प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ९/१५ pp. ११-१५
  • के तपाईंले यहोवालाई आफ्नो अंश बनाइरहनुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंले यहोवालाई आफ्नो अंश बनाइरहनुभएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्‌
  • परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहनुहोस्‌
  • यहोवाले गरिदिनुभएको आध्यात्मिक प्रबन्धप्रति कृतज्ञता देखाउनुहोस्‌
  • प्रभुको चेलासित मात्र विवाह गर्नुहोस्‌
  • यहोवा मेरो अंश हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • ‘पहिले उहाँको राज्य खोजिरहनुहोस्‌’
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • ‘पहिले राज्यको खोजी गर’
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • स्वर्गीय नागरिकता हुने मसीही साक्षीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ९/१५ pp. ११-१५

के तपाईंले यहोवालाई आफ्नो अंश बनाइरहनुभएको छ?

“उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।”—मत्ती ६:३३.

१, २. (क) गलाती ६:१६ मा उल्लेख गरिएको “परमेश्‍वरको इस्राएल”-ले कसलाई बुझाउँछ? (ख) मत्ती १९:२८ मा बताइएको “इस्राएलका बाह्र कुल”-ले कसलाई बुझाउँछ?

बाइबलमा इस्राएल भन्‍ने नाम पढ्‌दा तपाईंको दिमागमा के आउँछ? इसहाकको छोरा याकूबलाई इस्राएल नाम दिइएकोले तिनीबारे सोच्नुहुन्छ कि? अथवा याकूबका सन्तानहरू अर्थात्‌ पुरातन समयको इस्राएल राष्ट्रबारे पो सोच्नुहुन्छ कि? आध्यात्मिक इस्राएलबारे नि? इस्राएललाई प्रतीकात्मक अर्थमा बुझ्दाखेरि प्रायजसो यसले “परमेश्‍वरको इस्राएल” अर्थात्‌ स्वर्गमा राजा र पुजारीको रूपमा सेवा गर्नको लागि पवित्र शक्‍तिद्वारा नियुक्‍त १,४४,००० लाई बुझाउँछ। (गला. ६:१६; प्रका. ७:४; २१:१२) तर मत्ती १९:२८ मा चाहिं इस्राएलको १२ कुलले अर्कै कुरालाई सङ्‌केत गर्छ।

२ येशूले भन्‍नुभयो: “पुनःसृष्टिको बेला, जब मानिसको छोरा आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ, तब तिमीहरू जो मेरो पछि लागेका छौ, तिमीहरू पनि बाह्र सिंहासनमा बसेर इस्राएलका बाह्र कुलको इन्साफ गर्नेछौ।” यहाँ उल्लेख गरिएको “इस्राएलका बाह्र कुल”-ले येशूका अभिषिक्‍त चेलाहरूद्वारा न्याय गरिने अनि पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने व्यक्‍तिहरूलाई सङ्‌केत गर्छ। पुजारीको रूपमा १,४४,००० ले गरेको सेवाबाट तिनीहरूले लाभ उठाउनेछन्‌।

३, ४. अभिषिक्‍त ख्रीष्टियनहरूले कस्तो राम्रो उदाहरण बसालेका छन्‌?

३ पुरातन समयका पुजारी तथा लेवीहरूले जस्तै आज अभिषिक्‍त ख्रीष्टियनहरूले पनि आफूले पाएको सेवाको कामलाई ठूलो सुअवसरको रूपमा लिन्छन्‌ र यहोवालाई आफ्नो अंश बनाउँछन्‌। (गन्ती १८:२०) अभिषिक्‍त ख्रीष्टियनहरू अहिले यस पृथ्वीमा यहोवाले सम्पत्तिको रूपमा आफूलाई कुनै इलाका वा जग्गा-जमिन दिएको आशा गर्दैनन्‌। बरु, तिनीहरू स्वर्गमा येशूसँगै राजा र पुजारीको रूपमा सेवा गर्ने आशा गर्छन्‌। प्रकाश ४:१०, ११ ले सङ्‌केत गरेअनुसार अभिषिक्‍त ख्रीष्टियनहरूले स्वर्गमा पनि यहोवाको सेवालाई निरन्तरता दिनेछन्‌।—इज. ४४:२८.

४ पृथ्वीमा हुँदा अभिषिक्‍त ख्रीष्टियनहरूले आफ्नो जीवनशैलीद्वारा यहोवालाई आफ्नो अंश बनाएको देखाउँछन्‌। यहोवाको सेवा गर्ने सुअवसर नै उनीहरूको लागि सर्वमहत्त्वपूर्ण कुरा हो। उनीहरू येशूले दिनुभएको फिरौतीको बलिदानमा विश्‍वास गर्छन्‌ र निरन्तर उहाँको पछि लाग्छन्‌। यसो गरेर उनीहरू “परमेश्‍वरले बोलाउनुभएको अनि छान्‍नुभएको” व्यक्‍तिहरूमध्ये भइरहन यथासक्दो गर्छन्‌। (२ पत्रु. १:१०) उनीहरू प्रत्येकको परिस्थिति अनि क्षमता बेग्लाबेग्लै छ। तैपनि उनीहरू आफ्नो सीमितताको निहुँ बनाएर यहोवाको सेवामा थोरै मात्र गर्न खोज्दैनन्‌। त्यसको साटो, उनीहरू आफ्नो सम्पूर्ण बल लगाएर परमेश्‍वरको सेवालाई प्राथमिकता दिन्छन्‌। उनीहरू पार्थिव प्रमोदवनमा जीवन बिताउने आशा राख्नेहरूको लागि राम्रो उदाहरण बसाल्छन्‌।

५. सबै ख्रीष्टियनहरूले कसरी यहोवालाई आफ्नो अंश बनाउन सक्छन्‌? त्यसो गर्न किन गाह्रो हुन सक्छ?

५ हाम्रो आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा बस्ने, हामीले ‘आफूलाई इन्कार गर्नै पर्छ र आफ्नो यातनाको खम्बा उठाएर निरन्तर ख्रीष्टको पछि लाग्नै पर्छ।’ (मत्ती १६:२४) पार्थिव प्रमोदवनमा जीवन बिताउने आशा राखेका लाखौंले यसरी नै परमेश्‍वरको उपासना गरिरहेका छन्‌ र ख्रीष्टको पाइला पछ्याइरहेका छन्‌। आफूले अझै गर्न सक्ने अवस्था हुँदा-हुँदै तिनीहरू थोरै गरेर चित्त बुझाउँदैनन्‌। थुप्रैले आफ्नो जीवन सरल बनाएका छन्‌ अनि अग्रगामी सेवा थालेका छन्‌। कसै-कसैले भने हरेक वर्ष केही महिना अग्रगामी सेवा गर्ने चाँजोपाँजो मिलाएका छन्‌। अरू कतिपयले भने अग्रगामी सेवा गर्न नसके तापनि प्रचारकार्यमा सक्दो भाग लिएका छन्‌। तिनीहरू मरियमजस्तै छन्‌ जसले येशूको टाउकोमा असाध्यै महँगो सुगन्धित तेल खन्याएकी थिइन्‌। उहाँले मरियमको विषयमा यसो भन्‍नुभयो: “उसले मेरो लागि असल काम गरेकी छे . . . उसले जे गर्न सक्थी, त्यही गरेकी छे।” (मर्कू. १४:६-८) सैतानले यस संसारमा राज गरिरहेकोले हामीलाई तनमनले यहोवाको सेवा गर्न गाह्रो हुन सक्छ। तैपनि हामी यहोवाको सेवामा दिलोज्यानले लाग्छौं अनि आफ्नो पूरा भरोसा उहाँमा राख्छौं। चार वटा खास क्षेत्रमा हामी कसरी त्यसो गर्न सक्छौं, विचार गरौं।

परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्‌

६. (क) संसारका थुप्रै मानिसहरूले यही जीवनमा मात्र आफ्नो अंश भएको कुरा कसरी देखाउँछन्‌? (ख) दाऊदको अनुकरण गर्नु किन राम्रो हो?

६ परमेश्‍वरको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहन येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभयो। संसारका मानिसहरू आफ्नो व्यक्‍तिगत इच्छालाई प्राथमिकता दिन्छन्‌। उनीहरूबारे बाइबल यसो भन्छ ‘यस संसारका मानिसहरूको भाग यही जीवनमा छ।’ ( भजन १७:१, १३-१५ पढ्‌नुहोस्‌) उनीहरू सृष्टिकर्ताको वास्ता गर्दैनन्‌, आफ्नो जीवन सुखमय बनाउन, छोराछोरी हुर्काउन र तिनीहरूको लागि सम्पत्ति थुपार्न उनीहरू हाड घोटेर लाग्छन्‌। उनीहरूको अंश यही जीवनमा मात्र छ। अर्कोतर्फ, पुरातन समयमा परमेश्‍वरका सेवक दाऊद भने यहोवाको नजरमा “असल नाउँ” कमाउन चाहन्थे। पछि तिनका छोरा सुलेमानले पनि सबैलाई त्यसै गर्न आग्रह गरे। (उप. ७:१) आफ्नो चाहनालाई पहिलो स्थानमा राख्नुभन्दा यहोवालाई आफ्नो साथी बनाउनु बुद्धिमानी कुरा हो भनेर आसापले जस्तै दाऊदले पनि बुझेका थिए। उनी यहोवा सँगसँगै हिंड्‌न रमाउँथे। आधुनिक समयमा पनि, थुप्रै ख्रीष्टियनहरूले आफ्नो काम अनि जागिरलाई भन्दा आध्यात्मिक गतिविधिलाई पहिलो स्थानमा राखेका छन्‌।

७. परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहेकोले एक जना भाइले कस्तो आशिष्‌ पाए?

७ मध्य अफ्रिकी गणतन्त्रका झाँ-क्लडलाई विचार गर्नुहोस्‌। तिनी एक विवाहित एल्डर हुन्‌। तिनका तीन जना छोराछोरी छन्‌। त्यस इलाकामा जागिर पाउन निकै मुस्किल छ; त्यसैले मानिसहरू आफ्नो जागिर जोगाउन जे गर्न पनि तयार हुन्छन्‌। एकदिन, झाँ-क्लड काम गर्ने ठाउँका उत्पादन व्यवस्थापकले तिनलाई हप्ताको सातै दिन, त्यो पनि बेलुकीको साढे छ बजेदेखि काम सुरु गर्न भने। झाँ-क्लडले आफ्नो परिवारको भौतिक आवश्‍यकताको साथसाथै उनीहरूको आध्यात्मिक आवश्‍यकता पनि पूरा गरिदिनुपर्ने कुरा व्यवस्थापकलाई बताए। मण्डलीप्रतिको आफ्नो दायित्वबारे पनि तिनले बताए। व्यवस्थापकले कस्तो प्रतिक्रिया देखाए? उनले भने: “यदि तिमी आफ्नो जागिर गुमाउन चाहन्‍नौ भने तिमीले अरू सबै कुरा बिर्सनुपर्छ, चाहे त्यो तिम्री श्रीमती, छोराछोरी वा अरू कुनै समस्या नै किन नहोस्‌! तिमी अरू कुनै कुरामा होइन आफ्नो कामप्रति समर्पित हुनुपर्छ। तिमी आफै रोज, एकातर्फ तिम्रो आफ्नो जागिर छ, अर्कोतर्फ तिम्रो धर्म।” तपाईं त्यस्तो अवस्थामा हुनुभएको भए के गर्नुहुन्थ्यो? झाँ-क्लड जागिर गुमाउनु परे तापनि यहोवाले आफूलाई हेर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त थिए। यहोवाको सेवामा तिनले गर्नुपर्ने काम अझ धेरै बाँकी थियो र यहोवाले नै तिनको परिवारको भौतिक आवश्‍यकता पूरा गर्न मदत दिनुहुनेथियो। यही सोचेर तिनी मध्य हप्ताको सभामा उपस्थित भए। त्यसपछिको कुरा हो, आफ्नो जागिर छ कि छैन भनेर पक्का नभए तापनि तिनी काममा जान तयार भइरहेका थिए। त्यत्तिकैमा फोनको घण्टी बज्यो। तिनको व्यवस्थापकलाई जागिरबाट निकालिएछ तर तिनको जागिर भने सुरक्षितै रहेछ।

८, ९. यहोवालाई हाम्रो अंश बनाउने सन्दर्भमा पुजारी र लेवीहरूको उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौं?

८ आफ्नो जागिर खतरामा परेकोजस्तो देखिंदा कोही-कोहीले यस्तो सोचेका होलान्‌, ‘परिवारको रेखदेख गर्ने आफ्नो जिम्मेवारी मैले कसरी पूरा गर्ने?’ (१ तिमो. ५:८) तपाईंले त्यस्तै प्रकारको चुनौतीको सामना गर्नुपरेको होस्‌ या नहोस्‌, यहोवाको सेवा गर्ने सुअवसरको मोल गरेर उहाँलाई आफ्नो अंश बनाउँदा कहिल्यै निराश हुनुपर्दैन भनेर आफ्नै अनुभवद्वारा थाह पाउनुभएको छ होला। येशूले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहन सल्लाह दिनुहुँदा खाने, पिउने र लगाउनेजस्ता “सबै कुरा तिमीहरूलाई दिइनेछ” भन्‍ने आश्‍वासन पनि दिनुभयो।—मत्ती ६:३३.

९ पैतृक-सम्पत्तिस्वरूप कुनै जग्गा-जमिन नपाएका लेवीहरूलाई सम्झनुहोस्‌। तिनीहरूको लागि सर्वमहत्त्वपूर्ण कुरा भनेकै परमेश्‍वरलाई शुद्ध उपासना चढाउनु थियो। त्यसैले आफ्नो दैनिक आवश्‍यकताको लागि तिनीहरू “तेरो अंश-अधिकार म नै हुँ” भन्‍नुहुने यहोवामा भर पर्नुपर्थ्यो। (गन्ती १८:२०) अहिले हामी पुजारी र लेवीहरूले जस्तो साँच्चैको मन्दिरमा सेवा गरिरहेका त छैनौं तैपनि हामी तिनीहरूको मनोभाव अनुकरण गर्न सक्छौं। हाम्रो लागि आवश्‍यक पर्ने कुरा यहोवाले जुटाइदिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएर हामी त्यस्तो मनोभाव राख्न सक्छौं। हाम्रो लागि परमेश्‍वरले प्रबन्ध मिलाइदिन सक्नुहुन्छ भनेर भरोसा गर्नुको महत्त्व आखिरी समय जति-जति बित्दै जान्छ, त्यति नै बढ्‌दै जान्छ।—प्रका. १३:१७.

परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहनुहोस्‌

१०, ११. जागिरको सन्दर्भमा कसै-कसैले कसरी यहोवामाथि भरोसा राखेका छन्‌? उदाहरण दिनुहोस्‌।

१० येशूले आफ्ना चेलाहरूलाई ‘परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहन’ पनि सल्लाह दिनुभयो। (मत्ती ६:३३) यसको अर्थ हो, के सही र के गलत भन्‍ने विषयमा मानिसहरूले तोकेको स्तरलाई नभई परमेश्‍वरले तोक्नुभएको स्तरलाई प्राथमिकता दिनुपर्छ। ( यशैया ५५:८, ९ पढ्‌नुहोस्‌) सच्चाइ सिक्नुअघि कसै-कसैले सुर्तीको खेती गर्थे वा सुर्तीजन्य उत्पादनहरूको बिक्री-वितरण गर्थे अनि कोही-कोहीले चाहिं अरूलाई युद्ध गर्न सिकाउने वा युद्धमा प्रयोग गरिने हातहतियार बनाएर बेच्ने गर्थे। तर सच्चाइ सिकिसकेपछि तिनीहरूले आफ्नो पेसा परिवर्तन गरे अनि बप्तिस्मा गर्न योग्य भए।—यशै. २:४; २ कोरि. ७:१; गला. ५:१४.

११ एन्ड्रुलाई विचार गर्नुहोस्‌। यहोवाबारे सुनेपछि तिनी र तिनकी पत्नीले उहाँको सेवा गर्ने निर्णय गरे। एन्ड्रु आफ्नो जागिरमा गर्व गर्थे तर पछि तिनले त्यो जागिर छोडे। किन? किनकि तिनी काम गर्ने सङ्‌गठन राजनैतिक तवरमा तटस्थ थिएन तर तिनी परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई पहिलो स्थानमा राख्न दृढ थिए। जागिर छोड्‌दा तिनका दुई जना छोराछोरी थिए, कुनै आयस्रोत थिएन अनि भएको पैसा पनि केही महिनाको लागि मात्र पुग्ने थियो। मानिसको नजरबाट हेर्ने हो भने तिनीसित कुनै सम्पत्ति थिएन। परमेश्‍वरमाथि भर पर्दै तिनले अर्को जागिर खोज्न थाले। त्यतिबेलाको समय सम्झँदा, तिनी र तिनको परिवार यहोवाको हात शक्‍तिहीन छैन भन्‍ने कुरामा विश्‍वस्त छन्‌। (यशै. ५९:१) आफ्नो जीवन सरल राखेर एन्ड्रु र तिनकी पत्नीले पूर्ण-समय सेवासमेत गर्न सके। तिनी भन्छन्‌: “कहिलेकाहीं हामीलाई पैसा, बस्ने ठाउँ र स्वास्थ्यको समस्याले पिरोल्छ अनि बुढ्यौलीको चिन्ताले पनि सताउँछ तर यहोवा सधैं हाम्रो छेवैमा उभिनुभएको छ। . . . मानिसले गर्नसक्ने सबैभन्दा सम्माननीय र इनामदायी काम यहोवाको सेवा गर्नु नै हो भनेर हामी ठोकेर भन्‍न सक्छौं।”a—उप. १२:१३.

१२. परमेश्‍वरको स्तरलाई पहिलो स्थानमा राख्ने हो भने तपाईंमा कुन गुण हुनु आवश्‍यक छ? स्थानीय अनुभवहरू बताउनुहोस्‌।

१२ येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।” (मत्ती १७:२०) परमेश्‍वरको स्तर पालन गर्दा समस्या आइपर्छ भने पनि के तपाईं उहाँको स्तरअनुसारै चल्नुहुन्छ? यदि तपाईंलाई त्यसो गर्न सकिन्‍नजस्तो लाग्छ भने मण्डलीका अरू भाइबहिनीहरूलाई सोधेर हेर्नुहोस्‌। उनीहरूको अनुभव सुन्‍नुभयो भने तपाईंले पक्कै पनि आध्यात्मिक स्फूर्ति पाउनुहुनेछ।

यहोवाले गरिदिनुभएको आध्यात्मिक प्रबन्धप्रति कृतज्ञता देखाउनुहोस्‌

१३. यहोवाको सेवामा यथासक्दो गर्दा आध्यात्मिक प्रबन्धको सन्दर्भमा हामी कस्तो आशा गर्न सक्छौं?

१३ तपाईंले यहोवाको सेवा गर्ने सुअवसरको मोल गर्नुभयो भने उहाँले लेवीहरूको जस्तै तपाईंको पनि शारीरिक र आध्यात्मिक आवश्‍यकता पूरा गरिदिनुहुन्छ भनेर विश्‍वस्त हुन सक्नुहुन्छ। दाऊदलाई विचार गर्नुहोस्‌। ओडारमा बस्नुपरे तापनि आफ्नो आवश्‍यकता यहोवाले पूरा गरिदिनुहुन्छ भन्‍ने कुरामा तिनी विश्‍वस्त हुन सक्थे। त्यसै गरी, समस्याबाट उम्कने कुनै बाटो छैनजस्तो लाग्दासमेत हामी यहोवामाथि भर पर्न सक्छौं। “परमेश्‍वरको पवित्रस्थानमा” पसेपछि आसापले आफूलाई पिरोलिरहेको कुरालाई अझ राम्ररी बुझ्न सके भनेर नबिर्सनुहोस्‌। (भज. ७३:१७) त्यसै गरी, हामी पनि आध्यात्मिक पोषणको लागि परमेश्‍वरमा भर पर्नुपर्छ। हाम्रो परिस्थिति जस्तोसुकै होस्‌, यसो गरेर हामी यहोवाको सेवा गर्ने सुअवसरप्रति कृतज्ञता देखाउन सक्छौं। फलस्वरूप, हामी यहोवालाई आफ्नो अंश बनाउन सक्छौं।

१४, १५. बाइबलमा पाइने ‘गहिरा कुराहरूको’ विषयमा नयाँ समझ प्रकट हुँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ र किन?

१४ आध्यात्मिक ज्योतिका स्रोत यहोवाले बाइबलमा पाइने ‘गहिरा कुराहरूको’ विषयमा नयाँ समझ प्रकट गर्नुहुँदा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? (१ कोरि. २:१०-१३) यस सन्दर्भमा प्रेषित पत्रुसले हाम्रो लागि राम्रो उदाहरण बसालेका छन्‌। येशूले आफ्नो कुरा सुन्‍न आएकाहरूलाई यसो भन्‍नुभएको थियो: “मानिसको छोराको शरीर नखाएसम्म र उसको रगत नपिएसम्म तिमीहरूले जीवन पाउनेछैनौ।” यो कुरालाई शाब्दिक रूपमै बुझेर थुप्रै चेलाहरूले यसो भने: “यो कुरा असाध्यै घिनलाग्दो छ; कसले यो सुन्‍न सक्छ र?” त्यसपछि तिनीहरू “आफूले पहिला छोडेर आएका कुराहरूमा लागे।” तर पत्रुसले चाहिं यसो भने: “प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका वचनहरू त तपाईंसित छन्‌।”—यूह. ६:५३, ६०, ६६, ६८.

१५ शरीर खाने र रगत पिउने कुरा गरेर येशूले के भन्‍न खोज्दै हुनुहुन्थ्यो त्यस विषयमा पत्रुसले सबै कुरा राम्ररी बुझेका त थिएनन्‌। तैपनि आध्यात्मिक समझ प्राप्त गर्न यी प्रेषितले परमेश्‍वरमाथि भरोसा गरे। कुनै विषयमा नयाँ समझ प्रकट हुँदा के तपाईं त्यस्तो छाँटकाँट गरिनुपछाडिको धर्मशास्त्रीय कारण बुझ्ने कोसिस गर्नुहुन्छ? (हितो. ४:१८) प्रथम शताब्दीका बिरियालीहरू “असाध्यै उत्सुक भएर परमेश्‍वरको वचन ग्रहण गर्थे र ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे।” (प्रेषि. १७:११) उनीहरूको उदाहरण अनुकरण गर्नुभयो भने यहोवाको सेवा गर्न पाएको सुअवसरप्रति तपाईं अझै कृतज्ञ हुनुहुनेछ। यहोवालाई आफ्नो अंशको रूपमा पाउनुभएकोमा तपाईं साँच्चै खुसी हुनुहुनेछ।

प्रभुको चेलासित मात्र विवाह गर्नुहोस्‌

१६. पहिलो कोरिन्थी ७:३९ मा दिइएको आज्ञा पालन गरेर हामी यहोवालाई कसरी आफ्नो अंश बनाउन सक्छौं?

१६ ख्रीष्टियनहरूले परमेश्‍वरको उद्देश्‍य मनमा राख्नुपर्ने अर्को क्षेत्र “प्रभुको चेलासित मात्र” विवाह गर्नू भनी बाइबलमा दिइएको आज्ञा पालन गर्नु हो। (१ कोरि. ७:३९) कोही-कोहीले यो बाइबल सल्लाह उल्लङ्‌घन गरेर विवाह गर्नुभन्दा अविवाहित नै रहने छनौट गरेका छन्‌। उनीहरूलाई यहोवाले मायालुपूर्वक हेरविचार गर्नुहुन्छ। एक्लो महसुस गर्दा अनि मदत माग्ने कुनै स्रोत नदेख्दा दाऊदले के गरे? तिनले यसो भने: “म मेरो दु:खपुकार उहाँकै सामने राख्छु, म मेरो दु:ख उहाँलाई देखाउँछु। मेरो आत्मा मभित्र खिन्‍न हुँदा तपाईंले मेरो बाटो जान्‍नुहुन्छ।” (भज. १४२:१-३) अगमवक्‍ता यर्मियाले पनि यस्तै महसुस गरेका थिए जसले लामो समयसम्म अविवाहित व्यक्‍तिको रूपमा वफादार भई यहोवाको सेवा गरेका थिए।

१७. एक्लोपन महसुस हुँदा एउटी बहिनीले कसरी त्यसको सामना गर्छिन्‌?

१७ अमेरिकामा बस्ने एक बहिनी यसो भन्छिन्‌: “म अविवाहित नै रहन्छु भनेर कहिल्यै सङ्‌कल्प गरेकी छैन। सुहाउने जोडी भेटियो भने म विवाह गर्छु। मेरी आमा साक्षी हुनुहुन्‍न। त्यसैले चाहे जोसुकैसँग होस्‌, विवाहचाहिं गर्नै पर्छ भनेर उहाँ मलाई कर गर्नुहुन्थ्यो। तर ‘मेरो वैवाहिक जीवन बिग्रियो भने के तपाईं त्यसको जिम्मा लिनुहुन्छ?’ भनेर मैले आमालाई सोधें। पछि मैले स्थायी जागिर पाएको, आफ्नो खुट्टामा आफै उभिएको अनि खुसी भएको देखेर आमाले विवाह गर्ने दबाब दिन छोड्‌नुभयो।” तर यी बहिनी कहिलेकाहीं एक्लो महसुस गर्छिन्‌। यसबारे तिनी यसो भन्छिन्‌: “म आफ्नो सारा भरोसा यहोवामा राख्छु। उहाँले मलाई कहिल्यै त्याग्नुहुन्‍न।” यहोवामा भरोसा राख्न तिनलाई कुन कुराले मदत गऱ्‍यो? “प्रार्थनाले मलाई यहोवा वास्तविक हुनुहुन्छ र म कहिल्यै एक्लो रहनेछैन भनेर बुझ्न मदत दिन्छ। ब्रह्‍माण्डकै सर्वोच्च परमेश्‍वरले मेरो कुरा सुन्‍नुहुने भएकोले मैले गर्व गर्नुपर्ने र आनन्दित हुनुपर्ने हर कारण छ” भनी तिनी बताउँछिन्‌। ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ’ भन्‍ने कुरामा विश्‍वस्त हुँदै तिनी यसो भन्छिन्‌: “म कुनै कुरा पाउने आशा नराखी अरूलाई मदत गर्छु। ‘यो मान्छेलाई म कसरी मदत गर्न सक्छु’ भनेर सोच्ने बित्तिकै मलाई भित्रैदेखि खुसी लागेर आउँछ।” (प्रेषि. २०:३५) हो, तिनले यहोवालाई आफ्नो अंश बनाएकी छिन्‌ अनि आफूले यहोवाको सेवा गर्ने सुअवसर पाएकोमा आनन्दित छिन्‌।

१८. तपाईं कसरी यहोवाको अंश बन्‍न सक्नुहुन्छ?

१८ तपाईंको परिस्थिति जस्तोसुकै किन नहोस्‌, तपाईंले यहोवालाई आफ्नो अंश बनाउन सक्नुहुन्छ। तपाईंले यहोवालाई आफ्नो अंश बनाउनुभयो भने उहाँका आनन्दित जनहरूमध्ये एक हुनुहुनेछ। (२ कोरि. ६:१६, १७) अनि यसरी तपाईं पुरातन समयका परमेश्‍वरका सेवकहरूजस्तै यहोवाको अंश बन्‍नुहुनेछ। ( व्यवस्था ३२:९, १० पढ्‌नुहोस्‌) थुप्रै राष्ट्रहरूको माझमा इस्राएल राष्ट्र परमेश्‍वरको अंश बनेजस्तै उहाँले तपाईंलाई पनि आफ्नो अंशको रूपमा रोजेर मायालु हेरविचार गर्नुहुनेछ।—भजन १७:८.

[फुटनोट]

a ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) नोभेम्बर २००९, पृष्ठ १२-१४ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

निम्न तरिकामा तपाईं कसरी यहोवालाई आफ्नो अंश बनाउन सक्नुहुन्छ?

• परमेश्‍वरको राज्य र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिएर

• आध्यात्मिक आहारप्रति कृतज्ञता देखाएर

• प्रभुको चेलासित मात्र विवाह गर्नू भनी परमेश्‍वरले दिनुभएको आज्ञा पालन गरेर

[पृष्ठ १३-मा भएको ठूलो अक्षरको क्याप्सन]

यहोवाको सेवालाई सर्वमहत्त्वपूर्ण स्थानमा राख्छौं भने उहाँ हाम्रो अंश बन्‍नुहुन्छ

[पृष्ठ १५-मा भएको चित्र]

यर्मियाको उदाहरण हाम्रो निम्ति प्रोत्साहनदायी छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने