प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ११/१५ pp. ८-९
  • दानियलले परमेश्‍वरको निरन्तर सेवा गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दानियलले परमेश्‍वरको निरन्तर सेवा गरे
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कुटिल योजना
  • दानियल अटल रहन्छन्‌
  • हाम्रोलागि पाठ
  • सिंहको मुखबाट छुटकारा!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानिएल सिंहको खोरमा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • दानियल सिंहको खोरमा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ११/१५ pp. ८-९

तिनीहरूले यहोवाको इच्छा गरे

दानियलले परमेश्‍वरको निरन्तर सेवा गरे

रातारातै इतिहासले विरलै कोल्टो फेर्छ। यद्यपि, सा.यु.पू. ५३९ मा मादी र फारसीले केही घण्टामै बेबिलोनी साम्राज्यलाई परास्त गर्दा त्यसै भयो। त्यतिखेर यहोवाको भविष्यवक्‍ता यहूदी दानियलले बेबिलोनको निर्वासनमा लगभग ८० वर्ष बिताइसकेका थिए। सम्भवतः ९० वर्ष नाघिसकेका दानियलले परमेश्‍वरप्रतिको निष्ठाका ठूलठूला परीक्षाहरूमध्ये अर्को एउटा परीक्षा भोग्नै लागेका थिए।

बेबिलोनको पतनपछि सुरुमा त दानियललाई कुनै कठिनाइ परेजस्तो देखिंदैन। बासट्ठी वर्षीय नयाँ राजा, मादी दारा दानियललाई अनुग्रहको दृष्टिले हेर्थे। राजा भएपछि दाराले गरेका प्रथम कामहरूमध्ये १२० जना प्रान्तीय बडाहाकिमहरू नियुक्‍त गर्नु र तीन पुरुषहरूलाई पदोन्‍नति गरेर मुख्य मन्त्री बनाउनु थियो।a ती तीन अनुग्रहप्राप्त पुरुषहरूमध्ये दानियल पनि थिए। दानियलको असाधारण क्षमता देखेर दाराले तिनलाई प्रधानमन्त्रीको पद दिने विचारसमेत गरेका थिए! तथापि, त्यति नै खेर राजाको योजना अचानक परिवर्तन हुनेगरि केही भयो।

कुटिल योजना

दानियलका मुख्य सह-मन्त्रीहरूले प्रान्तीय बडाहाकिमहरूको ठूलो दलसित मिलेर राजासमक्ष एउटा षड्यन्त्रपूर्ण योजना प्रस्तुत गरे। तिनीहरूले राजा दारालाई यस्तो शर्तनामा उर्दी निकाल्न बिन्ती गरे: “तीस दिनभित्र हजूरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई बिन्ती-प्रार्थना गर्ने मानिस सिंहको खोरमा हालियोस्‌।” (दानियल ६:७) दारालाई यी पुरुषहरूले राजाप्रतिको वफादारी खुलेआम स्वीकारेको लागेको हुनसक्छ। विदेशी भए तापनि राज्यको प्रमुखको रूपमा आफ्नो स्थान बलियो गराउन यो व्यवस्थाले मदत गर्नेछ भन्‍ने तर्क पनि तिनले गरेका हुनसक्छन्‌।

तथापि, मुख्य मन्त्री तथा प्रान्तीय बडाहाकिमहरूले यो आदेशनामा राजाको खातिर निकाल्न लगाएका थिएनन्‌। तिनीहरूले “दानियलको राज्य-शासनको विरुद्धमा केही निहुँ खोज्नलागे। तर तिनी आफ्नो जिम्मावारीमा बेइमान नभएको हुँदा तिनीहरूले तिनको कर्त्तव्यमा वेपरवाही तथा बेइमानी नभेट्टाउँदा” ती कुटिल पुरुषहरूले यस्तो तर्क गरे: “तिनको धर्मको सम्बन्धमा बाहेक हामी यस दानियलको विरुद्धमा अरू कुनै आरोप लाउनसक्‍तैनौं।” (दानियल ६:४, ५) दानियलले दिनहुँ यहोवालाई प्रार्थना गर्ने कुरा थाह पाएर नै तिनीहरूले तिनको त्यस कार्यलाई मृत्युदण्ड पाउन लायक बनाउन खोजे।

शायद ती मुख्य मन्त्री तथा प्रान्तीय बडाहाकिमहरूले दानियलप्रतिको दुस्मनीलाई पोसेर राखेका थिए। किनभने तिनी “[उनीहरूभन्दा] श्रेष्ठ हुनाले राजाले तिनलाईनै सारा राज्यका शासक नियुक्‍त गर्ने विचार गरे।” (दानियल ६:३) दानियलको इमानदारीले गर्दा मनमानी भ्रष्टाचारी र घूसखोरी गर्न बाधा पुऱ्‍याएको थियो। जेसुकै होस्‌, यी पुरुषहरूले राजालाई उक्‍त आदेशनामामा सही छाप लगाउन राजी तुल्याएर ‘मादी फारसीहरूको स्थायी कानून’ बनाउन लगाए।—दानियल ६:८, ९.

दानियल अटल रहन्छन्‌

यो नयाँ ऐनबारे थाह पाएपछि के दानियलले यहोवालाई प्रार्थना गर्न छोडे? कदापि छोडेनन्‌! “आदतअनुसार” घर गएर छानामा घुँडा टेकेर तिनले परमेश्‍वरलाई दिनमा तीन पटक प्रार्थना गरे। (दानियल ६:१०) “मौका हेरिरहेका” तिनका शत्रुहरूले “दानियलले आफ्नो परमेश्‍वरलाई बिन्ती-प्रार्थना गरिरहेका भेट्टाए।” (दानियल ६:११) अनि उनीहरूले यो कुरा राजालाई सुनाउँदा आफूले सही छाप लगाएको व्यवस्थाले गर्दा दानियल फसेको देखेर दारा दुःखित भए। “तिनी सूर्यास्त सम्मै तिनलाई बचाउने युक्‍तिमा लागिरहे” भनी विवरणले हामीलाई बताउँछ तर राजा स्वयंले पनि आफूले बनाएको व्यवस्था रद्द गर्न सक्दैनन्‌ थिए। त्यसकारण दानियल सिंहको खोरमा लगिए जुन स्पष्टतः खाडल वा जमीनमुनि रहेको ठाउँ थियो। “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई बचाऊन्‌,” राजाले यसो भनेर दानियललाई आश्‍वासन दिए।—दानियल ६:१२-१६.

रातभर जाग्राम र उपवास बसेका दारा बिहान हुनेबित्तिकै खोरतिर दगुरे। दानियल जीवितै थिए र तिनलाई कुनै हानि भएको थिएन! तुरुन्तै राजाले प्रतिक्रिया जनाइहाले। तिनले दानियलका शत्रुहरू र तिनीहरूको परिवारलाई सिंहको खोरमा खसाल्ने दण्ड दिए। अनि आफ्नो राज्यभरि दाराले यस्तो ऐन निकाले: “मेरो साम्राज्यभरि मानिसहरूले दानियलका परमेश्‍वरको भय मानून र उहाँलाईनै श्रद्धा देऊन्‌।”—दानियल ६:१७-२७.

हाम्रोलागि पाठ

दानियल विश्‍वासीलोपनका एक असल उदाहरण थिए। यहोवाको उपासना नगर्ने राजाले समेत दानियलले परमेश्‍वरलाई “निरन्तर” सेवा गरेको देखे। (दानियल ६:१६, २०) “निरन्तर” भनेर अनुवाद गरिएको मूल अरामी शब्दको खास अर्थ “घेरामा परिक्रमा गर्नु” हुन्छ। यसले क्रमिकतालाई संकेत गर्छ। यसले यहोवाप्रति दानियलको अटुट निष्ठाको कत्ति राम्रो वर्णन गर्छ!

दानियलले आफूलाई सिंहको खोरमा फालिनुभन्दा धेरैअघिदेखि नै निरन्तरताको आदर्श कायम गरेका थिए। बेबिलोनको कैदमा जवानै छँदा पनि उनले मोशालाई दिइएको व्यवस्थाद्वारा निषेधित अथवा मूर्तिपूजक धार्मिक विधिले अशुद्ध पारिएको भोजन वा पेय पदार्थ लिन इन्कार गरे। (दानियल १:८) पछि उनले बेबिलोनी राजा नबूकदनेसरलाई परमेश्‍वरको सन्देश निर्भयसाथ घोषणा गरेका थिए। (दानियल ४:१९-२५) बेबिलोनको पतन हुनुभन्दा केही घण्टाअघि मात्र पनि दानियलले निडर भई राजा बेलसजरमाथि परमेश्‍वरले ल्याउन लाग्नुभएको न्यायदण्डबारे उद्‌घोषणा गरेका थिए। (दानियल ५:२२-२८) अतः सिंहको खोरमा पर्दा दानियलले आफ्नो स्थापित विश्‍वासलाई कायमै राखे।

तपाईं पनि यहोवालाई निरन्तर सेवा गर्न सक्नुहुन्छ। के तपाईं जवानै हुनुहुन्छ? त्यसोभए यो संसारको खराब संगति र भ्रष्ट आचरणलाई तिरस्कार गर्दै अहिल्यै निरन्तरताको आदर्श विकास गरिहाल्नुहोस्‌। परमेश्‍वरलाई सेवा गरेको केही समय भइसकेको छ भने, विश्‍वासी भई धीरजी हुने आदर्शलाई कायम राख्नुहोस्‌। हार नमान्‍नुहोस्‌। किनकि हामीले सामना गर्ने हरेक परीक्षाद्वारा हामीले यहोवाको निरन्तर सेवा गर्ने निधो गरेका छौं भनी उहाँलाई देखाउने अवसर प्राप्त गर्नेछौं।—फिलिप्पी ४:११-१३.

[फुटनोट]

a “प्रान्तीय बडाहाकिम” शब्दले (शाब्दिक अर्थमा “राज्यका रक्षकहरू”) फारसी राजाले कुनै क्षेत्रमा शासन गर्न प्रदेशपालको रूपमा नियुक्‍त गरेको व्यक्‍तिलाई संकेत गर्छ। राजाको आधिकारिक प्रतिनिधिको हैसियतमा तिनले कर असुल गर्थे र उक्‍त कर राजदरवारमा सुम्पन्थे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने