प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 अक्टोबर pp. १२-१७
  • “आनन्दित हुन्‌ ती मानिसहरू, जो निष्ठावान्‌ छन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आनन्दित हुन्‌ ती मानिसहरू, जो निष्ठावान्‌ छन्‌”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो लागि उदाहरण
  • “उच्च अख्तियारवालाहरू”
  • “सर्वोच्च परमेश्‍वर”
  • निर्णायक लडाइँ
  • हामी निष्ठावान्‌ रहनै पर्छ
  • उच्च अख्तियारवालाहरू प्रति मसीही दृष्टिकोण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • के तपाईं आफ्नो सत्यनिष्ठामा अडिग रहनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • तपाईं किन सत्यनिष्ठ हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • परमेश्‍वर र सिजर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 अक्टोबर pp. १२-१७

अध्ययन लेख ४२

“आनन्दित हुन्‌ ती मानिसहरू, जो निष्ठावान्‌ छन्‌”

“आनन्दित हुन्‌ ती मानिसहरू, जो निष्ठावान्‌ छन्‌, जो यहोवाको व्यवस्थाअनुसार चल्दछन्‌।”—भज. ११९:१, फुटनोट।

गीत १२४ सधैँ वफादार रहौँ!

परिचयa

मुस्कुराइरहेका भाइबहिनी, जसलाई आफ्नो विश्‍वासको कारण झ्यालखानामा हालिएको थियो; तिनीहरूमध्ये केही अझै पनि झ्यालखानामा छन्‌।

हाम्रा केही साहसी भाइबहिनी, जसलाई यहोवाको सार्वभौमिकतालाई समर्थन गरेकोले झ्यालखानामा हालिएको थियो; तिनीहरूमध्ये केही अझै पनि झ्यालखानामा छन्‌ (अनुच्छेद १-२ हेर्नुहोस्‌)

१-२. (क) केही सरकारले साक्षीहरूलाई कसरी खेदो गरेका छन्‌ तर साक्षीहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌? (ख) खेदो भोग्नुपरे पनि हामी किन खुसी हुन सक्छौँ? (आवरण तस्बिरको व्याख्या पनि गर्नुहोस्‌।)

अहिले संसारभरका ३० भन्दा धेरै देशमा हाम्रो काममाथि कडिकडाउ गरिएको छ वा प्रतिबन्ध लगाइएको छ। केही देशमा अख्तियारवालाहरूले हाम्रा भाइबहिनीलाई झ्यालखानामा हालेका छन्‌। तिनीहरूको अपराध के थियो? यहोवाको नजरमा त तिनीहरूले कुनै गल्ती गरेका थिएनन्‌। तिनीहरूले केवल बाइबल पढे, आफ्नो विश्‍वासबारे अरूलाई बताए र सङ्‌गी भाइबहिनीसँगै सभामा उपस्थित भए। साथै तिनीहरूले राजनैतिक मामिलामा कसैको पनि पक्ष लिएनन्‌। खेदो भोग्नुपरे तापनि यी वफादार भाइबहिनी निष्ठावान्‌b रहेका छन्‌। यसरी निष्ठा कायम गर्न सकेकोमा तिनीहरू खुसी छन्‌।

२ यस्ता साहसी साक्षीहरूको तस्बिर हेर्दा तपाईँले तिनीहरूको हँसिलो अनुहार याद गर्नुभएको छ होला। तिनीहरू आनन्दित छन्‌ किनभने यहोवाप्रति निष्ठा कायम राखेकोले उहाँ तिनीहरूसित खुसी हुनुहुन्छ भनेर तिनीहरूलाई थाह छ। (१ इति. २९:१७क) येसुले यसो भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन्‌। . . . रमाओ र खुसीयाली मनाओ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ।”—मत्ति ५:१०-१२.

हाम्रो लागि उदाहरण

चित्रहरूको सँगालो: १. प्रेषित पत्रुस र युहन्‍ना न्यायपरिषद्‌सामु आफ्नो विश्‍वासको पक्षमा बोल्दै छन्‌। २. एक भाइ अदालतमा आफ्नो विश्‍वासको पक्षमा बोल्दै छन्‌।

अदालतमा आफ्नो विश्‍वासको पक्षमा बोल्नुपर्ने ख्रिष्टियनहरूको लागि पत्रुस र युहन्‍नाले राम्रो उदाहरण बसाले (अनुच्छेद ३-४ हेर्नुहोस्‌)

३. प्रेषित ४:१९, २० अनुसार खेदो आइपर्दा प्रेषितहरूले के गरे र किन?

३ प्रथम शताब्दीका प्रेषितहरूले पनि येसुबारे साक्षी दिएकोले खेदो भोग्नुपरेको थियो। यहुदी न्यायपरिषद्‌का न्यायाधीशहरूले तिनीहरूलाई बारम्बार “येसुको नाममा बोल्दै नबोल्नू” भन्‍ने आदेश दिएका थिए। (प्रेषि. ४:१८; ५:२७, २८, ४०) प्रेषितहरूले के गरे? (प्रेषित ४:१९, २० पढ्‌नुहोस्‌।) ती न्यायाधीशहरूको भन्दा अझ धेरै अख्तियार भएको एक जना व्यक्‍तिले येसुबारे “मानिसहरूलाई प्रचार गर्न र राम्ररी साक्षी दिन” आदेश दिनुभएको छ भनेर तिनीहरूलाई थाह थियो। (प्रेषि. १०:४२) त्यसैले प्रेषितहरूको प्रतिनिधित्व गर्दै पत्रुस र युहन्‍नाले ती न्यायाधीशहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नेछौँ र येसुको नाममा बोल्न छोड्‌नेछैनौँ भनेर निडर भई बताए। एक अर्थमा तिनीहरूले यसो भनिरहेका थिए: ‘परमेश्‍वरको भन्दा आफ्नो आदेश ठूलो हो भन्‍ने तपाईँहरूको यत्रो आँट?’

४. प्रेषित ५:२७-२९ अनुसार प्रेषितहरूले कस्तो उदाहरण बसाले र हामी कसरी तिनीहरूको अनुकरण गर्न सक्छौँ?

४ प्रेषितहरूले ‘मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍ने’ सङ्‌कल्प गरेका थिए। (प्रेषित ५:२७-२९ पढ्‌नुहोस्‌।) आज पनि साँचो ख्रिष्टियनहरूले तिनीहरूको उदाहरण पछ्याइरहेका छन्‌। निष्ठा कायम गरेकोले प्रेषितहरूलाई पिटियो तर तिनीहरू “[येसुको] नाममा अपमान सहन योग्य ठहरिएकोमा रमाउँदै” यहुदी न्यायपरिषद्‌को सामुन्‍नेबाट निस्केर गए अनि तुरुन्तै सुसमाचार सुनाउने काममा लागे।—प्रेषि. ५:४०-४२.

५. हाम्रो मनमा कस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌?

५ प्रेषितहरूको उदाहरण विचार गर्दा हाम्रो मनमा केही प्रश्‍न उठ्‌न सक्छन्‌। जस्तै, मानिसको भन्दा परमेश्‍वरको आज्ञा मान्‍ने तिनीहरूको निर्णय “उच्च अख्तियारवालाहरूको अधीनमा रह” भन्‍ने आज्ञासित बाझिँदैन र? (रोमी १३:१) हामी कसरी “सरकार र अख्तियारवालाहरूको अधीनमा” बस्दै सर्वोच्च शासक यहोवाप्रति पनि निष्ठा कायम गर्न सक्छौँ?—ति. ३:१.

“उच्च अख्तियारवालाहरू”

६. (क) रोमी १३:१ मा बताइएको “उच्च अख्तियारवालाहरू” को हुन्‌ र तिनीहरूको अधीनमा बसेको हामी कसरी देखाउन सक्छौँ? (ख) मानव शासकहरूको अख्तियारबारे हामी के भन्‍न सक्छौँ?

६ रोमी १३:१ पढ्‌नुहोस्‌। यस पदमा चलाइएको “उच्च अख्तियारवालाहरू” भन्‍ने अभिव्यक्‍तिले अरूलाई आफ्नो अधीनमा राख्ने शक्‍ति भएको मानव शासकहरूलाई बुझाउँछ। हामी ख्रिष्टियनहरू पनि अख्तियारवालाहरूको अधीनमा बस्नुपर्छ किनकि तिनीहरूले शान्ति र सुव्यवस्था कायम गर्छन्‌, नियमकानुन कार्यान्वयन गर्छन्‌ र कहिलेकाहीँ त यहोवाका सेवकहरूको सुरक्षा पनि गर्छन्‌। (प्रका. १२:१६) त्यसैले हामीले मानव सरकारहरूलाई कर र तिरो तिर्नुपर्छ, तिनीहरूको डर मान्‍नुपर्छ र आदर गर्नुपर्छ। (रोमी १३:७) तर यहोवाले अनुमति दिनुभएकोले मात्र तिनीहरूसित त्यस्तो अख्तियार भएको हो। रोमी राज्यपाल पन्तियस पिलातसले येसुलाई केरकार गर्दा उहाँले यो कुरा प्रस्ट पार्नुभयो। पिलातसले आफूसित येसुलाई मुक्‍त गर्ने र मार्ने अख्तियार छ भनेर बताउँदा उहाँले यसो भन्‍नुभयो: “यदि परमेश्‍वरले तपाईँलाई नदिनुभएको भए ममाथि तपाईँको कुनै अख्तियार हुने थिएन।” (युह. १९:११) आजका मानव शासकहरू र नेताहरूको अख्तियार पनि पिलातसको जस्तै सीमित छ।

७. हामी कस्तो अवस्थामा मानव शासकहरूको आज्ञा पालन गर्दैनौँ र तिनीहरूले कुन कुरा मनमा राख्नुपर्छ?

७ मानव सरकारले बनाएको कुनै नियम परमेश्‍वरको आज्ञासित बाझिँदैन भने ख्रिष्टियनहरू त्यो नियम पालन गर्छन्‌। तर तिनीहरूले परमेश्‍वरको इच्छाविपरीत काम गर्न लगाउँदा वा उहाँको इच्छाअनुसार गर्नदेखि रोक्न खोज्दा हामी तिनीहरूको आज्ञा पालन गर्दैनौँ। उदाहरणको लागि, सरकारले युवाहरूलाई देशको सुरक्षाको खातिर सेनामा भर्ती हुनुपर्ने नियम बनाउन सक्छ।c अथवा नयाँ संसार अनुवाद बाइबल, हाम्रा प्रकाशनहरू, साक्षीकार्य र हाम्रो उपासनामाथि प्रतिबन्ध लगाउन सक्छ। यसरी अख्तियारवालाहरूले ख्रिष्टका चेलाहरूको खेदो गरेर अख्तियारको दुरुपयोग गर्दा तिनीहरूले परमेश्‍वरलाई त्यसको लेखा दिनुपर्नेछ। किनकि यस्तो अत्याचार यहोवाको नजरबाट लुकेको छैन।—उप. ५:८.

८. “उच्च” र “सर्वोच्च”-बीच कस्तो भिन्‍नता छ र यो भिन्‍नता बुझ्नु किन जरुरी छ?

८ “उच्च” भन्‍ने शब्दले “उत्तम, उत्कृष्ट, माथिल्लो श्रेणी” भन्‍ने अर्थ दिन्छ। तर यसले “सर्वोत्तम, सर्वोत्कृष्ट, सबैभन्दा माथिल्लो श्रेणी” भन्‍ने अर्थचाहिँ दिँदैन। बरु यस्तो अर्थ दिने अर्कै शब्द छ। त्यो हो, “सर्वोच्च।” मानव सरकारहरूलाई “उच्च अख्तियारवालाहरू” भनिएको छ। तर सबैभन्दा माथिल्लो श्रेणीको अर्थात्‌ सर्वोच्च अख्तियार भएको एक जना मात्र हुनुहुन्छ। बाइबलमा यहोवालाई थुप्रै पटक “सर्वोच्च परमेश्‍वर” भनिएको छ।—दानि. ७:१८, २२, २५, २७.

“सर्वोच्च परमेश्‍वर”

९. भविष्यवक्‍ता दानिएलले दर्शनहरूमा के देखे?

९ भविष्यवक्‍ता दानिएलले देखेका दर्शनहरूबाट अरू सबै अख्तियारको तुलनामा यहोवाको अख्तियार सबैभन्दा ठूलो छ भनेर प्रस्ट हुन्छ। तिनले सुरुमा चार वटा बडेमाका जनावरहरू देखे, जसले विगतका विश्‍वशक्‍तिहरू बेबिलोन, मादी-फारस, ग्रीस र रोम अनि अहिलेको विश्‍वशक्‍ति एङ्‌ग्लो-अमेरिकालाई चित्रण गर्छ। (दानि. ७:१-३, १७) त्यसपछि तिनले यहोवा स्वर्गीय अदालतमा विराजमान हुनुभएको देखे। (दानि. ७:९, १०) यी वफादार भविष्यवक्‍ताले त्यसपछि देखेको कुरा आजका शासकहरूको लागि चेतावनी हो।

१०. दानिएल ७:१३, १४, २७ अनुसार यहोवाले शासन गर्ने अधिकार कसलाई दिनुहुनेछ र यसले कुन कुरा प्रमाणित गर्छ?

१० दानिएल ७:१३, १४, २७ पढ्‌नुहोस्‌। परमेश्‍वरले मानव सरकारहरूबाट शासन गर्ने अधिकार खोस्नुहुनेछ र त्यो अझै योग्य र शक्‍तिशाली व्यक्‍तिहरूलाई दिनुहुनेछ। ती व्यक्‍तिहरू को हुन्‌? “मानिसको छोराजस्तै कोही” अर्थात्‌ येसु र “सर्वोच्च परमेश्‍वरका पवित्र जनहरू” अर्थात्‌ १ लाख ४४ हजार अभिषिक्‍त जन। उहाँहरूले “सदासर्वदाको लागि” शासन गर्नुहुनेछ। (दानि. ७:१८) यहोवा नै “सर्वोच्च परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा प्रस्ट छ किनकि यस्तो कदम चाल्ने अख्तियार उहाँसित मात्र छ।

११. यहोवाको अख्तियार सबैभन्दा ठूलो छ भनेर देखाउने कस्तो कुरा दानिएलले बताए?

११ दानिएलले दर्शनमा देखेको यो कुरा तिनले पहिला भनेको कुरासित मेल खान्छ। तिनले यसो भनेका थिए: ‘स्वर्गका परमेश्‍वरले नै राजाहरूलाई हटाउनुहुन्छ अनि खडा गर्नुहुन्छ।’ तिनले यसो पनि भनेका थिए: “सर्वोच्च परमेश्‍वर नै मानिसजातिको शासक हुनुहुन्छ र शासन गर्ने अधिकार उहाँले जसलाई चाहनुहुन्छ, त्यसैलाई दिनुहुन्छ।” (दानि. २:१९-२१; ४:१७) के यहोवाले पहिला पनि राजाहरूलाई हटाउनुभएको वा खडा गर्नुभएको थियो? पक्कै थियो!

राजा बेलसजर र तिनका पाहुनाहरू अचम्म मान्दै एउटा हातले भित्तामा लेखेको हेर्दै छन्‌।

यहोवाले बेलसजरको राज्य खोसेर मादी र फारसलाई दिनुभयो (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. विगतमा यहोवाले राजाहरूलाई सिंहासनबाट हटाउनुभएको एउटा उदाहरण बताउनुहोस्‌। (चित्र हेर्नुहोस्‌।)

१२ यहोवाले “उच्च अख्तियारवालाहरू”-को भन्दा आफ्नो अख्तियार ठूलो छ भन्‍ने कुरा स्पष्टसित देखाउनुभएको छ। तीन वटा उदाहरण विचार गरौँ। मिश्रका फारोले परमेश्‍वरका जनहरूलाई दास बनाए अनि बारम्बार आग्रह गरिँदा पनि तिनीहरूलाई मिश्रबाट जान दिएनन्‌। तर परमेश्‍वरले तिनीहरूलाई दासत्वबाट छुटाउनुभयो अनि फारोलाई लाल समुद्रमा डुबाइदिनुभयो। (प्रस्थ. १४:२६-२८; भज. १३६:१५) बेबिलोनका राजा बेलसजरले एउटा ठूलो भोज लगाए र ‘स्वर्गका परमेश्‍वरको विरुद्धमा गएर आफैलाई माथि उचाले’ अनि यहोवाको नभई ‘सुन, चाँदीका देवताहरूको जयजयकार गरे।’ (दानि. ५:२२, २३) परमेश्‍वरले यी घमन्डी पुरुषलाई सजाय दिनुभयो। “त्यही रात” बेलसजर मारिए अनि तिनको राज्य मादी र फारसको हातमा दिइयो। (दानि. ५:२८, ३०, ३१) प्यालेस्टाइनका राजा हेरोद अग्रिपा प्रथमले प्रेषित याकुबलाई मार्न लगाए अनि प्रेषित पत्रुसलाई पनि मार्ने उद्देश्‍यले झ्यालखानामा हाले। तर यहोवाले उनको योजना विफल पारिदिनुभयो। “यहोवा परमेश्‍वरका स्वर्गदूतले उत्तिखेरै उनलाई प्रहार गरे” र उनी मरे।—प्रेषि. १२:१-५, २१-२३.

१३. यहोवाले शासकहरूको गठबन्धनलाई हराउनुभएको एउटा उदाहरण बताउनुहोस्‌।

१३ शासकहरूको गठबन्धन पनि यहोवाजत्तिको शक्‍तिशाली हुन सक्दैन। केही उदाहरण विचार गरौँ। इस्राएलविरुद्ध लड्‌न ३१ जना कनानी राजा एकजुट भएर आउँदा यहोवाले इस्राएलको तर्फबाट लड्‌नुभयो र तिनीहरूलाई नाश गर्नुभयो। अनि इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशको धेरैजसो भूभाग कब्जा गरे। (यहो. ११:४-६, २०; १२:१, ७, २४) त्यसैगरि इस्राएलविरुद्ध लड्‌न आएका राजा बेन-हदद र अरू ३२ जना सिरियाली शासकलाई पनि यहोवाले नाश गर्नुभयो।—१ राजा २०:१, २६-२९.

१४-१५. (क) राजा नबुकद्‌नेजर र दाराले यहोवाको सार्वभौमिकताबारे के भने? (ख) भजनरचयिताले यहोवा र उहाँका मानिसहरूबारे के भने?

१४ यहोवाले थुप्रै चोटि आफू सर्वोच्च परमेश्‍वर हुँ भनेर प्रमाणित गर्नुभएको छ। बेबिलोनका राजा नबुकद्‌नेजरले यहोवा मात्र प्रशंसा पाउन योग्य हुनुहुन्छ भन्‍ने कुरा नम्र भई स्विकार्नुको सट्टा आफ्नै ‘महिमा, ऐश्‍वर्य, शक्‍ति र पराक्रमको’ घमन्ड गरे। त्यसैले परमेश्‍वरले उनलाई बौलाहा बनाइदिनुभयो। तर होस फर्केपछि उनले ‘सदासर्वदा जीवित रहनुहुने परमेश्‍वरलाई प्रशंसा चढाए’ अनि “उहाँको शासन कहिल्यै अन्त हुँदैन” भन्‍ने कुरा स्विकारे। उनले यसो पनि भने: “उहाँलाई रोक्न सक्ने कोही पनि छैन।” (दानि. ४:३०, ३३-३५) दानिएलको निष्ठाको जाँच भएपछि र यहोवाले तिनलाई सिंहको मुखबाट जोगाउनुभएपछि राजा दाराले यस्तो उर्दी जारी गरे: “मानिसहरूले दानिएलका परमेश्‍वरको डर मानून्‌। किनकि उहाँ जीवित र सधैँभरि रहिरहने परमेश्‍वर हुनुहुन्छ। उहाँको राज्यको अन्त कहिल्यै हुँदैन अनि उहाँको सार्वभौमिकता सधैँ कायम रहन्छ।”—दानि. ६:७-१०, १९-२२, २६, २७, फुटनोट।

१५ भजनरचयिताले यस्तो लेखे: “यहोवाले राष्ट्रहरूका षड्‌यन्त्रहरूलाई विफल पारिदिनुभएको छ; उहाँले जातिजातिका योजनाहरूलाई बेकाम तुल्याइदिनुभएको छ।” तिनले यस्तो पनि लेखे: “आनन्दित हो त्यो जाति, जसको परमेश्‍वर यहोवा हुनुहुन्छ; ती मानिसहरू, जसलाई उहाँले आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ।” (भज. ३३:१०, १२) हामी यहोवाप्रति निष्ठावान्‌ हुनुपर्ने कत्ति राम्रो कारण!

निर्णायक लडाइँ

सेतो घोडामा सवार स्वर्गीय दलले हतियार भिरेका सैनिकहरूलाई आक्रमण गर्दै छ।

राष्ट्रहरूको गठबन्धन यहोवाको स्वर्गीय दलको बराबरीमा आउन सक्नेछैन (अनुच्छेद १६-१७ हेर्नुहोस्‌)

१६. हामी कुन कुरामा ढुक्क हुन सक्छौँ र किन? (चित्र हेर्नुहोस्‌।)

१६ यहोवाले विगतमा के गर्नुभयो भनेर हामीले थाह पायौँ। त्यसोभए भविष्यबारे चाहिँ के भन्‍न सक्छौँ? यहोवाले “महासङ्‌कष्ट”-को दौडान आफ्ना वफादार सेवकहरूलाई जोगाउनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। (मत्ति २४:२१; दानि. १२:१) मागोगको गोग अर्थात्‌ राष्ट्रहरूको गठबन्धनले संसारभरका यहोवाका वफादार सेवकहरूमाथि भीषण आक्रमण गर्दा उहाँले तिनीहरूलाई जोगाउनुहुनेछ। संयुक्‍त राष्ट्र सङ्‌घका १९३ सदस्यीय राष्ट्र नै एकजुट भएर आए पनि उनीहरू सर्वोच्च परमेश्‍वर र उहाँको स्वर्गीय दलको बराबरीमा आउन सक्नेछैनन्‌। यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म जातिजातिसामु आफ्नो महानता र आफ्नो पवित्रता अवश्‍य प्रकट गर्नेछु र आफैलाई चिनाउनेछु; तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌।”—इज. ३८:१४-१६, २३; भज. ४६:१०.

१७. पृथ्वीका राजाहरू र यहोवाप्रति निष्ठावान्‌ रहनेहरूको भविष्यबारे बाइबल के बताउँछ?

१७ गोगको आक्रमणपछि आरमागेडोनको लडाइँ सुरु हुनेछ। यस लडाइँमा परमेश्‍वरले “पृथ्वीभरिका राजाहरू”-लाई नाश गर्नुहुनेछ। (प्रका. १६:१४, १६; १९:१९-२१) “सोझाहरू मात्र पृथ्वीमा बस्नेछन्‌ र निष्ठावान्‌हरू त्यहाँ रहनेछन्‌।”—हितो. २:२१, फुटनोट।

हामी निष्ठावान्‌ रहनै पर्छ

१८. थुप्रै साँचो ख्रिष्टियन के गर्न तयार भएका छन्‌ र किन? (दानिएल ३:२८)

१८ इतिहासभरि नै थुप्रै साँचो ख्रिष्टियनले आफ्नो स्वतन्त्रता खतरामा परेका छन्‌ र ज्यानकै जोखिम मोलेका छन्‌। किनकि तिनीहरू यहोवालाई प्रेम गर्छन्‌ र उहाँलाई सार्वभौम शासकको रूपमा स्विकार्छन्‌। तिनीहरू यहोवाप्रति निष्ठावान्‌ रहन दृढ छन्‌। तिनीहरू तीन जना हिब्रू केटाजस्तै छन्‌, जसलाई सर्वोच्च परमेश्‍वरप्रति वफादार रहेकोले दन्किरहेको आगोको भट्टीमा फालिएको थियो तर यहोवाले उनीहरूलाई जोगाउनुभयो।—दानिएल ३:२८ पढ्‌नुहोस्‌।

१९. यहोवाले केको आधारमा आफ्ना मानिसहरूको निसाफ गर्नुहुनेछ र हामीले अहिल्यै के गर्नुपर्छ?

१९ भजनरचयिता दाउदले परमेश्‍वरप्रति निष्ठावान्‌ रहनुको महत्त्वबारे यस्तो लेखे: “यहोवाले जातिजातिबारे फैसला सुनाउनुहुनेछ। हे यहोवा, मेरो धार्मिकता र निष्ठाअनुसार मेरो निसाफ गर्नुहोस्‌।” (भज. ७:८) तिनले यस्तो पनि लेखे: “सत्यनिष्ठा र इमानदारीले मेरो रक्षा गरून्‌।” (भज. २५:२१) जीवन जिउने सबैभन्दा उत्तम तरिका यहोवाप्रति निष्ठावान्‌ रहनु हो। त्यसैले जस्तोसुकै परिस्थितिमा पनि हामी आफ्नो वफादारीमा सम्झौता गर्दैनौँ। सम्झौता गरेनौँ भने हामीले पनि भजनरचयिताले जस्तै महसुस गर्नेछौँ, जसले यस्तो लेखे: “आनन्दित हुन्‌ ती मानिसहरू, जो निष्ठावान्‌ छन्‌, जो यहोवाको व्यवस्थाअनुसार चल्दछन्‌।”—भज. ११९:१, फुटनोट।

के तपाईँ बुझाउन सक्नुहुन्छ?

  • प्रेषितहरूले हाम्रो लागि कस्तो उदाहरण बसाले?

  • “उच्च अख्तियारवालाहरू”-को आज्ञा पालन गर्ने कि नगर्ने भनेर हामी कसरी निर्णय गर्न सक्छौँ?

  • यहोवाले आफू “सर्वोच्च परमेश्‍वर” भएको कसरी प्रमाणित गर्नुभएको छ?

गीत १२२ स्थिर र अटल बस!

a बाइबलले ख्रिष्टियनहरूलाई उच्च अख्तियारवालाहरूको अर्थात्‌ यस संसारका सरकारहरूको अधीनमा बस्न सल्लाह दिन्छ। तर केही सरकारले यहोवा र उहाँका सेवकहरूको खुलेआम विरोध गर्छन्‌। त्यसोभए हामी यहोवाप्रति निष्ठावान्‌ रहँदै कसरी मानव सरकारहरूको अधीनमा पनि बस्न सक्छौँ?

b थप व्याख्या: यहोवाप्रति निष्ठावान्‌ रहनुको अर्थ कठिन परीक्षामा पर्दा समेत उहाँप्रति वफादार रहनु र उहाँको सार्वभौमिकतालाई समर्थन गरिरहनु हो।

c यस अङ्‌कको “पुरातन इस्राएलीहरूले युद्ध लडे तर हामी किन लड्‌दैनौँ?” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने