लोभको पासोबाट उम्किन सफल हुनुहोस्
“धनी हुने इच्छा गर्ने चाहिं . . . परीक्षा र पासोमा फस्तछन्।” —१ तिमोथी ६:९.
१. पासोहरूबारे हामी किन चिन्तित हुनुपर्छ?
“पासो” भन्ने शब्द भन्नासाथ सायद एक जना शिकारीले एउटा असावधान शिकारलाई भ्रममा पारेर समात्न बनाएको उपकरणको दृश्य तपाईंको मनमा आउँछ होला। तथापि, हाम्रा लागि सबै भन्दा खतरनाक पासोहरू त्यस्ता शाब्दिक उपकरणहरू नभई आध्यात्मिक अथवा नैतिक खतरा ल्याउन सक्ने कुराहरू हुन् भनेर परमेश्वरले हामीलाई स्पष्ट गर्नुहुन्छ। त्यस्ता पासोहरू थाप्नमा दियाबल पोख्त छ।—२ कोरिन्थी २:११; २ तिमोथी २:२४-२६.
२. (क) खतरनाक पासोहरुबाट अलग बस्न यहोवाले हामीलाई कसरी मदत दिनुहुन्छ? (ख) अहिले ध्यान दिन लागेको पासो कुन प्रकारको हो?
२ शैतानका विभिन्न प्रकारका थुप्रै पासोहरूबारे औंल्याउनु भएर यहोवाले हामीलाई मदत दिनुहुन्छ। उदाहरणको लागि, हामी मूर्खतापूर्वक, अन्धाधुन्ध बोल्छौं अथवा भन्न नहुने कुराहरू मुखबाट निकाल्छौं भने हाम्रो ओंठ अर्थात् मुख पनि पासो हुन सक्छ भनी परमेश्वरले चेतावनी दिनुहुन्छ। (हितोपदेश १८:७; २०:२५) रिसाहा मानिसहरूसित सङ्गत गर्नुजस्तै घमण्ड पनि एउटा पासो हुन सक्छ। (हितोपदेश २२: २४, २५; २९:२५) तर हामी अर्को पासोतर्फ ध्यान देऔं: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्।” (१ तिमोथी ६:९) यस पासो पछाडि लुकेको कुरा वा आधारलाई एकै शब्दमा “लोभ” भन्न सकिन्छ। धनी हुने दृढ सङ्कल्पमा लोभ स्पष्ट देखिए तापनि वास्तवमा लोभ थुप्रै पक्षहरू भएको एउटा पासो हो।
यहोवाले खतराको चेतावनी दिनुहुन्छ
३, ४. प्राचीन मानव इतिहासमा लोभ सम्बन्धी कस्ता शिक्षाहरू छन्?
३ साधारणतया, लोभ भनेको ज्यादै बढी मात्रामा पैसा, सम्पत्ति, शक्ति, यौनिक आनन्द आदि कुराहरू प्राप्त गर्ने एउटा अनियन्त्रित जोडदार इच्छा हो। लोभको पासोमा पर्ने खतरा हामीले मात्र सामना गर्नु परेको होइन। हामी भन्दा धेरै पहिला, अदनको बगैंचामा हव्वा र तिनी पछि आदम लोभको पासोमा फसे। हव्वाको पति तिनीभन्दा बढी अनुभवी र स्वयं परमेश्वरबाटै सिकाइएका थिए। परमेश्वरले तिनीहरूलाई एउटा प्रमोदवनरुपी घर दिनुभएको थियो। तिनीहरूले अप्रदूषित भूमिमा उमारिएको असल र थरि थरिका प्रशस्त खानेकुराहरूको आनन्द उठाउन सक्थे। तिनीहरूले सिद्ध बच्चाहरू पाउने आशा गर्न सक्थे र तिनीहरूसङ्गै अनन्तसम्म परमेश्वरको सेवा गर्न सक्थे। (उत्पत्ति १:२७-३१; २:१५) यी कुराहरू कुनै पनि मानिसलाई सन्तुष्ट पार्न पर्याप्त देखिन्छ, होइन र?
४ यद्यपि, आफूसित पर्याप्त भएर पनि लोभ एउटा पासो बन्न सक्छ। परमेश्वरजस्तै हुने, बढी स्वतन्त्रता प्राप्त गर्ने र आफ्नो स्तर आफै निर्धारण गर्ने लोभको पासोमा हव्वा फसिन्। आदम चाहिं सबै कुरा गुमाउन परे तापनि आफ्नी राम्री पत्नीसितको मित्रता गुमाउन चाहँदैन थिए जस्तो देखिन्छ। यी सिद्ध मानिसहरू त यसरी लोभको पासोमा फसेको हुनाले स्पष्टतयाः हाम्रो निम्ति पनि लोभ खतरनाक हुन सक्छ।
५. लोभको पासोबाट अलग रहनु हाम्रो निम्ति कत्तिको महत्त्वपूर्ण छ?
५ लोभको पासोमा पर्न देखि हामी सतर्क हुनुपर्छ किनभने प्रेरित पावलले हामीलाई यसरी चेतावनी दिन्छन्: “अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाह छैन? न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू . . . परमेश्वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९, १०) पावलले हामीलाई यो पनि भने: “व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइयोस्।” (एफिसी ५:३) अतः हाम्रो असिद्ध शरीरका आकाङ्क्षाहरू पूरा गर्ने उद्देश्यले लोभलाई कुराकानीको विषय समेत बनाउनु हुँदैन।
६, ७. (क) लोभ कत्तिको शक्तिशाली हुन सक्छ भनेर बाइबलका कुन उदाहरणहरूले जोड दिन्छ? (ख) ती उदाहरणहरू हाम्रो लागि किन चेतावनीहरू हुनुपर्छ?
६ लोभको खतराप्रति सजग गराउन यहोवाले हामीलाई थुप्रै उदाहरणहरू साँचेर राखिदिनुभएको छ। आकानले देखाएको लोभ सम्झनुहोस्। यरिहो शहरलाई नाश गर्नु तर त्यहाँ भएको सुन, चाँदी, तामा र फलामलाई उहाँको ढुकुटीमा जम्मा गर्नु भनेर परमेश्वरले भन्नुभयो। सुरुमा आकानले त्यस निर्देशनलाई पालन गर्ने विचार गरेका थिए होलान् तर उनी लोभको पासोमा परे। यरिहो पुग्नासाथ उनलाई एकदम सस्तो मूल्यमा किनमेल गर्न गएको जस्तै भयो। तिनले आफूलाई मन पर्ने एकदम राम्रो पोशाक पनि देखे। हजारौं डलर मूल्य बराबरको सुन चाँदीहरू लिंदा उनले यसो पनि सोच्न सक्थे, ‘कत्तिका धन! कस्तो सस्तो। चोरीको माल जस्तै।’ तर वास्तवमा त्यो थियो नै चोरी! आफूले जिम्मा लाउनु पर्ने अथवा नाश गर्नुपर्ने कुराको लोभ गर्दा उनले परमेश्वरको कुरा चोरे र त्यसको लागि आकानले आफ्नो ज्यानै गुमाउनु पऱ्यो। (यहोशू ६:१७-१९; ७:२०-२६) गेहाजी र यहूदा इस्करयोतीको उदाहरणहरूलाई पनि ध्यान दिनुहोस्।—२ राजा ५:८-२७; यूहन्ना ६:६४; १२:२-६.
७ नबिर्सनुहोस्, माथि उल्लिखित तीन व्यक्तिहरू यहोवाको स्तर थाहा नपाएका अबूझ मूर्तिपूजकहरू थिएनन्। बरू परमेश्वरसित तिनीहरूको समर्पित सम्बन्ध थियो। तिनीहरू सबैले परमेश्वरका चमत्कारहरू देखेका थिए। तिनीहरू परमेश्वरको शक्ति देखेर प्रभावित हुनु पर्ने थियो र उहाँको अनुग्रह प्राप्त गरी रहनु पर्ने महत्त्वलाई तिनीहरूले बुझेको हुनु पर्ने थियो। तथापि लोभको पासो तिनीहरूको पतनको कारण भयो। कुनै पनि प्रकारको लोभमा हामीले आफूलाई फस्न दियौं भने परमेश्वरसितको हाम्रो सम्बन्ध पनि बिग्रन सक्छ। विशेषतः कस्ता प्रकारका लोभहरू हाम्रो लागि खतरनाक हुन सक्छन्?
धन दौलत अथवा सम्पत्तिको लोभको पासोमा फस्न
८. धनसम्पत्तिको सिलसिलामा बाइबलले कस्तो चेतावनी दिन्छ?
८ धन दौलतको प्रेम अर्थात् सम्पत्तिको लालसालाई बढ्न नदिन बाइबलले दिएका स्पष्ट चेतावनीहरू धेरै मसीहीहरूले सुनिसकेका छन्। ती मध्येका केही चेतावनीहरू मत्ती ६:२४-३३, लूका १२:१३-२१ र १ तिमोथी ६:९, १०-मा पाइन्छ र तिनीहरूको पुनरावलोकन गर्नु बेस हुनेछ। सायद यी सल्लाहहरू स्वीकार गरेर त्यस अनुसार चलेको जस्तो तपाईंलाई लाग्ला। तर आकान, गेहाजी र यहूदाले पनि ती चेतावनी र सल्लाहहरू प्रति सहमति व्यक्त गरेको हुन सक्छ। अतः कुरा स्पष्ट छ, मानसिक तवरमा मात्र समर्थन जनाएर पुग्दैन। धन दौलत अथवा सम्पत्तिको लोभले हाम्रो दैनिक जीवनलाई असर पार्न नपाओस् भनेर हामी होशियार हुनुपर्छ।
९. किनमेल गर्ने सन्दर्भमा हामीले आफ्नो मनोवृत्तिलाई किन जाँच्नुपर्छ?
९ दैनिक जीवनमा हामी प्राय खानेकुरा, लुगाफाटो र घरको लागि सरसामग्री जस्ता कुराहरू किन्छौं। (उत्पत्ति ४२:१-३; २ राजा १२:११, १२; हितोपदेश ३१:१४, १६; लूका ९:१३; १७:२८; २२:३६) तर व्यापारिक संसारले अझ बढी र नयाँ कुराहरू प्राप्त गर्ने इच्छा जागृत गराउँछ। अखबारहरू, पत्रिकाहरू र टिभीहरूमा दिइने विज्ञापनहरू चालै नपाउने गरी मानिसहरूलाई लोभमा फसाउने प्रयासहरू हुन्। हामीमा लोभ जगाउने प्रयास ती पसलहरूमा देख्न सकिन्छ जहाँ लहरको लहर ब्लाउजहरू, कोटहरू, ड्रेसहरू, स्वेटरहरू साथै नयाँ जुत्ताहरू, इलेक्ट्रोनिक उपकरणहरू र क्यामेराहरू प्रदर्शित गरिएको हुन्छ। अतः मसीहीहरूले आफूलाई यी प्रश्नहरू सोध्नु बुद्धिमानी हुनेछ: ‘के किनमेल गर्नु नै मेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण अथवा सबैभन्दा आनन्ददायी कुरा हुन गएको छ?’ ‘के मैले देखेको कुराहरू मलाई साँच्चै चाहिन्छ र? कि के व्यापारिक संसारले लोभको बीउ ममा उमार्न लागेको हो?’—१ यूहन्ना २:१६.
१०. लोग्नेमानिसहरूको निम्ति विशेषगरि कुन प्रकारको लोभ खतरनाक हो?
१० किनमेल गर्नु आइमाईहरूको लागि पासो हुन सक्छ भने अनगिन्ती लोग्नेमानिसहरू बढी पैसा कमाउने पासोमा फस्न सक्छन्। येशूले यस पासोलाई एक जना धनी मानिससित तुलना गर्नुभयो जसले आफ्नो आयस्रोत पर्याप्त हुँदा हुँदै पनि ‘आफ्ना भकारी भत्काएर झन् ठूला ठूला बनाउने र सबै अनाजहरू र सम्पत्तिहरू त्यहीं राख्ने’ निश्चय गऱ्यो। येशूले खतरालाई स्पष्टसित औंल्याउँदै यसो भन्नुभयो: “होशियार रहो, आफूलाई सबै किसिमका लालच” अर्थात् लोभबाट जोगाऊ। (लूका १२:१५-२१) हामी धनी हौं या नहोऔं हामीले त्यो सल्लाह चाहिं पालन गर्नुपर्छ।
११. बढ्ता पैसा प्राप्त गर्ने लोभमा एक जना मसीही कसरी फस्न सक्छ?
११ धेरै पैसा अथवा पैसाले किन्न सक्ने कुराहरूको लोभलाई अर्कै भेषमा पनि प्रस्तुत गर्न सकिन्छ। चाँडै धनी हुने योजना—सायद आर्थिक सुरक्षा प्राप्त गर्न जीवनको यो एकमात्र मौका हो भन्दै जोखिमपूर्ण लगानी गर्न उस्काउन सकिन्छ। अथवा शंकास्पद वा अवैध व्यापारमा लागेर बढी पैसा कमाउने परीक्षामा पर्न सक्छन्। यस्तो लालची इच्छा एकदमै शक्तिशाली पासो हुन सक्छ। (भजनसंग्रह ६२:१०; हितोपदेश ११:१; २०:१०) आफूमाथि भरोसा गर्ने भाइहरू नै मुख्य ग्राहकहरू हुनेछन् भन्ने आशामा मसीही मण्डली भित्रकाहरूले पनि व्यापारहरू सुरु गरेका छन्। यदि तिनीहरूको उद्देश्य ‘परिश्रम गरेर, जे असल छ सो आफ्नै हातले काम गरेर’ आवश्यक उत्पादन अथवा सेवा पुऱ्याउनुको सट्टा आफ्ना सङ्गी मसीहीहरूको नोक्सान हुने गरी छिटो छिटो पैसा कमाउनु हो भने तिनीहरू लोभमा फँसिरहेका हुन्छन्। (एफिसी ४:२८; हितोपदेश २०:२१; ३१:१७-१९, २४; २ थिस्सलोनिकी ३:८-१२) पैसाको लोभले गर्दा कसै कसैले बाजी थापेर, चिट्ठाहरू किनेर जूवा खेलेका छन्। अरूहरूले चाहिं समानुभूति र विवेकलाई एकातिर पन्छाएर ठूलो सट्टा भर्ना पाउने आशामा हतार-हतार नालिसहरू लगाएका छन्।
१२. धनसम्पत्तिको लोभबाट उम्किन सकिन्छ भनेर हामीलाई किन थाहा छ?
१२ माथि उल्लिखित विषयहरूमा आफूलाई जाँच गर्नु आवश्यक छ किनभने यसो गर्नाले हामीमा लोभ छ कि छैन भनेर इमान्दारीपूर्वक पत्ता लगाउन सक्छौं। र छ भने पनि हामी त्यसलाई हटाउन सक्छौं। जक्कैले आफ्नो जीवनमा परिवर्तन गरेको कुरा याद गर्नुहोस्। (लूका १९:१-१०) धनसम्पत्ति अथवा धन दौलतको लोभ कसैमा छ भने त्यस पासोबाट उम्किन जक्कैले जस्तै दृढ संकल्प गर्नु पर्छ।—यर्मिया १७:९.
जीवनका अन्य पक्षहरूमा लोभ
१३. भजनसंग्रह १०:१८-मा लोभको अर्को कुन पासोतर्फ ध्यान खिंचिएको छ?
१३ कसै कसैले धनसम्पत्ति सम्बन्धी लोभको खतरा सजिलैसित देख्छन्। तर लोभको अन्य रूप चाहिं हतपत ठम्याउँदैनन्। एउटा युनानी शब्दकोष अनुसार “लोभ” अथवा “लालसा” भनी अनुवाद गरिएको शब्दमा “शक्ति साथै धनसम्पत्ति” सम्बन्धी ‘बढी चाहना गर्ने’ भाव पाइन्छ। हो, आफ्नो अधिकार मुनिकाहरूलाई थरथर पार्ने र तिनीहरूमाथि प्रभुत्व जमाउने शक्तिको पनि हामी लोभ गर्न सक्छौं।—भजनसंग्रह १०:१८.
१४. कुन कुन क्षेत्रहरूमा शक्ति प्राप्त गर्ने इच्छा खतरनाक हुन सक्छ?
१४ प्राचीन समयदेखि नै असिद्ध मानिसहरूले अरूहरूमाथि अख्तियार जमाउनमा आनन्द मानेका छन्। मानव पापको दुःखदायी परिणामस्वरुप थुप्रै पतिहरूले आफ्नी पत्नीहरूलाई “अधीनमा” राख्नेछन् भनेर परमेश्वरले पहिले नै भन्नु भएको थियो। (उत्पत्ति ३:१६) तर यसरी अरूहरूलाई अधीनमा राख्ने गल्ती वैवाहिक जीवनको परिधिभित्र मात्र सीमित रहेको छैन। हजारौं वर्षपछि बाइबलका एक जना लेखकले भने कि “एउटा मानिसले अर्को मानिसलाई [आफ्नो अधीनमा राखेका छन्, न्यु व०] दुःख” दिएका छन्। (उपदेशक ८:९) राजनैतिक र सैनिक कामकुराहरूमा यो कत्ति सत्य ठहरिएको छ सो तपाईंलाई थाहा नै छ। तर के हामी आफ्नो अधीनमा पर्ने क्षेत्रहरूमा बढी व्यक्तिगत शक्ति अथवा अख्तियार खोज्छौं?
१५, १६. एक जना मसीही कसरी बढी शक्ति प्राप्त गर्न प्रलोभित हुन सक्छ? (फिलिप्पी २:३)
१५ सानो अथवा ठूलो परिवारमा, हाम्रो काम गर्ने ठाउँमा, साथीहरूसित अथवा मण्डलीमा अरू मानिसहरूसित हाम्रो सम्पर्क भई नै रहन्छ। के गर्ने, कसरी गर्ने र कहिले गर्ने आदि विषयहरूमा निर्णय गर्दा कहिलेकाहीं हाम्रो पनि केही राय हुन सक्छ। त्यस्तो हुनु नै गलत अथवा खराब होइन। तर के हामी आफूसित भएको अख्तियारको प्रयोग गर्नमा बढ्ता आनन्द मान्छौं? के जहिलेपनि अन्तिम निर्णय आफै गर्न चाहन्छौं र के हामी यसो गर्ने ठूलो चाहना गर्छौं? सांसारिक मेनेजरहरू अथवा मालिकहरूले प्रायजसो यस्तै प्रकारको मनोवृत्ति देखाउँछन्। तिनीहरू आफ्नो वरिपरि हो-हजूर भन्ने र कुनै विरोध व्यक्त नगर्ने मानिसहरू राख्छन् जसले तिनीहरूका हाकिमहरूका सांसारिक शक्तिको खोज (लोभ) प्रति कुनै अवरोध खडा गर्दैनन्।
१६ सङ्गी मसीहीहरूसित व्यवहार गर्दा जोगिनु पर्ने यो एउटा पासो हो। येशूले भन्नुभयो: “तिमीहरूलाई थाहा नै छ, कि अन्य जातिका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्दछन्, र तिनीहरूका ठूला ठूलाहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्। तिमीहरूमा चाहिं ता यस्तो हुनेछैन तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ।” (मत्ती २०:२५, २६) मसीही प्राचीनहरूले एक अर्कासङ्ग, सहायक सेवकहरूसित र बगालसित व्यवहार गर्दा त्यस्तो नम्रता झल्काउनु पर्छ। उदाहरणका लागि, मण्डलीको अध्यक्षले सानो सानो विषयहरूमा मात्र सङ्गी प्राचीनहरूको सल्लाह लिने तर सबै प्रमुख निर्णयहरू चाहिं स्वयं आफैले गर्ने गर्दा के यसमा शक्तिको लोभ झल्किन्दैन र? कार्य विभाजन गर्न के ऊ साँच्चै नै इच्छुक छ? क्षेत्र सेवकाईको निम्ति प्रबन्धहरू गर्दा एक जना सहायक सेवकले क्षेत्र सेवकाईको निम्ति गरिने सभामा नचाहिंदो नियमहरू बनाउन अथवा मागहरू गर्न थाल्यो भने समस्या खडा हुन सक्छ।—१ कोरिन्थी ४:२१; ९:१८; २ कोरिन्थी १०:८; १३:१०; १ थिस्सलोनिकी २:६, ७.
१७. लोभको पासोबारे कुरा गर्दा खानेकुरामा ध्यान पुऱ्याउनु किन उचित छ?
१७ भोजन अर्को क्षेत्र हो जसमा थुप्रै मानिसहरू लोभको पासोमा परेका छन्। खानु र पिउनुमा आनन्द लिनु अवश्य नै एउटा स्वभाविक कुरा हो; बाइबलले पनि त्यसको समर्थन गर्दछ। (उपदेशक ५:१८) यद्यपि, समय बित्दै जाँदा खाने र पिउने इच्छा पनि बढ्दै गएर औचित्य र आवश्यकताको सीमा नाघ्नु कुनै असामान्य कुरा होइन। यस विषयमा परमेश्वरका सेवकहरूले विचार पुऱ्याउन नपरेको भए, हितोपदेश २३:२०-मा यहोवाको वचनले “मतवालाहरू अथवा घिचुवाहरूको सङ्गत नगर” भनेर भन्ने थिएन? तर, हामी यस पासोबाट उम्किनु कसरी?
१८. खाने र पिउने सम्बन्धमा कस्तो आत्म जाँच हामीले गर्नुपर्छ?
१८ परमेश्वरका जनहरूले सादा भोजन मात्र खाऊन् भनेर परमेश्वरले भन्नुभएको छैन। (उपदेशक २:२४, २५) तर हाम्रो कुराकानी अनि योजनाहरूमा खाने र पिउने विषयलाई प्रमुख स्थान दिएको उहाँ मन पराउनु हुन्न। हामीले आफूलाई यो सोध्न सक्छौं, ‘मैले खाएको भोजन अथवा खाने विचार गरेको भोजनमा के म अति नै चासो लिन्छु?’ ‘के म जहिलेपनि खाने र पिउनेबारे मात्र कुरा गर्छु?’ आफूले तयार नगरेको अथवा आफूले पैसा तिर्नु नपरेको भोजन खाँदा हामी कस्तो प्रतिक्रिया देखाउँछौं? अर्को व्यक्तिको घरमा पाहुना भएर जाँदा अथवा मसीही सम्मेलनहरूमा खाना उपलब्ध हुंदा के हामी सदा भन्दा बढी खान खोज्छौं? एसावले भोजनलाई अति नै महत्त्व दिंदा सधैंका लागि उसको क्षति भएको घटना हामी नबिर्सौं।—हिब्रू १२:१६.
१९. लैङ्गिक आनन्द उठाउने सम्बन्धमा लोभ कसरी एउटा समस्या हुन सक्छ?
१९ पावलले हामीलाई अर्को पासोबारे यसप्रकार अर्न्तदृष्टि दिन्छन्: “व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइयोस्, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ।” (एफिसी ४:१७-१९; ५:३) निश्चय पनि लैङ्गिक आनन्दका लागि लोभ बढ्न सक्छ। वैवाहिक सम्बन्धको सीमाभित्र यस्ता आनन्दहरू उचित छन्। यस आनन्दसित सम्बन्धित न्यानो स्नेहले पति र पत्नीलाई धेरै वर्षसम्म एक अर्काप्रति समर्पित रहन मदत दिन्छ। यद्यपि आज संसारमा लैङ्गिक कामकुरालाई बढ्ता नै जोड दिएको छ भन्ने कुरामा कमै व्यक्ति असहमत हुनेछन्। मानिसहरू त्यसलाई साधारण कुरा ठान्छन् तर वास्तवमा त्यो पावलले उल्लेख गरेका लोभहरूको एउटा प्रतिरूप हो। लैङ्गिक मोजमज्जाको यस्तो प्रकारको गलत दृष्टिकोण त्यस्ता व्यक्तिहरूले सजिलै अपनाउँछन् जसले आफूलाई फिल्महरू, भिडियोहरू, पत्रिकाहरू साथै मनोरञ्जन स्थलहरूमा अहिले व्याप्त अनैतिकता र नग्नताले असर पार्न दिएका छन्।
२०. लैङ्गिक मामिलाहरूमा लोभको खतराबारे सजग छन् भनेर मसीहीहरूले कसरी देखाउन सक्छन्?
२० परमेश्वरका दासहरू पनि लैङ्गिक लोभको पासोमा पर्न सक्छन् भन्ने कुरा दाऊदले बेतशेबासङ्ग गरेको पापबाट देख्न सकिन्छ। आफ्नो वैवाहिक जीवनमा आनन्द उठाउन स्वतन्त्र हुँदा हुँदै पनि दाऊदले अवैध लैङ्गिक इच्छाहरू बढ्न दिए। उरियाहकी सुन्दर पत्नी बेतशेबालाई देखेपछि उनले उनीसित अवैध आनन्द उठाउने आफ्नो विचार र कार्यलाई बेलगाम छाडिदिए। (२ शमूएल ११:२-४; याकूब १:१४, १५) यस्तो प्रकारको लोभलाई हामीले निश्चय नै त्याग्नुपर्छ। वैवाहिक जीवनमा पनि यस प्रकारको लोभलाई त्याग्नु उचित छ। यसको अर्थ लैङ्गिक क्रियाकलापहरूमा औचित्यको सीमा नाघ्नु हुँदैन। लोभबाट अलग्गै बस्न कटिबद्ध एक जना पतिले आफ्नो पत्नीप्रति साँचो चासो देखाउनेछ र परिवार नियोजन सम्बन्धी कुनै छनौटहरू गर्दा आफ्नो स्वास्नीको अहिले र पछिको स्वास्थ्यलाई भन्दा तिनले आफ्नो आनन्दलाई महत्त्वपूर्ण ठान्ने छैनन्।—फिलिप्पी २:४.
लोभबाट अलग्गै रहने दृढ संकल्प गर्नुहोस्
२१. लोभबारे गरेको छलफलले हामीलाई किन निरुत्साहित हुन दिनु हुँदैन?
२१ यहोवाले सावधानीहरू अथवा चेतावनीहरू दिनु भएको कारण हामीमाथि उहाँले भरोसा नगर्नु भएर होइन। आफ्ना भक्त दासहरु निष्ठावान भएर उहाँको सेवा गरिरहन चाहन्छन् भनेर उहाँ जान्नुहुन्छ र धेरैजसोले त्यसो गरी नै रहनेछन् भनेर उहाँ निर्धक्क हुनुहुन्छ। शैतानलाई अय्यूबबारे भन्नु भए जस्तै कुरा सामूहिक तवरमा आफ्ना जनहरूबारे उहाँ यसो भन्न सक्नुहुन्छ: “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने पृथ्वीमा त्योजस्तै निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस तैंले कोही पाउनेछैनस्।” (अय्यूब १:८) स्वर्गमा हुनुहुने हाम्रो दयालु विश्वासयोग्य पिताले लोभसङ्ग सम्बन्धित खतरनाक पासोहरूबारे हामीलाई सतर्क गराउनुहुन्छ किनभने उहाँप्रति हामी विश्वासी र निष्कलङ्कित भएर रहेको उहाँ चाहनुहुन्छ।
२२. हाम्रो अध्ययनको दौडानमा आफ्नो लागि खतरा अथवा कमजोरी पत्ता लाग्यो भने हामीले के गर्नुपर्छ?
२२ हामी सबैले वंशानुगत एउटा लोभी झुकाव पाएका छौं र दुष्ट संसारको प्रभावमा परेर हामीले यो लोभी झुकावलाई बढ्न दिएको पनि हुन सक्छ। सम्पत्ति, धन दौलत, शक्ति अथवा लैङ्गिक आनन्दको सन्दर्भमा लोभबारे अध्ययन गर्दा आफ्ना केही कमजोरीहरू देख्नुभयो भने के गर्नुहुनेछ? येशूको यस सल्लाहलाई हृदयङ्गम गर्नुहोस्: “औ तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने, त्यसलाई काटिदेऊ, दुई हात भएरै नरकको ननिभ्ने आगोमा जानुभन्दा ता कूँजो भएर जीवनमा पस्नु तिम्रो निम्ति बढ़िया हो।” (मर्कूस ९:४३) आफ्नो मनोवृत्ति र अभिरूचिहरूमा आवश्यक परिवर्तनहरू गर्नुहोस्। लोभको मृत्युदायी पासोबाट अलग बस्नुहोस्। यसप्रकार परमेश्वरको मदतद्वारा तपाईं “जीवनमा” प्रवेश गर्न सक्नु हुनेछ। (w93 8/1)
मैले के सिकें?
▫ लोभको पासोबारे हामी किन चिन्तित हुनुपर्छ?
▫ कुन कुन तरिकामा धन दौलत अथवा सम्पत्तिको प्रेमले हामीलाई प्रलोभित गर्न सक्छ?
▫ जीवनका अरू क्षेत्रहरूमा लोभले कस्तो प्रकारका वास्तविक खतराहरू ल्याउन सक्छ?
▫ लोभ सम्बन्धी हाम्रा केही कमजोरीहरू छन् भने हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?