येशूले पृथ्वीमा बिताउनुभएका अन्तिम दिनहरू फेरि सम्झने
यो सा.यु. ३३ को यहूदी महिना नीसानको सातौं दिन हो। कल्पना गर्नुहोस्, तपाईं रोमको यहूदिया प्रान्तका घटनाहरू हेर्दै हुनुहुन्छ। यरीहो तथा त्यहाँका मनोहर दृश्यहरू पछाडि छोड्नुहुँदै बुङ्गबुङ्गती धूलो उड्ने घुमाउरो बाटोमा येशू आफ्ना चेलाहरूसँग बिस्तारै हिंड्दै हुनुहुन्छ। वार्षिक निस्तार चाड मनाउन अरू थुप्रै यात्रीहरू पनि येरूशलेमतिर उक्लँदैछन्। तथापि, यो बाटो उक्लँदा येशूका चेलाहरूको मनमा थकाइबाहेक अन्य कुराहरू पनि खेलिरहेका छन्।
यहूदीहरू रोमी शासकको हातबाट छुटकारा दिने मसीहको बाटो हेरिरहेका थिए। ती चिरप्रतीक्षित उद्धारक नासरतका येशू नै हुनुहुन्छ भनी धेरैलाई विश्वास लागेको छ। उहाँले परमेश्वरको राज्यबारे सिकाउनुभएको साढे तीन वर्ष भइसक्यो। उहाँले बिरामीहरू निको पार्नुभयो अनि भोकाएकाहरूलाई खुवाउनुभयो। साँच्चै, उहाँले मानिसहरूलाई सान्त्वना दिनुभयो। तर येशूले धार्मिक नेताहरूको घोर भर्त्सना गर्नुभएकोले तिनीहरू रिसले चूर भई उहाँको हत्या गर्न सुरिएका छन्। यद्यपि, अहिले उहाँ आफ्ना चेलाहरूका अघिअघि सुखा बाटोमा एउटा उद्देश्य लिएर उक्लनुहुँदैछ।—मर्कूस १०:३२.
अगिल्तिर पर्ने जैतून डाँडापछाडि सूर्य डुबेपछि येशू आफ्ना साथीहरूसँग बेथानी पुग्नुहुन्छ र छ रात त्यहीं बिताउनुहुन्छ। त्यहाँ प्रिय मित्रहरू लाजरस, मरियम र मार्थाले उहाँलाई स्वागत गर्न पर्खिरहेका छन्। साँझको चिसो वातावरणले दिनभरिको उष्ण गर्मीको यात्राको थकाइ चट्ट हराउँछ। अनि नीसान ८ को विश्राम दिन सुरु हुन्छ।—यूहन्ना १२:१, २.
नीसान ९
विश्राम दिनपश्चात् यरूशलेममा ठूलो चहलपहल सुरु हुन्छ। निस्तार चाड मनाउन हजारौं आगन्तुकहरू शहरमा घुइँचो लागिसकेका छन्। तर यसपाली पहिलेको भन्दा चर्को होहल्ला छ। मानिसहरूको कौतूहलपूर्ण भीड शहरको प्रवेशद्वारतिर जाने साँगुरो बाटोमा तँछाड मछाड गरिरहेको छ। ठेलाठेल गर्दै साँघुरो प्रवेशद्वारबाट बाहिर निस्केपछि त तिनीहरू मनै छुने दृश्य देख्छन्! थुप्रै उल्लासित मानिसहरू बेथफागेबाट आउने जैतून डाँडाको बाटोमा ओह्रालो लागिरहेका छन्। (लूका १९:३७) यी सबै घटनाको मतलब के हो त?
ल हेर्नुहोस्! नासरतका येशू गधाको बछेडामा सवार भएर आउँदै हुनुहुन्छ। मानिसहरू उहाँ हिंड्नुहुने बाटोमा लुगाहरू ओछ्याउँदैछन्। अरू चाहिं भर्खरै काटेका खजूरका हाँगाहरू हल्लाउँदै हर्षोल्लासका साथ कराउँदैछन्: “धन्य परमप्रभुका नाउँमा आउने इस्राएलका राजा”!—यूहन्ना १२:१२-१५.
मानिसहरूको भीड यरूशलेम पुगेपछि येशूले शहरतिर हेर्नुहुन्छ र साह्रै दुःखित हुनुहुन्छ। उहाँ रुनु हुन्छ। अनि उहाँले त्यो शहर पतन हुनेछ भनी अगमवाणी गर्नुभएको सुन्छौं। केही समयपश्चात् येशू मन्दिरमा पुग्नुहुन्छ। त्यहाँ भीडलाई शिक्षा दिनुहुन्छ र उहाँकहाँ आउने अन्धा अनि लंगडाहरूलाई निको पार्नुहुन्छ।—मत्ती २१:१४; लूका १९:४१-४४, ४७.
उक्त घटना मुख्य पूजाहारीहरू तथा सदूकीहरूको नजरबाट लुक्न सक्दैन। येशूका आश्चर्यजनक काम र उल्लासित भीड देखेर तिनीहरू खूब चिढिएका छन्! रिस थाम्न नसकेर फरिसीहरू कराउँछन्: “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।” येशू जवाफ दिनुहुन्छ: “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू कराउनेछन्।” मन्दिरबाट निस्कनुअघि येशूले त्यहाँ भइरहेका व्यापारिक क्रियाकलापहरू नियाल्नुहुन्छ।—लूका १९:३९, ४०; मत्ती २१:१५, १६; मर्कूस ११:११.
नीसान १०
येशू बिहान सबेरै मन्दिर आइपुग्नुहुन्छ। आफ्नो पिता, यहोवा परमेश्वरको उपासनालाई व्यापारमा परिणत गरिएकोले उहाँ हिजो क्रोधित हुनुभएथ्यो। अतः उहाँ अति जोसका साथ मन्दिरमा किनबेच गर्नेहरूलाई धपाउन थाल्नुहुन्छ। तत्पश्चात् सराफीहरूका टेबल र ढुकुर बेच्नेहरूका आसन पल्टाइदिनुहुन्छ। येशू भन्नुहुन्छ: “यो लेखिएको छ, मेरो घर प्रार्थनाको घर कहलाइनेछ। तर तिमीहरूले चाहिं यसलाई डाँकूहरूको ओड़ार बनाएका छौ।”—मत्ती २१:१२, १३.
मुख्य पूजाहारीहरू, शास्त्रीहरू तथा मुख्य मुख्य मानिसलाई येशूको हावभाव र शिक्षा पच्दैन। तिनीहरू उहाँको हत्या गर्न सुरिएका छन्! तर भीडको कारण तिनीहरू त्यसो गर्न सक्दैनन् किनकि येशूका शिक्षाले छक्क परेका मानिसहरू “उहाँका कुरा सुन्नामा मस्तथिए।” (लूका १९:४७, ४८) जसै साँझ पर्छ, रातको मीठो विश्राम लिन येशू आफ्ना साथीहरूसँग रमाइलो मान्नुहुँदै बेथानी फर्कनुहुन्छ।
नीसान ११
अहिले झिसमिसे उज्यालो भएको छ र यरूशलेम जान येशू आफ्ना चेलाहरूसँग जैतून डाँडाको बाटोतिर लागिसक्नुभयो। उहाँहरू मन्दिर पुग्नासाथ मुख्य पूजाहारी तथा बूढा प्रधानहरूले येशूसँग निहुँ खोज्छन्। उहाँले मन्दिरबाट सराफीहरू र व्यापारीहरू धपाउनुभएको घटना तिनीहरूको मनमा ताजै छ। अति क्रुद्ध भएर उहाँका शत्रुहरू सोध्छन्: “के अख्तियारले तिमी यस्ता कुराहरू गर्छौं? औ कसले तिमीलाई यो अख्तियार दियो?” जवाफमा येशू भन्नुहुन्छ: “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु, त्यो मलाई भन्यौ भने, म पनि के अख्तियारले यी काम गर्दछु, सो तिमीहरूलाई भन्नेछु। यूहन्नाको बप्तिस्मा कहाँबाट भयो? स्वर्गबाट कि मानिसहरूबाट?” ती विरोधीहरू एकसाथ गुटमुटिएर तर्कवितर्क गर्न थाल्छन्: “स्वर्गबाट भनौं भने, तिनले हामीहरूलाई उसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ? भन्नेछन्। तर मानिसहरूबाट भनौं भने, हामीलाई भीड़सँग डर लाग्छ। किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनी ठान्छन्।” रनभुल्लमा परेर तिनीहरू भन्छन्: “हामीलाई थाह छैन।” शान्त भएर येशू जवाफ दिनुहुन्छ: “म पनि के अख्तियारले यी काम गर्दछु, तिमीहरूलाई भन्दिनँ।”—मत्ती २१:२३-२७.
अब येशूलाई गिरफ्तार गर्न उहाँका शत्रुहरूले केही बोल्न लगाएर फसाउने प्रयास गर्छन्। तिनीहरू सोध्छन्: “सिजरलाई कर तिर्नु मनासिब हो कि होइन?” “कर तिर्ने सिक्का मलाई देखाओ,” प्रत्युत्तरमा येशू भन्नुहुन्छ। उहाँ सोध्नुहुन्छ: “यो मूर्ति र छाप कसको हो?” “सिजरको,” तिनीहरू जवाफ दिन्छन्। तिनीहरूलाई अक्क न बक्क पार्नुहुँदै सबैले सुन्नेगरि येशू भन्नुहुन्छ: “यसकारण जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।”—मत्ती २२:१५-२२.
अकाट्य तर्कद्वारा शत्रुहरूलाई नाजवाफ बनाउनुभएपछि येशूले भीड र आफ्ना चेलाहरूसामु तिनीहरूको कटु आलोचना गर्नुहुन्छ। उहाँले निर्भयी भएर शास्त्रीहरू र फरिसीहरूको निन्दा गर्नुभएको सुन्नुहोस् त। उहाँ भन्नुहुन्छ: “तिनीहरूकै काम जस्तो चाहिं नगर, किनकि तिनीहरूले भन्द ता छन्, तर गर्दैनन्।” निडरतापूर्वक उहाँ तिनीहरूको अनेकन् कार्यहरूको लागि धिक्कार्नुहुन्छ र तिनीहरू अन्धा अगुवा र कपटीहरू हुन् भनी चिनाउनुहुन्छ। येशू भन्नुहुन्छ: “ए सर्पहरू, साँबे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ?”—मत्ती २३:१-३३.
त्यसरी कटु आलोचना गर्नुको अर्थ येशूले अरू मानिसहरूको असल गुनहरू वास्तै गर्नुहुन्न भन्ने होइन। पछि, मानिसहरूले ढुकुटीमा भेटी चढाएको येशूले देख्नुहुन्छ। एउटी गरिब विधवाले आफ्नो सारा जीविका अर्थात् दुई पैसा चढाएकी देख्नु कस्तो हृदयस्पर्शी दृश्य हो! न्यानो मूल्यांकन गर्नुहुँदै येशू बताउनुहुन्छ, ‘तिनीहरूका प्रशस्तताबाट’ धेरै भेटी चढाउनेहरूभन्दा वास्तवमा त्यस विधवाले बढी चढाएकी छे। येशू अनुकम्पापूर्ण हुनुभएकोले मानिसले जे जति गर्न सक्छन्, उहाँ त्यसलाई गहिरो मूल्यांकन गर्नुहुन्छ।—लूका २१:१-४.
येशू अब फेरि कहिल्यै नआउनेगरि मन्दिरबाट जाँदै हुनुहुन्छ। उहाँका कोही कोही चेलाहरूले मन्दिरको भव्यताबारे टिप्पणी गर्छन् किनकि “सुन्दर सुन्दर ढुङ्गा र चढ़ाएका कुराहरूले त्यो सिंगारिएको छ।” येशूले यसो भन्नुहुँदा तिनीहरू छक्क पर्छन्: “ती दिन आउनेछ जब ढुङ्गामाथि ढुङ्गा पनि छोड़िनेछैन सब भताभुङ्ग हुनेछ।” (लूका २१:५, ६) साँघुरो शहरबाट निस्केपछि प्रेरितहरू येशूको पछिपछि लाग्छन् र उहाँको भनाइको अर्थ के होला भनी उदेक मान्छन्।
केही समयपछि येशू आफ्ना प्रेरितहरूसँग जैतून डाँडामा बस्नुहुन्छ र त्यहाँको शान्त तथा चकमन्न वातावरणको आनन्द लिनुहुन्छ। प्रेरितहरूले यरूशलेम र मन्दिरको भव्य दृश्य हेरिसकेपछि पत्रुस, याकूब, यूहन्ना तथा आन्द्रियास येशूको अनौठो पूर्वानुमानको अर्थ बुझ्न चाहन्छन्। तिनीहरू भन्छन्: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिह्न के हुन्छ?”—मत्ती २४:३; मर्कूस १३:३, ४,
प्रत्युत्तरमा तिनीहरूका महान् शिक्षकले बढो उल्लेखनीय भविष्यवाणी गर्नुहुन्छ। युद्ध, भैंचालो, अनिकाल अनि महामारी हुनेछन् भनी उहाँ बताउनुहुन्छ। परमेश्वरको राज्यको सुसमाचार सारा संसारमा प्रचार गरिनेछ भनेर पनि येशू अगमवाणी गर्नुहुन्छ। उहाँ चेताउनी दिनुहुन्छ: “त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।”—मत्ती २४:७, १४, २१; लूका २१:१०, ११.
येशूले ‘आफ्नो आगमनको चिह्नका’ अन्य पक्षहरू बताउनुहुँदा चारै जना प्रेरितहरू ध्यान दिएर सुन्छन्। ‘जागा रहने’ आवश्यकतामाथि उहाँ जोड दिनुहुन्छ। किन? उहाँ भन्नुहुन्छ: “किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्, सो तिमीहरूले जान्दैनौ।”—मत्ती २४:४२; मर्कूस १३:३३, ३५, ३७.
येशू र उहाँका प्रेरितहरूका लागि यो अविस्मरणीय दिन भएको छ। वास्तवमा, येशू गिरफ्तार हुनु, परीक्षामा पर्नु र उहाँलाई मृत्युदण्ड दिनुअघि यही नै उहाँको अन्तिम जन सेवकाई थियो। समय निकै बितिसकेकोले उहाँहरू डाँडैडाँडा हुँदै बेथानीतर्फ लाग्नुहुन्छ।
नीसान १२ र १३
नीसान १२ येशू आफ्ना चेलाहरूसँग चुपचाप बिताउनुहुन्छ। धार्मिक नेताहरू उहाँको हत्या गर्न तातिएका छन् भनी उहाँलाई थाह छ। अनि भोलिपल्ट साँझ मनाउनुपर्ने निस्तार चाडमा तिनीहरूले बाधा पुऱ्याएको उहाँ चाहनुहुन्न। (मर्कूस १४:१, २) भोलिपल्ट अर्थात् नीसान १३ मा निस्तार चाडको अन्तिम प्रबन्ध मिलाउन मानिसहरू व्यस्त छन्। दिउँसो हुनेबित्तिकै येशू यरूशलेमको एउटा घरको माथिल्लो तलाको कोठामा निस्तार चाडको तयारी गर्न पत्रुस र यूहन्नालाई पठाउनुहुन्छ। (मर्कूस १४:१२-१६; लूका २२:८) अन्तिम निस्तार चाड मनाउन येशू आफ्ना अन्य दस चेलाहरूसहित सूर्यास्त हुनु अगावै ती दुई चेलाहरू भएको ठाउँमा पुग्नुहुन्छ।
नीसान १४ सूर्यास्तपछि
जैतून डाँडाबाट पूर्णीमाको चन्द्रमा आफ्नो मुहार देखाउँदैछ र यरूशलेमलाई गोधूलीले धुम्टो ओढाएको छ। सजिसजाउ गरिएको ठूलो कोठामा तयार पारिएको टेबुलमा येशू आफ्ना १२ चेलाहरूसँग बसिरहनुभएको छ। उहाँ भन्नुहुन्छ: “मैले दुःख भोग्न अघिनै यो निस्तार-चाड़ तिमीहरूसित मनाउने ठूलो इच्छा गरेथें।” (लूका २२:१४, १५) एकै छिनमा येशू उठ्नुभएर आफ्नो खाष्टो एकातिर पन्छाउनुभएको देख्दा प्रेरितहरू वाल्ल पर्छन्। तौलिया र बाटामा पानी लिनुभएर उहाँ चेलाहरूका पाउ धुन थाल्नुहुन्छ। विनम्र सेवाबारे कस्तो अविस्मरणीय पाठ!—यूहन्ना १३:२-१५.
तथापि, तिनीहरूमध्ये एक जना अर्थात् यहूदा इस्करयोतीले उहाँलाई धार्मिक नेताहरूको हातमा सुम्पेर धोका दिनेछ भनी येशूलाई थाह छ। त्यसैकारण उहाँ साह्रै दुःखित हुनुहुन्छ। उहाँ उक्त कुरा प्रकट गर्नुहुन्छ: “तिमीहरूमध्ये एक जनाले मलाई धोकाबाजी गर्नेछ।” यो सुनेर प्रेरितहरू हुनसम्म दुःखित हुन्छन्। (मत्ती २६:२१, २२) निस्तार चाड मनाइसकेपछि येशू यहूदालाई भन्नुहुन्छ: “तिमी जे गर्छौ चाँड़ै गरिहाल।”—यूहन्ना १३:२७.
यहूदा गएपछि येशू आफ्नो सन्निकट मृत्युको एउटा स्मरणार्थ भोज प्रारम्भ गर्नुहुन्छ। उहाँ अखमिरी रोटी लिनुभएर धन्यवाद चढाउनुहुन्छ अनि भाँचेर ११ जनालाई खान दिनुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिमीहरूका निम्ति दिएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्नेगर।” तत्पश्चात् उहाँ त्यसैगरि दाखमद्यको कचौरा लिनुहुन्छ। धन्यवाद चढाएपछि कचौरा आफ्ना चेलाहरूलाई दिनुहुँदै त्यसबाट पिउन लगाउनुहुन्छ। येशू यसो भन्नुहुन्छ: “यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्चितको लागि, बहाइन्छ।”—लूका २२:१९, २०; मत्ती २६:२६-२८.
यो महत्त्वपूर्ण साँझ येशू आफ्ना विश्वासी प्रेरितहरूलाई थुप्रै मूल्यवान् पाठहरू सिकाउनुहुन्छ। त्यसमध्ये एउटा पाठ भ्रातृप्रेमको महत्त्वबारे थियो। (यूहन्ना १३:३४, ३५) तिनीहरूले “शान्तिदाता” अर्थात् पवित्र आत्मा पाउनेछन् भनी येशू आश्वासन दिनुहुन्छ। उहाँले भन्नुभएका सम्पूर्ण कुराहरू पवित्र आत्माले तिनीहरूलाई सम्झना गराउने थियो। (यूहन्ना १४:२६) त्यही साँझ येशूले तिनीहरूको खातिर व्यग्र प्रार्थना गर्नुभएको सुनेर तिनीहरू निश्चय नै धेरै प्रोत्साहित भएका हुनुपर्छ। (यूहन्ना १७ अध्याय) प्रशंसाको भजन गाएपछि तिनीहरू घरको माथिल्लो तलाबाट निस्कन्छन् र रातको चिसो हावामा येशूको पछिपछि लाग्छन्।
किद्रोन बेंसी नाघेपछि येशू चेलाहरूसँग आफूलाई मन पर्ने ठाउँ अर्थात् गेतसमनीको बगैंचातिर लाग्नुहुन्छ। (यूहन्ना १८:१, २) चेलाहरू बगैंचामा बस्छन्, येशू चाहिं अलि परतिर जानुभएर प्रार्थना गर्नुहुन्छ। मदतको लागि परमेश्वरलाई एकाग्रचित्तसाथ गर्नुभएको प्रार्थनाका शब्दहरूले जति उहाँको मानसिक पीडा व्यक्त गर्छ, वास्तवमा उहाँको पीडा त्योभन्दा असह्य छ। (लूका २२:४४) आफू यस घडीमा असफल भए स्वर्गमा हुनुहुने आफ्नो प्रिय पिताको नाउँमा कलंक थुप्रिएला भन्ने सोचाइले मात्र पनि उहाँ मर्माहत हुनुहुन्छ।
येशूले प्रार्थना मात्र के गरिसक्नुभएको थियो तरवार, लाठा र राँकोहरू लिएका भीडका साथ यहूदा इस्करयोती आइपुग्छ। कोमलतासाथ येशूलाई म्वाइँ खाँदै यहूदा भन्छ: “हे गुरु, सलाम।” यसो गरेर त्यसले येशूलाई पक्राउन भीडलाई इशारा गर्छ। पत्रुस हत्त न पत्त आफ्नो तरवार थुतेर मुख्य पूजाहारीको दासको कान च्वाट्ट काटिदिन्छन्। येशूले त्यस मानिसको कान निको पार्नुहुँदै भन्नुहुन्छ: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्।”—मत्ती २६:४७-५२.
सबै घटना आँखाको एकै निमेषमा हुन्छ! येशू गिरफ्तार हुनुभएर बाँधिनुहुन्छ। डर र अन्योलको भुमरीमा रन्थनिएर प्रेरितहरू आफ्नो मालिकलाई छोडेर कुलेलाम ठोक्छन्। येशूलाई पूर्व प्रधान पूजाहारी हन्नासकहाँ लगिन्छ। तत्पश्चात् जाँचपडताल गर्न तत्कालीन प्रधान पूजाहारी कैयाफाकहाँ लगिन्छ। झिसमिसे उज्यालो हुनु अगावै महासभाले उहाँलाई ईश्वरनिन्दाको झूटो आरोप लगाउँछ। त्यसपछि कैयाफाले उहाँलाई रोमी राज्यफाल पोन्तियस पिलातसकहाँ पठाउँछन्। तिनले येशूलाई गालीलका शासक हेरोद एन्टिपासकहाँ पठाउँछन्। अनि त्यहाँ हेरोद र तिनका सिपाहीहरू येशूको खिल्ली उडाउँछन्। त्यसपछि हेरोदले उहाँलाई फेरि पिलातसकहाँ पठाउँछन्। पिलातसले येशूलाई निर्दोष ठहऱ्याउँछन्। तर यहूदी धार्मिक नेताहरू येशूलाई ज्यान सजाय दिन तिनलाई दबाब दिन्छन्। मौखिक तथा शारीरिक रूपमा धेरै दुर्व्यवहार गरेपछि येशूलाई गलगथा लगिन्छ। त्यहाँ उहाँलाई निर्दयतासाथ कीला ठोकेर शूलीमा झुण्ड्याइन्छ र उहाँको अति पीडादायी मृत्यु हुन्छ।—मर्कूस १४:५०–१५:३९; लूका २३:४-२५.
येशूको मृत्युले उहाँको जीवन सदाको लागि अन्त हुँदो हो त यो इतिहासको सबैभन्दा दुःखान्त घटना हुनेथियो। खुसीको कुरा, त्यस्तो भएन। सा.यु. ३३ नीसान १६ मा उहाँ मृत्युबाट ब्यूँतनुभयो भन्ने थाह पाएर चेलाहरू तीन छक परे। येशू फेरि जीवित हुनुभएको कुरा ५०० भन्दा बढी मानिसहरूले केही दिनपश्चात् यकिन गर्नसके। अनि पुनरुत्थान हुनुभएको ४० दिनपछि विश्वासी अनुयायीहरूले उहाँ स्वर्ग उक्लदैं गर्नुभएको देखे।—प्रेरित १:९-११; १ कोरिन्थी १५:३-८.
येशूको जीवन र तपाईं
उक्त कुराहरूले तपाईं अर्थात् हामी सबैलाई कसरी प्रभाव पार्छ? येशूको सेवकाई, मृत्यु तथा पुनरुत्थानले यहोवा परमेश्वरको महिमा गर्छ। अनि ती कुराहरूले उहाँको महान् उद्देश्य पूरा गर्न निर्णायक भूमिका निर्वाह गर्छ। (कलस्सी १:१८-२०) हाम्रोनिम्ति पनि त्यो अति नै महत्त्वपूर्ण छ किनकि येशूको बलिदानको आधारमा हाम्रा पापहरू क्षमा भएका छन् र हामीले यहोवा परमेश्वरसँग व्यक्तिगत सम्बन्ध गाँस्न सकेका छौं।—यूहन्ना १४:६; १ यूहन्ना २:१, २.
यसको प्रभाव मृत जनहरूमाथि पनि छ। येशूको पुनरुत्थानले गर्दा परमेश्वरले प्रतिज्ञा गर्नुभएको पार्थिव प्रमोदवनमा मरेका मानिसहरू फेरि जीवित हुने बाटो खुलेको छ। (लूका २३:३९-४३; १ कोरिन्थी १५:२०-२२) यस्ता विषयहरूबारे अझ बढी जान्न चाहनुहुन्छ भने सन् १९९८ अप्रिल ११ मा ख्रीष्टको स्मरणार्थ उत्सवमा उपस्थित हुन हामी तपाईंलाई निमन्त्रणा दिन्छौं। उक्त समारोहमा भाग लिन तपाईं आफ्नो इलाकामा पर्ने यहोवाका साक्षीहरूको राज्यभवनमा उपस्थित हुन सक्नुहुन्छ।
[पृष्ठ ६-मा भएको पेटी]
“डाँकूहरूको ओडार”
लोभी व्यापारीहरूले परमेश्वरको मन्दिरलाई “डाँकूहरूको ओड़ार” बनाएका छन् भन्ने प्रशस्त कारणहरू येशूसित थिए। (मत्ती २१:१२, १३) यरूशलेमबाहिरका यहूदी तथा यहूदीधर्म अपनाउनेहरूले मन्दिरको कर तिर्न विदेशी पैसा साट्नुपर्थ्यो। सराफीहरूले एडार १५ अर्थात् निस्तार चाडको महिना दिनअघि नै रोमी प्रान्तहरूमा व्यापार गर्न थाल्थे भनी अलफ्रेड इडरसिम आफ्नो पुस्तक येशू मसीहको जीवन र समय-मा (अंग्रेजी) बताउँछन्। यहूदी र यहूदीधर्म अपनाउनेहरूको ठूलो जमातबाट मुनाफा कमाउन तिनीहरू एडार २५ सुरु भएपछि यरूशलेम मन्दिरको हाताभित्र व्यापार गर्न थाल्थे। पैसा साट्दा एक एकको शुल्क लिएर ती व्यापारीहरू धेरै पैसा कमाउँथे। येशूले तिनीहरूलाई डाँकूहरू भन्नुभएबाट तिनीहरूले अत्यधिक शुल्क लिइरहेका थिए भन्ने स्पष्ट हुन्छ। अझ भन्ने हो भने तिनीहरूले गरिबगुरुवाका पैसा धुतिरहेका थिए।
कतिले बलिदान चढाउन जनावरहरू आफ्नै घरबाट ल्याउनसक्दैनथे। आफै ल्याउनेहरूले पनि त्यो जनावर मन्दिरको प्रवेशद्वारमा निरीक्षकलाई देखाएर शुल्क तिर्नुपर्थ्यो। धेरै टाढाबाट ल्याएको जनावर बलिदानको लागि अयोग्य ठहऱ्याइ देलान् भन्ने डरले लेवीको व्यवस्थाअनुसार “योग्य” ठहऱ्याइएको जनावर थुप्रैले मन्दिरका भ्रष्ट व्यापारीहरूबाट किन्थे। “धेरैजसो गरिब किसानहरूबाट समेत अचाक्ली शुल्क लिइन्थ्यो” भनी एक शास्त्रविद् बताउँछन्।
कुनै समय प्रधान पूजाहारी भइसकेका हन्नास र तिनको परिवारले मन्दिरका व्यापारीहरूबाट शुल्क उठाउँथे भन्ने प्रमाण भेट्टिएको छ। रब्बीहरूको लेखोटमा “हन्नासका छोराहरूको [मन्दिर] बजारहरू”-बारे चर्चा गरिएको छ। तिनीहरूको मुख्य आय स्रोत नै सराफीहरू तथा मन्दिरमा जनावर बेचबिखन गर्नेहरूबाट उठाएको राजस्व थियो। एक शास्त्रविद्को भनाइअनुसार व्यापारीहरूलाई लखेट्न येशूले उठाउनुभएको कदम “पूजाहारीहरूको इज्जतमा मात्र नभएर तिनीहरूको आय स्रोतमा पनि धक्का पुऱ्याउनु थियो।” कारण जेसुकै होस्, उहाँका शत्रुहरू उहाँको हत्या गर्न चाहन्थे!—लूका १९:४५-४८.
[पृष्ठ ४-मा भएको चार्ट]
येशूको मानव जीवनका अन्तिम दिनहरू
नीसान सा.यु. ३३ घटनाहरू महान पुरुष*
७ शुक्रबार येशू आफ्ना चेलाहरूसँग यरीहोबाट यरूशलेम जानुहुन्छ १०१, अनु. १
(नीसान ७यहूदी पात्रोअनुसार एक साँझदेखि अर्को साँझसम्म
एक दिन भए तापनि सन् १९९८ अप्रिल ५, आइतबार पर्छ)
८ शुक्रबार साँझ येशू आफ्ना चेलाहरूसँग बेथानी आइपुग्नुहुन्छ; विश्राम दिन सुरु हुन्छ १०१, अनु. २-४
शनिबार विश्राम दिन (सन् १९९८ अप्रिल ६, सोमबार) १०१, अनु. ४
९ शनिबार साँझ शिमोन भन्ने कोरीकहाँ खाना खानुहुन्छ; मरियमले येशूको शिरमा १०१, अनु. ५-९
जटामसीको तेल खनाउँछिन्; थुप्रै मानिसहरू येशूलाई हेर्न र उहाँको
कुरा सुन्न यरूशलेमबाट आउँछन्
आइतबार विजयल्लोसित यरूशलेममा प्रवेश; मन्दिरमा शिक्षा दिनुहुन्छ १०२
१० सोमबार बिहान सबेरै यरूशलेम जानुहुन्छ; मन्दिरबाट व्यापारीहरू धपाउनुहुन्छ; १०३, १०४
यहोवा स्वर्गबाट बोल्नुहुन्छ
११ मंगलबार दृष्टान्तहरू चलाएर यरूशलेमको मन्दिरमा शिक्षा दिनुहुन्छ; १०५ देखि ११२ सम्म, अनु. १
फरिसीहरूको भर्त्सना गर्नुहुन्छ; विधवाले चढाएको भेटी ध्यान दिएर
हेर्नुहुन्छ; आफ्नो भावी उस्थितिको चिह्न बताउनुहुन्छ
१२ बुधबार चेलाहरूसँग बेथानीमा चुपचाप दिन बिताउनुहुन्छ; यहूदाले धोकाबाजी ११२, अनु. २-४
गर्ने तालमेल मिलाउँछ
१३ बिहीबार पत्रुस र यूहन्ना यरूशलेममा निस्तार चाडको तयारी गर्छन्; अपराह्न येशू ११२, अनु. ५ देखि ११३, अनु. १
आफ्ना अन्य दस प्रेरितहरूसँग त्यहाँ जानुहुन्छ (शनिबार, अप्रिल ११, १९९८)
१४ बिहिबार साँझ निस्तार चाड मनाउनुहुन्छ; येशूले प्रेरितहरूका पाउ धुनुहुन्छ; येशूलाई धोका ११३, अनु. २ देखि ११७ सम्म
दिन यहूदा बाहिर जान्छ; ख्रीष्ट आफ्नो मृत्युको स्मरणार्थ स्थापित गर्नुहुन्छ
(सूर्यास्तपछि, सन् १९९८ अप्रिल ११, आइतबार)
मध्य रातपछि गेतसमनीको बगैंचामा धोकाबाजी र गिरफ्तारी; प्रेरितहरू भाग्छन्; ११८ देखि १२० सम्म
प्रधान पूजाहारी तथा महासभासामु पुर्पक्ष; पत्रुस येशूलाई इन्कार गर्छन्
शुक्रबार सूर्योदयदेखि फेरि महासभासामु खडा; पिलातसकहाँ लगिनुहुन्छ, त्यसपछि हेरोदकहाँ अनि १२१ देखि १२७ सम्म, अनु. ७
सूर्यास्तसम्म फेरि पिलातसकहाँ; मृत्युदण्ड दिइन्छ; झुण्ड्याइनुहुन्छ; गाडिनुहुन्छ
१५ शनिबार विश्राम दिन; पिलातस येशूको चिहानमा पालेहरू राख्ने अनुमति दिन्छन् १२७, अनु. ८-१०
१६ आइतबार येशूको पुनरुत्थान १२८
* माथि उल्लिखित संख्याहरूले आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकका अध्यायहरू जनाउँछन्। येशूका अन्तिम सेवकाईका विस्तृत धर्मशास्त्रीय पदहरूको चार्ट “सम्पूर्ण धर्मशास्त्र परमेश्वरबाट प्रेरित र लाभदायी छन्” पुस्तक (अंग्रेजी) पृष्ठ २९० मा हेर्नुहोस्। यी पुस्तकहरू वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित गरिएका हुन्।