भविष्यवक्ताहरूलाई नमुनाको रूपमा लिनुहोस्—सपन्याह
१. सपन्याहले भविष्यवक्ताको काम गर्दा यहूदामा कस्तो परिस्थिति थियो? तिनी आज पनि हाम्रो लागि कसरी राम्रो उदाहरण हुन्?
१ येशू जन्मनुभन्दा झन्डै ६५० वर्ष अगाडिको कुरा हो। यहूदामा खुल्लमखुल्ला बाल उपासना भइरहेको थियो। हालै दुष्ट राजा आमोनको हत्या भएको थियो र कलिलो उमेरका राजा योशियाहले शासन गर्दै थिए। (२ इति. ३३:२१–३४:१) यही समयतिर यहोवा परमेश्वरले सपन्याहलाई उहाँको न्यायको सन्देश सुनाउन नियुक्त गर्नुभएको थियो। सपन्याह यहूदाको राजघरानाका सदस्य थिए होलान्। तैपनि यहूदाका नाइकेहरूलाई सजाय दिने यहोवा परमेश्वरको सन्देश सपन्याहले जोसका साथ सुनाए। तिनी त्यो सन्देश सुनाउन हिचकिचाएनन्। (सप. १:१; ३:१-४) त्यसैगरि हामी पनि सपन्याहको साहस अनुकरण गर्छौं र परिवार तथा आफन्तहरूको कारण यहोवा परमेश्वरलाई हामीले चढाउने उपासनामा बाधा पुऱ्याउन दिंदैनौं। (मत्ती १०:३४-३७) सपन्याहले कस्तो सन्देश सुनाए र परिणाम कस्तो भयो?
२. यहोवा परमेश्वरको रिसको दिनमा जोगिन हामीले के गर्नुपर्छ?
२ यहोवाको खोजी गर्नुहोस्: यहोवा परमेश्वरको रिसको दिनमा उहाँले मात्र मानिसहरूलाई बचाउन सक्नुहुन्छ। त्यसैले सपन्याहले यहूदाका मानिसहरूलाई समय छँदा नै यहोवाको खोजी गर्न अनि धार्मिकता अर्थात् उहाँको स्तरबमोजिमको असल काम र नम्रता खोज्न आग्रह गरे। (सप. २:२, ३) आज हाम्रो अवस्था सपन्याहको जस्तै छ। सपन्याहजस्तै हामी अरूलाई यहोवा परमेश्वरको खोजी गर्न प्रोत्साहन दिन्छौं। तर हामी आफै पनि ‘यहोवाको पछि लाग्न छोडेर फर्की नजान’ दृढ हुनैपर्छ। (सप. १:६) परमेश्वरको वचनको गहिरो अध्ययन गरेर अनि उहाँको डोऱ्याइको निम्ति प्रार्थना गरेर हामी यहोवा परमेश्वरको खोजी गर्छौं। नैतिक रूपमा शुद्ध जीवन बिताएर हामी धार्मिकता खोज्छौं। साथै आज्ञाकारी हुन सिकेर अनि यहोवाको सङ्गठनबाट आउने निर्देशनलाई खुसीसाथ स्वीकारेर हामी नम्रता खोज्छौं।
३. प्रचारमा राम्रो परिणाम आउनेछ भनेर हामी किन आशा गर्न सक्छौं?
३ राम्रो परिणाम: यहूदाका केही मानिसहरूले सपन्याहको न्यायको सन्देश स्वीकारे र त्यसैअनुसार गरे। तिनको सन्देशले सबैभन्दा धेरै त कलिलो उमेरका योशियाहको मन छोएको जस्तो देखिन्छ। तिनले सानो छँदादेखि नै यहोवाको खोजी गर्न सुरु गरे। पछि योशियाहले देशमा व्याप्त मूर्तिपूजा हटाउन जोडदार कदम चाले। (२ इति. ३४:२-५) आज पनि हामीले छरेको राज्य सन्देशको कुनै-कुनै बीउ बाटोको छेउछाउमा, चट्टानमा वा काँडाहरूको बीचमा पर्ला तर कुनै-कुनै बीउ असल माटोमा पर्छ र फल फलाउँछ। (मत्ती १३:१८-२३) राज्यको बीउ छर्ने काममा व्यस्त रह्यौं भने यहोवा परमेश्वरले हाम्रो काममा पक्कै आशिष् दिनुहुनेछ।—भज. १२६:६.
४. हामीले किन ‘यहोवालाई पर्खनुपर्छ?’
४ यहूदाका केही मानिसहरूले यहोवा परमेश्वरले कुनै कदम चाल्नुहुनेछैन भन्ठानेका थिए। तर आफ्नो भयानक दिन नजिकै छ भन्ने कुराको यहोवाले ग्यारेन्टी दिनुभयो। (सप. १:१२, १४) उहाँको नाममा विश्वास गर्नेहरू वा शरण लिनेहरू मात्र त्यस भयानक दिनमा जोगिने थिए। (सप. ३:१२, १७) महान् परमेश्वर ‘यहोवालाई पर्खिरहँदा’ हामी सङ्गी उपासकहरूसित एकतामा रहेर आनन्दित भई उहाँको उपासना गरिरहौं।—सप. ३:८, ९.