प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १११ p. २५६-p. २५९ par. ६
  • प्रेषितहरू चिन्ह माग्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेषितहरू चिन्ह माग्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस युगको आखिरी समयको दौडान विश्‍वस्त
  • “तपाईंको आगमनको चिह्न के हुन्छ?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • अन्तको दिनका चिन्ह
    सबैभन्दा महान्‌ पुरुष
  • येशू पछिसम्म अर्थ राख्ने भविष्यवाणी गर्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
  • “यी हुनु आवश्‍यकनै छन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १११ p. २५६-p. २५९ par. ६
येसु चार प्रेषितले सोधेको प्रश्‍नहरूको जवाफ दिनुहुन्छ

अध्याय १११

प्रेषितहरू चिन्ह माग्छन्‌

मत्ति २४:३-५१ मर्कुस १३:३-३७ लुका २१:७-३८

  • चार जना चेला चिन्ह माग्छन्‌

  • प्रथम शताब्दीमा र त्यसपछि भविष्यवाणीको पूर्ति

  • हामी सचेत रहनुपर्छ

अहिले मङ्‌गलबार दिउँसो हो र नीसान ११ सिद्धिनै लागेको छ। बितेको केही दिनदेखि येसु असाध्यै व्यस्त हुनुहुन्छ र पृथ्वीमा उहाँको सेवा सिद्धिनै लागेको छ। उहाँले दिनभरि मन्दिरमा सिकाउँदै आउनुभएको छ र रातीचाहिँ सहरबाहिर बास बस्न जानुहुन्छ। मानिसहरूलाई धेरै चासो भएकोले तिनीहरू “उहाँको कुरा सुन्‍न . . . बिहान सबेरै मन्दिरमा” आउँछन्‌। (लुका २१:३७, ३८) तर अहिलेचाहिँ येसु आफ्ना चार प्रेषित—पत्रुस, अन्द्रियास, याकुब र युहन्‍नासँग जैतुन डाँडामा हुनुहुन्छ।

यी चार जना उहाँकहाँ सुटुक्क आएका छन्‌। उनीहरूलाई मन्दिरको चिन्ता लागेको छ किनभने येसुले भर्खरै एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत रहनेछैन भनेर मन्दिरबारे भविष्यवाणी गर्नुभएको छ। तर उनीहरूको मनमा अरू कुरा पनि खेलिरहेको छ। येसुले उनीहरूलाई यसो भन्‍नुभएको थियो: “तिमीहरू पनि तयार रहो किनकि तिमीहरूले नचिताएको बेला मानिसको छोरा आउनेछ।” (लुका १२:४०) उहाँले “मानिसको छोरा प्रकट हुने दिन”-बारे पनि बताउनुभएको थियो। (लुका १७:३०) के यी कुराहरू उहाँले मन्दिरबारे भर्खरै भन्‍नुभएको कुरासित सम्बन्धित छन्‌? प्रेषितहरू जान्‍न असाध्यै उत्सुक छन्‌। उनीहरू भन्छन्‌: “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌ अनि तपाईँको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?”—मत्ति २४:३.

आफूले नजिकैबाट देखिरहेको मन्दिरको अन्तबारे उनीहरूले सोचिरहेका हुन सक्छन्‌। साथै उनीहरूले मानिसको छोराको उपस्थितिबारे पनि प्रश्‍न गर्छन्‌। ‘राज्याधिकार हासिल गरेर फर्कन परदेश गएका’ “कुलीन घरानाको एक जना मानिस”-बारे येसुले बताउनुभएको उदाहरण उनीहरूको मनमा ताजै हुन सक्छ। (लुका १९:११, १२) उनीहरू “यस युगको आखिरी समय”-मा के-के हुनेछ भनेर जान्‍न पनि उत्सुक छन्‌।

जवाफमा येसु यरुसलेम र यसको मन्दिर कहिले नाश हुनेछ भनेर थाह पाउने चिन्हबारे बताउनुहुन्छ। तर उहाँ थप कुरा पनि बताउनुहुन्छ। भविष्यमा यो चिन्हले ख्रिष्टियनहरूलाई येसुको “उपस्थिति” र यस युगको आखिरी समयको कुन घडीमा बाँचिरहेका छौँ भनेर थाह पाउन मदत गर्नेछ।

वर्षहरू बित्दै जाँदा प्रेषितहरूले येसुले गर्नुभएको भविष्यवाणी पूरा भइरहेको याद गर्छन्‌। हो, उहाँले भन्‍नुभएको थुप्रै कुरा उनीहरूकै जीवनकालमा पूरा हुन थाल्छ। त्यसैले येसुले भविष्यवाणी गर्नुभएको ३७ वर्षपछि अर्थात्‌ इस्वी संवत्‌ ७० मा बाँचिरहेका सचेत ख्रिष्टियनहरू यरुसलेम र यसको मन्दिरको विनाशको लागि तयार थिए। तर येसुले भन्‍नुभएको सबै कुरा इस्वी संवत्‌ ७० र त्यसअघिका वर्षहरूमा पूरा हुँदैन। त्यसोभए उहाँ राज्यशक्‍तिमा उपस्थित हुनुभएको कुरा केले सङ्‌केत गर्नेछ? येसु प्रेषितहरूलाई यस प्रश्‍नको जवाफ दिनुहुन्छ।

“युद्धको कोलाहल अनि युद्धको खबर” सुनिनेछ र “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ” भनेर येसु भविष्यवाणी गर्नुहुन्छ। (मत्ति २४:६, ७) “ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ” भनेर पनि उहाँ बताउनुहुन्छ। (लुका २१:११) येसु आफ्ना चेलाहरूलाई यस्तो चेतावनी दिनुहुन्छ: “मानिसहरूले तिमीहरूलाई पक्रनेछन्‌, खेदो गर्नेछन्‌।” (लुका २१:१२) झूटा भविष्यवक्‍ताहरू देखा पर्नेछन्‌ र धेरैलाई बहकाउनेछन्‌। दुष्टता बढ्‌नेछ र धेरैको प्रेम सेलाएर जानेछ। उहाँ यसो पनि भन्‍नुहुन्छ: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४.

येसुको भविष्यवाणी रोमीहरूले यरुसलेम विनाश गर्नुअघि र त्यस दौडान केही हदसम्म पूरा भयो। तर के उहाँ भविष्यमा हुने अझ व्यापक पूर्तिलाई सङ्‌केत गर्दै हुनुहुन्छ? के तपाईँ येसुले गर्नुभएको महत्त्वपूर्ण भविष्यवाणीको अझ व्यापक पूर्ति वर्तमान समयमा भइरहेको छ भन्‍ने कुराको प्रमाण देख्दै हुनुहुन्छ?

येसुले आफ्नो उपस्थितिको चिन्हस्वरूप बताउनुभएको एउटा कुरा हो, “उजाड पार्ने घृणित कुरा” देखा पर्नु। (मत्ति २४:१५) इस्वी संवत्‌ ६६ मा मूर्तिपूजाका ध्वजा वा झन्डा बोकेर आएका रोमी सैनिकहरूले यरुसलेमलाई ‘घेर्दा’ यो घृणित कुरा देखा पर्छ। रोमीहरूले यरुसलेमलाई घेरेर पर्खालका केही भाग भत्काउँछन्‌। (लुका २१:२०) यसरी “घृणित कुरा” त्यो खडा हुन नहुने ठाउँमा अर्थात्‌ यहुदीहरूको नजरमा “पवित्र ठाउँ”-मा खडा हुन्छ।

येसु थप यस्तो भविष्यवाणी गर्नुहुन्छ: “त्यतिखेर यस्तो महासङ्‌कष्ट हुनेछ, जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ।” इस्वी संवत्‌ ७० मा रोमीहरूले यरुसलेम नाश गर्छन्‌। यसरी रोमीहरूले मन्दिरलगायत यहुदीहरूको “पवित्र सहर”-लाई ध्वस्त पार्दा हजारौँ यहुदीले ज्यान गुमाउँछन्‌ र यो महासङ्‌कष्ट नै साबित हुन्छ। (मत्ति ४:५; २४:२१) यरुसलेम सहर र यहुदीहरूले यस्तो विनाश पहिला कहिल्यै भोगेका छैनन्‌ र यस विनाशसँगै यहुदीहरूले सयौँ वर्षदेखि व्यवस्थित रूपमा गर्दै आएको उपासना प्रणालीको पनि अन्त हुन्छ। यसबाट पछि येसुका यी भविष्यसूचक शब्दहरू अझ व्यापक रूपमा पूरा हुँदा अवस्था कत्ति भयावह हुनेछ भनेर अनुमान लगाउन सकिन्छ।

यस युगको आखिरी समयको दौडान विश्‍वस्त

राज्यशक्‍तिमा उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे येसुले प्रेषितहरूसित गरिरहनुभएको छलफल अझै टुङ्‌गिएको छैन। अब उहाँ उनीहरूलाई “झूटा ख्रिष्टहरू अनि झूटा भविष्यवक्‍ताहरू”-को पछि नलाग्न चेतावनी दिनुहुन्छ। “सम्भव भएसम्म चुनिएका जनहरूलाई समेत बहकाउन” प्रयास गरिनेछ भनेर उहाँ बताउनुहुन्छ। (मत्ति २४:२४) तर यी चुनिएका जनहरू बहकाउमा पर्नेछैनन्‌। झूटा ख्रिष्टहरू दृश्‍य रूपमा मात्र आउन सक्छन्‌। तर ख्रिष्टको उपस्थिति भने अदृश्‍य हुनेछ।

यस युगको आखिरी समयमा अझ व्यापक रूपमा हुने महासङ्‌कष्टलाई सङ्‌केत गर्दै येसु यसो भन्‍नुहुन्छ: “सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन, आकाशबाट ताराहरू खस्नेछन्‌ र आकाशका शक्‍तिहरू डगमगाउनेछन्‌।” (मत्ति २४:२९) आङै सिरिङ्‌ङ हुने यस्तो भयानक कुरा सुनिरहेका प्रेषितहरूलाई त्यतिबेला के-कस्तो घटना हुनेछ भनेर ठ्याक्कै त थाह छैन तर त्यो पक्कै डरलाग्दो हुनेछ।

स्तब्ध पार्ने यी घटनाहरूले मानिसहरूमा कस्तो असर पार्नेछ? येसु भन्‍नुहुन्छ: “पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र आशङ्‌काले गर्दा मानिसहरू मूर्च्छा पर्नेछन्‌ किनकि आकाशका शक्‍तिहरू डगमगाउनेछन्‌।” (लुका २१:२६) साँच्चै येसुले वर्णन गरिरहनुभएको समय मानव इतिहासको सबैभन्दा अन्धकारमय कालखण्ड हुनेछ।

तर खुसीको कुरा, ‘मानिसको छोरा शक्‍ति र ठूलो महिमासहित’ आउँदा सबैले विलाप गर्नेछैनन्‌ भनेर येसु प्रेषितहरूलाई बताउनुहुन्छ। (मत्ति २४:३०) “चुनिएकाहरूका लागि” परमेश्‍वरले हस्तक्षेप गर्नुहुनेछ भनेर उहाँले सङ्‌केत गरिसक्नुभएको छ। (मत्ति २४:२२) त्यसोभए येसुले बताइरहनुभएको स्तब्ध पार्ने घटनाहरू घट्‌दा त्यस्ता वफादार चेलाहरूले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? येसु आफ्ना अनुयायीहरूलाई यस्तो प्रोत्साहन दिनुहुन्छ: “यी कुराहरू हुन थालेपछि खडा भएर आफ्नो शिर उठाओ किनकि तिमीहरूको छुटकारा नजिक आउँदै छ।”—लुका २१:२८.

तर भविष्यवाणी गरिएको यस समयावधिमा बाँचिरहेका येसुका चेलाहरूले अन्त नजिकै छ भनेर कसरी पक्का गर्न सक्छन्‌? येसु अन्जिरको रूखको एउटा उदाहरण बताउनुहुन्छ: “कलिलो हाँगा पलाएर त्यसमा पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ। त्यसैगरि जब तिमीहरू यी सबै कुरा देख्छौ, तब मानिसको छोरा नजिकै, ढोकामै छ भनेर जान। म तिमीहरूलाई साँचो-साँचो भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।”—मत्ति २४:३२-३४.

त्यसैले चेलाहरूले चिन्हको विभिन्‍न पक्ष पूरा भइरहेको देख्दा अन्त नजिकै छ भनेर बुझ्नुपर्छ। यस निर्णायक समयमा जीवितै रहने चेलाहरूलाई उहाँ यस्तो सल्लाह दिनुहुन्छ:

“त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्‍नुहुन्छ। नुहको दिन जस्तो थियो, मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ। किनकि जलप्रलयअघि नुह जहाजभित्र नपसेको दिनसम्म तिनीहरू खाँदै अनि पिउँदै थिए र विवाहवारी गर्दै थिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नबगाएसम्म तिनीहरूले यादै गरेनन्‌; मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ।” (मत्ति २४:३६-३९) येसु आफ्ना श्रोतालाई पूरै संसारलाई असर गरेको नुहको समयको जलप्रलयबारे सम्झाउँदै हुनुहुन्छ।

जैतुन डाँडामा येसुको कुरा सुनिरहेका प्रेषितहरूले सचेत रहनु कत्तिको महत्त्वपूर्ण छ भनेर पक्कै बुझेको हुनुपर्छ। येसु यसो भन्‍नुहुन्छ: “तिमीहरू आफ्नो विषयमा होसियार बस ताकि धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले तिमीहरूको हृदयलाई दबाउन नपाओस्‌, नत्र त त्यो दिन तिमीहरूमाथि अचानक पासोझैँ आइपर्नेछ। किनकि पृथ्वीमा बास गर्ने सबैमाथि त्यो आइपर्नेछ। त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हरघडी उत्कट बिन्ती चढाउँदै जागा रहो।”—लुका २१:३४-३६.

येसु उहाँले गरिरहनुभएको भविष्यवाणीको व्यापक पूर्ति हुनेछ भनेर फेरि एकचोटि जोड दिँदै हुनुहुन्छ। उहाँले ३०-४० वर्षभित्र घट्‌ने र यरुसलेम सहर वा यहुदी राष्ट्रलाई मात्र असर गर्ने घटनाहरूबारे भविष्यवाणी गरिरहनुभएको छैन। उहाँ ‘पृथ्वीमा बास गर्ने सबैमाथि आइपर्ने’ घटनाहरूलाई औँल्याउँदै हुनुहुन्छ।

येसु आफ्ना चेलाहरूलाई उनीहरू सचेत, जागा र तयार रहनुपर्छ भनेर बताउनुहुन्छ। यस चेतावनीलाई जोड दिन उहाँ अर्को एउटा उदाहरण बताउनुहुन्छ: “एउटा कुरा जानिराख, यदि घरमालिकलाई चोर कुन प्रहरमा आउँदै छ भनेर थाह भएको भए ऊ जागै बस्ने थियो र त्यसलाई आफ्नो घर फोर्न दिने थिएन। यो कुरा विचार गर्दै तिमीहरू पनि तयार रहो किनकि तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउनेछ।”—मत्ति २४:४३, ४४.

येसु आफ्ना चेलाहरूलाई आशावादी हुन सकिने कारण पनि दिनुहुन्छ। उहाँको भविष्यवाणी पूरा भइरहेको बेला एक जना सचेत र सक्रिय “दास” हुनेछ भनेर उहाँ आश्‍वासन दिनुहुन्छ। प्रेषितहरूले सजिलै कल्पना गर्न सक्ने अवस्थातर्फ उहाँ यसरी उनीहरूको ध्यान खिच्नुहुन्छ: “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस्‌ भनेर नियुक्‍त गरेका हुन्छन्‌? आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्‌! म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिनले उसलाई आफ्ना सबै सम्पत्तिमाथि नियुक्‍त गर्नेछन्‌।” तर “दास” दुष्ट भएमा र अरूलाई नराम्रो व्यवहार गर्न थालेमा मालिकले “उसलाई असाध्यै कठोर दण्ड” दिनेछन्‌।—मत्ति २४:४५-५१; तुलना गर्नुहोस्‌ लुका १२:४५, ४६.

तर येसुले उहाँका अनुयायीहरूको एउटा समूहले दुष्ट व्यवहार गर्न थाल्नेछ भन्‍न खोज्नुभएको होइन। त्यसोभए येसु आफ्ना चेलाहरूलाई कस्तो पाठ सिकाउन खोज्दै हुनुहुन्छ? उहाँ उनीहरू सचेत र सक्रिय भएको चाहनुहुन्छ र यो कुरा प्रस्ट पार्न उहाँ अर्को एउटा उदाहरण बताउनुहुन्छ।

  • प्रेषितहरू भविष्यमा हुने घटनाहरूबारे सोध्न उत्प्रेरित हुनुको कारण के हो र उनीहरूको मनमा अर्को कुन कुरा पनि खेलिरहेको हुन सक्छ?

  • येसुको भविष्यवाणी कहिले पूरा हुन थाल्छ र कसरी?

  • ख्रिष्टको उपस्थितिलाई सङ्‌केत गर्ने केही घटना के-के हुन्‌?

  • “घृणित कुरा” कसरी देखा पर्छ र यो देखा परेपछि कस्ता घटनाहरू हुन्छन्‌?

  • येसुको भविष्यवाणी पूरा भएको देख्दा मानिसहरूले कस्तो प्रतिक्रिया देखाउनेछन्‌?

  • अन्त नजिकै छ भनेर चेलाहरूलाई बुझाउन येसु कुन उदाहरण बताउनुहुन्छ?

  • येसुको भविष्यवाणीको पूर्तिले पूरै संसारलाई असर गर्छ भनेर कुन कुराले सङ्‌केत गर्छ?

  • यस युगको आखिरी समयमा बाँचिरहेका आफ्ना चेलाहरूलाई येसु कस्तो सल्लाह दिनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने