येशूको जीवन र सेवकाई
क्षमाशीलता बारे एउटा शिक्षा
येशू आफ्ना चेलाहरूकासाथ अझै पनि आफ्नो घर कफर्नहुममा नै हुनुहुन्छ जस्तो छ। भाइहरू बीच हुने कचिङ्गलको समाधान कसरी गर्ने विषयमा उहाँ तिनीहरूसित छलफल गर्दै हुनुहुन्छ। पत्रुसले सोध्छन्: “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पल्टसम्म पाप गरे म त्यसलाई क्षमा गरूँ?” यहूदी गुरुहरूले तीन पल्टसम्म क्षमा दिने सल्लाह दिएको हुनाकारण, आफूले ठूलो उदारता देखाएको भनी ठान्दै, पत्रुस सोध्छन्: “के सात पल्टसम्म?”
तर यस प्रकारको हिसाब राख्ने सारा सोंचाइ नै गलत हो। येशूले पत्रुसको विचारलाई सच्याउँदै भन्नुहुन्छ: “म तिमीलाई सात पल्टसम्म भन्दिनँ, तर सात गुणा सत्तरी पल्टसम्म।” कति पल्टसम्म पत्रुसले आफ्ना भाइलाई क्षमा गर्नु पर्ने हो, त्यसको कुनै सीमा हुनु हुँदैन भनी येशूले यहाँ बुझाउदै हुनुहुन्छ।
क्षमावन्त हुन चेलाहरूको बाध्यता हो भन्ने कुराको महत्त्व तिनीहरूलाई बताउनका निम्ति, येशू एउटा उपमा दिनुहुन्छ। यो एउटा राजाको विषयमा हो जसले आफ्ना दासहरूसित हिसाब चुकाउन चाहन्छ। जम्मा ६०,०००,००० दिनार (लगभग अमेरीकी $ ५०,०००,०००) ऋण खाएको एउटा दास त्यस राजाको सामुन्ने ल्याइन्छ। तर त्यस दाससँग त्यो ठूलो ऋण चुकाउने केही उपाय छैन। यसकारण, येशूको व्याख्या अनुसार, त्यो दासले, त्यसकी स्वास्नी, छोरा-छोरी सबैलाई बेची ऋण चुकाउन पर्नेछ भनी राजाले आज्ञा दिन्छ।
तब त्यो दास मालिकको खुट्टामा घोप्टेर बिन्ती गर्छ: “हे मालिक, ममाथि धीरज धर्नुहोस्, र म तपाईंको जम्मै तिरिदिनेछु।”
त्यसमाथि टिठाउँदै, मालिकले त्यत्तिका थुप्रो ऋण सबै खारेज गरी दिन्छ। येशू अगाड़ि भन्नुहुन्छ, मालिकले त्यसो गर्नासाथै, त्यो दास त्यहाँबाट जान्छ र आफ्ना सङ्गी नोकरहरूमध्ये एक जनालाई भेट्टाउँछ, जसले त्यसबाट मात्र १०० दिनारको (लगभग $९०) ऋण खाएको छ। त्यस मानिसले आफ्नो साथी-नोकरको घोक्रो अँठ्याएर भन्छ: “तेरो ऋण तिरिहाल्।”
तर यो सङ्गी-दाससित पैसा छैन। यसकारण जुन दासबाट उसले ऋण खाएको छ, त्यस दासको खुट्टामा घोप्टो पर्दै बिन्ती गर्छ: “ममाथि धैर्य धर्नुहोस्, म तपाईंलाई तिरिदिनेछु।” तर आफ्नो मालिक जस्तो उ दयावन्त छैन, र उसले आफ्नो सङ्गी-दासलाई झ्यालखानमा हालि दिन्छ।
अनि, येशू भन्दै जानुहुन्छ, अरू दासहरूले त्यहाँ घटेको घटना देख्छन् र मालिकलाई भन्न जान्छन्। मालिक रिसाएर त्यस दासलाई बोलाइ पठाउँछ। तिनले भन्छ: “ए दुष्ट नोकर, तैंले मसँग बिन्ती गरेको हुनाले मैले तेरो त्यो सब ऋण माफ गरिदिएँ। जस्तो मैले तँमाथि दया गरें, तैंले पनि तेरो साथीमाथि दया गर्नुपर्ने थिएन?” तब त्यसका मालिकले रिसाएर त्यसलाई त्यसको सबै ऋण नतिरुञ्जेल झ्यालखानका हाकिमको हातमा जिम्मा लगाइदिन्छ।
अनि येशू कुरा टुङ्ग्याउनु हुँदै भन्नुहुन्छ: “मेरा स्वर्गको पिताले पनि, तिमीहरू हरेकले आफ्नो भाइलाई आफ्नो हृदयले माफी दिएनौ भने, तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”
क्षमाशीलताको कस्तो राम्रो पाठ! परमेश्वरले क्षमा गरी दिनु भएको हाम्रो पापको ठूलो ऋणको तुलनामा, एउटा मसीही भाइले हाम्रो विरुद्धमा जस्तो सुकै अपराध गरेता पनि, त्यो वास्तवमा अति नै सानो हुन्छ। अझ, यहोवा परमेश्वरले हामीहरूलाई हजारौं पटक क्षमा गरिदिनु भएको छ। अक्सर उहाँका विरुद्धमा हामीले गरेका पापको हामीहरूलाई जानकारीसम्म पनि हुँदैन। त्यसकारण, शिकायत गर्ने जायज कारण छ भने पनि, के हामीले आफ्ना भाइहरूलाई केही पटक पनि क्षमा गर्न सक्तैनौं र? येशूले डाँड़ाको उपदेशमा सिकाउनु भएको यो कुरा याद गर्नुहोस्, परमेश्वरले “हाम्रा अपराध क्षमा गर्नु हुनेछ, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गर्नेछौं।” मत्ती १८:२१-३५; ६:१२; कलस्सी ३:१३.
▪ के कारणले गर्दा पत्रुसले आफ्ना भाइलाई क्षमा गर्ने विषयमा प्रश्न सोध्छन् र कसैलाई सात पटकसम्म क्षमा गर्ने आफ्नो सल्लाहलाई तिनले किन उदारपूर्ण भनी ठानेको हुन सक्छ?
▪ आफ्नो दासले दयाको निम्ति बिन्ती गर्दा, राजाले देखाएको प्रतिक्रिया र सोही दासले उसको अर्को सङ्गी-दासको बिन्ती प्रति व्यक्त गरेको प्रतिक्रियामा के भिन्नता छ?
▪ येशूले दिनु भएको उदाहरणबाट हामी के सिक्न सक्छौं? (w88 3/1)