प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ९/१५ pp. २१-२४
  • किन आत्मत्यागी हुने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन आत्मत्यागी हुने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशू ख्रीष्ट—प्रमुख उदाहरण
  • “तिमीहरूमा यो मन होस्‌”
  • “आफूलाई इन्कार गरोस्‌”
  • “दिनु अझ असल हो”
  • अरूको सेवा गरेर येसुको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • आत्म-त्यागको भावसाथ यहोवाको सेवा गर्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • आफ्नो लागि नबाँच्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • ‘मेरो पछि लागिरहो’
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ९/१५ pp. २१-२४

किन आत्मत्यागी हुने?

बिल ५० वर्ष नाघिसकेका परिवार भएका मानिस हुन्‌। तिनी निर्माण प्रविधिका शिक्षक हुन्‌। तिनी वर्षभरि आफ्नै खर्चमा यहोवाका साक्षीहरूको राज्यभवनहरूको योजना तथा निर्माण कार्यमा सघाउन थुप्रै हप्ता बिताउँछन्‌। एमा शिक्षित र होनहार २२ वर्षीया युवती हुन्‌। व्यक्‍तिगत लक्ष्य तथा मोजमज्जाका कुराहरूका पछि दौड्‌नुको साटो मानिसहरूलाई बाइबलको ज्ञान बुझाउन मदत गर्न हरेक महिना ७० घण्टा सेवकको रूपमा बिताउँछिन्‌। मोरिस र बेटी दुवै अवकाश प्राप्त साक्षीहरू हुन्‌। बाँकी जीवन आनन्दसाथ बिताउनुको सट्टा पृथ्वीको निम्ति परमेश्‍वरको उद्देश्‍यबारे मानिसहरूलाई सिकाउन अर्कै देशमा बसाइँ सरेका छन्‌।

यी व्यक्‍तिविशेषहरू आफूलाई विशेष वा अनुपम ठान्दैनन्‌। तिनीहरू साधारण मानिसहरू हुन्‌ जो आफूले सही ठानेको कुरा गरिरहेका छन्‌। तिनीहरू किन आफ्नो समय, प्रयास, योग्यता र स्रोत अरूको निम्ति खर्च गर्छन्‌? किनकि तिनीहरू परमेश्‍वर र आफ्ना छिमेकीप्रतिको प्रेमले गर्दा उत्प्रेरित भएका छन्‌। यस प्रेमले गर्दा तिनीहरू साँचो आत्मत्यागी भाव प्रदर्शित गर्न उत्प्रेरित भएका छन्‌।

आत्मत्यागी मनोभावको अर्थ के हो? आत्मत्यागी हुनु एकदमै परहेजी हुनु वा भिक्षुहरूको जस्तो जीवन बिताउनु होइन। आनन्द वा सन्तुष्टिबाट नै वञ्चित हुने गरी आफ्ना इच्छा र आकांक्षाहरू दबाएर राख्नु पर्दैन। द सर्टर अक्सफोर्ड डिक्सनरी-ले भनेझैं आत्मत्यागी हुनुको अर्थ “कर्तव्य वा अरूको हितको निम्ति आफ्नो चाहना, आनन्द र इच्छा त्याग्नु” हो।

येशू ख्रीष्ट—प्रमुख उदाहरण

परमेश्‍वरको एक मात्र प्रिय पुत्र येशू ख्रीष्ट आत्मत्यागी मनोभावको सबैभन्दा प्रमुख उदाहरण हुनुहुन्छ। पृथ्वीमा आउनुभन्दा अघि उहाँको जीवन अवश्‍य पनि अत्यन्तै रोमाञ्चक अनि सन्तोषजनक थियो होला। उहाँको, आफ्नो पिता र आत्मिक प्राणीहरूसित अत्यन्तै घनिष्ठ सम्बन्ध थियो। यसबाहेक, परमेश्‍वरका पुत्रले मुख्य “कारीगर[को]” रूपमा आफ्ना योग्यताहरू चुनौतीपूर्ण र रोमाञ्चक गतिविधिहरूमा चलाउनुभयो। (हितोपदेश ८:३०, ३१, नयाँ संशोधित संस्करण) उहाँले निश्‍चय पनि पृथ्वीको कुनै धनी मानिसले प्राप्त गर्नसक्ने जीवनभन्दा कता हो कता उत्कृष्ट वातावरणबीच जीवन बिताइरहनुभएको थियो। यहोवा परमेश्‍वरपछि स्वर्गमा उहाँको उच्च र प्रतिष्ठित स्थान थियो।

तैपनि, परमेश्‍वरको पुत्रले “आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो।” (फिलिप्पी २:७) उहाँले स्वेच्छासाथ आफ्ना सबै व्यक्‍तिगत लाभ त्यागेर मानिस हुनुभयो र शैतानले पुऱ्‍याएका हानिहरू हटाउन छुडौतीको बलिदानको रूपमा आफ्नो जीवन अर्पण गर्नुभयो। (उत्पत्ति ३:१-७; मर्कूस १०:४५) त्यसको अर्थ शैतानको अधीनमा भएको संसारमा पापी मानिसजातिबीच बस्नु थियो। (१ यूहन्‍ना ५:१९) यसको अर्थ, असुविधाहरू सहनु पनि थियो। तथापि, जस्तोसुकै मूल्य चुकाउनुपरे तापनि येशू ख्रीष्ट आफ्नो पिताको इच्छा गर्न कटिबद्ध हुनुहुन्थ्यो। (मत्ती २६:३९; यूहन्‍ना ५:३०; ६:३८) यसले येशूको प्रेम र वफादारीको ठूलो जाँच गऱ्‍यो। उहाँ कुन हदसम्म जान तयार हुनुहुन्थ्यो? प्रेरित पावल भन्छन्‌, “रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो।”—फिलिप्पी २:८.

“तिमीहरूमा यो मन होस्‌”

हामीलाई येशूको उदाहरण पछ्याउने प्रोत्साहन दिइएको छ। प्रेरित पावलले यस्तो आग्रह गरे: “तिमीहरूमा यो मन होस्‌, जो ख्रीष्टमा पनि थियो।” (फिलिप्पी २:५) हामी यो कसरी गर्नसक्छौं? एउटा तरिका त, “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान” दिएर हो। (फिलिप्पी २:४) साँचो प्रेमले “आफ्नै भलाई खोज्दैन।”—१ कोरिन्थी १३:५.

अरूको ख्याल राख्ने मानिसहरूले अक्सर अरूको निःस्वार्थ सेवा गरेका छन्‌। तथापि, आज थुप्रै मानिस आत्म-केन्द्रित भएका छन्‌। संसारमा मपाईं मनोवृत्ति व्याप्त छ। हामी यस संसारको आत्मादेखि होसियार हुनुपर्छ किनभने हाम्रो विचारधारा तथा मनोभावलाई यसले प्रभाव पार्न सफल भयो भने, सम्भवतः हामी पनि आफ्नै चाहनाहरूलाई सर्वमहत्त्वपूर्ण स्थान दिन थाल्नेछौं। त्यसपछि, हामीले खर्च गर्ने समय, प्रयास तथा स्रोत सबै आफ्नो स्वार्थ पूर्तिमा केन्द्रित हुनेछन्‌। त्यसैले, हामीले यस्ता प्रभावहरू विरुद्ध उत्तम लडन्त लड्‌नुपर्छ।

कहिलेकाहीं असल मनसायले दिएको सल्लाहले समेत हाम्रो आत्मत्यागी भावलाई निरुत्साहित पार्नसक्छ। येशूको आत्मत्यागी भावले कतातिर डोऱ्‍याउँछ भनेर थाह भएकोले प्रेरित पत्रुसले यसो भने: “प्रभु, आफूप्रति कृपा देखाउनुहोस्‌।” (मत्ती १६:२२, NW) आफ्नो पिताको सार्वभौमिकता र मानिसजातिको उद्धारको निम्ति मर्नसमेत तयार येशूको इच्छुकता तिनलाई सम्भवतः स्वीकार्न गाह्रो लाग्यो। त्यसैले तिनले येशूलाई त्यस मार्गबाट रोक्ने कोसिस गरे।

“आफूलाई इन्कार गरोस्‌”

येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? विवरण यसो भन्छ: “फनक्क फर्केर उहाँले आफ्ना चेलाहरूलाई हेरेर पत्रुसलाई यसो भनेर हप्काउनुभयो, ‘ए शैतान, मबाट हठीजा, किनकि तँ परमेश्‍वरको होइन, तर मानिसहरूको कुरामा ध्यान दिंदोरहेछस्‌।’ ” त्यसपछि, येशूले आफ्ना चेलाहरूका साथमा भीडलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो: “कोही मानिस मपछि लाग्न इच्छा गर्दछ भने, त्यसले आफूलाई इन्कार गरोस्‌, आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्‌।”—मर्कूस ८:३३, ३४.

येशूलाई यस्तो सल्लाह दिएको झन्डै ३० वर्षपछि पत्रुसले आत्मत्यागी भावको साँचो अर्थ बुझे। तिनले सँगी विश्‍वासीहरूलाई आफ्नो काममा मेहनत नगरी आफूप्रति बढी दया देखाउन प्रोत्साहन दिएनन्‌। त्यसको साटो पत्रुसले तिनीहरूलाई मन बाँधेर सचेत रहन र पहिले जस्तो सांसारिक अभिलाषाहरू पछि नदौड्‌न सल्लाह दिए। परीक्षाहरूको बावजूद तिनीहरूले परमेश्‍वरको इच्छालाई प्राथमिकता दिनुपर्थ्यो।—१ पत्रुस १:६, १३, १४; ४:१, २.

हामीमध्ये जो कोही पनि हिंड्‌नसक्ने सबैभन्दा इनामदायी मार्ग आफूलाई यहोवामा समर्पित गर्दै वफादार भई येशू ख्रीष्टको अनुकरण गर्नु अनि हाम्रा गतिविधिहरू परमेश्‍वरको निर्देशनअनुसार हुन दिनु हो। यस सन्दर्भमा पावलले राम्रो नमुना बसाले। तिनको अविलम्बी भाव र परमेश्‍वरप्रतिको कृतज्ञताले तिनलाई सांसारिक इच्छा तथा लक्ष्यहरू त्याग्न उत्प्रेरित गरायो। नत्र यसले तिनलाई अर्कै मार्गतिर डोऱ्‍याउनसक्थ्यो। अरूको हितको निम्ति “ज्यादै खुशीसित खर्च गर्नेछु” भनेर तिनले बताए। (२ कोरिन्थी १२:१५) पावलले आफ्ना योग्यताहरू आफ्नो फाइदाको लागि होइन तर परमेश्‍वरको इच्छा पूरा गर्ने कामहरूमा प्रयोग गरे।—प्रेरित २०:२४; फिलिप्पी ३:८.

हाम्रो पनि प्रेरित पत्रुसको जस्तै धारणा छ कि छैन भनेर जाँच्न हामी के गर्नसक्छौं? हामी आफैसित यस्तो प्रश्‍न गर्नसक्छौं: म आफ्नो समय, प्रयास, योग्यता र स्रोत कसरी प्रयोग गर्छु? म यी तथा अन्य बहुमूल्य वरदानहरू आफ्नै लागि मात्र प्रयोग गर्छु वा अरूको मदत गर्न पनि प्रयोग गर्छु? के मैले सम्भवतः पूर्ण-समय राज्य उद्‌घोषकको हैसियतमा जीवन बचाउने काममा अझ जोडतोडका साथ भाग लिने विचार गरेको छु? राज्यभवनको निर्माण वा मर्मत कार्य जस्ता गतिविधिमा के म अझ धेरै भाग लिनसक्छु? खाँचोमा परेकाहरूलाई मदत गर्ने सुअवसरको के मैले फाइदा उठाइरहेको छु? के मैले यहोवालाई यथाशक्य सर्वोत्तम सेवा चढाइरहेको छु?—हितोपदेश ३:९.

“दिनु अझ असल हो”

यद्यपि, आत्मत्यागी हुनु के साँच्चै बुद्धिमानी हो? निस्सन्देह! त्यस्तो मनोभावले कति प्रचुर मात्रामा इनाम ल्याउँछ भन्‍ने सन्दर्भमा पावलको आफ्नै व्यक्‍तिगत अनुभव थियो। तिनले प्रशस्त आनन्दका साथै व्यक्‍तिगत सन्तुष्टि पाए। मिलेटसमा एफिससका बूढा प्रधानहरूलाई भेट्‌दा तिनले यही कुरा बताए। पावलले यसो भने: “मैले तपाईंहरूलाई सब तरहबाट उदाहरण दिएको छु, कि कसरी तपाईंहरूले यही किसिमसित मेहनत गरेर निर्धाहरूलाई मदत गर्नु, र प्रभु येशूले भन्‍नुभएको कुरा सम्झनुपर्छ, कि कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि ‘लिनुभन्दा दिनु अझ असल हो।’ ” (प्रेरित २०:३५) लाखौं मानिसहरूले यसप्रकारको मनोभाव प्रदर्शित गरेर निकै आनन्द अनुभव गरेका छन्‌। यहोवा र अरूको इच्छालाई प्राथमिकता दिने मानिसहरूले भविष्यमा पनि आनन्द अनुभव गर्नसक्ने छन्‌।—१ तिमोथी ४:८-१०.

राज्यभवनहरू निर्माण गर्न किन यत्न गरेको भन्‍ने प्रश्‍नमा बिलले यस्तो टिप्पणी गरे: “यसरी साधारणतया सानो मण्डलीको रूपमा लिइने मण्डलीहरूलाई मदत गर्न पाउँदा म साँच्चै भित्रदेखि सन्तुष्ट महसुस गर्छु। आफ्नो योग्यता र सीप यसरी अरूको फाइदाको निम्ति चलाउँदा मैले इनाम पाएको छु।” धर्मशास्त्रबाट सत्य कुरा अरूलाई सिकाउन एमाले किन आफ्नो प्रयास र योग्यताहरू खर्च गर्ने छनौट गरिन्‌? “म अरू कुनै काम गर्ने कल्पना समेत गर्न सक्दिनँ। आफूले सकेको बेला यहोवालाई प्रसन्‍न तुल्याउन र अरूलाई मदत गर्न म आफूले सके जति जवानै छँदै गर्न चाहन्छु। केही भौतिक सुविधाहरू त्याग्नु परे केही छैन। यहोवाले मेरोनिम्ति गर्नुभएका कुराहरूलाई विचार गर्दा मैले जे गर्नुपर्नेथ्यो त्यही गरिरहेकी छु।”

आफ्नो परिवारको लालनपालन गर्न कडा परिश्रमको जिन्दगीपछि आनन्दको जीवन नबिताएकोमा मरिस र बेटीलाई कुनै पछुतो छैन। अहिले अवकाश प्राप्त भएपछि पनि तिनीहरू केही मदतकारी र अर्थपूर्ण काम गरी नै रहन चाहन्छन्‌। तिनीहरू भन्छन्‌, “हामी आरामको जिन्दगी बिताउन चाहँदैनौं। अर्कै मुलुकमा अरूलाई यहोवाबारे सिक्न मदत गर्दा हामीले केही अर्थपूर्ण कार्य गर्ने सुअवसर पाउँछौं।”

के तपाईं पनि आत्मत्यागी हुन कटिबद्ध हुनुहुन्छ? यो सजिलो काम होइन। हाम्रो असिद्ध मानव इच्छा र परमेश्‍वरलाई खुसी तुल्याउने साँचो इच्छाबीच सधैं द्वन्द्व चलिरहन्छ। (रोमी ७:२१-२३) तर हामीले यहोवाको निर्देशनअनुरूप जीवन बितायौं भने, यो द्वन्द्वमाथि विजय हासिल गर्नसक्ने छौं। (गलाती ५:१६, १७) उहाँले निश्‍चय पनि हाम्रो आत्मत्यागलाई सम्झनुहुनेछ र प्रचुर मात्रामा आशिष्‌ दिनुहुनेछ। निस्सन्देह, यहोवा परमेश्‍वरले ‘झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष्‌ हामीहरूमाथि वर्षाउनु हुनेछ।’—मलाकी ३:१०; हिब्रू ६:१०.

[पृष्ठ २३-मा भएको चित्र]

येशूको आत्मत्यागी मनोभाव थियो। तपाईंको नि?

[पृष्ठ २४-मा भएका चित्रहरू]

पावलले आफ्नो शक्‍ति परमेश्‍वरको राज्य प्रचार गर्न खर्च गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने