्‍न इन्कार गर्छन्‌। तर त्यसको मतलब हामी साक्षीकार्यमा असफल भयौँ भन्‍ने होइन। हामीले वफादार भएर यहोवाको सन्देश सुनाउँदा उहाँ खुसी हुनुहुन्छ र यो कुरा थाह पाउँदा हामी सान्त्वना र बल पाउँछौँ। प्रेषित पावलले यसो भने: “हरेकले आफ्नो परिश्रमअनुसार इनाम पाउनेछ।” (१ कोरि. ३:८; ४:१, २) लामो समयदेखि अग्रगामी सेवा गरिरहेकी एक बहिनी यसो भन्छिन्‌: “यहोवाले हाम्रो परिश्रमअनुसार इनाम दिनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा खुसी लाग्छ।”

इजकिएलले पवित्र शक्‍तिबाट बल पाए

इजकिएलले यहोवाको स्वर्गीय रथको दर्शन देख्छन्‌; त्यो दर्शन देखेपछि साक्षीकार्य पूरा गर्न यहोवाले मदत गर्नुहुनेछ भन्‍ने कुरामा तिनको भरोसा अझ बलियो हुन्छ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. इजकिएलले देखेको दर्शनले तिनमा कस्तो प्रभाव पारेको हुनुपर्छ? (आवरण चित्र हेर्नुहोस्‌।)

७ इजकिएलले दर्शनमा पवित्र शक्‍ति कत्ति शक्‍तिशाली हुन्छ भनेर देखे। तिनले पवित्र शक्‍तिले बलवान्‌ स्वर्गदूतहरूलाई र स्वर्गीय रथका विशाल पाङ्‌ग्राहरूलाई डोऱ्‍याइरहेको देखे। (इज. १:२०, २१) इजकिएलले कस्तो प्रतिक्रिया देखाए? तिनी यत्ति आश्‍चर्यचकित भए कि तिनले यस्तो लेखे: “जब मैले त्यो देखेँ, तब म भुईँसम्मै घोप्टो परेँ।” (इज. १:२८) त्यस भव्य दर्शनबारे सोच्दा पवित्र शक्‍तिको मदत पाएर आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न सक्छु भन्‍ने कुरामा इजकिएल अझ विश्‍वस्त भएको हुनुपर्छ।

८-९. (क) यहोवाले इजकिएललाई उठ्‌ने आदेश दिनुभएपछि के भयो? (ख) गाह्रो इलाकामा साक्षी दिन यहोवाले इजकिएललाई कसरी थप बल दिनुभयो?

८ यहोवाले इजकिएललाई यस्तो आज्ञा दिनुभयो: “हे मानिसको छोरा, उठ। तिमीसित कुरा गर्नु छ।” त्यसपछि के भयो? तिनले यस्तो लेखे: “उहाँले मसित बोल्नुहुँदा ममाथि पवित्र शक्‍ति आयो र मैले उहाँको कुरा सुन्‍न सकूँ भनेर त्यसले मलाई उभिन बल दियो।” (इज. २:१, २) इजकिएलले आफ्नो साक्षीकार्यको अवधिभर यहोवाको “हात” अर्थात्‌ उहाँको पवित्र शक्‍तिबाट डोऱ्‍याइ पाए। (इज. ३:२२; ८:१; ३३:२२; ३७:१; ४०:१) पवित्र शक्‍तिले तिनलाई “मन र दिमाग दुवै कठोर” भएका मानिसहरूलाई साक्षी दिन बल दियो। (इज. ३:७) यहोवाले तिनलाई यसो भन्‍नुभयो: “मैले तिम्रो अनुहार र तिम्रो निधार तिनीहरूको जस्तै कडा बनाइदिएको छु। तिम्रो निधारलाई चकमक ढुङ्‌गाभन्दा पनि साह्रो, हिरासरह कडा तुल्याइदिएको छु। तिनीहरूसित नडराऊ; तिनीहरूको अनुहार देखेर नआत्तिऊ।” (इज. ३:८, ९) मानौँ, यहोवाले तिनलाई यसो भनिरहनुभएको थियो: ‘ती अटेरी मानिसहरूले तिम्रो कुरा नसुने पनि निराश नहोऊ, म तिमीलाई बलियो पार्नेछु।’

९ त्यसपछि पवित्र शक्‍तिले इजकिएललाई तिनले साक्षी दिनुपर्ने इलाकातर्फ लग्यो। तिनले यस्तो लेखे: “यहोवाको हात ममाथि बलियोगरि रहेको थियो।” विश्‍वस्त भई सन्देश सुनाउन ती भविष्यवक्‍ताले त्यो सन्देश सुरुमा त आफैले राम्ररी बुझ्नुपर्थ्यो र यसको लागि तिनलाई सात दिन लाग्यो। (इज. ३:१४, १५) त्यसपछि यहोवाले तिनलाई बेँसीतर्फ डोऱ्‍याउनुभयो र त्यहाँ “पवित्र शक्‍ति [तिनीमाथि] आयो।” (इज. ३:२३, २४) अब भने इजकिएल साक्षीकार्य सुरु गर्न तयार भए।

हामी पवित्र शक्‍तिबाट बल पाउँछौँ

अगाडिको चित्रमा पनि देखाइएकी आमाले एक जनालाई टेलिफोन साक्षी दिँदै छिन्‌ र ती महिलाले पनि ध्यान दिएर सुनिरहेकी छिन्‌। ती आमाको पछाडि यहोवाको स्वर्गीय रथ छ।

इजकिएललाई जस्तै हामीलाई पनि साक्षीकार्यमा लागिरहन कुन कुराले मदत गर्छ? (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. साक्षीकार्यमा लागिरहन हामीलाई कस्तो मदत चाहिन्छ र किन?

१० साक्षीकार्यमा लागिरहन हामीलाई कस्तो मदत चाहिन्छ? यसको जवाफ पाउन फेरि एकचोटि इजकिएलबारे विचार गरौँ। साक्षीकार्य सुरु गर्नुअघि पवित्र शक्‍तिले तिनलाई आवश्‍यक बल दियो। आज हामीलाई पनि साक्षीकार्यमा लागिरहन पवित्र शक्‍तिको मदत नभई हुँदैन। किन? किनभने सैतान हाम्रो साक्षीकार्य रोक्न लागिपरेको छ। (प्रका. १२:१७) मानिसको नजरबाट हेर्दा हामी सैतानलाई कुनै पनि हालतमा हराउन सक्दैनौँ जस्तो देखिएला। तर साक्षीकार्यमा भाग लिँदा हामी त्यसमाथि विजयी भइरहेका हुन्छौँ। (प्रका. १२:९-११) कसरी? मानिसहरूलाई बाइबलको सन्देश सुनाउँदा हामी सैतानको धम्कीदेखि डराउँदैनौँ भनेर देखाइरहेका हुन्छौँ। हामीले प्रत्येक चोटि साक्षी दिँदा त्यसको हार हुन्छ। विरोधको बाबजुद साक्षीकार्यमा लागिरहन सकेको कुरा विचार गर्दा हामी कुन निष्कर्षमा पुग्न सक्छौँ? हामीले पवित्र शक्‍तिबाट बल पाएका छौँ र हामीमाथि यहोवाको अनुमोदन छ।—मत्ति ५:१०-१२; १ पत्रु. ४:१४.

११. पवित्र शक्‍तिले हामीलाई के गर्न मदत गर्छ र त्यो पाइरहन हामीले के गर्नुपर्छ?

११ यहोवाले इजकिएलको अनुहार र निधारलाई प्रतीकात्मक रूपमा कडा बनाइदिनुभएको कुराबाट हामी कस्तो आश्‍वासन पाउँछौँ? साक्षीकार्यमा आइपर्ने जस्तोसुकै चुनौतीको सामना गर्न हामीलाई पवित्र शक्‍तिले मदत गर्न सक्छ। (२ कोरि. ४:७-९) त्यसोभए पवित्र शक्‍ति पाइरहन हामीले के गर्नुपर्छ? यहोवा हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुँदै पवित्र शक्‍तिको लागि व्यग्र बिन्ती गर्नुपर्छ। प्रार्थनाको सन्दर्भमा येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: ‘मागिरहो, खोजिरहो अनि ढकढक्याइरहो।’ यसरी मागिरहनेहरूलाई यहोवाले “पवित्र शक्‍ति दिनुहुनेछ!”—लुका ११:९, १३; प्रेषि. १:१४; २:४.

इजकिएलले परमेश्‍वरको वचनबाट पोषण पाए

१२. इजकिएल २:९–३:३ अनुसार त्यो मुठा कहाँबाट आएको थियो र त्यसमा के थियो?

१२ इजकिएलले पवित्र शक्‍तिबाट बल पाउनुका साथै परमेश्‍वरको वचनबाट पोषण पनि पाए। दर्शनमा तिनले एउटा मुठा समातिरहेको हात देखे। (इजकिएल २:९–३:३ पढ्‌नुहोस्‌।) त्यो मुठा कहाँबाट आएको थियो, त्यसमा के थियो र इजकिएलले त्यसबाट कसरी पोषण पाए? त्यो मुठा परमेश्‍वरको सिंहासनबाट आएको थियो। यहोवाले इजकिएललाई त्यो मुठा दिन तिनले दर्शनमा देखेका स्वर्गदूतहरूमध्ये एक जनालाई प्रयोग गर्नुभएको हुन सक्छ। (इज. १:८; १०:७, २०) त्यस मुठामा इजकिएलले निर्वासनमा परेका विद्रोही यहुदीहरूलाई सुनाउनुपर्ने न्यायको विस्तृत सन्देश थियो। (इज. २:७) त्यो सन्देश मुठाको दुवैपट्टि लेखिएको थियो।

१३. यहोवाले इजकिएललाई के गर्न भन्‍नुभयो र तिनलाई त्यो मुठा किन गुलियो लाग्यो?

१३ यहोवाले इजकिएललाई त्यो “मुठा खाऊ र आफ्नो पेट भर” भन्‍नुभयो। उहाँले भन्‍नुभएअनुसारै तिनले त्यो खाए। दर्शनको यस भागको अर्थ के थियो? सुरुमा तिनी आफैले त्यो सन्देश राम्ररी बुझ्नुपर्थ्यो र त्यस सन्देशमा विश्‍वस्त हुनुपर्थ्यो। यसो गर्दा तिनी मानिसहरूलाई त्यो सन्देश सुनाउन उत्प्रेरित हुन सक्थे। त्यसपछि एउटा अचम्मको कुरा भयो। इजकिएललाई त्यो मुठा “महजत्तिकै गुलियो” लाग्यो। (इज. ३:३) किन? यहोवाको तर्फबाट मानिसहरूलाई सन्देश सुनाउन पाउनु तिनको लागि एउटा मीठो अनुभव थियो। (भज. १९:८-११) भविष्यवक्‍ताको रूपमा सेवा गर्न पाएकोमा तिनी यहोवाप्रति आभारी थिए।

१४. इजकिएल साक्षीकार्यको लागि कसरी तयार हुन सके?

१४ पछि यहोवाले इजकिएललाई यसो भन्‍नुभयो: “मैले भनेको सबै कुरा ध्यान दिएर सुन र मनमा गुन।” (इज. ३:१०) उहाँले तिनलाई त्यस मुठामा लेखिएको कुरा दिमागमा ठप्प बसाल्न र त्यसमा मनन गर्न भन्‍नुभयो। यसो गर्दा तिनले पोषण पाए। साथै त्यस मुठामा मानिसहरूलाई सुनाउनुपर्ने सशक्‍त सन्देश थियो। (इज. ३:११) त्यस मुठामा लेखिएको परमेश्‍वरको सन्देश राम्ररी बुझेपछि र त्यसमा विश्‍वस्त भएपछि इजकिएल साक्षीकार्य सुरु गर्न र त्यसमा लागिरहन तयार भए।—भज. १९:१४.

हामी परमेश्‍वरको वचनबाट पोषण पाउँछौँ

१५. साक्षीकार्यमा लागिरहन हामीले कुन कुरा ‘मनमा गुन्‍नुपर्छ’?

१५ साक्षीकार्यमा लागिरहन हामीले पनि परमेश्‍वरको वचनबाट पोषण लिइरहनुपर्छ। हामीले यहोवाले बताउनुभएका कुराहरू ‘मनमा गुन्‍नुपर्छ।’ यहोवा आज हामीसित उहाँको वचनमार्फत बोल्नुहुन्छ। यसले हाम्रो सोचाइ र भावनालाई प्रभाव पारेको अनि असल काम गर्न उत्प्रेरणा दिएको चाहन्छौँ भने हामीले के गर्नुपर्छ?

१६. यहोवा हामीले के गरेको चाहनुहुन्छ र त्यसको लागि हामीले के गर्नुपर्छ?

१६ शरीरले पोषण पाउन हामीले खानेकुरा खानुपर्छ र त्यसलाई पचाउनुपर्छ। त्यसैगरि आध्यात्मिक रूपमा पोषण पाउन हामीले परमेश्‍वरको वचन अध्ययन गर्नुपर्छ र त्यसमा मनन गर्नुपर्छ। मुठाको दर्शनबाट हामीले सिक्न सक्ने पाठ यही नै हो। हामीले परमेश्‍वरको वचनले ‘आफ्नो पेट भरेको’ अर्थात्‌ त्यसमा लेखिएका कुराहरू राम्ररी बुझेको उहाँ चाहनुहुन्छ। प्रार्थना, बाइबल पढाइ र मननले हामीलाई यसो गर्न मदत गर्छ। सुरुमा हामीले आफ्नो मन तयार पार्न प्रार्थना गर्नुपर्छ, त्यसपछि बाइबल विवरण पढ्‌नुपर्छ अनि एकछिन रोकिएर पढेको कुरामा गहिरिएर मनन गर्नुपर्छ। यसो गर्दा नतिजा कस्तो हुन्छ? हामी जत्ति धेरै मनन गर्छौँ, परमेश्‍वरको वचन त्यत्ति नै राम्ररी बुझ्नेछौँ र हाम्रो विश्‍वास अझ बलियो हुनेछ।

१७. पढेको कुरामा मनन गर्नु किन महत्त्वपूर्ण छ?

१७ बाइबल पढ्‌नु र त्यसमा मनन गर्नु किन महत्त्वपूर्ण छ? यसो गर्दा हामीले अहिले राज्यको सन्देश सुनाउन र निकट भविष्यमा न्यायको कडा सन्देश सुनाउन बल पाउनेछौँ। साथै यहोवाका मनमोहक गुणहरूमा मनन गर्दा उहाँसितको हाम्रो सम्बन्ध अझ बलियो हुनेछ। नतिजास्वरूप हामीले मनोशान्ति र सन्तुष्टि पाउनेछौँ अनि यस्तो अनुभव महजस्तै मीठो हुनेछ।—भज. ११९:१०३.

साक्षीकार्यमा लागिरहने उत्प्रेरणा

१८. मानिसहरूले कुन कुरा स्विकार्नुपर्नेछ र तिनीहरूले कस्तो बहाना बनाउन पाउनेछैनन्‌?

१८ हामीले इजकिएलले जस्तो भविष्यवाणी गर्ने जिम्मेवारी त पाएका छैनौँ। तर हामी यहोवाले ‘पुग्यो’ नभन्‍नुभएसम्म राज्यको सन्देश सुनाउने काममा लागिरहन दृढ छौँ। न्याय गर्ने समय आउँदा इलाकाका मानिसहरूले हामीले कुनै चेतावनी पाएनौँ वा परमेश्‍वरले हामीलाई बेवास्ता गर्नुभयो भनेर बहाना बनाउने कुनै कारण पाउनेछैनन्‌। (इज. ३:१९; १८:२३) बरु हामीले सुनाएको सन्देश परमेश्‍वरबाटै आएको हो भनेर तिनीहरूले स्विकार्नुपर्नेछ।

१९. साक्षीकार्यमा लागिरहन हामीलाई केले बल दिन्छ?

१९ इजकिएललाई बल दिएको तीन वटा कुराले हामीलाई पनि साक्षीकार्यमा लागिरहन बल दिन्छ। हामी साक्षीकार्यमा लागिरहन्छौँ किनभने हामीलाई यहोवाले नै पठाउनुभएको हो, हामीले पवित्र शक्‍तिबाट बल पाएका छौँ र परमेश्‍वरको वचनबाट पोषण पाएका छौँ। यहोवाको मदत पाएर हामी साक्षीकार्यमा लागिरहने र “अन्तसम्म” सहने उत्प्रेरणा पाउँछौँ।—मत्ति २४:१३.

साक्षीकार्यमा लागिरहन निम्न कुराले कसरी मदत गर्छ?

  • हामीलाई यहोवाले नै पठाउनुभएको हो

  • हामी पवित्र शक्‍तिबाट बल पाउँछौँ

  • हामी परमेश्‍वरको वचनबाट पोषण पाउँछौँ

गीत ६५ बढ्‌दै जाऊ!

a यस लेखमा भविष्यवक्‍ता इजकिएललाई साक्षी दिने जिम्मेवारी पूरा गर्न यहोवाले कुन तीन वटा तरिकामा मदत गर्नुभयो भनेर हामी विचार गर्नेछौँ। यो कुरा छलफल गर्दा उहाँले हामीलाई पनि मदत गर्नुहुनेछ भन्‍ने कुरामा अझ विश्‍वस्त हुन सक्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने