आफ्ना मानिसहरूलाई कसरी जोगाउने, यहोवा जान्नुहुन्छ
“परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट जोगाउने . . . सो यहोवा जान्नुहुन्छ।”—२ पत्रु. २:९.
पुनरावलोकन प्रश्न:
आफ्नो उद्देश्य पूरा गर्नको लागि समय तालिकाअनुसारै कामकुरा अघि बढाउन यहोवा जान्नुहुन्छ भनेर हामी किन पक्का हुन सक्छौं?
आफ्ना मानिसहरूलाई बचाउन यहोवाले शक्ति प्रयोग गर्नुहुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौं?
घटनाक्रम कसरी अघि बढ्छ, यहोवा जान्नुहुन्छ भनेर हामी कसरी थाह पाउन सक्छौं?
१. “महासङ्कष्ट”-मा पृथ्वीको अवस्था कस्तो हुनेछ?
सैतानको संसारमाथि परमेश्वरको न्यायदण्ड एक्कासि आइपर्नेछ। (१ थिस्स. ५:२, ३) “परमप्रभुको भयानक दिन”-मा पृथ्वीका मानिसहरू अलमल्लमा पर्नेछन्। (सप. १:१४-१७) जताततै कठिनाइ अनि दुःख हुनेछ। त्यो यस्तो दुःखको समय हुनेछ “जो संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन।”—मत्ती २४:२१, २२ पढ्नुहोस्।
२, ३. (क) “महासङ्कष्ट”-मा परमेश्वरका जनहरूले कस्तो कुराको सामना गर्नुपर्नेछ? (ख) यहोवाले भविष्यमा दिनुहुने छुटकाराप्रतिको हाम्रो विश्वासलाई केले अझै बलियो बनाउन सक्छ?
२ “महासङ्कष्ट”-को अन्तिम घडीमा ‘मागोग देशको गोगले’ परमेश्वरका जनहरूलाई अन्तिम पटक आक्रमण गर्नेछ। त्यस आक्रमणमा “पृथ्वीलाई ढाक्ने एउटा बादलझैं” “एक ठूलो दल, एक शक्तिशाली सेना” परमेश्वरका जनहरूविरुद्ध आउनेछ। (इज. ३८:२, १४-१६) परमेश्वरका जनहरूलाई मदत गर्न कुनै पनि मानव सङ्गठन आउनेछैन। तिनीहरूको छुटकारा यहोवामा मात्र निर्भर हुनेछ। शत्रुहरूले आक्रमण गर्न आउँदा यहोवाका जनहरूले कस्तो प्रतिक्रिया देखाउनेछन्?
३ तपाईं परमेश्वरको सेवक हुनुहुन्छ भने के तपाईंमा महासङ्कष्टको बेला परमेश्वरले आफ्ना जनहरूलाई बचाउन सक्नुहुन्छ र बचाउनु पनि हुनेछ भन्ने विश्वास छ? प्रेषित पत्रुसले यस्तो लेखे: “परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट जोगाउने तर उहाँको स्तरविपरीत काम गर्ने मानिसहरूलाई भने कसरी न्यायको दिनमा नष्ट गर्नका लागि राखिछोड्ने, सो यहोवा जान्नुहुन्छ।” (२ पत्रु. २:९) यहोवाले विगतमा आफ्ना जनहरूलाई जोगाउनुभएको विवरणहरूबारे मनन गर्दा उहाँले भविष्यमा दिनुहुने छुटकाराप्रतिको विश्वासलाई हामी अझ बलियो बनाउन सक्छौं। आउनुहोस्, यहोवा आफ्ना जनहरूलाई जोगाउन सक्षम हुनुहुन्छ भनेर हामीलाई विश्वस्त पार्ने तीनवटा उदाहरण विचार गरौं।
विश्वव्यापी प्रलयबाट बच्नेहरू
४. जलप्रलय आउनुअघि के-के गर्नुपर्थ्यो?
४ सर्वप्रथम नूहको दिनमा भएको जलप्रलयलाई विचार गर्नुहोस्। जलप्रलय आउनुअघि केही महत्त्वपूर्ण काम सिध्याउनुपर्थ्यो। विशाल जहाज बनाउनुपर्थ्यो र त्यसभित्र पशुपक्षीहरूलाई सुरक्षितसाथ राख्नुपर्थ्यो। जहाज बनाइसकेपछि मात्र यहोवाले जलप्रलय कहिले ल्याउने भनेर निर्णय गर्नुभएको होइन भनी उत्पत्तिको विवरणले बताउँछ। जहाज बनाउने काम समयमै सिद्धिएन भने जलप्रलयको समय नै फेरबदल गर्नुपर्ने हो कि भन्ने चिन्तै नगरी उहाँले जलप्रलयको समय तोक्न सक्नुहुन्थ्यो। नूहलाई जहाज बनाउने आदेश दिनुभन्दा निकै अघि नै उहाँले जलप्रलय ल्याउने समय तोक्नुभयो। यो कुरा हामी कसरी थाह पाउन सक्छौं?
५. उत्पत्ति ६:३ मा लेखिएअनुसार यहोवाले कस्तो आदेश जारी गर्नुभयो? अनि यो आदेश कहिले जारी गरिएको थियो?
५ यहोवाले स्वर्गमा एउटा घोषणा गर्नुभयो भनी बाइबल बताउँछ। उत्पत्ति ६:३ अनुसार उहाँले यसो भन्नुभयो: “मेरो आत्माले मानिसमा सधैंको निम्ति बास गर्नेछैन, किनभने त्यो शरीर मात्र हो। तापनि त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।” यो वाक्यले मानिसको औसत आयु बताउन खोजेको होइन। यहोवाको यस उर्दीले त्यसबेलाको अभक्त संसारलाई उहाँले नाश गर्ने समयलाई बुझाउँथ्यो।a जलप्रलय ईसापूर्व २३७० मा भएको थियो। त्यसकारण जलप्रलय ल्याउने यो उर्दी परमेश्वरले ईसापूर्व २४९० मा जारी गर्नुभएको थियो भन्ने निष्कर्षमा पुग्न सक्छौं। त्यतिबेला नूह ४८० वर्षका थिए। (उत्प. ७:६) त्यसको लगभग २० वर्षपछि अर्थात् ईसापूर्व २४७० देखि नूहका सन्तानहरू जन्मन थाले। (उत्प. ५:३२) जलप्रलय आउन लगभग सय वर्ष बाँकी थियो तर मानिसजातिलाई जोगाउन नूहले खेल्ने विशेष भूमिकाबारे यहोवाले तिनलाई त्यतिबेलासम्म पनि केही बताउनुभएको थिएन। उहाँले अझै कति समयसम्म यो कुरा नूहलाई बताउनुहुने थिएन?
६. यहोवाले नूहलाई जहाज बनाउने आज्ञा कहिले दिनुभयो?
६ आफूले गर्न लागेको कामबारे यहोवाले नूहलाई वर्षौं पछिसम्म पनि बताउनुभएनजस्तो देखिन्छ। हामी कसरी यो निष्कर्षमा पुग्न सक्छौं? यहोवाले नूहलाई जहाज बनाउने आदेश दिंदा तिनका छोराहरू हुर्किसकेका थिए र तिनीहरूले विवाहवारी गरिसकेका थिए भनेर बाइबल बताउँछ। यहोवाले तिनलाई यसो भन्नुभयो: “तँसँग चाहिं म आफ्नो करार स्थापित गर्नेछु। तँ, तेरा छोराहरू, तेरी स्वास्नी र तेरा बुहारीहरू तेरो साथ जहाजमा आउनेछन्।” (उत्प. ६:९-१८) त्यसैले नूहले जहाज बनाउने आज्ञा पाउँदा जलप्रलय आउन ४०/५० वर्ष मात्र बाँकी भएको हुनुपर्छ।
७. (क) नूह र तिनको परिवारले कसरी विश्वास देखाए? (ख) जलप्रलय आउने समयबारे यहोवाले नूहलाई कहिले बताउनुभयो?
७ जहाज बनाउने काम अघि बढ्दै गर्दा नूह र तिनको परिवारले ‘परमेश्वरले कसरी आफ्नो उद्देश्य पूरा गर्नुहोला अनि जलप्रलय कहिले सुरु होला’ भन्ने सोचेको हुनुपर्छ। यस विषयमा जानकारी नभए तापनि तिनीहरूले जहाज बनाउने कामलाई निरन्तरता दिए। बाइबलमा यस्तो लेखिएको छ: “नूहले त्यसै गरे-परमेश्वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।” (उत्प. ६:२२) जलप्रलय आउन ठीक सात दिनअघि यहोवाले नूहलाई जलप्रलय आउने समयबारे बताउनुभयो। नूह र तिनको परिवारलाई जनावरहरू जहाजमा राख्नको लागि यो समय पर्याप्त थियो। “नूहको जीवनको छ सय वर्षको दोस्रो महीनाको सत्रौं दिनमा” आकाशका झ्यालहरू खुल्दा सबै कुरा तयारी अवस्थामा थियो।—उत्प. ७:१-५, ११.
८. आफ्ना जनहरूलाई कहिले जोगाउने, यहोवा जान्नुहुन्छ भनेर जलप्रलयको विवरणले हामीलाई कसरी आश्वस्त पार्छ?
८ जलप्रलयसम्बन्धी विवरणले यहोवा समय तालिकाअनुसार चल्नुहुन्छ भनेर मात्र होइन तर उहाँ आफ्ना जनहरूलाई जोगाउन सक्षम हुनुहुन्छ भनेर पनि प्रमाणित गर्छ। यस युगको अन्त नजिकिंदै जाँदा यहोवाले राख्नुभएको हरेक उद्देश्य उहाँले तोकेकै “दिन र घडी”-मा पूरा हुनेछ भनेर हामी ढुक्क हुन सक्छौं।—मत्ती २४:३६; हबकूक २:३ पढ्नुहोस्।
लाल समुद्रबाट जोगिएकाहरू
९, १०. मिश्री सेनाहरूलाई फन्दामा पार्न यहोवाले आफ्ना जनहरूलाई कसरी प्रयोग गर्नुभयो?
९ आफ्नो उद्देश्य पूरा गर्न यहोवाले आफ्नो समय तालिकाअनुसारै कामकुरालाई अघि बढाउनुहुन्छ भनेर हामीले अहिलेसम्मको छलफलबाट बुझ्यौं। अब छलफल गर्ने दोस्रो उदाहरणले यहोवा आफ्ना जनहरूलाई जोगाउन सक्षम हुनुहुन्छ भनेर भरोसा गर्न सक्ने अर्को कारण दिन्छ: हो, आफ्नो उद्देश्य पूरा गर्न उहाँले अपार शक्ति प्रयोग गर्नुहुनेछ। यहोवा आफ्ना जनहरूलाई जोगाउन सधैं सक्षम हुनुहुन्छ। तर शत्रुहरूलाई फन्दामा पार्न कहिलेकाहीं उहाँ आफ्ना जनहरूलाई प्रयोग गर्नुहुन्छ। इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउँदा यस्तै घटना घटेको थियो।
१० मिश्रबाट छुटकारा पाउने इस्राएलीहरूको सङ्ख्या करिब ३० लाख थियो। यहोवाले मोशालाई यस्तो तरिकामा चलाउनुभयो जसले गर्दा फिरऊनलाई इस्राएलीहरू अलमल्लमा परेका छन् भन्ने भान पऱ्यो। (प्रस्थान १४:१-४ पढ्नुहोस्) त्यसैले पहिला आफूले दास बनाएर राखेकाहरूलाई लाल समुद्रमा फसाउन फिरऊन आफ्ना सेनाहरूका साथ इस्राएलीहरूको पछि-पछि लागे। इस्राएलीहरूका लागि उम्कने कुनै बाटो देखिंदैन थियो। (प्रस्थ. १४:५-१०) तर वास्तवमा इस्राएलीहरूलाई कुनै खतरा थिएन। किन? किनभने यहोवाले तिनीहरूलाई बचाउनुहुनेथियो।
११, १२. (क) यहोवाले आफ्ना जनहरूलाई कसरी बचाउनुभयो? (ख) उहाँले हस्तक्षेप गरेपछि के भयो र यस विवरणले हामीलाई यहोवाबारे के सिकाउँछ?
११ इस्राएलीहरूलाई डोऱ्याइरहेको “बादलको खामो” तिनीहरूको पछिल्तिर गयो र त्यसले फिरऊनका सेनाहरूलाई रोकेर उनीहरू भएको ठाउँलाई अँध्यारो पारिदियो। तर त्यस खामोले इस्राएलीहरू भएको ठाउँलाई चाहिं उज्यालो पारिदियो। (प्रस्थान १४:१९, २० पढ्नुहोस्) त्यसपछि यहोवाले जोरसित पूर्वीय बतास चलाएर समुद्रलाई दुई भाग पार्नुभयो र बीचको भाग “ओबानो जमीन भयो।” लामो समयसम्म यस्तो भएको हुनुपर्छ किनभने बाइबल विवरण यसो भन्छ: “परमप्रभुले रातभरि जोरसित पूर्वीय बतास चलाइदिनुभयो” त्यसपछि “इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमीनमा हिंडेर गए।” फिरऊनका सेनाहरूको रथको तुलनामा इस्राएलीहरू निकै बिस्तारै हिंडेको हुनुपर्छ। तैपनि मिश्रीहरूले इस्राएलीहरूलाई भेट्टाउन सक्ने सम्भावना थिएन किनभने यहोवा इस्राएलीहरूको तर्फबाट लड्दै हुनुहुन्थ्यो। यहोवाले ‘मिश्रीहरूको सेनालाई अस्तव्यस्त गराइदिनुभयो। उहाँले तिनीहरूका रथका पाङ्ग्राहरू अड्काइदिनुभयो र तिनीहरूलाई ती चलाउन अति कठिन पऱ्यो।’—प्रस्थ. १४:२१-२५.
१२ इस्राएलीहरूले समुद्र पार गरेपछि यहोवाले मोशालाई यस्तो निर्देशन दिनुभयो: “तेरो हात समुद्रमाथि पसार्, र मिश्रीहरू र तिनीहरूका रथहरू र घोडचढीहरूमाथि त्यो पानी फेरि बढेर आओस्।” आफूमाथि खनिएको पानीबाट भाग्न खोज्दा “परमप्रभुले मिश्रीहरूलाई समुद्रको बीचमा झटकारेर फ्याँकिदिनुभयो।” तिनीहरू फुत्कन सकेनन्। “तिनीहरूमध्ये एउटै पनि बाँचेन।” (प्रस्थ. १४:२६-२८) यसरी जस्तोसुकै अवस्थामा पनि आफ्ना जनहरूलाई जोगाउन आफू सक्षम भएको कुरा यहोवाले देखाउनुभयो।
यरूशलेमको विनाशबाट बच्नेहरू
१३. येशूले कस्तो निर्देशन दिनुभयो? उहाँका अनुयायीहरूलाई कस्तो लागेको हुनुपर्छ?
१३ यहोवाको उद्देश्य पूरा हुन घटनाक्रमले कस्तो मोड लिन्छ, उहाँलाई राम्ररी थाह छ। यसको महत्त्वलाई अब हामीले विचार गर्ने तेस्रो उदाहरणले प्रकाश पार्छ। त्यो उदाहरण हो: प्रथम शताब्दीमा यरूशलेममा गरिएको घेराबन्दी। इस्वी संवत् ७० मा यरूशलेमको विनाश हुनुअघि यरूशलेम र यहूदियामा भएका ख्रीष्टियनहरूलाई जोगाउन यहोवाले आफ्नो छोरामार्फत निर्देशन दिनुभयो। येशूले भन्नुभयो: “तिमीहरूले जब उजाड पार्ने घृणित कुरा, जसबारे दानियल भविष्यवक्ताले भनेका थिए, पवित्र स्थानमा त्यो खडा भएको देखौला, . . . तब यहूदियामा हुनेजति डाँडाहरूतिर भाग्न थालून्।” (मत्ती २४:१५, १६) तर यो भविष्यवाणी पूरा हुन थालेको कुरा येशूका अनुयायीहरूले कसरी थाह पाउनेथिए?
१४. घटनाक्रम अघि बढ्दै जाँदा येशूको निर्देशनको अर्थ कसरी स्पष्ट भयो?
१४ घटनाक्रम अघि बढ्दै जाँदा येशूको भनाइको अर्थ स्पष्ट भयो। इस्वी संवत् ६६ मा, सेस्टियस ग्यालसको नेतृत्वमा आएको रोमी फौज यहूदीहरूको विद्रोह दबाउन यरूशलेम आइपुग्यो। कट्टरपन्थीहरू भनेर चिनिने यहूदी विद्रोहीहरूले मन्दिरभित्र शरण खोज्दा रोमी सेनाहरूले उक्त मन्दिरको पर्खाल भत्काउन थाले। सजग ख्रीष्टियनहरूका लागि यसको अर्थ स्पष्ट थियो: मूर्तिपूजाका झन्डाहरू बोकेका सेना (“घृणित कुरा”) यरूशलेमको मन्दिरमा (“पवित्र स्थानमा”) खडा भइरहेका थिए। येशूका अनुयायीहरूका लागि यो ‘डाँडाहरूतिर भाग्न थाल्ने’ समय थियो। तर घेराबन्दीमा परेको सहरबाट तिनीहरू कसरी भाग्न सक्थे? आशै नगरेको कुरा हुनै लागेको थियो।
१५, १६. (क) येशूले तोकेरै कस्तो निर्देशन दिनुभयो र उहाँका अनुयायीहरूले त्यो निर्देशन पालन गर्नु किन महत्त्वपूर्ण थियो? (ख) हाम्रो छुटकारा केमा निर्भर हुनेछ?
१५ सेस्टियस ग्यालस र तिनको फौजले खास कारणविना नै यरूशलेम छोडे र आ-आफ्नो घर फर्के। कट्टरपन्थी यहूदीहरूले तिनीहरूलाई लखेटे। युद्ध गरिरहेका समूहहरू त्यहाँ नभएकोले येशूका अनुयायीहरूले भाग्ने मौका पाए। येशूले तिनीहरूलाई भौतिक सरसम्पत्ति छोड्न र ढिला नगरी भागिहाल्न तोकेरै निर्देशन दिनुभएको थियो। (मत्ती २४:१७, १८ पढ्नुहोस्) तिनीहरूले तुरुन्तै त्यस्तो कदम चाल्नु के साँच्चै जरुरी थियो? यसको जवाफ चाँडै स्पष्ट भयो। केही दिनभित्रै ती कट्टरपन्थीहरू फर्के अनि यरूशलेम र यहूदाका बासिन्दाहरूलाई तिनीहरूको विद्रोहमा साथ दिन जबरजस्ती गर्न थाले। स-साना समूहमा विभाजित भएका कट्टरपन्थीहरूले आ-आफ्नो तरिकाले आधिपत्य जमाउन खोजेको कारण यरूशलेमको अवस्था दिनप्रतिदिन बिग्रँदै गयो। त्यहाँबाट भाग्न झन्-झन् गाह्रो हुन थाल्यो। इस्वी संवत् ७० मा रोमी सेना फर्केर आउँदा त भाग्न सम्भवै भएन। (लूका १९:४३) त्यहाँबाट नभागेका सबै जना फन्दामा परे! येशूको निर्देशन पछ्याउँदै डाँडाहरूतिर भाग्ने ख्रीष्टियनहरूले आफ्नो ज्यान बचाउन सके। आफ्ना मानिसहरूलाई कसरी जोगाउने यहोवालाई थाह छ भन्ने कुरा तिनीहरूले प्रत्यक्ष अनुभव गरे। यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?
१६ महासङ्कष्टको बेला घटनाक्रमहरू अघि बढ्दै जाँदा ख्रीष्टियनहरूले परमेश्वरको वचन र उहाँको सङ्गठनबाट पाएको निर्देशनहरू पालन गर्नुपर्नेछ। उदाहरणका लागि, “डाँडाहरूतिर भाग्न थालून्” भनेर येशूले भन्नुभएका शब्दहरूबाट आज हामी पनि पाठ सिक्न सक्छौं। तर कस्तो तरिकामा भाग्नुपर्ने हो, त्यो त बुझ्न बाँकी नै छ।b जेहोस्, हामीले त्यो निर्देशन पालन गर्नुपर्ने समय आएपछि यहोवाले त्यसको अर्थ स्पष्ट पार्नुहुनेछ भन्ने कुरामा चाहिं हामी ढुक्क हुन सक्छौं। हाम्रो छुटकारा यहोवाको आज्ञा पालन गर्नुमा निर्भर हुने भएकोले हामीले आफैलाई यी प्रश्नहरू सोध्नु राम्रो हुन्छ: ‘यहोवाले अहिले आफ्ना जनहरूलाई दिने निर्देशनप्रति म कस्तो प्रतिक्रिया देखाउँछु? के म तुरुन्तै आज्ञा पालन गर्छु अथवा आनाकानी गर्छु?’—याकू. ३:१७.
भविष्यमा हुने कुराहरूका लागि विश्वास बलियो बनाउनुहोस्
१७. परमेश्वरका जनहरूमाथि हुने आक्रमणबारे हबकूकको भविष्यवाणीले के प्रकट गर्छ?
१७ अब सुरुमा छलफल गरिएको गोगको आक्रमणबारे थप चर्चा गरौं। यसैसित सम्बन्धित भविष्यवाणीमा हबकूकले यसो भने: “मैले सुनें र मेरो मुटु काम्नलाग्यो, त्यो स्वर सुन्दा मेरो ओठ थरथर काम्यो, मेरा हड्डीहरू भित्रभित्रै मक्किए, र म मेरै थलामा कामें। हामीलाई आक्रमण गर्ने जातिमाथि आउने विपत्तिको दिनको निम्ति म चूपचाप पर्खी रहनेछु।” (हब. ३:१६) परमेश्वरका जनहरूमाथि हुने आक्रमणबारे सुन्दा मात्र पनि यी भविष्यवक्ताको मुटु काम्नलाग्यो, ओठ थरथर काम्यो अनि तिनका हड्डीहरू भित्रभित्रै मक्किए। गोग आफ्नो दलसहित आक्रमण गर्न आउँदा हाम्रो परिस्थिति कति नाजुक हुनेछ, हबकूकको शब्दबाट बुझ्न सक्छौं। तैपनि यहोवाले आफ्ना जनहरूलाई जोगाउनुहुन्छ भन्ने कुरामा ढुक्क हुँदै यी भविष्यवक्ता चुपचाप उहाँको भयानक दिन पर्खन इच्छुक थिए। हामी पनि तिनीजस्तै ढुक्क हुन सक्छौं।—हब. ३:१८, १९.
१८. (क) हामीमाथि हुनै लागेको आक्रमणदेखि हामी किन डराउनुपर्दैन? (ख) अर्को लेखमा के चर्चा गर्नेछौं?
१८ अहिले हामीले छलफल गरेको तीनवटा उदाहरणले आफ्ना मानिसहरूलाई कसरी जोगाउने, यहोवा जान्नुहुन्छ भनेर प्रमाणित गर्छ। उहाँको उद्देश्य कहिल्यै असफल हुँदैन; उहाँको जित निश्चित छ। त्यस जितको खुसीयालीमा सहभागी हुने हो भने हामी अन्तसम्मै विश्वासी हुनुपर्छ। अहिले हामीलाई आफ्नो सत्यनिष्ठा कायम राख्न यहोवाले कसरी मदत गर्नुहुन्छ? यसबारे हामी अर्को लेखमा चर्चा गर्नेछौं।
[फुटनोटहरू]
a डिसेम्बर १५, २०१० को प्रहरीधरहरा (अङ्ग्रेजी), पृष्ठ ३०-३१ हेर्नुहोस्।
b मे १, १९९९ को प्रहरीधरहरा, पृष्ठ १९ हेर्नुहोस्।
[पृष्ठ २४-मा भएको चित्र]
के इस्राएलीहरू फिरऊनका सेनाहरूको खतरामा साँच्चै परेका थिए?