-
परमेश्वरको राज्य के हो?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
बाइबलको मुख्य विषय परमेश्वरको राज्य हो। यहोवाले त्यही राज्यमार्फत पृथ्वीको लागि सुरुमा राख्नुभएको उद्देश्य पूरा गर्नुहुनेछ। यो राज्य के हो? यस राज्यले अहिले शासन गर्दै छ भनेर हामी कसरी थाह पाउन सक्छौँ? यस राज्यले अहिलेसम्म के-कस्ता काम पूरा गरिसकेको छ? अनि यसले भविष्यमा के गर्नेछ? यस पाठ र यसपछिका दुइटा पाठले यी प्रश्नहरूको जवाफ दिनेछ।
१. परमेश्वरको राज्य के हो? यसको राजा को हुनुहुन्छ?
यो राज्य यहोवा परमेश्वरले स्थापना गर्नुभएको सरकार हो। यसको राजा येसुले स्वर्गबाट शासन गर्नुहुनेछ। (मत्ति ४:१७; युहन्ना १८:३६) येसुले “राजाको रूपमा . . . सधैँभरि शासन गर्नुहुनेछ” भनेर बाइबलमा बताइएको छ। (लुका १:३२, ३३) परमेश्वरको राज्यको राजाको रूपमा उहाँले पृथ्वीका सबै मानिसमाथि शासन गर्नुहुनेछ।
२. येसुसँगै क-कसले शासन गर्छन्?
येसुले एक्लै शासन गर्नुहुन्न। ‘हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्।’ (प्रकाश ५:९, १०) ख्रिष्टसँगै कति जनाले शासन गर्नेछन्? येसु पृथ्वीमा आउनुभएदेखि यता लाखौँ मानिस उहाँका चेला बनेका छन्। तर उहाँसँगै शासन गर्न तिनीहरूमध्ये १ लाख ४४ हजार मात्र स्वर्ग जान्छन्। (प्रकाश १४:१-४ पढ्नुहोस्।) बाँकीचाहिँ पृथ्वीमा परमेश्वरको राज्यको प्रजा हुनेछन्।—भजन ३७:२९.
३. परमेश्वरको राज्य कसरी मानव सरकारहरूभन्दा उत्कृष्ट छ?
हुनत कुनै-कुनै मानव शासकले असल कामहरू गर्न कोसिस गर्छन् तर आफूले चाहेको सबै काम गर्ने शक्ति तिनीहरूसित छैन। तिनीहरूले सधैँभरि शासन गर्न सक्दैनन्। तिनीहरूपछिका शासकहरू स्वार्थी हुन सक्छन् र जनताको हित हुने काम नगर्न सक्छन्। तर परमेश्वरको राज्यको शासक येसुलाई कसैले पनि कहिल्यै हटाउन सक्नेछैन। हो, ‘परमेश्वरले एउटा राज्य खडा गर्नुभएको छ, जुन कहिल्यै नाश हुनेछैन।’ (दानिएल २:४४) येसुले पूरै पृथ्वीमाथि शासन गर्नुहुनेछ र कसैलाई पक्षपात गर्नुहुनेछैन। उहाँ मायालु, दयालु र न्यायी हुनुहुन्छ। त्यसैले उहाँले मानिसहरूलाई पनि एकअर्कासित त्यस्तै व्यवहार गर्न सिकाउनुहुनेछ।—यसैया ११:९ पढ्नुहोस्।
अझ खोतल्नुहोस्
परमेश्वरको राज्य कुनै पनि मानव सरकारभन्दा किन उत्कृष्ट छ, विचार गर्नुहोस्।
४. एउटा शक्तिशाली सरकारले पूरै पृथ्वीमाथि शासन गर्नेछ
अहिलेसम्मका कुनै पनि शासकसित भन्दा येसु ख्रिष्टसित धेरै शक्ति छ। मत्ति २८:१८ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
कुनै पनि मानव शासकले पाएको अख्तियारभन्दा येसुले पाउनुभएको अख्तियार कसरी उत्कृष्ट छ?
मानव सरकारहरू अक्सर परिवर्तन भइरहन्छन् अनि प्रत्येक सरकारले पृथ्वीको कुनै एउटा भागमा मात्र शासन गर्छ। परमेश्वरको राज्यले नि? दानिएल ७:१४ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
परमेश्वरको ‘राज्य कहिल्यै नाश नहुनु’ किन राम्रो कुरा हो?
यसले पूरै पृथ्वीमाथि शासन गर्नु किन राम्रो कुरा हो?
५. मानव शासनको अन्त हुनै पर्छ
परमेश्वरको राज्यले किन मानव सरकारहरूलाई हटाउनुपर्छ? भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
मानव शासनको नतिजा कस्तो भएको छ?
उपदेशक ८:९ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
के तपाईँलाई परमेश्वरको राज्यले मानव सरकारहरूलाई हटाउनुपर्छ जस्तो लाग्छ? किन?
६. परमेश्वरको राज्यका शासकहरूले हाम्रो भावना बुझ्नुहुन्छ
हाम्रो राजा येसुले मानिसको रूपमा जीवन बिताउनुभएकोले उहाँले “हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन” सक्नुहुन्छ। (हिब्रू ४:१५) येसुसँगै शासन गर्ने १ लाख ४४ हजार वफादार पुरुष र स्त्रीलाई यहोवाले “हरेक कुल, भाषा, जाति र राष्ट्र”-बाट छान्नुभएको छ।—प्रकाश ५:९.
के तपाईँ येसु र उहाँका सबै सहशासकले मानिसको रूपमा जीवन बिताएका छन् भन्ने कुरा थाह पाउँदा ढुक्क महसुस गर्नुहुन्छ? किन?
येसुसँगै शासन गर्न यहोवाले विभिन्न पृष्ठभूमिका पुरुष र स्त्रीलाई छान्नुभएको छ
७. परमेश्वरको राज्यका नियमकानुन उत्कृष्ट छन्
मानव सरकारहरूले आफ्ना नागरिकहरूको हित र सुरक्षा गर्ने उद्देश्यले नियमकानुन बनाउँछन्। परमेश्वरको राज्यका पनि नियमकानुन छन् र यसका नागरिकहरूले ती पालन गर्नुपर्छ। पहिलो कोरिन्थी ६:९-११ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
तपाईँको विचारमा सबैले आचरणसम्बन्धी परमेश्वरका नियमहरू पालन गर्दा संसार कस्तो होला?a
के तपाईँको विचारमा यहोवाले आफ्नो राज्यका नागरिकहरूले यी नियमहरू पालन गरेको चाहनु व्यावहारिक हो? किन?
अहिले यी नियमहरू पालन नगर्ने मानिसहरू पनि परिवर्तन हुन सक्छन् भनेर कुन कुराले देखाउँछ?—पद ११ हेर्नुहोस्।
मानव सरकारहरूले आफ्ना नागरिकहरूको हित र सुरक्षाको लागि नियमकानुन बनाउँछन्। परमेश्वरको राज्यले आफ्ना नागरिकहरूको लागि बनाएका नियमकानुन अझ उत्कृष्ट छन्
कसै-कसैले सोध्लान्: “परमेश्वरको राज्य के हो?”
तपाईँ कस्तो जवाफ दिनुहुन्छ?
सारांश
परमेश्वरको राज्य स्वर्गमा भएको एउटा वास्तविक सरकार हो र यसले पूरै पृथ्वीमाथि शासन गर्नेछ।
तपाईँले के सिक्नुभयो?
परमेश्वरको राज्यमा क-कसले शासन गर्नुहुनेछ?
कुनै पनि मानव सरकारभन्दा परमेश्वरको राज्य कसरी उत्कृष्ट छ?
यहोवा आफ्नो राज्यका नागरिकहरूले के-के गरेको चाहनुहुन्छ?
अझ धेरै जान्नुहोस्
परमेश्वरको राज्य कहाँ छ भन्ने विषयमा येसुले सिकाउनुभएको कुरा बुझ्नुहोस्।
“के परमेश्वरको राज्य तपाईँको हृदयमा हुने कुरा हो?” (jw.org को लेख)
यहोवाका साक्षीहरू किन मानव शासनभन्दा परमेश्वरको राज्यप्रति वफादार रहने छनौट गर्छन्?
येसुसँगै शासन गर्न यहोवाले छान्नुभएको १ लाख ४४ हजारबारे बाइबलले के भन्छ, थाह पाउनुहोस्।
परमेश्वरले मात्र यस संसारबाट अन्याय हटाउन सक्नुहुन्छ भन्ने कुरामा एउटी स्त्री कसरी विश्वस्त हुन सकिन्?
“परमेश्वरले मात्र अन्याय हटाउन सक्नुहुन्छ भनेर बल्ल बुझेँ” (ब्यूँझनुहोस्!, नोभेम्बर २०११)
-
-
परमेश्वरको राज्यले के गर्नेछ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
परमेश्वरको राज्यले शासन गर्न थालिसकेको छ। चाँडै यसले पृथ्वीमा ठूलठूला परिवर्तनहरू गर्नेछ। आउनुहोस्, परमेश्वरको राज्यले पृथ्वीमा शासन गर्न थाल्दा तपाईँले अनुभव गर्न सक्ने केही राम्रा कुराहरूबारे छलफल गरौँ।
१. परमेश्वरको राज्यले पृथ्वीमा शान्ति र न्याय कसरी ल्याउनेछ?
परमेश्वरको राज्यको राजा येसुले आरमागेडोनको युद्धमा दुष्ट मानिसहरू र सरकारहरूलाई नाश गर्नुहुनेछ। (प्रकाश १६:१४, १६) त्यतिबेला बाइबलको यो प्रतिज्ञा पूरा हुनेछ: “अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ।” (भजन ३७:१०) येसुले त्यस राज्यमार्फत पूरै पृथ्वीमा शान्ति र न्याय ल्याउनुहुनेछ।—यसैया ११:४ पढ्नुहोस्।
२. परमेश्वरको इच्छा पृथ्वीमा पूरा हुँदा हाम्रो जीवन कस्तो हुनेछ?
परमेश्वरको राज्यको शासनमा “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन् र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्।” (भजन ३७:२९) धर्मी मानिसहरू मात्र हुने र सबैले एकअर्कालाई प्रेम गर्ने संसारमा जीवन कस्तो होला, कल्पना गर्नुहोस् त! कोही पनि बिरामी हुनेछैन र सबै जना सधैँभरि बाँच्नेछन्।
३. दुष्टहरू नाश भएपछि परमेश्वरको राज्यले के गर्नेछ?
दुष्टहरू नाश भएपछि येसुले राजाको रूपमा एक हजार वर्ष शासन गर्नुहुनेछ। त्यस दौडान उहाँ र उहाँका १ लाख ४४ हजार सहशासकले पृथ्वीका मानिसहरूलाई त्रुटिरहित र पापरहित हुन मदत गर्नुहुनेछ। हजार वर्षको अन्तमा पूरै पृथ्वी सुन्दर बगैँचा बनाइसकिएको हुनेछ। साथै सबै मानिसले नियमकानुन पालन गर्ने भएकोले तिनीहरू खुसी हुनेछन्। त्यसपछि येसुले त्यो राज्य आफ्नो बुबा यहोवालाई सुम्पनुहुनेछ। त्यतिबेला पहिला कहिल्यै नभएको तरिकामा यहोवाको “नाम पवित्र [पारिनेछ]।” (मत्ति ६:९, १०) साथै यहोवा आफ्नो प्रजाको ख्याल राख्नुहुने असल शासक हुनुहुन्छ भनेर प्रमाणित भइसकेको हुनेछ। त्यसपछि यहोवाले सैतान, प्रेतहरू र उहाँको शासनविरुद्ध खडा हुन छनौट गर्नेजति सबैलाई नाश गर्नुहुनेछ। (प्रकाश २०:७-१०) परमेश्वरको राज्यले गर्ने यी सबै असल काम सधैँभरि रहनेछन्।
अझ खोतल्नुहोस्
भविष्यको लागि बाइबलमा गरिएका सबै प्रतिज्ञा परमेश्वरले आफ्नो राज्यमार्फत पूरा गर्नुहुनेछ भनेर हामी किन विश्वास गर्न सक्छौँ, विचार गर्नुहोस्।
४. परमेश्वरको राज्यले मानव सरकारहरूलाई हटाउनेछ
“एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्याइरहेको” छ। (उपदेशक ८:९) यस्तो अन्यायले गर्दा भएको हानिलाई यहोवाले आफ्नो राज्यमार्फत सच्याउनुहुनेछ।
दानिएल २:४४ र २ थिस्सलोनिकी १:६-८ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यहोवा र उहाँको छोरा येसुले मानव सरकारहरू र तिनीहरूका समर्थकहरूलाई के गर्नुहुनेछ?
तपाईँले यहोवा र येसुबारे सिकेको कुराबाट उहाँहरूका कामहरू न्यायी र निष्पक्ष हुनेछन् भनेर किन पक्का हुन सक्नुहुन्छ?
५. येसु सबैभन्दा उत्कृष्ट राजा हुनुहुन्छ
परमेश्वरको राज्यको राजाको रूपमा येसुले पृथ्वीका मानिसहरूलाई थुप्रै तरिकामा मदत गर्नुहुनेछ। येसुसित मानिसहरूलाई मदत गर्ने इच्छा र परमेश्वरबाट पाएको शक्ति छ भनेर उहाँले कसरी देखाइसक्नुभएको छ? यसको जवाफ पाउन भिडियो हेर्नुहोस्।
परमेश्वरको राज्यले के गर्नेछ भन्ने कुराको नमुना येसुले पृथ्वीमा हुनुहुँदा देखाउनुभयो। यहाँ दिइएका प्रतिज्ञाहरूमध्ये तपाईँ कुनचाहिँ पूरा भएको हेर्न तीव्र इच्छा गर्दै हुनुहुन्छ? यी प्रतिज्ञाहरूबारे बताउने बाइबल पदहरू पढ्नुहोस्:
येसुले पृथ्वीमा हुनुहुँदा . . .
येसुले स्वर्गबाट . . .
मौसमलाई नियन्त्रणमा राख्नुभयो।—मर्कुस ४:३६-४१.
पृथ्वीको वातावरणसम्बन्धी समस्याहरू समाधान गर्नुहुनेछ।—यसैया ३५:१, २.
चमत्कार गरेर हजारौँलाई खुवाउनुभयो।—मत्ति १४:१७-२१.
पृथ्वीबाट भोकमरी हटाउनुहुनेछ।—भजन ७२:१६.
थुप्रै बिरामीलाई निको पार्नुभयो।—लुका १८:३५-४३.
सबैलाई सुस्वास्थ्य दिनुहुनेछ।—यसैया ३३:२४.
मरेका मानिसहरूलाई जीवित पार्नुभयो। —लुका ८:४९-५५.
मरेका मानिसहरूलाई ब्युँताउनुहुनेछ र मृत्युलाई नामेट पार्नुहुनेछ। —प्रकाश २१:३, ४.
६. परमेश्वरको राज्यले सुन्दर भविष्य दिनेछ
यहोवाले मानिसहरूको लागि राख्नुभएको सुरुको उद्देश्य उहाँको राज्यले पूरा गर्नेछ। पूरै पृथ्वी सुन्दर बगैँचा बनाइनेछ र मानिसहरू त्यहाँ सधैँभरि बाँच्नेछन्। यहोवाले आफ्नो छोरा येसुमार्फत कसरी आफ्नो उद्देश्य पूरा गरिरहनुभएको छ? यसको जवाफ पाउन भिडियो हेर्नुहोस्।
भजन १४५:१६ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवाले “सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ” भनेर थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?
कोही-कोही भन्छन्: “हामी एकजुट भयौँ भने संसारका समस्याहरू समाधान गर्न सक्छौँ।”
मानव सरकारहरूले समाधान गर्न नसकेका कस्ता समस्याहरू परमेश्वरको राज्यले समाधान गर्नेछ?
सारांश
यहोवाको राज्यले उहाँको उद्देश्य पूरा गर्नेछ। यसले पूरै पृथ्वीलाई सुन्दर बगैँचा बनाउनेछ। त्यहाँ असल मानिसहरू बस्नेछन्, जसले सधैँभरि यहोवाको उपासना गर्नेछन्।
तपाईँले के सिक्नुभयो?
परमेश्वरको राज्यले कसरी यहोवाको नामलाई पवित्र पार्नेछ?
बाइबलमा गरिएका प्रतिज्ञाहरू परमेश्वरको राज्यले पूरा गर्नेछ भनेर हामी किन विश्वास गर्न सक्छौँ?
परमेश्वरको राज्यले कुनचाहिँ प्रतिज्ञा पूरा गरेको हेर्न तपाईँ तीव्र इच्छा गर्दै हुनुहुन्छ?
अझ धेरै जान्नुहोस्
आरमागेडोन के हो, थाह पाउनुहोस्।
येसुले बताउनुभएको “महासङ्कष्ट”-को दौडान र त्यसको अन्तमा के-के हुनेछ, बुझ्नुहोस्।—मत्ति २४:२१
परमेश्वरको राज्यले भविष्यमा ल्याउने आशिष्हरूबाट तपाईँको पूरै परिवारले लाभ उठाएको कल्पना गर्नुहोस्।
आफ्नो देशको सरकारको विद्रोह गर्ने एक जना व्यक्तिले कसरी मनमा उब्जिएका प्रश्नहरूको जवाफ पाए भनेर थाह पाउन “मेरो मनमा थुप्रै प्रश्न खेलिरहेका थिए” लेख पढ्नुहोस्।
“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, जनवरी १, २०१२)
-