के तपाईं यहोवाको दिनको लागि तयार हुनुहुन्छ?
“परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँड़ै आउँदैछ।”—सपन्याह १:१४.
१. धर्मशास्त्रले यहोवाको भयानक दिनबारे कसरी व्याख्या गर्छ?
यहोवाको “महा र भयङ्कर दिन” यस दुष्ट रीतिरिवाजमाथि चाँडै आउँदैछ। धर्मशास्त्रले यहोवाको दिनलाई युद्ध, अन्धकार, उग्र, क्लेश, कष्ट, अत्यास र विध्वंसको दिन भनेर व्याख्या गर्छ। तथापि, सबै नष्ट हुनेछैनन्। किनकि “परमप्रभुको [“यहोवाको,” NW] नाउँ लिने जोसुकै पनि बचाइनेछ।” (योएल २:३०-३२; आमोस ५:१८-२०) हो, त्यतिखेर परमेश्वरले शत्रुहरूलाई नाश गर्नुभएर आफ्ना जनहरूलाई बचाउनुहुनेछ।
२. यहोवाको दिनबारे थाह पाएपछि हामीले किन तुरुन्तै केही गरिहाल्नुपर्छ?
२ यहोवाको दिनबारे बताउँदा तुरुन्तै केही गरिहाल्नुपर्ने भावलाई परमेश्वरका अगमवक्ताहरूले झल्काए। जस्तै, सपन्याहले यस्तो लेखे: “परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँड़ै आउँदैछ। परमप्रभुको दिन नमीठो हुनेछ।” (सपन्याह १:१४) आज झन् हतार गर्नुपर्ने भएको छ। किनभने परमेश्वरको प्रमुख न्याय कार्यान्वयनकर्ता राजा येशू ख्रीष्टले ‘तरवार कम्मरमा भिर्न लाग्नुभएको अनि सत्यता, नम्रता र धार्मिकताको निम्ति महामहिमामा सफलतासाथ सवार हुन लाग्नुभएको छ।’ (भजन ४५:३, ४) के तपाईं त्यस दिनको लागि तयार हुनुहुन्छ?
तिनीहरूले धेरै आशा गरेका थिए
३. थिस्सलोनिकीका केही मसीहीहरूले कस्तो आशा गरेका थिए र तिनीहरूले गलत अनुमान लगाएका थिए भन्न सकिने दुइ कारण के के हुन्?
३ यहोवाको दिनबारे धेरैले आशा गरेका थिए तर ती साकार भएनन्। थिस्सलोनिकीका प्रारम्भिक मसीहीहरूले ‘यहोवाको दिन आएको छ!’ भने। (२ थिस्सलोनिकी २:२) तर त्यो दिन त्यति नजीक भने थिएन। किन थिएन, त्यसका दुइ मुख्य कारणहरू छन्। तीमध्ये एकको उल्लेख गर्दै प्रेरित पावलले यसो भनेका थिए: “जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्, तब . . . अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ।” (१ थिस्सलोनिकी ५:१-६) यस “अन्तको समय[मा]” हामी पनि ती शब्दहरू पूरा भएको हेर्न चाहन्छौं। (दानियल १२:४) यहोवाको भयानक दिन आएको छ वा छैन, त्यसको अर्को प्रमाण पनि थिस्सलोनिकीहरूले बुझ्न सकेनन्। किनकि पावलले तिनीहरूलाई यसो भनेका थिए: “पहिले धर्मत्याग नभईकन, . . . यो हुनेछैन।” (२ थिस्सलोनिकी २:३) पावलले (लगभग सा.यु. ५१ तिर) उपरोक्त कुरा लेख्दा साँचो मसीहीहरूबीच “धर्मत्याग” पूरापूर फस्टाइसकेको थिएन। तर आज मसीहीजगत्मा धर्मत्याग पूर्णतया फस्टाइसकेको देखिरहेका छौं। आफूले गरेको आशा साकार नभए तापनि मृत्युसम्मै विश्वासी भई यहोवाको सेवा गर्ने थिस्सलोनिकीका विश्वासी अभिषिक्त जनहरूले पछि स्वर्गीय इनाम पाए। (प्रकाश २:१०) यहोवाको दिनलाई विश्वासी भई पर्ख्यौं भने हामीले पनि इनाम पाउनेछौं।
४. (क) दोस्रो थिस्सलोनिकी २:१, २ मा परमेश्वरको दिनलाई के सित गाँसेको छ? (ख) ख्रीष्टको पुनरागमन र सम्बन्धित विषयहरूमा चर्चका फादर कहलाइएकाहरूका दृष्टिकोण कस्ता थिए?
४ बाइबलले “यहोवाको भयानक दिन[लाई]” ‘हाम्रा प्रभु येशू ख्रीष्टको उपस्थितिसित’ गाँसेको छ। (२ थिस्सलोनिकी २:१, २) तथापि, ख्रीष्टको पुनरागमन, उहाँको उपस्थिति र उहाँको हजार वर्षे शासनबारे चर्चका फादर भनौंदाहरूको मत भिन्नाभिन्नै छ। (प्रकाश २०:४) सा.यु. दोस्रो शताब्दीतिर हिरापोलिसका पापीयासले ख्रीष्टको हजार वर्षे शासनमा पृथ्वीले पत्याउनै नसकिनेगरि प्रशस्त उब्जनी दिनेछ भन्ने आशा राखेका थिए। जस्टिन मार्टरले बारम्बार येशूको उपस्थितिबारे उल्लेख गरे र उहाँले पुनर्स्थापित यरूशलेमबाट शासन गर्नुहुनेछ भन्ने आशा गरे। लीयोनका आइर्नीसले रोम साम्राज्यको पतन भइसकेपछि येशू साँच्चै देखा पर्नुहुनेछ, शैतानलाई बाँध्नुहुनेछ र पार्थिव यरूशलेममा शासन गर्नुहुनेछ भनेर सिकाए।
५. ख्रीष्टको “दोस्रो पुनरागमन” र उहाँको हजार वर्षे शासनबारे केही शास्त्रज्ञहरूले के भने?
५ इतिहासकार फिलिप शाफले यस्तो टिप्पणी गरे, “पुनरुत्थान भएका सन्तहरूसित महिमित ख्रीष्टले यस पृथ्वीमा सबैले देख्नेगरि हजार वर्षसम्म राज्य गर्नुहुनेछ। यसबाहेक सर्वसाधारणको पुनरुत्थान हुनु र न्याय गर्नुअघि शासन सुरु हुनेछ भन्ने विश्वास” सा.यु. ३२५ को नाइसी परिषद्भन्दा अघिको “अति विशिष्ट विश्वास” थियो। जेम्स ह्यास्टिङद्वारा तयार पारिएको बाइबलको शब्दकोश (अंग्रेजी) ले यसो भन्छ: “[येशू ख्रीष्टको] आगमन हुनै लागेको छ भनेर अझै पनि टर्टुलियन, आइर्नीस र हिप्पाल्टेस पर्खिरहेका छन् तर एलेक्सजेन्ड्रिन फादरहरूसँगसँगै हामीले पनि नयाँ विचारधारा अंगाल्यौं। . . . अगस्टिनले हजार वर्षे शासनकाल नै चर्च मिलेटेन्टहरूको समय हो भन्ने शिक्षा दिएपछि दोस्रो आगमन छिट्टै हुनेछ भन्ने कुरा पनि पछि सऱ्यो।”
यहोवाको दिन र येशूको उपस्थिति
६. यहोवाको दिन निकै टाढा छ भन्ने निष्कर्षमा हामी किन पुग्नु हुँदैन?
६ गलत धारणाहरूको कारण मानिसहरू निराश हुनु परेका छन्। तर हामी चाहिं यहोवाको दिन निकै टाढा छ भनेर नसोचौं। येशूको अदृश्य उपस्थिति सुरु भइसक्यो। यस उपस्थितिलाई धर्मशास्त्रमा यहोवाको दिनसँग गाँसिएको छ। यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रहरीधरहरा र त्यससित सम्बन्धित अन्य प्रकाशनहरूले ख्रीष्टको उपस्थिति १९१४ मा सुरु भएको थियो भन्ने धर्मशास्त्रीय प्रमाणहरू निकै पटक दिइसकेका छन्।a त्यसोभए, येशूले आफ्नो उपस्थितिबारे के भन्नुभयो?
७. (क) येशूको उपस्थिति र जगत्को अन्तको चिह्नका केही पक्ष के के हुन्? (ख) हामी कसरी जोगाइनेछौं?
७ येशूको मृत्यु हुनुभन्दा केही समयअघि उहाँको उपस्थिति छलफलको विषय बनेको थियो। येशूले यरूशलेमको मन्दिरको नाशबारे भविष्यवाणी गर्नुभएपछि उहाँका चेलाहरू पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई सोधे: “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन [“उपस्थिति,” NW] र जगत्को अन्तको चिह्न के हुन्छ?” (मत्ती २४:१-३; मर्कूस १३:३, ४) जवाफमा येशूले युद्ध, अनिकाल, भुइँचालोलगायत उहाँको उपस्थिति तथा जगत्को अन्तको ‘चिह्नका’ अन्य पक्षहरूबारे बताउनुभयो। उहाँले यसो पनि भन्नुभयो: “तर अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) हाम्रो जीवनको अन्तसम्मै वा यस दुष्ट रीतिरिवाजको अन्तसम्म विश्वासी भई स्थिर रह्यौं भने हामीले उद्धार पाउनेछौं।
८. यहूदी रीतिरिवाजको अन्त हुनुभन्दाअघि के काम पूरा गर्नुपरेको थियो र आज उक्त काम कसरी पूरा गरिंदैछ?
८ अन्त हुनुभन्दाअघि येशूको उपस्थितिको अत्यन्त महत्त्वपूर्ण पक्ष पनि पूरा हुनेथियो। त्यसबारे उहाँले यसो भन्नुभयो: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) सा.यु. ७० मा रोमीहरूले यरूशलेम नाश गर्नु र यहूदी रीतिरिवाज अन्त हुनुअघि पावलले सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भन्न सके। (कलस्सी १:२३) तथापि, आज यहोवाका साक्षीहरूले “सारा संसारमा” विस्तृत तवरमा प्रचार कार्य गरिरहेका छन्। बितेका केही वर्षहरूमा पूर्वी युरोपमा परमेश्वरले असामान्य तरिकाले साक्षी दिने मौका प्रदान गर्नुभएको छ। विश्वभरिका छापाखाना तथा अन्य सुविधाहरूले गर्दा ‘पहिले प्रचार नगरिएका प्रदेशहरूमा’ समेत क्रियाकलाप बढाउन यहोवाको संगठनले कम्मर कसेको छ। (रोमी १५:२२, २३) अन्त आउनअघि सकेजति साक्षी दिन के तपाईं उत्प्रेरित हुनुभएको छ? छ भने, उप्रान्त तपाईंले गर्नुपर्ने त्यस प्रचारकार्य फलदायी हुनसकोस् भनी परमेश्वरले तपाईंलाई बलियो तुल्याउन सक्नुहुन्छ।—फिलिप्पी ४:१३; २ तिमोथी ४:१७.
९. मत्ती २४:३६ अनुसार येशूले कुन कुरा प्रष्ट्याउनुभयो?
९ भविष्यवाणी गरिएको राज्य-प्रचार कार्य र येशूको उपस्थितिका अन्य चिह्नहरू अहिल्यै पूरा हुँदैछन्। अतः, यस रीतिरिवाजको अन्त नजीकै छ। हो, “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र” भनी येशूले भन्नुभएको थियो। (मत्ती २४:४-१४, ३६) तर येशूको अगमवाणीले हामीलाई “त्यस दिन र घड़ी[का]” लागि तयार हुन मदत गर्नसक्छ।
तिनीहरू तयार थिए
१०. आध्यात्मिक तवरमा जागा रहनु सम्भव छ भनी हामी कसरी भन्नसक्छौं?
१० यहोवाको भयानक दिनमा बच्न हामी आध्यात्मिक तवरमा जागा हुनैपर्छ, दृढतासाथ साँचो उपासनाको पक्ष लिनैपर्छ। (१ कोरिन्थी १६:१३) यसरी स्थिर रहनु सम्भव छ भनेर हामीलाई थाह छ। किनकि सा.यु.पू. २३७० मा जलप्रलयद्वारा दुष्ट मानवहरू नाश हुँदा स्थिर रहने ईश्वरभीरु परिवार बचेको थियो। त्यो जमानालाई आफ्नो उपस्थितिसित तुलना गर्दै येशूले यसो भन्नुभयो: “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन [“उपस्थिति,” NW] हुनेछ। किनकि जसरी जलप्रलयका अघाड़िका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे, उसैगरी मानिसको पुत्रको आगमन [“उपस्थिति,” NW] पनि हुनेछ।”—मत्ती २४:३७-३९.
११. चारैतिर व्याप्त हिंसाको बावजूद नूहले कुन मार्ग पछ्याइरहे?
११ हामीजस्तै नूह र तिनको परिवार हिंसाले भरिएको संसारमा थिए। ‘साँचो परमेश्वरका’ अनाज्ञाकारी स्वर्गदूतीय “छोराहरूले” भौतिक शरीर धारण गरेर बिहेबारी गरे र कुख्यात नपीलहरूलाई जन्माए। अरूलाई थिचोमिचो गर्ने यी नपीलहरूले गर्दा पक्कै पनि परिस्थिति झन् हिंसात्मक भएको थियो। (उत्पत्ति ६:१, २, ४; १ पत्रुस ३:१९, २०) तथापि, “नूह . . . परमेश्वरको साथै हिंड़नेगर्थे।” तिनी “आफ्नो पुस्तामा” अर्थात् त्यतिबेलाको दुष्ट पुस्तामा “धर्मी र निर्दोष मानिस थिए।” (उत्पत्ति ६:९-११) हिंसाले भरिएको यस दुष्ट संसारमा प्रार्थनापूर्वक यहोवामा भर पर्दै उहाँको दिनलाई पर्ख्यौं भने, हामी पनि नूहजस्तै हुनसक्छौं।
१२. (क) जहाज बनाउनुबाहेक नूहले अर्को कुन काम पनि गरे? (ख) नूहले प्रचार गर्दा मानिसहरूले कस्तो प्रतिक्रिया जनाए र तिनीहरूले कस्तो परिणाम भोग्नुपऱ्यो?
१२ जलप्रलयबाट जोगिन जहाज बनाउने व्यक्तिको रूपमा नूहलाई सबैले चिन्छन्। तर तिनी “धर्मका प्रचारक” पनि थिए। यद्यपि, परमेश्वरले दिनुभएको सन्देश त्यतिखेरका मानिसहरूलाई सुनाउँदा तिनीहरूले ‘बेवास्ता गरे।’ जलप्रलयले सबैलाई स्वात्तै बगाएर नलगुञ्जेल तिनीहरू खाँदै, पिउँदै, बिहेबारी गर्दै, परिवार बसाल्दै थिए र दैनिक कामकुरामै व्यस्त थिए। (२ पत्रुस २:५; उत्पत्ति ६:१४) राम्रो बोली र आचरणबारे तिनीहरूले सुन्नै चाहेनन्। आज पनि यहोवाका साक्षीहरूले “परमेश्वरतिरको पश्चाताप,” ख्रीष्टमाथिको विश्वास, धार्मिकता र “पछि हुने इन्साफको विषय[बारे]” सुनाउँदा दुष्ट पुस्ता कानमा तेल हालेर बस्छ। (प्रेरित २०:२०, २१; २४:२४, २५) नूहले परमेश्वरको सन्देश घोषणा गर्दा पृथ्वीमा कति मानिसहरू थिए, त्यसको कुनै अभिलेख छैन। तर सा.यु.पू. २३७० मा पृथ्वीको जनसंख्या एकदमै घटेको थियो भन्ने कुरा चाहिं निश्चित छ! जलप्रलयले दुष्टहरूलाई बगायो। त्यस दैवी प्रकोपका लागि तयार भएकाहरू अर्थात् नूह र तिनको परिवारका अन्य सात जना मात्र जोगाइए।—उत्पत्ति ७:१९-२३; २ पत्रुस ३:५, ६.
१३. कुन ईश्वरीय न्यायिक उर्दीमाथि नूहले भरोसा गरे र त्यसअनुरूप तिनले के काम गरे?
१३ जलप्रलय हुने निश्चित दिन र घडीबारे परमेश्वरले नूहलाई वर्षौंअघि सूचित गर्नुभएको होइन। तथापि, नूह ४८० वर्षको हुँदा यहोवाले यस्तो निर्णय सुनाउनुभयो: “मेरो आत्माले मानिसमा सधैंको निम्ति बास गर्नेछैन, किनभने त्यो शरीर मात्र हो। तापनि त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।” (उत्पत्ति ६:३) यस ईश्वरीय न्यायिक उर्दीमाथि नूहले भरोसा गरे। पाँच सय वर्ष पुगेपछि तिनले “शेम, हाम र येपेतलाई जन्माए।” र त्यसबेलाको चलनअनुसार तिनका छोराहरूले ५०/६० वर्षको उमेरमा बिहेबारी गरेको हुनुपर्छ। जलप्रलयबाट जोगिनका लागि जहाज तयार पार्ने आदेश पाउँदा नूहलाई पक्कै पनि तिनका छोरा तथा बुहारीहरूले सहयोग गरे। जहाज बनाएको समय र नूहले “धर्मका प्रचारक[को]” रूपमा सेवा गरेको समय शायद जुधेको हुनुपर्छ। जलप्रलय हुनुअघि नूह यस काममा ४०/५० वर्षजति व्यस्त भए। (उत्पत्ति ५:३२; ६:१३-२२) त्यतिका वर्षसम्म तिनी र तिनको परिवार विश्वासी नै भइरहे। सुसमाचार प्रचार गर्दै यहोवाको दिनलाई पर्खंदा हामी पनि त्यसरी नै विश्वासी होऔं।—हिब्रू ११:७.
१४. अन्तमा यहोवाले नूहलाई के भन्नुभयो अनि किन?
१४ जलप्रलय कहिले आउँछ निश्चित रूपले थाह नभए तापनि जहाज निर्माण कार्य सकिनै लाग्दा नूहले त्यो अत्यन्तै नजीक छ भन्ठानेको हुनुपर्छ। अन्ततः यहोवाले तिनलाई यसो भन्नुभयो: “अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी वर्षाउनेछु।” (उत्पत्ति ७:४) यसरी जलप्रलय सुरु हुनुअघि नूह र तिनको परिवारले जातजातका पशुपंक्षीहरूलाई जहाजमा भित्राउन र आफू पनि जहाजमा पस्न प्रशस्त समय पाए। यस रीतिरिवाजको विनाश सुरु हुने ठाउँ र समयबारे हामीले जान्नु आवश्यक छैन। पशुपंक्षीहरू जोगाउने काम पनि हामीलाई सुम्पिएको छैन बरु बाँच्ने सम्भावना भएका मानिसहरू लाक्षणिक जहाज अर्थात् परमेश्वरका जनहरूको आध्यात्मिक प्रमोदवनमा अहिल्यै पस्दैछन्।
“जागा रहो”
१५. (क) मत्ती २४:४०-४४ मा लेखिएका येशूका शब्दहरूलाई तपाईं आफ्नै शब्दमा कसरी व्याख्या गर्नुहुन्छ? (ख) परमेश्वरको निम्ति बदला लिन येशू आउनुहुने निश्चित समयबारे थाह नहुँदा त्यसले कस्तो असर पारेको छ?
१५ आफ्नो उपस्थितिबारे येशूले यसरी वर्णन गर्नुभयो: “त्यसबेला दुइ जना खेतबारीमा [काम गरिरहेका] हुनेछन्, एक जना लगिन्छ अर्को छोड़िन्छ। दुइ स्त्रीहरू जाँतो[मा अन्न] पिंधिरहेका हुनेछन्, एक जना लगिन्छे, अर्को छोड़िन्छे। यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्, सो तिमीहरूले जान्दैनौ। तर यो जान, कि घरको मालिकले चोर कुन पहरमा आउँछ भनी जानेको भए, उ जागा रहनेथियो, र आफ्नो घर फोरिन दिने थिएन। यसकारण तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:४०-४४; लूका १७:३४, ३५) परमेश्वरको निम्ति बदला लिन येशू आउनुहुने निश्चित समयबारे थाह नभएकोले नै हामी चनाखो हुन्छौं र यहोवाको सेवा निःस्वार्थ भई गर्छौं भनेर प्रमाणित गर्ने मौका दिनहुँ पाउँछौं।
१६. ‘छोडिने’ र ‘लगिने’ व्यक्तिहरूलाई के हुनेछ?
१६ कुनै समय ज्योति पाएका तर पछि स्वार्थी जीवनमा लग्गू भएकाहरू दुष्टसँगसँगै विनाश हुन ‘छोडिने’ व्यक्तिहरूमा पर्नेछन्। हामी चाहिं ‘लगिने’ व्यक्तिहरू अर्थात् पूर्णतया यहोवामा समर्पित तथा उहाँले “विश्वासी र बुद्धिमान दास” मार्फत प्रबन्ध गर्नुभएको आध्यात्मिक प्रबन्धहरूको साँच्चै मूल्यांकन गर्नेहरूबीच होऔं। (मत्ति २४:४५-४७) अन्तसम्मै “शुद्ध हृदयबाटको प्रेम, असल विवेक र निष्कपट विश्वास[सहित]” परमेश्वरको सेवा गरौं।—१ तिमोथी १:५.
पवित्र जीवन अत्यावश्यक
१७. (क) दोस्रो पत्रुस ३:१० मा के भविष्यवाणी गरिएको थियो? (ख) दोस्रो पत्रुस ३:११ मा कस्तो किसिमको मानिस हुन र के गर्न प्रोत्साहन दिइएको छ?
१७ प्रेरित पत्रुसले लेखे: “तर प्रभुको [“यहोवाको,” NW] दिन चोर जस्तैगरी आउनेछ, जसमा आकाशचाहिं ठूलो शब्दले बितिजानेछ, र पृथ्वी र त्यसमा भएका कामहरू चाहिं स्वाहा हुनेछ।” (२ पत्रुस ३:१०) लाक्षणिक स्वर्ग र पृथ्वी परमेश्वरको बल्दो क्रोधबाट बच्नेछैनन्। त्यसैकारण पत्रुस अझै यसो भन्छन्: “यी सबै कुराहरू यसरी पग्लन्छ भन्ने देखेर सबै पवित्र जीवन र भक्तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ?” (२ पत्रुस ३:११) नियमित तवरले मसीही सभाहरूमा उपस्थित हुनु, अरूको निम्ति भलाइको काम गर्नु र सुसमाचार प्रचार गर्ने कार्यमा महत्त्वपूर्ण भाग लिनु पवित्र जीवन र भक्तिमा समावेश छन्।—मत्ती २४:१४; हिब्रू १०:२४, २५; १३:१६.
१८. यस संसारको माया लाग्न थालेको छ भने के गर्नुपर्छ?
१८ “सबै पवित्र जीवन र भक्तिमा” भन्नुको अर्थ “आफूलाई दुनियाँबाट निष्कलङ्क राख्नु” हो। (याकूब १:२७) तर यस संसारको माया लाग्न थाल्यो भने के गर्ने? कतै हामी अशुद्ध मनोरञ्जन खोजेर वा यस संसारको अभक्त आत्मालाई बढावा दिने संगीत तथा गीतहरू सुनेर परमेश्वरसामु हाम्रो स्तरलाई धरमराउने खतरामा पार्न पो लोभिएका छौं कि? (२ कोरिन्थी ६:१४-१८) त्यसो हो भने, प्रार्थना गरेर परमेश्वरको मदत खोजौं ताकि हामी यस संसारसँगसँगै बिति नजाऔं तर मानिसको पुत्रसामु खडा हुनसक्ने होऔं। (लूका २१:३४-३६; १ यूहन्ना २:१५-१७) आफ्नो जीवन परमेश्वरलाई समर्पण गरिसकेका छौं भने चाहिं अवश्य हामी उहाँसितको आफ्नो सम्बन्धलाई यथासम्भव घनिष्ठ तथा मधुर बनाएर परमेश्वरको “महा र भयङ्कर दिन[को]” लागि तयार हुनेछौं।
१९. राज्य उद्घोषकहरूको ठूलो जमातले यस वर्तमान रीतिरिवाजको अन्त हुँदा जीवितै रहने आशा किन गर्नसक्छ?
१९ पुरातन संसारलाई नाश गर्ने जलप्रलयबाट ईश्वरभक्त नूह र तिनको परिवार बचे। त्यसैगरि सा.यु. ७० को यहूदी रीतिरिवाज अन्त हुँदा सोझा व्यक्तिहरू बचेका थिए। उदाहरणका लागि, लगभग सा.यु. ९६-९८ मा प्रकाशको पुस्तक, सुसमाचारको पुस्तक र अन्य तीनवटा प्रेरित पत्रहरू लेख्दा प्रेरित यूहन्ना अझै पनि परमेश्वरको सेवामा सक्रिय थिए। सा.यु. ३३ पेन्तिकोसमा साँचो विश्वास स्वीकार्ने हजारौंमध्ये धेरैजसो यहूदी रीतिरिवाजको अन्त हुँदा बचे होलान्। (प्रेरित १:१५; २:४१, ४७; ४:४) आज राज्य उद्घोषकहरूको ठूलो जमातले यस वर्तमान रीतिरिवाजको अन्त हुँदा जीवितै रहने आशा गर्नसक्छन्।
२०. हामी किन ‘धार्मिकताका प्रचारकहरूको’ रूपमा जोसिलो हुनुपर्छ?
२० आउँदै गरेको नयाँ संसारका लागि हामी जोगाइने भएकोले आउनुहोस् ‘धार्मिकताका प्रचारकहरूको’ रूपमा जोसिला होऔं। यी अन्तिम दिनहरूमा परमेश्वरको सेवा गर्न पाउनु कत्ति ठूलो विशेषाधिकार! अनि वर्तमान समयको “जहाज” अर्थात् परमेश्वरका जनहरू बसिरहेका आध्यात्मिक प्रमोदवनतिर मानिसहरूलाई डोऱ्याउनसक्नु कत्ति आनन्दको कुरा हो! अहिले त्यहाँ भएका लाखौं मानिसहरू विश्वासी हुन सकून्, आध्यात्मिक तवरमा जागा अनि यहोवाको भयानक दिनका लागि तयार हुन सकून्। तर हामी सबैलाई जागा रहन के ले मदत गर्नेछ?
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकका अध्याय १० र ११ हेर्नुहोस्।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ यहोवाको दिन र ख्रीष्टको उपस्थितिबारे कसै कसैले कस्तो आशा गरेका थिए?
◻ नूह र तिनको परिवार जलप्रलय आउँदा तयार थिए कसरी भन्नसक्छौं?
◻ ‘जागा रहनेहरूलाई’ के हुनेछ र नहुनेहरूलाई के?
◻ विशेषगरि यहोवाको दिन नजीकिंदै जाँदा पवित्र जीवन बिताउनु किन अत्यावश्यक छ?