-
दानियल—पुर्पक्षको लागि खडा गरिएको पुस्तकदानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
-
-
बेनाम राजाको कुरा
७. (क) दानियलले बेलसजरको नाउँ उल्लेख गरेको हुँदा बाइबल आलोचकहरू किन दंग परे? (ख) बेलसजर केवल एउटा काल्पनिक पात्र हुन् भन्ने धारणा पछि के भयो?
७ दानियलले नबूकदनेसरका “छोरा” बेलसजरले राज गरिरहेको बेला बेबिलोनको पराजय भयो भनी लेखे। (दानियल ५:१, ११, १८, २२, ३०) धेरै समयअघिदेखि आलोचकहरूले कोट्याइरहेको कुरा यही हो। किनभने बाइबलबाहेक अरू कतै पनि बेलसजरको नाउँ लेखिएको पाइएन। पुरातन इतिहासकारहरूले नबूकदनेसरको उत्तराधिकारी, बेबिलोनको अन्तिम राजा नाबोनिडस थिए भने। तसर्थ, १८५० मा फर्डिनान्ड हिड्सिकले बेलसजर, लेखकको परिकल्पना मात्र हो भने। तर के तपाईंलाई हिड्सिकको कुरा अलि अतार्किक लागेन? एकदमै कम विवरणहरू मात्र उपलब्ध भएको समयावधिको इतिहासमा एक जना शासकको नाउँ उल्लेख नहुँदैमा के तिनको अस्तित्व नै थिएन भनेर प्रमाणित हुन्छ र? जे होस्, सन् १८५४ मा हाल दक्षिणी इराकमा अवस्थित पुरातन बेबिलोनी शहर ऊरको भग्नावशेषमा बेलना आकारका स-साना माटाका भाँडाहरू फेला परे। यी कीलाक्षर शिला राजा नाबोनिडसका थिए र त्यसमा “मेरो जेठो छोरा, बेलसारुसुरको” भनी लेखिएको नाबोनिडसका प्रार्थना पनि थिए। आलोचकहरूसमेत यस कुरामा सहमत हुन करै लाग्यो: दानियलका पुस्तकको बेलसजर यिनै थिए।
८. दानियलले बेलसजर शासनारूढ राजा थिए भनी बताएको विवरण कसरी प्रमाणित भएको छ?
८ यद्यपि, आलोचकहरूलाई चित्त बुझेन। “यसले केही पनि प्रमाणित गर्दैन” भनी एच. एफ. टल्बटले भने। त्यो लेखोटमा उल्लिखित व्यक्ति निर्बोध बालक हुनसक्छ जबकि दानियलले तिनी शासक थिए भनी बताएका छन् भन्ने तिनको तर्क थियो। टल्बटका टिप्पणीहरू प्रकाशित भएको एक वर्षपछि अरू कीलाक्षरहरू भेट्टिए र त्यसमा उल्लेख गरिएअनुसार बेलसजरका थुप्रै सचिव तथा भारदारहरू थिए। यो सानो बालकको वर्णन पटक्कै हुन सक्दैन! नाबोनिडस कहिलेकाहीं वर्षौंसम्म पनि बेबिलोनबाहिर हुन्थे भनी अरू शिलालेखहरूले प्रस्ट पारेपछि बल्ल यो विवादको टुंगो लाग्यो। यी शिलालेखहरूले यसताका तिनले आफ्नो जेठो छोरालाई (बेलसजर) बेबिलोनको “राजपद सुम्पे” भनेर पनि प्रस्ट पाऱ्यो। यतिखेर बेलसजर नै राजा अर्थात् तिनको बुबाका सहशासक थिए।b
-
-
दानियल—पुर्पक्षको लागि खडा गरिएको पुस्तकदानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
-
-
b बेबिलोनको पतन हुँदा नाबोनिडस त्यहाँ थिएनन्। त्यसैकारण, बेलसजरलाई त्यतिबेलाको राजा भन्नु उचित छ। तर बाइबलबाहेक अन्य विवरणहरूमा बेलसजरलाई राजाको पदवी दिइएको कुनै औपचारिक प्रमाण छैन भनी आलोचकहरू कचकच गर्छन्। तथापि, पुरातन प्रमाणहरू केलाउँदा त्यतिबेलाका मानिसहरूले राज्यपाललाई पनि राजा भनेर सम्बोधन गर्ने गर्थे जस्तो देखिन्छ।
-